जापानी सरकारले ठूला कम्पनीहरुलाई आफ्ना कर्मचारीहरुलाई हप्ताको चार दिनको कार्यालय समय बनाउन निर्देशन दिएको छ ।
संसारभरि नै जापानीहरु अत्ति बढी मिहिनेत गर्ने व्यक्तिका रुपमा चिनिन्छन् । उनीहरुको पहिलो प्रेम उनीहरु काम गर्ने कार्यालय हुन्छ अनि मात्र अरु ।
तर यसको समस्या पछिल्ला ५० वर्षमा के देखिएको छ भने उनीहरुको आर्थिक उन्नति त भएर गयो तर सामाजिक र पारिवारिक जीवन भने ध्वस्त हुँदै जान थाल्यो ।
हुन त संसारभरि नै जति सम्पन्नता बढ्दै जान्छ, त्यहाँको परिवार टुट्न थाल्छ भने जन्मदर घट्दै जान्छ । सम्पन्नता पनि कायम रहोस् र काम तथा जीवनबीचको सन्तुलन पनि राम्रो रहोस् भनेर पछिल्लो समय जापानी सरकारले आफ्ना कामदारहरुलाई बढीभन्दा बढी छुट्टी दिन आग्रह गरेको हो ।
पछिल्लो समय सरकारले सातामा पाँच दिन काम गर्ने भन्दा पनि चार दिन काम गराउन हौस्याउन थालेको छ ।
कोरोना भाइरसको महामारीका कारण कार्यालय जाने संस्कृतिमा निकै नै बढी प्रभावित भएको छ । घरबाटै कार्यालयको काम सक्ने प्रवृत्ति बढ्न थालेको छ । हुन त अझै पनि कार्यालयमै गएर काम गर्नुपर्ने कुरामा जिकिर गर्ने कम्पनीको संख्या बढी नै छ । तर सरकारले भने कार्यालयको व्यवस्थापनले काममा लचिलोपन, घरबाटै काम गर्न सकिने तथा सातामा पहिलेको तुलनामा कम घण्टा काम गरे पुग्नेजस्ता विकल्पहरुमा जोड दिन थालिएको छ ।
आखिर यो अभियान जापानी सरकारले किन चलाइरहेको छ त ?
सातामा चार दिन काम गर्ने विकल्प दिँदा कुनै पनि कम्पनीका राम्रा र क्षमतावान कर्मचारी गुमाउने सम्भावना कम हुने सरकारको भनाइ छ । पछिल्लो समय राम्रा कम्पनीले राम्रा र क्षमतावान् कर्मचारीहरु गुमाउने क्रम बढेपछि सो प्रवृत्ति रोक्नका लागि भए पनि यस्तो नीति बढाउनुपर्ने सरकारी जिकिर छ ।
पहिलेदेखि नै सातामा पाँच दिन काम गरिरहेका जापानीहरुले थप एक दिन छुट्टी दिइएको खण्डमा सामाजिक तथा पारिवारिक घुलमिल बढ्ने, यस्तो गर्दा उनीहरुले वचत गर्ने भन्दा पनि बढी खर्च गर्ने र बढीभन्दा बढी खर्च हुँदा अर्थतन्त्र सुचारु रहने सरकारी धारणा छ ।
पछिल्लो समयमा जापानमा खर्च गर्ने प्रवृत्ति कम हुन थालेकाले आर्थिक वृद्धिदर सुस्ताएको छ ।
यो एक दिने छुट्टी बढाउँदा युवा पुस्ताहरु घुमघाम रुचाउने, युवाहरुको डेटिङ बढ्ने, यसले वैवाहिक सम्बन्ध बढ्ने, वैवाहिक सम्बन्ध बढेपछि सन्तान जन्माउने कुरामा बढी जोड दिनसक्ने सम्भावना रहेको जापान सरकारले बताइरहेको छ ।
जापानमा लामो समयदेखि जन्मदर घटिरहेको छ भने ठूलो जनसंख्या वृद्धावस्थातर्फ लम्किँदै जान थालेको छ ।
बजार आँकडामाथि अध्ययन गर्ने कम्पनी फुजित्सुका मुख्य आर्थिक सल्लाहकार मार्टिन सल्ज भन्छन्, ‘यस किसिमको परिवर्तनका कारण सरकार गम्भीर हुँदै गइरहेको देखिन्छ । हालै सरकारले देशको सुस्त अर्थव्यवस्था सम्हाल्नका लागि विभिन्न सुझाव मागेको थियो । तर आर्थिक लेनदेन बढाउने जस्ता पारम्परिक कदममा उनीहरु छैनन् । केन्द्रीय बैंकसँग पनि नयाँ किसिमका तौरतरिकाका सीमा छन् ।’
कार्यालय समयमा कटौती
सल्जको भनाइअनुसार, कार्यालय समय कटौती भयो भने यो जीवनशैली सुधार गर्ने एउटा महत्त्वपूर्ण कदम हुनेछ । ‘महामारीका बेला कम्पनीहरुले काम गर्ने नयाँ नौलो तरिका अपनाएका छन् । तिनले आफ्ना कर्मचारीलाई घरहरु, कार्यालयबाट टाढा कुनै सानो ठाउँबाट अथवा ग्राहकसँग सिधै भेटेर काम गर्ने सुविधा दिन थालेका छन् । यस्तो गर्नु कयौँ कर्मचारीका लागि आरामदायक मात्र हुँदैन, यसले उत्पादकत्वसमेत बढाउने कार्य गर्छ ।’
सल्जको कम्पनी फुजित्सुले त सरकारले दिइरहेको यो प्रोत्साहनको फाइदासमेत उठाएको छ । टोक्योस्थित उनको कार्यालयको आधा भाग अरुलाई नै भाडामा दिइएको छ । यसो गर्दा कोठाभाडाको आधा रकम वचत भइसकेको छ । आफ्ना कर्मचारीमध्ये अधिकांशलाई घरबाटै काम गर्न प्रोत्साहित गर्न थालिएको छ । सल्ज भन्छन्, ‘भविष्यमा मेरो शाखामा केही कर्मचारी त हुन्छन् तर सबै जना एकै पटक भेला हुने सम्भावना भने कमै देखिन्छ । अब ज्यादै जरुरी एकआपसमा भेट्नै पर्ने र अनुहार हेराहेर गर्नुुपर्ने बैठकका लागि मात्र कार्यालयमा भेला हुनुपर्ने अवस्था आउनेछ । यदि त्यसो हुने हो भने कार्यालयका लागि अनावश्यक ठाउँको भाडा किन तिरिरहनु ?’
आम्दानी घट्ने खतरा
त्यसो त जापानी सरकारको यो योजनाका केही कमजोरी पनि देखिन्छन् । जापानले पहिलेदेखि नै कर्मचारी वा काम गर्ने उमेरका मानिसहरुको अभाव झेलिरहेको छ । काम गर्ने युवाहरुको संख्या निरन्तर घटिरहेको छ । अर्कोतर्फ कर्मचारीमाथि चिन्तासमेत थपिएको छ । उनीहरुको कम कामका कारण आम्दानी पनि कम हुने पो हो कि ? कम्पनीले उनीहरुलाई निष्ठावान् नभएको आरोप पनि लगाउन सक्छ र त्यस्तो अवस्था भनेको जापानीहरुका लागि सबैभन्दा ठूलो गाली हो ।
जुन्को सिजेनोले हालै बिजनेस स्टडिजको अध्ययन पूरा गरिसकेकी छन् । उनको राम्रो अंकका कारण उनलाई केही राम्रा कम्पनीले काम दिन तत्परतासमेत देखाएका छन् । तर जुन्कोले भने ठूलो कम्पनीभन्दा पनि सानो कम्पनीको प्रस्तावलाई स्वीकार गरिन् । रोचक के छ भने उनको यो सानो कम्पनी घरबाट निकै नै टाढा छ । किन उनले यत्ति टाढाको कार्यालय छानिन् त ?
‘जुन ठूला कम्पनीले मलाई कामको प्रस्ताव राखेका थिए, मैले तिनका बारेमा धेरै नै अध्ययन गरेँ । त्यहाँ काम गरिरहेका कर्मचारीहरुसँग पनि कुराकानी गरेँ । एक जना महिला कर्मचारीलाई जब मैले घर र कार्यालयको सन्तुलनका बारेमा सोधेँ, उनी रुन थालिन्,’ उनले लामो श्वास तान्दै भनिन्, ‘हेर्दाका राम्रा र ठूला कम्पनीमा बढी दुःख छ, बढी पैसा छ तर बढी तनाव पनि छन् । त्यहाँ काम गर्नु भनेको घर र कामलाई सन्तुलनमा ल्याउन ज्यादै गाह्रो छ । त्यसैले सानो आकारको कम्पनीमा तनाव पनि सानै हुन्छ ।’
आत्महत्यासम्म रोज्छन् कर्मचारी
जापानमा काम गर्ने अवधि बढी छ । उनीहरु आफू कम्पनीप्रति इमान्दार छु भन्ने देखाउनका लागि बढीभन्दा बढी काम गर्न बाध्य छन् । यसका लागि उनीहरुले अतिरिक्त रकम पनि पाउँदैनन् । खासगरी यस्तो कार्यका लागि ओभरटाइम मानिन्छ र त्यसको अतिरिक्त रकम पनि पाइन्छ तर कयौँ कम्पनीले ओभरटाइमको पैसा माग्नु भनेको कम्पनीप्रति इमान्दार नरहनु हो भन्ने अर्थ निकाल्छन् ।
त्यसैले जुन्कोले सानो कम्पनी छानिन् र उनले शुरुमै आफ्नो शर्तमा मात्र काम गर्न मनाइन् । कम्पनीले सातामा १५ घण्टा भन्दा बढी ओभर टाइम खट्नु नपर्ने कुरामा सहमति जनाएको छ जबकि अन्य कम्पनीले उनलाई ६० घण्टा भन्दा बढी समयका लागि मानसिक रुपमा तयार रहन भनेको थिए ।
कामको तनाव र बढीभन्दा बढी कामका कारण कर्मचारी बिरामी पर्न थालेका छन् । बिरामी मात्र होइन, कयौँ कर्मचारी त कार्यालयको तनावका कारण आत्महत्यासमेत गर्न थालेका छन् । यस किसिमको आत्महत्यालाई जापानी भाषामा कारोसी भनिन्छ, यसको अर्थ हो, आवश्यकताभन्दा बढी कामका कारण हुने मृत्यु । कयौँ अवस्थामा त कर्मचारीले महिनौँसम्म कयौँ घण्टासम्म ‘सर्भिस ओभरटाइम’ गर्नुपर्छ र सोही मिहिनेतका कारण उनीहरु मानसिक र शारीरिक रुपमा रोगी हुन थाले ।
सल्ज भन्छन्, कर्मचारीको उत्पादकत्व बढ्नु पर्छ । पछिल्ला एक वर्षमा कर्मचारीहरुले देखाएका छन्, काम गर्नका लागि पाँचै दिन खटिनुपर्छ भन्ने छैन । कार्यालयको डेस्कमै पुगेपछि मात्र काम बन्छ भन्ने मानसिकता पनि परिवर्तन भइरहेको देखिन्छ । सबैभन्दा ठूलो खतरा त अब के छ भने कतै यी कम्पनीहरु पुरानै ढर्रामा फर्कने त हैनन् ! जुन कम्पनीले त्यस्तो गल्ती गर्दैनन्, तिनले फाइदा नै फाइदा हात पार्नेछन् ।’
टोक्योबाट जुलियन रेयाल



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

