सन्देश, भाषा र प्रविधि
“अहिले कोरोनाको नयाँ भेरिएन्टसहितको सङ्क्रमण तीव्र गतिले बढिरहेकाले अति आवश्यक नभई घरबाहिर ननिस्कौँ । अति आवश्यक काममा जानैपर्ने भएमा नाकमुख राम्रोसँग छोपिने गरी मास्क लगाऔँ । भिडभाडबाट टाढा रहौँ । साबुन-पानी वा स्यानिटाइजरले नियमित हात सफा गरौँ । अन्य व्यक्तिबाट दुई मिटरको दूरी कायम गरौँ । कोरोनाबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ । नेपाल टेलिकम ।”
नेपाल टेलिकमका फोनबाट कसैसँग कुरा गर्नुअघि फोन गर्नेले नै सुन्ने सन्देश हो यो । सम्भवतः कोरोना सङ्क्रमणबाट बच्नका लागि सबैभन्दा बढी मानिसले नेपाली भाषामा पाउने सचेतना सन्देश पनि हो यो ।
नेपाल टेलिकमका मात्र होइन अरू पनि सेवा प्रदायकहरूबाट दिइने सन्देशका मजबुन यस्तै छन् । काम सराहना गर्न योग्य छ तर जुन उद्देश्यले यो सन्देश प्रवाह गरिएको छ त्यसले आम मानिसलाई त्यसले ठ्याक्कै त्यही बुझाउँछ कि अन्योलमा पार्दछ ? त्यसको विश्लेषण गर्नु उपयुक्त हुन्छ । किनकि कुनै पनि सूचना वा सन्देशका उपभोक्ता आम समुदाय र विभिन्न समुदाय हुन् र त्यसरी पाएका सन्देशले तिनीहरूलाई केही न केही गर्न उत्प्रेरणा जगाउनु पर्दछ ।
यस सन्दर्भमा सूचना वा सन्देश प्रवाहको माध्यम भाषा रहने हुँदा त्यसको पक्षबाट विश्लेषण गरिनु आवश्यक हुन्छ । भाषामा प्रयोग हुने प्राविधिक पक्ष पनि अध्ययनका विषय बन्दछन् । फोन गरिएको व्यक्तिले फोन नउठाउन्जेल फोन गर्ने व्यक्ति आफैँले सुन्ने र कोरोना सङ्क्रमणबाट बच्नका लागि आफूलाई तयार पार्ने यो सन्देश हो । त्यति मात्र नभई अरूलाई बचाउने कर्तव्यमा लाग्न पनि यसले प्रेरित गर्दछ ।
फोन गर्ने व्यक्तिले फोन गरिरहेको बेला एक प्रकारको ध्वनि सुनिरहने समयको उपयोग गर्दै प्रविधिको प्रयोग गरी भाषामार्फत सन्देश प्रवाह गर्नु भाषिक सूचना प्रवाहमा ज्यादै उत्पादक काम हो । यहाँ भाषामा प्रयोग हुने प्राविधिक पक्षबारे उल्लेख गर्न खोजिएको छैन । खालि त्यो र त्यस्तै अन्य सूचना, सन्देश र समाचार वा अन्य सामग्रीले के बुझाउन खोजेर आम मानिसलाई के बुझ्न बाध्य पार्दैछन् भन्ने हो । साथै आम मानिसमा सही सूचना, सन्देश वा समाचार दिने पक्षहरू त्यसका लागि कति जिम्मेवार छन् भन्ने पनि देखाउनु हो । तर तीबारे उल्लेख गर्नुअघि त्यस्तो सन्देश प्रवाह गर्नुको कारणबारे केही उल्लेख गर्नु आवश्यक हुन्छ ।
कोरोनाका ‘भेरिएन्ट’
कोरोना विषाणुका नयाँ नयाँ स्वरूपले संसारलाई नै आतङ्कित बनाएका छन् । ती चिनियाँ मूलको विषाणु (सार्स कोभ २) को नयाँ स्वरूप (भेरिएन्ट) बेलायतबाट हामीकहाँ पनि कोविरोग (कोभिड) को दोस्रो लहरमा आयो । त्यसलाई अङ्ग्रेजीमा ‘युके भेरिएन्ट’ वा ‘ब्रिटिस भेरिएन्ट’ भन्ने नाम दिइयो । लक्षणविना पनि कडा किसिमको कोविरोग लाग्न सक्ने, महामारीका रूपमा फैलन सक्ने तीव्रता उच्च रहेको र रोग लागेका मध्येको पनि मृत्युदर बढी रहेको जस्ता यसका विशेषता रहेका छन् ।
विभिन्न कारणले गर्दा विषाणुले आफ्नो स्वरूप परिवर्तन गर्ने र त्यसो गर्दा कुनै कमजोर र कुनै शक्तिशाली बन्ने भनाइ विषाणुविद्हरूको पाइन्छ । त्यस्तै विषाणुको सङ्क्रमण हुँदा हरेक मान्छेमा हुने फरक फरक रोग प्रतिरोध क्षमता अनुसार त्यसले असर पार्ने गर्दछ ।
त्यसै अनुसार सार्स कोभ २ विषाणुले पनि स्वरूप परिवर्तन गर्दै सङ्क्रमण तीव्र बनाएको हो । जहाँबाट पहिलेभन्दा भिन्न लक्षणसहितका सङ्क्रमण तीव्र बनायो त्यसै आधारमा नयाँ अङ्ग्रेजीमा भेरिएन्ट भनिएको हो । अर्थात् भेरिएन्ट भनेको नेपाली प्रकार वा स्वरूप हो । कोरोना विषाणुका लागि मात्र भेरिएन्ट प्रयोग हुने होइन । तर यो कोरोनाको मात्र हुने नभई अरूको पनि हुने औलो वा अङ्ग्रेजीमा मलेरियाको उदाहरण दिएको अर्थले यसबारे स्पष्ट गर्दछ ।
हेर्नुहोस् भेरिएन्टको अर्थ
नेपाली ‘भेरिएन्ट’को टाउको दुखाइ
कोरोनाकै सन्दर्भमा हेर्दा यसका स्वरूप (भेरिएन्ट) ले नेपालमा मात्र होइन विश्वका अरू पनि धेरै देशमा दुख दिएको छ । कतै त्यसको नयाँ स्वरूपले त कतिपय अवस्थामा त्यस शब्दको प्रयोगले । बेलायती स्वरूपसहितको कोरोना सङ्क्रमणको दोस्रो लहरले नेपालभन्दा पहिले भारतमा ठूलो असर पार्यो । त्यही स्वरूपकै सङ्क्रमण नेपालमा आउँदा त्यसले गरेको मानवीय क्षति विश्वमा नै उच्च देखायो । अर्थात् कोरोनाको नयाँ स्वरूपले नेपालमा गम्भीर प्रभाव पार्यो ।
यसैबीच विश्वका अरू अरू स्थानमा पनि कोरोना विषाणुका नयाँ स्वरूपसहित सङ्क्रमण फैलिए । बेलायतको डेली मेल पत्रिकाको अनलाइन संस्करणमा नेपालमा कोरोनाको नयाँ स्वरूप पत्ता लागेको भन्दै पर्यटकलाई सचेत गरायो । तर सोही दिनको द गार्जियनले भने विज्ञहरूको भनाइ उल्लेख गर्दै कोरोनाको नेपाली स्वरूप नरहेको जनायो । गार्जियनले भारतमा फैलिएको प्रकार नै नेपालमा फैलिएको स्पष्ट गरेको थियो ।
त्यसले विश्वमा नै हल्लीखल्ली मच्चायो र नेपालले प्रतिवाद गर्यो । विश्व स्वास्थ्य सङ्गठनले नेपालमा कोरोनाको नयाँ भेरिएन्ट पत्ता लागेको छैन भनेर स्पष्ट गर्नुपर्ने बाध्यता आयो । यो कोरोनाको नयाँ स्वरूपले नेपालमा दिएको अर्को दुख थियो जसमा भारतको समेत नाम जोडिएको थियो । यी सबै सूचनाको गलत सम्प्रेषणका परिणति थिए । अर्थात् नक्कली वा फर्जी समाचार सञ्चार क्षेत्रका विषाणुका नयाँ स्वरूपका रूपमा आए ।
त्यस्तै समस्या भारतमा पनि आयो र भारत सरकारले पनि कोरोनाको इन्डियन भेरिएन्ट भनी लेखिएका समाचार सामाजिक सञ्जालबाट हटाउन निर्देशन नै जारी गर्नुपर्यो ।
यी उदाहरणहरूले कोरोनाको नयाँ ‘भेरिएन्ट’ ले नभई त्यस शब्दको वास्तविक अर्थ नबुझी गरिएको प्रयोगले अरू समस्या थपिएका थिए भन्ने देखाउँछन् । यो सूचना वा समाचार सम्प्रेषणमा भाषिक प्रयोगको एउटा ठूलो समस्य पनि हो । तर यसबारे नेपालका सरोकारवाला निकायहरू उदासीन रहेका देखिन्छन् । त्यसबारे पछि चर्चा गरिनेछ । त्यसअघि नेपालको साक्षरता दरबारे केही चर्चा गर्नु सान्दर्भिक हुन्छ ।
‘भेरिएन्ट’ बुझ्ने जनसङ्ख्या कति ?
कोरोनाको सङ्क्रमणको असर स्वास्थ्यमा मात्र परेको छैन जनजीवनका हरेक पक्ष र राज्यका पनि हरेक गतिविधिमा परेको छ । सामान्य अवस्था रहेको भए २०७८ जेठमा राष्ट्रिय जनगणना भएको हुने थियो र देशका विभिन्न पक्षको ताजा तथ्याङ्क र सूचना प्राप्त हुन्थो । तर कोरोनाकै कारण जनगणना स्थगित भएको छ ।
हेर्नुहोस् सूचना
हरेक १० वर्षमा गरिँदै आएको जनगणना स्थगनले राज्यका नीति निर्णयमा दूरगामी प्रभाव पार्ने नीति र योजना निर्माणका लागि आवश्यक पर्ने ताजा तथ्याङ्क र सूचना नपाइने अवस्था सिर्जना भएको छ । यस अवस्थामा ‘भेरिएन्ट’ बुझ्ने जनसङ्ख्याको अनुमान गर्न १० वर्षअघि अर्थात् २०६८ मा भएको राष्ट्रिय जनगणनाको नतिजा नै हेर्नुपर्ने भएको छ । (तथापि २०७८ को जनगणना भएको भए पनि अहिलेका लागि विश्लेषणको आधार भने पुरानै हुने थियो किनकि नयाँ जनगणनाको नतिजा आइसकेको हुँदैन थियो ।)
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालको साक्षरता दर ६५.९ प्रतिशत हो । युनेस्कोको परिभाषा अनुसार साक्षरता भनेको मानिसको पढ्न र लेख्न सक्ने क्षमता हो । यस आधारमा हेर्दा १०० जना नेपालीमध्ये ६६ जनाजति मात्र सामान्य पढ्न र सामान्य लेख्न सक्छन् । अर्थात् १०० जना मानिसमा ३४ जना पढ्न र लेख्न सक्दैनन् ।
पढ्न र लेख्न सक्ने ६६ जनामध्ये पनि तिनीहरुको शिक्षाको तह र बुझाइको स्तर फरक हुन्छ । अर्थात् करिब ६६ प्रतिशतमा सामान्य पढ्न लेख्न जान्नेदेखि लिएर महाविद्यावारिधि गर्नेसम्म पर्ने भएकाले उनीहरूको बुझाइको स्तर फरक हुने स्पष्ट हुन्छ ।
अझ कोरोनाको नयाँ ‘भेरिएन्ट’ भनेको बुझ्न सक्ने जनसङ्ख्या खोज्ने हो भने त्यसका अरू सूक्ष्म वर्गीकरणलाई हेर्नुपर्ने हुन्छ । कोरोना स्वास्थ्य समस्या र भेरिएन्ट अङ्ग्रेजी शब्द भएकाले ती दुवैको संयोजित रूपमा अर्थ बुझ्ने जनसङ्ख्या कति होला भनेर हेर्नु उपयुक्त हुन्छ । यस आधारमा सरकारी विद्यालयहरुमा पनि स्वास्थ्य र अङ्ग्रेजी विषय पढाइ हुने भएकाले एसएलसी पुरा गरेका व्यक्तिले ‘भेरिएन्ट’को अर्थ स्वरूप वा प्रकार भन्ने बुझ्छ भन्ने मान्यता यहाँ राखिएको छ ।
एसएलसीसम्मको अध्ययन भनेको पनि सामान्य लेखपढ गर्न सक्नेदेखि एसएलसीसम्ममा पनि मानिस पर्ने समूह हो । सामान्य साक्षरलाई छाडेर २०६८ को जनगणनामा प्राथमिक तह पुरा गरेको ३९.०० प्रतिशत, माध्यमिक शिक्षा पुरा गरेको ११.५० र एसएलसी पुरा गरेको १०.२० प्रतिशत रहेको छ । यसबाट के स्पष्ट हुन्छ भने सबैभन्दा धेरै जनसङ्ख्या अर्थात् ३९ प्रतिशत प्राथमिक तह पढेर पढाइ छाड्ने छन् । त्यस्ताले ‘भेरिएन्ट’को अर्थ बुझ्न सक्ने कुरै भएन ।
तथापि अहिले १० वर्षको अन्तरालमा पक्कै पनि त्यस परिदृश्यमा सुधार भएको छ । अनौपचारिक तथ्याङ्क अनुसार अहिले नेपालको साक्षरता दर ६७.९ प्रतिशत रहेको छ । अर्थात् १० वर्षको अन्तरालमा १०० जनामा करिब २ जना मानिस पढ्न र लेख्न सक्ने वर्गमा स्तरोन्नति भएका छन् तर फेरि तिनले ‘भेरिएन्ट’ बुझ्छन् नै भन्ने होइन ।
यसको अर्थ के हुन्छ भने झन्डै एक तिहाईभन्दा बढी जनसङ्ख्याका लागि कोरोनाको सङ्क्रमबारे दिइएका नमूना, समाचार वा सन्देश सम्प्रेषणले कोविरोगबाट सावधान गराउन होइन, के हुँदैछ भन्ने पनि बुझाउन सक्दैन । अझ नेपाल जस्तो बहुभाषिक देशमा त नेपालीबाहेक अरू भाषाका वक्ताहरूले त झनै त्यस्ता सामग्रीबाट केही लाभ पाउन सक्दैनन् ।
नियामक निकायकै कन्तबिजोक
नेपालमा कोरोनाको नयाँ ‘भेरिएन्ट’ होइन शब्द भित्र्याउने चाहिँ सञ्चार माध्यमहरु हुन् । सञ्चार माध्यम भन्नेबित्तिकै विभिन्न आधारमा तिनका विभिन्न भेद हुन्छन्, जस्तै प्रविधिगत आधारमा छापा वा विद्युतीय वा श्रव्य वा श्रव्यदृश्य वा अनलाइन वा बहुमाध्यम (मल्टिमिडियम) अथवा भाषिक आधारमा नेपाली वा अङ्ग्रेजी वा मैथली वा शेर्पा आदि । भाषिक आधारमा नै लिपिका आधारको समेत वर्गीकरण हुन्छ । तर सबै माध्यमले गर्ने काम चाहिँ मूलतः सूचना सम्प्रेषण नै हो । त्यसका लागि तिनीहरूले गर्ने खेतीचाहिँ भाषाको नै हो ।
अर्थात् विभिन्न भाषाको प्रयोग गर्दै आफ्ना लक्षित वर्गलाई निष्पक्ष, वस्तुनिष्ठ र सन्तुलित सूचना सामग्री दिनु सञ्चार संस्थाहरुको कर्तव्य हो । त्यसो गर्न सञ्चार संस्थाहरूले भाषिक प्रयोजनका लागि विभिन्न मानक र आधार बनाएका हुन्छन् । सञ्चार संस्थाले आफ्नै शैलीपुस्तिका पनि निर्माण गरेका हुन्छन् । कार्यरत सञ्चारकर्मीहरूलाई त्यसै अनुसार काम गर्न लगाउँछन् ।
[bs-quote quote=”तर यहाँनिर यस निकायको नाम ‘प्रेस काउन्सिल नेपाल’ नै हेर्नु अर्थपूर्ण छ । अर्थात् तीन शब्दको यसको नाममा नेपालबाहेक दुई शब्द नै नेपाली भाषाका छैनन् । अब यसको नाम राख्नेको हविगत जाँच्दा लहरो तान्दा पहरो गर्जने जस्तै देखिन्छ । अर्थात् सम्पूर्ण राज्य संयन्त्र नै भाषाप्रति संवेदनशील छैन भन्ने निष्कर्ष निस्कन्छ ।” style=”default” align=”right” color=”#1e73be”][/bs-quote]
‘भेरिएन्ट’ शब्द अङ्ग्रेजी भाषाका माध्यमहरूलाई प्रयोग गर्न कुनै समस्या रहेन । तर नेपाली भाषाका सञ्चार माध्यमहरूले भने त्यसैको समानार्थी नेपाली शब्द स्वरूप वा प्रकार वा प्रजाति भन्ने शब्द नेपाली भाषामा हुँदाहुँदै अधिकांश सञ्चार माध्यमले त्यसको प्रयोग गरेनन् । यसो गर्दा तिनीहरूका लक्षित वर्गलाई दिइएको सूचना प्रभावकारी रहेन ।
सञ्चार माध्यमहरू मात्र होइन, तिनलाई नियमन गर्ने नियामक निकाय त यस शब्दको प्रयोगमा झनै कमजोर देखियो । प्रेस काउन्सिल नेपालले ‘न्यु भेरिएन्ट’लाई नेपाली भाषाको नरहेको जनाउन र अर्थ विस्तार गर्ने पदावलीका रूपमा कोष्ठकभित्र राख्न त राख्यो । यसरी राख्दा त्यसले ‘न्यु भेरिएन्ट’ भन्ने पदावली दोस्रो लहरको अर्थ होइन भन्ने ख्याल नै गरेन ।
हेर्नुहोस् प्रेस काउन्सिल नेपालको सूचना
नियामक निकायका रूपमा प्रेस काउन्सिल नेपालको जिम्मेवारी र कार्य धेरै छ । त्यसमा अनुगमनको कार्यसमेत पर्दछ तर यस निकायले भाषिक प्रयोगको अनुगमन गर्ने गरेको छैन । भाषाको प्रयोग ठिकसँग भएन भने अर्थको अनर्थ लाग्ने कुरा पक्कै पनि यसको दायरामा पर्ने हुन्छ ।
तर यहाँनिर यस निकायको नाम ‘प्रेस काउन्सिल नेपाल’ नै हेर्नु अर्थपूर्ण छ । अर्थात् तीन शब्दको यसको नाममा नेपालबाहेक दुई शब्द नै नेपाली भाषाका छैनन् । अब यसको नाम राख्नेको हविगत जाँच्दा लहरो तान्दा पहरो गर्जने जस्तै देखिन्छ । अर्थात् सम्पूर्ण राज्य संयन्त्र नै भाषाप्रति संवेदनशील छैन भन्ने निष्कर्ष निस्कन्छ ।
यो सूचना सम्प्रेषणमा एउटा मात्र पनि ठिकसँग शब्द चयन गर्न सकिएन भने त्यस्ता सूचनाको अर्थ रहँदैन भन्ने दृष्टान्त मात्र हो । अझ प्राविधिक र पारिभाषिक शब्दहरुको हकमा त यो निकै कठिन पनि हुन्छ ।
सञ्चार माध्यममा आउने विशेष गरी प्राविधिक र पारिभाषिक शब्दको प्रयोग र आम स्वीकार्यताको परीक्षण ज्यादै जरुरी देखिन्छ । नाम जे जस्तो भए पनि कार्यादेशका आधारमा यो काम गर्ने जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो । त्यस्तै राष्ट्रिय भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालहरु जस्ता निकायले नेपाली भाषाका बारेमा शब्दशाला चलाउनु अनिवार्य देखिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।