Chovar Blues Mobile Size

फेसबुक, इन्स्टा, ट्वीटर लगायतका सामाजिक सञ्जाल हाम्रो जीवनको महत्त्वपूर्ण अंग बनिसकेका छ । थोरै खाली समय पायौँ भने मात्र पनि हामी सामाजिक सञ्जालका फिड र टाइमलाइन खंगाल्न थालिहाल्छौँ ।

सोसल मिडियामा हरबखत पोस्ट भइरहने सामग्री र तस्बिरले हाम्रो मस्तिष्कमा कस्तो असर पार्छ भन्ने हामीले कहिल्यै सोचेका छौँ ? हुन त हामीले साथीहरुले छुट्टी मनाउन निस्केको या जिम जान थालेको तस्बिर हेरे पनि ती तस्बिरले तपाईंलाई नराम्रो असर पारिरहेका हुन्छन् ।

वर्षौंदेखि मुख्यधाराका मिडियाहरुले सुन्दरताको मानकलाई नै परिवर्तन गरिदिइसके । त्यो मानक प्राकृतिक रुपमा लगभग असम्भव नै छ ।

चर्चित सेलिब्रिटीका बनावटी तस्बिरलाई सुन्दर बनाएर प्रस्तुत गरिन्छ । दुब्ला पातला मोडलका तस्बिरलाई छरितो कायाको प्रतीक बनाइएको छ ।

सामाजिक सञ्जालमा त झन् हुँदै नभएको सुन्दरता पेस गरिन्छ । यस्तो कार्यले सर्वसाधारणलाई नराम्रो असर पुर्याइरहेको छ ।

त्यसो त सामाजिक सञ्जालको सही प्रयोग गर्दा त्यस्ता सुन्दर तस्बिरले तपाईंलाई रमाइलो र आनन्द महसुस गराउन सक्छन् । अथवा, कम खराब महसुस गराउन सक्छन् ।

दिमागमा असर
सामाजिक सञ्जाल धेरै पुरानो कुरा होइन । दस पन्ध्र वर्ष पुरानो मात्र भएको यो सामाजिक सञ्जालका बारेमा अनुसन्धान हुन थालेको त्यति धेरै भएको छैन । त्यसैले ती अनुसन्धानलाई हामीले निष्कर्ष नै मान्ने बेला भइसकेको छैन । तर ती शोधले भने हामीलाई केही कुराको इंगित भने गरिरहेको छ ।

उदाहरणका लागि, सामाजिक सञ्जालमा अरुका राम्रा तस्बिर देख्दा मानिसले आफूलाई चाहिँ कम सुन्दर वा कुरुप महसुस गर्न थाल्छन् । आफैँप्रति नकारात्मक भाव पाल्न थाल्छन् ।

यस्तो अवस्थामा कतिपयले भने आफ्नो तस्बिरलाई सुन्दरतम बनाएर इन्स्टामा पोस्ट गर्न थाल्छन् । हुँदै नभएको सुन्दरता पोस्ट गर्दा त्यस्ता मानिसमा नकारात्मक मानसिक असर पर्ने गर्छ ।

हीन भावना

अस्ट्रेलियाको म्याकेरी विश्वविद्यालयकी जस्मिन फार्दुलेले सामाजिक सञ्जालका कुप्रभावका बारेमा अनुसन्धान गरेकी छन् । उनी भन्छिन्, मानिसहरु आफ्नो तुलना इन्स्टाग्राममा अपलोड गरिएका तस्बिरसँग गर्न थाल्छन् । यस्तोमा मान्छेले आफूलाई अरुको तुलनामा कमजोर, कुरुप, केही गर्न नसक्ने व्यक्तिका रुपमा हीन भावना पाल्न थाल्छन् ।

जस्मिनले विश्वविद्यालयका २२७ जनामाथि अनुसन्धान गरेकी थिइन् । प्रश्नोत्तरका क्रममा उनीहरुले आफू वरिपरिका मानिसको तुलनामा कम सुन्दर पाएको बताएका थिए ।

सेलिब्रिटीका बारेमा उनीहरुले धेरै भ्रम पाल्ने गर्छन् किनभने उनीहरुलाई तिनको वास्तविकता कहिल्यै थाहा हुँदैन ।

नकारात्मक असर

हुन त सामाजिक सञ्जालका हरेक तस्बिरले नकारात्मक प्रभाव पार्छन् भन्ने छैन ।

कतिपयले आफ्ना तस्बिरहरु सम्पादन गरी, सुन्दर बनाई सामाजिक सञ्जालमा हाल्ने गर्छन् ।

यसबारेमा बेलायतको ब्रिस्टल विश्वविद्यालयकी एमी स्लेटरले २०१७ मा अनुसन्धान गरेकी थिइन् । एमीले विश्वविद्यालयका १६० जना छात्राहरुसँग कुराकानी गरेकी थिइन् ।

जो छात्राले सामाजिक सञ्जालमा शारीरिक अभ्यासका तस्बिरहरु देखे, ती तस्बिरले उनीहरुलाई नकारात्मक असर गर्यो । जसले प्रेरणा दिने कुराहरु पढे, तिनीहरुमाथि नकारात्मक असर कम भयो । उनीहरु आफ्नो शरीरको आकारका कारण हीनभावनाले ग्रस्त भएनन् ।

यसैगरी सन् २०१९ मा १९५ महिलामाझ गरिएको शोधले उनीहरुको प्रशंसा गरिएको पोस्ट देखाइएको थियो । तीमध्ये केही महिलाले बिकिनी लगाएका थिए । तिनको एक्सरसाइज गरिएको पोज त्यहाँ थियो ।

केही युवतीलाई भने प्राकृतिक सुन्दरताका तस्बिर देखाइएको थियो । जुन महिलालाई बिकिनी या फिटनेसको प्रचार गर्ने तस्बिर देखाइएको थियो, ती युवती आफ्नो शरीरबाट सन्तुष्ट रहेको पाइयो ।

एमी स्लेटर भन्छिन्, ‘सामाजिक सञ्जालमा केही तस्बिरले मानिसलाई राम्रो प्रभाव पनि पारेको छ । यसको सबै कुरा नकारात्मक नै हुन्छ भन्ने छैन ।’

जुन तस्बिर बडी पोजिटिभ अर्थात् तिम्रो शरीर जस्तो छ, त्यो ठीक छ भन्ने सन्देश राखिएका पोस्टहरु पढेर उनीहरुलाई सन्तोष लागेको थियो । तर जब त्यहाँ कुनै मोडलको छरितो शरीर देखाएर अन्य किसिमको शरीर भएका युवतीहरु चाहिँ संसारकै भार हुन् भन्ने महसुस गराइन्छ, त्यसको कुप्रभाव पनि उत्तिकै हुन्छ ।

मानौँ, कुनै मोटी महिलाले म सुन्दर छु भनेर लेखी तर अधिकांशले तिनको टिप्पणीमाथि प्रतिक्रिया दिएनन् वा कम प्रतिक्रिया पाए भने त्यस्ता युवतीहरु डिप्रेसनमा जाने खतरा हुन्छ ।

सेल्फी प्रेम
अचेल सेल्फी लिने चलन खुबै बढेको छ । सेल्फीलाई इन्स्टा या फेसबुकमा हाल्नु एउटा नियमित प्रक्रियाजस्तो भइसक्यो । त्यस्ता तस्बिरलाई अधिकांशले सम्पादन गरेर, कृत्रिम सुन्दरताको चास्नीमा घोलेर अनि मात्र पोस्ट गर्छन् ।

क्यानडास्थित टोरन्टो योर्क विश्वविद्यालयकी जेनिफर मिल्सले सेल्फीका सोख राख्नेहरुबीच एउटा प्रयोग गरेकी थिइन् । उनले छात्राहरुको एउटा समूहलाई आफ्नो तस्बिर फेसबुक तथा इन्स्टाग्राममा हाल्न भनिन् । केही छात्राहरुलाई एउटा मात्र तस्बिर हाल्ने स्वीकृति दिइएको थियो । अर्कोतर्फ, केही छात्राहरुलाई भने मनपर्दी सेल्फी लिने छुट मात्र होइन, आफ्नो सेल्फीलाई सुन्दरतम बनाउन सम्पादन गर्नेसमेत अधिकार दिइएको थियो ।

जेनिफर र उनका सहयोगीले के पाए भने बढीभन्दा बढइी सेल्फी लिने युवतीहरुलाई आफ्नो सुन्दरतामाथि विश्वास थिएन । जसलाई फोटो सुन्दर बनाउने र सम्पादन गर्ने अधिकार दिइएको थियो, उनीहरु पनि आफ्नो सौन्दर्यमा विश्वस्त हुन सकेका थिएनन् ।

तीमध्ये केही छात्राहरुले भने आफूले राखेको तस्बिरमा कति लाइक आयो भन्ने कुरामा मात्र चासो थियो । अर्कोतर्फ केहीलाई भने आफ्नो तस्बिर राम्रो भए वा नभएको सुनिश्चित गर्न अरुलाई सोधिरहेका थिए । अरुले राम्रो छ भने मात्र आफ्नो तस्बिर पोस्ट गर्ने निष्कर्षमा पुग्नेहरु पनि केही थिए ।

जेनिफर भन्छिन्, सबै जना छात्राहरुमा आफ्नो सौन्दर्यका कुरामा विश्वास गर्न सकिरहेका थिएनन् । उनीहरु आफैँलाई शंकाको भावले हेर्थे । उनीहरु सुन्दर देखिनमा बढी जोड दिइरहेका थिए । सोही शंकाका कारण उनीहरुले बढीभन्दा बढी तस्बिर खिच्न चाहिरहेका थिए ।

आत्मविश्वासमा कमी
२०१७ मा गरिएको शोधमा भनिएको थियो, जो मानिस सेल्फी लिएपछि त्यसलाई सुन्दर बनाएर अपलोड गर्न समय लगाउँछन्, तिनीहरुमा आत्मविश्वासको कमी हुन्छ ।

तर सामाजिक सञ्जालमा भइरहेको शोध त्यति धेरै पुरानो नभएकाले यस्ता शोधको निष्कर्षमा पुग्नु हतारो हुने जेनिफरको राय छ ।

तर सेल्फी लिने कुरामा महिला हुन् या पुरुष दुवैमा उस्तै प्रवृत्ति भने देखिएको छ ।

उसो भए अहिलेलाई तपाईं के गर्ने त ?
तपाईं आफ्ना बारेमा खराब महसुस गर्न चाहनुहुन्न भने सेल्फी लिनुको साटो कुनै उत्पादनमूलक काममा समय दिनुहोस् । यस्तो काम छान्नुहोस्, जसले तपाईंको बाहिरी सुन्दरताभन्दा भित्री सुन्दरता बढाउन भूमिका खेल्न सकोस् ।

अर्को कुरा, तपाईंले सोसल मिडियामा कसलाई पछ्याइरहनु भएको छ ? यो निकै महत्त्वपूर्ण कुरा हो । कतै तपाईंको टाइमलाइनमा अकारण तस्बिरको बाढी ल्याउनेहरुलाई त पछ्याइरहनु भएको छैन ? त्यसैले आफूले पछ्याएका व्यक्तिहरुलाई नियालेर हेर्नुस् । तिनले तपाईंलाई तनाव मात्र दिन्छन् भने तिनलाई पछ्याएर के गर्नु ?

हामी यस्तो समयमा छौँ कि यो बेला सोसल मिडियाभन्दा टाढा हुनै सक्तेनौँ । तर तपाईंले टाइमलाइनमा बढीभन्दा बढी तपाईंलाई खुसी पार्ने चिजहरुको बाढी ल्याउन भने सक्नुहुन्छ । तपाईंलाई तनाव नदिने, खुसी दिने राम्रा राम्रा कुराहरुलाई पछ्याउन सक्नुहुन्छ ।

बिबिसी फ्युचरको आलेख

अंग्रेजीमा पढ्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोस्
https://www.bbc.com/future/article/20190311-how-social-media-affects-