[embedyt] https://www.youtube.com/watch?v=x2ZLS1V3iMw[/embedyt]

आयुर्वेद विशेषज्ञ डा. राजु अधिकारीले धेरैअघिदेखि कोक र पेप्सी पिउँदा स्वास्थ्यलाई पुर्याउने हानिका बारेमा सामाजिक सञ्जालमा लेख्दै बोल्दै आएका छन् ।

पछिल्लो समय फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले हालै आफ्नो अगाडिको टेबलबाट दुईवटा कोकको बोतल हटाउँदा कोकाकोला कम्पनीलाई ४ अर्ब अमेरिकी डलर घाटा भएको थियो।

डा. अधिकारीले कोक र पेप्सी पिउँदाका खराबीबारे धेरैअघिदेखि टिप्पणी गर्दै आइरहेका छन्ः

यसले अनियन्त्रित रूपमा मोटोपन बढाउँछ, उच्च रक्तचाप बढाउँछ, उच्च कोलेस्ट्रोल हुन्छ,
मधुमेह र हृदयरोगको सम्भावना उच्च बनाउँछ ।

यस्तै हृदयघात, अनिद्रा, मानसिक विक्षिप्तता, क्यान्सर, वंशाणु क्षय, ब्रेन ट्युमर तथा अस्टियोपोरेसिस आदि समस्या देखिन सक्छ ।

बर्मामा सन् १९६० ताका खुलेको कोकाकोला कम्पनीको सामग्री बेच्ने एक पसल

रेगुलर कोक–पेप्सीमा चिनीको मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यलाई मध्यनजर राख्दै ‘सुगर’ को बदला वैकल्पिक रासायनिक पदार्थ प्रयोग गरी ‘क्यालोरी फ्रि’ डायट पेय पदार्थ उत्पादनको सुरुआत भयो। प्रारम्भिक दिनमा शरीरको वजन नबढ्ने भएकाले ‘डायट कोक’ को खपत अत्यधिक बढ्यो। क्यालोरी फ्रि कोक खाँदा चिनी रोग नलाग्ने भएपछि ‘डायट’ पेयको खपत आकासिनु अस्वाभाविक भएन। नभन्दै डायट कोकको उत्पादनले कोकाकोला कम्पनीको राजस्व बढ्यो पनि।

रेगुलर कोकको तुलनामा र क्यालोरीविहीन ‘डायट कोक’ लाभदायक जस्तो देखिए पनि यथार्थ जीवनमा त्यस्तै हुन्छ/हुँदैन यथार्थ जनसमक्ष ल्याउनु वैज्ञानिकहरूको दायित्व रह्यो। अनुसन्धानकर्ताहरू सामान्य र क्यालोरी फ्रि पेय पदार्थले मानिसको स्वास्थमा पार्ने दीर्घकालीन प्रभाव अध्ययन गर्न थाले। लामो अध्ययनपछि गत हप्ता मात्र चिनीवाला र कृतिम गुलियोजन्य पेय सेवन गर्दा व्यक्तिको मुटुमा के/कस्तो असर पार्छ भन्ने आँकडा प्रकाशित भयो ‘जर्नल अफ द अमेरिकन कलेज अफ कार्डियोलोजी’ मा। एक लाख भन्दा अधिक मानिसमा गरिएको अध्ययनले कृतिम गुलियो हालेको र चिनीवाला पेय पदार्थ पिउने समूहमा मुटुसम्बन्धी रोगले समान हिसाबले सताएको देखियो। उक्त अध्ययनले मुटुको स्वास्थ्यका लागि रेगुलर र डायट कोक दुवै उत्तिकै खराब देखायो।

प्राध्यापक फ्र्याङ्क ह्युको समूहले रेगुलर र वैकल्पिक केमिकलले गुलियो बनाएको डायट पेय पदार्थ सेवन गर्ने दुई विपरित समूहको दीर्घकालीन स्वास्थ्यलाई तुलना गरेर एउटा अनुसन्धान प्रकाशित गरे ‘अमेरिकी हर्ट एसोसियसन’ स्वामित्वको पत्रिका ‘सर्कुलेसन’ मा। झण्डै ३ दशकको अवधिमा मरेका ३७ हजार पुरुष र ८० हजार महिलाको मृत्युको कारण र उनीहरूले सेवन गर्ने गरेका पेय पदार्थको प्रकृति तथा परिमाणलाई सूक्ष्म अध्ययन गरियो उक्त अनुसन्धानमा। विश्लेषण गर्दा दैनिक २ खोराक कोल्ड ड्रिङ्क्स सेवन गर्ने महिला पेय पदार्थ नखाने स्त्रीको तुलनामा अल्पायुमा मर्ने संभावना झण्डै ६३ प्रतिशतले बढेको देखियो। के महिला र पुरुषको मरणमा सफ्ट ड्रिङ्क्सले पार्ने प्रभाव फरक फरक हुन्छ त भनी हेर्दा अनौठो परिणाम देखियो। दैनिक दुई खोराक ‘सफ्ट ड्रिङ्क्स’ पिउने लोग्ने मानिस पेय पदार्थ नखाने पुरुषको तुलनामा अल्पायुमा मर्ने संभावना २९ प्रतिशतले बढेको देखायो। समान मात्रामा ‘कोल्ड ड्रिङ्क्स’ पिए पनि महिला र पुरुषको अल्पायुमा मर्ने अनुपात किन फरक भयो त भन्ने सम्बन्धमा भने उक्त अनुसन्धानले ठोस जवाफ दिन सकेन। तर उक्त अन्वेषणले कोक–पेप्सी जस्ता पेय पदार्थको प्रयोगले अल्पायुमा मर्ने संभावना बढाउँछ भन्ने स्पष्ट सन्देश दियो।

डा. सुभाष पोखरेलका अनुसार मानिसलाई कुनै पनि खाद्यान्नप्रति आकर्षित बनाउन जिब्राको स्वाद र मानसिक आशक्तिको भूमिका हुन्छ। दिमागमा पैदा हुने ‘डोपामिन’ र जिब्रामा रहेका झण्डै १० हजार ‘टेस्ट बड’ ले मानिसलाई खानाप्रति इच्छा जगाउने हो। प्रत्येक २ हप्तामा टेस्ट बडहरू फेरिने भएकाले १५ दिन कुनै वस्तु नखाइ बस्यो भने उक्त खाद्यान्नप्रति व्यक्तिको रुचि कम हुँदै गई अन्त्यमा खान्कीको आदत छाड्न सफल हुन्छ भन्छन् इमोरी विश्वविद्यालय एटलान्टाका प्राध्यापक स्यारोन बर्गक्बेस्ट। डा. बर्गक्बेस्टले दिएको २ हप्ते आहार परिवर्तनको सल्लाह पालन गर्ने हो भने कोल्ड ड्रिङ्क्स मात्र होइन, सोमरसलगायतका कुनै पनि खानकीको लत सजिलै छोड्न सक्ने देखियो। कोल्ड ड्रिङ्क्सको आदत स्वास्थ्यका लागि हानिकारक देखिएकाले कोक र फेन्टाको साटो स्वच्छ पानी पिउने बानी सुरु गरी निरोगी जीवन बिताऔँ।

संसारको कुन कुनामा कोकाकोला पुग्दैन ?

म्यान्मार जसलाई हामी बर्मा पनि भन्छौँ, त्यहाँ ६० वर्ष कोकाकोला प्रतिबन्धित थियो । खासमा दोस्रो विश्वयुद्धसँगै कोकाकोला बर्मा पनि पुग्यो । त्यहाँका बेलायती सेनाले यसको स्वाद लिए । यसपछि कोकाकोलाले आफ्नो कारखानालाई जारी राख्दै सर्वसाधारणलाई कोकाकोलाको स्वाद चखाउन थालेको थियो । तर सन् १९६२ मा सेना प्रमुख ने विनले प्रजातन्त्रलाई अपहरण गरेपछि उनले सबै सम्पत्ति राष्ट्रियकरण गरिदिए । यसपछि कोकाकोलाले आफ्नो लगानी फिर्ता लग्यो र ६० वर्षसम्म त्यहाँ सर्वसाधारण जनताले कोकाकोलाको स्वाद लिन पाएनन् ।

त्यसपछि अलिकति आशा के थियो भने बर्मेली नेतृ आङ् सान सुचीले प्रजातन्त्रको लडाइँ सुरु गरिन् । सुरु त गरिन् तर उनी वर्षौंसम्म नजरबन्दमा पारिइन् । प्रजातन्त्र र मानव अधिकारका लागि बर्माले भूमिका नखेलेको भन्दै वर्षौंसम्म अमेरिकाले बर्मालाई प्रतिबन्धित मुलुकको सूचीमा राखेको थियो । जसै २०१२ मा अवस्था सुध्रिन थाल्यो, अमेरिकाले केही कम्पनीलाई त्यहाँ लगानी गर्नका लागि प्रोत्साहित गर्न थाल्यो । त्यही मेसोमा कोकाकोला पुनः आफ्नो फ्याक्ट्री लगाउन आइपुग्यो । यो सन् २०१२ को कुरा थियो ।

अ हिस्ट्री अफ द वर्ल्ड इन सिक्स ग्लासेस पुस्तकका लेखक टम स्टान्डेजले पुस्तकमा भनेका छन्, ‘कुनै पनि मुलुकमा कोकाकोलाको उपस्थिति हुनु भनेको शक्तिशाली विम्ब हो । कोकाकोलाका बोतल तपाईंको देशमा देखिनु भनेको वास्तविक परिवर्तन हुँदैछ भन्ने सङ्केतको द्योतक हो । कोकाकोला भनेको बिर्कोमा बन्द भएर आउने पुँजीवाद हो ।’

कोकाकोलाले २०१२ मा आफ्नो लगानी बर्मामा अगाडि बढाउने घोषणा गर्नेबित्तिकै उसको प्रतिस्पर्धी पेप्सीकोला पनि किन पछि पथ्र्यो र ! उसले पनि चाँडै नै आफ्नो कारखाना बर्मामा सुरु गर्ने विज्ञप्ति जारी गर्यो ।

बर्मामा यो परिवर्तनपछि संसारमा दुई वटा देश मात्र बाँकी रहे, जहाँ कोकाकोलाको कारखाना देखिदैनन् । जस्तो नेपालमा कोकाकोलाका दुई वटा फ्याक्ट्री छ भने पेप्सीको एउटा ।

संसारमा कोकको फ्याक्ट्री नभएका ती दुई मुलुक हुन्, क्युबा र उत्तर कोरिया । क्युबामा सन् १९६२ को मिसाइल क्राइसिसयता कोकाकोलाले आफ्नो लगानी फिर्ता लग्यो भने उत्तर कोरियामा सन् १९५० मा कोरियाली युद्धपछि कम्युनिस्ट शासन लागू भएपछि अमेरिकी पुँजीवादी अस्तित्वलाई देश निकाला गरिएको थियो ।

रोचक त के छ भने क्युबा यस्तो देश थियो, जहाँ कोकाकोला अमेरिका बाहिर विस्तार हुँदाका अवस्थामा सन् १९०६ मै पहिलो पटक कोकको बोतल खोलिएको थियो । सन् १९६० मा फिडेल क्यास्ट्रोले सशस्त्र आन्दोलनमार्फत् सत्ता कब्जा गरेपछि निजी सम्पत्ति राष्ट्रियकरण हुन थाल्यो । त्यसपछि कोकाकोलाले आफ्नो कारखाना बन्द गरेको थियो । त्यसयता कोकाकोला क्युबामा फर्किएको छैन । त्यसो त क्युबामा कोकाकोला नपाइने भन्ने होइन । पर्यटकहरुका लागि मात्र बिक्री गरिने कोकाकोला सर्वसाधारणका लागि उपलब्ध छैन ।

यस्तै उत्तर कोरिया पनि कोकाकोलामुक्त मुलुक हो । त्यसो त प्योङयाङका रेस्टुराँमा कोकाकोला नपाइने होइन तर ती सबै चीनबाट दुई नम्बरी गरी ल्याइएको हुन्छ ।

एसियामा पहिलो पटक कोकको स्वाद चाख्ने मुलुक फिलिपिन्स हो । यहाँ सन् १९१२ मा कोकाकोलाको कारखाना स्थापना गरिएको थियो ।

सन् १९१९ मा कोकाकोलाको पहिलो फ्याक्ट्री फ्रान्समा खुल्दा सुरुमा यसको स्वादमा फ्रान्सेलीहरु रमाए पनि पछि ‘कोका–कोलोनाइजेसन’ भनी आलोचना हुन थालेको थियो । खासगरी सन् १९५० को दसकमा कोकाकोलाको आलोचना गर्दा ‘कोका–कोलोनाइजेसन’ शब्द चर्चामा आएको हो । यो पेयले फ्रान्सेलीहरुको संस्कृति ध्वस्त पारेको आरोप त्यो बेला लगाइएको थियो ।

त्यो बेला पूर्व सोभियत संघका कुनै पनि मुलुकमा कोकाकोला उत्पादन गरिँदैनथ्यो । कोकाकोला बेचेर कमाएको नाफा सिधा मस्कोले उपयोग गर्ने डरका कारण त्यहाँ त्यो बेला कम्पनी खोलिएको थिएन । जसै सोभियत संघको पतन भयो, त्यसपछि सोभियत संघबाट छुट्टिएर स्वतन्त्र अस्तिवमा रहेका देशले कोकाकोला उत्पादनका लागि स्वीकृति दिन थालेका थिए ।

कोकाकोला ती मुलुकमा नगएका कारण पेप्सीले त्यो खाली ठाउँ भरेको थियो । सोभियत संघका कम्युनिस्ट मुलुकमा पेप्सीले मज्जाले नाफा कमाएको थियो ।

कोकाकोलाका लागि सबैभन्दा अप्ठेरो समय १९६८–१९९१ को अवधि रह्यो, मध्यपूर्वमा । किनभने अरब लिगले कोकाकोलालाई प्रतिबन्ध लगाएको थियो । खासगरी कोकाकोलाले इजरायलमा कारखाना खोलेको थियो । यहुदीहरुलाई सेवा गर्ने कम्पनीलाई आफूहरुले प्रवेश नदिने भन्दै सन् १९६८–१९९१ को अवधिमा लिगले आफूकहाँ कारखाना सञ्चालन गर्न प्रतिबन्ध लगाएको थियो । यसका साथै आफूकहाँ भएको कारखाना पनि बन्द गर्न लगाएका थिए ।
यसको फाइदा पेप्सीले मज्जैले उठाउन पाएको थियो ।

कोकाकोला भन्नु नै अमेरिका ठानिने हुनाले कतिपय अवस्थामा अमेरिकाको रिस कोकाकोलालाई पोख्ने चलन पनि यदाकदा पाइन्छ । जस्तो सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेको निहुँमा थाइल्यान्डमा कोकाकोलाका बोतल फुटाली विरोध प्रदर्शन गरिएको थियो । कोकाकोलाविरुद्धको यो आक्रोश मत्थर पार्नका लागि बजारबाट कोकाकोला गायब पारिएको थियो । केही समय थाइल्यान्डमा उत्पादन नै बन्द गर्नुपरेको थियो ।

इरानका राष्ट्रपति मोहमद अहमदिनेजादले घरिघरि कोकाकोलालाई देशबाटै निकाला गर्ने धम्की दिन्थे भने भेनेजुएलाका स्व. राष्ट्रपति ह्युगो चाभेजले सर्वसाधारण जनतालाई स्थानीय स्तरमा उत्पादन हुने कोकाकोलाजस्ता पेय र फलफूलको रस पिउन आग्रह गर्थे । उनले भन्थे, ‘तपाईंले पिउने प्रत्येक बोतलबाट कोक र पेप्सीले अर्बौं डलर घर लैजान्छन् । तपाईंले किन उनीहरुलाई धनी बनाउनु हुन्छ ?’

कोकप्रतिको रिस भारतीयले पनि मज्जैले फेरेका छन् । केरल राज्यले त सन् २००६ ताका यसमा विषादीको मात्रा बढी रहेको भन्दै नीतिगत रूपमा नै प्रतिबन्ध लगाउने प्रयास गरेको थियो तर पछि केन्द्रीय सरकारको दबाबपछि कोक र पेप्सीमाथिको प्रतिबन्ध हुने अवस्थालाइ मत्थर पारिएको थियो ।

पछिल्लो समय भारत, चीन र ब्राजिल कोकाकोला सबैभन्दा बढी बिक्री हुने मुलुकमा पर्ने गरेका छन् ।

(अच्युत कोइरालाद्वारा लिखित संसार बदल्ने सोच पुस्तकको अंश।)