पश्चिमी व्यापारिक संसार उपभोक्ताको खोजीमा अन्य विकासोन्मुख मुलुकहरुमा जस्तै नेपालको कुनाकुनामा प्रवेश गरिरहेको छ । पश्चिमी जीवनशैली तथा संस्कृतिको अन्ध अनुसरणलाई विशेषगरी एसियाली तथा अफ्रिकि मुलुकका उपभोक्ताहरुले गर्वको रुपमा स्वीकार गरिरहेका छन् । यस किसिमको नक्कलबाट आफूले के पाइरहेको छु वा गुमाइरहेको छु भन्ने हेक्का राख्नसमेत उनीहरुले भ्याइरहेका हुँदैनन् । आधुनिक जीवन शैलीको पपुलर टे्रड मार्क बोकेर संसारभर फैलिरहेका पश्चिमी मोडलका खानपानहरु अहिले नसर्ने रोगका एउटा प्रमुख कारकका रुपमा देखापरिरहेका छन् । यस्ता स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लािग अहिले फेरि पश्चिमी शैलीकै औषधीको भर पर्नु परिरहेको छ ।

पश्चिमी शैलीका हल्का पेय पदार्थहरू अहिले हाम्रो गाउँघरमा छ्यापछ्याप्ती रुपमा पाइन थालेका छन् । ग्रामीण क्षेत्रका साना व्यापारिक स्थानहरुमा मात्रै होइन, समुदायको सानो एकाई परिवारमा समेत हल्का पेय पदार्थहरुले आफ्नो जग बसाइसकेका छन् । यस्ता बस्तुहरु अहिले हाम्रो समाजका लागि स्वीकार्य मात्र होइन, शान, मान र सगुन सामग्री नै बनिसकेको देखिन्छ ।

आधुनिक जीवन शैली अपनाउने लहडमा अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा नाकमा ठुस्स पिरो धुवाँको मुश्लो छोड्ने र पेटलाई ढुस्स पार्ने बजारिया पेय पदार्थको स्वादमा लट्ठ पारिरहेका छन् । ग्रामीण क्षेत्रका कतिपय मानिसहरुले दूध, दही जस्ता पोषिला पेय पदार्थ बेचेर विभिन्न ब्राण्डका पेय पदार्थ सेवन गरिरहेको देखिन्छ । यी पेय पदार्थहरुले मोही, सर्वत जस्ता नेपाली शैलीका कैयौं पेय पदार्थलाई विस्थापन गर्दै लगिरहेका पनि छन् ।

अति गुलिया र रसायन मिसिएका यी पदार्थका कारण भविष्यमा उपभोक्ताहरुको दाँत, पेट, हाड जोर्नीलगायत शरीरका अन्य अङ्गहरुमा कति किसिमका रोगहरुले घर बनाउँछ भन्ने कुरा सायद उनीहरुले कल्पना पनि गरेका छैनन् ।

यी पेयहरुले मोटोपनलगायत अनेक किसिमका रोगहरु उत्पन्न गरेर समस्या सिर्जना गरिरहेको छ । जति जति यी पेयहरुको उपभोग बढ्दै जान्छ, त्यति त्यति नै तिनीहरुको सेवनबाट हुने स्वास्थ्य समस्याहरु पनि थपिदै जान्छन् । तर उपभोक्ताहरु के कारणले आफूलाई स्वास्थ्य समस्या भइरहेको छ भन्ने कुरा खुट्याउन सकिरहेका हुँदैनन् । बरु यस्ता पेय पदार्थहरुले स्वास्थ्यमा सकारात्मक परिवर्तनहरु ल्याएको भ्रम पार्ने विज्ञापनहरुका कारण उनीहरु त्यस्ता पेयले आफूलाई राम्रै गरिरहेको होला भन्ने विश्वासमा परिरहेका हुन्छन् । यसरी पिउँदा पिउँदै कतिपयलाई त नसालु पदार्थ जस्तै लत नै लागिसकेको हुन्छ । ठोस खाद्य वस्तुहरुको साटो पनि खाजा जस्तै गरेर यस्ता हल्का पेय वस्तुहरु खाने र कुपोषणले ग्रस्त हुने गरेको पनि पाइन्छ ।

चिसो झोलको बिगबिगी

प्रसिद्ध खेलाडीले आफ्नो सफलतापछि विभिन्न ब्राण्डका पेय पदार्थ घ्वाटघ्वाट पिएर आनन्द लिएको देखाउने टेलिभिजनको आकर्षक विज्ञापनले युवा युवतीहरुलाई हरेक खुसीमा यसै गर्न प्रेरित गरिरहेको हुन्छ । अर्धनग्न नर्तकीले डान्सवार वा डिस्को थेकमा पसिना पुछ्दै बोतलबाट हल्का पेय पिइरहेको देखेपछि यो पिउनै पर्ने पेय रहेछ भन्ने सन्देश युवा मस्तिष्कमा छाप बस्छ । गर्मी र तिर्खा लागेको बेला यस्तै पेय पदार्थहरु पिउनु उपयुक्त हुन्छ भन्ने विज्ञापनका सन्देशहरुले गर्दा आधुनिक जीवन शैली अपनाउनेहरु पानी र अन्य स्थानीय पेय पदार्थ जस्तोः मोही, कागती पानी पिउन नै बिर्सेका छन् । वास्तवमा उपभोक्तालाई आकर्षित गर्ने यस्ता चिसो झोलको विज्ञापनले हामीलाई झेल्ली गरिरहेको छ । यस्ता वस्तुहरुको प्रबद्र्धनले राज्यलाई केही न केही कर त अवश्य नै प्राप्त भएको होला तर नागरिकहरुको स्वास्थ्यमा कति असर गरिरहेको छ, यसले राष्ट्रिय उत्पादनमा कति क्षति पुर्याइरहेको छ भन्ने लेखाजोखा नै कसैले गरिरहेको छैन । अर्कोतर्फ त्यस्ता मानिसहरुको उपचारमा राज्यले कति रकम व्यहोर्नु परिरहेको छ भन्ने त राज्यको कुनै अङ्गले विचार पनि गरिरहेको छैन होला ।

बजारमा जताततै पाइने चिसो झोलहरु अहिले नेपालका त्यस्ता दुर्गम स्थानहरुमा पनि पुगेका छन् जहाँ दूधका पाकेट र औषधीहरु पनि पुग्न सकेका छैनन् । यी वस्तुहरुको तडकभडकयुक्त प्रचारप्रसार र पहुँचका कारण दुर्गम ग्रामीण क्षेत्रका मानिसहरुले पनि अहिले यी वस्तुहरुलाई फेसन र आधुनिकताको प्रतीकका रुपमा स्वीकार गरिरहेका छन् । हामीमध्ये अधिकांश उपभोक्तालाई ती चिसो झोलमा भएका तत्त्वहरु र तिनीहरुले शरीरलाई पार्ने हानिबारे कुनै जानकारी नै भएको हुँदैन ।

वास्तवमा यीे पेय पदार्थहरु रङ्ग, बास्ना, गुलियो अमिलो स्वाद घोलेर फिँज उठ्ने बनाई आकर्षक बोतलमा बन्द गरिएका चिसो झोलहरु हुन् र पानीको तुलनामा धेरै महँगा र हानिकारक हुन्छन् ।

यस्ता चिसो झोलमा चिनीको मात्र अति नै बढी हुन्छ । यस्ता झोलबाट प्राप्त हुने थप चिनी र यसमा हुने अन्य तत्त्वहरु आवश्यक नपर्ने मात्र होइनन् कि यी पदार्थहरु भविष्यमा विभिन्न स्वास्थ्य समस्याका कारण पनि बन्न सक्छन् । ती तत्त्वहरुले मानिसको हाड कमजोर हुने, शरीर मोटो पार्ने, दाँत खियाउने, र क्यान्सर जस्ता रोगहरु लगाउन सक्छन् । त्यसैले यस्ता चिसो झोलको सेवन गर्दा फाइदा त केही देखिन्न ।

सन् २०१३ मा अमेरिकन हार्ट एसोसिएसनले आयोजना गरेको सम्मेलनको वैज्ञानिक सत्रमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार सोडा वा कोल्ड ड्रिंक्सले विश्वभरिमा वर्षेनी १ लाख ८० हजार मानिसको मृत्यु हुने गरेको छ । चिनीले भरिपूर्ण हुने यस्ता कोल्ड ड्रिंक्स सेवन गर्नेमध्ये केहीमा क्यान्सर भएको समेत पाइएको छ । सो प्रतिवेदनमा सन् २०१० ग्लोबल बर्डेन अफ डिजिज स्टडीअन्तर्गतको तथ्याङ्क प्रस्तुत गरिएको थियो । सोअनुसार कोल्ड ड्रिंक्स सेवन गर्नेहरुमध्ये १ लाख ३३ हजारको मृत्यु मधुमेहले भएको थियो भने ४४ हजारको मृत्यु मुटु रोगले भएको थियो । त्यस्तैगरी ६ हजारको मृत्यु क्यान्सरले भएको उल्लेख गरिएको छ । यसको मुख्य कारक तत्त्वचाहिँ धेरै चिनी भएको कोल्ड ड्रिंक्स नै भएको दाबी गरिएको छ । (http://newsroom.heart.org/news/180-000-deaths-worldwide-may-be-associated-with-sugary-soft-drinks)

यस्तै गरी अमेरिकामा निकै लोकप्रिय मानिएको र नेपालमा पनि राम्रो बजार लिइरहेको एक कोल्ड ड्रिंक्सको अध्ययन गर्दा यसमा पनि क्यान्सर पैदा गर्ने तत्त्व मापदण्डभन्दा निकै बढी भएको पाइएको तथ्य हालै सार्वजनिक गरिएको छ । यसले हाल अमेरिकामा निकै चर्चा पाइएको छ । वातावरण वाचडग द सेन्टर फर इन्भाइरमेन्ट हेल्थले सो पेय पदार्थलाई रङ्गयुक्त बनाउन उपयोग गरिने रसायन तोकिएभन्दा निकै बढी भएको र यसमा क्यान्सर उत्पन्न गर्ने तत्त्व पाइएको हालै सार्वजनिक गरेको छ । (http://www.globalhealingcenter.com/american-trends/soft-drinks-america)

पोषणविद् डा. अरुणा र लक्ष्मण अधिकारी आफ्नो पुस्तक ‘खाना खानुभयो ? का साथ ।

अमेरिकामा त्यसअघि पनि यस किसिमका मुद्दा उठाइएको थियो । अमेरिकाकै क्यालिफोर्नियामा पेय पदार्थमा कार्सिनोजेनको मात्रा तोकी मापदण्ड निर्धारण गरिएपछि अमेरिकाका दुईवटा प्रसिद्ध पेय पदार्थ उत्पादक कम्पनीहरुले सन् २०१२ को मार्चमा आफ्ना उत्पादन फर्मुला परिवर्तन गरी सुधार गर्ने प्रतिबद्धता गरेका थिए । तर अध्ययन गर्दा ती उत्पादक कम्पनीले प्रतिबद्धताअनुसार आफ्नो कोल्ड ड्रिंक्समा कुनै परिवर्तन नगरेको वातावरण वाचडग समूहले जानकारी दिएको थियो । वातावरण वाचडग समूहका अनुसार क्यालिफोर्नियामा उक्त पेयको फर्मूलामा सुधार गरे पनि क्यालिफोर्निया बाहिर भने कुनै सुधार गरेको थिएन । (http://www.cbsnews.com/news/chemical-found-in-cola-causes-cancer-watchdog-warns-what-does-fda-say/)

सो समूहले सार्वजनिक गरेको जानकारीअनुसार उक्त पेय पदार्थ रङ्गाउने रसायन फोरमिथाइलिमिडाजोल वा फोर–मेल उपयोग गरिएको छ । यो रसायन अधिकांश तयारी खाद्य पदार्थमा उपयोग गरिएको हुन्छ । निर्धारित मापदण्डभन्दा बढी भएमा त्यसले मानव स्वास्थ्यमा विभिन्न किसिमका असर पार्छ ।

सन् १९६९ मा जाम्बियामा एउटा ठूलै घटना भयो । त्यहाँका थुप्रै आमाहरुले स्तनपानभन्दा कोल्डड्रिंक्स उत्तम हो भन्ने ठानेर आफ्ना बालबच्चाहरुलाई बजारका प्रचलित कोल्ड ड्रिंक्सहरु खुवाए । यसरी आमाको दूधको सट्टा कोल्डड्रिंक्स खाने धेरै बालबच्चाहरु कुपोषणका कारण अस्पताल भर्ना हुन पुगे । यसरी अस्पताल भर्ना भएकामध्ये ५४ प्रतिशत बालबच्चाहरुलाई गुलियो पारिएका पेय पदार्थ खुवाइएको पत्ता लागेको थियो । त्यसरी कुपोषित भएका बच्चाहरुलाई फान्टा वेवी (Fanta Baby) नामाकरण गरिएको थियो । (http://everything2.com/title/Fantababy)

हालै भएको एक अध्ययनअनुसार प्रत्येक दिन चिनीबाट गुलियो पारिएको एक बोतल सोडा खाने हो भने यसले टाइप २ डायविटिजको खतरा २२ प्रतिशतले वृद्धि गर्छ । डायट एण्ड ड्रिंक ह्याविट्सका विषयमा १५ वर्षभन्दा बढी समयदेखि सोडा पिउने बानी भएका बेलायत, जर्मनी, डेनमार्क, इटली, स्वेडेन, फ्रान्स, स्पेन र नेदरल्याण्डका २८ हजार ५ सय व्यक्तिसँग सर्वेक्षण गरी डायवेटोलोजियामा उक्त अध्ययन प्रतिवेदन प्रकाशित भएको हो । महिनामा एक बोतल वा सोभन्दा कम सोडा खानेको भन्दा दैनिक ३५० मिली लिटर खानेलाई डायविटजको सम्भावना बढी देखिएको हो । चिनी राखिएको पेय भन्नाले सोडा मात्र होइन चिनी राखेर गुलियो बनाइएका जुसहरु पनि पर्छन् । सामान्यतया बजारमा पाइने फ्रुट जुसहरुमा फलफुलको रस नभई चिनीको झोल र फलफूलको बास्ना मात्र राखिएको हुन्छ । चिनीयुक्त सोडा तथा कोल्ड ड्रिंक्सहरु, चिनी मिसाएर बनाइएका फ्रुट जुस, इनर्जी ड्रिंक्स, गुलिया चियाहरु तथा अन्य चिनीयुक्त ड्रिंक्सहरु सकेसम्म नखान सुझाव दिएको छ । ३५० मिली लिटर सोडा वा कोल्ड ड्रिंक्समा करिव १५० क्यालोरी र ४० ग्राम कार्बोहाइड्रेट हुन्छ । यो भनेको १० चिया चम्चा चिनीको कार्वोहाइड्रेड बराबर हो । एक कप चिनीयुक्त फ्रुट जुसमा करिव १०० क्यालोरीभन्दा बढी र ३० ग्राम जति कार्वोहाइड्रेट हुन्छ ।

यिनले रगतमा गुलकोजको मात्रा बढाउनका साथै शरीरमा क्यालोरीको मात्रा पनि बढाउँछन् र मुटु रोग र डायविटजको सम्भावना बढाउँछन् । (http://www.diabetes.org/food-and-fitness/food/what-can-i-eat/making-healthy-food-choices/what-can-i-drink.html?referrer=https://www.google.com.np/)

अमेरिकन डायवेटिक एसोसिएसन र अमेरिकन हार्ट एसोसिएसन दुवैले चिनी भएको सोडाको हाल भइरहेको उपभोग घटाउन आग्रह गरेका छन् । अमेरिकन डायविटिज एसोसिएसन भन्छ, डायविटिजको सन्दर्भमा कुरा गर्दा सबैभन्दा महत्त्वपूर्ण कुरा खाना नै हो । साथै शरीरको तौल बढाउन र रगतमा ग्लुकोजको मात्रा बढाउनका लागि पेय पदार्थको भूमिका पनि उत्तिकै हुन्छ । सो एसोसिएसनले यदि डायविटिज भइसकेको छ वा हुने जोखिम छ भने पिउनका लागि पानी, विनाचिनीको चिया, कफी, वा अरु कुनै कम क्यालोरी भएको पेयपदार्थ मात्र पिउन सुझाव दिएको छ । पिउनका लागि चिनी नभएको कागतीपानी पनि उपयुक्त हुने सुझाव छ ।

कोल्ड ड्रिंक्समा हुने हानिकारक तत्वहरु

चिसो पेय पदार्थहरुमा स्वास्थ्यलाई हानि गर्ने विभिन्न तत्त्वहरु पाइएका छन् । यी झोलहरुमा स्फूर्तिदायक तत्त्वहरु र लत बसाउने तत्त्वहरु पनि हुन्छन् । ती तत्त्वहरुले हाम्रो स्वास्थ्यमा दीर्घकालीन रुपमा विभिन्न असरहरु पार्छन् ।
केटाकेटीहरुलाई यस्तो पेय पदार्थ दिँदा यी झोलहरुमा हुने चिनीले मोटो बनाउँछ । चिसो झोलमा फोस्फोरिक अम्ल धेरै मात्रामा हुन्छ र यस अम्लले केटाकेटीको हाडलाई कमजोर पार्न सक्ने अनुमान छ ।

क्याफिन

सबैजसो कोलायुुक्त चिसो झोलहरुमा राखिएको क्याफिनले झोललाई वास्नादार बनाउँछ ।

क्याफिन केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित गराउने र लत लगाउने तत्त्व हो । यसले कृत्रिम रुपमा शरीरलाई उत्तेजित गराउँछ र हृदयगति बढाउँछ । यस्तो उत्तेजित अवस्थामा स्मरणशक्ति बढेको, स्फूर्ति बढेको, र थकाई मेटिएको अनुभव हुन्छ । तर यस्तो अवस्था क्षणीक हुन्छ ।

शारीरिक कसरतपछि चिसो पेय पदार्थ पिउँदा शरीरमा क्यालल्सियम र पोटासियमको कमी हुन्छ । फलतः मांशपेशीहरु सुन्निन सक्छन् र कसरतपछि यथास्थितिमा फर्कन धेरै समय लाग्दछ । (https://www.sharecare.com/health/non-alcoholic-drinking/is-soda-good-sports-drink)

यतिमात्र होइन, चिसो पेय पदार्थमा हुने क्याफिन र चिनी दुवैले क्याल्सियम नष्ट गर्ने र हाड खियाउने गर्दछन् । (http://www.webmd.com/osteoporosis/features/soda-osteoporosis)

अम्लहरु

चिसो झोलहरुलाई ताजा राख्न र चखिलो बनाउन साइटिक एसिड, फोस्फरिक एसिड र कहिलेकाहीँ म्यालिक र टारटारिक अम्लहरु राख्ने गरिन्छ । यी अम्लहरुले झोललाई सड्नबाट रोक्दछन् र मिठासलाई सन्तुलनमा राख्ने मद्दत्त गर्छ । अम्लहरुको कारणले नै चिसो झोल पिउँदा तिर्खा मेटिएको महसुस हुन्छ ।

चिसो झोलहरु पिउँदा माथि तैरिएका फोका तथा फिँजले नै आनन्द दिन्छ । यी फोका र फिँज फोस्फोरिक अम्ल र कार्वनडाइअक्साइडबीचको प्रतिक्रिया भएर बन्दछन् । यी तत्त्वहरुका कारणले पेट पोल्ने र घाउ हुने गर्दछ । फोस्फोरिक अम्ललाई क्रोम धातुको खिया र मोटरको ब्यार्टी सफा गर्न प्रयोग गरिन्छ । यो कुराले नै यो अम्ल निकै पोल्ने खालको छ भन्ने स्पष्ट गर्दछ । धातुको खिया पखाल्ने अम्लले हाम्रो शरीरको मासुलाई सजिलै पोल्न सक्दछ । (http://www.globalhealingcenter.com/american-trends/soft-drinks-america)

सन् १९९३ मा बेलायतमा गरिएको बाल दन्त स्वास्थ्य सर्वेक्षणमा नियमित रुपमा चिसो झोल सेवन गर्ने २० प्रतिशत बालबालिकाको दन्तपालिस पखालिएको देखियो । दन्तपालिस पाखालिनु भनेको दाँत सिरिङ्ग हुने या कुँडिएको अवस्था हो । चिनी भएको अम्लीय चिसो झोल पिउनासाथ दाँत माझ्नाले दाँतको भित्री भाग पनि कोतरिन्छ ।

वाष्पित पानी

चिसो झोल भनेको बास्ना, गुलियो स्वादलगायत फिँजहरु आउने ग्यासहरु राखिएको पानी हो । चिसो झोल सेवन गर्नेहरुको पिसावबाट ठूलो परिमाणमा म्याग्नेसियम, क्याल्सीयम र अन्य अदृश्य खनिजहरु निस्काशन हुने गरेको अध्ययनमा पाइएको छ । शरीरबाट जति बढी खनिजको निष्कासन हुन्छ त्यति नै बढी हाड कमजोर हुने (Osteoporosis), हड्डी वाथ सूजन हुने (Osteoarthritis), थाइराइड ग्रन्थीका कमजोरी (Hypothyroidism), मुटुको धमनीका रोगहरु (Coroanary Artery Disease), उच्च रक्तचाप र सामान्यतया प्रौढावस्थामा देखिने गडबढीहरु जस्ता स्वास्थ्य समस्याहरु को जोखिम सामना गर्नुपर्ने हुन्छ ।

कृत्रिम बास्ना

चिसो झोलहरुबाट आउने बास्नाहरु सबै कृत्रिम हुन्छन् । टारटजिन नामक रङ्गले सुन्तले पहेँलो रङ्ग दिन्छ । यो रङ्गले छालामा डाबर उठ्ने, नाकबाट पानी बग्ने र आँखा रातो हुने जस्ता एलर्जी हुनसक्छ । यसलाई क्यान्सरको सम्भावित कारक पनि मानिएको छ ।

धेरैजसो चिसो झोलहरुमा सोडियम पनि राखिएको हुन्छ । डाइट सोडामा सोडियमको परिमाण ज्यादा हुन्छ । १८० मिलिडाइट सोडामा ३१ मिलिग्राम सोडियमको परिमाण भेटिएको छ । यसरी सोडियम बढी हुँदा शरीरमा अनेक प्रकारका स्वास्थ्य समस्या हुन्छन् । (http://www.hsph.harvard.edu/nutritionsource/healthy-drinks/soft-drinks-and-disease/)

चिनी 

चिनी सबै चिसो झोलहरुमा पाइने एक प्रमुख तत्त्व हो । यसमा धेरैमात्रामा फ्रक्टोज वर्गको चिनी वा त्यस्तै विभिन्न स्वादहरु मिस्रित तरल पदार्थहरु राखिएको हुन्छ । अधिकांश चिसो झोलमा ४ देखि १५ चिया चम्चासम्म चिनी घोलिएको हुन्छ । वर्तमान पुस्ताका केटाकेटीको दाँतमा समस्या सिर्जना गर्ने प्रमुख तत्त्वका रुपमा चिनी रहेको छ । त्यस्तैगरी चिनीले मानिसहरुमा मधुमेहको जोखिम बढाउँछ । साथै हृदय रोग, अपच, छालाका समस्या तथा अन्य घातक रोगहरुको वृद्धि गर्नका लागि चिनी प्रमुख सहयोगीका रुपमा रहेको छ ।

एक चियाचम्चा चिनीले १६ क्यालोरी शक्ति पैदा गर्दछ । यदि १५ चम्चा चिनी भएको कुनै झोल पिएमा त्यसबाट २ सय ४० क्यालोरी अर्थात् ५ चम्चा नौनी खाए बराबरको क्यालोरी उत्पन्न हुन्छ । बढी क्यालोरीयुक्त खाद्य वस्तुले अन्तत शरीरको तौल वृद्धि गर्न सहयोग गर्छ ।

विश्व स्वास्थ्य संघले हालै प्रकाशन गरेको बुलेटिन (Bull World Health Organ 2016;94:239–240) अनुसार चिनी मिसाइएका पेय पदार्थको उपभोग अहिले विश्वमा नै बढिरहेको छ । विगत पाँच वर्षयताको अध्ययन गर्दा खानासँग सम्बन्धित रोगहरु जस्तोः टाइप २ डायविटिज र अधिक मोटोपनको वृद्धिको एउटा मुख्य कारक तत्त्व यिनै गुलिया पेय पदार्थ भएको पाइएको छ । म्याक्सिकोमा गरिएको अध्ययन अनुसार त्यहाँ गुलिया पेय पदार्थहरू वयस्क र केटाकेटीहरुको इनर्जीको प्रमुख श्रोत हुन् । विशेष गरी सुरक्षित पिउने पानी नपाइने धेरै समुदायमा यो समस्या देखिन्छ । मेक्सिकोका वयस्कहरुमा सन् २०१० देखि २०१४ मा केही मात्रामा वृद्धि भएको पाइएको छ । नसर्ने रोगहरु सम्बन्धी २०१४ को ग्लोवल रिपोर्टमा यसबारेमा उल्लेख गरिएको छ । यो वृद्धि अनुसन्धानमा समावेश गरिएका अन्य ३४ देशको भन्दा बढी हो ।

यसै कारणले गर्दा पनि मेक्सिकोको कँग्रेसले चिनीको गुलियो भएका पेयपदार्थमा ‘सोडा ट्याक्स’ भनेर नयाँ कर लगाउने कानुन पास गरेको छ । मूल्य वृद्धि भएपछि यसको खरिद तथा उपभोग कम हुन्छ भन्ने अपेक्षाले यसो गरिएको थियो । यसरी ट्याक्स लगाएपछि पेय पदार्थको खरिदमा ६ देखि १२ प्रतिशतसम्म गिरावट आएको पाइयो । यसमा गरिबहरुले खरिद गर्ने क्रमचाहिँ ९ प्रतिशतले कम भएको थियो । साथै पानी र ट्याक्स नबढाइएका पेयको खरिद भने ४ प्रतिशतले वृद्धि भएको थियो ।

अनुसन्धानकर्ताहरुले यो नयाँ नियमले गरिबहरुको स्वास्थ्यचाहिँ राम्रो हुने बताएका छन् । सोडा ट्याक्स टाइप २ डायविटिज र अति मोटोपन घटाउनका लागि ल्याइएको एउटा विस्तृत रणनीति हो । मेक्सिकोका अनुसन्धान अधिकृतहरुले यदि सोडा ट्याक्सलाई कायम राख्ने हो भने सन् २०५० सम्ममा डायविटिजका करिब चार लाख केसहरु कम हुन जाने अनुमान गरिएको छ । मेक्सिको सोडा ट्याक्स अहिले अमेरिकी क्षेत्रमा नै एउटा मार्ग दर्शक बनेको छ । बारबाडोसले गत वर्ष चिनीद्वारा गुलियो पारिएको पेय पदार्थमा १० प्रतिशत ट्याक्स लगाएको छ र स्वास्थ्यमा थप लगानी गर्ने योजना बनाएको छ । यस्तै डोमेनिकनले पनि यस्तै चिनीयुक्त पेय पदार्थ र चुइङगममा १० प्रतिशत कर लगाएको छ । चिलीले प्रति एक सय एमएलमा ६.२५ ग्रामभन्दा बढी चिनी भएका पेय पदार्थमा १८ प्रतिशत कर लगाएको छ ।

न्युयोर्क युनिभर्सिटीका अध्ययनकर्ता तथा फुड स्टडी एवं पब्लिक हेल्थका प्रोफेसर नेस्टलेका अनुसार अहिले अत्यन्तै प्रभावकारी मार्केटिङबाट यस्ता पेय पदार्थ उपभोक्तालाई किन्न बाध्य पार्ने गरिएको छ । उत्पादकहरुले अहिले ठूलो धनराशी मार्केटिङमा खर्च गरिरहेका छन् जुन अन्तत उपभोक्ताले नै व्यहोर्नु परिरहेको हुन्छ । यस्ता खाद्य पदार्थका उत्पादकहरुले अहिले कम र मध्यम स्तरको आम्दानी भएका देशहरुमा यस्ता वस्तुहरको बिक्री वृद्धि गर्ने लक्ष्यका साथ आक्रामक बजारीकरण गरिरहेका छन् । यी देशहरुमा बढी नाफा कमाउन सकिने उनीहरुले देखेका छन् । प्रो नेस्टलेका अनुसार अहिले ती देशका केटाकेटीहरुलाई बढी लक्ष्य बनाइएको छ ।

विश्व स्वास्थ्य संघका पोषणसम्बन्धी निर्देशक डा. फ्रान्सिस्को ब्रान्का भन्छन्, सोडा ट्याक्स अचुक मार हान्ने चाँदीको गोली जस्तो होइन, धेरै उपायहरुमध्ये यो एउटा उपाय मात्र हो । सन्तुलित खाना प्रवद्र्धनका लागि अनेक उपायहरु छन् । विश्व स्वास्थ्य संघले यसका लागि अन्य मूल्य रणनीति पनि सिफारिस गरेको छ । जस्तो स्वस्थ एवं सन्तुलित खानाका लागि कम ट्याक्स लगाउने तथा अनुदान दिने गर्न सकिन्छ ।

सन् २०११ मा हङ्गेरी फ्रान्सले पनि गुलिया र कृत्रिम गुलियो प्रयोग गरिएका जुसलगायतका पेय पदार्थमा ट्याक्स लगाएका छन् । यसको प्रभाव स्वरुप धेरै वर्षपछि फ्रान्समा सन् २०१२ मा सोडाको बिक्रीमा कमी भएको पाइएको थियो ।

एक अध्ययनअनुसार सन् २०१४ मा विश्वका पाँच वर्षमुनिका करिब चार करोड १० लाख बालबालिका अति तौल भएका वा बढी तौल भएका पाइएका थिए ।

यस सन्दर्भमा ओम अस्पतालका अध्यक्ष डा. भोला रिजालले नयाँ पत्रिका दैनिकलाई दिएको अन्तर्वार्ताको एउटा अंश (२०७२ चैत्र ११ गते) निकै सान्दर्भिक छ ।

उहाँ भन्नुहुन्छ – धेरै कोल्ड ड्रिंक्सले स्वास्थ्य बिग्रियो

०२५ देखि ०४४ सालसम्म ७२ किलो वेट थियो । तर, ०४४ सालमा एकै महिनाको अन्तरमा ७८ किलो पुग्यो । धेरै कोल्ड ड्रिंक्स पिउँदा एक्कासी मोटोपन बढेको थियो । त्यतिखेर एमबिबिएसको इन्ट्रान्सलाई फेयर बनाउने भनेर हामीहरु १२-१५ दिनसम्म त्रिवि शिक्षण अस्पतालभित्रै रहेर काम गर्यौँ । प्रश्नपत्र निकाल्दादेखि रिजल्ट आउट नगर्दासम्म बाहिर निस्किएनौँ । त्यतिबेला मैले पानीको सट्टा कोल्ड ड्रिंक्स लिएँ । तरल पदार्थ धेरै पिउनुपर्ने म बाहिरको पानी पिउँदिनथेँ । घरबाट ल्याउन सम्भव हुने कुरै भएन । पानीको प्यास कोल्ड ड्रिंक्सले मेट्दा शरीरको तौल ह्वात्तै बढ्यो । स्वास्थ्यप्रति कन्सस हुँदाहुँदै पनि ०४४ सालमा गरेको यो काम सबैभन्दा ठूलो गल्ती भयो । ढाडको कमजोरीका कारण तौल घटाउन पनि सक्ने अवस्था रहेन ।

अमेरिकिहरु चिसो पेय पदार्थहरु असाध्य पिउने गर्छन् र उनीहरुको शरीरको तौल बढी हुनुको एउटा प्रमुख कारण अत्याधिक चिनीको मात्रा भएका यस्तै पेय पदार्थलाई मानिएको छ । यसै कारण कहिलेकहीं त्यहाँ यस्ता पदार्थ बिक्रीका लागि नियन्त्रणको प्रयास पनि गरेको देखिन्छ । तर त्यहाँका कतिपय मानिसहरुलाई यस्ता पेय पदार्थको लत नै लागेकाले यस्तो निर्णयको तुरुन्तै प्रतिवाद पनि गरेको देखिन्छ ।

अमेरिकाको न्यूयोर्क सहरमा आधाभन्दा बढी मानिस अत्यधिक मोटोपनको शिकार छन् । यसै कारणले न्यूयोर्कका मेयरले सन् २०१२ मा त्यहाँ समस्याको रुपमा देखापरेको अत्यधिक मोटोपनलाई घटाउने प्रयासस्वरुप कोकाकोला, पेप्सीलगायत चिनी भएका अन्य चिसो पेय पदार्थका ठूला बोतलको सट्टा साना बोतल (१८औंसको सट्टामा १६औंस/अर्थात 473ml) मात्र बेच्न पाउने निर्णय गर्न खोजेका थिए । त्यसको उद्देश्य समस्याको रुपमा रहेको “अत्यधिक मोटोपन”लाई घटाउनु नै थियो ।

तर न्यूयोर्ककै केही बासिन्दाहरुले चाहिँ यसको खुलेर विरोध गरे । आफूलाई चाहिएको साइजमा यस्ता पेय पदार्थ खरिद गर्न पाउनु आफ्नो अधिकार भएको भन्दै प्रतिवाद गरे । उनीहरुले कोक, पेप्सी वा अरु पेय वस्तु आफूलाई चाहेजति उपभोग गर्न पाउनु हक भएको तर्क प्रस्तुत गरे । यसै सन्दर्भमा उनीहरुले भने “यस्तो पेय पदार्थले दाँतमा नराम्रो असर त गर्छ तर ३ घण्टासम्म सिनेमा हलमा बस्ता हामीलाई प्यास लाग्दा त्यसबेला के गर्ने त ? प्यास लाग्दा कोक पेप्सीजस्ता पेय वस्तु नै खाने उनीहरुलाई बानी नै परिसकेको । यस्तै बानीले गर्दा कतिपयमा त छोड्नै नसक्ने लत नै बसेको छ । (http://www.nytimes.com/2015/10/04/upshot/soda-industry-struggles-as-consumer-tastes-change.html?_r=0)

कतिपय पेय पदार्थलाई रक्सी जस्तै लत लाग्ने पेय पनि भनिन्छ । यस्ता लत लागेर समस्या परेका मानिसहरुको बारेमा बेला बेलामा विश्वसञ्चार माध्यममा समाचारहरु आइरहेको देखिन्छ ।

जाक्की वालन त्यस्तै एक महिला हुन् । बेलायतबाट प्रकाशित सन प्रत्रिकालाई उनले दिएको जानकारीअनुसार उनी प्रत्येक दिन ८ लिटर डाइट कोक पिउँछिन् । यदि ४० मिनेटभन्दा बढी समयसम्म कोक पिउन पाइनन् भने उनको टाउको दुख्न सुरु हुन्छ । कोकाकोलाका लागि मात्र उनी वार्षिक करिब ४ हजार ५ सय डलर खर्च गर्न बाध्य छिन् । उनी यो डाइट कोकको बानी छोड्न त चाहन्छिन् तर सकिरहेकि छैनन् । उनकै अनुसार उनलाई यो लत छुटाउनका लागि विशेषज्ञको आवश्यकता महशुस भएको छ ।

यस्तैगरी सन् २०१० मा न्यूजिल्याण्डकी ३१ वर्षीय महिला नताशा ह्यारिनको मुटुको चाल खराब भएर मृत्यु भयो । एबिसि न्युजका अनुसार उनको मृत्युको प्रमुख कारण अति धूमपान र अति बढी कोल्ड ड्रिंक्सको सेवन मानिएको छ । उनका नजिकका साथीहरुले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार “नताशाले कोक पिउन नपाउँदा उनी काँप्न सुरु गर्थिन् । उनको टाउको दुख्न सुरु हुन्थ्यो । उनलाई रक्सीको जस्तै लत लागेको थियो । समस्याका कारण नताशाका सबै दाँत मृत्युभन्दा धेरै वर्ष अगाडि नै झिकिसकिएको थियो र यसको मुख्य कारण यस्तै चिसो झोल पदार्थको अत्याधिक प्रयोग मानिएको थियो । (http://www.bbc.com/news/world-asia-21423499)

चिसो झोलः दाँतको दुश्मन

गुलियो र अमिलो भएको चिसो झोलले दाँतको पालिस (Enamel) पखाल्छ । अम्लले मात्र दाँतको पालिस पखालिने होइन, गुलियोको कारणले पनि दाँतको पालिस पखालिने अवस्था बन्छ । हामीले खाएको गुलियोबाट दाँतमा र मुखमा रहेका किटाणुहरुले अम्लीय पदार्थ उत्पन्न गर्दछन् ।

यी पेय वस्तुबाट दाँतसम्बन्धी विशेष गरी दुई प्रकारका समस्याहरु बढी देखिएका छन् । दाँतमा प्वाल (Dental Caries) पार्ने र दन्त हर्ष (Gingivitis) । हाल आएर दाँतको क्षय हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरुले बताएका छन् ।

“बट्टामा राखेको फलफूलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पर्छ । त्यसैले बट्टाको फलफूलको रस किन्नुभन्दा फलफूल नै स्वास्थको लागि धेरै राम्रो हुन्छ । यो सस्तो पनि पर्छ ।”, वरिष्ठ दन्त चिकित्सक डा. सुशील कोइराला ।

विशेष गरी चिसो झोलहरुमा भएका अम्लीय तत्त्वहरुलाई हाल दन्तक्षयको कारक मानिएको छ । (http://www.healthline.com/health/dental-oral-health/what-does-soda-do-to-your-teeth)

सुरुमा दाँतको बाहिरी पालिसको पत्र खिइदै दाँतको क्षय हुन थाल्दछ र पछि दाँतको बीचको पत्र (Dentine) मा पुग्दछ र अन्त्यमा दाँतको सबैभन्दा भित्री पत्र (Inner Pulp) मा हानी पुर्याउँछ । दाँतको पालिस खिइएपछि दाँतमा तातो, चिसो वा हावा पर्दा पनि सिरङ्ग हुने गर्दछ । यस्तो बेला दाँत कमजोर हुने, त्यसका किनारहरु सजिलै चोइटिने वा टुक्रिने हुन सक्छ ।

नेपालमा पनि यस्ता झोलहरुको बिक्री विभिन्न नामहरुबाट भइरहेको छ र दिन प्रतिदिन यसको व्यापार बढिरहेको छ । सहरदेखि ग्रामीण क्षेत्रसम्मका किराना पसल, भट्टी, चिया पसलहरुलगायत जताततै पाइन्छ । र जीवनशैलीको अभिन्न अङ्ग बनिरहेको देखिन थालेको छ । चाडपर्व र भोज भतेरहरुमा पनि शान, मान र स्वागतका लागि यस्तै झोलहरुको अत्यधित प्रयोग भइरहेको छ । यसले हाम्रो स्वास्थ्य मात्र होइन जीवनशैली र संस्कृतिलाई पनि विकृत बनाइरहेकोले यसको प्रयोगमा विचार गर्नेबेला भइसकेको छ ।

(यस आलेख डा. अरूणा उप्रेती र लक्ष्मण अधिकारीकाे अनुमतीमा प्रकाशित गरिएकाे हाे । यस अनुसन्धानात्मक आलेख उहाँहरूकाे पुस्तक ‘खाना खानुभयाे ?’ मा समेत सङ्ग्रहित छ ।)