१. एउटै अर्थमा उपयोग हुने लागि/निम्ति/निमित्त शब्दका अगाडि सधैँ ‘आ’कार प्रयोग गर्ने ।

जस्तै : मेरा लागि । तिम्रा निम्ति । जानकारीका लागि । आफ्ना निम्ति ।

(मेरो लागि/तिम्रो लागि/जानकारीको लागि/आफ्नो निम्ति नलेख्‍ने)

 

२. “यो/त्यो” शब्दभन्दा पछाडि आउने शब्दमा विभक्ति वा नामयोगी लागेका भए “यो/त्यो”का स्थानमा “यस/त्यस” शब्दको प्रयोग गर्ने ।

जस्तै : यो देश (देश शब्दमा विभक्ति वा नामयोगी नलागेकाले यो देश सही छ ।)

यस देशको/देशमा (देश शब्दमा को/मा विभक्ति लागेकाले यो शब्द यसमा परिणत भयो । यो देशमा नलेख्‍ने)

त्यस्तै : त्यस केटाले । यसभन्दा । त्यसकारण । त्यस विषयसँग । आदि लेख्‍ने ।

 

कवीन्द्र लम्साल

३. शब्दका अन्तमा ‘ङ’ आएमा र त्यसको उच्चारण ङ् (हलन्त) भएमा ‘ङ’का पछाडि वा तल ‘ग’ नलेखी ‘ङ’मात्र लेख्ने ।

जस्तै : दाङ, मनाङ, मोरङ, कालेबुङ, आङ, तामाङ, गुरुङ आदि लेख्ने । (दाङ्‍ग, मनाङ्‍ग, मोरङ्‍ग…..आदि नलेख्ने)

  • आगन्तुक शब्दमा पनि यसरी नै गर्ने : सिलिङ, सुटिङ, रिडिङ, बिलिङ आदि (लेख्‍न आवश्यक परेका
    खण्डमा) ।

  • तर ङ्सँगै ‘ग’ पनि उच्चारण हुने शब्दमा ‘ग’ पनि लेख्ने । अङ्‌ग, लिङ्‌ग, दङ्‌ग आदि नै लेख्ने ।

 

४. त्त्व लेख्‍नुपर्ने केही शब्दहरू

अशुद्ध रूप

शुद्ध रूप

किन ?

महत्व

महत्त्व

महत्+त्व

तत्व

तत्त्व

तत्+त्व

सत्व

सत्त्व

सत्+त्व

द्रष्टव्य : नेपाली भाषामा उपयोग हुने यीभन्दा बाहेक अन्य शब्दमाहरूमा त्त्व नभई प्रायः त्व मात्र प्रयोग हुने गर्दछ ।

 

५. नेपालीमा समेत हलन्त (अन्तमा खुट्‍टा काटेर) लेखिने केही तत्सम शब्दहरू

क. अन्तमा न्/मान्/वान् आउने धेरैजसो शब्द (अपवादका रूपमा वर्तमान/आह्‍वान)

भगवान्, श्रीमान्, हनुमान्, बलवान्, शक्तिमान्, धनवान्, महान्, मूल्यवान्, बुद्धिमान्, प्रज्ञावान्, कीर्तिमान्, शीलवान्, गुणवान्, श्रद्धावान्, आस्थावान्, चरित्रवान्, रूपवान्, गतिमान् आदि ।

 

ख. अन्तमा त्/वत् आउने धेरैजसो शब्द

अर्थात्, विधिवत्, पूर्ववत्, यथावत्, महत्, तत् तत्, अकस्मात्, हठात्, आत्मसात्, पश्चात्, विद्वत्, यावत्, दण्डवत्, सम्राट्, जगत्, साक्षात्, विपत्, आपत्, संसद्,  सभासद्, बृहत्, उपनिषद्,  बलात्, साक्षात्, विद्युत्, तत्पश्चात्, यथावत् आदि ।

 

ग. अन्तमा म् आउने केही शब्द : एवम्, शुभम्, स्वयम्, अहम्, स्वागतम् ।

घ. विद् लागेका सबै  : भाषाविद्, अर्थविद् आदि ।

ङ. अन्य केही शब्द

विद्वान्, पृथक्, अनुष्टुप् आत्मसात् आदि।

 

६. अन्तमा ओकार हुने शब्दमा विभक्ति वा नामयोगी जोडिँदा अन्तिमको ओकार प्रायः आकारमा परिणत हुन्छ ।

जस्तै : केटो+ले = केटाले । त्यस्तै केटालाई, केटाको, केटाका आदि ।

भएको+ले = भएकाले । त्यस्तै भएकामा, गरेकामा, गरेकाले आदि शुद्ध । (केटोको, भएकोले आदि अशुद्ध)

 

७. केही संयुक्त वर्णबारे जानकारी राख्‍नु आवश्यक छ :

क. द्य = द् + य (यसको उच्चारण ध्य होइन)

जस्तैः विद्या, विद्यमान, विद्यालय आदि ।

ख. द्द = द् + द

जस्तैः उद्देश्य, मुद्दा, रद्द, रद्दी आदि ।

ग. द्ध = द् + ध (तल झुन्डिएको अक्षर पूर्ण हुन्छ)

जस्तैः बुद्ध, बुद्धि, सिद्धि, सिद्धान्त आदि ।

घ. द्व = द् + व

जस्तैः द्वारा, द्वार, विद्वान्, द्वन्द्व आदि ।

ङ. क्ष = क् + ष (कक्ष, कक्षा, दक्ष)

च. ज्ञ = ज् + ञ (ज्ञान, यज्ञ)

छ. द्म = द् + म (पद्म)

ज. क् + रि = क्रि (क्रिया, क्रियाकलाप आदि)

झ. क् + ऋ = कृ (कृष्ण, कृषि, शृङ्‍खला आदि)

रि र ऋ फरक हुन् ।

ञ. स्र = स् + र (स्रोत)

ट. श्र = श् + र (श्रावण)

(श्रृ = श्रृङ्‍खला अशुद्ध ।)

ठ. त्र = त्+र (त्रस्त, त्रैमासिक आदि)

 

८. शाब्दिक भार थुपार्न नहुने/त्रुटि गर्न नहुने

क. म विगत पाँच वर्षदेखि पढाइरहेको छु ।

  • पाँच वर्षदेखि भनेपछि विगत भन्नु पर्दैन ।

  • यसरी लेख्‍ने : म पाँच वर्षदेखि पढाइरहेको छु (पाँच वर्षदेखि पढाइरहेको छु) ।

ख. सपरिवार सहित (सपरिवार भनेपछि फेरि सहित भन्ने होइन)

  • सपरिवार अथवा परिवारसहित । दुईमध्ये एक मात्र भन्ने ।

ग. राजनीतिक दलहरूले जनता जनता र मान्छे मान्छेमा फाटो ल्याउने काम गर्दै छन् ।

  • जनता जनता भनेपछि मान्छे मान्छे किन भन्ने ?

घ. एउटा कार्यक्रमको विषय थियो, “तीनदिने गर्भवती महिलाहरूका लागि सचेतनामूलक कार्यक्रम ।”

  • हुनुपर्छ : गर्भवती महिलाहरूका लागि तीनदिने सचेतनामूलक कार्यक्रम ।