साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

वैश्विक परिप्रेक्ष्यमा रामायणको गरिमा र भानुभक्तीय रामायणको भावी अध्ययनका दिशा

भानुभक्त आचार्य (वि. सं. १८७१-१९२५) र रामायण

‘रामायण’ नेपाली साहित्यमा एउटा विशिष्ट काव्यको रूपमा परिचित छ। भानुभक्तले आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट संस्कृतको अनौपचारिक रूपमा घरमै शिक्षा ग्रहण गरेका थिए। पछिबाट बाजे बुढेसकालमा काशीबास गर्न गएका बेला उनी पनि काशी पुगेका थिए। त्यहाँ उनले तुलसीदासको ‘रामचरित मानस’ पढेका वा चर्चा सुनेका थिए। बाजेको देहावसानपछि उनी आफ्नो घर फर्केर आई रामायणको अनुवादतर्फ कार्य आरम्भ गरेका हुन्। उनले सन् १८४१ तिर बालकाण्ड लेख्न थालेका थिए। त्यसपछि उनले अयोध्या काण्ड लेखेपछि सन् १८५२ मा उनी सरकारी लेनदेनमा गड्बडीको आरोप लागेर कुमारीचोक झ्यालखानामा थुनामा परेका थिए। उक्त थुनामा पाँच महिना बसेका बेला अरण्यकाण्ड, किष्किन्धाकाण्ड र सुन्दरकाण्ड लेखेका हुन्। यसैगरी सन् १८५३ मा युद्धकाण्ड र उत्तरकाण्ड पनि लेख्दै गएका थिए। यसरी भानुभक्तले यो रामायण जम्मा एघार वर्षमा लेखिसिद्ध्याएका थिए।

विश्वमा रामकाव्यहरू

भारतलगायत विश्वका विभिन्न देशका साहित्यमा राम काव्य लेखिएको पाइन्छ। विश्वका केही प्रमुख भाषामा विभिन्न रामायणहरू प्रकाशित भएका छन्। केही भाषाका रामायणहरू यस प्रकारले छन्।

संस्कृत साहित्यमावाल्मीकि रामायण – वाल्मीकि, योगवासिष्ठ या ‘वशिष्ठ रामायण‘ – वाल्मीकि, अध्यात्म रामायण – वेद व्यास, आनन्द रामायण – वाल्मीकि, अगस्त्य रामायण – वाल्मीकि, अद्भुत रामायण – वाल्मीकि, रघुवंश कालिदास मुख्य हुन्।

संस्कृत नाटकमा: भासका प्रतिमा नाटक अभिषेक नाटक, यज्ञफल नाटकभवभूतिको महावीरचरितउत्तररामचरित, दिंन्नागको कुन्दमाला नाटक, कलयको जनकजान्दम्, लक्ष्मी नृसिंह, छलितराम, यशोवर्मनको रामाभ्युदय, रामदेव व्यासको रामाभ्युदय, भीमटको स्वप्नदशानन, हस्तिमल्लको मैथिलीकल्याणम्, अनंगहर्षको उदात्त राधव, शक्तिभद्रको आश्चर्य चूड़ामणि, श्रीगदितको कृत्यारावण, मायापुष्पक, रामचरित, रामान्द, मरारीको अनर्धराधव, राजशोखरको बालरामायण, क्षीरस्वामीको अभिनवराधव, वालीवधम्, मारीचावंचिक, जयदेवको प्रसन्नराघव, रामचन्द्रसूरिको रघुविलास, राधवाभ्युदय, गंगाधरको- राधवाभ्युदय, भगवान रायाको राधवाभ्युदय, वेंकटेश्वरको राधवाभ्युदय, रामसिंहको जानकीराधव, सुभटको दूतांगद, रामचन्द्रका दूतांगद, अमोधराधव, अभिरामराधव, सोमेश्वरको उल्लाधराधव, भास्करको उन्मत्तराधव, महादेवको उन्मत्तराधव, राजचूडामणि आनंदराधव, सुंदरमिश्रको अभिराममणि, महादेवको अद्भूतदर्पण, रामभद्र दिक्षितको जानकीपरिणय, वेंकटेश्वरको राघवान्द, प्राणचन्द चौहानको रामायण महानाटक, हृदयरामको हनुमान्नाटक आदि।

हिन्दी साहित्यमा रामचरितमानस – हिन्दी (अवधी), राधेश्याम रामायण पउमचरिउ या पद्मचरित (जैनरामायण)-पउमचरिउअपभ्रंश (विमलसूरि कृत), श्री रामानन्दजीको, अग्रदासको अष्टयाम, नाभादासको भक्तमाल, ईश्वरदासको भरत मिलापअंगद पैज, लालदासको अवध विलास, केशवदासको रामचन्द्रिका आदि।

गुजराती साहित्यमारावण मंदोदरी संवाद– श्रीधर, रामप्रबंध– मीठा, रामायणपुराण– स्वयंभूदेव, राम बालचरित– भालण, रामविवाह– भालण, रामायण– नाकर, लवकुशाख्यान– भालण, रामायण– कहान, रामायण– उद्धव, रामायण– विष्णुदास, अंगदविष्टि– विष्णुदास, लवकुशाख्यान– विष्णुदास, रामविवाह– वैकुंठ, सीतानो सोहलो– तुलसी, परशुराम आख्या– शिवदास, महीरावण आख्यान– राणासुत, सीतास्वयंवर– हरिराम, सीतानां संदेशा– वजियो, सीतावेल– वजियो, सीतान संदेशो– मंडण, रावण मंदोदरी संवाद– प्रभाशंकर, रामचरित्र– देवविजयगणि, रामरास– चन्द्रगणि, अंजना सुंदरीप्रबंध– गुणशील, सीताराम रास– बालकवि, अंगदविष्टि– कनकसुंदर, रामसीताप्रबंध– समयसुंदर, रामयशोरसायन– केशराज, सीताविरह– हरिदास, सीताहरण– जयसागर, सीताहरण– कर्मण, रामायण– प्रेमानंद, ऋषिश्रंग आख्यान– प्रेमानंद, रणयज्ञ– प्रेमानंद, गुजराती योगवासिष्ठ– रामभक्त, रावण मंदोदरी संवाद– शामलभट्ट, अंगदविष्टि– शामलभट्ट, सीतास्वयंवर– कालीदास, सीतामंगल– पुरीबाई, सीतानी कांचली– कृष्णाबाई, सीताविवाह– कृष्णाबाई, रामकथा – राजाराम, रामविवाह– वल्लभ, रामचरित्र– रणछोड, सीताना बारमास– रामैया, रामायण– गिरधर

ओड़िया साहित्यमाजगमोहन रामायण या दाण्डि रामायण या ओड़िआ रामायण : बलराम दास, बिशि रामायण: बिश्वनाथ खुण्टिआ, सुचित्र रामायण : हरिहर, कृष्ण रामायण : कृष्ण चरण पट्टनायक, केशब रामायण : केशब पट्टनायक, चिन्तामणिको रामचन्द्र बिहार, धनंजय भंज, रघुनाथ बिला – बैदेहीशबिला, पीताम्बर दास, नृसिंह पुराणरामरसामृत सिन्धु : काह्नु दास, रामरसामृत : राम दास, पीताम्बर राजेन्द्रको रामलीला, बलराम दासको बा रामायण, भक्त कवि शारलादासको बिलंका रामायण,

तेलुगु साहित्यमा – भास्कर रामायण, रंगनाथ रामायण, रघुनाथ रामायणम्, भास्कर रामायण, भोल्ल रामायण

कन्नडकुमुदेन्दु रामायण, तोरवे रामायण, रामचन्द्र चरित पुराण, बत्तलेश्वर रामायण

अन्य भाषाहरूमाकथा रामायण – असमिया, कृत्तिवास रामायण – बांग्ला, भावार्थ रामायण – मराठी, राम बालकिया – गुजराती, रामावतार या गोबिन्द रामायण – पंजाबी (गुरु गोबिन्द सिंह द्वारा रचित), रामावतार चरित – कश्मीरी, रामचरितम्– मलयालम, रामावतारम् या कंबरामायण– तमिल, मन्त्र रामायणगिरिधर रामायण, चम्पू रामायण (राजा भोज, आर्ष रामायण या आर्प रामायण, अनामक जातक – बौद्ध परम्परा, दशरथ जातक – बौद्ध परंपरा, दशरथ कथानक – बौद्ध परंपरा, रामायण – मैथिली (चन्दा झा)

नवीन पौड्याल (कालिम्पोङ)

यसरी हेर्दा मोटामोटी रूपमा हिन्दीमा एघारवटा, मराठीमा आठवटा, बङगला पच्चीसवटा जति, तमिलमा बाह्रवटा, उडियामा चौधवटा जति रामायणहरू रहेका छन्। यीमध्येकुनै उपजीव्य काव्यका रूपमा र कुनै प्रकीर्ण काव्यका रूपमा रहेका छन्। विभिन्न भाषाहरूमा घटना प्रसङ्ग र पात्रपात्राका कोण प्रतिकोणबाट रामायण लेखिएका छन्। मूल रूपमा रामको कोणबाट रामायण कथा रहे तापनि कतै सीता, कतै रावण कतै अंगद, कतै महीरावण, कतै लव-कुश, कतै हनुमान, कतै काग भुसुण्डी, कतै परशुराम, कतै दशरथ आदिका माध्यमबाट रामायण गाथा रचिएको पाइन्छ। यसमा पनि कतै रामविवाह, कतै सीताविवाहकेन्द्री, कतै राम-रावण युद्धकेन्द्री, कतै राम वनबासकेन्द्री आदिका प्रसङ्गबाट पनि रामायण गाथा रचिएको पाइन्छ। समग्र रामकाव्यहरूमा मर्यादा पुरूषोत्तम रामको समाजोन्मुख सुकार्य, संसारलाई दैंत्यहरूका हातबाट बचाउने र आदर्श पात्रको रूपमा प्रस्तुति, भक्ति भावना, विभिन्न किसिमका चरित्र र तिनको अङ्कन, युगीन समस्याहरूको सङ्केत, लोकमङ्गलको भावना, समन्वयको भाव, प्रकृति चित्रण, विभिन्न किसिमका काव्य र तिनका रूपहरूको कलात्मक प्रस्तुति, शाश्वत र सनातन सत्यताको प्रस्तुतीकरण आदि जस्ता गुण र विशेषता पाइन्छन्। यो एउटा युग युगसम्म रहने अमर काव्य हो।

नेपालीमा रामकाव्य परम्परा-

नेपाली कै प्रसङ्गमा हेर्नु हो भने पनि रामकथामाथि केही उपजीव्य र प्रकीर्ण काव्य लेखिएका छन्। यस्ता उपजीव्य र प्रकीर्ण काव्यका रूपमा महाकाव्य, खण्डकाव्य, गद्यकाव्य र नाट्यकाव्य आदि देखा पर्दछन्। कतिपय कविले रामायणको हुबहु अनुवाद गरेका छन् भने कतिले आफ्नो ढङ्गले मौलिक रूपमा लेखेका छन्। नेपालीमा लिखित केही यस्ता रामकाव्यहरूमा भानुभक्त आचार्यको ‘रामायण’ महाकाव्य, सोमनाथ सिग्द्यालको ‘आदर्श राघव’ महाकाव्य, लेखनाथ पौड्यालको ‘मेरो राम’ (खण्डकाव्य), लक्ष्मीप्रसाद देवकोटाका तीनवटा खण्डकाव्य ‘रावण जटायु युद्ध’ (खण्डकाव्य), ‘सीताहरण’ (खण्डकाव्य), ‘नेपाली रामायण’ (खण्डकाव्य), सुन्दरानन्द बाँडाको ‘अध्यात्म रामायण’, प्रेमराज पौड्यालको ‘सम्पूर्ण रामायण’ (महाकाव्य)आदि देखिन्छन्। यसै गरी गद्यानुवादतर्फ चक्रपाणी चालिसेको ‘संक्षिप्त रामायण’ देखिन्छ। रामायणको हुबहु अनुवादतर्फ कालिदासको रघुवंश महाकाव्यको जीवनाथ अधिकारीको ‘रघुवंश’ काव्यानुवाद, सूर्यकला थापाद्वारा श्री सत्य साइ बाबाकृत ‘रामकथा रसवाहिनी’ गद्यानुवाद देखिन्छन्। यसैगरी नेपालीमा पनि ‘आनन्द रामायण’, ‘अद्भूत रामायण’ आदि रामायणका केही भाग-प्रभागको पनि अनुवाद र स्वतन्त्र लेखन पाइन्छन्। नेपाली साहित्यमा रामायण अझै पनि लेखिदै छन्। रमेशप्रसाद अधिकारीले यही कथालाई लिएर ‘सीतायान’ आठ-दश खण्डमा महाकाव्य लेखिसकेका छन्। प्रेमराज पौड्यालको रामायण पनि वि. सं. १९८२ मा पहिलोचोटि प्रकाशित भएको थियो। यसमा जम्मा ३१९ पृष्ठ भएको र सातै काण्डको पद्यानुवाद रहेको थाह लागेको छ। यसको प्रस्तावना लेखन भने डिल्लीराम तिम्सिनाको रहेको पाइन्छ। यस रामायणमा मूल कथावस्तुलाई कविले स्वतञ्त्रसँग अनुष्टुप छन्दमा रचेका छन्। यस लेखको मुख्य ध्येय भानुभक्तीय रामायणको बारेमा सामान्य चर्चा गर्नु रहेको छ।

भानुभक्तको रामायण

भानुभक्त आचार्यले रामायणका धेरै अङ्श, कथा र उपकथालाई छोडेर मुख्य मुख्य कथा- उपकथालाई समेटी कथावस्तु बुनेका हुन्। मूलमा अर्ती-उपदेश र विभिन्न देवी-देवताका महात्म्य खण्डलाई उनले छोडी सारांश जस्तो मात्र लिएका हुन्। उनको रामायणको बालकाण्डमा १३९ श्लोक, अयोध्याकाण्डमा १२३ श्लोक, अरण्यकाण्डमा १२२ श्लोक, किष्किन्धाकाण्डमा १४३ श्लोक, सुन्दरकाण्डमा १५४ श्लोक, युद्धकाण्डमा ३८१ श्लोक र उत्तरकाण्डमा २५७ श्लोक गरी जम्मा १३१९ वटा मात्र श्लोक लेखेका छन्। यस हिसाबले युद्धकाण्ड सबैभन्दा ठुलो र अरण्यकाण्ड सबैभन्दा सानो रहेको देखिन्छ। रामायणको कथावस्तुअनुसार देवगण, मनुष्यगण, राक्षसगण, वानरगण र पक्षीगण गरी पाँच प्रकारका पात्रवर्गको वर्गीकरण गर्न सकिन्छ। यद्यपि यसको मूल पात्र रामको मनुष्य अवतार हुनाले र अन्य ऋषिमुनिहरू पनि मनुष्य हुनाले मनुष्यवर्गकै गतिविधिको बढता वर्णन् पाइन्छ। पक्षीवर्गको उपस्थिति भने अत्यल्प देखिन्छ। यी पाँच वर्गका पात्रप्रयोगलाई यसरी केही प्रमुख पात्र-पात्रालाई यसरी देखाउन सकिन्छ

भानुभक्तीय रामायणको अनुवाद

भानुभक्तका निम्ति अध्यात्म रामायण स्रोत काव्य हो भने भानुभक्तीय रामायण नै केही अनुवादका निम्ति स्रोत काव्य बनेको छ। तेजपुरकी बहुमुखी स्रष्टा गीता उपाध्याय भानुभक्तीय रामायणको भानुभक्तीय रामायण शीर्षकमा असमिया भाषामा अनुवाद गरी पुरस्कृत भएकी छन्। यो बंगाली हिन्दी, अवधी, मैथिली, मगर र लिम्बूलगायतका भाषामा समेत अनूदित छ। त्यसै गरी डा भजनगोपाल सन्यालले बङ्गलामा गद्यानुवाद गरेका छन्। हिन्दीमा नन्दकुमार अमात्य र तपेशव्रत अमात्यले गरेका छन्। भोजपुरीमा मुकुन्द आचार्यले अनुवाद गरेका छन्। त्यसै गरी डा. गोकुल सिन्हाले अङ्ग्रेजीमा गद्यानुवाद गरेका छन्। सार्क सांस्कृतिक सार्क राष्ट्रहरूको क्लासिकल साहित्यहरूको अनुवाद कार्यक्रमअन्तर्गत डा गोविन्द राज भट्टराईले भानुभक्तीय रामाणको पद्यानुवाद गरिरहेको सूचना पाइन्छ। कृष्णप्रसाद श्रेष्ठले भानुभक्तका तेह्रवटा फुटकर कविताहरूको रूसी भाषामा पद्यानुवाद गरेका छन् भन्ने सूचना पाइन्छ। ‘लोकको गरौँ हित् भनी’ (२०७०) पुस्तकमा निम्नलिखित शीर्षकका भानुभक्तका कविता रुसी भाषामा अनुवाद गरिएका छन्— ‘परिचय’, ‘घाँसी’, ‘बालाजी’, ‘कान्तिपुरी नगरी’, ‘इजहारपत्र’, ‘बिन्ती डिट्ठा-विचारीसित’, ‘आग्रह’, ‘लामखुट्टेहरू गाउँछन्’, ‘बिन्तीपत्र’, ‘तारापतिलाई’, ‘वधूशिक्षा’, ‘प्रश्नोत्तरमाला’, ‘भानुभक्त भनी प्रसिद्ध जगमा’, ‘लोकको गरूँ हित् भनी’ जम्मा १३ वटा कविताको अनूदित सङ्ग्रह प्रकाशित छ। (स्रोत- नेपाल प्लस, शिलाङ, तेजपुर, गुवाहाटी यात्रा, डा. गोविन्दराज भट्टराई, २०७८ असार १२ गते १०:५८)

भानुभक्तका रामायणका विभिन्न प्रकाशनहरू

भानुभक्त आचार्यले भावानुवाद गरेको रामायणका विभिन्न प्रकाशन र संस्करणहरू रहेका छन्। यसको प्रारम्भ मोतीराम भट्टले गरेका थिए। भट्टको गोर्खा भारत जीवन प्रेसबाट वि सं सन् १९४१ मा पहिले बालकण्ड प्रकाशित भएको थियो। त्यसपछि वि सं. १९४२ मा मोतीराम भट्टको सहयोग र देवराज शर्माद्वारा सम्पादनमा रामायणका केही काण्ड प्रकाशित भए। वि सं. १९४४ मा सबै काण्ड रामायण प्रकाशित भएको थियो। विसं १९५१ मा नेपाल पाशुपत प्रेसबाट सम्पूर्ण रामायण मोतीकृष्ण धीरेन्द्र कम्पनीको प्रकाशत्त्वमा प्रकाशित भएको थियो। यसैगरी हरिहर आचार्च दीक्षितको सम्पादनमा बम्बइको नेपाली ग्रन्थ प्रचारक मण्डलीले निर्णय सागर प्रेसबाट भानुभक्तीय रामायण वि सं. १९६७ मा प्रकाशित गरेको थियो। त्यसपछि होमनाथ केदारनाथ प्रकाशकत्वमा वि सं. १९७९ भानुभक्ताचार्यकृत रामायण प्रकाशित भएको थियो। त्यसपछि कोलकाताको गोरखनाथ एण्ड कम्पनीद्वारा वि सं. १९८९ मा प्रकाशित भएको पाइन्छ। रामायण प्रकाशनका बाबू माधवप्रसाद शर्माको ठुलो असली आठकाण्ड रामायण पनि वि. सं. १९५९ मा प्रकाशित भएको पाइन्छ। त्यसमा भनिएको छ- ‘यसमा आदिकवि पं भानुभक्त महोदयले बनाएको असली सात काण्ड रामायण र पुराण बमोजिम शुद्ध रामाश्वमेध कथा सरल कवितामा लेखी प्रकाशित गरिएको छ’। यसका साथै त्यसको मुन्तिर ‘बाबू माधवप्रसाद शर्माकृत भरत हनुमान संवाद, राम विलाप, सुलोचना-सती, अहिरावण–बध र नारान्तक-बध समेत’ भन्ने सङ्केत गरिएको छ। यसै गरी गीता प्रेस गोरखपुरले पनि सूर्यविक्रम ज्ञवालीको सम्पादनमा भानुभक्तीय रामायण प्रकाशित गरेको थियो। त्यसपछि भने उनै सूर्यविक्रम ज्ञवालीको सम्पादनमा रहेको र नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट प्रकाशित भानुभक्तको रामायण वि सं १९९१ मा प्रकाशित हुन्छ। यसैलाई सूचना तथा संस्कृति विभाग, पश्चिम बंगाल सरकारले पनि वि सं. १९९४ मा प्रकाशित गर्छ। यसैलाई भानुभक्तको रामायण लाई साझा प्रकाशन काठमाडौंले २०३९ मा प्रकाशित गरेको पाइन्छ। पारसमणि प्रधानले पनि वि सं. २००९ मा भानुभक्त ग्रन्थावली प्रकाशित गर्छ। साहित्य एकादमी नयाँ दिल्लीबाट भानुभक्तीय रामायण (२०१२), शिवराज आचार्यको भानुभक्तकृत भाषारामायण (वि सं. २०६७) आदि हुन्।

भानुभक्तलाई अमरता प्रदान गरिएका केही कामहरू

भानुभक्तलाई अमरता प्रदान गर्न उनको नामलाई विभिन्न किसिमका काम गरिएका छन्। यसमा उनको नाम सरकारी विदा, शालिक स्थापना, स्थाननाम, भवन नाम, पथनाम, शैक्षिक संस्थान आदि उनको कृतित्वको पुस्तक प्रकाशन आदि आदि रहेका छन्।

भानुजयन्तीमा सरकारी विदा : भारतमा भानुभक्तको विशेष स्थान छ। भारतको पश्चिम बङ्गाल, सिक्किम, असममा सरकारी तवरमा नै भानुजयन्तीलाई महत्त्व दिएर १३ तारिक जुलाईलाई सरकारी विदा गरिएको छ। भारतको पनि दार्जिलिङ सिक्किम र असममा भानु जयन्ती धुमधामले मनाइन्छ। सलुवा, कोलकाता, राँची, जम्मु, भाक्सू, देहरादुन, दिल्ली आदि स्थानहरूमा पनि भानुजयन्ती मनाउन थालिएको पाइन्छ। उत्तर-पूर्वाञ्चलका पनि असमबाहेक मणिपुर. नागाल्याण्ड, अरूणाचल, मेघालय, मिजोरामका विभिन्न स्थानमा भानुजयन्ती मनाइन्छ।

भानुभक्तको शालिक स्थापना : नेपाल र भारत गरी लगभग तीन सय जति भानुभक्तका शालिकहरू स्थापना गरिएका छन् भनिन्छ। भारतमा भानुभक्तको शालिक स्थापना गरेर भारतमा हाम्रो अस्तित्वको मोहरछाप लाउने काम गरिएको छ। भानुभक्तले भारतीय धर्मग्रन्थ रामायणको भावानुवाद गरेका हुन् भन्ने प्रसङ्ग रहेको छ। भारतमा भानुभक्तका शालिकहरू धेरै स्थानमा स्थापना गरिएको पाइन्छ। दार्जिलिङको भानुशालिक सर्वप्रथम सन् १९४९ मा चौरस्थामा स्थापना भएको थियो। यो नै विश्वको पहिलो भानु शालिक हो। दार्जिलिङ र कालिम्पोङ जिल्लामा कालिम्पोङ, पेदोङ, खरसाङ, सिलगडी, खोलाचन्द फापरी, सालबारी, नक्सलबारी, मिरिक आदि स्थानमा भानु शालिक स्थापित छन्। सिक्किममा गान्तोक, सिङ्ताम, मङ्गन, रिनाक, पाक्योङ, नाम्ची, जोरथाङ, रोडाथाङ, मल्ली आदि ठाउँमा भानु शालिक रहेका छन्। गोजिङमा भने विशालकाय भानुभक्तको शालिक स्थापना गरिएको छ। त्यहाँ नेपाली भाषा साहित्य अनुसन्धान केन्द्र पनि रहेको छ तर हालमा यो निष्क्रिय रहेको सुन्नमा आएको छ। डुवर्सका मालबजार, लुकसान, नगरकट्टा, सामसिङ, दलसिंहपाडा, जयगाउँ आदिमा शालिक रहेका छन्। असमका डिमाहासा जिल्लाको बागेटार, गमिरि, धेमाजीको डिमाउ, लखिमपुरको चौलदोवा, तीनसुकियाको जागुन, शोणितपुरको लोकरा, डिगबोयको नेपाली विष्णुमन्दिर, डिगबोयकै टिङ्‌राई, कछार जिल्लाको हरिनगर, पश्चिम कार्बी आङ्लाङको मैसान आदि स्थानमा भानुभक्तको शालिक स्थापना गरिएका छन्। भारतको उत्तर पश्चिमाञ्चलका केही स्थानमा पनि भानुभक्तको शालिक स्थापना भएका छन्।

भानुभक्तको नाममा स्थाननाम : भानुभक्त नाममा केही स्थाननाम रहेका छन्। केही यस्ता ठाउँ र पथहरू हुन्- दार्जिलिङको सिंहमारीको भानुग्राम, चौरस्ताको एक स्थान भानुसरणी, भानु उद्यान- खरसाङ, भानुग्राम, भानुटोल मिरिक, भानुटोल-मङ्पु, भानुनगर- सिलगड़ी, भानुसरणी- जयगाउँ आदि हुन्। त्यसै गरी भानुभक्तको नाममा केही सार्वजनिक र सरकारी भवनको नाम राखिएको पाइन्छ। यस्ता केही भवनहरू हुन्- भानुभवन : दार्जिलिङ, रबीन्द्र-भानु मञ्च– उत्तर बङ्गाल विश्वविद्यालय, भानु स्मृति भवन– चलाउने, चियाकमान डुवर्स आदि हुन। भानुभक्तका नाममा पथको नाम पनि रहेका छन्। जस्तै भानु पथ– दार्जिलिङ, आचार्य भानुपथ– खरसाङ, भानु पथ सिलगड़ी मुख्य हुन्। त्यस्तै गरी केही सामाजिक सङ्घहरू पनि भानुभक्तका नाममा रहेका छन्। भानुभक्त समिति– सिलगड़ी, भानु सङ्घ– सिलगड़ी आदि हुन्। डुवर्सको नगरकट्टामा रबीन्द्र-भानु सेतू पनि पाइन्छ। यसै गरी उनको नाम रहेका केही विद्यालयहरूको हुन्- भानुभक्त प्राथमिक पाठशाला– दार्जिलिङ, भानु रात्री पाठशाला– दार्जिलिङ, भानुभक्त प्राथमिक पाठशाला– गुरूङ बस्ती सिलगड़ी, भानुभक्त प्राथमिक पाठशाला– मदारीहाट, अलिपुरद्वार जिल्ला, भानु निम्नोच्च विद्यालय-मङ्पु, भानु पाठशाला– बागडोगरा आदि हुन्। नेपालमा भानुभक्तको नाममा कति विद्यालय, संस्था छन् त्यसबारे गहन अनुसन्धान गर्न बाँकी छ।

भानुभक्तका नाममा पुरस्कारहरू : नेपाली वाङ्मयको सेवाका निम्ति पश्चिम बङ्गाल सरकारले प्रत्येक वर्ष भानु पुरस्कार दिन गर्दथ्यो तर विगत को गोर्खाल्याण्ड आन्दोलनकालपछि उक्त पुरस्कार बहिष्कार भएर स्थगित भएको छ। त्यसै गरी नेपाली साहित्य परिषद् सिक्किमले पनि प्रत्येक वर्ष भानु पुरस्कार राशि रु. ५१ हजारको राशि प्रदान गर्दछ। यही नामको पुरस्कार अखिल भारतीय नेपाली भाषा समिति, देहरादुनबाट पनि प्रदान गर्दथ्यो। नेपाल सरकारको आदिकवि भानुभक्त आचार्य पुरस्कार पनि रहेको छ।

भानुभक्तका कृति अध्ययनहरू-

भानुभक्तको कृतित्व र व्यक्तित्वबारे लेखाजोखा गरिएका धेरै पुस्ताकार कृतिहरू प्रकाशित देखिन्छन्। तिनमा कुनै एकल लेखकीय पुस्तक प्रकाशन, कुनै सम्पादित र संकलित, कुनै फुटकर रूपमा आदि प्रकारले देखा परेका छन्। कुनैमा काव्यकृतिको भावगत कुनैमा भाषागत, कुनैमा तुलनात्मक, तर्कसम्मत् आदि विश्लेषण गरिएको पाइन्छ।

एकल लेखकीय पुस्तक प्रकाशन : भानुभक्तको साहित्यिक योगदानको मूल्याङ्कन गर्दै केही लेखकले पुस्तक लेखेका छन्। यस किसिमको पुस्तकको प्रारम्भ गर्ने मोतीराम भट्ट (वि सं. १९४८ सन् १९८१) हुन्। उनको आदिकवि भानुभक्त आचार्यको जीवन चरित्रलाई प्रमुख मानिन्छ। शम्भुप्रसाद ढुङ्गेलको आदिकवि भानुभक्तको जीवनचरित्र (वि सं.१९६९), त्यसपछि भाइचन्द प्रधानको सं २००९ आदिकवि भानुभक्त आचार्य प्रकाशित छ। हृदयचन्द्रसिंह प्रधानको भानुभक्त एक समीक्षा (२०१३), बालचन्द्र शर्मा भानुभक्त (२०१४), नारायणदत्त शास्त्रीको भानुको सम्झना (वि सं. २०१७), नरनाथ आचार्यको कविसम्राट भानुभक्तको सच्चा जीवनचरित्र, २०१८, चन्द्रेश्वर दुबेको भानुभक्त र घाँसी (खण्डकाव्य, २०२०), इन्द्रबहादुर राईको सम्पादनमा रहेको मोतीराम भट्टको कवि भानुभक्त आचार्य जीवनचरित्र (२०२१), भानु पुस्तकालय सहायक समितिको प्रकाशत्वमा रहेको जुननाथ शर्माद्वारा सम्पादित भानुका लघु कृतिहरू (सं. २०२३) प्रकाशित भएको छ। त्यसपछि मुक्तिनाथ शर्माको भानुको भावना (२०२९), गिरिराज आचार्यको भानुभक्त र नेपाली भाषाको विकास (२०३१), दयाराम श्रेष्ठको रामकथा परम्परा र भानुभक्तीय रामायण (२०४१), सुमन ढकालको कवि भानुभक्त आचार्य र उनका केही साहित्यिक पक्ष (सन् १९८९), गुमानसिंह पारसमणि प्रधानको कविवर भानुभक्तको उपाधि र आदिकवित्वका प्रश्न (सन् २००१), डा कविता लामाको भानुभक्त आचार्यको काव्यकृतिको भाषिक अध्ययन प्रकाशित देखिन्छ। पछिल्लो कृतिमा भानुभक्त आचार्यका भाषिक पक्षहरूको आधारमा विश्लेषण गरिएको पाइन्छ। डा. भद्रवीर अधिकारीको नेपाली कविताको विकासमा भानुभक्त आचार्यको योगदान (वि सं. २०६२) पनि प्रकाशित भएको पाइन्छ। भानु जन्मस्थल विकास समिति, चुँदी रम्घाको प्रकाशनमा रहेको डा ब्रतराज आचार्यको आदिकवि भानुभक्त (जीवनी र कवितको सम्परीक्षण, (सं. २०५८) पुण्यप्रसाद शर्माको सम्पादनमा रहेको केही समालोचना आदिकवि भानुभक्त आचार्य (२०१०) असमका अविकेशर शर्माको भानुभक्तको आदिकवित्वको चिरफार पनि प्रकाशित भएको पाइन्छ। यसै गरी भानुभक्तलाई अन्य भाषामा परिचय दिने क्रममा पारसमणि प्रधानको भानुभक्त आचार्य (सन् १९७९) अङ्ग्रेजीमा रहेको छ। हरेन घोषको बङ्गला पुस्तक कवि भानुभक्त आचार्य (सन् १९९०) डा. मोतीवीर राईको मोतीराम भट्ट भानुभक्तको जीवनी पुस्तकको अँग्रेजी अनुवाद The Life of Bhanu Bhakta Acharya (२०४३) पनि प्रकाशित भएका छन्। यीबाहेक फुटकर रूपमा लेख्नेहरू भने धेरै छन्। तिनमध्ये केही उल्लेखनीय समीक्षक अध्येताहरूमा लश्र्मीप्रसाद देवकोटा, राजनारायण प्रधान, केशवप्रसाद उपाध्याय, डा कुमार प्रधान, कमला सांकृत्याय आदि हुन्।

सङ्कलित पुस्तक : भानुभक्त आचार्यको कृतित्वलाई लिएर विभिन्न विद्वानहरूले लेखेका लेखहरूलाई सङ्कलन र सम्पादन गरेर पुस्तकाकार रूपमा प्रकाशित भएको पाइन्छ। सर्वप्रथम, नेपाली साहित्य सम्मेलन, दार्जिलिङबाट प्रकाशित भानुभक्त स्मारक ग्रन्थ सूर्यविक्रम ज्ञवालीको पहिलोचोटि सम्पादनमा रहेको वि सं. १९९७ (सन् १९४१) थियो। यसैलाई पछिबाट वि सं. २०२६ (सन् १९७०) मा पूर्वार्द्ध र उत्तरार्द्ध मिलाएर पूर्वार्द्धका सम्पादक सूर्यविक्रम र उत्तरार्द्धका सम्पादक तुलसीबहादुर छेत्री र जगत् छेत्री रहेका छन्। यसै भानुभक्त स्मारक ग्रन्थलाई तेस्रो चोटि पनि सन् २०१६ मा पनि गोपीचन्द्र प्रधानको प्रधान सम्पादकत्व पुराना र नयाँ लेखकका लेखहरू थपेर जम्मा ३७८ पृष्ठको प्रकाशित गरेको छ। इन्द्रबहादुर राईको सम्पादनमा रहेको भानुभक्तका कृति अध्ययनहरू (२०३६) भानु अध्येताका निम्ति निकै महत्त्वपूर्ण पुस्तक बनेको छ। वि. सं १९७१ तदनुसार सन् २०१४ मा भानुभक्त आचार्यको २०० औं जयन्तीको अवसरमा नेपाल, भारत र विश्वका विभिन्न देशहरूमा धुमधामले समारोहपूर्ण जन्म जयन्ती पालन भएको विभिन्न समाचारपत्रहरूमा समाचार आएका थिए। त्यस अवसरमा द्विशतकीय भानु स्मारिका आदि प्रकाशित भएका थिए। त्यसै अवसरमा नेपाली साहित्य संस्थान, सिलगडीले प्रकाशित गरेको र डा. घनश्याम नेपालको प्रधान सम्पादकत्वमा रहेको भानुभक्तीय कृति द्विशतकीय दृष्टि नाम गहकिलो पुस्तक प्रकाशित भएको थियो। त्यसको समारोहपूर्वक लोकापर्ण पनि भएको थियो तर त्यसमा रहेका छपाइसम्बन्धित त्रुटीहरूका कारण उक्त महत्वपूर्ण पुस्तक बाहिर आउन सकेको छैन। भानुभक्तका कृतित्वमाथि विभिन्न अनुसन्धानमूलक लेखहरू समावेश रहेका थिए। त्यसरी प्रकाशित भएर पनि पाठकसमक्ष नपुग्नु एउटा विडम्बना हो। यस विषयमा सम्पादक मण्डलीले पुनर्विचार गरेर सच्याएर पुनः प्रकाशित गरे भानुप्रेमी पाठकहरूलाई महत्त्वपूर्ण खुराक प्राप्त हुने थियो। यसै गरी जीवन नामदुङ र प्रेम प्रधानको सम्पादनमा रहेको साहित्य अकादेमी नयाँ दिल्लीले प्रकाशित गरेको भारतीय नेपाली साहित्यमा भानुभक्तको रामायण पनि भानुभक्तको कृतित्वको विभिन्न पक्षमा लेखिएका विभिन्न लेखहरूका जम्मा २३ वटा लेख समावेश रहेका छन्।

विद्यावारिधि : भानुभक्तको कवित्वमाथि केही विद्यावारिधि कार्यहरू पनि सम्पन्न भएका छन्। डा. भद्रवीर अधिकारीले नेपाली कविताको विकासमा भानुभक्त आचार्यको योगदान, डा गोकुल सिन्हाले नेपाली रामकथा परम्परा, डा कविता लामाले भानुभक्तीय काव्यकृतिको भाषिक अध्ययन, कमला सांकृत्यायनले रामचरित मानस र भानुभक्त आचार्यको रामायणको तुलनात्मक अध्ययन (हिन्दीमा) आदि हुन्।

भानुभक्तको बढ्दो लोकप्रिय र महत्त्व

विश्वव्यापी रूपमा नै भानुभक्तको महत्त्व बढ्दो छ। विश्वमा रामायण एउटा श्रेष्ठ काव्य भएर विश्वप्रसिद्ध छ। यो विश्वका विभिन्न भाषामा मूल ग्रन्थ र अनूदित ग्रन्थ भएर रहेको छ। भानुभक्तले पनि नेपाली भाषामा सर्वबोध्य, सर्वगम्य र सुपाठ्य बनाएर प्रस्तुत गरेका छन्। यसकारण पनि भानुभक्तको महत्त्व दिनदिनै बढ्दो छ। विश्वका विभिन्न देशमा नेपालीभाषीको उपस्थिति बढ्दो पाइन्छ। अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रूस, दक्षिण कोरिया, जापान सिङ्गापुर, मलेसिया, म्यानमार, कतार, कुवैत आदि देशहरूमा नेपाली साहित्यको प्रचार-प्रसार हुनथालेको पाइन्छ। ती मुलुकहरूमा पनि भानुजयन्ती मनाउन थालिएको समाचार पाइन्छ।

भावी अध्ययनको दिशा

भानुभक्तका कृतित्वसम्बन्धमा अझै धेरै कामहरू गर्न सकिन्छ। भानुभक्तको रामायणलाई अन्य रामायणका परिप्रेक्ष्यमा तुलनात्मक अध्ययन, अनुसन्धान गर्न सकिने ठाउँ रहेका छन्। भानुभक्तको समयमा प्रचलित भाषा र अहिलेको भाषाको तुलनात्मक अध्ययन गरिने ठाउँ रहेका छन्। नेपाली रामकाव्य परम्परामा भानुभक्तको स्थान आदिको अध्यन गर्न सकिने ठाउँ रहेका छन्। भानुभक्तको भाषा र वर्तमानको नेपाली भाषा, पहाडी भाषाहरूको परिप्रेक्ष्यमा गर्दै भानुभक्तकालीन नेपाली भाषाको अध्ययन गर्न सकिन्छ। आजभन्दा लगभग दुई शय वर्षअगिको नेपाली भाषा र वर्तमान नेपाली भाषाबिचको समानता, भिन्नता आदिको अध्ययन गर्न सकिन्छ। विशेष गरी व्याकरणिक पक्षमा केही साम्य र केही वैषम्य रहेका छन्। तिनको समुचित अध्ययन गर्न सकिन्छ। त्यस समयमा प्रचलित तत्सम, तद्भव र आगन्तुक शब्द आदि कति छन्, तिनको समुचित अध्ययन गर्न सकिन्छ।

प्रतिक्रिया
Loading...