कुनै व्यक्ति मर्छ । उसको मृत्युको घोषणापछि त्यो लाश नेपालमा के हुन्छ ? प्रायः हत्त न पत्त परिवारजनले सत्गत् गर्न लैजान्छन् । तर जसको सत्गत् गर्ने कोही हुँदैन, त्यस्तो लाश कयौँ महिनासम्म अस्पतालमा सडिरहन्छ । कतिपय लाश भने शिक्षण अस्पतालले प्रशिक्षणका लागि प्रयोग गर्ने गर्छ । तर कुनै एउटा व्यक्तिको शरीरलाई मृत घोषणा गरिसकेपछि अर्को कुनै खास काममा प्रयोग नगरिञ्जेल सत्गत् गर्नुअघि कति पटक त्यो लाशलाई कहाँदेखि कहाँसम्म पुर्याइन्छ होला ? यसबारेमा नेपालमा कुनै अध्ययन भएको थाहा छैन । तर विदेशतिर भने एउटा लाश मृत्युको घोषणापछि एक वर्षभन्दा बढी समय यतादेखि उता यात्रा गरिरहन्छ ।

यसबारेमा तपाईंलाई कथा लेख्नु पर्यो भने गज्जबको सूत्र फेला नपर्ला त ? हुन त नेपालमा ‘मृत्युको आयु’ उपन्यास नै लेखिसकिएको छ । डा. रवीन्द्र समीरले एउटा गज्जबको प्रयोग गर्नुभएको छ तर एक्कैछिन एउटा स्रष्टाका रुपमा सोच्नुस् त ! जब मृत्यु भइसकेको कुनै लाशलाई सत्गत् गर्ने अधिकार दिइएको छैन भने त्यो लाश कहाँबाट कहाँसम्म पुग्छ होला ?

गज्जबको कथानक हुँदैन त ?

यस विषयमा भने अस्ट्रेलियामा एउटा अध्ययन भएको थियो । सो अध्ययनले भन्छ, भलै कुनै व्यक्तिको निधन भएपछि लाशलाई रेस्ट इन पिस भनेर कामना गरिए पनि लाशले शान्ति चाहिँ पाउँदैन । उसको यात्रा अझै एक वर्षभन्दा बढी यताबाट उता दौडदामा नै बित्ने गर्छ ।

दिनमा हजारौँ मृत्यु हुन्छ । मृत्युपछि के हुन्छ भन्नेबारेमा विज्ञ र ज्ञानीहरुले घण्टौँ कथावाचन गरिदिन सक्छन् । प्रत्येक संस्कृति र सभ्यतामा मृत व्यक्ति र मृत्युका बारेमा आआफ्नै कथाका वृहद् पुराण छन्, दर्शन छन् ।

अस्ट्रेलियाका एक वैज्ञानिकले भने आफ्नो देशमा एउटा मृत शरीरको यात्रा सो घोषणाको एक वर्ष बढी समय यताबाट उता दौडिरहेको हुन्छ । खासगरी कुनै आपराधिक शास्त्रको अध्ययनका लागि प्रयोग गरिने लाशहरुको यात्रा यति दुरुह हुने गरेको अध्ययनले देखाएको छ ।

वैज्ञानिक एलिसन विल्सनले एउटा लाशलाई १७ महिना पछ्याएर हरेक गतिविधिको तस्बिर लिएपछि उनी सो निष्कर्षमा पुगेकी हुन् ।

अस्ट्रेलियन फेसिलिटी फर टेफोनोमिक एक्सपेरिमेन्टल रिसर्च (आफ्टर)का लागि गरेको शोधमा एउटा मरेर पनि शान्ति नपाउने लाशको कथा कहेकी हुन् । रोचक त के भयो भने एउटा शरीरलाई जब अब काम छैन भनेर गाडियो, त्यो शरीरको एउटा हात भने कुनै प्रयोगात्मक शिक्षणका लागि अन्तै पुगिसकेको थियो ।

बाँकी शरीर भने सिड्नीको बाहिरी भागको एउटा कम्पनीको ‘बडी फार्म’मा पुर्याइएको थियो ।

विल्सनको यो अध्ययन हालै फरेन्सिक साइन्स इन्टरनेसनलः सिनर्जीमा प्रकाशित भएको हो ।

उसो भए डेढ वर्षभन्दा बढी समय लगाएर एउटा लाशको पछि दगुरिरहेकी विल्सनलाई के फाइदा भो त ?

शोधकर्ता भन्छन्, मृत्युपछिको लाशको अवस्था, लाशको कुहिने मिति र तिनलाई अन्तिममा सत्गत् गरिने समय तथा छाडिने ठाउँका बारेमा जब सरोकारवालाहरुलाई थाहा हुन्छ, यसले यस प्रक्रियामा भाग लिने अन्य शोधकर्ता, चिकित्सक र विद्यार्थीहरुलाई फाइदा पुग्छ । कुन बेला यो शरीरबाट श्वास निस्कियो, त्यो अनुमान गर्न पनि अनुसन्धाताहरुलाई सहयोग पुग्छ ।

यसले लामो समय हराएका व्यक्तिहरुको लाश फेला पर्दा त्यस्ता पहिचान हुन नसकेको शरीरका बारेमा नखुलेका पाटाहरु खुलाउन सकिने सम्भावना बढी हुन्छ ।

कुन गतिमा शरीर गल्न थालेको छ, सो दरलाई पछ्याएर शरीर विज्ञान अध्येता तथा अपराधशास्त्रका विज्ञहरुलाई त्यसमाथि अध्ययन गर्न सहज हुनेछ । खासगरी प्रहरी, फरेन्सिक एन्थ्रोपोलोजिस्ट, प्याथोलजिस्टहरुलाई अज्ञात पीडितहरुको अवस्था अध्ययन अनुसन्धान गरी निष्कर्षमा पुग्न सफलता हात पर्न सक्छ ।

नेपाली साहित्यमा यसतर्फ पनि सोचेर लेख्ने हो कि ?