Chovar Blues Mobile Size

सोफी हारडाक

पढ्दै गर्दा अधिकांश वयस्क मानिसहरू यसलाई निजी मामिला बनाउँछन्, उनीहरूको दिमागभित्र ठूलो स्वरले केही पढिरहेका हुन्छन् । तर दिमागभित्र ठूलो स्वरले पढ्नुभन्दा पनि बाहिर आवाज निकालेर पढ्दाका फाइदा धेरै छन् ।

ठूलो स्वरले वाचन गर्दै पढ्नुलाई धेरैले असभ्य मान्छन् । चार हजार वर्षअघि प्राचीन इराक र सिरियामा लेखिएका ट्याबलेटमा ‘पढ्नु’को शाब्दिक अर्थ ‘चिच्याएर निकाल्नु’ अथवा ‘सुन्नु’का रुपमा बुझिन्थ्यो । कहिलेकाहीँ मात्र ट्याब्लेटमा ‘हेर्नु’ मनमनै पढ्नु भन्ने कुरा बुझिन्थ्यो ।

अचेल चुपचाप पढ्नु एउटा नयाँ सामान्यता बनिसक्यो । अचेल पुस्तकालयमा हामीमध्ये अधिकांश शब्दलाई हाम्रा टाउकामा बन्द गर्छौं र मस्तिष्कमा घन्काउँछौँ । पढ्नु भनेको त अहिले बच्चाहरूलाई कथा सुनाउने र कसैलाई वाचन गर्नैपर्ने अवस्थामा मात्र सम्भव हुन थालेको छ ।

पछिल्लो समय भएका अनेकन् शोधहरूले मनमनै पढ्नु भन्दा बेस्कन पढ्नुका फाइदा धेरै भएको खुल्न थालेका छन् । प्राचीन कालमा ठूलो स्वरमा पढ्नैपर्ने नियम थियो र त्यसको फाइदा हुर्केबढेका वा प्रौढमा पनि उत्तिकै देखिन्थ्यो । ठूलो स्वरमा पढ्दा हाम्रो स्मरणशक्ति बढ्छ, क्लिष्ट किसिमका शब्द वा वाक्यलाई सम्झन मद्दत गर्छ । यसले मानिसहरूबीच भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेल्छ । अचेल यस्ता गतिविधि विरलै देख्न सकिन्छ तर यसका फाइदा अझै पनि आधुनिक समाजमा कम भने भएको छैन ।

क्यानडाको वाटरलू विश्वविद्यालयका साइकोलजिस्ट कोलिन म्याकलिओडले लामो समयदेखि ठूलो स्वरमा पढ्नुको फाइदाका बारेमा अध्ययन गरिरहेका छन् । जसले ठूलो स्वरमा वाचन गरीकन पढ्छ, तिनीहरूमा शब्द सम्झने, लेखिएका कुरा प्रस्ट बुझ्ने गुणको विकास भएको हुन्छ । मनमनै पढ्नेहरूले क्लिष्ट शब्द चाँडै बिर्सन्छन् भने ठूलो स्वरले पढ्नेहरूलाई त्यस्ता शब्द चाँडै स्मरण हुन्छ । झन् बालबालिकालाई ठूलो स्वरले वाचन गर्न लगायो र त्यस्तो बानी पर्यो भने उनीहरूमा स्मरणशक्ति अझ तिख्खर भएर आउँछ ।

‘सानालाई बढी र बूढाहरूलाई कम भन्ने हुँदैन, दुवै समूहलाई ठूलो स्वरमा वाचन गरी पढ्नुको फाइदा देखिन्छ,’ उनी भन्छन् ।

म्याकलिओडले यस किसिमको प्रवृत्तिलाई ‘प्रोडक्सन इफेक्ट’ नामकरण गरेका छन् । यसको अर्थ हो, लिखित शब्दलाई उत्पादन गर्नु अर्थात्, ठूलो स्वरमा वाचन गर्नु वा पढ्नुले स्मरणशक्ति बढाउँछ ।

एक दशकयता प्रोडक्सन इफेक्टमाथि धेरै अध्ययन भएका छन् । एउटा अर्को अध्ययन चाहिँ अस्ट्रेलियामा भएको छ । सातदेखि १० वर्ष उमेर समूहका बालबालिकालाई दुई समूहमा बाँडिएको थियो । यो प्रयोगमा सहभागीहरूलाई कठिन उच्चारणका शब्दहरू दिइएको थियो । समूहमध्ये केहीलाई मनमनै पढ्न लगाइएको थियो भने अर्को समूहलाई ठूलो स्वरमा वाचन गर्न लगाइएको थियो । पछि वाचन गर्नेहरूमध्ये ८७ प्रतिशतले ती शब्दलाई ठीकठीक उच्चारण गर्न सके भने मनमनै पढेकाहरूमध्ये ७० प्रतिशतले मात्र त्यसको ठीक उच्चारण गर्न सकेका थिए । भनाइको अर्थ, कमजोर शब्दशक्ति हुने, मन्दबुद्धि हुनेहरूका लागि सस्वर वाचन फाइदाजनक देखियो ।

यसैगरी ६७ देखि ८८ वर्ष उमेर समूहबीच गरिएको अध्ययनमा पनि यस्तै एउटा अनुसन्धान गरिएको थियो । दुई समूहमा विभक्त सो टोलीमा एउटालाई मनमनै शब्दहरू पढ्न दिइएको थियो भने अर्को समूहलाई ठूलो स्वरमा वाचन गर्न दिइएको थियो । त्यसपछि उनीहरूलाई स्मरण भए जति शब्दहरू कागजमा लेख्न लगाइयो । ठूलो स्वरले वाचन गर्न दिइएकाहरूमध्ये २७ प्रतिशतले ठीकठीक उच्चारित शब्दहरू लेखेका थिए । मनमनै पढ्न लगाइएकामध्ये १० प्रतिशतले मात्र ठीकठीक शब्दहरू लेख्न सकेका थिए ।

त्यसो त मनमनै पढ्ने तरिका प्रभावकारी नभएको भने होइन । इजरायलको एरियल विश्वविद्यालयका शोधकर्ताहरूले सोही तरिकामाथि अध्ययन गर्दा के पाए भने जो व्यक्तिलाई बोल्न गाह्रो हुन्छ, उनीहरू यदि ठूलो स्वरमा पढ्न सक्तैनन् भने मात्र विशिष्ट किसिमको तालिमअन्तर्गत मनमनै पढ्ने तालिम दिँदाको अवस्थामा उनीहरूको स्मरणशक्ति तीक्ष्ण भएको पाइएको थियो । बरु उनीहरूलाई ठूलो स्वरमा वाचन गर्न लगाउँदा शब्दलाई पूर्ण रुपमा उनीहरूले बुझ्न गाह्रो भएको समेत पाइएको थियो ।

आखिर सस्वर वाचन गरेका कुरा स्मृतिमा दह्रोसँग रहने तर मनमनै स्मरण गर्न खोजिएका कुरा दह्रोसँग नजोडिने कारण के हो त ?

यसलाई म्याकलोडले यसरी अर्थ्याउने गरेका छन्, ‘हामी सामान्य कुराहरू ससर्ती हेर्छौं तर विशेष कुरामा मात्र हामीलाई याद रहन्छ । शब्दमा हामीले जसरी जोड दिएका हुन्छौँ, दिमागले त्यो जोड दियाई स्मृतिमा लगेर गाँसिदिन्छ । स्वरले वाचन गरिएका कुरालाई विशेष जोड दिएको ठानी हाम्रो मस्तिष्कले त्यसलाई विशेष कुनोमा ठाउँ दिन्छ ।’

हाम्रो दिमागले फरक, अप्ठेरो, अनौठो कुरा याद राख्छ । सस्वर वाचन गर्दा दिमाग ती कुरामा संलग्न हुन पुग्छ । शब्द उच्चारण गर्दा जुन प्रक्रियामा दिमाग संलग्न हुन्छ, त्यस प्रक्रियालाई जेनरेसन इफेक्ट भनी जानिन्छ । मस्तिष्कले पढेका कुरालाई क्लुका रुपमा जोडेर संगालेर राख्छ ।’

वाचनको अर्को प्रभाव पनि दिमागमा परिरहेको हुन्छ, जसलाई इनाक्टमेन्ट इफेक्ट भनी नामकरण गरिएको छ । मानौँ, कसैले बल उफ्रेर पर पुग्यो भनेर कसैले भन्यो भने हाम्रो दिमागले कल्पना गर्न थाल्छ, पक्कै बल यसरी उफ्रियो होला र निकै पर पुग्यो होला ।

जेनरेसन इफेक्टइनाक्टमेन्ट इफेक्ट दुवै प्रोडक्सन इफेक्टसँग नजिकबाट गाँसिएका हुन्छन् । तिनले हाम्रो मस्तिष्कलाई शब्द र स्मृतिसँग गाँसिदिन्छ । त्यसपछि पृथक् घटना, अवस्था हामीले सहजै बिर्सदैनौँ ।

हामीले ठूलो स्वरमा वाचन गर्छौं भने प्रोडक्सन इफेक्ट अझ सशक्त भएर आउँछ तर कसैले बोलेको सुन्छौँ भने त्यो बेला स्मृतिको बेग्लै फाइदा हुनसक्छ । इटालीको पेरुगिया विश्वविद्यालयका शोधकर्ताहरूले आफ्ना विद्यार्थीलाई डिमेन्सिया रोग लागेका बूढाबूढीलाई कुनै उपन्यासको अंश पढेर सुनाउन भनियो । यस प्रक्रियामा भाग लिएका अधिकांश वृद्धवृद्धाले राम्रो प्रतिक्रिया दिन सफल भएका थिए ।

यसको कारण के हुनसक्छ त ? शोधकर्ता भन्छन्, ‘विद्यार्थीले वृद्धवृद्धालाई उपन्यास अंश यति सशक्त गरी सुनाए, वृद्धवृद्धाहरुले यति चाखपूर्वक सुने कि उनीहरूले त्यसलाई आफ्ना अनुभव, स्मृतिसमेतलाई घोलमाल गरेर शब्ददृश्यलाई ताजा बनाए । जसका कारण चासोपूर्वक सुन्नेहरूले सुनाइएका कुरालाई मज्जाले ग्रहण गर्न सफल मात्र भएनन्, पछि तिनलाई दुरुस्तै सुनाउन पनि सफल भए ।’

‘चाखपूर्वक सुनिएका कथाले उनीहरूको कल्पनाशीलता अझ सशक्त पारिदिएका कारण उनीहरुले ती कथालाई अझ मजाले व्यक्त गर्न सके,’ शोधकर्ताहरूले आफ्नो अध्ययन निष्कर्षमा भनेका छन् ।

कहिलेकाहीँ ठूलो स्वरमा वाचन गरी पढ्नुको फाइदा के पनि हुनसक्छ भने पढाइको शैलीले ती व्यक्तिमा भविष्यमा अल्जाइमर्सजस्ता रोगको पूर्वलक्षण पनि देखिन वा चिनिन सक्छ भन्ने केहीको दाबी छ । एउटा अध्ययनले अल्जाइमर्सका पूर्वलक्षण देखिएकाहरूले पढ्नमा समस्या रहेको पाइएको थियो ।

हामीमध्ये कतिपयलाई त ठूलो स्वरमा वाचन गर्नुको फाइदा स्वभावतः आएको हुन्छ । त्यसका अनेकन् फाइदा हामीले नजानीकनै लिइरहेकै हुन्छौँ ।

कतिपयले त आफूले सस्वर वाचन गरी पढिरहेको पत्तो नै पाउँदैनन् । यस्तो कुरा साम डन्कनले वृद्ध साक्षरता अभियानका क्रममा स्पष्ट अनुभव गर्न पाएकी थिइन् । ५०० जनाभन्दा बढी माझ युनिभर्सिटी कलेज लन्डनकी डन्कनले वयस्क शिक्षामाथि अभियान चलाएकी थिइन् । दुई वर्ष लामो सो अध्ययन २०१७ देखि २०१९ सम्म चलेको थियो । जसमा सहभागीहरूले आफू ठूलो स्वरले वाचन नगरेको भने पनि उनीहरूले त्यो बेला वाचन गरिरहेको भेटेकी थिइन् । हाम्रो दिमागले कुनै कुरा महत्त्वपूर्ण हो भन्ने बुझ्यो भने मान्छेले थाहै नपाइकनै उच्चारण गरीगरी मान्छे पढ्न थाल्ने उनको बुझाइ छ ।

‘पाका मान्छेले ठूलो स्वरले पढ्दैनन् भन्ने होइन । बालबालिकाले मात्र त्यसो गर्छन् भन्ने हाम्रो बुझाइ छ तर पाकाले पनि सस्वर वाचन गरी पढ्ने गर्छन्,’ उनी भन्छिन् ।

ठूलो स्वरमा अचानकै पढ्ने गरेका अनेकन् उदाहरण उनले दिँदै भन्छिन्, ‘कोही प्रार्थना गर्दागर्दै आवाज निकाल्न थाल्छन्, लेखकहरूले ड्राफ्टमा लेखिएका कुराको वेग र उतारचढावमा प्रस्ट हुन सस्वर वाचन गर्न थाल्छन् । जब केही कुरा स्पष्ट बुझ्न गाह्रो हुन्छ, स्वाभावतः मानिसले त्यसलाई ठूलो स्वरमा उच्चारण गर्दै पढ्न थाल्छ ।’

‘केहीका लागि सस्वर वाचन गर्नु आनन्दको कुरा हुनसक्छ । केही सहजताका लागि सस्वर वाचन गर्न सक्छन्, अपनत्वका लागि पनि केहीले यसो गर्छन्,’ डन्कन भन्छिन्, ‘जब कसैका लागि तपाईं केही पढेर सुनाउनु हुन्छ, त्यो उनीहरूका लागि दिइएको समय, उपहार बन्न पुग्छ । समयको उपहार, उनीहरूप्रति देखाइएको चासोको उपहार, स्वरमार्फत् उत्पन्न वातावरणको उपहार ।’

यस्ता कुराले दुईबीच दरिलो सम्बन्ध बढाउने डन्कनको भनाइ छ ।

यदि ठूलो स्वरले वाचन गर्नुका यत्तिका फाइदा छन् भने आखिर मान्छे किन मनमनै पढ्ने व्यक्तिका रुपमा परिणत हुँदै जान थाल्यो । शायद यसको जवाफ प्राचीन कालमा गोप्य उद्देश्यका लागि लेखिएका चिजबिजले भूमिका खेलेको पो हो कि ?

हिन्दुहरूले मन्त्र पढ्नुपर्यो भने नबुझिने गरी वा मनमनै वाचन गर्ने गर्छन् । पढ्ने कुरालाई अति पवित्र बनाइन थालेपछि मान्छेले मौनतामै पढ्ने बानीको पो विकास गर्यो कि ? अथवा, जब लेख्ने क्लिष्ट प्रविधिको विकास भयो, त्यसले हाम्रो मस्तिष्कमा गहिरो प्रभाव पार्यो भन्ने बुझाइ पनि केहीमा छ । यस्तो बुझाइमा जोड दिनेमध्ये एक हुन्, नर्वेको बर्गेन विश्वविद्यालयका कग्निटिभ आर्कियोलजिस्ट करेनलेग ओभरमान । ओभरमान भन्छन्, ‘जब मान्छेमा लेख्ने प्रविधिको विकास भयो, यसले दिमागसँग सन्तुलन बनाउनुपर्ने भयो । यसले बढी घोत्लिनुपर्ने, सोच्ने र लेख्न कुरामा सन्तुलन बनाउँदा हाम्रो व्यवहारमा क्रमशः परिवर्तन हुन थाल्यो ।’

ठूलो स्वरमा वाचन गर्दा हाम्रो गति सुस्त हुन्छ किनभने त्यसका लागि हामीले उच्चारणमा जोड दिनुपर्छ, आवाज बनाउनुपर्छ । उच्चारण गरी आवाज निर्माणमा जोड दिइँदा हामीले तीव्र गतिमा पढ्न सक्तैनौँ ।

फ्रान्सेली एसिरियोलजिस्ट (असिरियाबासीविज्ञ) डोमिनिक चार्पिन आफ्नो पुस्तक रिडिङ एन्ड राइटिङ इन बेबिलोन पुस्तकमा लेख्छन्, ‘हुलालम भन्ने व्यक्तिले मौनमा जो पढ्छ, ऊ तीव्र गतिमा पढ्न सक्छ, हतारमा उसले धेरै कुरा पढ्न सक्छ भनी लेखेका छन् । हुलालमले हेर्नु (हेरेर मनमनै पढ्नु) र बोल्नु/सुन्नु (ठूलो स्वरमा पढ्नु) ठाउँ हेरी फरक तरिकाले अपनाउनुपर्ने सुझाव उनले दिएका छन् ।’

त्यो सुझाव अझै पनि हामीले जानी नजानी उपयोग गरिरहेकै छौँ । जस्तो यही आलेखमा पनि तपाईंले नबुझ्नु भएका कुरा तपाईंले दोहो-याएर पढ्नुभयो । दोहोर्याएर नबुझेका कुराहरु उच्चारण गरीकन पढ्नुभयो । अनि मात्र तपाईंलाई बुझेजस्तो लाग्यो, हो कि हैन त ?