जेसिका स्टिलम्यान

बूढा पुराना मानिसहरु अहिलेका युवापुस्तालाई अल्छी भएको आरोप लगाउँछन् । उनीहरुमा जाँगर नभएको आरोप लगाइरहँदा केहीले भने त्यस्तो आरोपमा कुनै दम नभएको बताउने गर्छन् । हुन पनि प्राचीन कालदेखि नै बूढो पुस्ताले नवपुस्तालाई काम नलाग्ने, नचाहिँदो काममा अल्झनेजस्ता आरोप लाग्ने गरेको हुँदै हो । त्यसैले नवपुस्तालाई कसरी नाथ्री लगाएर भए पनि काममा जोत्ने भन्ने अनेकन् उपायहरु लगाउने गर्थे ।

प्राचीन ग्रिसेली दार्शनिक प्लेटोले उनको पालासम्म जब लेख्ने चलन बढ्न थाल्यो, त्यसको विरोधमा उनले पूरै अभियान नै चलाएका थिए । उनको भनाइ थियो, लेख्ने चलनले गर्दा नयाँ पुस्ताले स्मरणशक्ति गुमाउने छ । त्यसैले जतिसक्दो चाँडो लेख्ने चलनलाई हटाउनु पर्छ ।

यस किसिमको चिन्तालाई अहिलेको चस्माले हेर्ने हो भने एक किसिमको पागलपन नै ठानिएला । तर बेलाबेलामा वैज्ञानिक अध्ययनहरुले भने एक पुस्तापछि अर्को पुस्तामा आउँदा केही बुद्धिमता र सिर्जनशीलता हामीले अवश्य पनि गुमाइरहेको देखाउने गरेको छ ।

अझ पछिल्लो समयमा गरिएका अध्ययनहरुको निष्कर्ष हेर्दा चाहिँ नयाँ पुस्तामा सिर्जनशीलता आश्चर्यजनक तरिकाले घटिरहेको छ । हुन त केही केहीले राम्रै प्रगति गरेको देखिन्छ, ती प्रगति गर्नेहरु तुलनात्मक रुपमा कम उमेरका बालबालिका तथा युवा पनि छन् तर समग्रमा भने युवा तथा बालबालिकाको सिर्जनशीलता भने घटिरहेको नै छ ।

केही महिनाअघि नर्वेमा गरिएको एउटा व्यापक अध्ययनले त्यहाँका पुरुषहरुको समग्र आइक्यु परीक्षण एक दशकअघिको भन्दा निकै दयनीय पाइएको छ । रोचक त के छ भने, आईक्यु मात्र घटेको होइन कि आइक्युको परीक्षण गर्ने प्रश्नहरुको गुणस्तर पनि निकै घटेको पाइएको छ ।

मानिसको बुद्धिमता परिक्षण गर्ने एक किसिमको प्रणालीलाई द टोरेन्स टेस्ट भनिन्छ । यो परिक्षणले मानिसको बुद्धिमताको गुणस्तरलाई ठीक ठीक तरिकाले देखाउने गर्छ । यो आईक्यु परीक्षणभन्दा पनि गतिलो हुने केहीको दाबी छ । त्यसैले कतिपय राम्रा संस्थानहरुले टोरेन्स टेस्ट गराउन रुचाउँछन् । यसको वैज्ञानिक परिक्षण शैली सबैले मानेका छन् । यही द टोरेन्स टेस्टका आधारमा वैज्ञानिकहरुले समग्रमा हाम्रो बुद्धिमता एक दशकभन्दा कम रहेको निष्कर्ष निकालेका हुन् ।

यो टोरेन्स टेस्टका लागि विलियम एन्ड मेरी विश्वविद्यालयका अध्येताहरुले तीन लाख भन्दा बढीलाई छनोट गरेका थिए । यो परिक्षण सन् १९५० को दशकदेखि गर्न थालिएको हो । सन् १९९० को दशकसम्म आइपुग्दा मानिसको बुद्धिमताको स्तर निकै नै तल्लो तहमा पुगिसकेको माइकल इस्टरले हालै मिडियमडटकममा लेखेका छन् ।

आखिर हाम्रो बुद्धिमता यो तहमा कसरी घट्यो त ? यसका पछाडिका कारण के हुन सक्लान् त ? इस्टरको भनाइलाई विश्वास गर्ने हो भने, ‘हामी हतारको जीवनमा प्रवेश गरेका छौँ । हामीसँग यति धेरै भेटघाट, गर्नैपर्ने कामको यति लामो सूची छ कि हामीले केहीबेर शान्त रहेर सोच्ने अवसर नै पाउन छाडेका छौँ ।’

इस्टरको बुझाइमा, हामी हतारमा छैनौँ भने पनि हाम्रो मस्तिष्कलाई हतारको बानी लगाइदिएका छौँ । केही छैन भने पनि हामी यति धेरै मनोरञ्जनमा अल्झिन्छौँ र चाँडो चाँडो मनोरञ्जन चाहन्छौँ कि त्यसले हाम्रो मस्तिष्कलाई चाहिँदो विश्राम पुगेको छैन ।

बाल्यकालमा पहिला हामीसँग खेल्ने वास्तविक खेलहरु हुन्थे, अचेल कृत्रिम चिज छन् । र, हामी कृत्रितमतामा यति व्यस्त रहन थालेका छौँ कि वास्तविकतामै हामीलाई दाँत माझ्ने फुर्सद हुन छाडेको छ ।

बिहानै उठ्ने, केहीबेर ध्यानमा बस्ने, शान्त रहने र केही नगर्नेजस्ता कुरा हिजोआज निकै महँगो मानिन थालिएको छ । जबकि सबैभन्दा राम्रा कुरा, सबैभन्दा उत्तम चिज, सबैभन्दा मौन अवधिमा जन्मिएका हुन्छन् । केही नगरी स्थिर अवस्थामा जति बढी भइयो, उति नै सिर्जनशील कुरा जन्मने सम्भावना रहने विभिन्न अध्ययनहरुले देखाएका छन् तर हामी त्यस्तो अल्छी नलागोस् भनेर अनेक काममा अल्झिरहेका हुन्छौँ । अल्छी मानेर केही कुरामा घोत्लिनु, सोचको लम्बेतान समय यत्तिकै बिताउनुको महत्त्व स्वयं महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले बुझेका थिए । सबैभन्दा अल्छीलाग्दा दिनमा कल्पेका कुराहरु नै उनको महान् खोजका रुपमा संंसारमा स्थापित भएको छ ।

धन्न, हाम्रो गल्ती र कमजोरी कहाँ भइरहेको छ भन्ने कुरा वैज्ञानिकहरुले पत्ता लगाइरहेका छन् । हाम्रो सिर्जनशीलताको संकटको मूल कारक तत्त्वका बारेमा हिजोआज बल्ल छलफल हुन थालेको छ र यो निकै राम्रो कुरा हो ।

मानिसले आफ्नो वैयक्तिक अल्छ्याइँ सिर्जना गर्न सक्छ । ऊ कम्प्युटर, मोबाइल र अनेकन् एपमा नअल्झी, अल्छी मानेर नचाहिँदा कुरा सोच्दै दिन बिताउन सक्छ । यदि गएका दुई वर्षमा भएको बन्दाबन्दी र महामारीमा हामीले ज्यादै अल्छी गरेर बिताएका छौँ भने आउँदा केही वर्षभित्र हाम्रो कायापलट अवश्य हुन्छ, हेर्दै गर्नुहोला !

(इन्क म्यागेजिनबाट साभार)