प्राचीन ग्रिसेली मिथकमा इकारस र उसको पिता डेडलसको प्रसंग आउँछ । डेडलस एथेन्सको वैज्ञानिक थियो । उसका वैज्ञानिक खोज र चमत्कारका कारण एथेनीहरूले उसलाई भगवान् नै मान्थे । कहिलेकाहीँ आफूलाई भगवानै पो हुँ कि भन्ने उसलाई भ्रम नपर्ने होइन तर उसले आफ्नो गोडा जमिनबाट भने छाडेन ।

भगवान् र मानिसमा एउटै फरक छ । भगवानलाई दण्ड दिन सकिँदैन तर मानिसलाई चाहे जति र चाहेजस्तो दण्ड दिन सकिन्छ ।

डेडलसको ख्याति त्यो बेला निकै बढेको थियो । ऊ आविष्कारक थियो । थरिथरिका चिज बनाउँथ्यो । उसले बनाएका चिजहरू यति जीवन्त हुन्थे कि मानिस चिताङ खान्थे ।

यसबाट उसको घमण्ड भने क्रमशः बढ्न थालेको थियो । उसमा भएको अहं र ईर्ष्याले उसलाई बेलाबेलामा गाँज्थ्यो ।

डेडलसले एक दिन देख्यो, उसको भतिजोले पनि उसकैजस्तो प्रतिभाशाली ल्याएको रहेछ । उसको कौशल देखेर डेडलस यति ईर्ष्यालु भयो कि एक दिन उसले भतिजोको हत्या गर्यो । व्यक्तिहत्यामा मुछिएको डेडलसलाई एथेन्सका राजाले देश निकाला गरिदिए ।

प्रख्यात वैज्ञानिक एथेन्सबाट निकालामा परेको सुनेपछि छिमेकी देश क्रेटका राजा मिनोसले उसलाई आफ्नो देशमा स्वागत गरे । डेडलसले राजा मिनोसको प्राविधिक सल्लाहकारका रुपमा काम गर्यो । उसले दरबारिया र खासगरी राजकुमार तथा राजकुमारीका लागि खेलौना बनाउँथ्यो । ती खेलौना यति जीवन्त हुन्थे कि त्यस्ता खेलौना भनेपछि बालबालिका हुरुक्क हुन्थे ।

मिथकले भन्छ, जहाजलाई नियन्त्रण गर्ने, हावाको बहाव बदल्ने पाल र मास्ट उसैको आविष्कार थियो । राजाकी प्रिय रानी पासिफे राजा मिनोसको निजी साँढेप्रति आशक्त थिइन् । राजालाई यो कुरा मन पर्थेन । त्यसैले साँढेसँग नजिकिन रानी पासिफेले डेडलसलाई केही उपाय रच्न आग्रह गरिन् । डेडलसले काठको यति सुन्दर गाई बनायो कि साँढे त्यो गाईप्रति आशक्त हुन थाल्यो । रानी पासिफे साँढेसँग रतिरागमा मग्न हुन थालिन् । केही समयपछि रानी पासिफे गर्भवती भइन् र उनले आधा मानिस र आधा गोरु आकृतिको सन्तान (मिनोटर) जन्माइन् ।

यो प्रकरणको खुलासा भएपछि राजा मिनोस आविष्कारक डेडलसप्रति क्रुद्ध भए र उनलाई दरबार छेउमा भुलभुलैया निर्माण गर्न लगाए र त्यहाँ मिनोटरलाई छाडिदिए । (मिनोटरलाई ग्रिसेली राक्षसका रुपमा पनि मानिन्छ । यसको टाउको पुरुषको र शरीर साँढेको थियो र यसले मानिसको मासु खान रुचाउँथ्यो ।) भुलभुलैयाको निर्माण सकिएपछि मिनोटरलाई त्यहीँ छाडियो, जो कहिल्यै बाहिर निस्कन सकेन । जो त्यो भुलभुलैयामा जान्थ्यो, मिनोटरले खाइदिन्थ्यो र कहिल्यै बाहिर निस्कन सक्तैनथ्यो ।

यो भुलभुलैया बनाइसकेपछि राजा मिनोसले डेडलस र उसको एक्लो सन्तान इकारसलाई एउटा अग्लो टावरमा कैद गर्ने आदेश दिए । डेडलस कैद भएर बस्न चाहने मानिस थिएन । त्यसैले कैदमा रहँदा पनि उसले अनेकन् चिज बनाइबस्थ्यो । उसले टावरमा रहँदा चराहरू उडेको देखेर आफू पनि उड्ने र कैदमुक्त हुने सपना देख्न थाल्यो ।

टावरमा कयौँ चराहरुका प्वाँख झरिरहेका हुन्थे । ती सबैलाई उसले भेला पार्यो । त्यसपछि उसले हरेक दिन पाउने मैनबत्ती पगालेर प्वाँखहरूको पखेटा बनायो, चराहरूकै जस्तो ।

यसपछि डेडलसले परिक्षण उडान भर्यो । ऊ सफल भयो । उसले बुझिसकेको थियो, उडान भर्दा कहिल्यै पनि धेरै माथि र धेरै तल उडान भर्नु हुँदैन । धेरै माथि जाँदा सूर्यको रापले पखेटामा प्रयोग गरिएको मैन पग्लिन्छ र पखेटाका जडान टुक्रिन थाल्छ । धेरै तल उडान भर्दा पनि पर्याप्त हावाको अभावले समुद्रमा खसिने डर हुन्छ ।

इकारस एक्लो छोरो थियो, डेडलसको । ऊ बाउको प्यारो र नजिकको थियो । आफू कैदमा परे पनि ऊ छोरालाई कैदमुक्त गर्न चाहन्थ्यो । त्यसैले छोरालाई प्राविधिक समस्या बुझ्ने गरी बताइसकेपछि डेडलसले पखेटा दिँदै उडान भर्न सिकायो । केही क्षणमै इकारसलाई उडान भर्न मज्जा आउन थाल्यो । यसपछि उसलाई उचाइ यति मन पर्यो कि माथि, झन् माथि र अझै माथि जान थाल्यो ।

डेडलसले तलबाट चिच्यायो, धेरै माथि नजा ! तर उसले मानेन । अन्ततः ऊ यति माथि गयो कि पखेटाका मैनहरु पग्लिन थाले । उसको पखेटाका प्वाँखहरु एक एक गर्दै झर्न थाले । इकारसले जब परिस्थितिको गम्भीरता बुझ्यो, त्यतिञ्जेल निकै ढिला भइसकेको थियो । ऊ एजियन समुद्रमा खसेर बेपत्ता भयो ।

इकारसको उँचो उडानको मोह, रहर र महत्त्वाकांक्षाले उसको ज्यान गयो । आफ्नो हृदयको नजिकको छोरोको यो दुर्दान्त मृत्युले डेडलसको बाँकी जीवन शोकमा बित्यो ।

इकारसको यो कथा युवाहरुको विद्रोहीपना र अभिभावकले भनेको नमान्ने सन्तानको हालत के हुनसक्छ भनी बुझाउन प्रयोग गरिन्छ ।

उसो भए मैन नै पग्लिने उडान भरेको इकारस कति माथि पुग्यो होला ? कथाले भन्छ, ऊ यति माथि पुग्यो कि सूर्यकै नजिक पुग्यो । उसो भए उसको उडान कति माथिसम्म थियो ? यति माथि कि पखेटा नै पग्लियो ।

उसो भए वैज्ञानिकहरूको नजरमा यो कथामा कत्तिको सत्यता छ त ? तपाईं हामीलाई थाहा छ, हामी जति माथि जान्छौँ, उति चिसो हुन्छ नि, हैन ?

वैज्ञानिकहरू भन्छन्, इकारस पक्कै पनि पृथ्वीको वायुमण्डलको त्यो भागमा पुगे, जसलाई ट्रोपोस्फेयर भनिन्छ । ट्रोपोस्फेयरको हरेक एक हजार फिटमा औसतमा तीन चार डिग्री फरेनहाइट तापमान झर्ने गर्छ । त्यसैले पृथ्वीको अलि बढी उचाइमा गयौँ भने पहाडका टुप्पामा हिउँ जमेर बसेको हुन्छ ।

सबैभन्दा माथि उचाइमा पुग्ने गिद्दले पनि ३७ हजार फिटभन्दा माथि उड्न सक्तैन । यहाँ हावाको तह यति कम हुन्छ कि इकारसले पखेँटा फटफटाउन गाह्रो हुन्छ । यो तहमा तापमान निकै कम हुन्छ । -४० डिग्रीदेखि -७० डिग्री फरेनहाइटको तापमान हुन्छ । उसो भए इकारस यति माथि पुगेको भए पनि उसको पखेटा पग्लेर होइन कि चिसोले कक्रिएर मृत्यु भएको हुनुपर्छ ।

ल ठीक छ, उसको पखेँटा चिसिएर होइन, पग्लेकै मान्न तपाईं तयार हुनुहुन्छ र बाउले छोराका लागि विशेष किसिमको पखेटा नै बनाएको थियो भन्ने विश्वास गर्नुहुन्छ भने पक्कै ऊ चराहरूभन्दा माथि पुग्यो होला । उसो भए, चराहरूभन्दा अझ माथि पुगेको थियो भने के होला त इकारसलाई ?

समुद्र सतहभन्दा ३२ किलोमिटरमाथिको भागलाई ओजोन तह भनिन्छ । यो ओजोन तहले हाम्रो पृथ्वीलाई रक्षा गर्छ । यसले सूर्यका नराम्रा किरणहरूलाई छिर्नबाट जोगाउँछ । ओजोन तहले ९५ प्रतिशत अल्ट्राभ्वाइलेट प्रकाशका किरणहरुलाई रोकिदिन्छ र अन्तरिक्षमा परावर्तित गरिदिन्छ ।

मानौँ, इकारस ट्रोपोस्फेयरभन्दा पनि माथि उड्न थाल्यो, त्यो बेला चाहिँ क्रमशः तापक्रम बढ्न थाल्छ । स्ट्राटोस्फेयरको टुप्पामा पुग्दा पृथ्वीको सतहभन्दा यो ५० किलोमिटर माथि हुन पुग्छ । यतिबेला त्यहाँको तापक्रम माइनसबाट बढेर ५ डिग्री फरेनहाइट पुगिसकेको हुन्छ । यत्तिको तापक्रममा हिउँ त पग्लदैन भने मैन पग्लिने भन्ने कुरै आउँदैन ।

ल ठीक छ, इकारस त्यो भन्दा पनि माथि पुग्यो रे ! कहिलेकाहीँ त्यो उचाइमा जासुसी प्लेनहरू पुग्छन् । जलवायु र मौसम विज्ञान विभागका बेलुनहरू उड्छन् । एक पटक त रेड बुल पेय पदार्थको विज्ञापनका लागि एक जना मानिस यही तहसम्म पुगेका थिए र त्यहाँबाट तल प्यारासुटमा हाम्फालेका थिए ।

यदि इकारस त्योभन्दा पनि माथि पुग्यो भने, त्यो क्षेत्र लगभग अन्तरिक्ष हो र यसलाई मेसोस्फेयर नामकरण गरिएको छ । यहीँ छेउबाट पुच्छ्रेताराहरू बेलाबेलामा झरेर ह्वारह्वारी बल्छन् र बिलाउँछन् । पक्कै इकारसले त्यस्ता पुच्छ्रेतारा देखेको हुनुपर्छ । त्यसो भयो भने ती पुच्छ्रेताराको आगोले उसको पखेटा पक्कै डढायो होला ।

हामीले कल्पना गरेर भयो ? रोमन कवि ओभिडले स्पष्टै भनेको छ, उसको पखेटा आगो लागेर नष्ट भएको होइन, पग्लिएको हो । त्यसैले हामी त्यसैलाई विश्वास गरौँ न !

इकारस मेसोस्फेयरभन्दा माथि पुग्यो रे ! ५० किलोमिटरभन्दा माथि पुग्दा त्यहाँको तापक्रम –१५० डिग्री फरेनहाइट हुन्छ । त्यहाँ यति चिसो हुन्छ कि ऊ जाडोले कक्रिएरै मर्छ, मैन पग्लिनै पर्दैन ।

अन्तर्राष्ट्रिय मापदण्डका आधारमा यतिबेला इकारस अन्तरिक्षमा पुग्यो । यहीँ अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छ । तर ओभिडको कविताले भन्छ, ऊ पृथ्वीभन्दा माथि पुग्यो र सूर्यको नजिक पुग्यो । यति शक्तिशाली पखेटा बनाएको थियो इकारसको बाउले !

ल ठीक छ, हामी मिथकमै अडिऊँ न त ! वैज्ञानिकहरूले थर्मोस्फेयर नाम गरेको ठाउँमा पुग्यो भने चाहिँ तापक्रम बढ्न थाल्छ । यो भनेको पृथ्वीभन्दा ८० देखि ७०८ किलोमिटर माथि पुग्दा त्यो वातावरणमा ४,५०० फरेनहाइट अर्थात् २,४८२ डिग्री सेल्सियसको तापक्रम हुन्छ । यति धेरै तापक्रम किन भएको त ? किनभने यहाँ सूर्यको प्रकाशलाई रोक्ने, शुद्ध पार्ने अन्य कुनै माध्यम, तह वा चिजबिज केही हुँदैन । सूर्यबाट निस्केका प्रकाश सिधै बिनारोकटोक आइपुग्ने हुनाले यहाँको तापक्रम बढी हुने हो ।

तर पख्नुस्, तापक्रम र तापमा फरक छ है !

केही चिजको बढी तापक्रम छ भन्दैमा त्यो एकदमै गर्मीयुक्त हुन्छ भन्ने छैन । तातो हुनु र गर्मी हुनु फरक कुरा हो । अन्तरिक्षमा वायुको अभावका कारण गर्मी हुने वा चिसो हुने भन्ने नै हुँदैन । त्यसै ताप रेडिएसन (विकिरण)मा आदानप्रदान हुन्छ ।

इकारस माथि र अझ माथि पुग्दै गर्दा उसको पखेटाले बढीभन्दा बढी विकिरण ग्रहण गर्न थाल्छ । यतिबेला भने विकिरणको प्रभावले चाहिँ पखेटा पग्लिन थाल्छ ।

सन् २०१३ मा प्रकाशित जर्नल अफ इन्टरडिसिप्लिनरी साइन्स टपिक्समा प्रकाशित एक अध्ययनले के देखायो भने अन्तरिक्षको रित्तो ठाउँमा सूर्यको सिधा प्रकाश परेको खण्डमा इकारसको पखेटा एक घण्टाभित्रै पग्लिन्छ । क्लिष्ट किसिमको गणितबाट सो कुरा सिद्ध गरिएको थियो ।

भनेपछि… मिथकमा बताइएको इकारस विशेष किसिमको पखेटाको सहयोगले थर्मोस्फेयरमै पुग्यो कि ?

(इन्साइड साइन्स साभार)