मान्छे र बाँदरको एकै हुन् भनेर हामीले पढ्ने गरेका छौँ । कुनै समय मानिसका पुर्खाको समेत पुच्छर हुने गर्थ्यो । जीव विकासको क्रममा मान्छेको पुच्छर लोप हुन पुग्यो । जसै मान्छेको शरीरको विकास हुँदै गयो, उसको रुप पनि परिवर्तन हुँदै गयो। शरीरका जुन अंगहरु हाम्रालागि जरुरी थिएन, त्यस्ता अङ्ग आफैँ हराउँदै गए । अहिले हाम्रो पेटमा रहेको एपेन्डिक्सको कुनै काम छैन । वैज्ञानिकहरू भन्छन्, यो एपेन्डिक्स अबको हजारौँ वर्षपछि मान्छेको शरीरबाट गायब भएर जानेछ । खासमा यो पहिला काम लागुञ्जेल ठूलो आकारको थियो । काम लाग्न छाडेपछि यसको आकार क्रमशः घट्दै जान थाल्यो ।
संसारका सबै जीव प्राकृतिक विकासको परिणामअनुसार नै जन्मिएका हुन्। त्यसैले क्रमिक विकासको चक्र रोकिएको हो कि भन्ने ठान्नु गलत हुन जानेछ । मानिस यही प्रक्रियाबाट गुज्रिरहेको छ। पछि गएर मानिसको रुपरङमा कैयौँ किसिमका परिवर्तन देख्न सकिनेछ ।
नयाँ अनुसन्धानले केसम्म भनेको छ भने आउँदा दिनहरुमा पूरै विश्वमा कुनै पनि जीव आजजस्तो देखिने छैनन्।
सन् १९८० मा लेखक डुगल डिक्सनको पुस्तक ‘आफ्टर म्यानः अ जुलोजी अफ द फ्युचर’ प्रकाशित भएको थियो। उक्त पुस्तकमा डिक्सनले लाखौं वर्षपछि देखिने विश्वको कल्पना गरेका छन्, जुन विश्वास गर्न निकै गाह्रो हुन्छ।
पुस्तकमा उड्ने बाँदर, चराको अनुहार भएको फूल तथा उड्ने सर्प आदिको कल्पना गरिएको छ। सामान्य मानिसका लागि यो पुस्तकका कल्पना अस्वभाविक र मनगढन्ते लाग्न सक्छ तर अनुसन्धानकर्ताहरु यस किताबले भविष्यको सम्भावनाहरु बोकेको विश्वास गर्दछन्।
भविष्यमा के होला ?
लाखौँ वर्ष अगाडि पृथ्वीमा डायनोसोरहरू थिए। त्यसबेला वर्तमान मानवको कल्पना गरिएको भए त्यो त्यत्ति नै अचम्मको लाग्ने थियो, जति अहिले उड्ने बाँदर र सर्पका बारेमा कल्पना गरिन्छ।
आखिर क्रमिक विकासको गणित के हो? यसलाई बुझ्नका लागि हामीले इतिहासको पाना पल्टाउन जरुरी छ। जीव विकास वैज्ञानिक जोनाथन लोसोसका अनुसार ५४ करोड वर्षअगाडि केम्ब्रियन विस्फोट हुँदा पृथ्वीमा अजीव जीवहरु देखा परे।
त्यस बेला एक जन्तु हेलोसेजिन्याको अवशेष भेटिएको छ। जसको पूरा शरीरमा हड्डीको जाल थियो, जुन हाड हाम्रो ढाडको हड्डीमा पाइन्छ। त्यसैले निकट भविष्यमा यस्तै अन्य जीवको उत्पत्ति हुने कुराको पूर्ण सम्भावना रहेको लोसोसको तर्क छ।
प्रोफेसर लोसोसका अनुसार जीव विज्ञानको क्षेत्रमा अथाह सम्भावना छ र यसको अन्त्य कहाँ हुन्छ भनेर किटेर भन्न गाह्रो छ। उनी पृथ्वीमै भएका जीवको जानकारी हामीले पत्ता लगाउन नसकेको बताउँछन्।
लोसोसले जैविक सम्भावनामाथि लेखेको सो पुस्तकमा कैयौं तर्कहरु प्रस्तुत गरेका छन्। जैविक सम्भावना कहाँ गएर रोकिन्छ भनेर ठ्याक्कै पत्ता लगाउन कठिन छ। यदि इतिहास फेरि दोहोरिन्छ भने के मानव विकासक्रम त्यस्तै हुन्छ जुन लाखौं वर्ष पहिले भएको थियो? यो भन्न गाह्रो छ। तर यो कुराको सम्भावना चाहिँ अवश्य छ, ‘भविष्यमा ठूलो ज्वालामुखी विस्फोट हुनसक्छ अथवा पुछ्रेतारा पृथ्वीसँग ठोक्किन सक्छ। त्यसपछि पृथ्वीको अहिलेको स्वरुप बदलिनेछ।’
निकट भविष्यमा के हुनेछ यो कुरा बहसको विषय हो। मुख्य कुरा विकासक्रमको सबैभन्दा ठूलो असर कसलाई पर्छ भन्ने हो। होमो सेपियन्स अर्थात् मानिस पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो । त्यसैले मानिसमा विकासक्रमको असर कस्तो रहला भन्ने सबैलाई चासो छ ।
जनावरको रुप कति बदलेला ?
जीव वैज्ञानिक पिटर वार्डले सन् २००१ मा उनको पुस्तक ‘फ्युचर इभोलुसन’मा लेखेका थिए- जुन तरिकाले अहिले मानिस जीवन बिताइरहेका छन्, आउने केही लाख वर्षपछि पनि मानिस यसरी नै बाँचिराखे भने पृथ्वीको वातावरणसँग आफूलाई अनुकूलनमा राखिराख्न अनौठो रुप धारण गर्न सक्छन्।
उदाहरणका लागि, आज हामी सबै प्रदूषित वातावरणमा बसिरहेका छौं। प्रदूषण बढ्दै गएको खण्डमा हामी यस्तो चरा पनि पाउन सकौँला, जसले टिनको क्यानबाट पानी पिउन सक्छ। अथवा यस्तो मुसा देख्न सक्नेछौं जसको शरीरमा चिल्लो कपाल हुनेछ। जसले विषालु पानी आफ्नो शरीरमा टिक्नै दिँदैन।
अनुसन्धानकर्ता प्याट्रिसिया ब्रेनेनका अनुसार पृथ्वीमा सफा पानीको कमीका कारण पनि पृथ्वीका जीवमा परिवर्तन आउनसक्छ। त्यसले बदलिँदो परिस्थितिमा आफूलाई टिकाउन सोही वातावरणमा आफूलाई ढाल्न सक्छन्। अथवा विशाल जीवको उत्पत्ति हुनसक्छ, जसको छालाले हावामार्फत् पानीको अभाव पूरा गर्ने क्षमता राख्नेछ।
माउसुलीले आफ्नो गर्दन ठूलो बनाएर त्यहाँ पानी सञ्चय गर्न समेत सम्भव हुनसक्छ। अथवा जनावरहरुको कपाल झरेर त्यो पानी एकत्रित गर्ने झोला बन्न सक्छ। पृथ्वीमा बढ्दो तापमानका कारण गर्मी हुने क्षेत्रमा बस्ने जनावरलाई बाँच्न गाह्रो हुनेछ। त्यसैले बदलिँदो वातावरणमा आफ्ना शरीरका अंगलाई परिवर्तन गर्न अपरिहार्य छ।
अनौठा जीव
पृथ्वीमा उत्पत्ति भएका कैयौं जीवजन्तुहरु आज हराइसकेका छन्। त्यसैले आज ठूलो परिवर्तन भएको छ। अनुसन्धानअनुसार २५ करोड वर्ष पहिले ९५ प्रतिशत पानीमा बस्ने र ७० प्रतिशत जमीनमा बस्ने जीव हराइसकेका छन्। त्यसपछि डायनासोरजस्ता जीवको जन्म भएको थियो। तर डायनासोर पनि लामो समय टिक्न सकेन। तिनको विलिनपछि स्तनधारी जीव जन्मिए । यस्ता परिवर्तनहरू नियालिरहेका अनुसन्धानकर्ता भन्छन्- पृथ्वीमा जीवन देखापरेको दशौं लाख वर्षपछि पनि त्यस्ता कुनै जीवको उत्पत्ति भएन, जसलाई बाँच्नका लागि धेरै अक्सिजन आवश्यक पर्थ्यो ।
२ लाख ४० हजार वर्षपछि जब फोटोसेन्थिसिसको प्रक्रिया हुन थाल्यो, पृथ्वीबाट धेरै किसिमका ब्याक्टेरिया समाप्त भएर गए । यसपछि जीवको संसारमा फेरि एकपटक परिवर्तन देखापर्यो । यो परिवर्तन अद्यापि भइरहेको छ र आगामी दिनमा पनि हुनेछ।
हुनसक्छ निकट भविष्यमा मानव अस्तित्व पूरै नाश हुनेछ र अनौठा किसिमका जीवले पृथ्वीमा राज गर्नेछन्। तर यो निकट भविष्य यति टाढाको विषय हो कि तपाईं, हामी र हाम्रो आउने कैयौँ पिँढीले यो सब देख्न पाउने छैनन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

