गएको बुधबार आमिर खानद्वारा अभिनित तथा आशुतोष गोवारिकरद्वारा निर्देशित फिल्म लगानको प्रथम प्रदर्शनको २० वर्ष पूरा भएको छ । यस फिल्मले आमिर खानलाई एउटा असल फिल्म अभिनेताका रुपमा मात्र स्थापित गरेन, एउटा असल फिल्म निर्माताका रुपमा समेत स्थापित गरिदियो ।
यसका लागि निर्देशक गोवारिकरको निर्देशकीय मिहिनेत, कथामाथिको विश्वास, कलाकारहरुको उम्दा अभिनय मात्र कारक थिएन । यसको पटकथाको भूमिका पनि उत्तिकै थियो । प्रायः यस्तो भूमिकाका बारेमा भने निकै कमले चर्चा गर्ने गर्छन् ।
नेपालमा पनि सन् २००१ को जुन १५ मा यो फिल्म रिलिज गरिएको थियो । आमिर खानले फिल्मलाई शुक्रबार रिलिज गर्नुको साटो बुधबार नै गरेका कारण यो फिल्म नेपालमा पनि सोही समयमा रिलिज गरिएको थियो । फिल्म तीन घण्टा लामो भए पनि, क्रिकेटमाथि बनाइएको भए पनि दर्शकले खुला हृदयले स्वागत गरेका थिए र यसका लागि निर्देशक गोवारिकर र निर्माता आमिर खानले पटकथा नै मुख्य नायक भएको प्रतिक्रिया दिने गरेका छन् ।
हालै फिल्मका प्राध्यापक तथा फिल्म लेखक सत्यांशु सिंहले फिल्म प्रदर्शनको २० वर्ष पूरा भएको अवसरमा लगानका विशेषता उधिनेका छन् ।
हामीले उनको अंग्रेजी आलेखलाई संक्षेपमा अनुवाद गरेका छौँः
फिल्म टेक्स्टबुक हुँदो हो र यसलाई कलेजमा पाठ पढाउने मौका पाउँदो हुँ त मेरो पाठ्यपुस्तकका रुपमा लगान सधैँको प्रिय पुस्तक हुने थियो । यसका के कस्ता कुराले दर्शक तथा समीक्षकको दिल र दिमागमा बस्न सक्यो भन्ने विषयमा यहाँ संक्षेपमा १० कारणको चर्चा गर्दैछु ।
१. सशक्त भित्र्याँस, गज्जबको आवरणः
दर्शकलाई के कुराले करुणा जगाउँछ ? फिल्मका पात्रहरुप्रति साँच्चिकै चिन्तित बनाउँछ ? यो कुरा जुनसुकै फिल्म लेख्दा लेखकले ध्यान दिनुपर्छ । यस मामिलामा लगानले निकै मज्जाले काम गरेको छ ।
मानिसले बाँच्नका लागि गरेको संघर्षले सबैलाई छुन्छ । मेरी हजुरआमाले कास्ट अवे भन्ने फिल्म हेर्दा अंग्रेजी भाषा भलै नबुझ्लिन् तर त्यसमा देखाइएका प्रत्येक दृश्यले उनलाई अवश्य छुनेछ । बाँच्ने जीजिविषाले दर्शकलाई भित्रैसम्म छुन्छ । मलाई भूताहा फिल्म मनपर्नुको एउटै कारण यही हो । त्यहाँ पात्रहरुको बाँच्ने संघर्ष र जीजिविषाले मलाई मात्र होइन, प्रत्येक दर्शकलाई अन्तिमसम्म बाँधिरहन्छ ।
लगानमा गाउँलेहरु छन् । तिनले क्रिकेट म्याच जीवनमा कहिल्यै खेलेका छैनन् । मर्नु र बाँच्नुको दोसाँधमा उनीहरु यो खेल खेलिरहेका छन् । तिनले जितिदिऊन् भन्ने कामना प्रत्येक दर्शकले गर्छन्, भलै त्यो असम्भव देखिन्छ । बेइमान शासकविरुद्धको सर्वसाधारणको आक्रोश, संघर्ष र लडाइँको सामान्य कथाको असामान्य पक्षमाथि फिल्म बनेको छ ।
तर विषय यति गम्भीर भए पनि यसलाई बडो आकर्षक आवरणमा बनाइएको छ । फिल्मको सेटिङ रङ्गीन छ, १९ औँ शताब्दीको भारतको सामाजिक–सांस्कृतिक पक्षलाई त्यहाँ मज्जाले उनिएको छ । यसले कथालाई बिल्कुलै नयाँ, ताजा र ओरिजनल बनाएको छ । कथा सामान्य भारतीय गाउँको छ तर यसको अन्तर्यमा भने वैश्विक भाव समेटिएको छ ।
२. सांगीतिक कन्सर्ट जस्तो फिल्मः
सांगीतिक कार्यक्रममा के हुन्छ ? वादकले प्रत्येक बाजालाई यति लयात्मक रुपमा बजाउँछ कि सारा कन्सर्ट, सारा कार्यक्रममा आएका मानिसहरु लयमा मिसिन्छन् । यस फिल्मका प्रत्येक पात्र चेलत्तदेखि भ्वाइलिन र भोयलासम्म छन् । कोही ड्रमदेखि बाँसुरी, तुरहीदेखि नजाने के के छन्, तर तिनको सही सदुपयोग हुनु जरुरी छ, कन्सर्टमा । यहाँ तिनको सही सदुपयोग भएको छ । गुरनको सन्कीपन, गौरीको सोझोपन, एलिजाबेथको गरिमा, क्याप्टेन रसेलको क्रूरता, लाखा, बाघा, देवा प्रत्येक पात्रको बेग्लाबेग्लै चरित्र त्यहाँ हामीले देख्छौँ । तिनले आफ्नो भागको सुर दिन्छन् र तिनले एउटा गज्जबको लय फिल्ममा निर्माण गर्छन् ।
३. पात्र नै कथाः
बेलायती अफिसर र भारतका गरिब किसानले कहिल्यै नजानेको क्रिकेट खेल यत्तिका लागि खेल्छन् कि त्यो खेल जिते भने उनीहरुले लगान माफ पाउनेछन् । लगान अर्थात् खेतको कर । गँवारहरुले एउटा सुसंस्कृत खेल खेल्न तम्सनु हास्यास्पद होइन त ? तर पनि मुख्य पात्र भुवनले भन्छ, शरत मञ्जूर है ।
पटकथामा जहिले पनि पात्रले प्लट बुन्छ । यहाँ बेलायती अफिसर कस्तो होला, जसले हास्यास्पद चुनौती दिन्छ ? उसले मानव अभिमान, जीवन र मृत्युलाई नै एउटा खेल बनाएको छ । क्याप्टेन रसेलको शिकार यात्रामा उसले भन्छ, अंग्रेज शिकार खेलमा संसारमै अगाडि छन् । त्यसैले यहाँ गाउँलेहरुलाई पनि शिकार ठान्छ । त्यसअघि पनि अर्को एक ठाउँमा उसले स्थानीय राजासँग मासु खाने सन्दर्भमा यस्तै शर्त अघि सार्छ ।
यहाँ गाउँलेले संकटमा अवसर देख्छन्, आफूमाथि निकै ठूलो विश्वास गर्छन् । यहाँ भुवनले चुनौती लिनुअघि दुई वटा निर्णायक कार्य गर्छ । पहिलो, रसेलको शिकारलाई उसले ध्वस्त बनाउँछ, दोस्रो राजाले कर कटौती नगरे विद्रोह गर्ने धम्की दिन्छ । तर जब अंग्रेज अधिकारी र भुवन एकअर्कासँग भेट्छन्, जे कुरा अविश्वसनीय लाग्छ, त्यही अविश्वसनीय चुनौती भुवनले सहजै पार लगाउँछ भनेर दर्शक ढुक्क हुन्छन् ।
४. नरकयात्राः
पटकथा लेखका गुरु रबर्ट म्याकी उनको बहुचर्चित पुस्तक स्टोरीमा लेख्छन्, जुन फिल्ममा हिरोले जति बढी संघर्ष गर्छ, दर्शकले उति नै बढी सन्तुष्टि प्राप्त गर्छन् । हामी दर्शक हिरोले जितोस् भन्ने चाहन्छौँ तर त्यसका लागि ऊ नरक यात्रामा कुकुरले नपाएको दुःख पाएकै हुनुपर्छ । अर्कोतर्फ खलपात्र एक पत्रे मात्र हुनुहुँदैन, बहुपत्रे हुनुपर्छ । पत्रपत्र खुल्दा, खलपात्रको सशक्तता अझ बढी र झन् बढी खुल्नुपर्छ ।
एउटा जाबो गाउँले भुवनका लागि क्याप्टेन रसेल के हो ? एक त संसारकै शक्तिशाली देशको मानिस हो, जो उसलाई शासन गरिरहेको छ । भुवनले यो शक्तिशाली मानिससँग मात्र जुझिरहेको छैन । उसले त आफूजस्तै दुःखीपीडितहरुसँग पनि जुझिरहेको छ । भुवनको खेललाई उनीहरुले किन आफ्नो मानेर दुःख बेसाउने ? प्रत्येक व्यक्तिलाई सम्झाउँदा–सम्झाउँदा हैरान हुन्छ भुवन । कचरा भन्ने पात्रलाई खेल्न दिनुपर्छ भन्ने कत्रो ठूलो संघर्ष भुवन छ ! त्यसमाथि लाखाको धोका र त्यसमाथि खेलको चुनौती त छँदैछ । अझ अन्त्यमा त, खेलको नियमबारे भुवनलाई रत्ति थाहा हुँदैन । यसको खुलासाले दर्शकलाई मनमा चिसो पसाउँछ । उता क्याप्टेन रसेलमाथि दबाब बढ्दै जाँदा उसका लागि यो खेल जित्नु सबैभन्दा महत्त्वपूर्ण हुन जान्छ र यसले दर्शकलाई अझ चिउँचिउँ पार्छ । यसपछि जब खेलमैदानमा भुवन र उसको टोली छिर्छ, त्यहाँ उनीहरुले भोग्ने शारीरिक समस्या त छँदैछ, गोडा भाँचिनु, रगत निस्कनु लगायत आदि । यी यावत् समस्याका बाबजुद जब भुवनले अन्तिम छक्का हान्छ, त्यसले दर्शकलाई दिलाउने सन्तुष्टिको लामो श्वासले फिल्मलाई बुलन्द बनाएको हो । त्यो लामो श्वास किन निस्कियो ? किनभने जुन नरक भुवनले भोगेर पनि त्यहाँबाट निस्कियो, त्यसले दर्शकलाई अपार आनन्द महसुस गरायो ।
५. भव्य कथानकमा साना तुक्काः
फिल्ममा अनेक संघर्ष हुँदै गर्दा भुवन, गौरी र एलिजाबेथको त्रिकोणीय प्रेम उत्तिकै मनोहर बन्न पुगेको छ । लाखाको धोका र त्यसको मोचन, सामाजिक अपांगताविरुद्ध कचराको नायकीय विजय र राम सिंह, देवा सिंह सोधीजस्ताको साथ, अर्जनको अपमान र त्यसविरुद्ध उसको लडाइँ, गोली र भुराजस्ता पात्रको प्रतिद्वन्द्विता अनि बाघा र जिग्नीबीचको गोप्य प्रेम सबैसबै फिल्ममा रोचक तुक्का बनेर बसेका छन् ।
लगानमा यस्ता ससाना प्लटहरु छन्, जसले दर्शकलाई भावनात्मक रुपमा बाँधिरहन्छ । यी सबप्लटले मुख्य प्लटलाई कुनै हानि नगरी कथा अघि बढ्छ । अझ भन्ने नै हो भने यी साना सबप्लटले मुख्य प्लटलाई नै सघाएको छ । ती सबप्लटलाई चिन्ने, सशक्त पार्ने र तिनलाई स्ट्रक्चरमा ढाल्ने कुरा चानचुने कुरा होइन । तर यसका फाइदा निकै धेरै छन् ।
६. सरलता र अतिरञ्जनामाथि विश्वासः
मैले स्क्रिन राइटिङ र निर्देशन पढाउन थालेको एक दशक बढी भइसक्यो । मैले अधिकांश युवा फिल्म मेकरहरुले सरलतालाई भाउ दिएको चाहिँ पटक्कै पाइनँ । तिनले सरलतालाई निकै नै अपमान गरेका छन् । तर म त्यसका लागि उनीहरुलाई दोष दिन्नँ । म पनि २० वर्षे तन्नेरी छँदा क्लिष्ट कुराहरुलाई नै रुचाउँथेँ । मलाई त्यो बेला क्लिष्ट नै कुल हुन्छ भन्ने सोच्थेँ । यसले मेरो विद्वता प्रदर्शन गर्छ र स्वादलाई तिखार्छ भन्ने लाग्थ्यो ।
अर्को समस्या, नयाँ हुन् या अनुभवी स्क्रिनलेखक हुन्, तिनले घटनालाई अतिरञ्जित बनाउन हच्किन्छन् । जबसम्म हामीले अतिरञ्जनाको हद पार गर्दैनौँ, हामीले त्यसको सम्भावना मापन गर्न सक्तैनौँ । हामीले अतिरञ्जना गर्नु त पर्छ तर त्यो अतिरञ्जना हाम्रो भाँडोअनुसारको हुनुपर्छ । लगानको कथानक सरल छ । मानौँ, कुनै हजुरआमाले बालबालिकालाई कथा सुनाइरहेकी होऊन् । तर यसभित्रको जुन नाटकीयता छ, त्यो निकै नै अतिरञ्जनाले भरिउको छ । वास्तवमा हामीले सरलीकरण र नाटकीयतालाई निकै नै कम आँकेका छौँ । हामीले त्यसमा ध्यान दिन ज्यादै जरुरी छ ।
७. पहिलो घटनाः
द म्याट्रिक्स भन्ने हलिउडको फिल्म हेर्नुभएको छ ? पहिलो दृश्यमा मुख्य पात्र झल्याँस्स ब्युँझन्छ । उसले आँखा खोल्नु भनेको वास्तविकतामा फर्कनु हो । अर्को एउटा फिल्म छ, बलिउडको– उडान । (उडानकाे पटकथा लेखक सत्यांश हुन् ।) यसमा पहिलो दृश्य के छ ? घरबाट भागेको एउटा केटो, उसले बाउको कुरा मान्दैन र साथीहरुको सहयोगले ऊ उम्कन्छ । पहिलो घटनामा बाउ कति क्रूर छ भन्ने कुरा एकै झमटमा स्थापित गरिएको छ ।
लगानको पहिलो दृश्यमा के छ ? भुवन कहाँ छ भनेर सबैले सोध्छन् । सब हैरान छन्, उसलाई खोज्दाखोज्दा । ऊ चाहिँ शिकार खेल्न गएका अंग्रेजहरूबाट हरिणलाई जोगाउन लागिपरेको देख्छौँ । पूरै फिल्मको कथा नै पहिलो दृश्यले भनिदिएको छ । खेल अंग्रेजको, नियम अंग्रेजको अनि जित्ने अपेक्षा चाहिँ भारतीयको ! यो आत्मविश्वास बोकेको भुवनले जसरी हरिणलाई जोगाउने असफल प्रयास गर्छ, त्यसैगरी गाउँलेलाई जोगाउन सफल होला ! पहिलो दृश्यले नै त्यसतर्फ इंगित गरिएको छ ।
ठीक यस्तै एउटा दृश्य छ, चिन्टु का बर्थडे फिल्ममा । फिल्मको शुरुवाती दृश्यमा नै चिन्टुको बाउ मदनले एउटा प्रार्थना गर्छ । जसले भगवान्माथि विश्वास गर्छ, उसलई कुनै नराम्रो हुँदैन भन्ने सिकाउँछ । र, सोही प्रार्थना मदनले चिन्टुलाई गर्न लगाउँछ । मान्छेले आफ्नो विश्वास कसरी नयाँ पुस्तामा हस्तान्तरण गर्छ भन्ने कुरा एउटै दृश्यले ट्वाक्क भनिदिएको छ । (चिन्टु का बर्थडे पनि सत्यांशले नै लेखेका हुन् ।)
८. डिजाइन लुकाउनुः
लगानका प्रायः उम्दा दृश्यहरुमा डिजाइनलाई लुकाएर प्रस्तुत गरिएको छ । प्रख्यात दृश्य ‘इट द मिट’ हेर्नुभयो भने तपाईं छक्क पर्नुहुन्छ । यसमा सशक्त न्यारेटिभ फङ्सन देखनुहुन्छ । क्याप्टेन रसेल र राजाबीचको द्वन्द्वलाई चरममा पुर्याउन मासु खुवाएको दृश्यले भूमिका खेलेको छ । सानो दृश्यले जब तिक्तताको घनत्व बुझाउन सक्नुहुन्छ, त्यो बेला तपाईंले दृश्यहरुमा साँच्चिकै गतिलो प्रभाव जमाउन सक्नुहुन्छ ।
९. संवादः
लगानको संवादको हिन्दी भाग केपी सक्सेनाले लेखेका छन् । सम्भवतः उनी लगानकै सबैभन्दा कम प्रशंसा गरिएका व्यक्ति होलान् । लगानको जुन दृश्यभाषा छ, त्यसलाई उचाइमा पुर्याउने काम यसको संवादले गरेको छ । फिल्ममा यति धेरै मुहावरा, लोकोक्ति र सुन्दर संवाद छन् कि यसले एउटा उम्दा साहित्य नै सिर्जना गरेको छ ।
जसरी भुवनले त्यहाँ संवाद बोल्छ, जस्तो कि, माँ तोहरी कसम, मैंने जो किया, ठीक किया । मन कटता है मोरा जब हम राजाका लगान भरत हैं, और वो फिरंगियों कि गन्दी हथेली पे धर देत हैं । तुँ बोल माँ, धरती की छाती चीर के बीज कौन बोए है ? हम बोए हैं । फिर सिँचे कौन है ? हम ही ! फिर लगान उनकी गाँठ काहे बाँध दें ? गोरा साहब की बात, माँ, तीन साल का लगान माफ करे की बात थी । मैं का गूँगा हो जाता माँ ? तू बोल, गूँगा हो जाता मैं ?
अर्को उदाहरण, तो का हमरा लगान माफ होगा ? हम भर पेट खाएंगे ? का हमरे सपने सच होंगे ? नहीँ, नहीँ भुवन, गू गिली चुटकी में नमक पकड रहा है !
चिसो हातले नून पक्रियो भने के हुन्छ ? हातैमा टाँसिन्छ । हाल्नुपर्ने ठाउँमा पुग्दैन । यति मिठो लोकोक्ति यहाँ प्रयोग भएको छ । यस्ता त अनेकन् उदाहरण छन् । मुख्य कुरा, यो फिल्मको सौन्दर्य भनेको भूजमा बोलिने स्थानीय लवजलाई ठ्याक्कै उतार्नु हो ।
१०. माध्यमको मोहः
तपाईंलाई कथा वाचन गर्न मन छ भने सही माध्यम चयन गर्नुपर्छ । नत्र भने तपाईंको कथालाई तपाईंले सही न्याय गर्न सक्नुहुन्न । अर्कोतर्फ, स्क्रिनका लागि लेखिने कथाका लागि स्क्रिनलाई सुहाउँदिलो हुनुपर्छ । लगान एउटा उम्दा भिजुअल कथा हो । यसमा युद्ध छ, नाटकीयतता छ र ती सारा कुराहरु दृश्यमाध्यमबाट नै भन्दा उम्दापन आउँँछ । त्यो कुरा बात मार्दा वा एकल संवादमा मजा आउँदैन ।
मैले कयौँ यस्ता फिल्ममेकर देख्छु जो कथा सुनाउँदा यसरी सुनाउँछन् कि पात्रहरु कि त बोल्या बोलै हुन्छन् कि त गम्भीर हुन्छन् । भिजुअल एक्सनको नाटकीय शक्ति बुझ्ने निकै कम फिल्मकर्मी मैले देखेको छु ।
पूरै गाउँले हियाउन थालेपछि हाम्रो नायकले के गर्छ ? तिनलाई मनाउनेतर्फ लाग्दैन ऊ । बरु क्रिकेट ब्याट बनाउन थाल्छ । ताकि त्यसलाई गाउँलेमाझ देखाउन सकियोस् । भुवनले गाउँलेलाई यति जिज्ञासु बनाउँछ कि पछि एक एक गर्दै जोडिन आइपुग्छन् । आफूले देखेको सत्यमा जबसम्म अन्तिम बिन्दुसम्म ऊ लड्दैन, ऊ सफल हुँदैन भन्ने भुवनलाई थाहा छ ।
यत्ति कुरा नयाँ पुस्ताका फिल्मकर्मीले बुझे भने र यो फिल्मलाई दोहोर्याई तेहोर्याई हेरेर यसैको नक्कल गर्न सके भने पनि उनीहरुले धेरै प्रगति गर्नेछन् ।
(सत्यांशु सिंह फिल्म पढाउँँछन् । भारतको नेसनल अवार्ड विजेता फिल्मका निर्देशक तथा लेखक हुन् ।)
आउनुहाेस्, सत्यांशुका कुरा मनन् गर्दै हामी यहीँ फिल्म हेरौँः
[embedyt] https://www.youtube.com/watch?v=0wxKJIWoCV4[/embedyt]



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

