साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जीवनी के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला २१

१. विषय प्रवेश
साहित्यको निबन्धात्मक सिर्जनामध्येमा जीवनी पनि एक हो । गद्य साहित्यमा आख्यान र आख्यानेतर गद्य हुने गर्दछन् । आख्यानात्मक गद्यमा कथा पर्दछ भने आख्यानेतर गद्यमा निबन्ध विधा पर्दछ । जीवनीमा सम्बन्धित व्यक्तित्वको जीवनकथा हुने हुनाले यो आख्यानात्मक संरचनासँग नजिक हुन्छ र जीवनचरित्रको वर्णनात्मक वा विश्लेषणात्मक प्रस्तुति हुने हुनाले यो आख्यानेतर संरचनासँग पनि नजिक हुन्छ । समग्रमा एउटा स्थापित व्यक्तित्वको चरित्रोद्घाटन र अनुज पुस्तामा प्रोत्साहन दुई प्रमुख लक्ष्यका साथ लेखिने जीवनी कोरा सूचना नभएर साहित्यकै एउटा विशिष्ट पक्ष मानिन्छ । यसको पनि आफ्नै इतिहास छ, संरचना विधान छ र विशिष्ट साहित्यिक प्रभाव छ । त्यसैले यस लेखमा त्यही उत्प्रेरणामूलक एवम् मनोरञ्जक सिर्जनाका रूपमा विश्वसाहित्यमा परिचित जीवनी साहित्यका बारेमा सैद्धान्तिक तथा सिर्जनात्मक जानकारी प्रस्तुत गरिएको छ ।

२. जीवनीको सैद्धान्तिक स्वरूप र परम्परा
संस्कृत व्याकरणअनुसार ‘जीव्+ल्युट्’ निर्माण प्रक्रियाबाट बनेको ‘जीवन’ शब्दको अर्थ जीवनप्रद, जीवनदाता, प्राणप्रद हुने गर्दछ । त्यही ‘जीवन’ शब्दमा स्त्रीबोधक ‘ई’ प्रत्यय लागेको ‘जीवनी’ शब्द नामपद हो । यसले व्युत्पत्तिलभ्य अर्थमा जीवन वा जीवनको सिद्धान्तलाई बुझाउँछ भने सिर्जनात्मक अर्थमा एउटा विशिष्ट व्यक्तिको जीवनका बारेमा लेखिएको साहित्यलाई बुझाउने गर्दछ । जीवनी साहित्यको निबन्ध विधाअन्तर्गत पर्ने एउटा विशिष्ट सिर्जना हो । ‘जीवनी’लाई बुझाउनका लागि जीवनचरित्र, जीवनचरित, जीवनी साहित्य, जीवनवृत्त, जीवनवृत्तान्त आदि शब्दको प्रयोग गरिएको पाइन्छ । यीमध्येमा जीवनी वा जीवनी साहित्य शब्द नेपाली तथा अन्य भाषाका साहित्यमा पनि निकै लोकप्रिय बनेको देखिन्छ । यसमा एक जना ख्यातिप्राप्त साहित्यिक, वैज्ञानिक, दार्शनिक, राजनीतिक वा कुनै पनि क्षेत्रमा विशिष्ट योगदान दिएको व्यक्तित्वको जीवनवृत्तलाई कलात्मक एवम् मनोरञ्जक शैलीमा प्रस्तुत गरिएको हुन्छ । त्यसैले मनोरञ्जन र ज्ञान दुवै दृष्टिले जीवनी साहित्यलाई उपयोगी मान्ने गरिएको हो ।

‘जीवनी’लाई अङ्ग्रेजीमा ‘बायोग्राफी’ (Biography) भनिन्छ । ग्रिक भाषाका जीवन अर्थबोधक ‘बायोस्’ (Bios)  र लेखन अर्थबोधक ‘ग्राफियन्’ (graphian) दुईओटा शब्द मिलेर बनेको ‘बायोग्राफी’ (Biography) शब्दको शाब्दिक अर्थ ‘जीवनी लेखन’ अथवा ‘लेखिएको जीवनकहानी’ भन्ने हुन्छ । यसरी पूर्वीय प्रयोग र पाश्चात्य प्रयोग दुवैलाई हेर्दा जीवनीले व्यक्तिको जीवनचित्र खिच्ने र पाठकसमक्ष प्रस्तुत गर्ने काम गर्दछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

पूर्वीय जगत्मा जीवनीको प्रयोग वैदिक साहित्यमा कम र लौकिक साहित्यमा बढी भएको देखिन्छ । वैदिक कालमा सूर्य, अग्नि आदिको परिचयात्मक सन्दर्भमा जीवनीको प्रारूप फेला पर्दछ भने पौराणिक कालमा विभिन्न पुराणहरूमा पात्रको वंशवर्णन पाइन्छ । यसबाट जीवनी साहित्यका लागि बलियो आधार तयार भएको देखिन्छ । यसपछिको साहित्य युगमा भने जीवनी साहित्यले निकै लोकप्रियता पाएको देखिन्छ । संस्कृत साहित्य परम्परामा इसाको पहिलो शताब्दीमा अश्वघोषद्वारा लिखित ‘बुद्धचरित’ र ‘सौन्दरानन्द’ दुई कृतिमा जीवनी साहित्यको प्रारम्भिक रूप देखापर्दछ भने गद्य भाषाको सुन्दर प्रयोग भएको शक्तिशाली जीवनी साहित्यका रूपमा सातौँ शताब्दीको पूर्वाद्र्धमा बाण भट्टद्वारा लिखित ‘हर्षचरित’लाई लिने गरिन्छ । यसपछि भने संस्कृत काव्य परम्परामा जीवनीमूलक काव्यकृतिहरू प्रशस्त लेखिएका पाइन्छन् । संस्कृतमा गद्यमा होस् वा पद्यमा होस् दुवैलाई काव्य नै मानिने हुनाले संस्कृत काव्यपरम्परामा सिर्जना भएका अनेकौँ चरित्रकाव्यहरू जीवनी साहित्यकै प्राचीन उपलब्धि मानिन्छन् ।

पाश्चात्य साहित्यमा जीवनीलाई एउटा विशिष्ट विधासमान महत्त्व दिइएको पाइन्छ । प्राचीन ल्याटिन तथा ग्रिसेली साहित्यमा इसापूर्व पहिलो शताब्दीदेखि नै जीवनीका अनेकौँ रूपहरू फेलापरेका छन् । प्राचीन ग्रिसेली दार्शनिक प्लुटार्कले ५० जना तत्कालीन विशिष्ट व्यक्तित्वहरूको जीवनी तयार पारेको तथ्य ग्रिसेली साहित्यमा फेला परेको छ । यसको मूलभूत उद्देश्य नैतिक सन्देश फिँजाउने रहेको देखिन्छ । यसपछि इसाको १८ औँ शताब्दीका लेखकद्वय स्यामुअल जोनसनद्वारा लिखित ‘लाइफ अफ रिचार्ड स्याभेज’ र जेम्स बस्वेलद्वारा लिखित ‘लाइफ अफ स्यामुअल जोनसन’ जस्ता जीवनीमूलक कृति प्रकाशन भएपछि पश्चिमी साहित्यमा जीवनी साहित्यले निकै चर्चा पाएको देखिन्छ । यसरी नै १९ औँ शताब्दीमा भने युरोपेली र अमेरिकाली साहित्यमा जीवनी साहित्य निकै लोकप्रिय बनेको र त्यसले एउटा विधागत मान्यता नै प्राप्त गरेको देखिन्छ । यता चिनियाँ साहित्यमा भने इसापूर्व दोस्रो शताब्दीका इतिहासकार सिमा छिएँले आफ्ना इतिहासकेन्द्रित कृतिहरूमा समकालीन विशिष्ट व्यक्तित्वहरूको जीवनी लेखेको पाइन्छ । यस पृष्ठभूमिबाट चिनियाँ साहित्यमा प्रवेश गरेको जीवनी लेखनले १८ औँ शताब्दीबाट मात्र औपचारिक गति लिएको देखिन्छ । यसरी नै भारतीय साहित्यमा पनि यस्तै प्रकारका केही प्राचीन रूपहरू फेला परे पनि भारतेन्दु हरिश्चन्द्रको समयबाट मात्र सचेत रूपमा जीवनी लेखनको काम भएको देखिन्छ ।
यसरी जीवनीको सम्बन्ध प्राचीन कालसँगै जोडिएको भए पनि साहित्यका क्षेत्रमा भने यसले औपचारिक प्रवेश पाएको लगभग तीन सय वर्ष मात्र भएको देखिन्छ । हालसम्ममा यसको सिर्जनात्मक प्रयोग प्रशस्त भए पनि यसलाई परिभाषाबाट चिनाउने वा सैद्धान्तिक चर्चा गर्ने काम कम मात्र भएको देखिन्छ । सर्वप्रथम इसाको सत्रौँ शताब्दीको उत्तराद्र्धतिर अङ्ग्रेजीका विशिष्ट विद्वान् ड्राइडनले जीवनी भनेको खास खास मानिहरूका जीवनको इतिहास हो भनी परिभाषित गरेको पाइन्छ । नेपाली सन्दर्भमा ‘नेपाली बृहत् शब्दकोश’ले जीवनीलाई जीवनभर गरेका कामकुराको क्रमबद्ध लेख वा कथन, जीवनचरित्र, जीवनचरित वा कसैको जीवनसम्बन्धी इतिवृत्त भनी चिनाएको छ । यसरी नै भिक्टर प्रधानले जीवनीलाई साहित्यिक सिर्जनाका रूपमा चिनाउने कार्यमा विशिष्ट भूमिका खेलेका छन् । उनले जीवनीमा सामान्यतया कुनै व्यक्तिले जीवनभर गरेका कार्यहरूको क्रमिक वर्णन हुन्छ । यसमा चरित्रनायकका सम्पूर्ण जीवन वा त्यस जीवनका यथेष्ट भागको चर्चा परिचर्चा हुन्छ भनी परिभाषित गरेका छन् । यी कुराहरूलाई हेर्दा जीवनी भनेको हरेक व्यक्तिको इतिवृत्त हो, त्यसमा चरित्रनायकको सामान्य जीवनपद्धतिदेखि लिएर विशिष्ट योगदानहरूको समेत कलात्मक प्रस्तुतीकरण गरिन्छ भन्न सकिन्छ ।

नेपाली साहित्यमा जीवनीको इतिहासलाई हेर्ने हो भने लोकजीवनसम्म पुग्नुपर्ने देखिन्छ । नेपाली लोकजीवनमा प्रचलित लोकगीतहरू, सवाईहरू, गाथाहरू र भजनहरूमा कुनै एउटा विशिष्ट चरित्रको वंशपरम्परासहितको वर्णन पाइन्छ । वीरधाराको समय वा त्योभन्दा अगाडिदेखि नै नेपाली गाइनेहरूले गाउने कर्खा र सवाईहरूमा कुनै विशिष्ट व्यक्तित्वको योगदानको वर्णन गरिएको पाइन्छ भने धार्मिक सन्दर्भमा गाइने भजनहरूमा राम, कृष्ण आदिका चरित्रवर्णनका साथै वंशवर्णन पनि गरिएको पाइन्छ । यही लौकिक पृष्ठभूमिबाट लिखित साहित्यसम्म आइपुगेको जीवनी लेखनले साहित्यिक सिर्जनाका रूपमा औपचारिक मान्यता भने मोतीराम भट्टको समयबाट मात्र पाएको देखिन्छ । वि.सं. १९४८ मा मोतीराम भट्टद्वारा लिखित ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’ नेपाली साहित्यको पहिलो जीवनीमूलक कृति मान्ने गरिन्छ । यसपछि प्रतिमान थापाको ‘सर जङ्गबहादुर राणाजीको जीवनचरित्र’ (वि.सं. १९६५) र नरदेव पाण्डेको ‘कविवर मोतीराम भट्टको सचित्र जीवनी’ (वि.सं. १९९५) हुँदै हालसम्म आइपुग्दा जीवनी लेखनले नेपाली साहित्यमा पनि एउटा विशिष्ट इतिहास निर्माण गरेको देखिन्छ । यसरी मोतीराम भट्टदेखि आजसम्म आइपुग्दा नेपाली जीवनी लेखन परम्पराले १३० वर्षको यात्रा पूरा गरिसकेको छ ।

३. जीवनीका प्रकार
जीवनी एक जना निश्चित व्यक्तित्वका बारेमा तयार पारिने जीवनवृत्त हो त्यसैले यसलाई वर्गीकरण गर्ने धेरै प्रकारहरू हुँदैनन् । व्यक्तिको परिचय क्षेत्र मानिने वैज्ञानिक, दार्शनिक, साहित्यकार, नेता आदि विषयक्षेत्र हुन्, वर्गीकरणका आधार होइनन् । यसरी नै हाम्रा पाठ्यपुस्तकहरूमा राष्ट्रिय जीवनी, अन्तर्राष्ट्रिय जीवनी आदि भनी वर्गीकरण गरिएको पाइन्छ । यो पनि व्यक्तिको भूगोलसँग सम्बन्धित कुरा हो । यसले लेखनमा त्यत्ति ठुलो अन्तर ल्याउँदैन । सामान्यतः रचना प्रक्रियालाई हेर्ने हो भने नेपाली लेखन प्रक्रियाका आधारमा जीवनीहरू दुई प्रकारका देखिन्छन्— निर्देशित जीवनी र अनिर्देशित जीवनी ।

(क) निर्देशित जीवनी
यो तोकिएको विषयमा केन्द्रित भएर लेखिने जीवनी हो । यो विद्यालय वा विश्वविद्यालयको शिक्षण र मूल्याङ्कनसँग सम्बन्धित छ । यसको लेखनमा लेखकले व्यक्ति र विषयको खोजी गर्नु पर्दैन । व्यक्ति, विषय र त्यसका लागि आवश्यक पर्ने सबै बुँदाहरू त्यहीँ दिइएका हुन्छन्, जुन कुरालाई क्रमशः भाषामा लेख्दै जाँदा र अनुच्छेद निर्माण गर्दै जाँदा एउटा सिङ्गो जीवनी निर्माण हुन्छ । यसको उद्देश्य व्यक्तिको व्यक्तित्वलाई चिनाउनुभन्दा पनि बढीभन्दा बढी अङ्क प्राप्त गर्नु हो । यसका लागि व्यक्ति र विषय मात्र होइन, संरचनागत आयाम पनि निर्देशित नै हुने गर्दछ । यो १५० शब्दको सेरोफेरोमा टुङ्गिएको हुनुपर्छ । त्यसैले यसलाई साहित्यिक योगदानका दृष्टिले भन्दा पनि सिपसिकाइका दृष्टिले हेर्ने गरिन्छ । यसमा दिइएको विवरणको व्यवस्थापन कसरी गरिएको छ वा त्यसमा कलात्मक भाषाको प्रयोग कसरी गरिएको छ वा मूल्याङ्कनको सीमारेखाभित्र त्यो रचना कत्तिको समेटिएको छ भन्ने कुरालाई मात्र हेरिन्छ । त्यसैले यो स्वतन्त्र सिर्जनात्मक लेखन होइन, निर्देशित परीक्षामूलक लेखन हो ।

(ख) अनिर्देशित जीवनी
अनिर्देशित जीवनी लेखन नै जीवनी साहित्य हो । यसका लागि विषयक्षेत्र, व्यक्ति र योगदान आदि सबै कुराको खोजी स्रष्टा आफैँले गर्नुपर्छ । यसको लेखनमा कुनै बाध्यात्मक परिवेश हुँदैन र यो लेखेबापत कुनै अङ्कप्राप्ति पनि हुँदैन । व्यक्तिको योगदानको पहिचान गरी पाठकसम्म पु¥याउने र त्यसबाट जीवनका लागि उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले जीवनी लेख्ने गरिन्छ । यसका साथै सम्बन्धित व्यक्तिले समाज, राष्ट्र र मानवका लागि दिएको योगदानलाई चिरस्थायी बनाउने प्रयासस्वरूप जीवनीको सिर्जना हुने गर्दछ । विश्वमा विविध क्षेत्रका सफल मान्छेहरूको व्यक्तिगत जीवन कस्तो रहेछ ? पारिवारिक र सामाजिक जीवन कस्तो रहेछ र सफलताका सूत्र तथा प्रयासहरू के के रहेछन् भन्ने बारेमा जनचासो रहनु स्वाभाविक हो । यही जनचासोले जीवनी साहित्यलाई जन्माउने काम गर्दछ । त्यस्ता व्यक्तिहरूको स्वतःस्फूर्त रूपमा पहिचान गरी यथार्थ र कल्पनाको मिश्रणबाट मनोरञ्जनात्मक शैलीमा प्रस्तुतीकरण गर्नु अनिर्देशित जीवनी लेखन हो । यस्ता कृतिहरूले विश्वसाहित्यमा निकै ठुलो योगदान दिएका छन् ।

४. जीवनी हुनका लागि के के चाहिन्छ ?
जीवनी वर्तमान नेपाली साहित्यको पनि लोकप्रिय साहित्यिक सामग्री मानिने गरेको छ । यसमा सम्बन्धित चरित्रनायकको भन्दा जीवनी लेखकको विशेष भूमिका हुने गर्दछ । जीवनी विभिन्न तहमा पठनपाठकका लागि छोटो रूपमा पनि तयार पारिन्छ र एउटा सिङ्गो किताबका रूपमा पनि तयार पारिन्छ । यसका लागि एक जना विशिष्ट व्यक्तित्वको जीवनकथा आवश्यक हुन्छ र त्यसलाई रोचक तरिकाले प्रस्तुत गर्ने स्रष्टाकला पनि आवश्यक हुन्छ । यिनै कुरालाई ध्यानमा राखेर एक जना जीवनी लेखक जीवनी लेख्न बस्नुपर्छ । यसका लागि निम्नलिखित कुराहरू अनिवार्य भएर आउने गर्दछन्—

(क) इतिहास र साहित्यको मिश्रण
जीवनी लेखन इतिहास लेखनकै एउटा अंश हो । विशुद्ध इतिहास लेखनमा विवरणको विशिष्ट भूमिका हुने गर्दछ तर जीवनीमा इतिहास र साहित्यको मिश्रण हुने हुनाले यसमा सरासर विवरण प्रस्तुत गरियो भने त्यो रसिलो लेखन हुँदैन । त्यसैले तथ्यलाई नबिगारीकन आलङ्कारिक भाषाशैलीमा प्रस्तुत गर्ने काम जीवनी साहित्यमा हुनुपर्छ । साहित्यले शब्दको चमत्कार, अर्थको चमत्कार र भावको सशक्तता सिर्जना गर्ने काम गर्दछ । इतिहासले सूचना दिन्छ, ज्ञानको सम्प्रेषण गर्छ भने साहित्यले हृदयलाई नै आह्लादित बनाउँछ । त्यसैले इतिहास र साहित्यको स्वाभाविक अन्तर्घुलन हुन सक्यो भने त्यो जीवनी सुन्दर मानिन्छ ।

(ख) जीवनीको आख्यानीकरण
जीवनी लेखन जीवनकथाको लेखन हो । यसमा चरित्रनायकको जीवनमा घटेका घटनाहरूको शृङ्खलाबद्ध प्रस्तुति हुने गर्दछ । तिनको आख्यानीकरण भएमा जीवनी सुन्दर बन्दछ । कथाको घटना चरित्रनायकको जीवनका घटनाहरू, पात्र चरित्रनायक र परिवेश सम्बन्धित व्यक्ति र उसले बाँचेको समय, स्थान र वातावरण नै हुने हुनाले यसका लागि काल्पनिक संसारको आवश्यकता पर्दैन तर त्यस घटनालाई कथाका शैलीमा प्रस्तुत गर्ने कलाचाहिँ जीवनी लेखकमा हुनै पर्छ । जीवनीले पाठकमा सूचना वा ज्ञान प्रदान गर्दछ भने त्यसमा भएको आख्यानीकरणले पाठकमा कुतूहल सिर्जना गर्ने र आनन्द प्रदान गर्ने गर्दछ । त्यसैले जीवनमा घटेका घटना र भोगाइहरूको आख्यानीकरण जीवनी लेखनका लागि आवश्यक मानिन्छ ।

(ग) यथार्थ र कल्पनाको मिश्रण
जीवनी यथार्थमा आधारित हुन्छ भने कल्पनामा यथार्थभन्दा निकै टाढाको विषय पनि हुन सक्छ । जीवनीलाई साहित्यिक स्वरूप प्रदान गर्नका लागि स्वाभाविक कल्पनाको प्रयोग आवश्यक मानिन्छ । जीवनीमा प्रयोग हुने कल्पना अन्य विधामा जस्तो नितान्त विषयवस्तुलाई नै नयाँ मोड दिने खालको हुनु हुँदैन । जीवनीको सिङ्गो शरीरका लागि बाहिरी वस्त्राभूषणको काम मात्र कल्पनाले गरेको हुनुपर्छ, शरीरलाई छोपेर नचिनिने बनाउने गरीको बाहिरी आवरणको प्रयोगका रूपमा कल्पनाको प्रवेश भयो भने त्यस जीवनीले विश्वसनीयता गुमाउने सम्भावना रहन्छ । त्यसैले बढी यथार्थ, कम कल्पनाको प्रयोग नै जीवनीका लागि सुन्दर पक्ष हो ।

(घ) लेखकीय इमानदारिता, संयम, तटस्थता र वस्तुगतता
जीवनीका लागि लेखकीय इमानदारिताले ठुलो भूमिका खेलेको हुन्छ । जीवनकथालाई प्रस्तुत गर्ने क्रममा लेखकमा कुनै पनि प्रकारका कुराले प्रभावित पार्नु हुँदैन । लेखकलाई क्षेत्र, जाति, वर्ग, लिङ्ग, राजनीति आदि कुराले प्रभाव पा¥यो भने सत्य कुरा अगाडि नआएर जीवनी स्तुतितिर ढल्किने सम्भावना बढेर जान्छ । यस विषयमा भिक्टर प्रधानको तर्क सान्दर्भिक लाग्दछ— “लेखक र नायक परिचित परेमा दुईबिचका अनावश्यक कुरा प्रस्तुत गर्ने, नियतसाथ नायकीय चरित्र अतिरञ्जनापूर्वक उजिल्याउने, कमजोरी लुकाउने वा नायकलाई गिराउन उसका कमजोरीको बढाइचढाइ गर्ने प्रवृत्तिगत गल्ती देखा पर्छ ।” यस कुराबाट पनि स्पष्ट हुन सकिन्छ कि चरित्रनायक र लेखकका बिचमा कुनै पनि प्रकारको सकारात्मक वा नकारात्मक प्रभाव छ भने त्यसले सत्यको उद्घाटनमा बाधा पु¥याउने गर्दछ । त्यसैले जीवनी लेखकमा इमानदारिता पहिलो सर्त हुनुपर्छ । लेखकमा संयम भएन भने क्षणिक आवेगले उसलाई प्रभावित गर्ने गर्दछ । लेखक चरित्रनायकको गुण वा अवगुणतिर बढी नढल्कियोस् भन्नका लागि तटस्थता आवश्यक छ भने उसले तथ्यभन्दा टाढा गएर अनुमान वा कपोलकल्पनाका भरमा कुनै पनि कुरा लेख्न नपाओस् भन्नका लागि वस्तुगतता अत्यावश्यक मानिएको छ । उल्लिखित कुराहरूमा लेखकीय ध्यान जान सक्यो भने जीवनीबाट अपेक्षित फल हासिल हुन सक्छ, नत्र भने जीवनीले चरित्रनायकको प्रतिष्ठा बढाउनुको साटो उल्टै बदनाम गराउने सम्भावना पनि प्रशस्त देखिन्छ ।

(ङ) सम्प्रेषणको प्रभावकारिता (भाषा/शैली/प्रस्तुति)
जीवनीका लागि छनोट गरिएको व्यक्तित्व र उसको योगदान जतिसुकै उच्चकोटिको भए पनि त्यसलाई सम्प्रेषण गर्ने शैली फितलो भयो भने त्यो जीवनी उत्कृष्ट बन्न सक्दैन । एउटा मान्छेको अलिकति पुर्ख्यौली वर्णन गर्नु, अलिकति पारिवारिक सन्दर्भ केलाउनु, अलिकति उसको शिक्षादीक्षा र योगदानहरूको चर्चा गर्नु र अलिकति मृत्युका प्रसङ्गहरू जोडेर टुुङ्ग्याउनु जीवनी लेखन होइन । यसलाई अत्यन्त चाखलाग्दो, अत्यन्त कुतूहलपूर्ण र अत्यन्त आकर्षक बनाउनका लागि जीवनीमा केही आलङ्कारिक तत्त्वहरूको प्रवेश हुनु जरुरी छ तर जीवनीलाई आलङ्कारिक बनाउने नाममा अतिप्रशंसा र अतिनिन्दा दुवै कुराले प्रवेश पाउनु हुँदैन । जीवनीमा ‘उहाँ भगवान्कै दोस्रो अवतार हो, उहाँको व्यक्तित्व नभूतो नभविष्यति नै हो, उहाँको व्यक्तित्वका अगाडि संसारका सबै मान्छेहरू बेकार लाग्छन्’ जस्ता वाक्यहरू लेख्नु हुँदैन । साथै जीवनीमा एउटाको व्यक्तित्वलाई चिनाउनका लागि अर्कालाई गाली गर्नु पनि हुँदैन । सम्बन्धित व्यक्ति जति नै राम्रो भए पनि उसको चरित्र उद्घाटन गर्ने क्रममा ‘उहाँको जीवनचरित्रबाट अहिलेका भ्रष्ट नेताहरूले सिक्नुपर्छ, देशबेचुवा, जनतामारा, घुसखोर, चरित्रहीनहरूले उहाँको जीवनी एकपटक पढुन्, उहाँसँग तुलना गर्न मिल्ने मान्छे यो धर्तीमै भेटिँदैनन्, उहाँको जीवनकालमा मात्र होइन, कहिल्यै पनि यस्ता मान्छे नै जन्मिँदैनन्’ जस्ता वाक्यहरूको प्रयोग गरियो भने त्यसले सम्बन्धित व्यक्तिको व्यक्तित्वलाई माथि उठाउने काम गर्दैन । त्यसैले जीवनीको भाषाशैली सुललित, मनोरञ्जक र हृदयहारी हुनुपर्छ । जीवनीमा असल कार्यको प्रशंसा अनिवार्य छ तर स्तुतिपरक शैलीमा होइन, खराब कार्यको निन्दा अनिवार्य छ तर गालीगलोजको शैलीमा होइन ।

५. जीवनी कसरी लेखिन्छ ?
जीवनी लेख्नका लागि सबैभन्दा पहिला एक जना चरित्रनायकको आवश्यकता पर्दछ । हामी प्रायः मरिसकेका व्यक्तिहरूका मात्र जीवनी पढ्न पाउँछौँ तर निधन भइसकेको व्यक्तिको मात्र जीवनी लेखिनुपर्छ भन्ने छैन । चरित्रनायक जीवित वा मृत जोसुकै हुन सक्छ । त्यो व्यक्ति कुन विषयक्षेत्रसँग सम्बन्धित छ, त्यसको सम्बन्धित क्षेत्रको विशिष्ट योगदान के हो, उसको जीवनी लेख्दा र नलेख्दामा समाजमा के फरक पर्छ, उसको जीवनीले नयाँ पुस्तालाई कस्तो शिक्षा, सन्देश वा उत्प्रेरणा प्रदान गर्दछ भन्ने बारेमा लेखक स्पष्ट हुनु जरुरी छ । यति भएपछि लेखकले सम्बन्धित व्यक्तिका बारेमा थप अध्ययन र अनुसन्धान गरेर केही टिपोटहरू तयार गर्छ । त्यही टिपोट नै जीवनी लेखनका लागि महत्त्वपूर्ण कच्चापदार्थ हुने गर्दछ । यो जीवनीमूलक सिङ्गो कृति नै तयार गर्ने सन्दर्भका लागि हो । यदि निर्देशित जीवनी लेखनका लागि हो भने उल्लिखित कुनै पनि तयारी आवश्यक छैन, दिइएको विवरणमा केन्द्रित भएर सरासर जीवनी लेख्न सकिन्छ । त्यसैले कुनै लेखकले जीवनी लेख्न चाहेमा निम्नलिखित संरचना र चरणहरूमा ध्यान दिए त्यो सिर्जना सुन्दर र व्यवस्थित हुने देखिन्छ—

(क) शीर्षक छनोट
जीवनीको शीर्षक प्रायः व्यक्तिको नाम वा व्यक्तिलाई चिनाउने शब्द नै हुने गर्दछ । कुनै कुनै जीवनीमा नामका अगाडि कुनै विशेषण थप्न पनि सकिन्छ भने कुनैमा चाहिँ शीर्षकलाई थप आकर्षक बनाउनका लागि सम्बन्धित व्यक्तित्वको उपनाम वा उसको जीवनीसँग जोडिएको सबैभन्दा प्रभावकारी घटना, प्रसङ्ग वा मर्मस्पर्शी सन्दर्भलाई समेट्न सक्ने पद वा पदावलीलाई पनि शीर्षकका रूपमा छनोट गर्न सकिन्छ ।

(ख) आरम्भ भाग (विषय प्रवेश खण्ड)
यो जीवनीको प्रवेशद्वार हो । यसमा व्यक्तिको नाम, जन्ममिति, जन्मस्थल, पुख्र्यौली, मातापिता, पारिवारिक अवस्था, बाल्यकाल, शिक्षादीक्षा, सम्बन्धित क्षेत्रमा लाग्ने प्रेरणा आदिको चर्चा गरी जीवनीको मूल विषयमा प्रवेश गर्ने ढोका खोलिन्छ ।
(निर्देशित जीवनी लेखन भए यी सबै कुरा आवश्यक हुँदैनन्, जति त्यहाँ दिइएको छ त्यतिलाई समेटेर एक अनुच्छेद लेख्नुपर्छ । अनिर्देशित जीवनीमा भने आरम्भ भाग नै एउटा सिङ्गो अध्याय पनि बन्न सक्छ ।)

(ग) मध्य भाग (योगदान खण्ड)
यो जीवनीको मूल खण्ड हो । यसमा व्यक्तिको व्यक्तिगत स्वभाव, रुचिक्षेत्र, जीवन भोगाइ, सफलताका लागि गरेका प्रयासहरू, विशिष्ट योगदानहरू, ती योगदानले पारेको प्रभाव, प्राप्त मान, सम्मान र पदवी (भएमा), गुण र दोषको सन्तुलित विश्लेषण आदिको कतै आख्यानात्मक र कतै विश्लेषणात्मक शैलीमा प्रस्तुतीकरण गर्नुपर्छ ।
(यस खण्डमा पनि निर्देशित जीवनी भएमा दिइएको विवरणमा मात्र केन्द्रित रहेर एक अनुच्छेदमा सबै कुरा अटाउनुपर्छ भने अनिर्देशित जीवनी भएमा विषयक्षेत्रको व्यापकतालाई हेरेर यसैबाट कैयौँ अध्यायहरू पनि हुन सक्छन् ।)

(घ) अन्त्य भाग (मूल्याङ्कन खण्ड)
यो चरित्रनायकको मूल्याङ्कन गर्ने खण्ड हो । यहाँसम्म आइपुग्दा सम्बन्धित व्यक्तिको समग्र जीवनचित्र आइसकेको हुन्छ । उसले दिएका योगदानहरू, तिनले मानवजीवनमा पारेका प्रभावहरू, ऊ सदैव अमर रहनुपर्ने कारणहरू आदिको विश्लेषणात्मक चर्चा भइसकेपछि अब यस खण्डमा त्यसबाट दीर्घकालीन उपलब्धि के भएको छ, त्यसको युगीन प्रभाव के हो आदिका बारेमा चर्चा गरेर मृत्य (भएको छ भने) को प्रसङ्गसमेत जोडेर लेखकीय आत्ममूल्याङ्कनका साथ जीवनीलाई समापन गरिन्छ ।

(यो पनि निर्देशित जीवनी छ भने खँदिलो एक अनुच्छेदमा र अनिर्देशित जीवनी छ भने सारगर्भित एक अध्यायमा लेखिन्छ ।)

यी कुराहरू सिकारु चरणका जीवनी लेखकका लागि उपयोगी हुन्छन् । सिद्धहस्त स्रष्टाले त आफ्नै योजना र शैलीमा कसैको जीवनी तयार पार्न सक्छ । यति मात्र होइन, यो जीवनी लेखनका लागि बाहिरी फ्रेम मात्र हो । आन्तरिक रूपमा रहने जीवनीगत कलाकारिताचाहिँ प्रत्येक स्रष्टामा आआफ्नै प्रकारको हुन्छ । त्यही नै स्रष्टाको निजी विशेषता, क्षमता वा विशिष्ट चिनारी हो । कसै कसैले त जीवनीलाई पनि पूर्ण आख्यानात्मक वा निबन्धात्मक तरिकाले प्रस्तुत गरेर सो व्यक्तिलाई पत्याउनै नसकिने गरी प्रस्तुत गरिदिएका हुन्छन् । त्यस्ता रचनाहरूमा जीवनीको आभास हुन्छ तर पूर्ण जीवनीचाहिँ हुँदैन ।

६. निष्कर्ष
जीवनी उत्प्रेरणामूलक साहित्यिक रचना हो । यसका लागि जोकोही व्यक्ति नायक हुन सक्दैन । कुनै लेखकले कुनै व्यक्तिलाई चिनेका भरमा उसको जीवनी लेखिनु हुँदैन । सम्बन्धित व्यक्तिले आफ्नो जीवनी लेखिनलायक केही काम गरेको हुनुपर्छ । जुन जीवनी पढ्दा नयाँ पुस्ताले केही कुरा ग्रहण गर्न सक्छ त्यस्तो व्यक्तिको मात्र जीवनी लेखिनुपर्छ । जीवनी लेखन सतही भयो भने माथि माथिका कुराहरू मात्र आउने गर्दछन् जसले सबै उमेरसमूहलाई सम्बोधन गर्न सक्दैन । एउटा जीवनीमा जन्मदेखि मृत्यु (भएमा) सम्मका सम्पूर्ण कुराहरू आउने हुनाले त्यहाँ सबै उमेरसमूह जोडिन आइपुग्छन् । त्यसैले जीवनीमा पाठकलाई प्रभाव पार्न सक्ने साना साना कुराहरू र सूक्ष्म सूक्ष्म घटनाहरू पनि समावेश हुनुपर्छ । यस्ता कुराले एकातिर विश्वसनीयता उत्पन्न गर्छ भने अर्कातिर मानवीय चरित्रका स्वाभाविक पक्षहरूप्रति पनि सम्बोधन हुने गर्दछ ।

क्रमशः अर्को हप्ता…

प्रतिक्रिया
Loading...