हिजोआज धेरैको हातमा स्मार्ट वाच, पाइडोमिटर र स्मार्टफोनमा एप राख्ने गरेका छन् । ती सबैको उद्देश्य चाहिँ हामी आज कति पाइला हिँड्यौँ भन्ने गणना गरी राख्नु हो । जब हामी कुनै दिन १० हजार पाइला हिँड्छौँ, त्यो दिन हाम्रा लागि उत्सवको दिनझैँ हुने गर्छ ।

के मानिसले दिनमा साँच्चिकै १० हजार पाइला हिँड्नै पर्छ ? १० हजार पाइला नहिँड्दा के हुन्छ ?

केही मानिसहरुलाई यस्ता प्रश्नले हैरान बनाइरहेका छन् । त्यसैले त उनीहरु यसरी पाइला पाइला गन्नुलाई धोका दिनुझैँ मान्दछन् । मेसिनले यसरी पाइला गन्दा के साँच्चिकै सहीसही हिसाबकिताब राख्न सकेको होला त ? तपाईं दौडिनु भएको होस् या अल्छी गरेर सुस्त तरिकाले हिँड्नुहोस्, त्यसलाई यस्ता एपले केही फरक पर्दैन । उसले त बस् पाइला चाले मात्र पनि गणना गरिहाल्छ । त्यसैले यी एपहरुका कारण हामी कति सक्रिय छौँ भन्ने थाहा पाइन्छ । चाहे हामीले त्यसमा चासो दिऊँ या नदिऊँ ।

तपाईंले चालेका हरेक कदम र पाइलाप्रति सचेत हुनुहुन्छ, त्यसको हिसाब किताब राख्नु हुन्छ भने पक्कै पनि तपाईंले दिनमा कति पाइला हिँड्ने भनी लक्ष्य राख्नु भएको पनि हुनसक्छ । अधिकांश एप वा उपकरणले १० हजार पाइलाको हिसाबलाई एउटा आदर्श सेट बनाएका छन् । त्यसैले संसारभरि नै हामीले प्रत्येक दिन १० हजार कदम चाल्नुपर्ने भनी सम्झाइरहन्छन् ।

तपाईंलाई लाग्ला, यो १० हजार पाइला कसैले सोचेर, ठूलो शोध अनुसन्धानपछि सेट गरिएको होला । तर त्यसो होइन । तपाईं ८ हजार पाइला वा १२ हजार पाइला चाले पनि स्वास्थ्यका लागि उत्ति नै फाइदाकारी हुन्छ ।

हरेक दिन १० हजार पाइला चाल्नु भनेको एउटा व्यापारिक विज्ञापनको हिस्सा थियो । सन् १९६४ मा जापानको राजधानी टोक्योमा भएको ओलम्पिक खेलको बेला पाइडोमिटर बनाउने एउटा कम्पनीले आफ्नो प्रचार मेन पो केईसँग मिल्दोजुल्दो किकर बनाएको थियो । किकर भनेको मान्छेले चाँडै टिप्ने संवाद । जापानी भाषामा मेनको अर्थ १० हजार र पोको अर्थ कदम । अनि केईको अर्थ मिटर ।

अब पाइडोमिटर बनाउने कम्पनीले १० हजार कदम हिँडेको रेकर्ड गर्ने मिटर नै वास्तवमा मेन पो केई हो र यसबाहेक अरुले यस्तो रेकर्ड बनाउन सक्तैन भन्ने अर्थ दिन यो विज्ञापन बनाएको थियो । यो विज्ञापनको असर यस्तो भयो कि मेन पो केई ब्लकबस्टर हिट भयो । उसले आफ्नो यही विज्ञापनका कारण मान्छेको दिमागमा घुसाइदियो कि दैनिक १० हजार पाइला हिँड्ने मान्छे स्वस्थ हुन्छ । र, त्यो तपाईंले मेन पो केईले नाप्नुपर्छ ।

यसपछि त संसारभरि अध्ययन र शोधहरु हुन थाले कि वास्तवमा मानिसले दिनमा कति पाइला हिँड्यो भने स्वास्थ्यका लागि गज्जब हुन्छ ? तर अनेकन् शोधले देखाएको छ, मानिस दैनिक रुपमा जति बढी हिँड्छ, उसका लागि उति नै फाइदा हुन्छ । तपाईं दिनमा पाँच हजार कदम हिँड्नुहुन्छ भने तपाईंको साटो अरु कोही १० हजार कदम हिँड्छ भने उसैलाई बढी फाइदा हुन्छ ।

हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक आई मिन लीले आफ्नो टोलीका साथ १६ हजार भन्दा बढी महिलाहरुको समूहमाथि शोध गरे । ती महिलाहरु ७० वर्षभन्दा बढी उमेरका थिए । उनीहरु दैनिक कति हिँड्छन् भनी गणना गरियो । तिनलाई उपकरण दिइयो । साताभरि हरेक दिन कति हिँडे त्यसको गणना गरियो ।

चार वर्ष, तीन महिनापछि जब शोधकर्ताहरुले ती महिलाहरुलाई सम्पर्क गरे, तीमध्ये ५०४ जनाको मृत्यु भइसकेको थियो । जो महिला जीवित थिए, उनीहरु दैनिक औसतमा कति हिँड्थे होला ?

रोचक कुरा के देखियो भने जो जीवित महिला थिए, उनीहरु प्रायः दैनिक रुपमा पाँच हजार पाँच सय पाइला हिँड्थे । जो महिला दैनिक चार हजार भन्दा बढी पाइला हिँड्थे, उनीहरु २ हजार ७ सय पाइला हिँड्ने भन्दा बढी बाँचेको पाइयो । उसो भए तपाईंलाई लाग्ला, जति बढी हिँड्यो उनीहरुको स्वास्थ्य उति नै राम्रो भयो होला अनि उनीहरु पनि बढी नै बाँचे होला । त्यसो होइन । दैनिक सात हजार पाँच सय पाइला हिँड्नेहरुमा औसत आयु बढेको देखिएन ।

यो शोधमा एउटा कमजोरी के देखियो भने बढी उमेर भएका कारण उनीहरुको तथ्यांक नियमित थिएन । उनीहरु त्यति धेरै हिँड्न पनि सक्तैनथे ।

तर अध्ययनहरुले के देखाएको छ भने ७० वर्ष भन्दा बढी उमेरका महिलाले दैनिक रुपमा ७ हजार पाँच सय पाइला हिँड्नु पर्याप्त हुन्छ । केही विशेष अवस्थामा योभन्दा बढी हिँड्दाका फाइदा पनि हुनसक्छ । अध्ययनले अर्को कुरा पनि देखायो कि जो मानिस चाँडो चाँडो हिँड्छ, ऊ बढी नै सक्रिय हुन्छ र बुढेशकालमा त्यसले फाइदा नै दिलाउँछ ।

हरेक दिन १० हजार पाइला हिँड्नु, त्यसको गणना गर्नु पनि निकै दिक्कलाग्दो काम हो । हरेक दिन त्यति मिहिनेत गर्न कम पापड बेल्नु पर्दैन । यस्तोमा मानिसहरु ज्यादै थाक्छन् । बेलायतमा १३–१४ वर्षका किशोरकिशोरीहरुलाई दस हजार पाइला दैनिक रुपमा हिँड्नुपर्ने लक्ष्य दिइएको थियो । केही दिनपछि नै उनीहरुले आफूमाथि ज्यादती भएको आरोप लगाएका थिए ।

जो मानिस दैनिक रुपमा बसेर काम गर्नुपर्ने हुन्छ, उनीहरुले पनि १० हजार पाइला हिँड्नै पर्छ त ? केहीले भन्छन्, उनीहरुको काम नै बसेर गर्ने हुन्छ तर उनीहरुले १० हजार पाइला नै हिँड्नुपर्छ भन्ने छैन । त्योभन्दा कम हिँड्दा पनि फाइदा नै गर्छ । तापनि पैदल हिँड्दा हरेक कदमको हिसाब राख्नुले हिँड्नुको स्वाद भने मेटिदिन्छ ।

अमेरिकाको ड्युक विश्वविद्यालयका मनोवैज्ञानिक जोर्डन एट्किनको अनुभव छ, धेरै मानिसहरु १० हजारभन्दा बढी पनि हिँड्छन् तर जब नापजोखको कुरा उठ्न थाल्यो, उनीहरुले हिँड्नुको रमरमीमा भन्दा गन्नुको स्वादमा अल्झन थाले । उनीहरुले हिँड्नुको असली स्वाद लिनै पाएनन् । यसपछि त उनीहरुलाई पैदल हिँड्नु पनि काम जत्तिकै बोझ लाग्न थाल्यो ।

स्वस्थ मानिसका लागि हरेक दिन पाइला पाइला गन्नु र गनेर हिँड्नु थकाउने काम हो । १० हजार कदम हिँडेर घर आइसकेपछि पनि उनीहरु आखिर केही न केही कामले त हिँड्नु परिहाल्छ । केहीले त आखिर हिँड्नु परिहाल्छ भनेर १० हजारपछि हिँड्नै नचाहने वा १० हजार पाइला मात्रैमा अड्किन पनि थालेको पाइएको छ ।

समग्रमा, तपाईंलाई पाइला गन्नुमा रमाइलो लाग्छ भने र त्यसले हिँडाइमा कुनै असर गर्दैन भने र त्यसैमा स्वाद लिइराख्न सक्नुहुन्छ भने गन्नुस्, गनिरहनुस् । तर १० हजार पाइला हिँडिसकेपछि तपाईंलाई हिँड्न दिक्क लाग्छ भने तपाईंको गन्ने बानी छाडिदिनुस् । तपाईंले त्यति मात्र लक्ष्य राख्नुस्, जति पूरा गर्न सक्नुहुन्छ । त्यो १० हजारभन्दा कम भए पनि फरक पर्दैन ।

यस्तोमा तपाईंले पाइला गन्ने एप, घडी, स्मार्टफोन सबै फ्याकिदिनुस् र हिँड्नुको आनन्द लिनुहोस् ।

र, अन्त्यमाः एउटा अध्ययनअनुसार १२ सयदेखि १५५० पाइला हिँड्दा हामीले एक किलोमिटर दुरी पार्ने गर्छौं । यस हिसाबले १० हजार पाइला हिँड्दा हामीले कम्तीमा पनि ६ देखि साढे ६ किलोमिटर हिँड्ने गर्छौं ।