अनि फलानो मरेछ !

लेखन कला हो । कलाका प्रकार धेरै छन् । मूलतः अमूर्त वैचारिक चिन्तनलाई मूर्त रूप दिने लेखन भाषिक कला हो । त्यो वैचारिक अभिव्यक्तिको चित्र पनि हो । अभिव्यक्ति कथ्य र लेख्य हुन्छ । मूलतः भाषा भनेकै बोली हो । त्यसैले बोल्दा जसरी मान्छेले बोल्छ खासमा लेख्दा त्यस्तै हुनुपर्ने हो । कारण भाषामा वक्ता र श्रोता सर्वोपरि रहनु हो । लेखक र पाठक त धेरै पछिका ।

भाषा मान्छेको वैचारिक अभ्यासको प्रस्थान हो तर कहाँसम्मको भन्ने टुङ्गो छैन । भाषाको जीवनमा वंश विस्तार र मृत्यु पनि हुन्छ । त्यसैले यसको गन्तव्य निश्चित र सर्वकालिक पनि हुन्छ । भाषाको वैचारिक अभ्यासको थालनी बालकले बोल्न थाल्नु हो । बोल्न जानेको धेरै पछि मात्र उसले लेख्न थाल्छ । सबै बोल्न जान्ने लेख्न नजान्ने हुनसक्छन् । बोल्न नजान्ने पनि लेख्न जान्ने हुन्छन् किनकि मान्छे सबैमा विचार हुन्छ । त्यो फरक क्षमताले देखाउँछ । यो मान्नैपर्ने हुन्छ, बोलीबाट आउने कथ्यभाषा प्राकृतिक हुन्छ र लेख्य भाषा कृत्रिम चाहिँ हो ।

यो लेखनकै पहिलो अनुच्छेदको सुरुको वाक्य र दोस्रो अनुच्छेदको अन्तिम वाक्यमा आनकातान फरक भयो । अर्थमा गम्भीर फरक भयो । ती वाक्यलाई अलग अलग वा निरपेक्ष अध्ययन गर्दा त्यो देखिन्छ । तर लेखनको बिटमारिएको छैन । त्यसैले गलत नै भयो भन्न नसकिएला ।

केदार वाशिष्ठ

भाषिक अभिव्यक्तिका सन्दर्भ र संरचना हुन्छन् । संरचनाभन्दा सन्दर्भले भाषिक अभिव्यक्तिलाई जीवन्त र अर्थपूर्ण बनाउँछ । कुनै दुईजना व्यक्ति कुरा गरिरहेको बेला तेस्रो व्यक्ति आइपुग्यो र उसलाई कुरा सुनाउन नमिल्ने लागे दुई जनाले “… अनि फलानो मरेछ !” भनेर विषयान्तर गरेर सन्दर्भ सारे जस्तो । नयाँ नवप्रवेशीले त्यही पछिल्लो सन्दर्भ अनुसारको विचार विनिमयको अवसर पाउँछ । लेखनमा त्यस्तो हुँदैन तर खोज्नु भने पर्छ । लेखन भाषाको अभिलेखीकरण हो । अभिलेखका लागि लिपिचिह्न आवश्यक हुन्छ । भाषा र लिपि दुबै आवश्यकताका सिर्जना हुन् ।

लिपि चिह्न सङ्केत व्यवस्था हुन् । श्रुति परम्पराका वेदहरुको सारसुरसहितको वाचनमा हल्लाइने हात र औंलाको आकृति लिपिचिह्नका सङ्केत व्यवस्था हुन् । उदात्त, अनुदात्त र स्वरित जनाउन; छोटो, लामो वा अझ लामो उच्चारण, वर्णमा दिइने आघात बुझाउन; तिखो वा धोध्रे स्वरमा उच्चारण गर्नुपर्ने आदि कुरालाई पाठकै आधारमा सिकाउन गरिएका व्यवस्था हुन् ती । साङ्केतिक भाषा प्राचीन र आधुनिक दुबैको उदाहरण हो । क्रमशः लिपिको विकास भएपछि तीसँगै वर्ण र चिह्नको प्रयोग हुन थालेको हो । सबै भाषाहरुमा वर्ण र चिह्न कथ्य र लेख्यमा हुन्छन् । कथ्यमा चिह्नको उपस्थिति लुप्त हुन्छ र लेख्यमा देख्य ।

लेखनका विभिन्न नियममध्ये चिह्न सम्बन्धी पनि एक हो । लेखन भाषाको अभिलेखीकरण हुने भएपछि देख्य रूपमा चिह्न पनि लेख्नुपर्छ । आवश्यक ठाउँमा आवश्यक र उपयुक्त चिह्न चाहिन्छ । तिनको आफ्नै संविधान र कानुन छ । त्यसैले लेख्य भाषामा शुद्धता परीक्षणको आधार चिह्नको प्रयोग पनि बन्दछ ।

साहित्यको टेको

बालकृष्ण सम लेख्य चिह्नलाई “साहित्यको टाउको ठड्याउने टेको” भन्दछन् । (विसं २००० मा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित हृदयचन्द्रसिंह प्रधानको ‘चिह्न–परिचय’लाई परिचय गराउने क्रममा) । हृदयचन्द्र सिंह प्रधानले चाहिँ “नवीनताको एक अत्यावश्यकीय भाग र सौन्दर्य वृद्धिको शृङ्गार सामग्री” भनी लेख्य चिह्नलाई चिनाएका छन् (प्रधानको उही पुस्तक) ।

प्रधानको ‘चिह्न परिचय’ नेपाली भाषाको लेख्य व्यवस्थाका लागि मानक मानिन्छ तर यसको सम्झना र प्रयोग हुन छाडेको छ । विसं २००० मा नै प्रकाशित अर्को पुस्तक ‘रचना केशर’मा पनि लेख्य नेपाली भाषामा चिह्न प्रयोगको व्यवस्था छ । गोपाल पाँडे असीमले त्यो आफ्नो पुस्तकमा “चिह्न भनेका उच्चारण र अर्थअनुसार वाक्यभित्र ठाउँ ठाउँमा राखिने संकेत हुन् ।” भनेका छन् ।

पाँडेले दिएका १२ वटा र प्रधानले दिएका १८ वटा चिह्न व्यवस्थाले चिह्नको विवाद त्यसबेला पनि देखिन्छ । यसरी विक्रम सम्वतको २००० मा चिह्नको चर्चा चुलिएको देखिन्छ । यसबाट बुझ्न सकिने कुरो चाहिँ त्यसअघि पनि नेपाली भाषामा चिह्न प्रयोग थियो भन्ने हो । तर प्रधानले नवीनताका लागि आवश्यक भनेर भाषामा चिह्न व्यवस्था नयाँ प्रयोग जस्तो अथ्र्याएको देखिन्छ । चिह्न प्रयोग नेपाली भाषा र साहित्यलाई रसिलो र कसिलो बनाउने माध्यममा भने तीनैजनाको एकमत देखिन्छ ।

नेपाली भाषाको लेख्य प्रयोग हजार वर्षभन्दा अघिको हो । मोहनप्रसाद खनालले खोजी गरी २०६८ सालमा प्रकाशन गरेको ‘नेपाली भाषाका हजार वर्ष’ अनुसार खोजेका लेख्य नेपाली भाषाका नमुनामा हालसम्म प्राप्त सबैभन्दा पहिलो मानिएको शाके १०१६ को दुल्लुमा पाइएको बामुखँड्काको स्तम्भलेख हो । त्यसमा लेखिएको छ :

१.     स्वस्ति । श्री सा

२.     के १०१६ पि–

३.     छ्यक वामु ष–

४.     डगाहाको की–

५.     तिं षंभ ।। शुभ ।।

यसमा दुई वटा चिह्न (। र ।।) देखिन्छन् । अर्को चिह्न (–) पनि देखिन्छ तर त्यो उतारमा प्रयोग भएको हालको प्रयोगको योजक चिह्न मात्र हो । ‘।’ र ‘।।’ विराम चिह्नका रूपमा प्रयोग भएका छन् । यसबाट स्पष्ट हुन्छ नेपाली भाषामा चिह्न प्रयोग नवीन थिएन । तर नेपाली भाषा भाषा मिश्रण हुँदै विकास भएर हालसम्मको अवस्थामा आउँदा चिह्नमा नवीनता भने आएको हो । (नेपाली भाषा अहिलेको अवस्थासम्म आउँदाका चिह्नहरुको विकासक्रमबारे यसै लेखकको कृति ‘नेपाल विद्या, २०७७’ का पृष्ठ ३८०–३९० हेर्नुहोस् ।)

मात्रै पूर्णविराम ?

लेखन मानव जीवनको अनिवार्य पक्ष बनेको छ । लेखनका स्वरूप व्यापक छन् – विधागत, विषयगत, भाषागत, शैलीगत, औपचारिक, अनौपचारिक, सरल, क्लिष्ट, एकभाषी, द्विभाषी, बहुभाषी आदि इत्यादि । नयाँनयाँ प्रयोग पनि हुन्छन् तर वर्ण र चिह्नले कुनैलाई छाड्दैनन् । कुन चिह्न कहाँ र कसरी प्रयोग गर्ने कुरामा ज्ञानको उपयोग र अज्ञानताको छुटको लाभ लिने गरेको पाइन्छ ।

नेपाली भाषामा हाल प्रयोगमा रहेका चिह्नहरु अल्पविराम (,), अर्धविराम (;), प्रश्नसूचक (?), विस्मयसूचक वा उद्गार (!), सापेक्ष विराम वा निर्देश चिह्न ( : :– –), योजक (–) ,कोष्ठक (), सङ्क्षिप्त (.), उद्धरण (‘ ’ “ ”), विकल्पबोधक वा तिर्यक (/), रिक्तताबोधक (…), ऐजन (,, ,,) र पूर्णविराम (।) हुन् । यीमध्ये धेरै चिह्नको प्रयोग हुन छाडेको छ वा सही स्थानमा प्रयोग हुँदैन । सामान्यतः अल्वविराम र पूर्णविरामको प्रयोग बढी र सही त देखिन्छ तर त्यसमा पनि विचलन देखिन थालेको छ ।

पूर्णविरामका लागि (।), (।।) र (.) प्रयोग हुने गरेको चिह्नको ऐतिहासिक अध्ययनबाट देखिन्छ । नेपाली भाषाको विकासक्रममा (.) को प्रयोग हिन्दीको नक्कल गरेजस्तो देखिन्थो र नेपालीमा त्यो हटिसकेको थियो । तर फेरि हिन्दीकै प्रभावमा युनिकोडको नेपालीमा त्यसको प्रयोग देखिन थालेको छ । अझै अङ्ग्रेजीको प्रभावमा वाक्य टुङ्ग्याउने क्रिया वा अरु पदसँगै जोडेर पनि त्यसलाई लेख्न थालिएको छ । नेपालीको विशेषता भनेको वाक्यको अन्तिम शब्दसँग नजोडी थोप्लो वाला (.) नभई ठाडो धर्को वाला नै (।) पूर्णविराम लेख्ने हो ।

लेखाइमा पूर्णविराम वा अन्य चिह्नहरु अनिवार्य मात्र होइन लेखाइलाई जीवन्तता दिन र भनेको कुरा चुस्त र दुरुस्त रूपमा बुझाउन प्रयोग हुन्छन् । त्यसो नहुँदा लेखाइ स्पष्ट त हुँदन हुँदैन आलोचनाको विषय पनि बन्ने सम्भावना रहन्छ । कहिलेकाहिँ त्यस्ता लेखाइ छरपस्ट हुने गर्दछन् । त्यस्तै चर्चा अहिले एउटा सरकारी कामकाजको नेपाली भाषामा देखिएको छ ।

असङ्गत लेखाइ

देशको राजनीति लथालिङ्ग छ । त्यसको असर सङ्घ, प्रदेश र स्थानीय तिनवटै तहको शासकीय संरचनामा परेको छ । त्यसै अनुसार जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय राजनीतिको बाछिटा लुम्बिनी प्रदेशमा पनि परेको छ । त्यसैले उक्त पार्टीका प्रदेश सभा सदस्यहरु कहिले पदमुक्त र कहिले बहाली गर्दै फेरि पदमुक्त भएका छन् । त्यसैको पछिल्लो सूचना प्रदेश सभाका सभामुखको आदेशमा लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरको हस्ताक्षरमा २०७८ साउन १५ गते प्रदेश सभाको सूचना पाटीमा टाँसिएको छ । सूचना प्रदेश सभाको सूचना पाटीमा टाँसिएको भए पनि उक्त सूचना सामाजिक सञ्जालमा धेरैका भित्तामा पनि टाँसियो । त्यसरी टाँसिनुको कारण राजनीतिक नभएर भाषिक संरचना र लेख्य चिह्नको प्रयोगको थियो ।

सूचना हेर्नुहोस्

चार सयभन्दा थोरै बढी (पदयोग र वियोग नमिल्दा ठ्याक्कै भन्न गारो छ) शब्दको लेखाइ एउटै वाक्यमा संरचित छ अर्थात् एउटा मात्र पूर्णविराम (।) छ । साथै, अल्पविराम (,) ७, सङ्क्षिप्त चिह्न (.) १३ र कोष्ठक चिह्न () १५ वटा प्रयोग भएका छन् । यीबाहेक अन्य चिह्नको प्रयोग नगरी तथा ज्यादै लामो वाक्य संरचना गरिएकोमा सूचना जारी गर्ने व्यक्तिकै नाममा यो लेखाइ दुर्लभ रहेको टिप्पणी आएका छन् । वास्तवमा यो लेखाइ दुर्लभ र नबुझिने अर्थात् दुरुह दुबै हो । कतिपयले भने कानुनी सूचना रहेकाले लामो लेखाइ स्वाभाविक रहेको टिप्पणी पनि गरेका छन् तर त्यो हुँदै होइन ।

कानुनी भाषा संरचनाको दिग्दर्शनले नै यति लामो मात्र होइन २५० शब्दभन्दा बढीको वाक्यलाई पनि लामो मानेको देखिन्छ र त्यस्ता लामा “पुरानो ढर्राको इन्द्रजाली वाक्यरचनालाई विदा गर्नुपर्दछ” भन्दछ । त्यसरी लामा र इन्द्रजाल वा वीजगणितीय वाक्यको साटो कानुनी वाक्य सरल, सङ्क्षिप्त र अन्वितिपूर्ण हुनुपर्ने कानुन तर्जुमा दिग्दर्शन रहेको छ ।

लुम्बिनी प्रदेश सभा सचिवले जारी गरेको उक्त सूचना कानुन वा नियम नै चाहिँ होइन तर कानुनी लेखाइ चाहिँ हो पनि । त्यसैले कानुन तर्जुमा दिग्दर्शनले यस सूचनालाई वैध मान्दैन । त्यसैले उक्त दिग्दर्शन यस्ता सूचना, टिप्पणी, आदेशलगायतका शासकीय लिखतका लागि पनि हो ।

अर्कातर्फ उक्त दिग्दर्शनले वाक्य संरचनाबारे मात्र नभई चिह्नको प्रयोग पनि गर्न सिकाएको छ । यसका साथै संवैधानिक व्यवस्था अनुरूप देवनागरी लिपिका लेखेर नेपाली भाषामा गर्नुपर्ने सरकारी कामकाजमा समेत संवैधानिक र कानुनी व्यवस्थाको पालना यस सूचनामा भएको देखिँदैन । यस अवस्थामा यो दुर्लभ लेखाइ नभई अवैधानिक लेखाइ पनि हो भन्न सकिन्छ ।

लामा वाक्यको खोजी

यो सूचना लेखाइका आधारमा कतिपयले लामा वाक्यको लेखाइको खोजी गरेका छन् । तिनमा धेरैले कोलम्बियाका साहित्यकार तथा सन् १९८२ मा साहित्यतर्फको नोबेल पुरस्कार विजेता गाब्रिएल गर्सिया मार्केज (सन् १९२७–२०१४) को स्मरण गरेका छन् । उनले दुईवटा आख्यानमा लामा वाक्य संरचना गरेका छन् । तिनमा स्पेनिस भाषामा प्रकाशन भएको Cien años de soledad (One Hundred years of Solitude (1967)) (८८० शब्द), The Last Voyage of the Ghost Ship, (1972) (२१५६ शब्द) रहेका छन् ।

तर उनको त्यो लामो वाक्य लेखन सन् १९७० मा नै आएर छोटो भइसकेको थियो । अमेरिकी लेखक डोनाल्ड बर्दल्मले Sentence (1970) मा २५६९ शब्दको वाक्य लेखे । दुर्भाग्यवस यिनी पनि सबैभन्दा लामो बाक्य लेखनका हकदार रहेनन् । अरूअरू पनि थपिँदै गएका छन् । यस्तैमा सन् २००१ मा बेलायती लेखक जोनाथन कोइले The Totters’ Club (2001) मा ३३ पृष्ठमा १३,९५५ शब्दको एउटै वाक्य लेखेर हालसम्म पहिलो लामा वाक्य लेख्ने लेखकको स्थान लिइरहेका छन् ।

यस्ता लामा वाक्य भएका आधारमा सूचनाको लेखाइलाई तर्कसङ्गत भने होइन । सरकारी कामकाजको व्यावहारिक भाषा र साहित्यको प्रायोगिक भाषा फरक हुन्छन् ।

अन्त्यमा

वास्तवमा माथि वर्णन गरिएका लेखाइहरु दुर्लभ नै हुन् । तिनको कहाँ सान्दर्भिकता हुन्छ वा हुन्न भन्ने कुरा बेग्लै हो । कति आलोचित हुन्छन् कतिको प्रशंसा पनि हुन्छ ।

लेखकले आफ्नो लेखनको लक्षित वर्ग अनुसार भाषा र शैलीको चयन गर्दछन् । त्यसो गर्दा उनीहरुले लेखनमा अनेक प्रयोग पनि गर्दछन् । त्यस्ता प्रयोग पनि समय सन्दर्भ अनुसार स्वाभाविक र अस्वाभाविक हुन्छन् । साहित्य लेखनमा हुने यस्ता भाषिक प्रयोग स्वाभाविक मान्न सकिन्छ । सन्दर्भ र परिस्थितिले कहिलेकाहीँ लेखकलाई क्लिष्ट भाषाशैलीको प्रयोग गर्न बाध्य बनाउँछ । यस्तोमा पनि केही सफल हुन्छन् । जस्तो कि कवि विप्लव ढकाल मोहन कोइराला (विसं १९८३–२०६३) को ‘फर्सीको जरापाठकले नबुझेरै सर्वाधिक चर्चित मान्छन् । यो मान्यता विप्लव ढकालको मात्र होइन आम साहित्यकार र समालोचकको पनि हो ।

लक्षित वर्ग र सन्दर्भ आम सर्वसाधारणमा हो भने भाषा सरल र सहज नै हुनु जरुरी हुन्छ । त्यस्ता लामा वाक्यको प्रयोग गर्ने साहित्यकार मार्केजले बोलेका वाक्य यति सरल र मिठासपूर्ण छन् कि सामान्य व्यक्तिले पनि त्यसलाई सहजै ग्रहण गर्नसक्छ । युनेस्कोले उनीसँग लेखनका बारेमा लिएको अन्तर्वार्तामा उनले दिएका जवाफ भाषिक र वैचारिक रूपमा लोभलाग्दा छन् ।

कुनै पनि लेखकले गलत नियतले र बिगारौँ नै भनेर लेख्छ भन्ने अनुमान गर्न सकिन्न । भाषाका सम्बन्धमा हुने लापर्बाही यसको मुख्य कारण हो । कहिलेकाहिँ सावधानीपूर्ण लेखनमा पनि भाषिक शुद्धता नहुन सक्छ । भाषा भनेकै समान तर हरेक व्यक्तिको व्यक्तिगत सम्पत्ति हुने हुँदा भाषिक प्रयोगमा पनि वैचारिक मतभेद रहन्छ । मेरो यस लेखाइमा पनि प्रश्न उठाउन सकिन्छ । सुधारका लागि प्रयासरत छु ।