मनसँगको सम्बन्ध

अभिव्यक्तिलाई अभिलेखमा राखिने भाषा लेख्य हो । लेख्य भन्ने बित्तिकै त्यसको सम्बन्ध लेखनका लागि आवश्यक लिपि चिह्नहरुसँग हुन्छ । त्यसमा वर्ण र अन्य सङ्केत व्यवस्था पर्दछन् ।

अभिव्यक्तिकारले लेख्नका लागि दिमागमा निर्माण गर्ने भाषा कथ्यकै आन्तरिक रूप हुन्छ । बोलिसकेपछि मात्र भाषाको प्रकटीकृत बाह्य रूप हुने हो । बोल्दा वर्णहरुका समूहको ध्वन्यात्मक उच्चारण हुन्छ । त्यसको आफ्नै गति, यति र लय हुन्छ । त्यससँगै मनोदशाको अभिव्यक्ति पनि हुने गर्दछ । अर्थात् मान्छेले रिसाउँदाको भाषा र खुसी हुँदाको भाषा भिन्न हुन्छ । त्यस्तै दया प्रकट गर्दा र तर्साउँदा बेग्लै भाषा हुन्छ । त्यसलाई भाषाको सामान्य परिभाषाबाट बुझिने भन्दा प्रायोगिक भाषाका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

त्यही बोलीचालीको अर्थात् कथ्य भाषा कहिले आन्तरिक रूपबाट नै र कहिले प्रकटीकृत रूपबाट पनि लेख्य भाषामा रूपान्तर हुन्छ । त्यसो गर्दा वर्ण र अन्य सङ्केत व्यवस्थाका चिह्न लेखनमा आउँछन् । तिनको सम्बन्ध अभिव्यक्तिकारको मनसँग हुन्छ । त्यस्ता चिह्नले मनको भाषालाई मनोसामाजिक अवस्थासँग तालमेल गर्दै लेख्य भाषामा प्राण सञ्चार गर्दछन् ।

लिपि अनिवार्य

हरेक भाषा लेख्नका लागि लिपि अनिवार्य हुन्छ तर संसारमा जति भाषा छन् त्यति नै लिपि छैनन् । अर्थात् एउटा लिपि एकभन्दा बढी भाषाका लागि प्रयोग हुने हुन्छ । नेपाली भाषा लेखिने देवनागरी लिपि नेपालीका अतिरिक्त संस्कृत, मैथिली, भोजपुरी, हिन्दी, मराठी, प्राकृत आदि भाषाको पनि लिपि हो । तर यी भाषामा प्रयोग हुने देवनागरी लिपिमा पनि केही भिन्नता छ । रोमन लिपि अङ्ग्रेजी, फ्रेन्च, स्पेनिस, जर्मन, पुर्तगाली, डच, टर्केली आदि भाषा लेखिने लिपि हो ।

यस्ता लिपिहरुका आआफ्नै वर्ण व्यवस्था हुन्छन् र ती कथ्य भाषा वा उच्चारणसँग सम्बन्धित हुन्छन् । त्यसरी उच्चारण गर्दा बोलिने सबै भाषाले अभिव्यक्तिकारको मनोभाषालाई अभिव्यक्त गर्ने हुन् । अर्थात् मनोसामाजिक अवस्थालाई ध्वनि वा चित्रमा उतार्छन् । त्यस्ता ध्वनिका वा मनोदशाका चित्र वर्ण र चिह्नका रूपमा लिखित रूपमा आउँछन् ।

सबै भाषाले मान्छेको मनको अभिव्यक्तिको माध्यमका रूपमा काम गर्ने हुँदा लिपिका वार्णिक चिह्न अलग भए पनि लेख्य चिह्नहरु भने सबै भाषाहरुमा प्रायः एकैनासका पाइन्छन् । तर लेखनमा तिनको प्रयोगको स्थान वा तरिकामा भने फरक हुनसक्छ ।

केदार वाशिष्ठ

त्यस्ता लेख्य चिह्नहरु लेखनलाई स्पष्ट, अर्थपूर्ण, प्रभावकारी बनाउँदै अर्थमा भिन्नता प्रदान गर्न प्रयोग हुन्छन् । लेखेको कुरालाई अभिव्यक्तिकारको अभिव्यक्तिकै रूपमा अर्को पाठकले बोलेर अरुलाई बुझाउन लेख्य चिह्नहरुको प्रयोग हुन्छ । त्यसैले भाषिक शुद्धताका लागि सही लेख्य चिह्नहरुको सही प्रयोग हुनुपर्छ । कुनै पनि भाषाको लेखनमा शुद्धताका लागि वर्णविन्यासमा शुद्धता आवश्यक भए जत्तिकै लेख्य चिह्नहरुको प्रयोग पनि भाषिक शुद्धताका लागि अपरिहार्य हुन्छ । अझ लेख्य चिह्नहरु त संसारका प्रायः सबै भाषाका लागि एकै प्रकारका रहेका कारण ती चिह्नहरु वैश्विक भाषिक शुद्धताका लागि पनि अपरिहार्य रहेका हुन्छन् ।

चिह्न भनेकै सङ्केत व्यवस्था रहेको हुँदा संसारका भाषाहरुमा आवश्यकता अनुरूप र प्रविधिको प्रयोगका आधारमा त्यस्ता चिह्नहरु थपघट भइरहने हुन्छ । उदाहरणका लागि नेपाली लेटर प्रेसमा छपाइका लागि प्रयोग हुने चिह्नहरु कम्प्युटर र अफसेट प्रेसको प्रविधिको विकाससँगै विलुप्त भएका छन् । त्यसैगरी समय परिस्थिति अनुसार विभिन्न चिह्नहरु थप हुन थालेका छन् । जस्तै :

लैङ्गिकता जनाउने केही चिह्नहरु

महिला चिह्न                                                    ♀

पुरुष चिह्न                                                       ♂

विपरीत लिङ्गी चिह्न                                      ⚥

समलिङ्गी महिला चिह्न                                 ⚢

समलिङ्गी पुरुष चिह्न                                   ⚣     आदि ।

प्राविधि जनाउने केही चिह्नहरु

इमेल ठेगाना चिह्न वा एट चिह्न                  @

प्रतिलिपि अधिकार चिह्न                                 ©

रजिस्टर्ड ट्रेडमार्क चिह्न                                   ®

ट्रेडमाक चिह्न                                                   ™     आदि ।

सूचना प्रविधिको विकासले सामाजिक सञ्जालका विभिन्न रूपलाई चिनाउने बेग्लै सङ्केत चिह्न छन् । हेर्नुहोस् :

यी लगायतका सामाजिक सञ्जालहरुमा प्रयोग हुने भाषामा मनोदशा जनाउनका लागि बेग्लै चिह्नहरु रहेका छन् । सामाजिक सञ्जाल फेसबुकमा मनोदशा जनाउन प्रयोग गरिने चिह्नहरु यस्ता छन् :

मान्छेको मनोदशा जनाउन मात्र होइन मान्छेको जीवनमा सास जत्तिकै हैसियत राख्ने पैसो चिनाउन संसारका विभिन्न पैसाका लागि बेग्ला बेग्लै सङ्केत चिह्न छन् । जस्तो :

यी नयाँ चिह्न वा सङ्केत व्यवस्थाका अतिरिक्त भाषिक लेखनमा अङ्क र गणितीय चिह्नहरु पनि धेरै लामो समयदेखि प्रयोगमा आएका छन् । अङ्क लेखन लिपिहरु अनुसार फरक हुने भए पनि गणितीय चिह्नहरु भने सबै भाषाहरुमा सार्वभौम जस्तै रहेका छन् । केही गणितीय चिह्नहरू यहाँ छन् :

यी चिह्नहरु लेखनसँग नै सम्बन्धित तर विशेष प्रकृतिका प्राविधिक हुन् । यीबाहेक भाषाहरुकै लेखनका लागि आम प्रयोगमा रहेका लेख्य चिह्नहरु बेग्लै छन् । ती चिह्नहरुको प्रयोगले भाषालाई जीवन्त बनाउँछ । भाषिक लेखनको शुद्धताको परीक्षणका आधार पनि लेख्य चिह्नहरु बन्दछन् । यहाँ नेपाली भाषामा प्रयोग हुने लेख्य चिह्नहरुको प्रयोग देखाइएको छ ।

शुद्ध नेपाली लेखाइका लागि प्रयोग हुने चिह्नहरू केही छन् । यस्ता चिह्नको प्रयोग लेखनको सुरूतिरैबाट भएको हो । सुरूमा सीमित मात्र चिह्न थिए पछि थपघट हुँदै अहिले १३ वटा प्रयोगमा छन् । ती हुन् :

(१) अल्पविराम चिह्न (,)

वाक्यमा थोरै समयको वा आंशिक अडान जनाउनका लागि अल्पविराम (,) चिह्नको प्रयोग हुन्छ । एकै प्रकारका वर्ण, पद, पदावली तथा वाक्यांशलाई छुट्याउन यस चिह्नको प्रयोग गरिन्छ। जस्तै :

  • म बिहानको खानामा दाल, भात, तरकारी र अचार खान्छु ।
  • जसले मह काड्छ, उसले हात चाट्छ ।
  • तिमी चुप लाग, मैले भनेको ऊ मान्दैन त गाली नगरेर के अरु पुल्पुल्याऊँ ?
  • होइन, मैले त्यसो भन्न खोजेको होइन, गाली गरेर मात्र पनि त समाधान निस्कँदैन ।
  • मैले भनि सकेँ नि ! म यो काम गर्दिन, गर्दिन, गर्दिन ।
  • हो, मेरो घर त्यहीँ त छ नि ।

अल्पविराम चिह्न लेख्दा जोडेर वा अलग गरेर लेख्ने भन्ने दुविधा रहेको देखिन्छ । नेपाली भाषाको लेखाइमा अल्पविराम चिह्न शब्दको पछिल्लो वर्णसँग जोडेर लेख्नुपर्छ जस्तो : कलम, कपी र मसी ।

कलम ,कपी र मसी अथवा कलम , कपी र मसी लेख्नु अशुद्ध हुन्छ ।

(२) अर्धविराम चिह्न (;)

वाक्यमा केही लामो विराम जनाउनका लागि अर्धविराम (;) चिह्नको प्रयोग हुन्छ । वाक्य लामो हुँदा त्यसलाई छोट्याउन वा अल्पविरामभन्दा ठूलाे र पूर्णविरामभन्दा सानाे अडानका लागि यस चिह्नको प्रयोग गरिन्छ।  जस्तै :

  • होसियार भएर हेर; दुलोमा सर्प हुनसक्छ ।
  • कसैले गाए; कसैले नाचे; कसैले बाजा बजाए; कार्यक्रम साँच्चिकै रमाइलो भयो ।
  • सबै जना रितालाई नै हेरिरहेका थिए; ऊ चाहिँ लाजले भुतुक्कै थिई ।

अल्पविराम जस्तै अर्धविराम चिह्न पनि शब्दको पछिल्लो वर्णसँग जोडेर नै लेख्नुपर्छ । अलग गरेर लेख्नु अशुद्ध हुन्छ ।

(३) पूर्णविराम चिह्न (।)

वाक्य सकिएको वा भनाइ पूर्ण भएको जनाउन पूर्णविराम (।) चिह्नको प्रयोग हुन्छ । वाक्यमा कर्ताले गरेको कार्यव्यापार पूरा भएपछि पूर्णविराम चिह्न प्रयोग गरिन्छ। वक्ताको आशय पुरा भएको बुझाउन यसको प्रयोग गरिन्छ । जस्तै :

  • आकाश मडारिएको छ । आज मुसलधारे पानी पर्छ । त्यो बाटो नजानू ।

नेपाली भाषामा दुई वटा पूर्णविराम एकसाथ प्रयोग हुने चलन हालसम्म प्राप्त नेपाली भाषाको पहिलो लेख्य नमुनादेखि नै पाइन्छ । शाके १०१६ को दुल्लुमा पाइएको बामुखँड्काको स्तम्भलेखमा लेखिएको छ :

१.     स्वस्ति । श्री सा

२.     के १०१६ पि–

३.     छ्यक वामु ष–

४.     डगाहाको की–

५.     तिं षंभ ।। शुभ ।।

यसमा दुई वटा पूर्णविराम चिह्न (। र ।।) देखिन्छन् ।

हिजो आज भने दोहोरो पूर्णविराम चिह्न पद्य कविता लेखनमा दोस्रो पाउ पुरा भएपछि लेख्ने चलन छ । जस्तो :

  • छोटो बढेपछि भारी फुर्ती ढाचा बढाउँछ ।
    उर्लँदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।

पूर्णविरामका लागि अङ्ग्रेजी वा हिन्दीको प्रभावमा आएर अन्तिम शब्दको पछिल्लो शब्दसँग जोडेर लेख्ने गरेको देखिन्छ । कतिपय अवस्थामा त नेपाली भाषाको धर्कोवाला पूर्णविराम नदिएर थोप्लोवाला अर्थात् फुलस्टप (.) को प्रयोग गर्ने चलन पनि देखिन थालेको छ । खासगरी युनिकोडमा नेपाली भाषा लेखनमा यो देखिन्छ । त्यस्तो नगरी एक धर्कोवाला पूर्णविराम अन्तिम शब्दको पछिल्लो वर्णभन्दा एक वार्णिक स्थान छाडेर अलग्गै लेख्नु शुद्ध हुन्छ ।

(४) प्रश्नसूचक वा प्रश्नवाचक चिह्न (?)

प्रश्न सोध्दा आवेश वा आशङ्का व्यक्त गर्दा प्रश्नसूचक चिह्न (?) चिह्नको प्रयोग हुन्छ । जस्तै :

  • नेपालमा हालै गएको भूकम्प कति रिक्टर स्केलको थियो ?
  • तिमी नआउने गरी नै जान लागेको है ?
  • आजभोलि तिमी विद्यालय त जाने गरेका छौ ?

पूर्णविराम चिह्न जस्तै प्रश्नवाचक चिह्न पनि शब्दको अन्तिम वर्णसँग जोडेर नभइ एक वार्णिक स्थान पर लेख्नुपर्छ । हिन्दी वा अङ्ग्रेजीमा जस्तो जोडेर लेख्दा अशुद्ध हुन्छ ।

(५) विस्मय सूचक वा उद्गार चिह्न (!)

आश्चर्य, खुसी, दुख, घृणा जस्ता मानसिक भाव बुझाउँदा वा सम्बोधन गर्दा विस्मयसूचक वा उद्गार चिह्न (!) को प्रयोग गरिन्छ । भावको तीव्रता देखाउँदा दोहोरिने वा तेहेरिने शब्दसँगै यस चिह्नको सङ्ख्यात्मक प्रयोग पनि बढ्छ । जस्तै :

  • अहा ! कति राम्रो कविता रहेछ ।
  • हरे ! यस्तो दुख कसैलाई नपरोस् ।
  • हे ईश्वर ! हामी सबैलाई सद्बुद्धि प्रदान गर ।
  • छि ! छि !! छि !!! यस्तो फोहोरमा खेल्न घिन लाग्दैन ?

विस्मय सूचक वा उद्गार चिह्नलाई विस्मयादिबोधक चिह्न पनि भनिन्छ । यसका अरू केही भेद मानिएका छन् । जस्तै : शोकबोधक, तिरस्कारबोधक, स्वीकृतिबोधक, विस्मयादिबोधक, संबोधनबोधक, हर्षबोधक, भयबोधक, आशीर्वादबोधक, अनुमोदनबोधक, विवशताबोधक ।

(६) सापेक्ष विराम वा निर्देश चिह्न (: :- -)

कुनै कुराको व्याख्या गर्दा,  निर्देशन वा उदारहणा दिँदा वा सापेक्ष सम्बन्ध देखाउँदा सापेक्ष विराम वा निर्देश चिह्न (: :- -) को प्रयोग गरिन्छ । जस्तै :

  • सप्तकोसीमा सात नदी छन् :- सुनशोसी, तामाकोसी, दुधकोसी, इन्द्रावती, लिखु, अरुण र तमोर ।
  • नेपालको विकासको आधार : पर्यटन र पूर्वाधार
  • नाम पाँच प्रकारका हुन्छन् :

व्यक्ति वाचक, जाति वाचक, द्रव्य वाचक, समूह वाचक र भाव वाचक ।

  • दिइएका प्रश्नको उत्तर लेख –

नेपाली भाषामा प्रयोग हुने लेख्य चिह्न कति छन् ?

सापेक्ष विराम निर्देश चिह्न विभिन्न तरिकाले लेख्ने प्रचलन छ । तीमध्ये दुई वटा थेप्ला रहेको चिह्न : शब्दसँग नजोडी लेख्नुपर्छ । शब्दसँग जोडेर लेख्दा त्यो विसर्ग हुन्छ । विसर्ग र सापेक्ष विराम बेग्लै हुन् ।

(७) योजक चिह्न (-)

एक अर्कासँग सम्बन्धित दुई वटा कुरालाई जोड्न यस चिह्नको प्रयोग गरिन्छ । त्यस्तै समस्त र द्वित्व भएका पदहरुलाई जोड्दा तथा पङ्क्तिको अन्त्यमा पुरै शब्द नहट्दा योजक चिह्न दिइन्छ। जस्तै :

  • आकाश-पाताल, घाम-छाया, रकम-कलम ।
  • मैले काम गर्दा तल-माथि गरेको छु भन्ने लाग्छ भने भरे सरलाई सोध्नू ।
  • देश-दर्शन, आ-आफ्नो

(८) कोष्ठक चिह्न {[(…)]}

वाक्यमा प्रयोग भएका शब्दको अर्थ स्पष्ट गर्न वा संवाद, मनोवाद आदिमा अभिनय सङ्केतका लागि भावको अवस्था बुझाउन कोष्ठक चिह्न {[(…)]} को प्रयोग गरिन्छ । जस्तै :

  • हरिलाई त छारे रोग (अचानक बेहोस भएर मुर्छा पर्ने) को औषधि पो दिएछ ।
  • लक्ष्मी प्रसाद देवकोटा ५० वर्ष (विसं १९६६-२०१६) बाँचे तर लेखनीबाट अमर रहे ।
  • {कोठामा मधुरो उज्यालो छ} खै श्याम कता गएछ हँ ? ए ! श्याम ।
  • [उठेर आङ तान्दै] म त निदाइ हालेछु ।

कोष्ठक तिन प्रकारका प्रयोगमा छन् : ( ) [ ] { } । जुन कोष्ठकबाट सुरू गरिन्छ त्यही कोष्ठक प्रयोग गरेर अन्त्य पनि गर्नुपर्छ । अर्थ प्रस्ट गर्न कोष्ठकको प्रयोग हुने भए पनि कहिलेकाहिँ कोष्ठक प्रयोगले अनर्थ प्रदान गरिरहेको हुन्छ । खासगरी कानुनको नामका सन्दर्भमा हुने प्रयोग उदाहरण रूपमा लिन सकिन्छ । जस्तो केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ । यहाँ सार्वजनिक भनेको ‘अपराध र सजाय’ हुने अर्थ दिने गरी प्रयोग भएको छ । यस्ता गलत अर्थ दिने कानुनका नाम धेरै छन् ।

(९) सङ्क्षिप्त चिह्न (.)

लामा शब्दलाई छोटकरीमा लेख्दा सङ्क्षिप्त चिह्न (.) को प्रयोग हुन्छ । जस्तै :

  • प्र. अ. (प्रधान अध्यापक) ने. प्र. प. (नेपाल प्रज्ञा-प्रतिष्ठान)  लो. से. आ. (लोक सेवा आयोग)
  • संक्षिप्त रूप लेख्दा यो चिह्नको प्रयोग नगरी छोटकरी रुपलाई एकै डिकोमा लेख्ने प्रचलन पनि छ । जस्तै : प्रअ, नेप्रप, लोसेआ

(१०) उद्धरण चिह्न (“….”) (‘….’)

विशेष शब्दको प्रयोगमा वा कसैको भनाइ जस्ताको तस्तै साभार गर्दा वा प्रत्यक्ष कथनमा भन्दा उद्धरण चिह्न (“….”) वा (‘….’) को प्रयोग हुन्छ । सामान्यतः वाक्यमा आएको विशेष शब्दमा एकोहोरो (‘ ’) उद्धरण र भनाइ वा प्रत्यक्ष कथनमा दोहोरो (“ ”) उद्धरण चिह्न प्रयोग गरिन्छ । एकोहोरो वा दोहोरो जुन उद्धरण चिह्नबाट सुरू गरिन्छ त्यही चिह्न प्रयोग गरेर बन्द पनि गर्नुपर्छ । जस्तै :

  • देवकोटाले “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।” भनेका छन् ।
  • रमेशले सोध्यो, “तपाईँको बेलायत जाने दिन कहिले रे ?”
  • नेपालको तराई ‘अन्नको भण्डार’ हो ।

(११) विकल्प बोधक वा तिर्यक चिह्न (/)

कुनै कुराको विकल्प प्रस्तुत गर्दा यस चिह्नको प्रयोग हुन्छ । जस्तै :

  • खै ! नेपालको मुहार/अनुहार कहिले फेरिने हो कुन्नी ?
  • घिनलाग्दा मानिस /वस्तु /दृश्यले मान्छेको मनमा घृणा उत्पन्न गराउँछ ।

(१२) रिक्तता बोधक वा लोप चिह्न (…)

केही कुरा लोप गर्दा वा छुटेको छ भन्ने देखाउन रिक्तता बोधक वा लोप चिह्न (…) को प्रयोग गरिन्छ । जस्तै :

  • पुस्तकालयबाट कथा, उपन्यास, कविता, जीवनी … लगायतका धेरै पुस्तक चोरिएछन् ।
  • … भनेर उसले घटनाको वर्णन गर्यो ।

(१३) ऐजन चिह्न (,, ,,)

अघिल्लो हरफमा आएका कुरालाई नै दोहोर्याउनु पर्दा ऐजन चिह्न (,, ,,) को प्रयोग हुन्छ । जस्तै :

  • चार वटा भुजा बराबर भएको आकृति वर्गाकार हो ।
  • तिन ,, ,,   ,,   भएको पनि त्रिकोण हुनसक्छ ।