गाय विन्च

मान्छे सरासर गलत देखिइराखेको छ तर पनि उसले ‘ओहो गल्ती भएछ’ भन्दैन । उसलाई माफी माग्नुजस्तो गाह्रो कुरा केही हुँदैन । ठूला त ठूला, साना उमेरका बालबालिकालाई पनि यदि सहज तरिकाले सरी भन्न सिकाइएको छैन भने ऊ पनि बाङ्गिन्छ ।

माफी माग्नु आफ्ना कृत्यको, क्रियाकलापको जिम्मेवारी लिनु हो । गरेको कामको जिम्मेवारी नलिनु गैरजिम्मेवारीपन हो ।

यहाँ स्पष्ट हुनुहोस्, तपाईं हामी जतिसुकै सचेत भनिने मानिस पनि कहिलेकाहीँ चाहिँ ‘माफी’मा चुकिरहेका हुन्छौँ ।

के कारणले यस्तो हुन्छ ? मनावैज्ञानिकहरू यसका दुई कारण औँल्याउँछन् ।

१) हामी अरु मानिसका बारेमा त्यति धेरै सोच्दैनौँ वा सम्बन्धका बारे गम्भीर छैनौँ । माफी माग्दाको अवस्थामा महसुस गरिने असहजतालाई बढी महत्त्व दिन्छौँ ।

२) जाबो माफी नै माग्दा पनि के हुन्छ र ? गल्ती त भइसक्यो भन्ने कुरामा हामी जोड दिन्छौँ ।

उदाहरणका लागि, तपाईंले आजै काम सक्नुपर्ने हतारोमा हुनुहुन्थ्यो । मिल्ने साथीले अनेक उल्झन ल्यायो । तपाईं ऊसँग झर्कनुभयो । तपाईंले जब काम सक्नुभयो, तपाईंलाई लाग्यो– साथीसँग झर्किएँ, ऊ रिसायो । अब ढिला भइसकेको छ, माफी किन मागूँ ? अब साथी रिसाई नै सकेपछि माफी माग्नुको कुनै तुक होला त ? सम्बन्ध त बिग्रिसक्यो नै ! अब के त्यो सुध्रिन्छ ? सुध्रियो भने पनि पहिलेको तहमै रहन्छ र ?

माफी नै नमाग्नु भन्दा पनि यति धेरै सोच्नु राम्रै कुरा हो ।

तर कोही मानिस चाहिँ माफीबारे सोच्न पनि चाहँदैनन्, चाहे तिनले जतिसुकै ठूलो गल्ती गरेका किन नहोऊन् । गल्ती गरेपछि माफी माग्नुमा केही मानिसलाई आफू मनोवैज्ञानिक रुपमा कमजोर भएको महसुस हुन्छ । माफी माग्नु आफैँमाथि आक्रमण गरिएको महसुस गर्छन् । माफी माग्नुको अर्थ, उनीहरूले कसैलाई ठूलो क्षति पुर्याएको रुपमा हेर्छन् र त्यसले उनीहरूलाई लज्जित महसुस गराउँछ ।

जसले माफी माग्दैन, खासमा त्यस्ता मानिसहरू कमजोर आत्मविश्वासका मान्छे हुन्छन् । उनीहरूको अहंले कसैसँग झुक्न र गलत छन् भन्ने मान्न तयार हुन दिँदैन । यस्तोमा उनीहरूको मनोवैज्ञानिक सुरक्षा संयन्त्र सक्रिय हुन्छ । यो उनीहरूले थाहै नपाई सक्रिय भएको हुन्छ । यस्तो बेलामा उनीहरूले त्यसको भार वा दोष अरुलाई नै लगाउँछन् । अन्य मानिसप्रति आक्रमण गर्छन् तथ्यलाई बंग्याउँछन् । यस्तो गर्दा उनीहरू आफू सशक्त भएको महसुस गर्छन् । आफ्नो कद घटेको उनीहरूलाई थाहै हुँदैन ।

यी सारा प्रकरणमा गल्ती गर्दा जो आक्रमणको तहमा उत्रिरहेको हुन्छ, उसले आफू सशक्त भएको, अरुभन्दा ठूलो भएको, आफू मानसिक रुपमा सबल रहेको भ्रम पालिरहेको हुन्छ । आवरणमा यस्ता कुरालाई अस्वीकार गर्ने, ठूलो स्वरमा प्रतिवाद गर्ने मानिसहरु निकै कडा देखिए पनि वास्तवमा उनीहरू सशक्त हुँदैनन् । उनीहरू मनोवैज्ञानिक रुपमा कमजोर भएका कारणले आक्रमणमा उत्रने हुन् ।

मनोवैज्ञानिक रुपमा भन्ने हो भने, म गलत भएँ भन्ने कुरा स्वीकार गर्नु भावनात्मक रुपमा अप्ठेरो मात्र होइन पीडादायी अवस्था हुन्छ । स्वयंलाई पीडा दिने अवस्था हो यो । जिम्मेवारी लिनु र माफी माग्नुले ती पीडालाई मानसिक रुपमा अवशोषित गर्नुपर्छ । जसलाई यस्ता पीडा सहने बानी परेको हुँदैन, उसका लागि यो अवस्था मर्नुजस्तै हो । जसलाई यसको बानी छैन, उसका लागि यो अत्यन्त पीडादायी अवस्था हुन्छ । कसैको आत्मविश्वास निकै दह्रो छ र उसको मानसिक अवस्था स्थिर किसिमको छ भने त्यस्ता मानसिक पीडालाई उसले चाँडै नै नियन्त्रण लिन सक्छ । उसले आफ्नो अहंको पर्खाललाई नभत्काई वा नचर्काइकनै माफी माग्छ ।

तर जसको आत्मविश्वास कमजोर छ, जो व्यक्तिमा आत्मसम्मान कम हुन्छ चर्का स्वरमा प्रतिवाद गरिरहेको हुन्छ, उनीहरू मानसिक रुपमा साह्रै कमजोर भएका कारण त्यस्ता अप्ठेरा र पीडादायी भावनालाई सहजै पचाउन सक्तैनन् । उनीहरूको अहंको पर्खाल सानो माफीनामामै भत्किन पुग्छ । उनीहरुको अहंलाई ठूलो चोट पुग्छ । मनोविज्ञानको औँले नियम (रुल अफ साइकोलजिकल थम्ब)अनुसार तपाईंको आत्मसम्मानलाई प्रतिरक्षा गर्ने अहंको पर्खाल जति कडा हुन्छ, तपाईंको प्रतिरक्षा प्रणाली जति अररो हुन्छ, तपाईंको कमजोर अहंलाई उति बढी सुरक्षा गर्नुपर्ने आवश्यकता पर्छ ।

जसले गल्ती गर्छ, उनीहरूको गल्ती औँल्याइँदा स्वाभावतः रिसाउँछन् र त्यो बेला उनीहरू माफी माग्न सक्तैनन् । त्यसको साटो उनीहरु किन सही थिए भनी प्रमाणहरु जुटाउन थाल्छन् र तर्कमा जित्न खोज्छन् । तर दुःखको कुरा र साथै निराशाजनक सत्य त के हो भने उनीहरूले त्यति मिहिनेतका बाबजुद पनि जित्न चाहिँ सक्तैनन् । उनीहरूका अघि हामीले सशक्त तरिकाले गलत ठहर्याए पनि, तर्कै गर्न नसक्ने तथ्य अगाडि ल्याए पनि उनीहरू या त ती कुरालाई अस्वीकार गर्छन् या निजी र व्यक्तिगत आक्रमणमा उत्रन्छन् र भन्न थाल्छन्, ‘तिमी सधैँ मप्रति किन वैरभाव राख्छौ हँ ? यस्तो आपत मैमाथि सधैँ किन आइपरेको होला ?’

यस्तो अवस्थामा जो सही छ, उसले आफ्ना प्रमाण, तथ्य तथा कुराकानीलाई साह्रै नरम भएर राख्नुपर्छ । आफ्ना कुरा यसरी राख्नुपर्छ कि, ती कुराले वादविवाद शुरु नहोस्, कुराकानी अनुत्पादक नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । जब उनीहरू एक पटक शान्त हुन्छन्, उनीहरूको डिफेन्स मेकानिज्ममा आक्रमण भइरहेको छैन भन्ने उनीहरुलाई लाग्न थाल्छ र त्यो उनीहरूको अनुहारमा प्रतिविम्बित भएपछि उनीहरू आक्रामक नहुन सक्छन् ।

तर यसको अर्थ उनीहरु माफी माग्न तयार भए भन्ने चाहिँ होइन । जो सही छ, उसप्रति उनीहरूले नरम व्यवहार गर्ने वा सम्बन्ध सुधार्ने कुरा नहुन सक्छ किनभने जबसम्म उनीहरूको अहंमा चोट पुगे नपुगेको निश्चित हुँदैन, त्यतिञ्जेल उनीहरू माफी माग्ने अवस्थासम्म पुग्दैनन् । तपाईंको नरम व्यवहार वा सम्झाई बुझाईले उनीहरुको अहंमा चोट नपुगेको अवस्थामा उनीहरू माफी माग्न नपर्ने अवस्था सिर्जना भएको उनीहरू मान्न सक्छन् । यस्तोमा उनीहरू आफूलाई सुरक्षित ठान्छन् ।

काम बिगार्ने तर कसैगरी नसुध्रिने, माफी माग्नै नचाहने मान्छेसँग तपाईंले दिनदिनै व्यवहार गर्नुपर्छ भने के गर्नुहुन्छ ? अझ त्यस्तो व्यक्ति तपाईंको परिवार हो, अफिसको साथी हो या नजिकको साथी हो भने ? टाढाको कोहीसँग त समस्या हुँदैन । कहिलेकाहीँ भेट हुने त्यस्ता मानिससँग दुरी बढाउने र बनाउने गरे, तपाईंलाई पुगिहाल्छ । तर नियमित भेट हुने व्यक्ति हो भने चाहिँ उसका कारणले तपाईं दुःखी भइरहनुपर्ने अवस्थामा केही काम गर्नुपर्ने हुन्छ ।

सबैभन्दा पहिले उनीहरु कमजोर भएकाले यस्तो गरेका हुन् भन्ने बुझेपछि तपाईंलाई उनीहरुसँग व्यवहार गर्न सजिलो हुन्छ । माफी माग्न मनोवैज्ञानिक रुपमा उनीहरू असक्षम छन् भन्ने तपाईंले बुझ्नुस् । अर्को कुरा, उनीहरू जीवनमा कहिल्यै सुध्रदैनन् भन्ने पनि मान्नुस् । यति मानी सकेपछि उनीहरूसँग तपाईं वादविवादमा कहिल्यै उत्रनु हुन्न र उनीहरूलाई सधैँ निराश बनाउनुहुन्न न त उनीहरूको चित्त दुखाउनुहुन्छ ।

उनीहरू तपाईंको ज्यादै नजिकका मानिस हुन् भने तपाईंमा सहानुभूति र करुणाको मात्रा बढेर जान्छ । उनीहरू बाहिर जति साँढे देखिन्छन्, भित्र उति नै ‘गाई’ हुन्छन् भन्ने दिमागमा बसाल्नुस् । कमजोर धरातल, कमजोर आँतले उनीहरुलाई देखावटी रुपमा साँढे बनाएको भन्ने बुझ्नुस् ।

र, सबैभन्दा महत्त्वपूर्ण चाहिँ– हामी सबैको जीवनमा कुनै न कुनै ठाउँमा आफूले गल्ती गरेको कुरा अस्वीकार गर्छाैं । तर जब हामी त्यो गल्ती गरेको कुरालाई कति चाँडो स्वीकार गर्छौं भन्ने कुराले हामी कस्तो व्यक्ति हौँ, कमजोर धरातल भएको, अहं बढी भएको वा सशक्त आत्मसम्मान भएको भन्ने पुष्टि गर्छ । कमजोर आत्मसम्मान भएको मानिस सधैँ तँ तँ र म ममा उत्रिरहेको हुन्छ भन्ने कुरा तपाईंले नबिर्सनुस् ।

(टेड डटकमबाट)