(पन्साउनी : भाषालय शृङ्खलाको यस आलेखको सात शब्दको शीर्षकमा एउटा शब्द ‘र’,  दुई पटक दोहोरिएको एउटा विभक्ति ‘को’ तथा अर्को एक विभक्ति ‘मा’ बाहेक सबै (अ)नेपाली भाषाका शब्द परेका छन् । यो लेखकको कमजोरी होइन यस्ता शब्द प्रचलनमा ल्याउन बाध्य पार्ने भाषा योजनाकारहरुको हो भन्ने बुझिदिन विनम्र आग्रह गर्दछु । पन्साउनी वा पन्छाउनी वा मन्साउनी शब्दको अर्थ नलागे यस लिङ्कको लेखको अन्त्यमा गएर बुझ्न सकिन्छ । (अ)नेपाली भन्नाले अङ्ग्रेजीको भाउरस (भाषिक उपनिवेश रस वा विषाणु) लाग्दै गरेको नेपाली भन्ने बुझाउँछ ।)

खेल र चलखेल

भाषालयका अघिल्ला शृङ्खलाहरुमा भाषा उपनिवेश कायम गर्ने एउटा माध्यम हो भन्ने चर्चा भएको छ । अघिल्लो शृङ्खलामा चाहिँ भाषा विश्व बजार अर्थतन्त्रको वस्तुको रूपमा व्यापार हुँदै गरेको सन्दर्भ उल्लेख गरिएको थियो । बजारको वस्तु भन्ने बित्तिकै त्यसमा माग, आपूर्ति, मूल्य, सेयर आदि बजार र व्यवसाय सिद्धान्तका पक्षहरु समेटिनु पर्दछ । त्यसमा खेल हुनुपर्छ र चलखेल पनि हुनुपर्छ । खेलका नियम पारदर्शी हुन्छन् तर चखलेखका नियम स्वभावतः अदृश्य । कतिपय अवस्थामा भने ती पनि दृश्य हुन्छन् । यहाँ एउटा उदाहरण मात्र हेर्ने हो भने त्यसको सग्लो आकृति देख्न सकिन्छ ।

प्रसङ्ग खेलबाटै सुरु गरौँ । पहिले पहिले टालाटुलीको पोको पारेर खेलिने हाम्रो लात्ते भकुन्डोको उन्नत रूपको अहिलेको ‘फुटबल’को युरोप महादेशीय प्रतिस्पर्धा चलिरहेको छ । ‘फुटबल’ प्रेमीहरुका लागि युरो ‘कप’ २०२१ ले कोरोना कहरमा बन्दाबन्दी हुँदाको कष्टकर जीवनलाई अलि रोमाञ्चक बनाइदिएको छ । हुनत अहिलेको बन्दाबन्दीलाई बन्दाबन्दी नै वा ‘लकडाउन’ केही भन्न हुन्न । तर ‘लकडाउन’बाट सुरु भएको बन्दाबन्दी नै अहिले निषेधाज्ञाको रूपमा चलिरहेको चाहिँ हो । अब अचानक त्यो ‘स्मार्ट लकडाउन’मा रूपान्तरण पनि भएको छ ।

कोरोना विषाणुबाट उत्पन्न हुने कोविरोग ७६ (कोभिड १९) को पहिलो लहरमा सरकारले बन्दाबन्दी वा निषेधाज्ञा नगरी ‘लकडाउन गरेको थियो । दोस्रो लहर आउँदासम्म ‘लकडाउन’ फिका भयो र बन्दाबन्दीमा नै सङ्घीय सरकार पनि अभ्यस्त भयो तर गर्न पुग्यो स्थानीय सरकारमार्फत निषेधाज्ञा । त्यसका अर्थराजनीतिक पक्ष बेग्लै छन् । अहिलेको ‘स्मार्ट लकडाउन’ पनि अर्थराजनीतिक शब्दजाल हो किनभने यसको आधार, प्रकृति तथा कार्यान्वयनको अवस्थाबारे स्वयं निर्णायक नै अन्योलमा छन् । यसबारे पछि चर्चा गरिने छ ।

रोनाल्डो कि रोनाल्दो ?

कुनै पनि कुरा हेर्न, देख्न बुझ्न कोसौँको यात्रा तय गर्नु पर्दैन अचेल । त्यसरी यात्रा गर्नु नपरेपछि खर्च पनि कम हुनेभयो । सूचना प्रविधिको प्रयोगले घरमा नै बसेर त्यस्तो सबै गर्न पाइने अवसर जुटाइदिएको छ । अर्थात् घरमा बसेर नै मानिसले न्यून खर्चमा नै धेरै ज्ञान र मनोरञ्जन पाउँछ । खर्च कम गर्नु भनेको बचत गर्नु पनि हो । युरो ‘कप’ २०२० का विश्वभरका दर्शकले ‘फुटबल’ हेर्दै बचत गरिरहेका छन् र मनोरञ्जन तथा ज्ञान पनि आर्जन गरिरहेका छन् । ज्ञानका पक्ष बेग्लै हुन्छन् तर तिनमा भाषाको प्रयोग अनिवार्य हुन्छ । यस अर्थमा भाषाको मूल्य, नाफा, घाटा, खर्च बचत कतिसम्म हुन्छ भन्ने प्रश्न पनि त्यही युरो ‘कप’ २०२० को एउटा घटनाले स्पष्ट पारेको छ ।

युरो ‘कप’ हेर्दै ‘फुटबल’ प्रेमीहरु देश र खेलाडीका कारण विभाजित पनि छन् । विभाजित भन्दा अनर्थ लाग्छ भने आकर्षित पनि छन् भनेर बुझ्नुस् । यसमा भाषाको चमत्कार देख्नुहुन्छ । त्यही विभाजन वा आकर्षणको केन्द्रमा एकजना ‘फुटबल’ खेलाडी क्रिस्चियानो रोनाल्डो पनि छन् ।

रोनाल्डो पोर्चुगालका खेलाडी हुन् । देशगत आधारमा पोर्चुगालको समर्थन नगर्नेहरु पनि खेलाडीका रूपमा क्रिस्चियानोलाई औधि माया गर्छन् । भाषिक आधारमा हेर्ने हो भने कतिपयले क्रिस्चियानोलाई क्रिस्टियानो र रोनाल्डोलाई रोनाल्दो पनि भन्लान् । यो भाषा र जिभ्रोसँगको सम्बन्धका कारण हो । सबै जिभ्राले सबै वर्ण एकै किसिमले उच्चारण गर्ने क्षमता राख्दैनन् ।

यो लेखक आठ महिना श्रीलङ्कामा रहँदा अधिकांश श्रीलङ्कालीले मेरो नाम केदारलाई ‘केडाः’ मात्र उच्चारण गर्न सकेको सम्झन्छु अहिले । करिब दुई दशकअघिको त्यो घटनालाई म अहिले भाषिक पक्षबाट गम्छु र पाउँछु अहिले जसरी म केदार छु त्यसबेला पनि उही नै थिएँ तर उनीहरुले भने मलाई ‘केडाः’ भन्दै केदारका रूपमा नै चिन्दथे । मैले उनीहरुको जिभ्रो बटारेर केदार उच्चारण गराउन सक्दिनथेँ । तर हाम्रो अहिलेको हिज्जेवाद वक्ताको जिभ्रो ठेगान लगाइदिने सैद्धान्तिक आधारमा रम्दैछ । नेपालका नै विभिन्न समुदायका मानिसको जिभ्रोले नेपाली भाषाका सबै शब्द ठ्याक्कै नेपाली मातृभाषी वक्ताले जस्तै उच्चारण गर्न नसक्ने अवस्थामा विदेशका भाषाको हिज्जेका लागि त्यही भाषाको स्रोत खोज्दै जानु कति उचित हुन्छ ? विचार अझै गर्ने वेला छ ।

यहाँ भने भाषाको हिज्जे नभई बजार अर्थतन्त्रको वस्तुका रूपमा भाषाका शब्दको मूल्य कस्तो हुन्छ भन्ने देखाउने नै हो । त्यसैका लागि युरो ‘कप’ र क्रिस्चियानो रोनाल्डोको प्रसङ्ग उल्लेख गर्नु परेको हो ।

शब्दको बजार मूल्य

४ जुन २०२१ आयोजित पत्रकार सम्मेलनमा क्रिस्चियानो रोनाल्डोले उनको ‘टेबुल’मा राखिएका दुई वटा कोकाकोलाका ‘बोतल’ सारेर र दृश्यबाट ओझेलमा पारे । त्यससँगै उनले ‘टेबुल’मा नै राखिएको पानीको ‘बोतल’ उचालेर देखाउँदै एउटा शब्द मात्र उच्चारण गरे ‘अक्वा !’ (Agua!) अर्थात् पोर्चुगाली भाषामा पानी । उनले दिन खोजेको सन्देश कोकाकोला जस्ता हल्का पेय पदार्थको सेवन नगर्न र पानी खाने बानी बसाउनका लागि थियो । (पानी खाने कि पिउने भन्ने भाषिक पक्ष बेग्लै छ, त्यसबारे कसरी रोक्ने लथालिङ्गे र भताभुङ्गे चाला ? मा चर्चा गरिएको छ ।)

संयोग के पर्यो भने त्यही दिन कोकाकोलाको ‘सेयर’ मूल्य चार अर्ब अमेरिकी डलरले घट्यो । (समाचार र भिडियो हेर्नुहोस्) यो रकम २०७८ असार ७ गतेका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको विदेशी मुद्राको विनिमय दरका आधारमा चार खर्ब ७३ अर्ब ९२ करोड रुपियाँ हुन आउँछ । यो भनेको नेपालको सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विकास निर्माणमा खर्च गर्न छुट्याएको बजेटभन्दा निकै नै बढी हो । २०७८ जेठ १५ गते सङ्घीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले विनियोजन गरेको पुँजीगत खर्च तीन खर्ब ७४ अर्ब २६ करोड रुपियाँ रहेको छ ।

यसरी एउटै शब्दको प्रयोगले अर्थ बजारमा यति ठुलो चलखेल ल्याइदिएको थियो । यसलाई शब्दको सान्दर्भिक व्यापारिक मूल्य भन्न पनि सकिन्छ, अर्थगत मूल्य भने बेग्लै हो । यहाँ रोनाल्डोले उच्चारण गरेको शब्द ‘अक्वा’को मूल्य चार अर्ब अमेरिकी डलर पर्यो । यो त्यो शब्दको मूल्य नै त होइन, साङ्केतिक मूल्य भने पक्कै हो । यो मूल्य निर्धारणमा सन्दर्भको पनि उत्तिकै महत्त्व छ । रोनाल्डोले भाषाको प्रयोग नगरी कोकाकोलाका दुई ‘बोतल’ दृश्यबाट अलग गराउनु सन्दर्भ हो । भाषामा सन्दर्भले अर्थ बुझाउँछ, अर्थात् आर्थी मूल्य निर्धारण गर्दछ । त्यसैले हिज्जेवादको अर्को धारले हिज्जेले नभई सन्दर्भले अर्थ प्रदान गर्ने हुँदा हिज्जेमा सहजीकरण र सरलीकरण गर्नुपर्ने मान्यता राख्दछ ।

यो एउटा शब्दले विश्व बजारमा ल्याइदिएको यो एउटा तरङ्ग थियो । त्यसको विभिन्न पक्षबाट विश्लेषण भइरहेका छन् । फोर्ब्स पत्रिकाले त्यसपछिको सत्यता परीक्षण गरेको छ र कोकाकोलाको सेयर मूल्य घटेको भए पनि त्यसका कारण अरु नै रहेको जनाएको छ । यसरी परीक्षण गर्दा उसले अङ्ग्रेजीमा नयाँ प्रयोगमा रहेको नवनिर्माणको शब्द ‘पोस्ट–ट्रुथ’ (post-truth) को अर्थ केलाएको छ । ‘अक्सफोर्ड डिक्सनरी’बाट त्यस शब्दको अर्थ समाचारमा दिएको छ । अर्थात् भाषाका शब्दको अङ्कमा भएको मूल्य निर्धारणको तथ्य परीक्षण पनि भाषाबाट नै गरिएको छ । यसबाट कुनै पनि शब्दको प्रयोग गर्नुअघि निकै नै अध्ययन अध्ययन गर्नुपर्छ र त्यसका विविध आयामको खोजी गर्नुपर्छ भन्ने बुझ्न सकिन्छ ।

स्मार्ट लकडाउन’

अब माथि थाति राखिएको हाम्रो नयाँ प्रयोग ‘स्मार्ट लकडाउन’बारे केही चिन्तन गरौँ । ‘स्मार्ट लकडाउन’ बन्दाबन्दीको अङ्ग्रेजी प्रयोग ‘लकडाउन’को विकल्प निषेधाज्ञाको पनि विकल्पका रूपमा सरकारले रोजेको पदावली हो । तर यसको अर्थ र प्रयोजन के हो भन्नेमा निर्णयकर्ता र कार्यान्वयन गराउने दुबै अन्योलमा रहेको देखिन्छ ।

कोभिड १९ निर्देशक समितिले २०७८ असार २ गते असार ७ पछि  ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको हो । तर ‘स्मार्ट लकडाउन’ के हो र त्यसको कार्यान्वयन कसरी गर्ने भन्नेमा जिम्मेवार निकाय नै स्पष्ट भएको पाइएन । कोभिड १९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) का सदस्य सचिव बालानन्द शर्मा ‘स्मार्ट लकडाउन’ लागु गर्ने एकदिन अघिसम्म ‘स्मार्ट लकडाउन’ कस्तो हुने भनेर स्पष्ट नभएको भन्दै सम्बद्ध पक्षसँग छलफल भइरहेको जनाउन पुगेका थिए ।

शर्माको भन्दा अझ स्पष्ट प्रतिक्रिया ‘स्मार्ट लकडाउन’ कार्यान्वयन गर्ने अर्का जिम्मेवार ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको थियो – ‘निषेधाज्ञाको अगाडि ‘स्मार्ट’ लगाए पनि स्वरूप र प्रकृतिका विषयमा अन्योल छ ।’ हाम्रा निर्णय कसरी गरिन्छन् र तिनमा भाषिक छलछाम कति हुन्छ भन्ने यसले स्पष्ट गर्दछ ।

विज्ञमाथिका विशेषज्ञ

वास्तवमा सरकारबाट भएको यस्तो निर्णयको सूत्रधार को थियो भन्ने स्पष्ट छैन तर यो कतैको अन्धाधुन्ध नक्कल गरेर त्यसैका आधारमा आफू विज्ञमाथिका विशेषज्ञ बन्ने चाहनाको उपज थियो भन्ने चाहिँ अनुमान गर्न सकिन्छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले “जनस्वास्थ्यका मापदण्ड ‘स्ट्रिक्ली’ लागू गरेर संक्रमण नसर्ने गरी जनजीवनलाई सामान्य बनाउँदै लगिने ‘मोडालिटी’ नै ‘स्मार्ट लकडाउन’ भएको” बताएका थिए । थप ‘मोडालिटी’बारे छलफल भइरहेको पनि उनको भनाइ थियो । उनको यो भनाइले यसअघि यी काम कुनै भएका थिएनन् र ‘स्मार्ट लकडाउन’ लागु भएपछि मात्र सबै हुने भन्ने अर्थ लाग्ने देखिन्छ ।

‘स्मार्ट लकडाउन’बारे व्यवसायी र आम बुझाइ भने बेग्लै छ । अधिकांशले चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम महिना असार रहेको र यही महिनामा सरकारले सबै कर राजस्व उठाउन नयाँ जुक्ति निकालेको भन्ने बुझाइ देखिन्छ । पहिले स्थानीय तहले जारी निषेधाज्ञा जारी गरेको कोरोनाबाट अति प्रभावित नेपालगन्जमा बजार असार ८ गतेदेखि व्यवसाय खोल्न पाउने र सरकारी कार्यालय खोल्न पाउने समय एउटै निर्धारण गरिएकाले त्यो कुरामा तालमेल मिलेको देखिन्छ । तर ‘स्मार्ट लकडाउन’ नभनी निषेधाज्ञा नै प्रयोग गरिएको छ । हेर्नुहोस्

यसबाट ‘स्मार्ट लकडाउन’को निर्णय फेरि निषेधाज्ञातिरै लागेको पनि देखिन्छ ।

स्मार्ट लकडाउन’को ‘पासवर्ड’ खोजी !

‘स्मार्ट लकडाउन’लाई कतिपयले भने सडकमा हिँड्दा वा व्यवसाय सञ्चालन गर्दा सुरक्षाकर्मीले सोधपुछ गरेमा सरकारले दिएको ‘पासवर्ड’ प्रयोग गरेर कारबाहीबाट बच्न सकिने भन्ने पनि बुझेको सामाजिक सञ्जालमा जनाएका छन् । खासमा ‘स्मार्ट फोन’ वा अन्य त्यस्तै उपकरणमा ‘पासवर्ड’को प्रयोग धेरै हुने र खोल्नका लागि आवश्यक पर्ने बुझाइमा यस्तो देखिएको हो । ‘लकडाउन’ त यसै पनि पहिले ‘फ्लप’ भई बन्दाबन्दी वा निषेधाज्ञा भइसकेको थियो । अङ्ग्रेजी शब्द ‘स्मार्ट’को खास अर्थ भने तीक्ष्ण बुद्धि भएको भन्ने हुन्छ ।

विश्व सन्दर्भमा भने ‘स्मार्ट लकडाउन’ प्रयोगमा आइसकेकै विषय चाहिँ हो । पाकिस्तानले एक वर्षअघि (२०२० जुनमा) नै ‘स्मार्ट लकडाउन’ गरेको थियो । तर त्यो त्यसको एक वर्षपछि नेपालमा लागु गर्ने निर्णय गरिएको जस्तो हचुवाको थिएन । त्यसको स्पष्ट तयारी थियो र कहाँ के कसरी कसले गर्ने भन्ने कार्यादेश स्पष्ट किटान गरी निर्देशिका नै जारी गरेर लागु गरिएको थियो । निर्देशिका यहाँ हेर्नुहोस्

निर्देशिका मात्र होइन पाकिस्तानमा ‘स्मार्ट लकडाउन’बारे निकै ठुलो अनुसन्धान भएको थियो । सम्भावित सङ्क्रमणको तीव्रता अनुमान गर्न ‘कम्प्युटर’बाट गणनापद्धति विकास गरिएको थियो । त्यससम्बन्धी अनुसन्धानमा पाकिस्तानका मात्र नभई साउदी अरबका विज्ञसमेत सहभागी थिए । अनुसन्धानको ‘कम्प्युटर्स जर्नल’मा विज्ञसमीक्षित अनुसन्धानात्मक लेख यहाँ हेर्नुहोस् ।

हाम्रो हैसियत

भाषाका हरेक शब्दको सन्दर्भगत अर्थ हुन्छ अनि हरेक शब्दको आर्थी मूल्य हुन्छ । मानवीय उपयोग र उपभोगको वस्तु हो तर त्योभन्दा माथि यो राष्ट्र निर्माणको आधार हो । भाषा आफैमा सञ्चारको माध्यम हो तर यो त्यस्ता सञ्चार माध्यमको पनि पनि एउटा उत्पादनको साधनसमेत हो । त्यसैले यो बजारको वस्तु पनि बनेको छ । त्यसैले यसको बजार मूल्य पनि हुन्छ । राष्ट्र निर्माणका घटकहरुमध्येको एक भएका कारण यसको सार्वभौम मूल्य सर्वोपरि रहन्छ किनकि राष्ट्रको औपनिवेशीकरणमा भाषिक औपनिवेशीकरण पनि कारक हुन्छ ।

भाषाको संरक्षण, संवर्धन र विकास केवल भाषिक पक्ष मात्र हुँदैन यो राज्यको संरक्षणको एक हिस्सा बन्दछ । त्यसैले हरेक देशले आफ्ना भाषाहरुको संक्षण र विकासका लागि भाषा योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याउँछन् । हामी भाषाप्रति मात्र होइन आपतकालीन स्वास्थ्य योजनामा पनि संवेदनशील नबनेको ‘स्मार्ट लकडाउन’को सन्दर्भले उजागर गरेको छ । कोरोना कहरको निषेधाज्ञाका कारण आक्रान्त बनेका आमसमुदायका लागि ‘स्मार्ट लकडाउन’ले केही दिन सकेन । केबल कसैले जानेको सुनेको लहडको भाषिक शब्दजाल मात्र नेपाली भाषामा भाउरसका रूपमा भित्रियो ।