विश्वविख्यात नोवेल पुरस्कार सर्वाधिक राशि र प्रतिष्ठाका कारण विश्वका साहित्यकारहरुमा सधैँ नै चासोको विषय रहेको छ । के कुनै नेपालीले नोवेल पुरस्कार पाउलान् ? यो पनि यदाकदा चर्चामा आउने गरेको प्रशङ्ग हो । यही प्रशङ्गमा महाकवि देवकोटाले अङ्ग्रेजी भाषामा साहित्य रचना गरेर नोवेल पुरस्कार पाउने आकाङ्क्षा पालेका थिए भन्ने जानकारी पनि चाखलाग्दो छ ।

माधव घिमिरेको “अश्वत्थामा” र डा. ध्रुवचन्द्र गौतमको “अलिखित” को अङ्ग्रेजीमा अनुवाद गरेर प्रकाशित गर्नुमा नोवेल पुरस्कार नै कारक थियो । नेपाल एकेडेमीले नोवेल कमिटीलाई माधव घिमिरेको नाम एकपल्ट र डा. ध्रुवचन्द्र गौतमको नाम एकपल्ट सिफारिस गरेको थियो । एकपल्ट नेपालीभाषी भारतीय कवि राजेन्द्र भण्डारीको नाम पनि नोवेल पुरस्कारका लागि चर्चामा आएको थियो ।

गोविन्द गिरी प्रेरणा

कतिपय नेपाली साहित्यका अग्रजहरु, पण्डितहरु, प्रोफेसरहरु र स्वयम् श्रष्टाहरु नोवेल पुरस्कार कृतिलाई दिने पुरस्कार हो भन्ने भ्रममा छन् । त्यसैले उनीहरु त्यस्तै अभिव्यक्ति दिन्छन् । भाषणमा कैयौंपल्ट र लिखित रुपमा कैयन् ठाउँमा मैले सुनेको र पढेको छु । यो मलाई निकै उदेकलाग्दो कुरा लाग्छ । सन् १९०१ देखि शुरु भएको विश्वको एक व्यवस्थित र सिस्टममा चलेको विश्वविख्यात् पुरस्कारबारे यस्तो हास्यास्पद भ्रम किन ?

हुन त हाम्रो समाजको बनोटले पनि असर परेको हुन सक्छ । हामी फलानाले भनेको रे को पछि लाग्छौँ । हामी आधिकारिकताको खोजी गर्दैनौँ । चासो लिदैनौँ । शायद अल्छी छौँ ।

एक समय थियो, छापिएको कुरा सत्य हुन्छ भन्ने । लामो समय त्यसैको पछि लाग्यो समाज । तर छापिएको कुरा गलत हुनसक्छ भन्ने पछि मात्र महसुस गरियो । अझै पनि यो विश्वास यदाकदा कायम छ ।

अव नोवेल पुरस्कारकै सन्दर्भमा जाउँ ।

अल्फ्रेड नोवेलले आफ्नो इच्छापत्रमा लेखेअनुसार नै यो पुरस्कारको व्यवस्था गरिएको हो । पाँच क्षेत्रमा दिइने पुरस्कारमध्ये साहित्यलाई दिइने पुरस्कारको सम्बन्धमा अल्फ्रेड नोवेलले इच्छापत्रमा लेखेका थिए, “one part to the person who, in the field of literature, produced the most outstanding work in an idealistic direction” अर्थात् त्यस्तो व्यक्तिलाई जसले साहित्यको क्षेत्रमा आदर्शवादी दिशाउन्मुख उत्तम कृति सिर्जना गरेको होस्” । यसमा कृतिका लागि दिने भन्ने उनको इच्छा देखिंदैन ।

साहित्यको लागि पहिलो नोवेल पुरस्कार घोषणा गर्दा नोवेल एकेडेमीले नोवेल पुरस्कार सुली प्रुधोंलाई दिइने कारण यसरी उल्लेख गरेको थियो : “in special recognition of his poetic composition, which gives evidence of lofty idealism, artistic perfection and a rare combination of the qualities of both heart and intellect”

“वुलन्द आदर्शको प्रमाण दिने काव्यिक संरचना, कलात्मक पूर्णता र हृदय र मष्तिष्कको दुर्लभ मेलको गुण को मान्यताको लागि “। यसमा उनको कुन कृतिका लागि नोवेल पुरस्कार दिइएको हो, सो उल्लेख छैन । कारण, नोवेल पुरस्कार कृतिका लागि दिइने पुरस्कार थिएन ।

तर दोस्रो पल्ट नोवेल पुरस्कारको निर्णय थियोडोर मोमसनलाई दिइने घोषणा गर्दा उनको कृति “अ हिस्ट्री अफ रोम” को उल्लेख गरिएको छ तर यो पुरस्कार उनको सो कृतिलाई भने दिइएको होइन ।
“the greatest living master of the art of historical writing, with special reference to his monumental work, A history of Rome.”
“उनको चिरस्मरणीय कृति “अ हिष्ट्री अफ रोम” को विशेष सन्दर्भसहित ऐतिहासिक लेखनको जीवित महानतम् गुरुलाई ।”

तर यसको मतलब “अ हिष्ट्री अफ रोम” लाई नोवेल पुरस्कार दिइएको होइन, पुरस्कार थियोडोर मोमसनलाई दिइएको हो । सन्दर्भमा मात्र पुस्तकको नाम उल्लेख गरएको हो किनभने नोवेल पुरस्कार कृतिका लागि दिइने पुरस्कार होइन ।

तर यसैलाई अज्ञानतावस “अ हिष्ट्री अफ रोम” लाई नोवेल पुरस्कार दिइएको भनिन्छ भने त्यो सोह्रै आना गलत हो ।

यसरी पुरस्कारको निर्णयमा कहिले कुनै कृतिको नाम सन्दर्भमा लिइन्छ, कहिले लिइँदैन । तर जुनसुकै अवस्थामा पनि बुझ्नुपर्ने कुरा के हो भने, नोवेल पुरस्कार योगदानका लागि व्यक्तिलाई दिइन्छ, कृतिलाई होइन ।

हो, तेश्रो विश्वका चोरी प्रकाशन गर्नेहरुले पुस्तक बिक्रीका लागि “नोवेल पुरस्कार प्राप्त कृति” भनेर प्रकाशन गरेको पाइन्छ तर आधिकारिक प्रकाशकले भने त्यस्तो अनधिकृत तथ्य लेख्दैनन् । हो, उनीहरुले भने ती लेखकका हरेक कृतिको आवरणमा “नोवेल पुरस्कार विजेता” भन्ने ट्याग लगाइदिन्छन् । त्यसको अर्थ त्यो कृतिको लेखक नोवेल पुरस्कार विजेता भन्ने मात्र बुझिन्छ ।

हुन त आजकाल केही डेड अक्कलीहरु गुगलमा यस्तो लेखिएको छ, उस्तो लेखिएको छ भन्ने अज्ञानी कुरा गर्छन् । गुगल भनेको सर्च इन्जिन हो, सत्य तथ्य पत्ता त्यसले लगाउँदैन । त्यसले त आफूसँग भएको सूचना मात्र देखाइदिने हो । यसरी गर्ने “सर्च” लाई “रिसर्च” ठान्नेहरुको पनि कमी छैन । बुझ्नुपर्ने कुरा के हो भने, यदि सबै कुराको समाधान गुगलले गर्ने भए विश्वका सारा विश्वविद्यालय, अनुसन्धान केन्द्र, अस्पताल सबै बन्द गरे भैहाल्यो नि ! तर यथार्थमा त्यसो हुँदैन र होइन । मान्छेले आफ्नो दिमागले काम गर्नै पर्छ ।

नेपालमा मदन पुरस्कार कृतिका लागि दिइने पुरस्कार हो । कृतिका आधारमा लेखकले पुरस्कार पाउने हो । तर जगदम्वाश्री पुरस्कार योगदानका लागि व्यक्तिलाई दिइने पुरस्कार हो, कृतिका लागि होइन । युरोपको नोवेल पुरस्कार मानिने बुकर प्राइज कृतिका लागि दिइने पुरस्कार हो । यो सब उल्लेखको कारण के हो भने कृतिका लागि दिइने पुरस्कारको मापदण्ड र प्रक्रिया अलग हुन्छ, योगदानको लागि दिइने पुरस्कारको मापदण्ड र प्रक्रिया अलग हुन्छ ।

मलाई स्कूल कलेजमा पढाउने गुरुले यसो भनेका थिए, मैले अखबारमा यस्तो पढेको थिएँ, मैले यस्तो पुस्तक देखेको थिएँ, गुगलमा यस्तो पाएँ, जनरल एसेप्टेन्स यस्तो हो भन्ने जस्ता हावादारी कुराले सत्य र यथार्थ स्थापित गर्दैन । यो त अज्ञानी कुरा हो । आज हरेक सूचना चाहना गर्नेका लागि, खोजी गर्नेका लागि सहज छ । पहुँच पाउन सकिन्छ । नोवेल पुरस्कारको बारेमा जान्न बुझ्न कुनै समस्या छैन, अलिकति भाषिक कुरा आउला, नत्र भने सवै तथ्य खुलस्त र पारदर्शी देखिन्छ ।

मेरो प्रश्न यत्ति हो, अझै हामी तथ्यहीन कुराको पछि कति लाग्ने र त्यस्ता तथ्यहीन कुराको पुष्टि गर्न कतिन्जेल मूर्खतापूर्ण तर्क गरेर अहङ्कार पाल्ने ?