डिल्ली अम्माई / बेल्जियम
पूर्वीय दर्शनमा व्याख्या भएअनुसार “सत्यं शिवं सुन्दरम्” ले विज्ञान, खोज, सृष्टिकलाका साथै आत्मागत, तथ्यगत र रागगत सुन्दर भावलाई बुझाउँछ । अर्को अर्थमा सत्य प्रामाणिक ज्ञान, शिव सामाजिक न्याय र सुन्दर सृष्टि त्यागको मोहक कलाभाव भनेर अर्थ्याउन पनि सकिन्छ । पूर्विय दर्शनमा रूप, लालित्य र साहित्य सौन्दर्यलाई व्यापक रूपले चिरफार र व्याख्या गरिएको छ तर इतिहासदेखि अहिलेसम्म मानवहरूबीच चलेको युगान्तकारी सङ्घर्षको आलोकमा भएको सामाजिक रूपान्तरणको सौन्दर्यबोधबारे विगतका दर्शनहरू प्रायः मौन छन् ।
परिवर्तन देख्ने त्योभित्र हुने त्याग र सौर्यको सुन्दरता नदेख्ने विगतको दार्शनिक परम्परामा खोट छ । दर्शनशास्त्रको मूल समस्याको सारतत्त्वबारे घोत्लिँदा, परस्पर विरोधी सुन्दरताको अनुभूति हुन्छ तर त्यसबारे बहस गर्न दर्शनशास्त्रीहरू अनकनाउँछन् । यहाँ त्यही अहिलेसम्म कम छलफल गरिएका समाज सौन्दर्य विज्ञानका विपरीत मूलभूत दुई आयामबारे बहस चलाउन खोजिएको छ ।
पश्चिमा मान्यताअनुसार सौन्दर्यशास्त्र (Aesthetics) संवेदनात्मक-भावनात्मक गुण-धर्म र मूल्य-मान्यताहरूको अध्ययन हो । कला, संस्कृति र प्रकृतिको भावात्मक सुन्दरता नै सौन्दर्यशास्त्र हो । सौन्दर्यशास्त्र दर्शनशास्त्रको त्यस्तो एक अङ्ग हो जसले दर्शनलाई मार्मिक(स्वादिलो) बनाउँछ । कुनै सुन्दर वस्तुलाई देखेर हाम्रो मनमा जुन आनन्दानुभूति हुन्छ त्यो त्यसको सौन्दर्य हो । सौन्दर्यको स्वभाव र स्वरूपको विवेचना जीवनको विविध अनुभूतिहरूसँग समन्वय स्थापित गर्दै कलासँग जोडेर मात्र गर्न सकिन्छ । सौन्दर्यशास्त्र दर्शनको एक शाखा भएकाले कला, साहित्य र सुन्दरताबाट अनुबन्धित प्रश्नहरूसँग जोडेर यसको विवेचना गरिएको पाइन्छ । ज्ञानको सीमाभन्दा बाहिर भिन्न इंद्रिय-बोधद्वारा प्राप्त हुने मनोरमका लागि युनानी भाषामा ‘एस्तेतिको’ शब्द राखिएको छ जसबाट अङ्ग्रेजीमा ‘एस्थेटिक्स’ को व्युत्पत्ति भएको मानिन्छ । प्रकृति, कला र साहित्यसँग सम्बन्धित भएर क्लासिकल सौन्दर्यशास्त्रीय दृष्टिकोण विकसित हुँदै आएको हो ।
सौन्दर्यशास्त्रले साहित्य,कला, समाज विकास र सभ्यताले सृजना गरेका विविध संस्कृतिमा समेत आफ्नो स्थान बनाएको छ । समाज सौन्दर्य सभ्यताको बीभत्स अनुभूति नभएर मिठो स्वाद हो जसलाई महसुस गरेर आनन्द लिइन्छ । साथै त्यही आनन्दतर्फ हाम्रो सजीव गति सदैव प्रेरित भइरहन्छ ।
यहाँ समाज सौन्दर्यको त्यही फरक-फरक अनुभूतिलाई व्याख्या गर्ने प्रयत्न गरिएको छ ।
समाज व्यवस्थाले सृजना गरेका बहु-आयामिक स्वादमध्ये विशेष गरी दुई विपरीत प्रकारका प्रतिनिधिमूलक सामाजिक सौन्दर्यलाई अध्यायन गरिँदै आएको पाइन्छ । त्यसमा एउटा सौन्दर्यबोध सामाज विकासको पछिल्लो उत्पादन सम्बन्धले सृजना गरेको व्यक्तिगत स्वतन्त्रतासहितको निजी जीवन र संस्कृति हो भने अर्को प्राकृतिक समतामूलक उत्पादन सम्बन्धसहित समुदायको अधीनमा रहेको प्रकृतिसापेक्ष पूर्ण सामूहिक जीवन मूल्यपद्धति हो । यी दुवैमध्ये कुन सामाजिक पद्धति सर्वोत्कृष्ट हो भन्ने कुरा अहिलेसम्म बहसकै विषय बनेको छ । मानिसका स्वार्थअनुरूप ती दुवै जीवनपद्धतिभित्रका सुन्दरता देख्ने आफ्ना आफ्नै दृष्टिकोण छन् । त्यसको मुख्य निर्धारक तत्त्व आधुनिक राज्यव्यवस्थाभित्रको राजनीतिक संरचनालाई मानिँदै आएको भए पनि प्रतक्ष सम्बन्ध वर्तमान अर्थप्रणाली अर्थात् उत्पादन र वितरण प्रणालीसँग जोडिएको छ ।
आदिम कालको सिकारी मानवले केवल आफ्ना लागि मात्र सोच्न सक्दैनथ्यो । कारण ऊ समूहमा रहन्थ्यो र उसको सामूहिक दायित्वबाहेक व्यक्तिगत हितका बारेमा सोच्ने क्षमताको विकास नै भएको थिएन । उसले प्राप्त गरेका हरेक उपलब्धि तात्कालिक कविला समूहका हुन्थे । त्यसलाई सबै सदस्यले आवश्यकता अनुकूल उपभोग गर्दथे । भनिन्छ, त्यही आदिम मानव समाजको सुन्दरताले नै ‘सर्वो हिताय’ को समतावादी धारणा विकास गरेको हो । कबिला समाजको अत्यन्त सुन्दर पक्ष भनेकै सामूहिक उत्पादन र समान वितरण प्रणालीलाई मान्न सकिन्छ ।
आधुनिक शैक्षिक क्षेत्रमा निजी र सामूहिक जीवन सौन्दर्यले ठुलो योगदान दिएका छन् । सामुदायिक र व्यक्तिवादी दुवै सामाजिक दर्शनमा निहित सौन्दर्यबोधका आ-आफ्ना फराकिला आयामहरू छन् । दुवै प्रकारका सोचको द्वन्द्व र परिणामहरूमा अभूतपूर्व भविष्यको सौन्दर्यलाई नियाल्न सकिन्छ । त्यसैले विगतको मानव सभ्यताले निर्माण गरेका फरक-फरक जीवनपद्धतिमा मानिसले छोड्न नसक्ने सुन्दरताको मोहकता निहित छ भन्दा अत्युक्ति नहोला । त्यति हुँदाहुँदै पनि ती दुवै जीवनपद्धति समान गतिमा चिरकालसम्म सँगै जान सक्दैनन् । समाजशास्त्रीहरूको मतानुसार अन्त्यमा दुईमध्येको सर्वोत्कृष्ट एउटा सामाजिक प्रणालीले मानव सभ्यताको नेतृत्व गर्नेछ ।
सौन्दर्यबोधको आयाम :
जगत् बोधगम्य छ कि छैन ? मानिसको बुद्धिविवेकले प्रकृतिको रहस्य बुझ्न र त्यसको विकासका नियम थाहा पाउन सक्दछ कि सक्दैन ? यी समस्याको हल नगरी सुन्दरताका विपरीत दुई आयामहरू बुझ्न सकिन्न ।
सौन्दर्यलाई हेर्ने र बुझ्ने संसारमा फरक-फरक दृष्टिकोणहरू छन् तर विशेष गरी दुई विश्व दृष्टिकोण रहेको कुरा दार्शनिकहरूले स्विकार्दछन् । समाजविज्ञहरूका अनुसार समुदायका एक थरी मानिसहरूले मानव सभ्यतामा प्रयोग भएको सिप र श्रमलाई मानक मानेर सौन्दर्यलाई हेर्दछन् ।
तागत, मेहनत, सिपले कला क्षेत्रमा मात्र नभएर मानवसभ्यताले हजारौँ वर्षअघि निर्माण गरेका इजिप्टको पिरामिडजस्तै सभ्यताका अवशेषहरूमा समेत अनेकन् सौन्दर्य भरिदिएको छ । सभ्यताको निर्माण हुँदा बगेको पसिना, सिप, कला र प्रविधिले पौराणिक सभ्यताको एक युगीन सौन्दर्यलाई प्रतिनिधित्व गर्दछ । त्यसैले सौन्दर्यका लागि श्रमसौन्दर्य प्रधान हुँदाहुँदै पनि ज्ञान, प्रविधि, कला र समुदायको एकीकृत अभ्यासले सभ्यताको निर्माणमा मूख्य भूमिका खेल्दछ । यी सबै कुराको जोडबलबाट निर्माण भएको सभ्यता नै वास्तवमा सुन्दर समाजभित्र मौलिक पहिचानको रूपमा विकास भएको हुन्छ ।
पौराणिक सभ्यताका सांस्कृतिक विरासतभित्र लुकेको सौन्दर्यभावले र बाँच्नका लागि गरिने अन्तःसङ्घर्षहरूले सामाजिक रूपान्तरणका लागि प्रेरणा पैदा गर्दछन् । त्यो जागरणमा मानिसले एक प्रकारको नयाँ आशाको सुन्दर तस्बिर देख्छ र नयाँ आशाको छवि समाजविकासको नयाँ आयाममा प्रवेश गर्दछ । मानिस तथा समुदायलाई भविष्यप्रति आशावादी बनाउने प्रमुख आकर्षक तत्त्व विपरीतबीचको प्रतिष्पर्धासँग अन्तर्निहित सौन्दर्यबोध हो ।
मानौँ, समान अवस्थामा कुनै एक स्त्री कसैका लागि अत्यन्त सुन्दर र कसैका लागि त्यही स्त्री सामान्य लाग्न सक्छ । कसैले उनीभित्र भएको श्रम, सिप र ज्ञानलाई बढी सुन्दर देख्छ; बाहिरी आवरणले उसलाई खासै प्रभाव पार्दैन तर अर्काले शारीरिक बनावटलाई महत्त्व दिन्छ । त्यसैले सुन्दरतालाई हेर्ने अन्तर्दृष्टि सामाजिक सङ्घर्षले पैदा गरेको भिन्न-भिन्न बुझाइले निर्धारण गर्ने हुन्छ, जसलाई हामी चेतनाको तह पनि भन्न सक्छौँ । सामाजिक सौन्दर्यलाई व्यक्तिको कला तथा सौन्दर्यप्रतिको विश्व दृष्टिकोणसँग नजोडीकन बुझ्न सकिन्न भनेर सायद त्यसैले भनिएको होला ।
सौन्दर्यलाई हेर्ने र बुझ्ने कसरी ?
कला र सामाजिक सौन्दर्य समुदायको सामूहिक योग्यताले सृजना गरेको विशिष्ट एकीकृत श्रमशृङ्गार हो । भन्न नपर्ला, सौन्दर्यको प्रधान पक्ष बाँच्नका लागि प्रकृतिसँग मानिसले गरेको अन्तःसङ्घर्षबाट प्राप्त आनन्ददायक भोजनको उपभोग हो जसको सम्बन्ध भोकको साथसाथै स्वादसँग पनि हुन्छ । प्रारम्भिक मानव समुदायभित्रको अन्तर्निहित प्रधान सुन्दरता त्यही सामूहिक भोजन हो, जो आवश्यकताअनुसार सबैमा वितरण गरिन्थ्यो । आदिम समाजको त्यो सुन्दर गुण नै आधुनिक समाजवादको सैद्धान्तिक भ्रूण पनि हो ।
त्यसपछि मानिसले आफ्नो समुदायको सुरक्षाका लागि प्रयोग गरेको ज्ञान, सिपको संयोजन आफ्नो इलाकाभित्रको अन्तर्निर्भरताको समाधानका फरक-फरक अभ्यास पनि आदिम सुन्दर कलाभित्र पर्लान् । समाजविकासको गतिमा भएको विनिमय कलाको विकास, निजी सम्पत्तिको अभ्युदयसँगै सृजित मानिसको आर्थिक तहगत संरचना, वर्गविद्रोह र सामाजिक रूपान्तरणले मानिसको भविष्यलाई अझ रोचक र सुन्दर बनाउँदै लगिरहेको छ । यो क्रम मानवसभ्यता रहेसम्म निरन्तर अगाडि गइरहने कुरामा कसैले शङ्का गर्नु आवश्यक छैन ।
मानवसोच र सभ्यताका फरक-फरक आयामबीच हुने सङ्घर्षले समुदायको सुन्दरतालाई क्रमशः भत्काउँदै लागेको कुरा हामीले महसुस गरेका छौँ । यसो हुनुको पनि कारण छ । त्यसकारण हो मानिसभित्र हुने मनोवैज्ञानिक कारण अर्थात् विपरीतबीच हुने सङ्घर्षका कारण । नयाँ सामाजिक सुन्दरता चुलिने भनेकै पुरानो सोच, सामाजिक सम्बन्धको समाप्तिपछि हो । हाम्रो छोटो आयुका कारण सामाजिक परिवर्तनका गुणात्मक भिन्नता त्यति देख्न पाउँदैनौँ । तसर्थ कहिलेकाहीँ त्यस्तो पनि हुन्छ र भनेजस्तो लाग्छ । हरेक युगमा मानव चेतनाले छलाङ लगाउँछ, विज्ञान र प्रविधिको विकासले हामीले अनुमान गर्न नसक्ने गरी फड्को मार्छ । परिवर्तनका चालकहरू समुदायको चेतनासँग सदैव जीवित रहन्छन् । जसलाई भविष्यको अझै सुन्दर प्रतीक्षाले सामाजिक सङ्घर्षबाट अलग हुन दिँदैन । समाज रूपान्तरणको प्रमुख कारक नै खोज र उन्नत समाजको आशामुखी प्रतीक्षा हो ।
अगाडि नै भनिसकियो कि संसारमा समुदायको हितलाई प्रधान मान्ने एक सोच छ । त्यो सोच अलिखित भए पनि आधुनिक मानव सभ्यताका प्रथम कबिला समुदायको सोच हो । आदिम सिकारी समुदाय जसले आफ्नो समूहको हितमा आफ्नो हितलाई समाहित गरेको थियो । समूहवादी चिन्तन कबिला समाजको सबैभन्दा सुन्दर ऐतिहासिक विरासत हो । सामाजशास्त्रीहरूले हाम्रा आदिम पुर्खाहरूको त्यही सामूहिक जीवनपद्धतिलाई आदिम समतामूलक समाज भनेर नामाकरण गरेका छन् ।
मानिसको प्रकृतिसँग हुने अन्तःसङ्घर्ष र अन्तर्निर्भरताले एक युग पार गरेपछि मानिस सुरक्षा, भोजन लगायत धेरै कारणले सामूहिक जीवन पद्धतिमा रहन सकेन । आफ्नो समूहको विस्तारले गर्दा प्रकृतिप्रदत्त भोजनमात्र उनीहरूका लागि पर्याप्त भएन । क्रमशः समुदायले खेति गर्ने सिपको विकास गऱ्यो । त्यसका लागि आफ्नो श्रमक्षेत्र विभाजन भयो । सामूहिक यौन जीवनको सौन्दर्य भत्कियो र व्यक्तिवादी जीवन सौन्दर्यको सुरुवात भयो । मानव समुदायका स्थायी बसोबासबाट सृजित संरचनाले राज्यको प्रादुर्भाव गरायो । त्यसको सञ्चालन गर्न नेतृत्वको आवश्यकता भयो र आदिम सामान्तहरू राजा बने । दास युगलाई दास मालिकबीचको विद्रोहले र पछिल्लो सामन्तवादलाई उदार पुँजीवादी क्रान्तिले विस्थापित गर्दै गयो । जब समाज व्यवस्थाभित्रको सुन्दरतालाई कुरूपताले परास्त गर्दै जान्छ अनि समाज विकासले आफ्नो पुरानो रूप बदल्छ । सभ्यतामा विपरीतबीचको द्वन्द्व, सामाजिक एकता प्रक्रियागत रूपमा अन्तर्निहित हुन्छ र त्यो द्वन्द्वको सुन्दरता भनेको पुरानो समाज व्यवस्थाको रूपान्तरण हो । मानव सभ्यताहरूमा पनि विज्ञानमा झैँ गतिको नियम हाबी हुन्छ ।
मानव इतिहासका यी सबै सङ्घर्षलाई गहनतामा हेर्ने हो भने त्यसभित्र अनेकौँ प्रकारले सौन्दर्यबोध गर्न सकिन्छ । आफ्नो इलाकाको सुरक्षाका लागि गरिएको त्याग, उत्पादन वृद्धि र उत्पादन सम्बन्धका लागि गरिएको ज्ञान, सिप र श्रम तथा मानिसको सामूहिक हितका लागि बनाइएको नियामक संरचनाभित्र अभूतपूर्व रूपमा सामाजिक सुन्दरताको अनुभूति गर्न सकिन्छ ।
साहित्यको सुन्दरता भाष्य रसानुभूति हो । दर्शनमा आशानुभूति, समाजसास्त्रमा सुखानुभूति र कलामा दिव्यानुभूतिलाई सुन्दरता मान्न सकिन्छ । सामुदायिक अनुभूतिमा पुरानो सुन्दरताले लोभ्याउन छाड्यो भने मानिसले त्यो सुन्दरताको विकल्प खोज्छ । उसले नयाँ सुन्दर समाजको परिकल्पना गर्न थाल्दछ । मानव सभ्यतामा व्यक्तिको यही रुचिगत प्रवृत्तिले प्रभाव जमाइरहेको हुन्छ । हो त्यही मोहक लोभ, अपनत्वको अनुभूति वा आशालाई हामीले दर्शन शास्त्रमा समाज सौन्दर्यको आँखाबाट मात्र देख्न सक्छौँ, महसुस गर्न सक्छौँ र बताउन सक्छौँ ।
सुन्दरताका पारखीहरूलाई एउटा के कुरा भन्नैपर्ने हुन्छ भने मानिसले मानव सभ्यता, दर्शन र सामाजिक व्यवहारलाई हेर्ने दृष्टिकोणबाट नै उसको सुन्दरताप्रतिको भाव निसृत हुन्छ । त्यसलाई सौन्दर्यशास्त्रमा सामाजिक मूल्यप्रतिको रुझान भनिन्छ । मानौँ मेरा लागि प्रकृति र वातावरण प्रधान रुचिको विषय हुन सक्छन् तर अर्काका लागि पुँजीवादले निम्त्याएका उत्पादन, सम्बन्ध र प्रकृतिदोहनले निम्त्याउँदै गरेको भवितव्यभन्दा पुँजीवादी उपलब्धिले ल्याएको सुन्दरता महान् लाग्न सक्छ । सामाजिक सुन्दरताको पनि रूपान्तरण हुन्छ । त्यो सामाजिक रूपान्तरण वर्तमान सामाजिक सुन्दरताभन्दा अझ बढी चेतनायुक्त, मानवतावादी र समान न्याय सुन्दरताको आलोकमा मात्र सम्भव छ । त्यसैले भनिएको होला यी सबै कुराको निर्धारण मानव चेतनाको स्तरले गर्ने हो ।
अन्त्यमा, समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षणमा जोड दिने एउटा दार्शनिक विश्व दृष्टिकोण छ । जसलाई संवर्द्धनवाद वा परम्परावाद पनि भनिन्छ । त्यो विचारधाराले विगतको कन्जरभेटिज्ममा आनन्द, शान्ति र स्वाभिमानयुक्त मौलिकताभित्र सुन्दरता देखिरहेको हुन्छ । त्यो पक्ष गतिको नियमले ल्याउने आँधीबेहरी(क्रान्ति ) र परिवर्तनपछि हुने रूपान्तरणमा विगतको सामाजिक सुन्दरता सम्झेर रुवाबासी गर्छ । उसको सामाजिक परिवर्तनलाई आत्मसात् गर्ने वैज्ञानिक सोच धिमा हुँदा परिवर्तनको स्वाभाविक चाल बुझ्दैन । गतिको नियम बुझ्न नसक्ने समस्या उसको हेर्ने दृष्टिकोण वा सोचको हो । ऊ आफैँमात्र सामाजिक रूपान्तरणमा कुचालक र सुचालक हुन सक्दैन किनकि सामाजिक परिवर्तन त त्यो समाजभित्रका सुन्दरपक्षहरूको ह्रास भएपछि हुने अन्तःसङ्घर्षका कारणले हुने हो ।
त्यसको विपरीत अर्को रूपान्तरणभित्र सुन्दरता देख्ने वैचारिक धार पनि छ । जसले विगतको सामाजिक मूल्यको विछोडमा रुवाबासी गर्दैन । उसले भविष्यमा हुने सुन्दर परिवर्तनलाई महसुसमात्र गर्दैन, आत्मसात् पनि गर्छ । प्रगतिशील रूपान्तरणका लागि सचेत सङ्घर्ष गर्छ र मात्रात्मक परिवर्तनपछि हुने रूपान्तरित गुणलाई स्विकार्छ । युग परिवर्तनको सिलसिलामा हुने सामाजिक हलचल, सांस्कृतिक हलचललाई गतिको नियमानुसार स्वाभाविक मान्छ ।
थोमस हब्सको चिन्तनमा आधारित परम्परागत सामाजिक मूल्यभित्रको सुन्दरता र विपरीत वर्गबीचको अन्तःसङ्घर्षबाट सृजित सामाजिक क्रान्तिभित्रको सुन्दरता फरक फरक भावमा महसुस गरिने सन्तुष्टिहरू हुन् । यी भिन्न सोचले निर्माण गरेका सुन्दरताभित्रका कुरूपताको अर्को आयाम पनि छ । त्यही कुरूपताको आयामले युगीन क्रान्तिका क्रममा निर्माण भएको सुन्दरताको मोहकता बदलिरहन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।