कोभिड १९ रोग लागेकाहरुमध्ये केहीले सुँघ्ने शक्ति गुमाउँछन् । जब मानिसले सुँघ्न सक्तैनन्, डाक्टरले तत्काल ती व्यक्तिलाई कोभिड १९ रोग लागेको निक्र्योल निकाल्छन् । तर जब कोभिड १९ रोग निको भइसक्छ, केहीले भने गुमेको गन्ध फिर्ता पाउँदैनन् । उनीहरुले सुवास पत्ता लगाउन सक्तैनन् । जब जीवनको सबैभन्दा सुन्दरतम् मध्येको एक अनुभव तपाईंले गुमाउनु हुन्छ, यसले तपाईंलाई मनोवैज्ञानिक रुपमा निकै कुप्रभाव पार्ने गर्छ । वैज्ञानिकहरुले यतिबेला तपाईंको गुमेको गन्ध कसरी फिर्ता ल्याउने भनेर अध्ययन गरिरहेका छन् ।
बेल्जियम निवासी एन सोफी लेरक्विनले आफ्नो गुमेको गन्धका बारेमा त्यति ध्यान दिइनन् । कोभिडबाट पार पाइसक्दा पनि जब बिहान उठ्नेबित्तिकै उनले कफीको टडकारो स्वाद लिन पाइनन्, एनलाई जीवनको कुनै खास चिजको कमी भएको महसुस गर्न थालिन् । उनको कफीबाट खास किसिमको मादकता गायब थियो, उनको साबुनबाट निस्कने सुगन्ध गायब थियो, उनको रेफ्रिजेरेटरमाथि राखिएको गुलाब र तुलसीको मौलिक ताजा सुगन्ध हराएको थियो । यो हराएको सुगन्धका कारण उनमा एक किसिमको अनौठो निरसता थपेको थियो ।
गएको अक्टोबरमा एन सोफी लेरक्विनलाई कोभिड १९ पोजिटिभ देखिएको थियो । त्यो बेला उनलाई यस्तो लाग्यो, मानौँ युगौँदेखि उनी थाकेकी छन् । यो थकाइले उनलाई थकाउँदै मात्रै थियो, उनको सुँघ्ने शक्ति पनि गायब भयो । ६ महिना लामो मिहिनेतपछि उनले कोभिड र यससँग सम्बन्धित अन्य समस्यालाई पूर्ण रुपमा जितिन् । सुगन्ध गायब भएपछि उनलाई लाग्यो, कतै मलाई डिप्रेसन त भएन ?
केही केही किसिमका सुगन्ध त फर्किएर आयो तर केही चिजको गन्ध भने बिग्रिएको थियो । यसरी गन्धको प्रकार बिग्रिनुलाई पेरोस्मिया भनिन्छ । यो चाहिँ गन्धलाई सही तरिकाले चिन्न नसक्नु वा चिन्ने क्षमताको कमी हुनु हो । यसको ठीक उल्टो चाहिँ एनोस्मिया हुन्छ, जसको अर्थ कुनै पनि चिजको गन्ध पत्ता लगाउन नसक्नु । यसलाई एक किसिमको गन्धता अर्थात् गन्ध अन्धता अर्थात् स्मेल ब्लाइन्डनेस पनि भन्न सकिन्छ ।
सडेको गुलाबी इत्र

एन सोफी लेरक्विन
एनले आफू वरिपरिका कयौँ गन्धबाट छुटकारा लिनुपर्यो । केही महिना पहिलेसम्म जस्ता सुगन्धले उनलाई लोभ्याउँथे, अब भने उनलाई अनौठो लाग्न थालेको थियो । उनका केटासाथी कोलोन, उनको रातो लिपस्टिक, उनका सुगन्धित अगरबत्ती र फरफ्युमका कयौँ संकलन कुनै काम लाग्ने भएनन् । उनले तिनलाई फ्याँकिदिनु पर्यो । आकर्षक लाग्ने सारा चिजहरु आचीजस्तै वा डढेको मासुजस्तै गन्हाउने भएका थिए । उनलाई ज्यादै मनपर्ने गुलाबको परफ्युम त प्रयोग गरिसकेको डाइपरजस्तै गन्हाउँथ्यो ।
उसो भए कोभिड १९ रोग लागेकाहरुमा यस्तो समस्या किन हुन्छ त ? धेरै अध्ययन त भएका छैनन् तर जे जति भएका छन्, तिनमा पनि कसैको मतैक्य देखिदैन ।
बेल्जियमको राजधानी ब्रसेल्सस्थित लुक युनिभर्सिटी हस्पिटलमा क्यारोलिन हुआर्ट कान, नाक र घाँँटीको विशेषज्ञ छिन् । एन सोफी लेरक्विनले त्यही आफ्नो उपचार गरिरहेकी छन् । विशेषज्ञ क्यारोलिन हुआर्ट आफ्ना बिरामीको यो अवस्थाका बारेमा दुई वटा धारणा छन् । पहिलो त, भाइरसले नाकको घ्राण शक्ति भएको स्नायू वरिपरिका कोसिकाहरुलाई प्रभावित तुल्याउँछन् । अर्को चाहिँ, भाइरसले सिधै घ्राण शक्तियुक्त स्नायूमै आक्रमण गर्छन् । यसरी कोभिड १९ रोगले मस्तिष्क र नाकको बीचमा रहेको मध्यस्तको काम गर्ने घ्राण खण्डमा सिधा घुस्न सक्छ ।
गन्ध गन्ध मात्र होइन, स्मृति हो

ज्याँ मिसेल मलार्ड
फ्रान्सेली ज्याँ मिसेल मलार्डलाई थाहा छ, गन्ध गुमाउनुको अर्थ के हो । यस्तोमा ऐन सोफी लेरक्विनजस्ता मानिसहरु कति पीडामा छन् भनी उनी बुझ्न सक्छन् । पाँच वर्षअघि उनी एउटा दुर्घटनामा परेका थिए र जसका कारण उनको टाउकोको पछाडिको भागमा चोट लागेको थियो । यो चोट यति खतरनाक थियो कि उनको सुँघ्ने शक्ति पूर्ण रुपमा हरायो । यतिबेला जब उनले आफ्नो सुगन्ध लिने शक्ति हराए, आफ्ना छोराहरु र पत्नीको गन्धलाई ज्यादै मिस गरिरहेका छन् । उनी भन्छन्, गन्ध एउटा सुवास मात्र होइन, यो त तपाईं ज्यूँदो हुनुहुन्छ भन्ने महसुस गराउने तत्त्व पनि हो । यो हराउनु भनेको जीवनमा जोडिएका अनेकन् स्मृति गुमाउनु हो । केही सम्बन्ध गन्धले जोड्छन् । उनकी हजुरआमाले लुगा धुँदाको बास्ना उनलाई अझै पनि याद आउँछ । यो बास्नाले उनलाई आफू विद्यालय जाँदा र आउँदाका रुमानी दिनहरुलाई फिर्ता ल्याउँथ्यो । उनलाई ती बास्नाले आफ्ना बुवासँग बिताएका सुन्दर पलहरु दिलाउँथ्यो । अहिले जब उनले बास्ना नै लिन सक्तैनन्, यस्तो अवस्थामा ती तमाम सुखद् अनुभवबाट आफू काटिएको चंगाझैँ भएको महसुस गरिरहेका छन् ।
मलार्डलाई खाना पकाउन खुब मन पर्छ । उनलाई गन्धका बारेमा बिल्कुलै अनुभव नभए पनि आफूले पकाएका चिजबिजहरु मगमगाउने गरी पकाउँछन् । उनी स्वयंलाई भने त्यो महकको म पनि आउँदैन । उनको नाकभित्रका करोडौँ घ्राण कोसिकाले उनलाई सुगन्धका बोध गराउन सक्तैनन् । उनले नाकले खान सक्तैनन् तर जब जिब्रोले खानाको स्वाद लिन्छन्, त्यसैबाट उनले काम चलाउँछन् । उनको जिब्रोले पनि गुलियो र अमिलो स्वाद मात्र लिन सक्छ । फ्रान्सको नर्मन्डीस्थित आफ्नो घरको भान्सामा चम्किलो नीलो कसौडीमा पकाएका खान्कीको रङबाटै उनले खानाको सुगन्ध लिन्छन् । अब यही नै उनको आनन्द हो ।
रिसले निस्केको एउटा विचार
दुर्घटनापछि मलार्डलाई ज्यादै रिस उठेको थियो । उनको जुन भाव छ, सुगन्ध गुमाएको भाव, त्यसलाई समाधान गर्न कसैले पनि सक्तैनथ्यो । कयौँ चिकित्सकहरुकहाँ उनी पुगे । चिकित्सकहरु उनको समस्या समाधान गर्न अक्षम थिए । यसले उनलाई रिसमाथि रिस थप्दै जान थाल्यो । र, पछि यही रिस उदासीमा परिणत हुन थाल्यो । उनलाई उदासीबाट निकाल्नका लागि परिवारले अन्य बाटाहरु खोज्न थाले । यसै क्रममा फेला प¥यो, गन्धको एकाग्रता र गन्धको प्रशिक्षण । सुँघ्ने क्षमता गुमाएका फ्रान्सका पाँच प्रतिशत मानिसका लागि यो प्रशिक्षण सम्भावनाको किरण थियो । मलार्डका लागि त यो एउटा नयाँ आशाको किरण नै थियो ।
मलार्डले प्रयास गर्ने निर्णय गरे र आफ्नो नाकको अभ्यास शुरु गर्न थाले । अथवा यसो भनूँ, कस्तो कस्तो सुवास आइरहेछ, त्यसलाई चिनाउन उनले नाकलाई पुनः तालिम दिन थाले । यसका लागि उनले हरेक दिन बिहान बेलुकी कफीका बिउ, गुलाब, कागती लगायत कडा गन्ध आउने अन्य किसिमका फलफूल पनि साथमा राख्न थाले र तिनको सुवास लिने प्रयास गर्न थाले । उनी बिहान जब कफीको चुस्की लिन्थे, त्यो कफीबाट आइरहेको महक चिन्ने प्रयास गर्थे । क्रमशः उनले स्यानो गन्ध चिन्न थाले । उनलाई थाहा छ, यी सारा अभ्यासका बाबजुद पनि उनी कुनै स्वस्थ व्यक्तिलेझैँ कहिल्यै पनि सुवासको आनन्द लिन पाउने छैनन् । उनको चोटले उनको सुँघ्ने शक्तिलाई पूर्ण रुपमा क्षतिग्रस्त बनाइदिएको छ र यसमा सुधारको सम्भावना निकै नै कम थियो ।
कसरी फर्काउने गन्ध र स्वादको क्षमता
यति हुँदाहुँदै पनि मलार्ड चुपचाप बसेनन् । उनले आफूजस्तै पीडित र सुवासबाट वञ्चित मानिसहरुको सहयोगका लागि साढे तीन वर्ष पहिले एनोज्मी डट अर्गनामक एउटा संगठन बनाए । यो संस्थामार्फत उनले एउटा असल सुगन्ध मानिसको जीवनमा कति महत्त्वपूर्ण र सुन्दर कुरा हो भन्ने कुरा बुझाउने प्रयास गरिरहेका छन् । उनी भन्छन्, मान्छेले आफूसँग भएको चिज गुमाइसकेपछि मात्र त्यसको महत्त्व पत्तो पाउँछ । सुँघ्ने शक्ति गुमाउनु भनेको एउटा लोभ्याउने चिज गुमाउनु मात्र होइन, कहिलेकाहीँ खतराको गन्ध पनि पत्ता लगाउन नसक्नु हो । यसले कहिलेकाहीँ अझ अर्को दुर्घटना निम्त्याउने मात्र होइन, ज्यानै पनि जान सक्छ ।
नाकको अभ्यास
मलार्ड भन्छन्, यो महामारी चाँडै नै अन्त्य हुनेछ । यसपछि मानिसहरु आफ्नो गुमेको गन्ध फर्काउने प्रयासमा हुन्छन् । यसअघि जसको स्वाद र गन्ध गुम्यो, उसका प्रति मानिसको सामान्य मात्र प्रतिक्रिया हुन्थ्यो । उनीहरु विचरा कसरी खाना खाँदा हुन् वा कसरी सुगन्ध लिँदा हुन् भनेर प्रतिक्रिया लिन्थे भने अब भने त्यसको पीडाको गहिराई प्रायः कोभिड १९ रोग लागेका सबैले बुझ्न सक्ने भएका छन् । त्यसैले मलार्डले गएको एक वर्षयता हरेक रात केही घण्टा आफ्नो कम्प्युटरमा बस्छन् र कोभिड १९ का कारण गुमेको गन्धबाट पीडितहरुलाई सुँघ्ने तालिम लिन प्रेरित गर्ने प्रयास गरिरहन्छन् ।
उता ब्रसेल्समा एन सोफी लेरक्विनले पनि डाक्टरसँग मिलेर नाकको अभ्यास गरिरहेकी छन् । उनको यो तालिमको सकारात्मक पाटो के रह्यो भने केही महिनामा नै उनले सकारात्मक परिणाम पाउन थालिन् । लेरक्विनजस्ता रोगी आँखा चिम्म गरेर दिनमा दुई पटक अलग अलग गन्धलाई सुँघ्छन् । डाक्टर हुआर्ट भन्छिन्, यस्तो तालिममा ध्यान दिनु निकै महत्तवपूर्ण हुन्छ किनभने मस्तिष्कलाई ती गन्धलाई पुनः स्मृतिमा ल्याउन आउँछ । तर हामीले गम्भीर भएर यसमा लागिपर्नु चाहिँ पर्छ ।
लेरक्विनको मामिलामा हेर्ने हो भने उनको दिममागले पुनः यो सिक्नुपर्ने अवस्था छ ।
यस तथ्यमा एक अर्को आशा के पनि छ भने घ्राण कोशिकाले नियमित रुपमा आफूलाई नयाँ बनाउने गर्छ । तापनि लेरक्विनलाई डर छ, कतै उनले सधैँका लागि सुँघ्ने शक्ति गुमाउने त हैनन् ! तर पछिल्लो समय गरेको लामो तालिमले पनि उनलाई आशाको किरण भने दिएकै छ । केही न केही सुधार त अवश्य भएकै छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

