हरिभक्त कटुवाल मेरा समकालीन कवि मित्र हुन्। उनले आफ्नो जीवनको धेरै समय साहित्यलाई दिए। आसामको यस्तो दुर्गम क्षेत्रमा उनको जन्म भयो जहाँ त्यस बेला नेपाली भाषा र साहित्यको उति विकास भएको थिएन। उनकै अथक प्रयासले त्यो क्षेत्रमा साहित्यकार धारा विकास भयो। नारी र रक्सि हरिभक्त कटवालको कमजोरी थियो। उनी मदपान गरेपछि ज्यादै आक्रोशित हुन्थे अनि सम्झाउने माथि पनि जाईलाग्थे। उनी यिनै कारणहरूले केही बदनाम पनि थिए। मैले उनकोकमजोरी बारेमा कहिले कुनै टिप्पणी गरिन। उनलाई मदपान बारेमा सम्झाउनु नै व्यर्थ हुन्थ्यो। यस्तो समयमा उनी मान्छेनै चिन्दैनथे तर पनि कुनै दिन मसित कुनै कुरामा विवाद भएन । उनका प्रेम कविताका पात्रहरू कल्पित हुँदैन थिए। प्रेम प्रसंग मा धेरै नारीहरूसित उनको नाम गाँसिएको थियो। यस्ता कतिपय गुण दुर्गुण बीच पनि कटवाल मेरा प्रिय मित्र थिए।
म पहलो चोटि सन् १९६८ मा डिगबोई गएको थिएँ। यस अघि हरिभक्त कटवालसित मेरो भेट भएको थिएन। उनको पहिलो कविता संग्रह ‘भित्रि मान्छे बोल्न खोज्छ’ र मेरो पहिलो कथा संग्रह ‘वर पीपल’ गोरूबथानको नवयुग नेपाली पुस्तक मन्दिरले एकसाथ सन् १९६० मा प्रकाशित गरेकोले उनको नामसित मात्र म परिचित थिएँ। तर यो साहित्यिक नातालाई लिएर डिगबोई पुगेपछि म उनले शिक्षक काम गर्ने इण्डियन आयल कॉर्पोरेशनको स्कूलमा उनलाई भेट्न पुगें। परिचयको आदान प्रदान भयो।मलाई भेटेर उनी असाध्य खुशि भए । उनले भने-‘ मेरो घर पेंगरी यहाँबाट केही टाडा पर्छ। फेरि तपाई केही काम विशेषले आउॅनु भएको। त्यहाँ बसेर तपाईको काम हुँदैन। यसर्थ म यहाँबाट नजिकै मेरा दाजु सी.बी छेत्रीको घरमा तपाईको बस्ने व्यवस्था मिलाउॅछु। उहाँ पनि तपाई जस्तै मिलनसार हुनुहुन्छ भनेर उनले दाजु सी.बी.छेत्रीको घरमा लिएर गए। त्यसपछि हामी त्यहाँ सामान राखेर मेरो कामले मार्गरिटा गएका थियौं। साथमा डिगबोईका जसु सुब्बा पनि थिए। फर्कदा रातीको ११ बज्यो। टेक्सीले ₹ ५०/ को ठाउॅमा भाडा ₹ १००/ माग्यो तर हरिभक्त कटवाल मधुरसको जोशमा आक्रोशित भए। उनी नेपाली,हिन्दी, असमिया मा हामीलाई बाहिरबाट आएको जस्तै देखिस् ? भनेर चिच्याउन लागे। यसरी अरू केही समय बित्यो। टेक्सीवालाहरू एक सय नदिएसम्म नजाने भए । हरिभक्त ₹ ६०/मै अडिए अनि मैले एक जना टेक्सीवालालाई लुकाएर ₹ ४०/ दिएर भनें-‘ उसलाई ₹ ६०/ मै ल्याएको भन। अरू ₹ ६०/ डिगबोई पुगेपछि दिउला। यसरी त्यस दिन हामी राती १ बजीतिर डिगबोई आई पुग्यौं।
हरिभक्त कटुवाल एकजना प्रतिभाशाली कवि, गीतकार हुन् । उनी जति राम्रो कविता लेख्थे उतिकै प्रभावशाली वाचन पनि गर्थे। उनका नारायण गोपालले गाएका गीतहरूले त उनलाई असीमित आकासमा पुर्याएको छ। तर अत्यधिक मदपानले उनको सारा जीवन नै सर्वनाश गरेको थियो। मातेपछि उनी मान्छे चिन्दैनथे। शिष्टता, नम्रता र विनशीलता उनमा रहॅदैनथ्यो। उनको मीठो भाषा परिवर्तन हुन्थ्यो। यसैले उनले राम्रो भावना लिएर कुनै काम गरे पनि उनीमाथि झट्ट कसैले विश्वास गर्दैनथे। यस्ता कतिपय दुर्गुणहरूले उनी एक ठाउँमा टिकेर बस्ने सक्तैनथे। उनी घर परिवारको दायित्वबाट पनि लापरवाह जस्तो देखिन्थे। तर आज उनको दिवंगत पछि हामीले यी सबै बिर्सेर उनको योगदानको मात्र सम्झना गर्नु पर्छ।
आसामको पाटगाउँ भन्ने ठाउॅमा १३,१४ र १५ अप्रेल सन् १९७३ मा आसाम गोर्खा समेलनको १५ औँ अधिवेशनमा भाग लिन डिगबोईबाट आफ्ना केही साथीहरूसित हरिभक्त कटुवाल पनि आउनु भएको थियो। १४ अप्रेल राती डिगबोईका साथीहरूले एउटा नेपाली नाटक देखाउने भए । नाटक प्रयोगात्मक भनिएको थियो र मलाई कटुवालले नाटक हेरि दिने विशेष आग्रह गर्नु भएको थियो। हलमा गाउँका मानिसहरूको अपार भीड थियो। उद्घोषकले नाटक शुरू हुनु भन्दा अघि एउटा बौलाहा हातमा हथियार लिएर हलमा पसेको सूचना दिए। नाटकको पहिलो दृश्यमा भविलाल लामिछाने कविको रूपमा एउटी देशप्रेमको कविता पढन थाले। अचानक दर्शक दीर्घाबाट मेरो छेउमा बसेको बैसाखी टेकेको एक जना लङगडो फौजी उठेर चिच्यायो- बन्द गर तेरो देशप्रेमको कविता… मलाई हेर… हलमा भएका दर्शकहरू सबै भागाभाग भए। यसरी फौजी अभिनयमा चिच्याउने हरिभक्त कटुवाल रहेछन्।
हरिभक्त कटुवाल सन् १९८० को अगस्त महिनामा नेपालबाट सिकिस्त अवस्थामा डिगबोई फर्केका थिए। उनलाई साथीहरूले डिब्रुगड मेडिकल कलेजको टी.बी. स्यानेटोरियममा भर्ना गरेका थिए। त्यस बेला म सिनेमाको कामले तेजू अरूणाचल गएको थिएँ। यो सन् १९८० सेप्टेम्बर महिना २/३ तारिख हुनु पर्छ।फर्कदा डिब्रुगड अस्पतालमा कटुवाललाई हेरेर फर्केको थिएँ। त्यस बेला उनी ज्यादा रुग्ण अवस्थामा थिए। कसैले म उनको मलामीमा थिएँ भनेर लेखेको कुरा थाह पाएँ । ‘विन्दु’ का सम्पादक के.बी.नेपालीलाई म डिब्रुगड गएको थाह थियो तर फर्केको उनलाई थाह थिएन। मसित भएको हरिभक्त कटुवाल स्मारिकामा मलामी जानेकोहरूको सूची रहेछ। त्यसमा नरबहादुर नाम भएका तर थर नभएका कोही स्थानीय व्यक्ति पनि रहेछन्। यसैले म मलामी गएको भ्रम भएको हुन सक्छ।
कविको रूपमा हरिभक्त बेजोड़ थिए। उनले लेखेका देशभक्ति र जातीय भावना प्रधान गीतहरू जातीय सचेतनताका नमूना हुन्। तिनमा पनि ‘बन्धन र वाध्यतामा बाँच्नु पनि के बाँच्नु ?’ र ‘यो देशको माटोले भन्छ’ कालजयी भएका छन्। उनका प्रणय भावना कविता र गीतले पनि नेपाली साहित्यमा विशिष्ट स्थान बनाएका छन्।
समय अनुसार उनीप्रति न्याय भएकै छ जस्तो लाग्छ। उनलाई राजाले केही जग्गा दिएको लिन मानेनन्। प्रज्ञा प्रतिष्ठानले अन्तिम समयमा औषधी उपचारको निम्ति दिल्ली लैजाने भनेको उनलाई नै मान्य भएन। उनको स्वाभिमान उनको निम्ति सर्वोपरि भई दियो।
प्रस्तुत लेख, सात दशकभन्दा लामाे समयदेखि नेपाली साहित्यकाे तथ्य, सूचना र दस्तावेजहरूका साक्षी नरबहादुर दाहालसँगकाे कुराकानीकाे आधारमा तयार पारिएकाे हाे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।