भारतवर्ष सांस्कृतिक, भाषिक एवम् आध्यात्मिक दृष्टिकोणले एउटा समृद्धशाली राष्ट्र हो । बहुभाषिक समुदाय, सांस्कृतिक विविधता, आध्यात्मिक समृद्धतापूर्ण यस राष्ट्रमा विविध  सांस्कृतिक, भाषिक, आध्यात्मिक गोष्ठीहरू पाइन्छन् । यी विभिन्न गोष्ठीहरूले कुनै न कुनै रूपमा आफ्नो भाषा र जातीय अस्तित्वलाई जोगाइराख्ने प्रयास हर सम्भव गरी नै रहेका हुन्छन् । ‘कुनै पनि जातीयता र चिनारीको कुरो आफैँ उम्रिन सक्दैन यो राजनैतिक शक्ति र विचारले उमारिएका हुन्छन् । जातीय चिनारी विषयक धारणाहरू वास्तवमा समयसँगै परिवर्तन भइरहन्छन्, यसैले जातीयता र चिनारी विवेकले सिर्जित धारणा हो जसको प्रकृति परिवर्तनीय हुन्छ’।[1] जातीयता र चिनारीका प्रश्नहरू गणतान्त्रिक भारतमा अति नै सम्वेदनशील छन्। विविध भाषिक समुदायहरूमा यो एउटा ठुलो महत्त्वकांक्षातर्फको झुकाव हो ।   भारतजस्तो गणतान्त्रिक, लोकतान्त्रिक, सामाजिक, धर्म निरपेक्ष राष्ट्रमा आ-आफ्नो भाषा र जातीय अस्तित्वलाई संरक्षण गर्न प्रत्येक भाषिक समुदायहरू सङ्घर्षशील पाइन्छन् ।   ‘छुट्टै चिनारी र लक्ष्य प्राप्त गर्न ती समुदाय आफ्ना भाषाकै माध्यमले केही सीमासम्म सफल एवम् सक्षम बनेका पनि छन्।’[2] भारतीय सन्दर्भमा नेपाली भाषिक समुदाय पनि यस्तै चिनारी र अस्तित्वबिच आफ्नो स्थान खोज्न प्रयासरत देखिन्छ।

नेपाल र भारत राजनैतिक सिमानाले भिन्न भिन्नै राष्ट्र हुन्। आ-आफ्ना भाषिक, सामाजिक, राजनैतिक, आर्थिक, आध्यात्मिकजस्ता विविध विशिष्टता र पक्षहरू यी दुबै देशहरूमा भिन्न-भिन्नै छन् । भाषा र साहित्यले यी दुबै देशका केही पक्षहरूलाई एउटै मन्चमा ल्याएर हाम्रा निम्ति अध्ययनको पृष्ठभूमि बनाइदिएको छ। त्यस अध्ययनका क्रममा भारतभित्रका नेपालीभाषी जनमानसमा रहेको जातीय चिनारी र एकताका प्रसङ्गहरू ‘भानुभक्त’ र ‘भानु जयन्ती’का माध्यमद्वारा चर्चा गर्ने प्रचेष्टा यहाँ गरिन्छ ।

सन् १८१४ मा नेपालको तनहुँ जिल्लामा जन्मेका भानुभक्त आचार्यको यहाँ कुनै विस्तारित परिचयको आवश्यकता छैन ।   उनको मृत्यु केवल ५४ वर्षका उमेरमा सन् १८६८ मा भएको ठिक २० वर्षपछि मोतीराम भट्टले उनलाई नेपाली साहित्यका आदिकवि भनेर पुन: जीवित बनाइदिए । उनका अनूदित ‘रामायण’ले तत्कालीन नेपाली संसारमा विविध प्रसङ्गहरू जोड्दै गयो । फलस्वरूप राजनैतिक सिमानाले अलग राखेका नेपाली भाषिक समुदायहरुबिच यसको प्रसङ्ग भने महत्त्वपूर्ण बनिन थाल्यो । यसै क्रममा नेपालबाहिर छिमेकी राष्ट्र भारतमा नेपाली बाहुल्य भएका विभिन्न स्थानहरूका सन्दर्भभित्र ‘व्यक्ति भानुभक्त’ र ‘पर्व भानु जयन्ती’ले विविध अध्ययनको दिशा पक्रेको देख्न पाइन्छ ।

 

दार्जीलिङमा जातीय चेतना र चिनारीका पृष्ठभूमिमा भानुभक्त

 

भानुभक्तका जीवनको अन्तपछि उनका रामायणले फेरि नयाँ जीवन लिएर नेपाली संसारमा पदार्पण गरेको देखिन्छ। भानुभक्तका जीवनकालमा यता भारतीय नेपालीहरूका सामाजिक स्थिति र जातीय चेतनाको स्थिति कस्तो थियो भन्ने विषयको चर्चा यहाँ सान्दर्भिक देखिन्छ । भारतीय नेपालीहरूको बाहुल्य भएको स्थानको उल्लेख त्यस प्रसङ्गमा सही ठहर्दछ । कारण, सिङ्गो विश्वमा नै दार्जीलिङका नेपाली समाज र समुदायको भूमिका एवम् उपस्थिति त्यस क्षण क्रियाशील र सक्रिय देखिएको छ । ‘सन् १८४० मा डा. क्याम्पबेल, तत्कालीन ब्रिटिस अधिकारी, काठमाडौँबाट दार्जीलिङ स्थानान्तर भएर आएपछि उनले असममा गर्नसकेको चियाखेतीको स्मरण गर्दै प्रयोगका रूपमा दार्जीलिङमा पनि चियाका बुट्टा रोप्न थालेको देखिन्छ । त्यस समय दार्जीलिङको आधा जनसङ्ख्याभन्दा पनि धेरै जनसङ्ख्या नेपालीहरू थिए ।’[3] यस सन्दर्भले तत्कालीन दार्जीलिङे नेपाली समाजका सक्रियता र क्रियाशीलतालाई पुष्टि गर्दछ।

सन् १८४० पछि दार्जीलिङवरिपरी चिया रोपियो । चिया, मुनाफा, श्रम र उक्त श्रमको वेतनसामु तत्कालीन दार्जीलिङे समाज मुखामुखी भयो । यस प्रक्रियामा हक, हित, न्याय अन्याय र सङ्गठित आवाजको समिश्रण जातीय चेतना र चिनारीका रूपमा अघि आयो भने त्यो प्रक्रिया आजपर्यन्त विद्यामान रहेको छ । यस तथ्यलाई ‘दार्जीलिङका नेपालीहरूमा उन्नाइसौं शताब्दीका आरम्भतिरै जातीय चेतना जन्मिसकेको’ कुराको उल्लेखले पुष्टि गर्दछ ।[4]  यही कुरालाई आधार बनाएर हेर्दा सन् १९०९, सन् १९१७ , सन् १९२९, सन् १९३०, सन् १९३४, सन् १९४७, सन् १९५२ अनि सन् १९५५ मा विभिन्न नेतृत्वहरूले विभिन्न क्षेत्रीय राजनैतिक संस्थाहरुका तत्वावधानमा बारम्बार ब्रिटिस सरकार र स्वतन्त्र भारतसमक्ष ज्ञापन प्रस्तुत गरेका महत्त्वपूर्ण तथ्य सामुन्ने आउँछन् । उन्नाइसौं शताब्दीका आरम्भदेखि सन् १९५० को मध्य दशकसम्म देखिएका ती ज्ञापनहरूका निष्कर्ष नै ‘भारतीय गोर्खाहरूका निम्ति छुट्टै प्रदेश र बङ्गालदेखि छुटकारा’ प्रमुख थियो । भारतभरि अब ब्रिटिश सरकार धेरै दिन छैन भन्ने तय भएपछि स्वतन्त्र भारतको सपनामा देश डुबेको थियो भने यता दार्जीलिङमा उन्नाइसौं शताब्दीको थालनीदेखि नै जातीय चेतना र चिनारीका प्रश्नहरू झन् झन् प्रगाढ बन्दै गएको  देख्न सकिन्छ ।

स्वतन्त्र भारतमा गोर्खाहरूको स्थिति र स्थान के कस्तो हुन्छ ? भन्ने विचार स्वाभाविक रूपमा चिन्तन मननको विषय थियो । आर्थिक रूपले दुर्बल अनि शैक्षिक रूपले कमजोर तत्कालीन नेपाली समाजलाई यो चिनारी र चेतना मन मस्तिष्कमा उमार्नका लागि अब केवल एउटा सम्मिलन विन्दु र साझा मञ्चको आवश्यकता थियो । उक्त आवश्यकता र साझा मञ्चको अभाव भानुभक्तद्वारा पूर्ण भएको देख्न सकिन्छ ।

उन्नाइसौं शताब्दीको आरम्भदेखि नै सन् १९१३ का ८ जुनमा  खरसाङमा गोर्खा पब्लिक लाइब्रेरी (हाल गोर्खा जन पुस्तकालय), सन् १९२५ का २५ मईमा दार्जीलिङमा नेपाली साहित्य सम्मेलन, सन् १९३२ का ३ जुनमा दार्जीलिङमा गोर्खा दुख निवारक सम्मेलन लगायत सन् १९४३ का १५ मईमा भारतीय गोर्खाहरूको राजनैतिक सुरक्षा र हितका निम्ति स्थापित अखिल भारतीय गोर्खा लिग, (सर्व भारतीय स्तरमा नै गोर्खाहरूको पहिलो राजनैतिक सङ्गठन) जस्ता सामाजिक राजनैतिक आदि सङ्गठनहरू स्थापित भएका पाइन्छन्।[5] यी समस्त कार्यहरूलाई साँचो अर्थमा महत्त्वपूर्ण घटना मान्न सकिन्छ । उक्त राजनैतिक सङ्गठनको स्थापनादेखि दार्जीलिङका नेपालीहरूमा राजनैतिक चेतना आएको धारणा समालोचक गुमानसिंह चामलिङको रहेको छ ।[6] यस्तो स्थितिमा नेपाली समाजको वैचारिक गतिलाई टेवा दिन नेपाली भाषा अघि आएको देखिन्छ। सर्वहाराको एकात्मकताको भावना र त्यसको मूल आधार हुन थालेको भाषाले नै दार्जीलिङमा नेपाली जातीय भावनालाई भारतका सन्दर्भमा सशक्त बनाउन थालेको देखिन्छ भन्ने विचार इतिहासकार कुमार प्रधानको रहोको छ ।[7] सन् १९१८ तिर कलकता विश्वविद्यालयले नेपाली भाषालाई म्याट्रिकुलेसन, इन्टरमिडिएट र बी.ए.मा स्वभाषा विषयरूप स्वीकृति[8] दिएका घटनालाई पनि भारतीय नेपालीहरूका जातीय चिनारी र चेतनाका सन्दर्भमा थप प्रोत्साहन मान्न सकिन्छ ।

भारतीय नेपालीहरूका सन्दर्भमा चर्चा गर्दा यहाँ उत्तरपूर्वीय क्षेत्रका नेपालीहरूको उल्लेख पनि आवश्यक देखिन्छ। भारतका उत्तरपूर्वीय क्षेत्रहरूमा गोर्खाहरूले विविध परिस्थितिमा विविध प्रकारले प्रवेश गरेको थाहा पाइन्छ। ब्रिटिस फौजमा भर्ती भएर धेरै नेपाल फर्केर नगएको इतिहास छ भने धेरै यतै स्थानीयहरूसँग सामाजिक बन्धनका कारण स्थायी भएर बसेको यथार्थ छ। परिवार बसेपछि कालान्तरमा खेती, पशुपालन इत्यादि व्यवसायमा लागेका देखिन्छन् भने केही स्कूल आदि खोलेर आफ्ना सन्तानलाई आफ्नो भाषा, साहित्यप्रति आकृष्ट गराउने प्रयासमा पनि देखिन्छन्।[9] कुनै पनि जातिलाई सामाजिक रूपमा एकीकृत एवम् दह्रिलो राख्न त्यस जातिको भाषा साहित्यलाई नै सम्मिलन बिन्दु मानिन्छ ।   यसकारण उत्तरपूर्वीय क्षेत्रमा बसोबसो गर्ने नेपालीहरूका राष्ट्रियता, राजनैतिकता, आध्यात्मिकता,  सामाजिकता, भावानात्मकता आदि विषयबारे आफ्नो  मनोविज्ञान, पूर्वाग्रह जे नै भए पनि सम्पूर्ण नेपालीभाषीलाई एक सूत्रमा बाँधेर  भारतीय राष्ट्रियतातर्फ भाषाले नै प्रतिनिधित्व गरेको पाईन्छ। उत्तरपूर्वीय क्षेत्रहरूबाट आजपर्यन्त विभिन्न साहित्यिक कृति र रचनाहरू नेपाली साहित्यले प्रशस्त रूपमा पाईरहेको तथ्यलाई स्वीकार्दै नेपाली भाषाप्रतिको समर्पण र उनीहरूलाई सम्मिलित गरेर राख्ने आधारका रूपमा नेपाली भाषाका पत्र-पत्रिकाको नाम र प्रकाशन मिति आदिको सही उल्लेखले माथि उल्लेखित विषयलाई थप टेवा मिल्छ।

मेघालयबाट प्रथम पत्रिका ‘गोर्खा सेवक’- सम्पादक मणिसिंह गुरुङ, सन् १९३५.

आसामबाट प्रथम पत्रिका (हस्तलिखित) ‘युवक’- सम्पादक–सी.बी.छेत्री ,सन् १९४६ .

मिजोरमबाट प्रथम पत्रिका ‘गोर्खा स्टार’- (बेनामी) अर्को पत्रिका ‘कोपिला’-सम्पादक कृष्णलाल प्रधान, सन् १९७८

नागाल्याण्डबाट प्रथम पत्रिका ‘उपहार’ – सम्पादक परशु शाही ,सन् १९७०.

मणिपुरबाट प्रथम पत्रिका ‘सन्देश’ – (हस्तलिखित) – सम्पादक कमल थापा ‘प्रकाश’ आदि।[10]  यसरी उत्तरपूर्वीय क्षेत्रहरुमा पनि जातीय चेतना र चिनारीका वैचारिक सम्प्रेषण आदान प्रदान गर्न नेपाली भाषा नै प्रमुख माध्यम बनेको कुरालाई स्वीकार गर्न सकिन्छ। उपर्युक्त प्रसङ्गले के स्पष्ट हुन्छ भने भारतवर्षमा भानुभक्तको  सन्दर्भ आउन अघिदेखि नै नेपाली भाषा र साहित्यको उत्थानप्रति यहाँका नेपाली जाति प्रयासरत थिए। तथापि सन् १९५३ देखि उत्तरपूर्वीय राज्यहरूमा भानु जयन्तीलाई एउटा जातीय पर्वका रूपमा नै मान्न थालिएको कुराले ‘व्यक्ति भानुभक्त’ र ‘पर्व भानु जयन्ती’ अझ सान्दर्भिक बनेको देखिन्छ। यस्तो पृष्ठभूमिमा नेपाली भाषा एउटा साझा मन्च र भानुभक्त उक्त मन्चबाट जातीय चेतना र चिनारीका एक सम्मिलन विन्दु नै बनिदिए।

जातीय एकताका प्रतीकका रूपमा भानुभक्त

भारत स्वतन्त्रपूर्व कालदेखि अर्थात् शिक्षाको प्रारम्भिक किरणले स्पर्श गर्नथालेदेखि नै यहाँका नेपालीहरूले आफ्नो दयनीय जातीय, सामाजिक स्थिति बोध गर्न थालेका हुन्। स्वतन्त्रतापूर्व कालमा विदेशी शासनको प्रत्यक्ष दमन र स्वतन्त्रोत्तर कालमा स्वदेशी बहुसङ्ख्यक जातिगोष्ठीहरूको जातीय अहम्‍लाई झेल्नुपरिरहेका यहाँका नेपालीहरूलाई बिस्तारै आफ्नो दयनीय जातीय स्थिति बोध हुनथालेको हो। उक्त प्रसङ्गलाई अझ स्पष्ट पार्न इतिहासकार कुमार प्रधानको विचार यस्तो पाइन्छ – ‘स्वतन्त्रता पछि दार्जीलिङका नेपालीहरूमा प्रशस्त सामाजिक र राजनैतिक चेतना आइसकेको थियो। यस चेतनाको मूल आधार नेपाली भाषा थियो। यो भाषाले तिनीहरूमा एकात्मको भावलाई तिखार्न सकेको थियो।[11] स्वतन्त्रोत्तर भारतमा दार्जीलिङबाहेक देशका अन्य स्थानहरूमा नेपाली जातिको सङ्ख्या कम देखिन्छ भन्ने उल्लेख सन् १९२५ साल दार्जीलिङमा स्थापित नेपाली साहित्य सम्मेलनको अपिल पत्रमा पाईन्छ ।[12] सन् १८९१ मा मोतिराम भट्टले कवि भानुभक्तको जीवन चरित्र प्रकाशित गरेर भानुभक्तलाई साँचो अर्थमा चिनाए। यता दार्जीलिङमा भारत स्वतन्त्र हुन अघिदेखि नै भारतीय नेपाली भाषी जनमानसमा अस्तित्व र चिनारीको चिन्तन प्रत्यक्ष अप्रत्यक्ष रूपमा विभिन्न संघ संस्थाको माध्यमले देखिँदै आएको थियो। भारतीय नेपालीहरूलाई कुनै सामूहिक भेला र चर्चाको विशेष विन्दुको त्यो समय अत्यन्तै अभाव थियो। नेपाल भिन्नै देशबाटै किन नहोस् भारतीय नेपालीहरूलाई दह्रिलो खम्बा त्यसक्षण चाहिएको थियो।

नेपालीभाषी जनमानस जे जस्तो परिस्थितिहरुबिच भारत प्रवेश गरेका थिए त्यसको इतिहास खोज्न गए आखिर नेपाल नै पुगिन्थ्यो तथापि त्यसक्षण नेपाली जनमानसलाई एकअर्कासित मेल मिलाप गर्ने, भाइचारा बढाउने वास्तविक बहाना  भानुभक्तकै माध्यम प्राप्त भयो ।  फलस्वरूप भारतमा  भानुभक्तलाई आदिकविका रूपमा स्वीकार गर्दै जानु वा यहाँबाटै उनको प्रचार प्रसार बढ्दै जानु तत्कालीन ब्रिटिस सरकार र ईसाइ मिसनेरीहरुको अघि  उनको धार्मिक कृति रामायण नभएर त्यस कृतिको भाषाको स्वाद र त्यो भाषामा रहेको सजिलोपनको आकर्षण प्रमुख मान्न सकिन्छ। इतिहासकार कुमार प्रधानका विचार ‘ भानुभक्तको रामायण एउटा धर्म सम्प्रदायको साम्प्रदायिक रामायणको अनुवाद भएर पनि नेपालीको जातीय महाकाव्य भई हाम्रो साहित्यको एउटा प्रमुख कृति भएको छ’ यस अर्थमा प्रासङ्गिक देखिन्छ ।[13] यस्तो स्थितिमा भानुभक्तको रामायणले सम्पूर्ण नेपाली जनमानसमा धार्मिकभन्दा धेर जातिक भाषिक पक्षहरूलाई नै लिएर अघि बढ्नमा टेवा दियो। सर्वभारतीय स्तरमा नै नेपालीहरूका बौद्धिक संस्थाका रूपमा स्थापित नेपाली साहित्य सम्मेलनले भानुभक्तलाई आफ्नो अपिल पत्रमा जातीय ‘उत्थापक महात्मा’ सम्म भनिएको छ। यसै सम्मेलनको तत्परतामा त्यस क्षण चिनारी र जातियताको वैचारिक कसरतबिच दार्जीलिङ जिल्लाका तीन प्रधान केन्द्रहरू कालेबुङ, खरसाङ र दार्जीलिङमा एक एकवटा भानुभक्तको सालिग स्थापना गरिने महत सोच स्थापित हुन्छ। उक्त सोचलाई कार्यमा परिणत गर्न  १५ अगस्त, १९४७ का दिनदेखि नै ठोस कार्य सुरू भएको हो।[14] तत्कालीन दार्जीलिङे नेपाली समाजको सामाजिक, आर्थिक, शैक्षिक कमजोरीहरूलाई     चुनौती दिँदै आखिर भारत स्वतन्त्र भएको लगभग एक वर्ष १० महिना भित्रमा ‘१७ जून १९४९ को दिन दार्जीलिङको चौरस्तामा भानुभक्तको सालिग़ उद्घाटन भयो।’[15] उक्त कार्यक्रमको समाचार २० जून १९४९ को अमृताबज़ार अंग्रेजी पत्रिकामा छापिएको थियो। त्यस समाचारमा पश्चिम बंगालका तत्कालीन राज्यपाल डा.कैलाशनाथ काट्जुले भानुभक्तलाई नेपाल र नेपालीहरूका मात्र महान कवि नभएर विशाल भारतवर्षकै कवि हुन्[16] भनेका थिए भन्ने उल्लेख छ।

उक्त समाचारको आधारमा भारतबाट भानुभक्तलाई कवि हुन् भनेर सर्वप्रथम आधिकारिक घोषणा गरिएको यही हो भन्न सकिन्छ साथै सन् १९३९ मा सूर्यप्रसाद ज्ञवालीले ‘भानुभक्त स्मारक ग्रन्थ’ प्रकाशित गरेर तत्कालीन भारतीय परिदृश्यमा भानुभक्तको स्थान निर्धारण गरिदिएका हुन् भन्न पनि सकिन्छ । आफ्नो सम्बोधनमा राज्यपालले जातीय चिनारी र चेतना खोजिरहेका भारतीय नेपालीहरुका निम्ति त्यसक्षण महत्वपूर्ण कुरा गरेका छन् – ‘धेरै योद्धा र व्यक्तित्वहरू जन्मिन्छन् अनि भुलिईन्छ्न्। ठुल्ठुला लडाइँ जितिन्छ – हारिन्छ अनि उनीहरुका सम्झना पनि धेरै रहँदैन हामीमा। यद्धपि सन्त, दार्शनिक, कवि, नाटककार आदिले राष्ट्रलाई बचाएका  हुन्छन्  कारण यिनीहरूले कुनै पनि जातिको उत्कृष्टता र सबैभन्दा उत्तम – उच्च विचारलाई चोखो तुल्याउने  एवम् अभिव्यक्ति दिने काम गर्दछन्।[17] भानुभक्तबारे प्रस्तुत मन्तव्य तत्कालीन भारतीय नेपालीहरुको आफ्नो चिनारीका निम्ति आधिकारिक स्वीकृति भन्न सकिन्छ साथै जातीय चेतनाका निम्ति वैचारिक एवम् मनोवैज्ञानिक उर्जाका रूपमा मान्न सकिन्छ ।

यस्तो परिस्थितिमा आदिकवि भानुभक्तको जन्मजयन्ती मनाउने परम्पराको थालनी यहाँ हुनु र यसक्रमले पछिबाट विराट निरन्तरता पाउनुले भारतीय नेपालीहरूको मनमा सिर्जित जातीय चिन्तनकै भावनालाई पुष्टि गर्दछ। विशेष गरी दार्जीलिङे जनमानसलाई जातीय अस्तित्व, चिनारी, भाषा, साहित्य-संस्कृति आदि विषयमा एकत्रित हुन अवसर दिने नाम पनि भानुभक्त नै अथवा भानुजयन्ती नै हो भन्न सकिन्छ। नेपालमा भानुभक्तको सालिग़ दार्जीलिङभन्दा करिब १० वर्षपछि रानीपोखरी छेऊ वि.स. २०१६ मा स्थापना गरिएको हो।[18] जातीय एकताका निम्ति विचार समायोजन गरिने तथा सुसुप्त स्थितिमा नै किन नहोस् आजको स्थितिमा अस्तित्व, चिनारी र राजनैतिक सुरक्षाबारे  चिन्तन मनन गरिने अवसर पनि भानुभक्त र भानुजयन्तीले प्रदान गरेको हो ।

भारतीय सन्दर्भमा  नेपालीहरूका निम्ति भानुजयन्ती आदिकवि भानुभक्त आचार्यको योगदानलाई केलाउने, सम्झने र श्रद्धा गर्ने दिन  अवश्य बन्यो तर त्यो भन्दा अझ धेरै यो  पर्व यहाँका नेपालीहरूका निम्ति एकअर्कामा भेट गर्ने, आफ्नो भाषा, साहित्य, संस्कृति, जाति र समाजबारे गन्थन मन्थन गर्ने, आफूले आफैलाई हेर्ने अनि आफ्नो जातीय उपस्थिति अरूलाई पनि बोध गराउने अवसर बन्यो। जातीय अस्तित्व र पहिचानबारे आत्मालोचना गर्ने, भाषिक, सांस्कृतिक, साहित्यिक, शैक्षिक गतिविधिबारे परिचर्चा गर्ने तथा हाम्रो वर्तमान नवपिँढीलाई जातीयता, भाषा, साहित्य, संस्कृति र अस्तित्वका चेतनाप्रति आकृष्ट र सक्रिय गराउने पर्वका रूपमा पनि यो स्थापित बन्यो।[19]  स्वतन्त्र भारतमा बहुसंख्यक जातिसत्ताद्वारा शाषित हुनुपरेका हामी अल्पसङ्ख्यक नेपालीहरूमा विभिन्न ऐतिहासिक, राजनैतिक कारणवश जातीय असुरक्षाको भावना सिर्जित भइरहेको बेला त्यसलाई अभिव्यक्त गर्ने अनि जातीय चिन्तनधारामा एकिकृत बन्दै जाने मौका र मञ्चका रूपमा पनि भानुजयन्ती स्थापित बन्दै गएको सत्यतालाई नकार्न सकिन्न ।

विभिन्न संस्कार र धर्म सम्प्रदायमा विभाजित नेपाली समाजको आफ्नो विशुद्ध जातीय पर्व अथवा दिवस नभइरहेको स्थितिबिच भानुजयन्ती सिङ्गो भारतीय नेपाली जातिका निम्ति एउटा जातीय पर्वका रूपमा स्थापित बन्नपुगेको देखिन्छ। यसैले प्रत्येक वर्षको १३ जुलाई अथवा २९ असारको दिन जहाँ नेपाली आवादी सामाजिक रूपले सङगठित भएर बसेका छन् त्यहाँ भानुजयन्ती मनाउने गरिन्छ। विशेष गरी उत्तरपूर्वी राज्यहरू, सिक्किमलगायत दार्जीलिङ, तराई, डुवर्स क्षेत्रतिरका प्राय: विद्यालयहरूमा यस दिन भानुजयन्ती भव्य रूपमा मनाइन्छ। विद्यालयहरू अतिरिक्त विभिन्न साहित्यिक संघ-संस्थाहरूले पनि आ-आफ्ना क्षेत्रमा सामुहिक रूपमा यस दिवसलाई खुबै भव्यताका साथ मनाउने प्रचलन छ।  भानु जयन्ती मनाउने चलन आज ससाना गाउँ-बस्तीहरूसम्म पुगेको छ। यस दिन धेरै ठाउँमा नेपालीहरूले  विराट सांस्कृतिक शोभा यात्राको आयोजन गरेर आफ्नो साहित्यिक सांस्कृतिक चिनारी र एकताको परिचय गराउँछन्।

निष्कर्ष

भानुभक्त र भानुजयन्तीका भारतीय सन्दर्भभित्र निम्न बुँदाहरू यसरी प्रस्तुत गर्न सकिन्छ –

  • नेपाली भाषा प्रचार प्रसार वास्तवमा भारतीय नेपालीहरूका निम्ति एकताका विन्दु भयो भने भानुभक्त यसका विषय भए।
  • भानुभक्तको नामले यहाँका केही सचेत, सक्रिय व्यक्ति र झुण्डलाई आआफ्नै पृष्ठभूमि लिएर एक साथ एकै मञ्चमा उभ्याउने काम भयो।
  • साहित्यिक, भाषिक, सामाजिक, शैक्षिक आदि विषयहरुमा चर्चा गर्दा गर्दै केही उत्साहित एवम् चिन्तित विचारहरूलाई एउटा साझा मञ्चमा एकमुष्ठ बनायो।
  • भानुभक्तका नाममा जतिजति भेला र चर्चा हुन थाल्यो उति उति नजानिँदो तरिकाले यहाँ जातीय अस्मिता, अस्तित्व, चिनारी आदि विषयमाथि हाम्राहरुका सोंच गहिरिएर गयो।
  • भारतको बङ्गालभित्र नेपाली भाषा र आफ्नो चिनारी खोज्ने सुसुप्त राजनैतिक विचारलाई पनि समयसँगै स्थापित गर्नमा सहयोग भएको कुरा यहाँ सन् १९४९ मा चौरस्तामा उनको मुर्ति स्थापनाले पुष्टि गर्दछ।
  • यहाँका विभिन्न राजनैतिक पार्टी र नेतृत्वले भारतीय नेपालीहरुसँग भानुभक्तलाई पनि सँगै राख्न रुचाए साथै भानुभक्तका नाममा विभिन्न विकास परियोजनाका प्रारूप तयार पारे।

भारत स्वतन्त्र भएपश्चात जातीयता र चिनारीका निम्ति भारतीय सिङ्गो नेपाली समाजले पटक पटक सङ्घर्ष गरिरहेको स्थितिबिच यहाँ देखापर्ने राजनैतिक खिचातानी र स्वार्थ प्रेरित अहम् सोचले पनि भानुभक्तसँग जोडिएको यो महत विचारलाई मारिहाल्न भने अझै सकेको छैन । सर्वभारतीय स्तरमा ‘भानुभक्त’ र ‘भानुज यन्ती’ जातीय एकताको प्रतीकका रुपमा स्थापित भएपछि यसलाई यहाँ राजनैतिक, सामाजिक, भाषिक र जातीय रूपमा तोडिने प्रयास गरिएको प्रसङ्गलाई पनि भुल्न सकिन्न । दार्जीलिङमा धेरैपल्ट देखापरेको राजनैतिक विवाद र भानुभक्तको सालिक फुटाउने घटनाले त्यो प्रयास आजपर्यन्त सुसुप्त रुपमा प्रयासरत देखिन्छ नै भन्नमा कुनै दुई मत छैन । तथापि जातीय अस्तित्व र पहिचानबारे आत्मालोचना गर्न, भाषिक, संस्कृतिक, साहित्यिक, शैक्षिक गतिबिधिबारे परिचर्चा गर्न साथै वर्तमान नवपिंडीलाई जातियता, भाषा, साहित्य, संस्कृति र अस्तित्वका चेतनाप्रति आकृष्ट र सक्रिय गराउन सक्ने भानुभक्त एक अविवादित विचार भइदिएका देखिन्छन्। उक्त  विचारभित्र कहिले नमर्ने एक अजर आत्मविश्वास लिएर आजपर्यन्त भारतीय नेपाली समाज बाँचिरहेको स्थिति सामुन्ने छ । यसैकारण भारतीय सन्दर्भमा भानुभक्त र भानु जयन्ती जातीय एकताका प्रतीकका रूपमा प्रतिष्ठित हुँदाहुँदै पनि जातीय चिनारी र चेतनाका दह्रिलो आधार बनेका पाइन्छन्।

प्रा.योगेश खाती

नेपाली विभाग, खरसाङ महाविद्यालय

 ===============

सन्दर्भ ग्रन्थ सूची

  • ब्रास, पावल, सन् १९९१, एथ्निसिटि एन्ड नेसनालि : थ्योरी एन्ड कम्प्यारि, न्यू दिल्ली, सेज पब्लिकेसन।
  • सक्सेना, साधना, सन् १९९७, ल्याङ्ग्वेजन्ड द न्यासनालिट कोइस, दिल्ली , इकोनमिक एन्ड पोलिटिकल विक्ली (पत्रिका)।
  • मेल्ले, एल.एस.एस.ओ, सन१९९९ (पुन:मुद्रित ), बेङ्गल डिस्ट्रिक ग्याजिटियर्स, लोगोस् प्रेस।
  • राई, बन्दना, सन२००९ , गोर्खाज् – द वारियर रेस, नयाँ दिल्ली, कल्पज प्रकाशन।
  • राई, इन्द्रबहादुर, सन् १९८४, दार्जिलिमा नेपाली नाटकको अर्धशताब्दी, दार्जिलिङ, साझा पुस्तक प्रकाशन।
  • चामलिङ, गुमानसिंह, सन् १९७८, मौलो, दार्जिलिङ, श्याम ब्रदर्स प्रकाशन।
  • प्रधान, कुमार, सन् १९८२, पहिलो पहर, दार्जिलिङ, श्याम प्रकाशन।
  • राई, इन्द्रबहादुर, सन् १९८४, दार्जिलिमा नेपाली नाटकको अर्धशताब्दी, दार्जिलिङ, साझा पुस्तक प्रकाशन।
  • सिन्हा, ए.सी., टि.बी.सुब्बा (सम्पा), द नेपालिज इन् नर्थ इष्ट इण्डिया – ए कम्यनिटी इन् सर्च अफ् इण्डियन आइडेन्टिट, नयाँ दिल्ली, इन्दस पब्लिसिङ कम्पनी।
  • प्रधान, कुमार, सन् १९८२, पहिलो पहर, दार्जिलिङ, श्याम प्रकाशन।
  • राई, इन्द्रबहादुर, सन् १९७६ , टिपेका टिप्पणी,दार्जिलिंग ,नेपाली साहित्य संचयिका।
  • प्रधान, कुमार, सन् २००५, अधीती केही, सिलगढी, पूर्णिमा प्रकाशन।
  • राई,  इन्द्रबहादुर, सन् १९७६, टिपेका टिप्पणीहर, नेपाली साहित्य संचयिका, दार्जिलिङ, प्रकाशन।
  • घिमिरे, भवानी प्रसाद (प्रधान सम्पा), वि सं २०२८, भानु, भानुभक्त विशेषाङ्क, वर्ष ८, किरण, १६ असोज, भानु प्रकाशन ,काठमाडौँ ।
  • सोताङ, सुबास (मूल सम्पादक ), सन् २०१३, भानु स्मारिका -१३, १९९ औँ भानुजयन्ती समारोह आयोजन समिति -२०१३,जोरथाङ,दक्षिण सिक्किम ।
  • प्रा.योगेश खाती, सह-प्राध्यापक, नेपाली विभाग, खरसाङ महाविद्यालय, yogeshstanny@yahoo.co.in, ९४३४१-२१९५४.

[1] ब्रास, पावल, सन् १९९१, एथ्निसिटि एन्ड नेसनालि : थ्योरी एन्ड कम्प्यारि, न्यू दिल्ली, सेज पब्लिकेसन, पृष्ठ – १६

[2] सक्सेना, साधना, सन् १९९७, ल्याङ्ग्वेजन्ड द न्यासनालिट कोइस, दिल्ली, इकोनमिक एन्ड पोलिटिकल विक्ली (पत्रिका)

[3] मेल्ले, एल.एस.एस.ओ, सन्१९९९ (पुन:मुद्रित ) , बेङ्गल डिस्ट्रिक ग्याजिटियर्स, लोगोस् प्रेस, पृष्ठ ४१ अनि ७२

[4] राई, बन्दना, सन् २००९ , गोर्खाज् – द वारियर रेस, नयाँ  दिल्ली, कल्पज प्रकाशन, पृष्ठ – २७२

[5]  राई, इन्द्रबहादुर, सन् १९८४, दार्जिलिमा नेपाली नाटकको अर्धशताब्दी, दार्जिलिङ, साझा पुस्तक प्रकाशन, पृष्ठ – ५९ ,७९

[6] चामलिङ, गुमानसिंह, सन् १९७८, मौलो, दार्जिलिङ, श्याम ब्रदर्स प्रकाशन, पृष्ठ – १७३

[7] प्रधान, कुमार, सन् १९८२, पहिलो पहर, दार्जिलिङ, श्याम प्रकाशन, पृष्ठ – ३२

[8] राई, इन्द्रबहादुर, सन् १९८४, दार्जिलिमा नेपाली नाटकको अर्धशताब्दी, दार्जिलिङ, साझा पुस्तक प्रकाशन, पृष्ठ – ४५

[9] उपाध्याय, टेक नारायण, रोमा अधिकारी, सन् २००७,कन्ट्रीव्युसन् अफ् द नेपालीज अफ् नर्थ इस्ट इण्डिया टु द डेभेलोप्मेंट अफ् नेपाली लिटरेचर , सिन्हा, ए.सी., टि.बी.सुब्बा (सम्पा), द नेपालिज इन् नर्थ इष्ट इण्डिया – ए कम्यनिटी इन् सर्च अफ् इण्डियन आइडेन्टिट, नयाँ दिल्ली, इन्दस पब्लिसिङ कम्पनी, पृष्ठ – १५०

[10] पूर्ववत्, पृष्ठ – १६०-१६४

[11] प्रधान, कुमार, सन् १९८२, पहिलो पहर, दार्जिलिङ, श्याम प्रकाशन, पृष्ठ – ३५

[12] राई, इन्द्रबहादुर, प्रकाशन वर्ष, टिपेका टिप्पणी, प्रकाशन स्थान, प्रकाशक, पृष्ठ १११

[13] प्रधान, कुमार, सन् २००५, अधीती केही, सिलगढी, पूर्णिमा प्रकाशन,पृष्ठ-०३

[14] राई, इन्द्रबहादुर, सन् १९७६,  टिपेका टिप्पणीहर , नेपाली साहित्य संचयिका, दार्जिलिङ प्रकाशन, पृष्ठ -१११

[15] पूर्ववत्, पृष्ठ – १११

[16] पूर्ववत, पृष्ठ – १११

[17] पूर्ववत, पृष्ठ – १११

[18] घिमिरे, भवानी प्रसाद (प्रधान सम्पा), वि सं २०२८, भानु, भानुभक्त विशेषाङ्क, वर्ष ८, किरण १६ असोज, भानु प्रकाशन ,काठमाडौँ , पृष्ठ – ३००

[19] सोताङ, सुबास (मूल सम्पादक ), सन् २०१३ ,भानु स्मारिका -१३,१९९ औँ भानुजयन्ती     समारोह आयोजन समिति -२०१३, जोरथाङ, दक्षिण सिक्किम ।