एउटा प्रख्यात भनाइ छ, ‘रोम जलिरहँदा निरो सुख र चैनले आरामसँग बाँसुरी बजाइरहेको थियो ।’

निरोका बारेमा सुन्नेहरूले यो भनाइ अवश्य पनि सुनेको हुनुपर्छ । निरोले रोममा आगो लगाएको आरोप पनि लगाइन्छ र जानाजान उनले आगो लगाएको भन्नेहरू पनि छन् ।

विश्व इतिहासमा निरो क्रुर शासकका रुपमा चिनिन्छन् । उनले आफ्नी आमा, सौतेनी भाइ र आफ्नै श्रीमतीको समेत हत्या गराएका थिए । उनले आफ्नो दरबारमा काम गर्ने किन्नरहरूसँग समलैंगिक सम्बन्ध राख्दै बिहे पनि गरेका थिए ।

सन् ५४ मा सोह्र वर्षको उमेरमा निरो आफ्नी आमा अग्रिपिनाको अनेकन् प्रयासपछि रोमको शासक बनेका थिए । त्यो बेला रोमको सीमा स्पेनदेखि उत्तरी बेलायत तथा पूर्वमा सिरियासम्म फैलिएको थियो ।

सत्ताको भोकका कारण निरोकी आमा अग्रिपिनाले दरबारमा षडयन्त्र तथा अनेकन् तानाबाना बुनेर निरोलाई सम्राट बनाएकी थिइन् । अग्रिपिनाले आफ्ना काका सम्राट क्लाउडियससँग बिहे गरेक थिइन् । त्यसपछि निरोको बिहे क्लाउडियसकी छोरीसँग गर्न बाध्य पारिन् । यो विवाहपछि निरो शाही परिवारको सदस्य मात्र बनेनन्, उनी राजाका उत्तराधिकारीसमेत बने । जबकि राजाका आफ्नै एउटा छोरो पनि थियो तर त्यो बेला ऊ नाबालक नै थियो ।

इतिहासकारहरूका अनुसार अग्रिपिनाले विषालु च्याउ खुवाएर सम्राट क्लाउडियसको हत्या गरिन् । तर केही इतिहासकार भने यसमा सत्यता नरहेको बताउँछन् । खैर, क्लाउडियसको पनि केही कारणले असमयमा नै निधन हुन पुग्यो ।

सम्राट क्लाउडियसको निधनपछि निरोले सत्ता सम्हाले । स्वाभाविक रुपमा निरोको उमेर १६ वर्षको मात्र भएकाले सम्राटको सल्लाहकारका रुपमा अग्रिपिना अग्रपंक्तिमा आइन् । त्यो बेला रोमका सिक्कामा आमाछोरा अंकित हुन थाले । २१ वर्षको उमेरमा जब सत्ता सञ्चालनका अनेकन् दाउपेच सिके, निरोले अग्रिपिनालाई आफूलाई निर्णय गर्न बाधा नपुर्याउन र आफ्नो सीमामा बस्न आग्रह गर्न थाले । आमा अग्रिपिनाको नजरमा निरो बच्चै थिए, त्यसैले अग्रिपिनाले निरोलाई कुन दुःखले सत्ताआरोहण गराएको भन्दै स्मरण गराउन थालिन् । कतिपय अवस्थामा छोरामाथि अनुचित दबाब पनि दिन्थिन् । यसबाट आजित भएका निरोले आफ्नी आमाको हत्या गराए । केही इतिहासकारहरू निरोलाई शक्ति र स्वतन्त्रताप्रतिको आशक्तिका कारण अग्रिपिनाको हत्या गराएको हुनसक्ने आँकलन गर्छन् ।

त्यसो त अग्रिपिनाको हत्या गर्ने निरोको पहिलो प्रयास असफल भयो । भएको के थियो भने, आमाको हत्या गराउन उनले समुद्र तटमा एउटा भव्य कार्यक्रम आयोजन गरे । त्यसपछि जहाजबाट दरबार फर्कने क्रममा जहाजमा पानी चुहिएर डुबाउने षडयन्त्र गरे । जहाज डुब्यो तर अग्रिपिना बाँच्न सफल भइन् । यसपछि उनले देशविरुद्ध विद्रोह गरेको आरोप लगाए । आफू अब कुनै हालतमा नबाँच्ने देखेर अग्रिपिना लुकीलुकी हिँड्न थालिन् र केही मानिस लगाएर निरोले आमाको हत्या गराए ।

के साँच्चै नै निरोले आफ्नी आमाको हत्या गराएका थिए त ?

प्राचीन रोमकी विशेषज्ञ मारिया वाएक भन्छिन्, ‘अग्रिपिनाको बानी अरुलाई आदेश दिने किसिमको थियो । उनले आफ्नो छोरालाई नियन्त्रणमा राख्ने प्रयास गरिन् । के गर्दा उसलाई मोहित बनाउन सकिन्छ भनेर उसलाई हातमा लिनका लागि उनले यौन सम्बन्धसमेत राखिन् ।’

त्यसो त निरो र अग्रिपिना बीचको यौन सम्बन्धका बारेमा कुनै ऐतिहासिक प्रमाण पाइँदैन तर निरोले पठाएका हत्याराहरू जब अग्रिपिना नजिक पुगे, आफ्नो पेटतर्फ देखाउँँदै उनले भनिन्, ‘म गर्भवती छु । मलाई मार्दा शुरुमा पेटमा प्रहार गर्नु किनभने यहाँ तिमीहरूका सम्राटको पाप हुर्कंदैछ ।’

हत्या र बिहेबारी

जुन समयावधिमा निरो हुर्कंदै थिए, त्यो बेला भनेको पहिलो शताब्दीको अवधि थियो । त्यो बेला रोमन साम्राज्य बेलायतदेखि लिएर सिरियासम्म फैलिएको थियो । यो विशाल साम्राज्य अस्थिर थियो । एउटा स्वतन्त्र राष्ट्राध्यक्षले सिनेट (संसद)को सहयोगले यो साम्राज्य चलाउँथ्यो । रोमन साम्राज्यको पहिलो सम्राट अगस्टसले साम्राज्यलाइ राम्रोसँग चलाउने हो भने सामूहिक सत्ता अभ्यास चलाउनु पर्छ भन्ने सोच राखेका थिए । संसदका प्रत्येक सदस्यले सत्ता सञ्चालनमा आफ्ना विचार राख्न पाउने, उसले देशको चिन्ता गर्न पाउने गरी सिनेटको व्यवस्था गरेका थिए ।

उनको विचार थियो, सिनेटमा उपयुक्त पात्र भए ऊ सम्राटसमेत बन्न सक्छ । तर अगस्टसपछिका उत्तराधिकारीले आफ्नै परिवार वरिपरि सत्तारोहणको माहोल बनाए । यसले गर्दा परिवार भित्रकै सदस्यहरूबीच सत्ता हासिल गर्ने अनेकन् संघर्ष शुरु हुन थाल्यो । त्यसका लागि परिवारभित्रै बिहे गर्ने, उत्तराधिकारी नजन्मिएको खण्डमा परिवार भित्रकै सन्तानलाई पाल्ने, पारपाचुके गर्ने, देश निकाला गर्ने, जेल हाल्ने जस्ता अनेक किसिमका रणनीतिहरू प्रयोग गर्न थालियो ।

रोमन साम्राज्यका दोस्रा सम्राट टाइबेरियसको शासनकालमा निरोकी हजुरआमालाई जेल कोचिएको थियो । तेस्रो सम्राट क्लाउडियसको शासनकालमा निरोकी आमालाई दरबारबाट निकाला गरिएको थियो । पछि क्लाउडियस सम्राट भएपछि उनीसँग बिहे गरेर आफ्नो ठाउँ सुरक्षित गरिन् । क्लाउडियस नातामा काका परे पनि उनीसँग बिहे गरेपछि उनको दरबारमा ठाउँ सुरक्षित भएको थियो ।

क्लाउडियस रोमका चौथो सम्राट थिए । उनी सन् ४१ देखि ५४ सम्म सम्राट रहे । उनको शासनकालका अन्तिम दिनमा आफ्ना रानीहरूप्रति बढी नै निर्भर हुन थालेका थिए । रानीहरुमध्ये सबैभन्दा सक्रिय चाहिँ अग्रिपिना थिइन् ।

क्लाउडियसका अनेकन् रानीहरूमध्ये एक जना ‘ज्यादै बदनाम महिला’ मुसलिनाको प्रसंग पनि आउने गर्छ । क्लाउडियसको नजिक कोही पनि नपरोस् भनेर मुसलिनाले आफ्ना मान्छेहरूको यस्तो जालो बनाएकी थिइन्, जसका कारण उनले थाहा नपाउने कुनै कुरा हुँदैनथ्यो । उनले सिनेटरहरूलाई फकाउन तिनीहरूसँग शारीरिक सम्बन्ध राख्थिन् । आफ्नो यौन उत्तेजना शान्त गर्न आफ्नो पदको कुनै चिन्ता गर्दिन थिइन् । उनीबाट सम्राट क्लाउडियस भने निकै प्रभावित थिए ।

निरो र क्लाउडियसबीच तुलना गर्ने हो भने निरोका शुरुवाती दिनमा उनका वरिपरि राम्रा मानिस थिए । जसमा सेनेका र अफ्रेक्स ब्रुसजस्ता बुद्धिमानीहरू थिए । सेनेका त दार्शनिक पनि थिए । उनले निरोका सार्वजनिक भाषणहरु लेखिदिने गर्थे ।

पत्नीका हत्यारा
निरो आफ्नी प्रथम पत्नी अक्टेभियासँग यति क्रुद्ध भएका थिए कि उनको हत्या गर्ने आदेश दिए । खासमा उनी पोपियाको प्रेममा परेका थिए । पोपियासँग लहसिएको पाएपछि अक्टेभिया र निरोबीच खटपट भयो । पछि पोपियासँग बिहे गरे । पोपिया गर्भवती रहेका बेला कुनै विषयमा भएको भनाभनबाट आक्रोशित निरोले पोपियाको हत्या गराए ।

निरोको शासनकालमा शुरुका पाँच वर्ष रोमको स्वर्ण युगका रुपमा मानिन्छ । प्राचीन रोममा सिनेटले प्रशासनिक र सल्लाहकारको भूमिका खेल्थ्यो । निरोले सिनेटलाई सशक्त बनाएका थिए । सेनालाई आफ्नो हातमा लिए र तिनलाई पनि सन्तुष्ट पारे । खेल प्रतियोगिता आयोजन गरी सर्वसाधारणको ध्यान मनोरञ्जनमा केन्द्रित गर्न थाले । निरोको यो शुरुवाती सफलताले उनलाई पछि क्रुर शासक बनायो । उनको राम्रो शासनकाल उनको क्रुरताका अघिल्तिर पूरै ओझेलमा पर्यो ।

यति मात्र होइन, उनीपछि लेखिएका इतिहास र साहित्यमा उनी क्रुरता र खलताको प्रतीक बन्न पुगे । पछि कस्तो अवस्था रह्यो भने उनी जुलियस क्लाडियस राजवंशको पाँचौँ तथा अन्तिम सम्राटमा सीमित भए ।

निरो सत्तामा आउँदा रोममा अनेकन् समस्या थिए । उनले प्रशासनिक स्थिरता ल्याए । तर परिवारभित्र सत्ता पाउन ठूलो संघर्ष र निकै षडयन्त्र चल्न थाल्यो । यसका अतिरिक्त सिनेटमा धनीमानी र अभिजात वर्ग थियो । तिनलाई सन्तुष्ट राख्न जरुरी थियो । उता प्रान्तीय गभर्नरहरू पनि हुन्थे, तिनका सेना पनि हुन्थे । निरोले ती सबैलाई सन्तुलित राख्ने प्रयास गरे ।

निरोको शासनकालमा अघिल्ला सम्राटजस्तै उनले सीमा बढाउने कुनै काम गरेनन् । भएकै सीमालाई सुरक्षित राख्न भने सक्दो प्रयास गरे । र, त्यतिबेला यो ठूलो चुनौती पनि थियो । खासगरी नयाँ नयाँ ठाउँ विजय नहुँदा समस्या चर्किएको थियो । नयाँ ठाउँ विजय हुँदा जित्नेहरुले हार्ने पक्षबाट ठूलो रकम या सम्पत्ति हात पार्थे । त्यसमा सम्राटले ठूलो भाग पाउँथे । नयाँ ठाउँ नजित्दा त्यस्ता रकम आउन छाड्यो र यस्तो स्थितिमा देशभित्र स्थिरता राखिरहन निकै गाह्रो हुन्थ्यो ।

रोम जल्दा साँच्चिकै निरो बाँसुरी बजाइरहेका थिए त ?
सन् ६४ मा रोम जलेर ध्वस्त भयो । केहीले भने आगो लगाउने अरु कोही नभएर सम्राट निरो नै भएको हल्ला फैलाए । पछि त रोम जलिरहँदा निरो बाँसुरी बजाइरहेको आहान नै बन्यो ।

केही इतिहासकार भने निरोले आफैँ आगो लगाएको कुरा पुष्टि गर्ने अनेक आधार भएको बताउँछन् । आगो लगाउनुको मुख्य कारण चाहिँ रोमको पुनःनिर्माण गर्नु थियो र खासगरी आफ्नो स्वप्न महल गोल्डेन हाउस (स्वर्ण निवास) बनाउन उनी उद्दत थिए ।

अन्य केही इतिहासकार भने निरोले रोममा आगो नलगाएको बताउँछन् । आगलागीपछि रोमलाई अझ व्यवस्थित बनाएका थिए। सडक चौडा बनाइयो ताकि आगो लाग्दा त्यो तीव्र गतिमा नफैलियोस् । घर निर्माणमा राम्रा निर्माण सामग्री प्रयोग गरियो ।

यो पक्का हो, रोममा आगो लाग्दै गर्दा निरोको दिमागमा भने केही फुरिरहेको थियो । उनले विशेष किसिमका पहिरन लगाएर त्यो बेला गीत गाउन थालेका थिए तर त्यो बेला बाँसुरी बजाएको कुरामा भने सत्यता नरहेको केही इतिहासकार बताउँछन् । बाँसुरी रोम पुगेको चाहिँ सातौँ शताबदीतिर हो । निरोको समयमा बाँसुरी त्यहाँ बजाइँदैनथ्यो । निरो लाइरे नामक वाद्ययन्त्र भने मज्जाले बजाउन जान्दथे ।

निरोले आगो लगाएका होइनन् भने आखिर कसले आगो लगायो त ?

यसका पछाडि एउटा तर्क गरिन्छ र त्यो तर्कले भन्छ, त्यो बेलाका अल्पसंख्यक क्रिस्चियन समुदायले शहरमा आगो लगाएका थिए ।

इतिहासकार टेसिटसले त्यो बेला नै रोममा क्रिस्चियनविरुद्ध घृणा रहेको लेखेका छन् । तिनको संख्या कम थियो तर ती निकै कडा र अनुशासित थिए । तिनका बारेमा रोमनहरूलाई निकै कम जानकारी भएका कारण पनि रोमबासीहरू तिनलाई घृणा गर्थे । त्यसैले तिनीहरूमाथि यस्तो आरोप लगाउनु सजिलो थियो । त्यसैले यस्ता कुरामा स्थानीय जनताले सहजै विश्वास गरे ।

त्यसपछि निरोले क्रिस्चियन सानो समुदायलाई आगो लगाएको आरोपमा पक्राउ गर्दै सजाय दिन थाले । तिनलाई सार्वजनिक रुपमा फाँसी दिइयो । जंगली जनावरको आहारा बनाउन ज्यूँदै तिनीहरूका अगाडि फ्याँकियो । राति तिनलाई घरभित्र सुतिरहेका बेला आगो लगाई मारियो । यी सब कुरा हेर्न सर्वसाधारण भेला हुन्थे ।

निरोको अधुरो महल
आगो लागेपछि निरोले एउटा भव्य महल बनाउन लगाए । भनिन्छ, सो भवनमा एउटा यस्तो स्वर्ण कोठा थियो, जसका फर्निचरहरु अद्भुत थिए र कोठामा चौबीसै घण्टा मग्मगाउँदो बनाउनका लागि पर्फ्युमका पाइप जडान गराइएका थिए।

यो महल बनाउन ठूलो मात्रामा खर्च गरिएको थियो तर यो कहिल्यै पूरा हुन सकेन ।

शहर आगलागीबाट ध्वस्त भएको थियो । सर्वसाधारणको सर्वनाश भएको थियो । यो पीडाका बीच स्वर्ण महल निर्माण भइरहेको देख्दा उनीहरु खुसी हुने कुरै थिएन । तर यो भवन सर्वसाधारणका लागि खुला गरिने र त्यहाँ खेलकुद तथा अन्य किसिमका मनोरञ्जन समारोह आयोजित गरिने बताइएको थियो ।

निरोलाई वाद्ययन्त्र लाइरे बजाउने र गीत गाउने सोख थियो । निरोले मञ्चमा अभिनय पनि गरेका थिए । सम्राटको यस किसिमको सोखलाई सिनेटले भने रुचाइरहेको थिएन । सिनेटको नजरमा यो रोमन नेताको इज्जत र गरिमा सुहाउँदिलो कार्य थिएन । तर निरोलाई सिनेटले के सोच्छ भन्ने के मतलब ? उनी एक वर्षको छुट्टी लिएर युनान (हालको ग्रिस) घुम्न गए । युनानमा उनले विभिन्न थिएटरमा अभिनयसम्बन्धी प्रतियोगितामा भाग लिए ।

भनिन्छ, निरोमा कुनै पीडायुक्त कथानकको अभिनय गर्नुपर्दा उनी अभिनेत्री बन्ने गर्थे र अभिनेत्रीका रुपमा उनी आफ्नी दोस्री पत्नी पोपियाको मास्क लगाउने गर्थे । स्वाभाविक रुपमा उनले आफैँले हत्या गराएकी पत्नीको अपराधबोध महसुस गरिरहेका थिए ।

नाटकीय मृत्यु
३० वर्षको नपुग्दै उनको विरोध र बदनामी निकै बढेको थियो । सिनेटले सेनाको समर्थन लिन थाल्यो । त्यसपछि उनलाई जनताको दुस्मन घोषित गरियो । यो एक किसिमले उनको मृत्युको आदेश थियो । यसको अर्थ हुन्थ्यो, निरो जहाँकहीँ देखिए उनको त्यहीँ हत्या गरिदिए हुन्छ । त्यसको अपराध लाग्ने छैन ।

सुरक्षा अधिकारी उनलाई खोजिरहेका थिए । निरो राति दरबारबाट भागेर आफ्नो ज्यान जोगाउन रोमको शहरी भागभन्दा बाहिर रहेको एउटा महलमा लुक्न गए । त्यहीँ उनले आत्महत्या गरे ।

मृत्युका बखत उनका अन्तिम शब्द ‘क्वालिस आर्टिफेक्स पेरियो’ उच्चारण गरिरहेका थिए। विशेषज्ञहरुका अनुसार, निरोले अन्तिम क्षणमा उच्चारण गरेका शब्दहरूको ठीक ठीक अर्थ के हो त्यसको अर्थ लगाउन गाह्रो छ । तर पनि त्यसको अर्थ लगाउनेहरुले केही शब्द चयन गरेका छन् । अझै पनि ती शब्दका अर्थ खोज्ने प्रयास जारी छ । ती शब्दको अर्थ थियो– म आफ्नो मृत्युमा पनि कलाकारै भएर मरेँ ।

यसको अर्को अर्थ पनि निकालिएको छ– के मसँगै मरेको कलाकार नै हो त ?

अझ केहीले निरोले यस्तो बोलेको हुनसक्ने आँकलन गरिरहेका छन्– एउटा व्यापारीको मृत्यु मैले वरण गरेँ ।

निरोका ती शब्दका अर्थ जेसुकै होऊन्, एउटा कुरा त पक्का छ, उनका अन्तिम शब्द उनको चरित्रजस्तै नाटकीय थिए ।

(बिबिसी रेडियो फोरको कार्यक्रम इन आवर टाइममा प्रसारित ह्वाई डिड निरो किल हिज मदरमा आधारित । बिबिसीको सो कार्यक्रम यहाँ सुन्नुहोस् ।)
https://www.bbc.co.uk/programmes/m0004cp7