आज सगरमाथाको उचाइ, कालीगण्डकीको किनारमा भेटिएका शालीग्राम भनिने ढुङ्गाहरूमा कोरिएका चित्रहरू र आङ सिरिङ्ग हुनेगरी जाने भूकम्पका धक्काहरू आदिबारेमा हामी धेरै जानकार छौँ । अन्धविश्वासीहरूले जे भने पनि आज टेक्टोनिक प्लेट्सहरूको आपसमा भएका लगातारको घर्षण नै यसको जिम्मेवार हो भन्नेमा कुनै शङ्का छैन।
आजभन्दा २५१ मिलियनदेखि ६५ मिलियन वर्ष पहिले नेपालमात्र होइन पूरै हिमालयको कुनै अस्तित्व थिएन । थियो त मात्र विशाल टेथिस सागर (Tethys sea) । दक्षिणतिरबाट लगातार सर्दै आएको भारतीय प्लेटले विशाल तथा सापेक्षित स्थिर युरेसियन प्लेटको मुन्तिर घुस्न थाल्यो, त्यही क्रममा हिमालयको रचना भयो । आज कालीगण्डकीका किनारमा भेटिएका शालीग्रामहरू वृन्दाद्वारा श्रापित विष्णुका अवतार होइनन्, ती त्यही टेथिस सागरका समुन्द्री जीवहरूका जीवावशेष हुन्।
यहाँ मात्र होइन, यो पृथ्वीमा स्थित चाहे महादेशहरू हुन् या महासागरहरू हुन्, सबै तिनै टेक्टोनिक प्लेट्समाथि अवस्थित छन् । तिनीहरूको निरन्तर गतिशीलताले पृथ्वीको भौगोलिक आकार परिवर्तनशील छ । आज यो कुरा हामीलाई सामान्य लाग्छ तर आजभन्दा सय वर्षअघि यो कुरो हास्यास्पद थियो । जब एउटा साधारण जर्मन भूगर्भशास्त्री अल्फ्रेड वेजनरले Alfred Wegener (१८८०–१९३०) ले यसको प्रस्ताव राख्दा वैज्ञानिक जगत्समेतले पागल भन्दै उनको खिल्ली उडाएको थियो।
कथा त्यतिबेला सुरू हुन्छ जब मौसमविद् तथा भूविज्ञानी Alfred Wegener ले अफ्रिका तथा दक्षिण अमेरिका महादेशको नक्सा हेर्दै थिए । उनलाई कता कता ती महादेशहरूका आमुन्नेसामुन्नेका किनारहरू एक आपसमा ठ्याक्क मिल्छन् जस्तो लाग्यो, jigsaw 🧩 पजलका टुक्राहरू मिलाएजस्तै गरी । हुन पनि दक्षिण अमेरिकाको पूर्वी किनारा र अफ्रिका महादेशको पश्चिम किनारालाई आपसमा मिलाइदिने हो भने ती आपसमा फिट हुन्छन् । फेरि दुवै महादेशमा ती किनारहरूमा पाइने जीवावशेषहरू मात्र नभई वनस्पति र जीवहरूमा भएको समानता देखेर उनलाई लाग्यो – यो विशाल आन्ध्र महासागरका दुई किनाराहरू एक आपसमा टुक्रिएर सर्दै सर्दै गएर हालको अवस्थामा आइपुगेका हुन् ।
उनले त्यो दुई महादेश मात्र नभई अहिले रहेका सबै महादेशहरूको अध्ययन गर्दै के परिकल्पना गरे भने, यी सबै महादेशहरू सुरुमा एकै ठाउँमा जोडिएको विशाल महादेश हुनु पर्छ । उनले त्यो विशाल महादेशको नाम Pangaea (प्यान्जिया) राखे जुन प्राचीन ग्रीक भाषाबाट व्युत्पत्ति भएको हो । जसको अर्थ हुन्छ “सम्पूर्ण जमिन” ।
Wegener का अनुसार करोडौँ वर्षको अन्तरालमा त्यो विशाल महादेश टुक्रिएको हुनुपर्छ र बिस्तारै बग्दै या सर्दै छुट्टिएर अहिलेको जस्तो संरचना बनेको हो । Wegener को यो प्रस्ताव सन् १९१२ मा जब आयो तब अन्य क्षेत्रमात्र नभई विज्ञानकै क्षेत्रमा पनि हास्यास्पद कुरा बन्यो । कसैले यो कुरामा चासो दिएनन्, समयको अन्तरालमा त्यसलाई भुलाइयो।
अहिले विभिन्न तथ्यगत प्रमाणहरू हुँदाहुँदै पनि अन्धविश्वास र धार्मिक अन्धविश्वासमा परेर कतिपय प्राकृतिक परिघटनाहरूलाई दैवीय दृष्टिकोणबाट हेर्दै खिल्ली उडाइन्छ भने त्यतिबेला त कसैले कल्पना गर्न नसकेको परिकल्पना थियो । विशाल आन्ध्र महासागर अनि विशाल महादेश हेर्दै, त्यो सर्दै गएर महादेशहरू बनेका भनेर किन मानिसहरू पत्याउँथे र ? यहीँ पनि शालीग्राम विष्णुको अवतार होइन, जीवाशेवष हो भन्यो भने युरोपियन दलालदेखि धर्मविरोधीको बिल्ला भराउन मानिसहरू तयार नै छन् । त्यस्तै अन्धविश्वास हिमालय पर्वतको रचनादेखि भूकम्पसम्म छ । शिक्षित र विज्ञानकै क्षेत्रका मान्छेहरूले सगरमाथाको उचाइ, .८६ मीटरको खिल्ली उडाएको धेरै समय भएको छैन । जसले भूगर्भ विज्ञानमा ठूलो महत्त्व राख्छ ।
पृथ्वीको सुदूर गहिराइमा भएको निरन्तर हलचल जसले बाहिरी सतहमा देखिएका विशाल भूखण्डहरूलाई निरन्तर चलायमान गराइरहन्छन् र नवनिर्माणको प्रक्रिया चलिरहन्छ । Wegener को मस्तिष्कमा पनि त्यस्तै हलचल चल्यो होला, र उनले दुई महादेशका किनारा देखे होलान् । पृथ्वीको गर्भमा हुने विभिन्न प्रक्रियाले विशाल महादेश प्यञ्जिया टुक्रेर अहिलेको अवस्थामा आएको हो भन्ने उनको परिकल्पना बाहिर निस्किँदा पुराना कति मान्यताहरूको जग हल्लियो, जसरी कपर्निकस र ग्यालिलियोको कुराले चर्चका जग हल्लिएका थिए । प्रतिक्रिया त्यस्तै भयो ।
Wegener सबैको लागि बहुला सावित भए। आलोचना र मजाकको एउटा पात्र बन्नु त छँदैछ, व्यङ्ग वाण र उपहासको सामना वैज्ञानिक जगतबाटै पनि गर्नु पर्यो । चार्ल्स डार्विनका क्रम विकासका सिद्धान्तदेखि जलवायु परिवर्तनका मुद्दाहरूमा जसरी अहिले प्रतिक्रियाहरू भेटिन्छन् ।
हुन त ब्राजिल एक समयमा विशाल आन्ध्र महासागर पारी पश्चिम अफ्रिकाको भाग नाइजेरिया क्यामरुनसँगै थियो भन्दा चित्त बुझाउन पनि गाह्रो नै हुन्थ्यो होला । चरम उपहास र आलोचना झेलेपछि उनका गुरु र हुनेवाला ससुरा Wladimir Köppen ले अहिले नै यसरी अगाडि बढ्नु उपयुक्त होला र ? भन्ने सुझाव दिएका थिए । Wegener ले जवाफ दिएका थिए, “पुराना मान्यताहरूलाई बाहिर हुर्राइदिन सङ्कोच गर्नु हुँदैन, चाहे त्यसको लागि जस्तोसुकै परिस्थितिको सामना गर्नु परोस् ।”
उनी Marburg University का अवैतनिक प्राध्यापक थिए, त्यो पनि उनको विशेषज्ञता भूगर्भशास्त्रको होइन । उनी त मौसम विज्ञान र अन्तरिक्ष विज्ञानका थिए । आफ्नो विषयभन्दा बाहिर गएर पृथ्वीको नक्साको तस्बिर काटेर एक आपसमा जोडेर यो पहिला एउटै महादेश हुनुपर्छ भन्नु एक प्रकारको हास्यास्पद पागलपन नै हुन सक्छ । तर Wegener विषयगत सीमाभन्दा बाहिर निस्कन चाहन्थे । उत्तर ध्रुवीय क्षेत्र जस्तो कठिन क्षेत्रको गहन अन्वेषण गरेका Wegener त्यसै हार मानिहाल्ने मान्छे पनि कहाँ थिए र ।
उनले महादेशहरूका नक्साहरू काटेर एक अर्कामा मिलाएर विशाल महादेश प्याञ्जियाको आकारको परिकल्पना मात्र गरेनन्, छुट्टाछुट्टै महादेशका समुन्द्री किनारका प्राणी तथा वनस्पतिहरूको तथ्य पनि जम्मा गरेका थिए । अष्ट्रेलिया र दक्षिण अमेरिकी Marsupials (ती स्तनधारी प्राणी जसले बच्चालाई पेटमा रहेको थैलीमा राखेर हुर्काउँछन्; जस्तो कङ्गारु) प्राणीहरूमा समानता थियो भने उनीहरूलाई रहने परजीवी फित्ते जुकाहरूको सङ्क्रमणसमेत उस्तै थियो । त्यसैले उनले यो दाबी गरे कि, यो विशाल महादेशलाई पृथ्वीको कुनै शक्तिले पत्रिका च्याते जस्तै धर्र.. च्यातेको हो ।
Wegener ले यो प्रक्रियालाई Continental Displacement (महाद्वीपीय विस्थापन) भन्दै Frankfort Geological Association मा सन् १९१२ को लेक्चरमा प्रस्तुत गरे । यसमा कसैले गम्भीर ध्यान दिएनन् । उनले यसलाई एउटा आर्टिकलको रुपमा पनि छपाए, तर उपहासबाहेक कुनै गम्भीर ध्यान कसैको त्यसमा पनि गएन । पहिलो विश्वयुद्धमा जर्मनीको पक्षमा युद्धमा भाग लिँदा उनी घायल भएका थिए ।
उपचारपश्चात उनले सन् १९१५ मा पृथ्वीको अद्वितीय प्रक्रियाको बारेमा एउटा पुस्तक लेखे The Origin of Continents and Oceans, जुन जर्मन भाषामा थियो र पछि सन् १९२२ मा अङ्ग्रेजीमा पनि छापियो । त्यसपछि त मानौँ बम नै विस्फोट भयो । विश्वयुद्धमा पराजित जर्मनको लेखाइ, त्यो पनि महाद्वीपको सराइ Continental drift सबैतिरबाट तिखो प्रतिक्रिया र उपहास आउन थाल्यो ।
बाहिर त जर्मनीलाई यसै घृणा गरिन्थ्यो, जर्मनीभित्रै पनि यो विचारलाई Moving Crust Diseases, Wandering Pole Plague भनेर उपहास गरियो भने ब्रिटिसहरूले काजग काटेर महादेशको निर्माण गरे जस्तो साँच्चिकै गर्नको लागि शक्ति पृथ्वीमा कसरी पैदा हुन्छ ? भनेर उपहास गरियो । Royal Geographical Society मा “सायद त्यो शक्ति Professor Wegener आफैँले आत्मघाती विस्फोट पो गरेर दिएका हुन् कि” भन्दै उपहास गरियो ।
अमेरिकीहरू यसमा अझै कडा प्रतिक्रिया जनाउथे । यसलाई जर्मन छद्म विज्ञान (German Pseudoscience) भन्थे र Wegener आफैँ यसको नशामा लठ्ठिएका छन् पनि भन्थे । Chicago का भूगर्भशास्त्रीहरू त भन्थे, Wegener को कुरो पत्याउने हो भने त हामीले ७० वर्षमा जे जे सिकेका छौँ ती सबै रद्दीको टोकरीमा फालिदिए हुन्छ ।
अब Wegener को त्यो परिकल्पनालाई उनीहरूले एक काल्पनिक परीको कथा नै बनाइछाडे । दोस्रो विश्वयुद्धताकासम्म पनि पुराना भूगर्भशास्त्रीहरू नयाँ आउनेहरूलाई Wegener को महाद्वीपको सराइको सिद्धान्तमा रुचि देखाउनु मात्र पनि तिमीहरूको भविष्य अन्धकार हुन्छ भन्दथे ।
Wegener यी उपहास र आक्रमणबाट विचलित भएनन् । बरु आफ्नो अध्ययनलाई अगाडि बढाउँदै लगे । उनले सकेसम्मको प्रमाणहरू जुटाए, चाहे ती जैविकका हुन् या भुगर्भीय क्रियाकलापहरू नै हुन् । आफ्नो सिद्धान्त लगातार परिमार्जन गर्दै लगे । सन् १९२९ मा यसको अन्तिम संस्करण प्रकाशित भयो ।
सन् १९३० मा ग्रीनल्याण्डमा एक वैज्ञानिक अभियानकै क्रममा उनको मृत्यु भयो । उनीसँगै गएका साथी Rasmus Villumsen ले उनलाई त्यहीँ हिउँमा समाधिस्त गरेर अघि बढेका रहेछन्, र उनी पनि हिउँमै हराए । छ महिनापछि उनका भाइले Wegener को समाधि पत्ता लगाए अनि १०० मिटर पर उनको डायरी ।
उनी अत्यधिक धूम्रपान गर्थे र उनको मृत्यु हृदयाघातबाट भएको थियो । उनको मृत्यु हुँदा उनी ५० वर्षका थिए । उनको शव फेला पार्दा भनिन्छ, उनको आँखा खुल्ला थियो । मुहारमा मुस्कुराएको जस्तै शान्ति थियो । उनीसँगै गएका साथी Villumsen मात्र २३ वर्षका थिए । दुवै ग्रीनल्याण्डको हिउँमा जीवन बिसाए ।
उनको यो महाद्वीपिय सराइको अवधारणा फेरि चर्चामा आयो । युद्धमा प्रयोगमा आएका विभिन्न प्रविधिहरू वैज्ञानिक अध्ययनको लागि प्रयोगमा ल्याउने क्रम बढ्दै थियो । कतै आणविक हतियारको परीक्षण तथा प्रयोग पत्ता लगाउन भूकम्प मापन गर्ने Seismometers, पनडुब्बीहरू पत्ता लगाउनको लागि प्रयोग गरिने Magnetometers हरूका तथ्यहरू वैज्ञानिक अनुसन्धानको लागि पनि उपलब्ध हुन थालेका थिए ।
यी प्रविधिहरूको प्रयोगले वैज्ञानिकहरूले के पत्ता लगाए भने, भूकम्पहरू पृथ्वीभरी जहीँत्यहीँ समान रूपले जाँदैनन् । केही क्षेत्रहरूमा भूकम्पहरू आश्चर्यजनक रूपले अत्यधिक जान्छन् भने समुद्रको गहिराइहरूमा पृथ्वीको चुम्बकीय क्षेत्रमा विचित्रको विविधता छ ।
अब अनुसन्धानकर्ताहरूले Wegener का अवधारणाहरूसँग मिल्दो तथ्यहरू पत्ता लगाउन थाले, जसले पृथ्वीको crust साधारणतया २० वटा टेक्टोनिक प्लेट्समा विभाजित भएको हुनुपर्छ भन्नेतिर इङ्गित गरेको थियो ।
ज्वालामुखीबाट समुद्रमा मिसिएको लाभा (Lava) सेलाउँदा कतिपय खनिजहरू पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार निश्चित दिशामा फर्किएका हुन्छन् । त्यसको अध्ययनबाट के थाहा भयो भने पृथ्वीको चुम्बकीय क्षेत्रमा कालान्तरहरूमा परिवर्तन भइरहेछ जसले पृथ्वीको सुदूर गहिराइमा निरन्तर हलचल छ । जसले टेक्टोनिक प्लेट्स चलायमान गराइरहेछ ।
पढ्नुहोस् “पृथ्वी एक गतिशील ग्रह हो।”
आइमाई कुरा
जब टेक्टोनिक प्लेट्स र महाद्वीपीय सराइको कुरा आउछन्, एउटी महिला वैज्ञानिकको नाम आउँछ । उनी थिइन् अमेरिकी भूगर्भविद् Marie Tharp (१९२०–२००६) । Wegener को अवधारणाले चर्चा पाउनुको पछाडि एउटा नक्साको विशेष हात रहेको भन्न सकिन्छ । त्यो नक्साले हामीले यो पृथ्वीलाई हेर्ने हाम्रो दृष्टिकोणलाई सम्पूर्ण रुपमा परिवर्तन गरिदियो भन्न सकिन्छ ।
सन् १९५३ मा एक युवा भूगर्भशास्त्री Marie Tharp ले समुद्रको पिँधको नक्सा कोरेकी थिइन्, जसले Wegener को महाद्वीपिय सराइको (Continental drift) अवधारणालाई पूर्ण रूपमा समर्थन गर्थ्यो ।
सन् १९२० मा अमेरिकामा जन्मिएकी Marie Tharp का पिता U.S. Department of Agriculture मा कार्यरत माटोको सुपरिवेक्षक थिए ।त्यही पृष्ठभूमिले उनलाई पनि माटोसँग जोडेको हुनुपर्छ । त्यो समय महिलाहरूलाई अन्य क्षेत्रमा त परै जाओस्, विज्ञानकै क्षेत्रमा पनि सहज रूपमा स्वीकार गरिदैनथ्यो ।
सन् १९२० देखि १९७० सम्मको अवधिमा जम्मा ४ प्रतिशत महिलाहरूले भूविज्ञानको क्षेत्रमा विद्यावारिधि गरेका थिए । विज्ञानका सबै क्षेत्रमा त्यस्तै हालत थियो । विज्ञानका क्षेत्रमा कार्यरत महिलाहरू पनि बाहिर देखिँदैनथे या समूह या संस्थामा देखिन दिँइदैनथ्यो । तैपनि उनी असाधारण प्रतिभा भएकाले नै होला, आफूलाई अब्बल उभ्याएकी थिइन् ।
सन् १९४० को विश्वयुद्धका बेला उनीले काम गर्ने अवसर पाइन् । University of Michigan बाट भूविज्ञानमा स्नातकोत्तर गर्न सफल भएकी उनीले पुरुषहरूले समेत झन्झट मान्ने भूगर्भविद्को भूमिकामा आफूलाई उभ्याएकी थिइन् । त्यो बेलाको समयमा Wegener को अवधारणाले सबैको टाउको तताएको थियो । Wegener को आलोचनामा सबैभन्दा बढी कस्सिएर लागेका अमेरिकी भूगर्भविद्हरु नै थिए । पृथ्वीको क्रस्टको बाहिरी सतहभन्दा भित्र त्यति अध्ययन गरिएको पनि थिएन, न समुद्रको पिँधको नै कुनै अध्ययन गरिएको थियो ।
Lamont lab का संस्थापक Maurice Ewing लाई कार्यालय र म्युजियमभित्र बसेर भूगर्भिक अध्ययन गर्न दिक्क लागिसकेको थियो । उनले अब अध्ययन समुद्रको पिँधमा हुने भूगर्भिक क्रियाकलापलाई तत्कालीन प्रविधिको सहायताले सम्पन्न गर्नेतर्फ बढाए । Sonar (sound navigation and ranging) को प्रयोग युद्धक्षेत्रमा धेरै प्रयोगमा आइसकेको थियो । Lamont lab अब समुद्रमा थियो अर्थात् आन्ध्र महासागर ।
Tharp त्यही प्रयोगशालाको टेबलमा सीमित भइन् । उनको काम Sonar बाट प्राप्त तथ्यलाई चित्रमा अर्थात् नक्सामा उतार्नु थियो । यो कार्यको लागि उनीसँगै अर्का भूगर्भविद् थिए Bruce Heezen जो Sonar तथ्यहरू सङ्कलन गर्थे अनि Tharp लाई दिन्थे । Tharp को काम ती तथ्यलाई चित्रमा उतार्नु थियो, जुन उनले निरन्तर गर्दै गइन् ।
आन्ध्र महासागरको पिँधको नक्सा बिस्तारै उनको अगाडि खुल्दै थियो । तब उनले आफ्नो क्यानभासमा एउटा आश्चर्यजनक संरचना बिस्तारै नक्सामा खुल्दै गएको देखिन् – ओह ! विशाल उपत्यका, महासागरको पिँधमा रहेको विशाल पर्वतश्रृङ्खला बीचमा छ । यस्तो लाग्छ पृथ्वीको क्रस्ट बिस्तारै च्यतिँदै गइरहेको छ । उनीले झट्ट Wegener र उनको महाद्वीपीय सराइको अवधारणा सम्झिइन् तब पृथ्वीको त्यो प्रक्रिया उनको अगाडि प्रत्यक्ष प्रमाणसहित क्यानभासमा थियो । उनले धेरैपटक तथ्यहरू पुन: परीक्षण गरिन् तर पनि नतिजा त्यही आयो ।
उनले त्यो कुरा Bruce Heezen लाई सुनाइन् । सन् १९९९ मा उनले लेखेको निबन्धमा उनी सम्झिन्छिन्, “जब मैले नक्सा Bruce लाई देखाएँ, उसले यो हुन सक्दैन, यस्ता ‘आइमाई कुरा’ भनेर तुरुन्त अस्वीकार गर्यो ।” उनले आफ्ना दाजुलाई यो कुरा सुनाइन्, दाजुले Wegener को अमेरिकी आलोचनानजिकबाट देखेका हुनाले बहिनीको हालत पनि त्यस्तै नहोस् भन्ने चाहन्थे । त्यसैले उनले धेरै परीक्षणपश्चात मात्र बोल्नु भन्ने सल्लाह दिए ।
त्यसपछिका दिनमा एक वर्षसम्म लगातार Tharp काे कामको परीक्षण र नक्सा हेरेपछि Bruce पनि विश्वस्त भयो कि यो Wegener ले भने जस्तै महाद्वीपिय सराइ (Continental drift) नै हो । Wegener को अवधारणा सही छ । जुन उपत्यका Tharp ले पत्ता लगाइन् त्यो पृथ्वीको सबैभन्दा ठूलो संरचनाअन्तर्गत पर्छ ।
Heezen ले सन् १९५६ मा यो अनुसन्धानको प्रकाशन गरे, त्यसको सबै श्रेय आफैँले लिए । त्योबेलाका अन्य अनुसन्धानमा जस्तै महिलाहरू पृष्ठभूमिमै अड्किए । उनी आफ्नो निबन्धमा भन्छिन्, “एउटा तस्बिरले लाखौँ शब्दभन्दा बढी बोल्छ र त्यही हेरेपछि विश्वास हुन्छ ।” अर्थात् Seeing is believing ।
अहिले त हामीसँग यति धेरै प्रविधि र तथ्यहरू छन् कि कम्प्युटर सिमुलेशन गरेर प्रत्येक कालखण्डमा महाद्वीपहरू कस्ता थिए, कसरी टेक्टोनिक प्लेट्सको गतिशीलताले कुन कालखण्डमा कस्तो हुन्छ सजिलै भनिदिन सक्छौँ । अहिले पृथ्वीको परिक्रमा गरिरहेका सयौँ भूउपग्रहहरूको तथ्यहरूले पृथ्वीको संरचनाहरूको हरेक क्रियाकलापहरू स्पष्ट गर्न सकिन्छ । हामी पृथ्वीका सुदुर गहिराइहरूका रहस्यहरू बिस्तारै खुलाउँदै छौँ ।
अबको २५० मिलियन वर्षपछि यी महाद्वीपहरू फेरि एकै ठाउँमा जुट्ने छन्, त्यसलाई हामी Wegener ले जस्तै Pangaea Proxima भन्छौँ । त्यतिबेला ठूला ठूला पर्वत शृङ्खला पनि बन्लान् जब अफ्रिकी टेक्टोनिक प्लेट युरोपेली टेक्टोनिक प्लेटसँग घर्षण गर्ला । हामी अहिले ठ्याक्कै भन्न त सक्दैनौँ, तैपनि टेक्टोनिक प्लेट्सको गतिशीलताले सबै महाद्वीपलाई एकै ठाउँ Pangaea Proxima मा जोडिदिने छ । Wegener लाई पनि।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।