आज कथाका कुरा गर्छु । ‘कथा’ भनिरहँदा यदाकदा लामा कथा, यानि उपन्यासको पनि कुरा गर्छु, त्यसभित्रको कथाको सन्दर्भमा टेकेर । कथै त हो !

एकजना मित्र छन् । भनिरहन्छन् — “तिमीले पूर्वको तामुल ख्वाउँछु भनेको पनि कथै भो ।”

माने, मैले उनलाई तामुल ख्वाइनँ ।

यानि, मैले खुवाएको भए ‘कथा’ हुने थिएन ।

खुवाएको भए, त्यस घटनाले ‘कथा’ हुनुको शर्त गुमाउने थियो । अनि उनले भन्न पाउने थिएनन् ।

यानि, कथा हुनुमा कुनै कुरा अक्षरसः यथार्थमा परिणत नहुनु पनि हो ।

हो, यसै कुरामा छ कथाको दर्शन, सायद । नत्र, घटनाहरू कि इतिहास हुन्थे, कि समाचार ।

यो ‘अक्षरसः यथार्थमा परिणत नहुनु’ भनेको गहिरो कुरा हो ।

— त्यो भनेको कोरा आदर्श मात्रै पनि होइन ।
— त्यो भनेको हुँदै नहुने, स्वेरकल्पनाको चाङ पनि होइन ।
— त्यो भनेको जादु, चमत्कार र छुमन्तरले भनिरनु पनि होइन ।
— त्यो भनेको हावादारी गफ दिनु र ढाँट्नु पनि होइन ।

यो पनि होइन । उः पनि होइन । के हो त ?

‘अक्षरसः यथार्थमा परिणत नहुनु’ भनेको कथाकारलाई कुनै रिक्ततामा खेल्ने अवसर हुनु हो । हो, रिक्ततामै हो सिर्जना सबैभन्दा प्रस्ट देखिने । सेतो कागजमा काला अक्षर देखिएजस्तो । रातमा तारा देखिएजस्तो ।

यो रिक्ततामा ‘कथ्न’ पाइन्छ । त्यसै कथ्ने कार्यले कथालाई कथा बनाउने हो ।

कतिपय ‘कथा’ मा यो रिक्तता नै हुँदैन । अखबारमा आउनु हो भने ‘समाचार’ भन्दा हुने । अथवा, इतिहास । अथवा मुचुल्का । अथवा तमसुक ।

कथामा यो रिक्तता कथाकारको रङ्गमञ्च हो । यसैमा गाउँछ, नाच्छ, रमाउँछ, अभिनय गर्छ कथाकार । रिक्तता नै छैन भने उसले कथाका नामका कि समाचार सुनाउँछ, कि इतिहास । अँ, त्यस रिक्ततालाई ‘ड्रामाटाइज’ गर्ने क्षमता भएन भने पनि कथाकारले कि समाचार सुनाउँछ, कि इतिहास भन्छ । उफ् !

अँ, समाचारमा केही रिक्तता उत्पन्न गरेर, त्यसलाई कल्पनाले भर्न सक्यो भने कथा हुन्छ ।

रिक्ततामात्रै छ भने के हुन्छ ? त्यस्तो पनि धेरै देखियो । मेरै कथा पनि… भो, लाज हुन्छ ।

महेश पौड्याल

त्यसो भयो भने त्यो साहित्य कमसेकम कथा चैँ हुँदैन । अरू नै केही हुन्छ । नाम थाहा नभएको । भयङ्कर केही – तीव्र कल्पनाशीलता वा सिर्जनशीलताको प्रमाण । कि हुन्छ – हात्ती आयो, हात्ती आयो, फुस्सा ।

कसरी हुन्छ त्यस्तो ?

कुरा अलि गहिरो छ ।

जुन रिक्तताको कुरा माथि गरिएको छ नि, त्यस रिक्ततालाई कथाकारले कुन वस्तुले भर्छ ? त्यस वस्तुमा समाजले आफ्नो तस्बिर खोज्छ । पाठकले आफूलाई खोज्छ । समयले अंशियारी खोज्छ । समुदायले परिचय खोज्छ । भेट्यो भने कथाको गृहप्रवेश हुन्छ । भेटेन भने दाहसंस्कार । राम नाम सत्य हो …. ।

यी कुनै पनि कुरा समेट्न नसक्ने वस्तुले त्यो रिक्तता भर्न खोजियो भने कथा दुर्घटित हुन पुग्छ । भएकै छन् कति कथा । चाङै छ त ।

कसैले भन्ला — कथामा किन खोज्नु पाठक वा समाजले आफ्नो अनु्हार ?

कथा भन्ने चीज नै समाजको पुस्तैनी कीपट हो । नासो नै समुदायको हो ।

कथा त के हो के नि ! हामीले हाम्रो धर्मको, देशको, शासकको वा जातिको कुरा जानेको कथा सुनेरै होइन ? स्वर्ग वा नर्कको कुरो ? शिव र पार्वतीको ? हातिमताईको ? गोनु झाको ? केले हाम्रो सामाजिक अवचेत निर्माण गर्यो ? हामीले त्यो कसरी थाहा पायौँ र त्यसका उत्तराधिकारी बन्यौँ ?

कथा सुनेर । सिधा कुरा । प्लेन एण्ड सिम्पल । यसको विश्लेषण चैँ गहिरिएर गर्नुहोला ।

युरोपेली सेनाको आक्रमणमा परेर सबकुछ गुमाएका आदिवासी अमेरिकीहरू ब्लेक माउण्टेनबाट भाग्दा कथामात्रै बोकेर भागेको थिए । स्कोट मोमाडेले त्यसै त भने । तिनै कथा आफ्ना सन्तानलाई सुनाएर उनीहरूले आफ्नो सभ्यता बचाए ।

कथाले हामीलाई हाम्रा अग्रजको पूरातन सभ्यता, संस्कार र समार्थ्यको परिचय दिन्छ र हामी को हौँ अथवा को रहेँछौँ भन्ने कुराको परिचय दिन्छ । कथा अग्रज र कनिष्ट पुस्तालाई जोड्ने सिजनाको सुन्दरतम पुल हो ।

त्यसै होइन नि लेस्ली मोर्मोन सिल्कोले भनेकी – कथा हाम्रो समुदायको सुरक्षा कवच हो ।

त्यसै होइन नि टोनी मोरिसनले भनेकी – हामीले हाम्रो भावि पुस्तालाई दिन सक्ने सुन्दरतम कुरा नै कथा हो ।

यानि, कथामा समाज जोडिन्छ । समुदाय जोडिन्छ । उसको हित जोडिन्छ ।

त्यसो भए प्रश्नै प्रश्न । उत्तर जानिएन भने प्रश्न सोध्नुपर्छ । सुरक्षित होइन्छ । सजिलै ।

प्रश्न १ः

त्यसो भा, फ्रान्ज काफ्काले लेखेको कीरोको कथा चैँ कथा भएन ? समाज–समुदाय केही छैन त ? एउटा विरक्तिएको मान्छे छ – ग्रिगोर । दुखी आत्मा । कीरो भयो । अनि मर्यो । कीरो मर्दा कसैलाई केही भएन ।

प्रश्न २ः

त्यसो भा, डिनल टोमसको ‘अ स्टोरी’ कथा भयो त ? कथाको नामै ‘अ स्टोरी’ यानि, एउटा कथा । कुनै पात्रले कसैको सुन्दैन । सबैले सबैमाथि शङ्का गर्छन् । सोचेको केही हुँदैन । जसको केही कुरो मिल्दैन, ती दम्पती । जहाँ हिँडेका, त्यहाँ पुग्दैनन् । समाज वा समुदाय भनेपछि त एकअर्कामा विश्वास, सहकार्य, सहमति पनि त होला ? के हो यस्तो हावाको कथा ? कथै हो ?

प्रश्न ३ः

मार्खेजको एउटा पात्रले भूत बनेर आएको विशालकाय जहाज देख्यो रे समुद्रमा । किनारमा आइपुग्दा पड्कियो रे । अनि, हजारवटा घाम लागेजस्तो उज्यालो भयो रे । अनि… कसरी समाज ? कसरी समुदाय ?

प्रश्न ४ः

परशु प्रधानले कथा लेखे ‘असम्बद्ध’ । एउटा पात्र छ । चार पृष्ठ बर्बराउँछ मात्रै — यसो भयो, उसो भयो । यसो किन भो । उसो किन भो । यसो गर्छु । उसो गुर्छु । कथा भयो ? समाज–समुदाय ? मारो गोली ।

यी कुरालाई बुझ्न समयको मनोविज्ञानलाई बुझ्नुपर्छ । नत्र अर्थ लाग्दैन । समयको गति र कथाको गति एकै भयो भने, त्यसको लय समाजले बुझ्छ । पाठकले भनौँ न । भएन भने – कथाकारले मात्रै बुझ्छ, अरूले बुझ्दैन ।

उसो भए, प्रयोगधर्मी कथामा त समाजको र कथाको लय भिन्नाभिन्नै हुन्छ नि ? यसो भन्नुहोला तपाईं । यो प्रश्न आउला भन्ने मलाई अघि नै थाहा थियो । नभनेको मात्र । अहिले भनेँ नि । प्रश्न आयो । आओस् ।

अँ, प्रयोगशील कथा ।

प्रयोगशील हुनुहोस् ।

प्रयोगशीलता चाहिन्छ ।

नत्र, सबैका कथा मैनालीका जस्ता । सबैका कथा टोल्स्टोएका जस्ता । सबैका कथा एन्डर्सनका जस्ता । प्रेमचन्दका जस्ता । मार्क ट्वेनका जस्ता । केट चोपेँका जस्ता । उफ् ।

प्रयोगशील हुनुहोस् । तर नि, दुई कुरा बुझेर;

पहिलो, समयको एउटा अनुभूतिको संरचना हुन्छ – रेमण्ड विलियम्सले भनेजस्तो । त्यो बुझ्नुपर्यो ।

दोस्रो, प्रयोगशीलतामा पनि केही न केही राजनीति हुन्छ । त्यो पनि बुझ्नुपर्यो ।

बिस्तारै भन्छु है ।

पहिले, अनुभूतिको संरचना । यसो भनेको के भने नि, दस वा बीस वर्षको अवधिमा, कुनै एउटा समाज वा समुदायमा एक प्रकारको सोच हावी रहन्छ । त्यसपछि त्यो हट्छ, अर्को आउँछ । त्यस्तो बेला, त्यस समयको मूल्यविधानभित्रका कुरा, त्यस समाजले पत्याउँछ, लिन्छ, आत्मसात गर्छ । बाहिरका, गर्दैन ।

उदाहरण भन्छु है, दुई चारवटा । सम्झौँ – पहिलो विश्वयुद्धको समय छ । सबैतिर हाहाकार, त्राहिमाम, हत्या, मृत्यु, आक्रमण, पलायन, क्रन्दन । प्रयोगशील हुने नाममा मान्छेले केके लेखे लेखे । कलाकारले केके गरे गरे । तर, पिकासोले भन्नै नहुने गरे । नाङ्गा मान्छेका चित्र बनाउँदै, देखाउँदै । प्रतिबन्धै लाग्यो नि । तर उनी दर्शक र भावकहरूका बीच भगावान् बने । किन ?

– नाङ्गो बनेको थियो धर्म । उनका नाङ्गा चित्रभन्दा पनि भद्दा ।
– नाङ्गै हिँड्थे देउता, मान्छेको रगत पिएर । उनका नाङ्गा चित्रभन्दा पनि वीभत्स ।
– नाङ्गो थियो दर्शन । उनका नाङ्गा चित्रभन्दा पनि कुरूप ।
– नाङ्गो थियो राजनीति । उनका नाङ्गा चित्रभन्दा विद्रुप ।
– नाङ्गो थियो विज्ञान । उनका नाङ्गा चित्रभन्दा धेरै गुणा सन्दिग्ध ।

मान्छे बचाउन नसक्ने, तर युद्ध थोपर्ने यी तमाम कोरा आदर्शलाई पिकासोले ‘इस !’ भन्देका हुन् । पिकासोको कुरा हो – केहीले छोपिएर पनि भद्दा नग्नता देखाउने माथिका तमाम प्रपञ्चभन्दा निर्दोष र सुन्दर त बरू मान्छेको नाङ्गोपन छ ।

समयमा नग्ताको गन्ध थियो । पिकासोले त्यो सुँघेका हुन् । उनको प्रयोगशीलतालाई उनकै समयका दर्शक र भावकले मानक बनाइदिए । उनीसँग प्रयोगशील हुनुको ‘औचित्य’ थियो नि ।

समय स्थगित भयो । सैनिक, गोली, बम, बन्दुक, गोला, हवाइजहाज, मिसाइल, भगुवा, शरणार्थी…सबै चलायमान थिए । हिँडेका हिँड्यै । कुदेका कुद्यै । तर नि, जीवन जमेको, स्थिर । जड । गतिहीन । ढुङ्गोजस्तो । कतै नजाने । नगुड्ने । टुट्ने । फुट्ने । पानीसँग पनि डराउनुपर्ने । हावासँग पनि । घामसँग पनि । धुलिट्याम हुने । अस्तित्वविहीन हुने । टीएस इलियटका ‘होलो म्यान’ । उफ् ।

यस्तो बेला समाजको मनोविज्ञान कस्तो हुने ? अनि, त्यो मनोविज्ञानजस्तै कथा लेख्ने भनेको कस्तो लेख्ने ?

— काफ्काले लेखेजस्ता लेख्ने । त्यही हो त्यो बेलाको मूलधार ।
— अल्बेयर कामुले लेखेजस्ता लेख्ने । केही नहुनु नै जीवन हो । मूलधार ।
— सेम्युल बेकेटले स्थगित समयमा कथा भेट्टाए । नाटक बनाए ।
— हेरोल्ड पिन्टरले स्थगित मनोगतिमा जीवन भेट्टाए । नाटकै बनाए ।
— सात्र्रले पृथ्वीमाथि नै स्थगन प्रस्ताव राखे । त्यसैमा आफूलाई खोजे ।

फूलका कथा । जूनका कथा । एकादेशका कथा । राजकुमारीका कथा । सबै सबै कोमामा गएकै हुन् नि, त्यसबेला । किन ? कसरी ? तपसिलका कुरा । कुरा सजिलो छ । तर, त्यति सजिलो पनि होइन नि ।

अर्को उदाहरण भन्छु । मार्यो नि हिटलरको नाजी सेनाले मान्छे पोलेर ! ग्यास चेम्बरमा हालेर । फोक्सा फुटाएर । जिउँदै भट्टीमा हालेर । कति हो कति ? हिटलर र यहुदी – वीपीको । गेस्टापो – धरावासीको । उता पश्चिममा त कति हो कति ।

त्यस बेला, समाजको मनोविज्ञानको गति कस्तो थियो होला ? सोझो ? रैखिक ? सपाट ? उबडखाबड ? खोइ ?
तर, निश्चय पनि चिल्लो वा बाटुलो चैँँ थिएन ।

– उल्टो बग्ने समयको कथा लेखे मार्टिन एमिसले । किन ?
– पृथ्वीभन्दा श्रेष्ठ त अर्कै ग्रह देखाए कर्ट भेटेगटले । किन ?
– विक्षिप्त, अर्धविक्षिप्त, पागल, अर्धपागल आदि पात्र ल्याए काफ्काले किन ?

किन भने नि, समाजको मस्तिष्कमा घाउ लागेको बेला एउटा कथाकारले चिल्ला सडकको कथा लेख्नै सक्दैन । सक्छ, तर पनि सक्दैन । टिक टिक टिक गरेर अगाडि जाने घडीको कथा लेख्न सक्दैन । यस्तो बेला, घाम पश्चिमबाट झुल्कन्छ । समुद्रमा आगो लाग्छ । उथलपुथल । माछा रुख चढ्छन् ।

अविधामा नहेर्नुहोला मेरो कुरालाई । कुरा कथाको छ । बिर्सनुभयो कि ? सम्झाएँ ल !

प्रयोगशील हुँदा, बुझ्नुपर्ने पहिलो कुरा राखेँ । दोस्रो कुरा अब राख्छु ।

भनेको थिएँ नि – प्रयोगशीलतामा पनि केही न केही राजनीति हुन्छ । त्यो पनि बुझ्नुपर्यो ।

राजनीति भनेको दल होइन – कांग्रेस, एमाले, माओवादी, राप्रपा… अथवा, उता भारतमा जस्तो भाजपा, कांग्रेस, जेडीयू । होइन । राजनीति भनेको शक्ति आर्जनको कुनै न कुनै सोच वा क्रियाकलाप । अथवा, आफूलाई सशक्तीकरण गर्ने उद्देश्य । व्यक्तिको होस् वा समाजको । पोलिटिक्स हो त्यो ।

हो, प्रयोगशीलतामा पनि पोलिटिक्स हुन्छ ।

उदाहरण सुनौँ न त ।

रैखिक, सपाट, ‘ट्रू टु लाइफ’ बनाएपछि ‘रियल’ हुन्छ भने । यथार्थवाद त्यही भो । तर, सबैभन्दा रियल भनेको चैँ युरोपेली नै हो भने । रियालिटीको मानक नै त्यसै गरी भयो । व्याख्या नै पनि, भनौँ न । अरू चैँ अलि थोरै थोरै रियल । यानि, अरू चैँ इक्जोटिक । मायावी । जादुवाला । टुनावाला । मुनावाला । भारतको जस्तो । नेपालको जस्तो । अफ्रिकाको जस्तो । लेटिन अमेरिकाको जस्तो । अर्कै । हावादारी । ‘असभ्य’ नै पनि भने ।

हो, कुरा यहाँ छ । यथार्थवादी कथा बनाउन, युरोपले बनाएको यथार्थवादको ढाँचा पहिल्याउँदा के हुन्छ ? गडबड हुन्छ । उसले शिक्षित भनेको युरोपेली पुरुष । उसले ठूलो भनेको युरोपेली पुरुष । उसले ज्ञानी भनेको युरोपेली पुरुष । उसले विकास भनेको युरोपेली विकास । उसले धर्म भनेको युरोपेली धर्म । केके हो केके हो । धेर नभनूँ होला ।
यसलाई तोड्नु – युरोपेली, श्वेतकेन्द्री, पुरुषकेन्द्री मानक तोड्नु हो । तर नि, तोड्ने मार्तोल आफ्नै समाजको अवचेतनबाट उठाउनुपर्छ । नत्र, फुट्दैन । यो कुरा बुझ्नेलाई सुनको माला ।

त्यसैले हो नि – मार्खेजका कथाले यथार्थ र जादुको पर्खाल भत्काएको ।

त्यसैले हो नि – ओक्टाभिया पाजका कथामा जात्राको गन्ध भित्र्याएको । हाम्रो भक्तपुरको जस्तो जात्राको गन्ध ।

त्यसैले हो नि – वोले सोयिङ्कका रचनामा अफ्रिकीहरूको अचम्मको नाच, गान, गाउभङ्गी र बाजा भित्रिएको ।

त्यसैले हो नि – विलियम फक्नरका कथामा अमाजनको पृथक कल्पना भित्रिएको ।

यिनमा आएका यथार्थ पनि यथार्थ त हुन् । तर युरोपले भनेजस्तो यथार्थ होइन । अर्कै । नयाँ । तर, विभेदकारी होइन ।
यो विश्वदृष्टि नै उल्ट्यउने प्रयोगवाद । यसको पो अर्थ हुन्छ । यो पो हो केही । यो राजनीति त पक्कै हो । तर, वैश्विक सार्थकता बोकेको राजनीति । र, यसको हतियार प्रयोगवाद । कथामा । आख्यानमा ।

सामुदायिक हतियार भएको हुनाले, समुदायले नै यो प्रयोगलाई स्वीकार गरेको बुझिन्छ । माथि नाम लिइएकोमध्ये तीन जना लेखक त नोबेल विजेता नै हुन् ।

अचेलको हाम्रा कथामा पनि प्रयोगवाद छ, यथेष्ठ ।

तर सोध्नुपर्ने प्रश्न छ – प्रयोगवादको यो अस्त्र हामीले कहाँबाट टिपेका छौ ?

समाजबाट ? समुदायबाट ? आवश्यकताबाट ? कुनै वृहत् उद्देश्यबाट ?

हाम्रोमा, धेरै चाहिँ सिको । अकिलति चाहिँ, नयाँ र फरक देखिने रहर । भाषा भाँचभुँच । पाठक अलमल ।

अरू ? खासै केही नाइँ ।

अर्को अङ्कमा थप कुरा कथाकै लेख्छु ल ! त्यस बेलासम्मलाई तीन वटा कथा सिफारिस –

१. ग्यास चेम्बरको मृत्यु – मदनमणि दीक्षित
२. असम्बद्ध – परशु प्रधान
३. पोस्टमार्टम – राजेन्द्र विमल