हामी कहिले ओशो तपोवनतिर गएका छौँ भने हामीलाई थाहा छ होला, त्यहाँ सङ्गीतको तालमा बेस्सरी नाचिन्छ ताकि हाम्रो शरीर थाकेर लस्तपस्त होस् अनि शवासनमा पल्टेर शान्त भएपछि ओशोको प्रवचन बजाइन्छ । यसै उनको मधुर र शान्त स्वर कता-कता अनन्तमा गुन्जन्छ । त्यहाँ उनले भनेजस्तै एक आनन्द स्थिरताको अनुभव हुन्छ । शरीरमा ऊर्जा सञ्चार अर्थात् कतै कुण्डलिनी शक्ति मूलाधारदेखि सहस्त्रार चक्रसम्म नृत्य गर्दै छ कि भन्ने लाग्छ ।

पूर्वीय दर्शनको पतञ्जलि योगअन्तर्गत अष्टाङ्ग योगमा विभिन्न चरणहरू छन् । यो शारीरिक, मानसिक र आत्मिक शुद्धीकरणको एक मात्र प्रयोगात्मक विधि हो भन्दा पनि फरक पर्दैन । यसै अनिसार मान्छे मुक्ति अर्थात् बुद्धत्व प्राप्ति गर्न सक्छ भनिएको छ । यसका क्रमिक अङ्ग यस प्रकार छन्-

१. यम (अहिंसा, सत्यवादन, अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य, अपरिग्रह (आवश्यकताभन्दा बढी सञ्चय नगर्नु)

२. नियम (शरीर र मनको शुद्धि, सन्तुष्टि, अनुशासन, आत्मचिन्तन र प्रकृति प्रदत्तता)

३. आसन (योगासन र शारीरिक व्यायामद्वारा शरीरमाथि नियन्त्रण स्थापित गर्नु)

४. प्राणायाम (श्वासप्रश्वासको अभ्यासले यसलाई पनि नियन्त्रण स्थापित गर्नु)

५. प्रत्याहार (ज्ञानेन्द्रिय र कर्मेन्द्रियमाथि नियन्त्रण स्थापित गर्नु)

६. धारणा (मन र मस्तिष्कमाथि नियन्त्रण स्थापित गर्नु)

७. ध्यान

८. समाधि अर्थात् मुक्ति अर्थात् बुद्धत्व

यो प्रक्रिया क्रमिक रूपमा या चरणबद्ध रूपमा हुनुपर्छ भनेर अष्टाङ्ग योगले भन्छ । ध्यान भनेको पलेँटी कसेर या जबर्जस्ती कुनै आसन चाहे वज्रासन होस् या सुखासन या पद्मासन घटित हुँदैन । पहिला यम दोस्रो नियमको पालना गरेपछि बल्ल आसनअन्तर्गत शारीरिक व्यायाम अनि प्राणायामअन्तर्गत श्वासप्रश्वासको कडा मिश्रणपछि शरीर र मन दुवै स्वस्थ हुन्छन् अनि मात्र प्रत्याहारमार्फत इन्द्रियको स्थिरता र धारणाअन्तर्गत मनको स्थिरता भएपछि मात्र ध्यान घटित हुन्छ ।

अहिले धेरै आध्यात्मिक गुरुहरूदेखि मानसिक तथा शारीरिक स्वास्थ्यमा हास्य चिकित्साको पनि प्रयोग गर्छन्, मज्जाले हाँस्ने, गाउने, भजनमा नाच्न लगाउने आदि शारीरिक क्रियाकलाप पनि खुब गराइन्छ । पतञ्जलि अष्टाङ्ग योगमा यसको रहस्य पाउन सकिन्छ । यम र नियमबाट अर्थात् खानपान र बानी व्यहोराबाट शरीर स्वस्थ भएपछि सुरु हुन्छ आसन र प्राणायाम, जसले शरीरलाई भौतिक रूपमा थकाएपछि बल्ल ध्यानका प्रक्रिया सुरु हुन्छन् । त्यसै पलेँटी कसेर आँखा चिम्म गर्दैमा ध्यान घटित हुँदैन ।

कुण्डलिनी योगमा ओशो रजनीश भन्छन्, कडा परिश्रमबाट भौतिक शरीर थकाएपछि बल्ल सूक्ष्म शरीर अर्थात् आन्तरिक शरीरको जागरण हुन्छ । कुण्डलिनी योग भन्ने पुस्तक हेर्ने हो भने त्यहाँ कैयौँ तरिकाको वर्णन गरिएको छ, जसको लक्ष्य भनेकै भौतिक शरीर मज्जाले थकाउनु हो ।

म आफैँ मार्सल आर्टको अभ्यासी र साइकलयात्री भएकाले के स्पष्ट दाबी गर्न सक्छु भने कुनै पनि कृत्रिम नशाभन्दा कडा शारीरिक परिश्रमले बढी आनन्ददायक नशा दिन्छ । त्यसैले त नशा दुर्व्यसनको उपचार गर्दा बढी शारीरिक परिश्रमलाई प्रमुख स्थान दिइन्छ ।

अब प्रश्न आउँछ आनन्द, ध्यान आदि के आत्मा परमात्मासँग जोडिएका छन् त? यदि स्नायु विज्ञानको विश्लेषण गर्ने हो भने प्रेम, घृणा, भक्तिदेखि दुःखपीडा, आनन्द, ध्यान, आत्मिक अनुभूति आदि सबै नितान्त शारीरिक प्रक्रियाहरू हुन् । शरीरले आफैँले उत्सर्जन गरेका केही रसायनहरू, जसलाई हामी हर्मोन्स (Hormones) भन्छौँ, तिनैको कार्य हो ।

जतिसुकै महान् गफ गरे पनि, आत्मा-परमात्मासँग जोडे पनि स्नायुविज्ञानअनुसार, प्रेम पनि रिस, घृणा, भक्ति, करुणाजस्तै मानवीय संवेदना र व्यवहार हो, जसलाई मस्तिष्कको निर्देशनमा विभिन्न ग्रन्थिले उत्सर्जन गर्ने निश्चित हर्मोन अर्थात् रसायनहरूका कारणले नितान्त मान्छेको शरीरमा घटित हुने एक शुद्ध शारीरिक प्रक्रिया हो । यसमा आत्मा-परमात्मा महत्ता या नीचता केही पनि छैन ।

इन्डोर्फिन (Endorphin): धावकको नशा (the Runner’s high)
तपाईँ लामो दूरी दौडिनुभएको छ? दुई चार किलोमिटर होइन, अझै लामो दूरी दौडिसकेपछि यस्तो लाग्छ- समय भए अझै दुई चार किमी दौडनु केही होइन । थकित शरीरमा एउटा अचम्मको उल्लास, उन्माद (Euphoria) उत्पन्न हुन्छ, एकाएक मन आह्लादित हुन्छ । त्यसलाई हामी Runner’s high भन्छौँ । त्यो थकित शरीरमा एकाएक उल्लास ल्याउने के हो त? त्यो हो इन्डोर्फिन् (Endorphin) जुन हाम्रो शरीरको केन्द्रीय स्नायुप्रणाली (Central Nervous System) पिट्युटरी ग्रन्थि (Pituitary Gland) को सहकार्यमा हाम्रो शरीरमा उत्सर्जित हुन्छ ।

इन्डोर्फिनले अफिम अथवा मर्फिनले जस्तै हाम्रो शरीरमा कार्य गर्छ । कडा शारीरिक परिश्रमको कारणले शरीरको दुखाइको सूचना मस्तिष्कमा पुग्छ । मानव मस्तिष्कले त्यसैको प्रतिक्रियास्वरूप इन्डोर्फिनको उत्पादन गर्छ, जुन प्राकृतिक रूपमा दुखाइ कम गर्ने रसायन हो । यो रक्त प्रणालीमा घुल्नासाथ मानिसलाई चरम उल्लासित बनाउँछ । त्यसैले कडा शारीरिक परिश्रम गर्ने व्यक्ति लामो समयसम्म काम गर्न सक्ने, अवसाद (depression) र चिन्ता व्यग्रता (Anxiety) बाट मुक्त हुन्छ ।

न्युरोट्रान्समिटर ((Neurotransmitter) के हुन्?
एक जना कडा शारीरिक अभ्यास गर्ने चाहे त्यो मार्सल कलाका अभ्यासी हुन् या जिममा पसिना बगाउने हुन्, योगाभ्यास गर्ने योगी हुन् या कुनै नृत्याङ्गना या कुनै लामो दूरीका धावक, सबैले प्राप्त गर्ने उन्माद एउटै हो आनन्द एउटै हो किनकि सबैको शरीरमा उत्पन्न इन्डोर्फिन लगायतका न्युरोट्रान्समिटरहरू हुन् ।

Neurotransmitter हरू त्यस्ता रासायनिक पदार्थ हुन्, जसले विभिन्न किसिमका सूचनाहरू एक स्नायु तन्त्रिकाबाट अर्को स्नायु तन्त्रिकासम्म पुऱ्याउने काम गर्छन् । हाम्रो शरीरभरि नै यस्ता तन्त्रिकाहरूको जाल हुन्छ । शरीरको एउटा तन्त्रिकाले सङ्केत या सूचनालाई विद्युतीय सङ्केतबाट रासायनिक सङ्केतमा बदल्छ । त्यही रासायनिक सङ्केतलाई अर्को तन्त्रिकाले प्राप्त गर्छ । यसरी हाम्रा इन्द्रियहरूले सूचनाहरू मस्तिष्कमा पुऱ्याउँछन् अनि फेरि मस्तिष्कले तिनै सूचनाका आधारमा प्रतिक्रिया जनाउँछ । ती प्रतिक्रियाका आधारमा मस्तिष्कले पनि तिनै तन्त्रिकाको माध्यम हुँदै विभिन्न अङ्गहरूलाई सूचना, निर्देशनहरू दिन्छन् । त्यही सूचना सङ्केत बोकेका रासायनिक पदार्थलाई हामी neurotransmitter भन्छौ ।

यिनीहरू जटिल रासायनिक संरचना भएका धेरै प्रकारका हुन्छन् । प्रमुख neurotransmitter हरूमा Dopamine, Serotonin, Dopamine, Acetylcholine, GABA, Glutamate, Norepinephrine, Endorphins आदि हुन् । यिनीहरूको संरचना कार्यक्षेत्रहरू जटिल छन् तैपनि हामीले के भन्न सक्छौँ भने यिनीहरूको असन्तुलनले मानिसमा धेरै प्रकारका शारीरिक तथा मानसिक असन्तुलनहरू आउँछन् ।

प्रेम: आत्मिक अनुभूति या जटिल रासायनिक प्रतिक्रिया ?
स्नायु विज्ञानअनुसार प्रेम आकर्षण आदिको प्रक्रिया बुझ्न हामीले धेरै प्रेमिल मस्तिष्कको MRI गरेर हेर्यौं । त्यसमा मस्तिष्कको त्यो भाग बढी सक्रिय भएको पाइयो जसले डोपामाइन (Dopamine) भन्ने रसायनको उत्सर्जन गर्थ्यो, जसलाई हामी आनन्ददायक न्युरोट्रान्समिटर (Neurotransmitter) भनेर चिन्छौँ । प्रेमिल भावले पनि मस्तिष्कको त्यही भागलाई बढी सक्रिय गराएको पाइयो, जुन भाग प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward) को चक्रले मानव व्यवहारलाई निर्देशित गर्छ ।

त्यही भागले मान्छेको ध्यान केन्द्रित गर्ने, आनन्दित पार्ने र पुरस्कारको ग्रहण गर्ने पनि गर्छ । जब मानिस यही कथित प्रेमको चक्करमा पर्छ, त्यs बेला मस्तिष्कको त्यही भागले अन्य हर्मोनहरू विशेषगरी कोर्टिसोल (Cortisol) को उत्सर्जन गर्छ, जसलाई हामी तनाव हार्मोन (Stress Hormone) भन्छौँ । यसले मानिसको श्वासप्रश्वास बढाउने, चिटचिट पसिना आउने, गाला रातो हुने, नशा, एकोहोरो र डरको भावना पैदा गराउँछ । जब कोर्टिसोलको मात्रा बढ्दै जान्छ, यसले अर्को न्युरोट्रान्समिटर सिरोटोनिनको (Serotonin) मात्रा घटाइदिन्छ । सेरोटोनिन त्यो हार्मोन हो, जसले मान्छेको मनोदशालाई स्थिर र खुसी राख्छ, जसको असन्तुलनले मान्छे अवसाद अर्थात् डिप्रेसनमा जान्छ । त्यसैले असन्तुलित सेरोटोनिनले व्यक्तिलाई प्रेममा एकोहोऱ्याउन, आक्रामक बनाउन र डिप्रेसनमा धकेलिदिन सक्छ ।

प्रेमका अवस्थामा अक्सिटोसिन( Oxytocin ) जसलाई हामी प्रेम हार्मोन (Love Hormone) भन्छौँ, बढी यौनजन्य शारीरिक सम्पर्कको बेला उत्सर्जित हुन्छ र भेसोप्रेसिन (vasopressin) जस्ता हर्मोनहरू पनि उत्सर्जित हुन्छन्, जुन गर्भावस्था र आमा र बच्चाबीचको सम्बन्धलाई प्रभावित गर्ने हार्मोनहरू हुन् । डोपामाइनको उत्सर्जनले मानिसमा कोकिनसेवन गर्दा जस्तैको उल्लासोन्माद ( Euphoria) गराउने भएकाले पुरस्कार चक्रमा मानिस प्रेमलाई आत्मिक परमात्मिक अलौकिक सोच्न सक्छ । जे होस्, यो प्रेम भन्ने चिज पूर्णतया शारीरिक, अझ स्पष्ट भन्ने हो भने मानिसको यौनिक व्यवहारसँग नै जोडिएको छ ।

प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward)
एकपल्ट चर्चित टेलिभिजन कार्यक्रम दिशानिर्देशमा वरिष्ठ नृत्याङ्गना मिथिला शर्माले भनेकी थिइन्, म नाच्दानाच्दै यस्तो अवस्थामा पुग्छु जहाँ एकाएक शून्य हुन्छ । त्यसको जवाफमा विजय कुमारले पनि अन्तर्वार्ताको क्रममा उनी पनि एकाएक निःशब्द हुन्छन् एक शून्य अर्थात् Void को अवस्थामा पुग्छन् । त्यो एक यस्तो उन्मादको (Euphoria) कै अवस्था हो, जहाँ मनुष्यलाई एउटा छुट्टै अलौकिकजस्तो वर्णन नै गर्न नसकिने अनुभूति हुन्छ । त्यसका कारक तत्त्वहरू तिनै neurotransmitter हुन् भन्न सकिन्छ ।

योग र प्राणायामको कतिपय अवस्थामा आध्यात्मिक गुरुहरूले विचारशून्य मस्तिष्कको उल्लेख गरेका छन् । ती अलौकिक र आध्यात्मिक आत्मिक लाग्ने अनुभूतिका पछाडि तिनै neurotransmitter हरूको खेल बुझ्न गाह्रो पर्दैन ।

मानिसहरू शारीरिक अभ्यासप्रति किन मोहित छन् त? यसका लागि हामी एउटा उदाहरण लिन सक्छौँ । चिनियाँ मार्सल कला कुङ्ग फु (Kung Fu) को जननी मानिने Shaolin Temple मा रहेका भिक्षुहरूले आत्मरक्षाका लागि सुरु गरेको यो कलाको कठिन अभ्यासले उनीहरूको शारीरिक क्षमताको विकास त गऱ्यो नै, उनीहरूको मानसिक स्वास्थ्य र स्थिरतामा इन्डोर्फिनको भूमिकाले कडा शारीरिक श्रमपश्चात् उनीहरूले ध्यानको अवस्था प्राप्त गरे, जुन आत्मिक या परमात्मिक नभई Endorphin लगायतका शरीरमै बनेका आनन्ददायक न्युरोट्रान्समिटरहरू प्रदत्त रासायनिक प्रतिक्रियाहरू थिए ।

प्रेरणा (Stimuli) प्रतिक्रिया (Response) पुरस्कार (Reward) यस्तो एउटा चक्र हो, जुन मानवलगायत प्रत्येक जनावरको व्यवहार र क्रम विकास दुवैलाई निर्देशित गर्छ । हामीले जनावरलाई तालिम दिँदा यही चक्रको प्रयोग गर्छौँ । जनावरको कुनै व्यवहारलाई हामीले सुदृढीकरण (Reinforcement) या निराकरण गर्न हामीले पुरस्कार चक्रको प्रयोग गर्छौँ । कुनै व्यवहार देखाउँदा पुरस्कार दिने गर्नाले जनावरमा बिस्तारै त्यस व्यवहार सुदृढ हुँदै जान्छ भने नकारात्मक पुरस्कारले निश्चित व्यवहार निराकरण हुन्छ ।

गाँजाजस्ता वनस्पतिमा केही त्यस्ता रसायन हुन्छन्, जसले तिनै neurotransmitter हरूको जस्तै कार्य गर्न सक्छन् । जस्तो गाँजामा हुने THC ले स्नायु प्रणालीको त्यो क्षेत्रलाई उत्तेजित बनाउँछ, जसले Dopamine को उत्सर्जन गर्छ । मानिसको गाँजा तान्ने व्यवहार अब सुदृढ हुँदै जान्छ किनकि THC ले गर्दा शरीरले पुरस्कारको रूपमा शानदार neurotransmitter Dopamine प्राप्त गरेको छ, जसले मानिसलाई आनन्दको अनुभूति गराउँछ ।

त्यस्तै गाउँदा, गहन अध्ययन गर्दा, कडा शारीरिक अभ्यास गर्दा चाहे त्यो नृत्य होस्, या मार्सल कलाको अभ्यास या योग होस् या प्राणायाम या अन्य कुनै शारीरिक कार्य गर्दा होस्, यिनै neurotransmitter हरू उत्सर्जित हुन्छन् । त्यो पुरस्कारका लागि ती व्यवहार तथा कार्यहरू बिस्तारै सुदृढ हुँदै जान्छन् । यो एक दुई व्यक्तिमा मात्र नभई मनुष्यलगायत सम्पूर्ण प्राणीहरूको क्रम विकासको प्रत्येक चरणमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

हाम्रो शरीरमा रहेका स्नायुतन्त्रिकाहरू र हार्मोनहरू उत्सर्जित गर्ने ग्रन्थि अनि दुवैलाई एक व्यवस्थित स्वरूपमा सञ्चालन गर्ने मानव मस्तिष्कको कार्य धेरै जटिल छ । हाम्रा संवेदनाहरू, अनुभूतिहरू जो हामी अलौकिक आत्मिक भन्ने ठान्छौँ, तिनै जटिल रासायनिक यौगिकहरूका असन्तुलनले देखिने मानिसका अचम्मका र असन्तुलित व्यवहारहरू पनि हामीले अलौकिक, पराप्राकृतिक र असाधारण मानेर भ्रमित पनि हुन्छौँ । यसैको आधारमा धेरै व्यक्तिहरू, आध्यात्मिक गुरुहरू र अलौकिक शक्ति सम्पन्न भएको दाबी गर्नेहरूको भ्रमजालमा हामी फस्न पुग्छौँ । बोक्सी, भूत, प्रेत लागेको देखि माता वा देवता चढेको जस्ता हास्यास्पद कुराहरूको चक्करमा हामी पर्छौंV ।

आफ्नै शरीरले उत्सर्जन गर्न सक्ने neurotransmitter हरूका लागि अफिम, कोकिन, गाँजा आदि लागु औषधको दुर्व्यसनमा फँसेर धेरैले आफ्नो जिन्दगी सखाप पारेका छन् भने डिप्रेसन र दुश्चिन्ताका कारणले कति मानिसहरू जीवन बाँच्न सङ्घर्ष गरिरहेका छन् । हाम्रो शरीरमा भएका हर्मोनहरूको असन्तुलनले गर्दा उत्पन्न यस्ता परिस्थितिहरूलाई बेलैमा बुझ्नु जरुरी छ ।

अझ चर्को समस्या त यस्तै हार्मोनका कारणले अनुभूति भएका उन्माद, नाद र प्रेम भक्तिका आधारमा चर्चका पादरीहरू, कृष्णभक्त बाबाहरू, मौलानाहरूले निर्दोष व्यक्तिहरूको यौनशोषण समेत गरेका छन् । कति महिला पुरुषहरू यसैको घनचक्करमा परेर बर्बाद भएका छन् । यो सबै आफ्नै शरीरका विभिन्न प्रक्रियाहरू चिन्न नसकेर यिनै प्रक्रियालाई महान् आत्मिक परमात्मिक भनेर भजाउँदा आज धेरै व्यक्तिहरू शोषणको जालमा परेका छन् ।

आफ्नो शरीरलाई सक्रिय राखौँ । त्यसका लागि नृत्य गर्नुहोस् या खेल खेल्नुहोस् या मार्सल कलाको अभ्यास गर्नुहोस् या योग प्राणायाम गर्नुस् या पढ्नुहोस् । जसरी पनि यी neurotransmitter हरूको उत्सर्जन शरीरमा भइराखोस् अनि पुरस्कार उत्प्रेरणा र प्रतिक्रियाको प्राकृतिक चक्र चलिरहोस् । आनन्दित हुनुहोस्, अह्लादित र मस्त रहनुहोस् । त्यो तपाईँको आफ्नै शरीरमा छ । अन्त कतै खोजिरहन पर्दैन ।