संसारभरि नै अचेल कम सुत्ने र निद्रा नपुग्ने समस्या बढेर गएको छ । यसको मुख्य कारण भने इन्टरनेट, अनेक थरिका मोबाइल र मोबाइलमा पाइने थरिथरिका सामग्रीलाई मानिएको छ ।

जब हाम्रो शरीरले राम्रोसँग आराम गर्न पाउँदैन र निद्रा पूरा हुँदैन, अनेक थरिका समस्या थपिने गर्छन् ।

पछिल्लो समय चाहिँ हाम्रो शरीरमा अति जरूरी म्याग्नेसिमको कमी बढ्नु रहेको वैज्ञानिकहरूले औँल्याइरहेका छन् । म्याग्नेसियम तथा अन्य जरूरी खनिज पदार्थ त्यो बेला कम हुन्छ, जब हाम्रो सुताइ खल्बलिन्छ ।

हाम्रो शारीरिक प्रक्रियालाई ठीक तरिकाले सञ्चालन गर्न म्याग्नेसियम तथा खनिज पदार्थको ठूलो भूमिका छ।

यसको उपचार गर्न सर्वसाधारणले औषधि पसल जाने र म्याग्नेसियम तथा अन्य सप्लिमेन्ट लिइहाल्ने चलन औधी बढेको छ । यस्तो नगर्न वैज्ञानिकहरूले चेताउन थालेका छन् ।

बरू त्यसका लागि हामीले खाइरहेका खान्कीमा ध्यान दिनुपर्ने र ती खान्कीमा हाम्रो शरीरका लागि अत्यावश्यक पोषक तत्त्वहरू पाइने हुनुपर्ने उनीहरूको तर्क छ ।

युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका फोक्सो रोग विशेषज्ञ तथा निद्रा औषधिका विज्ञ डा. राज दासगुप्ताले द न्यु योर्क टाइम्ससँग कुरा गर्दै सो कुरा बताएका हुन् ।

खनिज पदार्थहरू वनस्पति तथा मासुजन्य पदार्थमा पाइन्छ । मूत्र विसर्जनबाट म्याग्नेसियमहरू कमै त्याग गरिने भएकाले पनि स्वस्थ मानिसहरूमा प्रायः समस्या देखिँदैन ।

सागपात, बदाम तथा ओखरजस्ता कुरामा म्याग्नेसियम पर्याप्त पाइन्छ ।

वृद्धवृद्धा तथा केही खास किसिमका स्वास्थ्य समस्या भएका जवानमा भने त्यस्ता खनिजको मात्रा कम हुँदा स्वास्थ्यमा समस्या देखिने गरेको छ ।

पछिल्लो समय भने स्वस्थ र जवान मानिसहरूमा पनि म्याग्नेसियम कम हुँदै जान थालेको छ । यसो हुनुको मुख्य कारणमा मानिसमा तनाव, अवसाद, बेचैनीजस्ता कुराहरू उच्च तहमा बढ्दै गएको कारणले हुनसक्ने वैज्ञानिकहरूको राय छ । खासगरी पछिल्लो समय सर्वसाधारण स्थिर हुन नसक्ने, चैन लिन नसक्ने, उनीहरूमा स्थिरता नहुने समस्या बढी देखिन थालेको छ । यसका पछाडि मानिसले राम्रोसँग निद्रा नपुर्याएको र सुताइमा ध्यान नदिएको कारण पनि यस्ता समस्या थपिन थालेको डा. दासगुप्ता बताउँछन् ।

उनी भन्छन्, ‘म्याग्नेसियमले सुताइलाई सघाउने हाम्रो मस्तिस्क स्नायुतन्त्रिकासँग अन्तरक्रिया गर्ने गर्छ । त्यसैले शरीरमा म्याग्नेसियम कम हुन थालेपछि मानिसको सुताइमा गडबडी हुन्छ । सुताइमा गडबडी हुनेबित्तिकै अनेक किसिमका शारीरिक तथा मानसिक समस्याहरू देखिन थाल्छन् ।’

केही महिनाअघि डा. दासगुप्ताले ४३ जना वृद्धवृद्धाहरूमाझ तेहरानमा क्लिनिकल परिक्षण गरेका थिए ।

सो परिक्षणमा सहभागीहरूलाई दुई भागमा विभाजन गरिएको थियो । एक समूहलाई आठ हप्तासम्म ५०० मिलिग्रामको म्याग्नेसियम र अर्को समूहलाई प्लासिबो (नक्कली औषधि) दिइएको थियो ।

म्याग्नेसियम लिनेहरूमध्ये अधिकांश चाँडै निदाउने र चाँडै ननिदाए पनि ओछ्यानप्रेम बढ्नेजस्ता कुरा पाइयो । तर उनीहरूको निद्रा अवधि भने नबढेको अध्ययनले देखाएको छ । एक कारण चाहिँ बूढाबूढीहरूको निद्रा अवधि त्यसै पनि घट्ने भएकाले निद्रा अवधि नबढेको हुनसक्ने डा. दासगुप्ताको धारणा थियो ।

त्यसो त २० वर्ष अगाडि पनि १० जना रोगीमाझ एउटा परिक्षण गरिएको थियो । उनीहरूलाई बढीभन्दा बढी सुत्नका लागि कतै म्याग्नेसियम पो उपयोगी हुन्छ कि भन्ने यो परिक्षण सफल भएको थियो । अस्थिर किसिमका मानिसहरू, जसले गोडा हल्लाइरहन्छन्, उनीहरूलाई म्याग्नेसियम दिइँदा उनीहरूको अस्थिरपना हटेको देखिएको थियो ।

अचेल म्याग्नेसियम कम भए नभएको आफैँ परिक्षण गरेर औषधि लिने चलन बढेर गएको छ । यस्तो गर्न नहुने डा. दासगुप्ता बताउँछन् । एक त हामीले खाने फलफूल, खान्की र बदामहरूमा यो पर्याप्त पाइन्छ, ती खान छोडेर औषधिको भर पर्नु एक किसिमको मुर्खता नै हो । कतिपय अवस्थामा यस्ता सप्लिमेन्ट (औषधि)ले पेट दुख्ने, पखाला चलाउने, रिङटा चल्ने जस्ता समस्या पनि देखाउँछ ।

बरू बढीभन्दा बढी तरकारी तथा डाइटजस्ता कुरामा जोड दिन सकिए, सप्लिमेन्टले निम्त्याउने अनेकन् झमेलाबाट बच्न सकिने र निद्रालाई पनि फिर्ता ल्याउन सकिने डा. दासगुप्ताको सुझाव छ ।