फेसबुकमा एक जना मानिसले आफ्नो सेल्फी खिचेर हाल्यो । त्यसपछि पहिलो लभ रियाक्ट उसैले गर्यो । अर्को एक जना युवतीले आफ्नो सेल्फी हालिन् र त्यसको क्याप्सन राखिन्, आई लभ माइसेल्फ ।
तपाईंलाई लाग्दो हो, यिनलाई अलिकति पनि लाज शरम भन्ने चिज छैन ? आफ्नै फोटोमा लभ रियाक्ट गर्ने र आई लभ माइसेल्फ लेख्ने हिम्मत कसरी जुटाउन सकेका होलान् !
तपाईंलाई पो त्यस्तो लाग्न सक्छ तर सत्य त के हो भने संसारभर यस्ता मानिस धेरै हुन्छन् । खास कुरा के भने, यस्ता मानिस तपाईंभन्दा खुसी र सफल हुन्छन् ।
मनोवैज्ञानिक र विशेषज्ञहरुका अनुसार आत्ममुग्ध (नार्सिसिस्ट) मानिस अनौठा त हुन्छन् तर उनीहरु अन्य सामान्य मानिसको तुलनामा बढी खुसी हुन्छन् ।
आफैँमा मग्न र मोहित हुने मानिसलाई आत्ममुग्ध व्यक्ति भनिन्छ, अंग्रेजीमा त्यस्ता व्यक्तिलाई नार्सिसिस्ट भनिन्छ । यिनले आफूलाई अन्यभन्दा उम्दा र महान् सम्झने भ्रममा बाँचिरहेका हुन्छन् ।
आत्ममुग्ध मानिस आफूलाई आवश्यकताभन्दा बढी महत्त्व दिन्छन् र यिनलाई आफू अरुको केन्द्र बन्न बढ्ता मन पर्छ ।
केही वर्षअघि उत्तरी आयरल्यान्डको क्विन विश्वविद्यालयमा मनोवैज्ञानिकहरुले आत्ममुग्धतामाथि एउटा अनुसन्धान गरेका थिए । सो अनुसन्धानले देखाएको छ, आत्ममुग्ध मानिसलाई सहजै अवशाद र तनावको शिकार हुँदैनन् ।
अध्ययनले के पनि देखाएको थियो भने आत्ममुग्ध मानिसको व्यवहारले प्रायः अरुलाई हैरान र चिन्तित बनाउँछ तर तिनीहरु यसका बारेमा बिल्कुलै चिन्ता लिँदैनन् । अरुले के भन्लान् भन्नेमा उनीहरुलाई मतलबै हुँदैन ।
यस अनुसन्धानकी प्रमुख तथा मनोविज्ञ डाक्टर कोस्टास पेपोजर्ज भन्छन्, आत्ममुग्ध हुनुको आफ्नै किसिमका फाइदाहरु छन् ।
राजनीति होस् या सोसल नेटवर्किङ साइटहरु हुन्, सेलिब्रिटी संस्कृति नै किन नहोस्, तिनमा आत्ममुग्धता बढिरहेको छ । जबकि यस्तो किसिमको आत्ममुग्धतालाई समाजले उति राम्रो मान्दैन । तथापि यसलाई खुला रुपमा हिजोआज देख्न पाइन्छ ।
लाज-घिन कम, पछुतो पनि कम
मनोविज्ञहरु आत्ममुग्ध मानिसहरुलाई यस्ता व्यक्तिका रुपमा परिभाषित गर्छन्, जो दम्भले भरिएको व्यवहार देखाउँछन्, आफूलाई अन्यभन्दा उम्दा ठान्छन्, आवश्यकताभन्दा बढी आत्मविश्वासले तिनीहरु भरिएका हुन्छन्, अरुको दुःखपीडालाई बुझ्दैनन् र तिनलाई लाजघिन पनि कम हुन्छ र पछुतो पनि कम हुन्छ ।
मनोविज्ञहरु चकित छन्, यति धेरै नकारात्मक बानीका बाबजुद पनि आत्ममुग्ध मानिसहरु नापजोख गर्दा फाइदामा कसरी हुन्छन् त ?
केही मनोवैज्ञानिकहरु आत्ममुग्धतालाई मानिसको ‘डार्क साइड’ (अँध्यारो पाटो) का रुपमा मान्छन् । यो चाहिँ साइकोप्याथी (एक किसिमको पर्सन्यालिटी डिसअर्डर) र स्याडिज्म (अरुलाई दुःख दिन पाउँँदा खुसी हुने बानी) जस्तै हो भनी केहीको दाबी छ ।
सत्ता नजिक पुग्न सफल
पछिल्लो अनुसन्धानमा के पनि थाहा भएको छ भने आत्ममुग्ध मानिस कार्यक्षेत्र र जीवनमा अपेक्षाकृत बढी सफल हुन्छन् ।
आत्ममुग्ध मानिसमा एक किसिमको मानसिक सशक्तता हुन्छ । जसका कारण उनीहरु निराशाबाट चाँडै नै निस्कन्छन् र आफ्नो लक्ष्यमा लागिहाल्छन् ।
डाक्टर कोस्टास भन्छन्, यस्ता मानिसहरु प्रायः अरुका विचार र व्यवहारलाई आफूविरोधी भएको ठम्याइहाल्छन् । यिनीहरुमा असुरक्षाको भावना घर गरेर बसेको हुन्छ । यी सारा नकारात्मक पाटाहरुका बाबजुद आत्ममुग्ध व्यक्ति कयौँ तरिकाले फाइदामा नै हुन्छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।