हामीले प्रायः सुन्ने गरेको लोकोक्ति हो, जो चोर उसैका ठूला सोर ! आफूलाई बचाउनका लागि चोरले ठूलो स्वरमा आफ्नो निर्दोषताको प्रमाण पेस गर्ने गर्छ भन्ने लोकोक्तिलाई प्रायः हामीले सत्य मान्ने गरेका छौँ ।
हालै हार्वर्ड विश्वविद्यालयले गरेको एउटा अध्ययनले देखाएको छ, जो चोर उसैका ठूला स्वर नहुन पनि सक्छ तर जब आफ्नो निर्दोषताको प्रमाणका रुपमा मानिसले ठूलो स्वरमा प्रमाण पेश गर्न थाल्छन्, रिसाउँछन्, भुटभुटिन्छन्, त्यो बेला उनीहरु नै बढी दोषी देखिने सम्भावना बढेर जान्छ ।
यस्तो अवस्थामा निर्णायक स्थानमा रहेका प्रहरी, प्रशासन वा कम्पनीका सञ्चालकहरुले गम्भीर आत्ममन्थन गरी निर्णय गर्न आवश्यक रहेको हार्वर्ड विश्वविद्यालयको अध्ययन निष्कर्ष छ ।
निर्दोष मान्छेले जब आफूमाथि आधारहीन र तथ्यहीन आरोप लागेको पाउँछ, प्रायः ऊ रिसाउँछ तर त्यसले उनीहरुलाई नै हानि पु¥याउने गरेको छ । आहानै छ, जो चोर, उसैका ठूला सोर ! त्यसैले उनीहरु नै प्रायः दोषी देखिने सम्भावना बढी हुन्छ ।
त्यसैले कोही मानिस आरोपी छ, अनुसन्धानका क्रममा ऊ रिसाएको छ भने उसलाई दोषी मानिहाल्नुको साटो एक पटक शान्त हृदयले आन्तर्यमा छिर्नु आवश्यक पर्छ ।
हार्वर्ड बिजनेस स्कुल र टोरेन्टो विश्वविद्यालयले संयुक्त रुपमा गरेको ‘एङ्गर ड्याम्स द इनोसेन्ट’ (रिसले निर्दोषलाई निन्दा गराउँछ) शीर्षकमा ६ वटा भिन्दाभिन्दै अध्ययन गरेको थियो । अध्ययनमा गलत तरिकाले कसैलाई आरोप लगायो भने मानिसले कसरी प्रतिक्रिया जनाउँछन् र त्यस्ता प्रतिक्रियाले उनीहरुको निर्दोषिताको दृष्टिकोणमा दोषी या निर्दोषिता कस्तो असर पु¥याउँछ भन्नेमा केन्द्रित गरिएको थियो ।
प्रयोग यस्तो थियोः
यस अध्ययनमा भाग लिएका २३० जनालाई दुई वटा काम दिइएको थियो । दुई वटा काममध्ये एउटा सजिलो थियो र अर्को अलि अप्ठेरो । अध्ययनमा सजिलो र अप्ठेरो काम गर्न अलग अलग टोली बनाइएको थियो । एउटा टोलीलाई सजिलो काम दिइएको थियो, कुनै लेखलाई सम्पादन गर्नुपर्ने थियो र त्यसमा व्यक्ति तथा संस्थाका नामहरु (अंग्रेजीका नाम) ठूला अक्षर (क्यापिटल लेटर)मा सच्याए पुग्थ्यो । यसका अतिरिक्त उनीहरुले पूर्णविरामअघिका हरेक शब्दलाई ठूला अक्षर बनाउनुपर्ने थियो । यी दुई वटा काम राम्रोसँग गरेबापत प्रत्येक सहभागीले दुई डलर पाउने थिए । पहिलो परीक्षामा सहभागी सबैले राम्रो काम गरे ।
अर्को टोलीलाई अलि अप्ठेरो काम दिइएको थियो । जसमा प्रायः सहभागीहरुले गल्ती गर्ने सम्भावना थियो । प्रत्येक वाक्यमा भएका क्रिया विशेषण पत्ता लगाउने र त्यसलाई हटाउने थियो ।
यो काम सकिएपछि दुवै खेमाका प्रतियोगीहरुलाई परिक्षकले एउटै म्यासेज पठाए । यो म्यासेज शोध सहायकले बनाएको म्यासेज थियो र म्यासेजमा लेखिएको थियो, ‘तपाईंले लेख्नु भएको उत्तर गलत छ । तपाईंहरुले काम गर्दा पूर्ण रुपमा सचेत नहुनु भएको प्रस्ट देखिएको छ । त्यसैले तपाईंलाई दिइने भनिएको दुई डलर बोनस हाललाई स्थगित गरिएको छ ।’
सजिलो काम पाएको टोलीले पठाइएको सन्देशलाई उचित मानेन । उनीहरुले आफूमाथि गलत उत्तर लेखेको आरोप सही नभएको बताएका थिए । उनीहरुले यस्तो गलत आरोप लगाउँँदा रिस उठेको र आफ्नो उत्तरलाई पुनः एक पटक जाँँच गरी हेर्न आग्रहसमेत गरेका थिए ।
त्यसो त आफूले गरेको सही उत्तरलाई पनि गलत भन्दा संसारभरिका मानिसलाई रिस नै उठ्छ र यसका लागि कुनै अध्ययन जरुरी पर्दैन । आफूले नगरेको गल्तीको दोषी देखाउँदा अप्रशन्नता हरकोहीले व्यक्त गर्छ नै ।
तर यो अप्रशन्नताले एउटा समस्या निम्त्याउँछ । प्रायः यस्तो अप्रशन्नताले अर्को मानिसलाई तपाईं नै गलत हुनुहुन्छ भन्नेमा विश्वास दिलाउँछ । यही कुरा अन्य चार अध्ययनमा पनि देखिएको छ । पहिलो अध्ययनमा एउटा टेलिभिजन कार्यक्रमको छोटो भिडियो देखाइएको थियो । जज फेथ नामक सो कार्यक्रममा कुनै अदालतको प्रक्रियाबारे थियो । जसमा एक जना मानिसले आफ्नी केटी साथीलाई धोका दिएको आरोप लगाइएको थियो । अर्को एउटा भिडियो क्लिपमा एक जना मानिसले आफ्ना सहकर्मी साथीको पैसा चोरेको आरोप थियो । यस्ता प्रत्येक मामिलामा तिनले आरोपीको अनुहारको हाउभाउ हेरी उनीहरु दोषी या निर्दोष रहेको प्रतिक्रिया दिनु थियो । हरेक पटक अदालतमा उभिएर जो रिसाउँथ्यो, ऊ दोषी भएको प्रतिक्रिया यस अध्ययनमा सहभागीले दिएका थिए । शान्तपूर्वक प्रतिक्रिया दिने वा उत्तर दिने मानिस भने दोषी नहुन सक्ने सम्भावना त्यहाँ व्यक्त गरिएको थियो । अरु त अरु, आफू यस मामिलामा केही नबोल्ने, आफ्ना कुनै भनाइ नरहेको प्रतिक्रिया दिनेहरु निर्दोष हुने सम्भावना बढी रहेको त्यहाँ देखिएको थियो ।
यस मामिलाका विज्ञहरुसमेत दोषी पत्ता लगाउने मामिलामा यस कुरामा चिप्लिएको देखिएको थियो । अर्थात्, जो रिसाहा छ, उसको अनुहारको प्रतिक्रिया प्रीतिकर थिएन उनीहरु नै बढी दोषी उनीहरुले देखिरहेका थिए ।
१३६ जना विशेषज्ञहरुलाई भिडियोका क्लिप देखाई उनीहरु दोषी या निर्दोष के हुन् भनी छुट्याउन दिइएको थियो । यस अध्ययनमा कानुन विज्ञ, धोकाधडी विशेषज्ञ, वकिल तथा यस्तै अन्य पेशाका मानिसहरु सहभागी थिए । रिस देखाउनेहरु भन्दा शान्तपूर्वक जवाफ दिने वा शान्तपूर्वक जवाफ दिन चाहन्न भन्नेहरु निर्दोष रहेको उनीहरुको प्रतिक्रिया थियो ।
यस्ता धोकाधडीका मामिलाका विशेषज्ञहरुसमेत धोका खाने यस अध्ययनले के देखाउँछ त ? धोकाको कम्पनी चलाउनेहरुले आफ्ना कर्मचारीलाई के सिकाउँछन् त ?
जो कसैले पनि गलत काम भएको आरोप लगाउँदा आफूले शान्त भएर त्यस्तो नभएको प्रतिक्रिया दिने । गलत काम गरे पनि आफूले त्यस्तो नगरेको शान्तपूर्वक जवाफ दिने ।
हार्वर्डका शोधकर्ताले आफ्नो अध्ययन प्रतिवेदनमा भनेका छन्, ‘अध्ययनले के देखायो भने जब तपाईं आफूमाथि लागेको गलत आरोपको खण्डन गर्न रिसाउन थाल्नुहुन्छ, तपार्ईंको छवि ध्वस्त हुन्छ । जो दोषी तथा निर्दोषी छुट्याउने काममा हुन्छ, ऊ पनि यस्ता गतिविधिले गलत बुझ्न पुग्छन् । यस्तोमा हामीले झट्ट दिमागमा आउने निष्कर्षमा पुग्नु हुँदैन । यस किसिमको भावनात्मकताले हामी सत्यको नजिक पुग्न सक्तैनौँ । यस अध्ययनको निष्कर्ष के छ भने मानिस जतिसुकै विज्ञ भए पनि जब झूट र सत्य पत्ता लगाउने अवस्थामा झट्ट आउने प्रतिक्रियाबाट सत्यको नजिक पुग्न सक्तैनौँ ।
कतिपय अवस्थामा जब गलत आरोप लाग्ने गर्छ, त्यस्तो अवस्थामा आफूलाई शान्त रहन निकै गाह्रो हुने प्रतिक्रिया अधिकांशले दिने गर्छन् । यस्तो अवस्थामा दिमागी सन्तुलन बिग्रनु स्वाभाविक हो ।
त्यसैले जब हामी कसैलाई केही कुराको आरोप लगाउँछौँ, त्यो बेला मानिस रिसायो भने ऊ दोषी हो भन्ने कुराको निष्कर्षमा पुग्नुभन्दा अघि एक पटक उसलाई ‘शङ्काको लाभ’ दिनुपर्ने विज्ञहरुको धारणा छ ।
तर के लोकोक्तिमा केही सत्यता छैन त ? कि हामीले सानैदेखि यो लोकोक्ति सुनेका कारण हामीले विश्वास गरेका हौँ ? तपाईंलाई के लाग्छ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।