साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साहित्यमा नयाँ प्रयोग – छेस्का

भनिन्छ साहित्य समाजको ऐना हो । समाज, सामाजिक परिवेश र तिनैबिचका अनुभूति र कल्पनाको लेख्य रुप हो साहित्य । साहित्यमा समाज लेखिन्छ, सामाजिक परिवेश लेखिन्छ, प्रकृति लेखिन्छ, भोगाइ, अनुभव र अनुभूति लेखिन्छ ।

कुनै समय यस्तो थियो जतिबेला छन्द बिनाका रचना कविता नै होइनन् भनिन्थ्यो । भन्नुको अर्थ, कविता पद्यमा मात्र लेखिन्छन्, गद्यमा लेखिंदैनन् र गद्यमा लेखिएका रचना कविता होइनन् भन्ने धारणा राखिन्थ्यो । तर समयक्रममा गद्यले यति व्यापकता पायो कि पद्यले बचाउका लागि अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था उत्पन्न भयो । निश्चय नै पद्यको आफ्नै सुन्दरता छ र गद्यको आफ्नै विशेषता । तर गद्य वा पद्य विवादको विषय नै होइन, शैली जे जस्तोसुकै भएपनि सिर्जना भावयुक्त हुनुपर्छ । भाव बिनाको कुनैपनि रचना साहित्य हुन सक्दैन ।

भनिन्छ साहित्य समाजको ऐना हो । समाज, सामाजिक परिवेश र तिनैबिचका अनुभूति र कल्पनाको लेख्य रुप हो साहित्य । साहित्यमा समाज लेखिन्छ, सामाजिक परिवेश लेखिन्छ, प्रकृति लेखिन्छ, भोगाइ, अनुभव र अनुभूति लेखिन्छ । सिर्जना चाहे जसरी वा जुन रुपमा गरिएको किन नहोस्, त्यसभित्र भाव हुनुपर्छ । साहित्यमा हुनुपर्ने तत्वहरुले युक्त रचनालाई साहित्य मान्नुपर्छ । भाव बिनाको लेखन केवल अक्षरहरुको लहर वा थुप्रो मात्र हुन्छ । हरेक सिर्जनाकर्मीले यस कुराको हेक्का राख्नै पर्छ ।

विनोद नेपाल

लेखनले मानिसलाई सक्रिय राख्छ । जिज्ञासु त बनाउँछ नै, साहित्यिक र सिर्जनात्मक लेखनले मानिसलाई ऊर्जा पनि प्रदान गर्छ । सम्भवतः यसैकारण पछिल्लो समय नेपाली साहित्यमा कलम चलाउने र कृति प्रकाशन गर्नेहरुको संख्या निकै ठूलो हुँदै गएको छ । लेखन परम्परामा नयाँनयाँ अभ्यास र प्रयोगहरु भइरहेका छन् । शैलीगत भिन्नता फरक कुरा हो, निवन्ध, नाटक र आख्यान बिधामा त त्यस्तो ठूलो परिवर्तन देखिंदैन तर काव्य विधामा भने विभिन्न शैलीहरु देखापरेका छन् । विभिन्न ढङ्गमा रचना गर्ने क्रम बढेको छ । यस्तै शैली मध्येको एक हो ‘छेस्का’ ।

छेस्काको प्रारम्भ 

साहित्य लेखन पंक्तिकारको रुचिको विषय हो र केही वर्ष यता पूर्णकालीन लेखक नै बनेको अवस्था छ । यसरी लेख्ने क्रममा एक दिन ५–५–५ अक्षर संरचनाको एउटा शब्द समूहले चस्स छोएपछि त्यस सिर्जनालाई ‘छेस्का’ नाम दिएर मुहार पुस्तिकाको भित्तामा राखेसँगै ‘छेस्का’ सार्वजनिक सम्पत्ति भएको हो । त्यो दिन थियो २०७६ मंसिर २४ गते अर्थात् १० डिसेम्बर २०१९ । सो पोस्ट १५५ जनाले मनपराउनु भएको थियो भने ५० बढी सकारात्मक प्रतिक्रिया आए । यसले पंक्तिकारलाई हौस्यायो । त्यसपछि नै यस शैलीमा रचना गर्ने र सार्वजनिक गर्ने क्रम प्रारम्भ भएको हो ।

प्रकाशन 
‘छेस्का’ २५ पुस २०७७ मा पहिलोपटक प्रकाशित भयो । प्रकाशन गर्ने अनलाइन थियो ‘नागरिकन्युज डट कम’ । सो प्रकाशन पछि यसप्रति धेरैको चासो बढ्यो ।

समयको माग 

पछिल्लो समय पाठकहरु छोटा रचना मन पराउन थालेका छन् । प्रविधिको विकास र व्यस्तताका कारणले पनि होला पाठकहरु यस्ता रचनाप्रति आकर्षित हुन थालेका छन् । हाते फोनको सुविधाले झलक्क हेर्दा देखिने र छिनभरमा पढिसकिने सामग्री पाठकलाई प्रिय लाग्दारहेछन् भन्ने महसुस भएपछि यस शैलीको लेखनलाई निरन्तरता दिने मानसिकता बनाइएको हो । त्यसपछि फाटफुट रुपमा बेलाबेलामा यस्ता सामग्री मुहार पुस्तिकाको भित्तोमा राख्न थालियो । यसप्रति सकारात्मक प्रतिक्रिया आउन थाले । साहित्यिक कार्यक्रमहरुमा सहभागी हुँदा पनि साथीहरुले ‘छेस्का गजब छ, लेख्दै हुनुहुन्छ नि ?’ भन्दै हौस्याउन थाले जसले उत्साह दियो ।

कतिपय मित्रहरुले यसप्रति विशेष रुचि देखाउन थाल्नुभयो । पंक्तिकारका पोस्टमा सोही संरचनामा प्रतिक्रिया आउन थाल्यो । त्यसपछि २०७८ वैशाख ३१ गते अक्षय तृतीयाका दिन ‘छेस्का साहित्य’ नामक फेसबुक समूह खोलियो । यसपछि मित्रहरु समेटिने क्रम प्रारम्भ भयो, यसअघि पनि फाटफुट लेखिरहेका साथीहरु समूहमा जोडिनुभयो । समूहमा साथिहरु जोडिने क्रमसँगै यस शैलीमा लेख्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ ।

उद्देश्य 

‘छेस्का’ ठेट नेपाली शब्द हो । यस शब्दले दाउरा आदिको सानो टुक्रा वा झिंजा भन्ने बुझाउँछ । आकारमा सानो र मसिनो भएपनि यसको घोचाइ आफ्नै खालको हुन्छ । विकृति विसङ्गतीमाथि ‘छेस्का’ बनेर प्रहार गर्नु र सम्बन्धित पक्षलाई सजग गराउनु, त्यस्तर्फ ध्यानाकृष्ट गराउनु यस लेखनको उद्देश्य हो ।

संरचना 

‘छेस्का’ काव्य विधाको एउटा लघुतम स्वरुपको रचना हो । संरचनात्मक दृष्टिले यो जापानी शैलीको लेखन ‘हाइकु’ भन्दा सानो र पछिल्लो समय प्रयोगमा आएको विशुद्ध नेपाली शैलीको ‘बाछिटा’ भन्दा ठूलो आकारको हुन्छ । ‘छेस्का’ समान ५ अक्षरका तीन पंक्तिमा लेखिन्छ जवकि हाइकु ५–७–५ अक्षरका तीन पंक्तिमा लेखिन्छन् भने बाछिटा ३–५–३ अक्षरमा लेखिन्छ ।

छेस्कामा सिद्धान्तको कुनै बोझ छैन । यो स्वतन्त्र रुपमा लेख्न सकिन्छ । यसमा प्रकृति लेख्न सकिन्छ । समाज, सामाजिक परिवेश लेख्न सकिन्छ । दुःख, पीडा, खुसी, आक्रोस र सुधार, सुझाव लेख्न सकिन्छ । यसले सामाजिक, प्रशासनिक, राजनीतिक यथार्थ एवम् विकृति विसङ्गति माथि चोटिलो प्रहार गर्नुपर्छ, ‘छेस्का’ले जस्तै चुस्स घोंच्नुपर्छ र पाठकलाई आफ्ना अनुभूति नै लेखिएको वा आफ्ना आवाजको प्रतिनिधित्व गरिएको महसुस गराउनुपर्छ भन्ने यसको मान्यता हो । सामाजिक विकृति विसंगती र मनोभाव आदि त साहित्यले बोल्ने र बोक्ने विषय नै हुन्, तिनलाई प्रतीक र बिम्बको प्रयोग द्वारा अभिव्यक्त गरिन्छ । यो शैली यसमा पनि आवश्यक हुन्छ । बिम्ब वा प्रतीकको प्रयोगका साथै सामान्य र सरल शब्दका माध्यमद्वारा आफ्ना भावना व्यक्त गर्न सकिन्छ । व्यङ्ग्य प्रहार गर्न सकिन्छ । सिद्दान्तका तगारा भन्दा पनि छेस्का मार्फत चोटिला शब्दमा सहज ढङ्गमा कुनै कुराप्रति व्यङग्य गर्न,मर्मभेदी प्रहार गर्न वा असन्तुष्टि व्यक्त गर्न, सजग सचेत गराउन यसको प्रयोग गर्न वा यस ढङ्गमा सङ्क्षिप्त तर चोटिलो अभिव्यक्ति दिन सकिन्छ र त्यही प्रयास छेस्काको हो । जसरी छेस्को सानो हुन्छ तर त्यसको घोचाइको असर लामो समयसम्म रहन्छ त्यसैगरी छेस्काको झन्झनाहट पनि लामो र गहिरो हुनुपर्छ भन्ने यसको मान्यता हो ।

‘छेस्का’ चोटिला पोटिला र अर्थपूर्ण हुनुपर्छ । विकृति, विसङ्गति र बेथितिलाई चसक्क घोच्ने र सानो छेस्कोले पनि सन्देश दिन, सजग गराउन तथा सकारात्मक प्रभाव पार्न र ठूलो काम गर्न सक्छ भन्ने पुष्टि गर्ने प्रयास छेस्का लेखनमा संलग्नहरुले गर्नुपर्छ । यसैले छेस्का लेखक चोटिला शब्दको चयन गर्न निपूण हुनुपर्छ ।

लेख्य र कथ्य भाषामा भिन्नता हुन्छ । यसमा हामीले हेक्का राख्नुपर्छ । विधि विधान, नियम भएन वा भएका नियमको पालन गरिएन भने त्यसले भाषिक अराजकता निम्त्याउँछ यसर्थ केही विधि निर्धारण गरिनु र तिनको पालन गर्नु आवश्यक हुन्छ । अक्षर सङ्ख्या पु¥याउनका लागि अर्थात् ५–५–५ बनाउनकै लागि खुट्टा काट्ने वा जोड्ने जस्ता काम गर्नुहुँदैन, हरेक पंक्तिमा सग्ला पाँच अक्षर हुनुपर्छ । यसलाई कडाइका साथ पालन गर्नुपर्छ । ठेट नेपाली र बोलिचालीका भाषा प्रयोग भए अत्यन्त राम्रो हुन्छ ।

औचित्य र आवश्यकता 

लेखनमा रुचि हुँदैमा कोही लेखक साहित्यिकार बन्न सक्दैन,सबैले महाकाव्य, खण्डकाव्य लेख्न सक्दैनन्,सबैले कथा उपन्यास लेख्न सक्दैनन् । कुनै कुराले आफूलाई छोयो तर त्यसलाई लामो बनाएर अभिव्यक्त गर्ने समय भएन भने छोटा स्वरुपका शैली अपनाउन सकिन्छ । यसका लागि ‘छेस्का’ अत्यन्त उपयुक्त हुन सक्छ ।

कविता,काव्यका अन्य विभिन्न रुपहरु आवश्यकताले नै जन्मिएका हुन् । हाइकु, सेन्र्यु होस् वा ताङ्का,चोका र अन्य शैलीका सिर्जना, ती आवश्यकताले नै जन्मिएका हुन् । रुचि छ तर लामा रचना गर्न सकिंदैन, साना कुराले छुन्छ, प्रभावशाली रुपमा बिम्ब र प्रतीकको सहयोग लिएर प्रयोग गरेर प्रभावकारी अभिव्यक्ति दिन सकिन्छ भने साना रुपमा किन नलेख्ने ? यी पनि काव्यकै स्वरुप हुन किन नसक्ने ? यी शैलीमा लेख्नु र यिनलाई पनि सोही बमोजिमको मान्यता दिनुपर्छ । सैद्धान्तिक रुपमा धेरै ठूलो अन्तर नहोला, भावपक्ष बलियो हुनुपर्छ,व्यङ्ग्य हुनुपर्छ । समाज, सामाजिक परिवेश लेखनका विषय हुन सक्छन् । प्रकृति लेखिन सक्छ । तर सिर्जना शिक्षाप्रद र सन्देशमूलक तथा सम्बन्धित पक्षलाई सजग,सचेत गराउनेखालको होस् भन्ने तर्फ चाहिँ लेख्नेहरुले ध्यान दिनैपर्छ । साहित्य हुनको लागि कुनै पनि सिर्जनामा भाव हुनुपर्छ । यस कुराको हेक्का कुनै पनि शैलीमा लेख्ने हरेकले राख्नुपर्छ । मुल्याङ्कन गर्ने काम पाठकको हो ,पाठकसामु पुगेपछि लेखकको रचना पाठकको मूल्याङ्कनको विषय बन्छ , पाठकको मन छुन सकेमा सफलता प्राप्त हुन्छ, नसकेकमा असफलता हात लाग्छ । यसैले हरेक सर्जकले आफ्ना रचना मार्फत सरल शब्द,सरल शैलीमा भावयुक्त अभिव्यक्ति दिने प्रयास गर्नुपर्छ ।

अन्त्यमा, लामो लेख्न नसक्नेहरुका लागि यी छोटा शैली उपयोगी हुन सक्छन् । कुनै कुराले छोयो, आफूसँग शब्द भण्डार छ र शैली पछ्याउन सकिन्छ भने थोरै अक्षरमा पनि क्षणभरमै भावयुक्त र प्रभावशाली साहित्य सिर्जना गर्न सकिन्छ भन्ने यसको मान्यता रहेको छ । ‘छेस्का’ प्रेम, वियोग, खुसी, पीडा, प्रकृति, परिवेश,जस्तासुकै विषयमा लेख्न सकिन्छ । अनुप्रासयुक्त र लयात्मक भयो भने अत्यन्त राम्रो हुन्छ । तर त्यसो नभएपनि भावयुक्त भयो भने ‘छेस्का’ उत्कृष्ट ठहरिन्छ । यसैले जबर्जस्ती अक्षर पु¥याउने भन्दा पनि शुद्ध लेखनमा हरेक लेखकको ध्यान जानुपर्छ ।

केही छेस्का ः

ताण्डव नृत्य
हेरिरहेछन्
मूक दर्शक ।

अनौठो मेल
तोरी र कोदो
पानी र तेल ।

गोधूलि साँझ
एक्लो बटुवा
मायालु याद ।


नकचरो ऊ
निर्दोष उनी
बित्थामा दोष ।

प्रतिक्रिया
Loading...