चाहे नियम नै किन नहुन र सिद्धान्त परिमार्जनका हरेक ढोका पुनः अनुसन्धान र अन्वेषणले कुनै पनि बेला खोल्न सकिन्छ । जुन घटनाक्रमको अनुसन्धान या व्याख्यामा बैकल्पिक परिकल्पनाको कुनै सम्भावना छैन भने त्यस्तो परिकल्पनाको अनुसन्धानको कुनै औचित्य छैन र त्यो वैज्ञानिक प्रक्रिया हुनै सक्दैन ।
ताराहरु विशाल आकारका हाइड्रोजन ग्यासका डल्लाहरु हुन् । उनीहरूको विशाल पिण्डको कारणले उत्पन्न चापको कारण हाइड्रोजन अणुहरु एक आपसमा संयोजित हुन्छन् र हेलियममा परिणत हुन्छन् । त्यस प्रक्रियालाई हामी नाभिकीय संयोजन (nuclear fusion) भन्छौँ । त्यही अणु संयोजनको प्रक्रियाबाट विशाल मात्रामा शक्ति उत्पन्न हुन्छ । त्यसैले उनीहरुको स्व:उत्सर्जित ताप तथा प्रकाश हुन्छ । सूर्य एक मध्यम आकारको तारा हो ।
त्यसैले ग्रहहरूको आफ्नो प्रकाश त ताप हुँदैन । तर केही ग्रहहरू आफ्नो भौगर्भिक क्रियाकलापबाट (Geological Activities) ताप उत्पन्न भने गर्न सक्छन् जस्तो पृथ्वी । हाम्रो चन्द्रमा पनि त्यस्तै ढुङ्गा माटोले बनेको पृथ्वीको झण्डै एक तिहाई आकारको उपग्रह हो।
विक्रम सम्वतका प्रत्येक महिना तिनै १२ वटा आकारहरुमा सूर्यको अवस्थितिमा भर पर्छ । सूर्य जुन तारामण्डलमा देखिन्छ त्यही अनुसार हामी महिना निर्धारण हुन्छ । सूर्य मेष तारामण्डलमा छ भने त्यो वैशाख महिना हो भने मीन तारामण्डलमा रहेमा चैत्र । जस्तो वैशाख संक्रान्तीलाई मेष संक्रान्ती पनि भनिन्छ । जुन दिन सूर्य उदाउँदा मीन तारामण्डलबाट मेष तारामण्डलमा संक्रमण या गएको दिन हो त्यसैले त्यो बेला हामी सक्रान्ति भन्छौँ अर्थात् सूर्यले गरेको संक्रमण । यो १ गते नै पर्छ भन्ने पनि हुँदैन । तर प्राय: यो १ गते नै पर्छ, किनकि पृथ्वीको सूर्य परिक्रमाको कक्षिय गति, आफ्नो अक्षिय गति र ती तारामण्डलहरुको सापेक्षित स्थिरताले गर्दा त्यस्तो हुन्छ।
विशाल दूरी
एकै समूहका ताराहरु पनि एकआपसमा धेरै टाढा हुन सक्छन् । एउटै तारामण्डलका ताराहरुमध्ये कसैको आपसी दूरी त तिनीहरूको पृथ्वीसँगको दूरीभन्दा पनि टाढा छ । जस्तो मेष तारामण्डल जुन राशि पनि हो । त्यसको एउटा सदस्य तारा
Beta Arietis (Sheratan) जम्मा ५९ प्रकासवर्ष टाढा छ भने अर्को सदस्य त आकाशगंगा
NGC 772 छ जो १३० मिलियन प्रकाश वर्ष टाढा छ । त्यसैले Apparent (देखिने) र Absolute (वास्तविक) दूरी छुट्याउन धेरै व्यवस्थित विधि चाहिन्छन् ।

Gravitational Lensing को कारणले एउटै तारा भिन्न भिन्न स्थानमा, भिन्न आकारमा देखिन्छ
कति राशिहरुमा हामीले तारा जस्तो देखेर झुक्किने वस्तु धेरै टाढाको वस्तु हाम्रो आकाशगङ्गा
Milkyway भन्दा हजारौँ गुणा ठूलो आकाशगंगा पनि हुन सक्छ । किनकि
Apparent Magnitude मा सानो देखिए पनि
Absolute Magnitude त्यो विशाल हुन्छ। जस्तो सूर्य र चन्द्रमा आकाशमा उत्रै देखिन्छन् तर चन्द्रमा सूर्यको अगाडि नगन्य आकारको आकाशीय पिण्ड हो अर्थात् सूर्य ४०० गुणा ठूलो छ। तिनीहरू एकै स्थानमा देखिए भन्दैमा हामीले एउटै समूहमा राखेर त्यसको प्रभाव मूल्याङ्कन गर्नु कदापि वैज्ञानिक हुन सक्दैन ।
कहिलेकाहीँ धेरै टाढाबाट आएको प्रकाशको बाटोमा विशाल पिण्ड भएको वस्तुहरू जस्तो विशाल तारा, कृष्ण विवर (
Black hole) रहेछन् भने त्यहाँको स्पेस बाङ्गिएको हुन्छ त्यसैले प्रकाश पनि त्यस्तै हुन्छ । जसले गर्दा त्यो तारा ठूलो देखिन सक्छ, अर्कै स्थानमा देखिन सक्छ, एउटै वस्तु धेरैवटा देखिन सक्छ। जुन प्रक्रियालाई हामी
Gravitational Lensing भन्छौँ। जुन सापेक्षता सिद्धान्तको वास्तविक प्रमाण हो । त्यसैले जे देखिन्छ त्यो वास्तविकताबाट धेरै पर हुन सक्छ।
प्रेत तारा
कोही ताराहरुले आफ्नो जीवनको अन्त्य पनि गरिसकेका हुन सक्छन् तर धेरै टाढा भएकाले र प्रकाशको गति पनि सीमित भएको कारणले गर्दा अझै ती अस्तित्वमा देखिइरहेका हुन्छन् । किनकी हामीसम्म आइरहेका प्रकाशका किरणहरु ताराहरु अस्तित्वमा हुँदैमा निस्केर पृथ्वीतर्फ आएका हुन्छन् । जस्तो सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न ८ मिनेट लाग्छ । अहिले हामीले देखेको सूर्य ८ मिनेट पुरानो हो र सूर्य क्षितिजमा हराएको या अस्ताएको ८ मिनेटपछि मात्र हामीले सो घटना देख्छौँ ।

Supernova and Nebula (सुपरनोभा तथा निहारिका)
हाम्रो आकाशगंगाको केन्द्रमा रहेको कुनै ताराबाट उत्सर्जित प्रकाश हामीसम्म आइपुग्न झण्डै २५००० वर्ष लाग्छ । अहिले हामीले देखेको ती ताराहरूको प्रकाश पृथ्वीतिर यात्रा गर्न सुरू गर्दा हामी बल्ल माटोको भाँडा बनाउन सिक्दै थियौँ । अन्तरिक्षमा सबैभन्दा तीव्र गतिमा सञ्चार हुने प्रकाशले बोकेर ल्याउने असर पनि यहाँ आइपुग्न २५००० वर्ष नै लाग्छ ।
त्यसैले ती राशि भनिएका तारामण्डलका कतिपय ताराहरु महाविष्फोट (
Supernova) भइसकेका पनि हुनसक्छन् तर तिनीहरूको प्रकाश ताराको रुपमा हामीले देखिरहेका छौँ किनकि उनीहरू तारा हुँदा उत्सर्जित प्रकाश बल्ल यहाँ आइपुगेको छ। त्यसैले यसको ज्योतिषीय गणनाले यहाँ पृथ्वीमा पर्ने प्रभावको मूल्याङ्कन गर्नु वैज्ञानिक मान्न सकिँदैन ।
सीमित तारामण्डल
ज्योतिषको अहिलेसम्म प्राप्त सूचनाहरुले किन ती १२ वटा मात्र तारामन्डलको मानिसको जीवनमा महत्त्व छ, किन अन्य तारामन्डलहरुको छैन ? जुन आकारहरु पूर्णतया काल्पनिक हुन्, त्यसकाे जानकारी दिँदैनन्।

पृथ्वीको Rotational axis को झुकाईले प्रत्येक १४००० वर्षमा ध्रुवतारा परिवर्तन हुन्छ।
जबकि हिउँदको रातको शानदार तारामण्डल Orion उज्वल तारा Betelgeuse सूर्यभन्दा ९५० गुणा ठूलो र ६४२ प्रकाशवर्षकाे दूरीमा छ भने उत्रै उत्रै तारा वृश्चिक राशिको तारा Anteres सूर्यभन्दा ७०० गुणा ठूलो ५५४.५ प्रकाशवर्ष टाढा छ । तर Betelgeuse कुनै पनि राशिमा पर्दैन न Orion जस्तो विशाल विशाल ताराहरूको समूह (अझ यसको निहारिका (Orion Nebula) मा नयाँ ताराहरूको जन्म हुन्छ) त्यसको ज्योतिषमा कुनै महत्त्व छैन। उनीहरुको प्रभाव पनि अन्य राशिको सापेक्ष उस्तै हुनु पर्ने हो तर ज्योतिषले अन्य धेरै तारामण्डललाई महत्त्व दिएको छैन । जबकि अन्य तारा मण्डलहरुका ताराहरु सापेक्षित विशाल, नजिक पनि छन् साथै तारामण्डल पनि ठूला छन् ।
यसको कुनै व्यवस्थित तथा ठोस कारण ज्योतिषले दिएको छैन । ताराहरूको वर्गीकरण धेरै जटिल छ । जुन शास्त्रले सूर्यलाई ग्रहको रुपमा बुझ्छ, त्यसबाट यति धेरै जटिलताको विश्लेषणको आशा गर्नु पनि हुँदैन ।
निरन्तर परिवर्तन
ती तारामन्डलका सदस्य ताराहरु पृथ्वीबाट मात्र होइन एक आपसमा पनि धेरै धेरै टाढा छन्, जसको गुरुत्व तरङ्गहरु समेत कमजोर हुन्छन् । ती ताराहरु निरन्तर गतिमा अर्थात् लाखौं किलोमिटर प्रतिघण्टाको गतिमा ब्रम्हाण्डमा यात्रा गरिरहेका हुन्छन् । ती ताराहरु धेरै टाढा भएकाले स्थिर देखिएका हुन । निश्चित समयपछि ती ताराहरुको स्थान परिवर्तन हुन्छ र तारामण्डलको आकार पनि परिवर्तन हुन्छ । हजारौँ वर्षअघि आकाशमा ताराहरुको अवस्थिति अर्कै थियो भने पछि पनि अर्कै हुनेछ ।
जस्तो कि अहिले उत्तरको तारा जुन ध्रुव ताराको (Polaris) नामले चिनिन्छ अबको १४००० वर्षपछि त्यसको स्थान भेगा (Vega) भन्ने अर्को ताराले लिने छ भने अर्को १४००० वर्षमा पुन: Polaris ध्रुव ताराको रुपमा फर्किन्छ । यसरी Vega र Polaris लगातार करिब १४००० वर्षको अन्तरालमा आफ्नो स्थान परिवर्तन गरिरहन्छन् । त्यतिबेला आकाशको अहिलेको ताराहरुको अवस्थिति पनि अर्कै हुनेछ । यसको कारण पृथ्वी आफ्नो अक्षमा घुम्दा २३.४ डिग्री (Axial tilt) ढल्केर घुम्छ, त्यसैले पृथ्वीको उत्तरी ध्रुव र दक्षिणी ध्रुवको जुन अक्ष (Rotational axis) पनि वृत्ताकार आकारमा एक फन्को करिब २६००० वर्षको अन्तरालमा लगाउँछ ।
यही ढल्काईको कारणले मौसम निर्धारण हुन्छ भने सूर्य हिउँद र वर्षायाममा अलग अलग स्थानबाट उदाउँछ अर्थात् हिउँदमा उदाउने स्थान हल्का दक्षिणतिर सर्छ, त्यसैले यसमा कुनै पनि शङ्का गर्ने स्थान छैन। त्यसैले ताराहरूको निरन्तर चाल र पृथ्वीको Axial tilt ले गर्दा आकाशको तारामण्डलको आकार प्रकार र अवस्थिति पनि निरन्तर परिवर्तन हुन्छ । यसले ज्योतिषको मुख्य आधारलाई नै अस्थिर तथा असङ्गत बनाउँछ, साथै यो ज्योतिषको इतिहास दावी गरे जस्तो लामो पनि छैन भन्ने पनि दर्शाउँछ ।
राशि स्वभाव
हामीले बिना आधार कल्पना गरेर जनावर तथा वस्तुहरूको काल्पनिक आकार दिइएका ती राशिमण्डलहरु त्यसैको आधारमा कोई स्थिर स्वभावको राशि कोई चपल अर्थात् अस्थिर राशि भनेर भन्छौ। उदाहरणको लागि मकर राशि चपल, कुम्भ राशि स्थिर। उस्तै तारा हरुले बनेका यी राशी मण्डलहरू अर्थात् तारामण्डलहरु कसरी स्थिर या चपल हुन्छन्। कसरी उनीहरूको जनावर वस्तुहरूको गुणहरूलाई प्रक्षेपण गर्न सकिन्छ? त्यसको आधार के हो?
यसको उत्तर व्यवस्थित उत्तर ज्योतिष सङ्ग छैन। मेष अर्थात् भेडो भएर चपल, कुम्भ घैटो भएर स्थिर जवकि ती राशिहरूको आकार त बिल्कुल काल्पनिक छ। हामीले बादललाइ हेरेर कोई घोडा कोई बाघ, कोई हिमाल जस्तो काल्पनिक आकार बनाउँछौं। त्यो बादल बाघ हो चपल छ, त्यो हिमाल हो त्यो स्थिर छ भन्नु कत्तिको वैज्ञानिक हुन्छ आफै विचार गरौँ।
राशि स्वामी
जस्तो सिँह तारामन्डलको स्वामी सूर्य हो (जबकि सूर्य पनि एक प्रकारको तारा नै हो त्यो अन्य ग्रहहरू जस्तो होइन) मकर, कुम्भको स्वामी शनि हो । त्यो कसरी भयो भन्ने कुरामा पनि ज्योतिष सन्तोषप्रद उत्तर दिन सकेको छैन । ग्रहको अवस्थितीहरूचाहिँ जुन तारामण्डलसँगै जुन ग्रह हुन्छ त्यो त्यही राशिको हुन्छ।
ती उचनिच हुने अवस्था के कारणले हुन्छ जस्तो सुर्य मेशमा उच हुने तुलामा निच हुने, शनि तुलामा उच र मेशमा निच हुने कारणहरू के हुन ती पनि उच्चारित गरिएको छैन । ज्योतिषले राशिहरू स्वामी र ग्रहहरूको गुण दोषको विचार पनि केही धार्मिक ग्रन्थका पात्रहरूको आधारमा गरेको छ। तर धर्म ग्रन्थका पात्र केही पृथ्वीका केही व्यक्तिहरू थिए भने तारा तथा ग्रहहरू भनेका आकाशीय पिण्डहरू हुन्।
ग्रहहरूको वर्गीकरण
हामीलाई थाहा छ ज्योतिषीय सिद्धान्तका आधारमा ग्रहहरू ९ वटा छन् । सूर्य, चन्द्रमा, बुध, शुक्र, मंगल, बृहस्पति, शनि, राहु र केतु। यो वर्गीकरण पूर्णतया हास्यास्पद छ। यही वर्गीकरणले ज्योतिषको खिल्ली उडेको छ। अब यही वर्गीकरणलाइ विश्लेषण गरौँ।
सूर्य: एक तारा
ज्योतिषले सूर्यलाई ग्रहको स्थानमा राखे पनि सूर्य ती राशिका सदस्य नक्षत्र जस्तै एक मध्यम आकारको तारा हो। यो विशाल हाइड्रोजन ग्यासको डल्लो हो जसले नाभिकीय संयोजन (
Nuclear Fusion) बाट शक्ति उत्पन्न गरिरहेको छ जुन प्रकाश र तापको रुपमा अन्य ग्रहहरूले पनि प्राप्त गरिरहेका छन्। सम्पूर्ण सौर्यमण्डल आफ्नो गुरुत्वशक्तिले नियन्त्रण गरिरहेको छ । सम्पूर्ण सूर्यमण्डल चाहे बृहस्पति या शनि या कम्तीमा १ प्रकाशवर्षभित्र रहेका हरेक आकाशीय पिण्डले सूर्यको परिक्रमा गर्छन् । सूर्य यति विशाल छ कि सूर्यमण्डलको सम्पूर्ण पिण्डको ९९.९६ प्रतिशत पिण्ड सूर्यसँग मात्र छ।
अरू ग्रहहरू चाहे पृथ्वी होस् या बृहस्पति या शनि या अरुण या वरुण सबै वस्तुहरूको योगफल मात्र सूर्यको दाँजोमा ०.०४ प्रतिशत हुन आउँछ। यस्तो विशाल वस्तु ग्रह भनेर पृथ्वीको एक तिहाई भाग चन्द्रमासँग एउटै वर्गमा राख्नु कुनै पनि हालतमा वैज्ञानिक हुन सक्दैन। सूर्यको प्रभावसँग अरू ग्रहको प्रभावको कुनै तुलना नै हुन सक्दैन। सम्पूर्ण सौर्यमण्डल सूर्य आश्रित हो।

हाम्रो सौर्यमण्डलको विस्तार
अन्य ग्रहहरू
टेलिस्कोपको विकासले गर्दा हामीलाई थाहा छ कि हाम्रो सौर्यमण्डल कम्तिमा १ प्रकाशवर्ष फैलिएको छ। त्यो अन्तिम घेरो जहाँ साना साना वस्तुहरू जो बरफजस्तै चिसा छन् त्यसले पनि सूर्यको परिक्रमा गर्छन् जसलाई हामी काइपर बेल्ट (
Kuiper belt) तथा ओर्ट बादल (
Oort Cloud) भन्छौँ । त्यो पनि हामी अहिले देख्न सक्छौँ ।
जब ज्योतिषको विकास हुँदै थियो सूर्य र चन्द्रसहित अन्य ७ वटा ग्रहको धारणा विकसित भयो । यसलाई विश्लेषण गर्ने हो भने राहु र केतुबाहेक अन्य पाँच ग्रहहरू नाङ्गो आँखाले देख्न सकिन्थ्यो । त्यही नै ज्योतिषमा राखियो । ती हुन् बुध, शुक्र, मङ्गल, बृहस्पति र शनि । जबकि बुध, शुक्र, मङ्गल र स्वयम् पृथ्वीभन्दा ठूला २ ग्रहहरू सौर्यमण्डलमा अवस्थित थिए । ती हुन् अरुण (Uranus) र वरुण (Neptune)।
तिनीहरू नाङ्गो आँखाले नदेखिने भएकाले ती ज्योतिषमा अटाएनन् । टेलिस्कोपको विकासले गर्दा ती ग्रहहरू हाम्रो नजरमा आए । ज्योतिषको निर्माण यदि अहिलेको भन्दा बढी वैज्ञानिक सभ्यताले गरेको थियो भने ती २ ग्रह छुट्ने थिएनन् ।
चन्द्रमा एक्लो छैन
चन्द्रमा पृथ्वीको एक तिहाईभन्दा थोरै सानो छ । यसलाई अन्य ग्रह त्यसमाथि सूर्यसँगै राख्नु एक प्रकारले हास्यास्पद नै हो । तैपनि चन्द्रमा यो हाम्रो सौर्य मण्डलमा एक्लो चन्द्रमा होइन । पृथ्वीबाहेक अरू ग्रहहरू जस्तो मङ्गल, बृहस्पति, शनिसँग पनि चन्द्रमाहरू छन् । बृहस्पति र शनिसँग त अनगिन्ती चन्द्रमाहरू छन्।
ग्यालिलियोले आफ्नो सानो टेलिस्कोपबाट नदेखिन्जेल बृहस्पतिका चारवटा विशाल चन्द्रमाहरूको जानकारी कसैलाई थिएन । अहिले हामीलाई थाहा छ, मङ्गलसँग २ वटा, बृहस्पतिसँग ७९ र शनिसँग ८२ वटा कम्तिमा चन्द्रमा रहेका छन् । पृथ्वीको हाम्रो चन्द्रमा पाँचौं स्थानमा पर्छ । यो भन्दा ठूलो Ganymede (बृहस्पति), Titan (शनि), Callisto र
Io (बृहस्पति) क्रमश: पर्छन् ।

सौर्यमण्डलमा विशाल चन्द्रमाहरु छन् २ वटा त बुध ग्रह भन्दा पनि ठूला छन्
अझ Ganymede (२६३४.१ किमि अर्धव्यास), Titan (२५७४.७ किमि) त बुध ग्रह (२४३९ किमि) भन्दा ठूला छन् भने Callisto (२४१०.३ किमि) बुध जत्रै छ । त्यसैले पृथ्वीको चन्द्रमालाई महत्त्व दिएर ती ग्रहभन्दा पनि ठूला अरु चन्द्रहरूलाई नजरअन्दाज गर्न त पक्कै मिल्दैन । किन गरियो त ?
उत्तर साधारण छ । तिनीहरू नाङ्गो आँखाले देखिदैन थिए । त्यसैले त विशाल ग्रहहरू अरुण र वरुण पनि छुटे । यसबाट हामीले के भन्न सक्छौं भने ज्योतिषको निर्माण अहिलेको भन्दा विकसित सभ्यताले गरेको थिएन ।
राहु र केतु
खासमा राहु र केतु के हुन् भन्ने कुरा अहिलेसम्म स्पष्ट छैन। ज्योतिषले यिनीहरूलाई छाया ग्रह भनेर भनेको छ । तिनीहरूको ज्योतिषले गणना गरेको अवस्थिति हेर्दा अहिलेसम्म पत्तो लागेको छैन । भन्नलाई पृथ्वीले सूर्यलाई घुम्ने कक्ष र चन्द्रले पृथ्वीलाई घुम्ने कक्ष एक आपसमा काटिएको बिन्दु भन्ने पनि गरिन्छ ।
यसको कारणले सूर्य र चन्द्र ग्रहण लाग्छ, र यी छाया ग्रह हो भनेको हुनाले कतै सूर्य र चन्द्र ग्रहणमा सूर्यमा र चन्द्रमा परेको छायालाई त भनिएको होइन ? भन्ने आशङ्का उत्पन्न हुन्छ । हामीलाई थाहा भइसक्यो कि चन्द्रग्रहणमा पृथ्वीले सूर्यको प्रकाश छेक्दा पृथ्वीको छाया चन्द्रमामा पर्छ । सूर्य ग्रहणमा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ अनि चन्द्रमाले सूर्यको प्रकाश छेक्छ ।
ग्रहहरूको व्यवहार
ग्रहहरूको व्यवहार र आपसी समन्धहरू पनि मिथकहरूमा नै आधारित छन्। जस्तो बुध चन्द्रमा र बृहस्पति पत्नी ताराको अवैध समन्धबाट जन्मिएको व्यक्तिको चित्रण गरिएको छ। शनिलाई सूर्य पुत्रको रूपमा चित्रित गरिएको छ।

शिकारी (Orion) वृष (Taurus) तथा गुजमूजे (Pleiades) तारामण्डल जसको मिथक हरेक सभ्यतामा पाइन्छ।
गुजमुजे तारामण्डल (
Pleiades) जो सात दिदीबहिनीका कथा, त्यसैको आडको अर्को तारामण्डल शिकारी तारामण्डल (Orion) अनि भालू तारामण्डल (Ursa Major) बीचका कथा उत्तर अमेरिकी रैथाने समुदायमा पनि चलेको पाइन्छ ।
राहु र केतु झुक्याएर अमृतपान गर्दा सूर्य चन्द्रको इशारामा गला काटिएको हुनाले सूर्य र चन्द्र ग्रहणमा राहु केतुको उपस्थितिको जनाइन्छ । सूर्य र राहु जब एउटै राशिमा अवस्थित भए ग्रहणदोष योगको विश्लेषण गरिन्छ । यसरी मिथकको आधारमा ग्रहको समन्ध, तारामण्डलका समन्धहरूको विश्लेषण गरिन्छ।
तारा हाइड्रोजनको डल्लो, चन्द्र र बुध चट्टानी पिण्डहरू हुन्। मिथकले ग्रह र तारामण्डलको बीचको समन्धहरु परिभाषित गर्ने कार्य वैज्ञानिक हुन सक्दैन।
यसरी ज्योतिषको राशि र ग्रह जस्ता आधारभूत संरचना नै वैज्ञानिक छैन । यसले तारामण्डलहरुको अवधारणा नै बुझ्न सकेको छैन भने ग्रहहरूको वर्गीकरण त झनै हास्यास्पद छ । त्यसैले फलित ज्योतिष यस्तो अवैज्ञानिक विधिमा आधारित छ त्यसलाई विज्ञान मान्न सकिँदैन । कुण्डली निर्माण, ग्रहको अवस्थिति, चाल तथा सङ्क्रमण र आपसी मैत्रिसम्बन्ध, आपसी योगसम्बन्ध लगायत यसका अवैज्ञानिकताको विषयसहित यसका मनोवैज्ञानिक पाटोहरुको चर्चा लेखमा विस्तृत रुपमा गर्ने नै छु ।