लात्ते भकुन्डो र पङ्खा
बाल्यकालमा पुराना मोजाभित्र टालाटुली ठोसेर गोला बनाई खेल खेलेको अनुभव कति छ ? कतिले त्यसलाई भकुन्डो नै भनी चिन्नुहुन्छ ? भुइँमा ठुलो चाक्लो ढुङ्गा राखेर त्यसमाथि क्रमशः सानासाना ढुङ्गा थप्दै बनाइएको फुच्चे ‘धरहरा’लाई त्यही भकुन्डोले हानेर ढालेको सम्झना छ ? अनि त्यही भकुन्डो टिपेर हानी अर्को खेलाडीलाई मार्दा कत्तिको रमाइलो हुन्थ्यो ? यो मार्नु भनेको हत्या गर्नु होइन नि फेरि ! हुन त एक प्रकारको हत्या नै पनि हो तर त्यो खेलमा सहभागी हुन नपाउने वा खेले पनि भूमिका फरक हुने गरी । अर्थात् अहिले धेरैले बुझ्ने र बुझाउन प्रयोग गरिने ‘आउट’ जस्तै ।
अलि सम्म परेको ठाउँमा वा चौरीमा खुट्टाले हान्दै पर दुई ढुङ्गा वा काठमा वा अन्य कुनै वस्तुबाट बनाइएको भकुन्डो छिराउने र त्यहाँ छिराएपछि जितेको ठहरिने लात्ते भकुन्डो खेलको याद आउने पुस्ता पातलिँदै छ । ‘फुटबल म्याच’ को जमाना छ, लात्ते भकुन्डो ‘सहिद’ भयो । फुटबल विश्वमा नै सबैभन्दा ठुलो खेल मानिन्छ । खेल मूलतः मनोरञ्जन र भाइचाराको साधन हो तर व्यापार पनि बढेको छ ।
अहिले विश्व दुई वटा ठुला फुटबल खेलको मनोरञ्जन र व्यापारमा केन्द्रित छ । दक्षिण अमेरिकी देशहरुको कोपा अमेरिका फुटबलको ४७औँ संस्करण भरखरै मात्र सकिएको छ । अर्जेन्टिनाले ब्राजिललाई हराई त्यो खेल जितेको छ । आज राति अर्को महादेशीय फुटबल युरोपियन च्याम्पियनसिपको १६औं संस्करणको अन्तिम प्रतिस्पर्धा इटाली र बेलायतका टोली छन् । यी दुबै खेल सन् २०२० का नाममा सन् २०२१ मा भएका हुन् । गतवर्ष नै हुनुपर्ने खेल कोरोनाका कारण यस वर्ष भएका हुन् । कोराना लागेको मनोरञ्जन र अर्थतन्त्रको स्वास्थ्यमा यी दुबैले ओखतीको काम गर्दैछन् ।
‘फ्यान’ माने पङ्खा
खेलको मनोरञ्जन बेग्लै हुन्छ । मजा लिन कुनै एउटा टोलीको समर्थक बन्नुपर्छ । समर्थकलाई ‘फ्यान’ भन्छन् । ‘फ्यान’को नेपाली अर्थ पङ्खा हो । समर्थकको अर्थ दिने ‘फ्यान’ ल्याटिन (ल्याटिन अधिकांश पश्चिमी भाषाको माउ भाषा र अहिले इटालीमा बोलिने भाषा पनि हो) शब्द ‘फ्यानाटिक’को छोटो रुप हो जुन चाहिँ ‘फ्यान्टासिज्म’सँग सम्बन्धित छ । हामी धेरै ‘फ्यान’हरु ‘फ्यानाटिक’ वा ‘फ्यान्टासिज्म’ नबुझी “एफएएन ‘फ्यान’, ‘फ्यान’ माने पङ्खा” मात्र बनेका छौं । पङ्खाको विशेषता हम्कने वा हावा दिनेसँग सम्बन्धित हुने हुँदा पङ्खा हुनु पिपलपाते हुनु पनि हो ।
पङ्खाहरु देशका आधारमा, खेलाडीका आधारमा र खेलका आधारमा विभाजित छन् । कोपा अमेरिका वा युरो कप वा एसियाली कप वा विश्व कप फुटबलका जुनजुकै खेलमा पनि नेपाली पङ्खाहरु कुनै न कुनै रुपमा विभाजित छन् । कतिपयका टोली पहिलो चरणमा नै बाहिरिन्छन् अनि त्यस्ता पङ्खा फेरि अर्को टोलीतिर लाग्छन् ।
कोपा अमेरिका सकिएको छ । सकिएपछि नै यो लेख लेख्नुको पनि कारण छ । हामी समर्थक वा पङ्खा बन्दा केही कुराको आधार हुनुपर्छ भन्ने तथ्य स्थापना गर्नु नै त्यस्तो कारण हो । दक्षिण अमेरिकीभन्दा युरोपेली राष्ट्रहरु नेपाल र नेपालीसँग धेरै कुरामा निकटता राख्ने भएकोले यस्तो भएको हो । त्यसै आधारमा यो लेख लेखिएको हो ।
म इटालीको पङ्खा
फुटबल खेलमा म पनि इटालीको पङ्खा हो, खासगरी विश्वकप फुटबलमा । तर पहिले त्यसरी पङ्खा हुनुमा कुनै खास कारण थिएन । अहिले भने म इटालीको कट्टर समर्थक भएको छु र त्यसो हुनुमा ऐतिहासिक कडी छन् । यतिभन्दा मैले खुलाउनै पर्छ युरो कपको यस संस्करणका कुनै पनि खेल मैले हेरेको छैन । तर सेमिफाइनल खेलमा चार टोली इटाली – स्पेन र बेलायत – डेनमार्क पुगेपछि मलाई लाग्यो ‘फाइनलमा इटाली र बेलायत नै पुग्नुपर्छ ।’ मेरो यो पक्षधरता नेपालसँग ती देशको ऐतिहासिक सम्बन्धका आधारको हो ।
बेलायतसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेका थुप्रै दस्ताबेज र अध्ययन छन् । तिनैका आधारमा अरु पनि अध्ययन भइरहेका छन् र हुँदै जानेछन् । अहिलेको पुस्ताका धेरैजसोमा यस कुराको तरोताजा स्मरण छ । तर बेलायतसँग भन्दा धेरैअघि इटालीसँग नेपालको सम्बन्ध रहेको र त्यसमार्फत नेपालको धेरै अध्ययन भएको कुरा भने निकै कमलाई थाहा छ । सन् १६२८ मा रोम (इटालीको राजधानी) का जेसुइट पादरी जुआन काब्रालले तिब्बतबाट नेपालको भ्रमण गरी युरोपमा नेपालको प्रचार गरेका थिए । यो परम्परा केपुचिन सम्प्रदायअन्तर्गत पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दासम्म रहेको थियो ।
युरोपका यी दुबै देशको नेपाल सम्बन्ध र अध्ययन बिनास्वार्थका भने थिएनन् । इटालीको स्वार्थ नेपाल हुँदै तिब्बतसम्म धार्मिक सम्प्रदाय विस्तारको थियो भने बेलायती आँखा नेपाललाई उपनिवेश बनाउँदै तिब्बतसम्म हस्तक्षेप गरी गढेका थिए ।
तर ती दुई युरोपेली देशमा राजनीतिक र धार्मिक स्वार्थको तालमेल भने मिलेन । त्यसैले सन् १९४७ सम्म भारतमा शासनमा रहेको बेलायतले आफ्नै स्वार्थअनुरुप नेपालबारे अध्ययन गर्यो । त्यसका सकारात्मक र नकारात्मक दुबै नतिजा देखिन्छन् । अध्ययन परम्परामा नै आफ्नो हैकम देखाउन इसाको सत्रौं र आठारौँ शताब्दीमा इटालीका अध्येताहरुले अध्ययन गरेका नेपाल विद्याका सामग्री अङ्ग्रेजी भाषामा प्रकाशन गर्न गरिएको अनुरोधसमेत बेलायती अध्ययन परम्पराबाट प्रतिबन्धमा पर्यो । बेलायतीहरुले नै नेपाल र नेपालीसम्बन्धी सुरुआती अध्ययन गरेको देखाउनका लागि त्यस्तो गरिएको थियो ।
दुबै देशबाट भएका अध्ययनका कस्ता थिए त ? केही पक्षबारे अब हेरौँ ।
चेपुवामा बुद्ध
कुनै समयमा बेलायत नेपालको सँधियार थियो अर्थात् नेपाल र बेलायतको सीमा जोडिएको थियो । अहिलेको हाम्रो पूर्वी, दक्षिणी र पश्चिमी सँधियार भारत लामो समयसम्म बेलायतको उपिनवेश थियो तर बेलायत चाहिँ ती दिशामा नै हाम्रो सँधियार । त्यही सँधियारले हाम्रो साँध सिमाना मिच्न र हाम्रा पुर्खाले रक्षा गर्न सन् १८१४–१८१६ मा लडाईँ भएको थियो । लडाईँमा हाम्रा सैन्यले अदम्य साहस बटुलेर लड्दा लड्दै शासकहरुले सत्ता जोगाउन सन् १८१६ मा शान्ति तथा मैत्री सन्धि गरे । सुगौली सन्धि नाम दिइएको सोही सन्धिका कारण नेपालको एक तिहाई भूभाग बेलायतको अधीनमा गयो र अहिले भारतीय भूभागमा पर्दछ । पश्चिम तराईको केही भूभाग भने पछि फिर्ता भएको पनि छ ।

खड्ग शमशेर र फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाएपछि तिलमिलाएका बेलायती शासकको लेखाइ
सुगौली सन्धिसँगै नेपालमा बेलायतको राजदूतावास (रेजिडेन्सी) खोल्न अनुमति दिएपछि विभिन्न बहाना र विषयमा नेपाल सम्बन्धी बेलायती अध्ययनहरु गरिएका छन् । तर त्यसअघि पनि केही बेलायतीहरुबाट नेपाल सम्बन्धी अध्ययन भएका भए पनि तिनको प्रयोजन सामरिक महत्वका लागि नेपालको भौगोलिक र अन्य जानकारी लिनु थियो ।
अहिलेको नेपाली पुस्तका लागि चित्त दुख्ने विषय बुद्ध र लुम्बिनी तथा कपिलवस्तुबारेको भारतको विवादास्पद भनाइ हुनेगरेको छ । त्यस्तो विवादास्पद भनाइ अहिलेको स्वतन्त्र भारतको मात्र नभई हाम्रो तत्कालीन सँधियार बेलायतदेखिकै छ ।
सुगौली सन्धि भएको आठ दशकपछि सन् १८९६ डिसेम्बर १ मा खड्ग शमशेर जङ्गबहादुर राणा र जर्मन नागरिक एलोइस एन्टोन फुहररले लुम्बिनीस्थित अशोक स्तम्भ पुनः पत्ता लगाई बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा पर्ने कुरा प्रकाशमा ल्याए । त्यसबेलादेखि नै तत्कालीन बेलायती शासकहरु लुम्बिनी र कपिलवस्तुबारे अनर्गल प्रचारमा लागेका हुन् ।
सुगौली सन्धिपछि गरिएको सीमाङ्कनमा गाडिएका सीमास्तम्भ गलत स्थानमा रहेको र त्यसै कारण बुद्धका स्थलहरु “नेपालजस्तो इर्श्यालु सरकारको भूभागमा पर्नु दुर्भाग्य” हुने भनी उनीहरुका दस्ताबेजमा लेखेका छन् । तत्कालीन ब्रिटिस इन्डियाका सरकारको उत्तर–पश्चिम प्रान्त तथा अवधका अधिकारी तथा इतिहासकार मानिएका भिन्सेन्ट ए. स्मिथले सन् १८९९ मा आर्कियोलजिकल सर्भे अझ इन्डियाको प्रकाशनमा लेखेका छन् “मलाई लाग्छ, पूर्वी दिशातर्फ धेरै भग्नावशेष रहेका हुन सक्छन्, तर पिलर नम्बर ४० (सीमास्तम्भ) मा आएर सीमाना दक्षिणतर्फ घुसेको छ र नेपाली भूभाग बेलायती उपनिवेशमा छिरेको छ, त्यसैले विस्तृत अज्ञात छ ।”
अरु दस्तबेजमा उनले बेलायतले नेपाललाई दवाव दिनुपर्ने समेत उल्लेख गरेका छन् । यस्ता ऐतिहासिक दस्ताबेज मात्र होइन उनीहरुका काम पनि भर्त्सना गर्न योग्य देखिन्छन् । अशोकस्तम्भ र उत्कीर्ण अभिलेख पत्ता लगाई सार्वजनिक गरेको आफ्नै कर्मचारी फुहररको प्रतिवेदनमा प्रतिबन्ध लगाउने र उनलाई जागिरबाट निकाल्नेसम्मका गतिविधि त्यसबेलाको बुद्ध राजनीतिमा भएको छ ।
त्यस्ता दस्ताबेजको अध्ययन गर्दा सुगौली सन्धिले सीमा नियमन नगरेको भए लुम्बिनी र कपिलवस्तुबारे उनीहरुले अरु नै निर्णय गर्ने सम्भावना रहेको अनुमान गर्न सकिन्छ ।
नेपाली भाषाको गोर्खाकरण
बेलायती अध्येताहरुले नेपालको अध्ययन गर्दा यहाँका भाषाहरुबारे अध्ययन गरेको कुरालाई विशेष महत्व दिइन्छ । तिनमा कर्नेल कर्कप्याट्रिक (सन् १८११), जेए एटन (सन् १८२०) र ब्राइट हुटन हड्सन (सन् १८७४, १८७५ र १९१६) लगायतले गरेका अध्ययन मुख्य मानिन्छन् । तर तिनको प्रयोजन या त सामरिक थियो वा सुगौली सन्धिपछि बेलायती सेनामा भएका गोर्खा रेजिमेन्टका सेनाका लागि भाषा सिकाउने वा क्रिस्चियन धर्मको प्रभाव बढाउने थियो । उनीहरुले गोर्खा रेजिमेन्टका लागि नेपाली भाषा नै गुर्खा बनाइदिए ।
त्यसरी अध्ययन गर्दा उनीहरुले सन् १७१७ मा नै नेपाली भाषा नै भनी इटालीका पादरी जुशेप्पे फेलिचे दा मोर्रोले रोममा लेखेको पत्र, सन् १७५९ मा नै अल्फाबेटम तिबेतानममा रोमबाट देवनागरी लिपिमा नै छापिएका नेपाली भाषाका सामग्री र सन् १७७१ मा रोमबाट प्रकाशित नेपाली भाषाको पहिलो व्याकरण अल्फाबेटम ब्रह्मानिकमको उपेक्षा गरेका थिए । त्यसो गर्दा उनीहरुले नेपाली भाषाको नाम पर्वते वा गोर्खा वा गुर्खा भनी नामकरण गरे । उनीहरुले सन् १८२० मा जेए एटनले लेखेको अ ग्रामर अफ नेप्लिज दी नेप्लिज ल्याङ्वेजलाई नेपाली भाषाको पहिलो व्याकरणमा दर्ता गरे । थप खोजीले भने त्यो पहिलो श्रेय इटालीतिर पुर्याइदिएको छ ।
नेपालका दुई सम्पत्ति
बेलायत जस्तो इटालीले राज्यको तहबाट नेपालमा हस्तक्षेप वा नियोजित अध्ययन गरेन । तिब्बतसम्म क्रिस्चियन धर्म फैलाउन रोमबाट पठाइएका जेसुइट र केपुचिन मिसनले नेपालमा पनि क्रिस्चियन धर्मको थालनी र विस्तार भने गरे । उक्त कार्य सन् १६२८ देखि नै नेपाल छिरेको हो । तिब्बतमा धर्म प्रचारका लागि सुरुमा रोमबाट जेसुइटहरुलाई पठाउने गरिएकोमा उक्त मिसन अन्त्य भई सन् १७०२ देखि केपुचिन परम्पराको सुरुआत भयो र सन् १७०७ मा नेपाल हुँदै पहिलो केपुचिन टोली तिब्बत पुग्यो । केपुचिनहरुले नेपालमा पनि धर्म प्रचार गरे ।

देवनागरी लिपिमा नेपाली भाषा पहिलो पटक छपाइ भएको पुस्तक अल्फाबेटम तिबेतानमको आवरण । यो पुस्तक इटालीको रोमबाट सन् १७५९ मा पहिलो प्रकाशन र सन् १७६२ मा पुनः प्रकाशन भएको हो ।
त्यसैका लागि गरिएका पत्राचार र अध्ययनका आधारका नेपालका विविध अध्ययन सामग्री अहिले पनि रोममा छन् । अगोस्तियानी आन्तोनियो जिओर्जीले लेखेको सन् १७५९ मा प्रकाशित र सन् १७६२ मा पुनः प्रकाशित तिब्बती वर्ण र लिपिका सम्बन्धी कृति अल्फाबेटम तिबेतानम हो । तिब्बती भाषा र वर्णमालाका अतिरिक्त यो नेपाल र नेपाली भाषाका लागि पनि उत्तिकै महत्वको छ । यसैमार्फत नेपाली भाषा देवनागरी लिपिमा नै छपाइको युगमा सन् १७५९ मा नै प्रवेश गरेको हो । जिओर्जी नेपाल आएका पादरी भने होइनन् । उनले नेपाल आएर बसेका अनि नेपाल र नेपाली भाषाबारे अध्ययन गरेका अरु पादरीले पठाएका सामग्रीका आधारमा नेपाली भाषाको अध्ययन गरेका हुन् ।

सन् १७५९ मा अल्फाबेटम तिबेतानममा देवनागरी लिपिमा नै पहिलो पटक छपाइ भएका नेपाली शब्द ।
नेपालमा नै आएर बसी अध्ययन गरेका पादरीमध्येका एक कासिआन्नो बेलिगात्ती हुन् । उनले सन् १७७१ मा नेपालीलगायत संस्कृतसँग साइनो रहेका देवनागरी लिपिमा लेखिने भाषाको व्याकरण अल्फाबेटम ब्रह्मानिकम लेखी रोमबाट प्रकाशन गराएका थिए । क्रिस्टोफोरो अमादुच्चीले भूमिका लेखेको यो नै नेपाली भाषाको पहिलो व्याकरण हो जसलाई बेलायतीहरुले उपेक्षा गरेका थिए ।

नेपालीलगायत संस्कृतसँग साइनो जोडिएका भाषाहरूको पहिलो व्याकरणा अल्फाबेटक ब्रह्मानिकम । यो पुस्तक सन् १७७१ मा रोमबाट प्रकाशन भएको हो ।
यसका साथै केपुचिन पादरीहरुले मैथिली र मकवानपुरको बेग्लै भाषा मकवानपुरी रहेको पनि उल्लेख गरेका छन् । उनीहरुले गरेका अध्ययन यी मात्र रहेका देखिँदैनन्, अन्य धेरै विषय वा व्यक्तिबाट भएका पत्राचार र अध्ययनका सूचना प्रशस्त छन् तर तिनको अध्ययन भने हुन सकेको छैन । नेपाल विद्याका यी सम्पत्तिको खोजी हुनु जरुरी छ ।
अब पङ्खा फेर्ने कि त ?
यी भाषा र इतिहासका अध्ययनका कुरा भए तर त्यस्ता क्षेत्र व्यापक छन् जसलाई मैले नेपाल विद्या ग्रन्थमा विस्तार गरेको छु । यस्तो अध्ययनअघि इटालीको पङ्खा हुँदा मलाई यी कुराको ज्ञान थिएन, मनोरञ्जनका लागि इटाली र वैकल्पिक टोलीमा बेल्जियमको पक्ष लिने गर्दथेँ । खेल मनोरञ्जन हो र मनोरञ्जन मात्र पनि होइन । एकलकाँटे इतिहासको तुलनात्मक अध्ययनले अब मेरो पक्षधरतालाई अझ सबल बनाएर पङ्खाबाट कट्टर समर्थकको स्तरमा उकासेको छ ।
तपाईँलाई कस्तो लाग्यो कुन्नि ? इटाली कि बेलायत ? कसको हम्कने पङ्खा ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

