प्रेम एउटा औसत दर्जाको आवेग हो भन्ने मेराे ठम्याइ हाे । फेब्रुअरी १४ तारिकमा रातो गुलाब लिएर प्रेमिकाको गाडी घुँडा टेकेर प्रोपोज गर्दै गर्दा यो कुरा त्यो युवकले सुन्यो भने लठ्ठी लिएर मेरो पछि लाग्नेछ, तर ऊ विचरालाई के थाहा – उसको दिमागमा भइरहेको त्यो भ्रमपूर्ण अवस्थाका लागि डोपामिन र अक्सिटोसिनजस्ता केही हर्मोन वा न्युरोट्रान्स्मिटरहरूले उसको मस्तिष्कको ‘लिम्बिक सिस्टम’ भनिने भागमा बितण्ड मच्चाइरहेका हुन्छन् ।

पत्याउनु हुन्न ? रासायनिक परिवर्तन बुझ्न चाहनुहुन्न भने MRI को इमेज हेर्नुहोला – प्रेमको जन्जालमा फस्नेहरूको मस्तिष्कको निश्चित भागमा परिवर्तनहरू देखिन्छन् – प्रायः गरी इनाम, प्रेरणा, आवेगहरू सम्बन्धित भागमा । प्रेम अब एउटा आत्मिक वा त्यस्तो अमूर्त हौवा रहेन । प्रेममा डुब्नेहरूका लागि भने यो यस्तो महसुस हुन सक्छ – जुन एउटा भ्रम हो । कोही समयमा यस्तो मसिन हुनेछ जसले तपाईँको प्रेम छ छैन हेर्न सक्नेछ – मष्तिस्कको स्क्यान्निङ्ग गरेर ।

विज्ञानमा आधारित भएर लेख्दै छु – प्रेममा परेर सफल नहुनु भएका वा प्रेमले दुख दिएर हायलकायल परेकाहरूले पढ्नुहोला र अरूले पनि । किनभने यो प्रेमले एकपल्ट कुनै न कुनै रूपमा सबैलाई दुख दिएकै हुन्छ । अथवा दिनेछ ।

प्रेमको प्रादुर्भाव जम्मा २० करोड वर्षअगाडि भएको देखिन्छ, जब कि संसारमा जीवको सृष्टि पृथ्वी बनेको केही समयमै भएको छ – साढे तीन अरब वर्षअघि । जैविक विकास (Evolution) को क्रममा प्राकृतिक छनौट (Natural selection) ले सबभन्दा असर गर्छ र प्रेमको सिर्जना पनि यही प्राकृतिक छनोटको एउटा मीठो षड्यन्त्र रहेको कुरा पत्ता लागिसकेको छ ।

२० करोड वर्षअगाडि जब जैविक विकासको क्रम अगाडि बढ्दै स्तनधारी जन्तुहरूको विकास भयो – अब योभन्दा अगाडि बढ्न एउटा विशेष गुणको दरकार पऱ्यो – लोभ, हिंसा, प्रतिस्पर्धाको आवेगहरूभन्दा माथि – जसले गर्दा एक आपसमा सहयोग गरेर योभन्दा विकसित प्राणीमा विकसित हुन मद्दत पुगोस् । अब आमाले बच्चालाई दूध चुसाउनलाई कस्तो गुणको जरुरी हुन्छ ? प्रतिस्पर्धाको, रिस वा अन्य आवेगको यहाँ काम छैन अर्थात् त्यस्तो गुण अन्य परिस्थितिमा जतिसुकै लाभदायक भए पनि एकआपसलाई विचार गर्ने प्रक्रियामा काम लाग्दैन । प्रेम यसैले सर्वथा नयाँ आवेग हो- जीवविकासका क्रममा ।

प्रेमभन्दा धेरै अगाडि नै कामवासना (lust ) को प्रयोग सफल भएको थियो प्रकृतिमा । अब यो कामवासनासँगै अर्को कम्प्लिकेसन थपियो – प्रेम ।

यौनिक प्रजनन (sexual reproduction) नै विकसित प्राणीहरूको सङ्ख्या बढाउने प्रक्रिया हो र कामवासनाले यो प्रजनन सम्भव भएको हो । भगवान् कृष्णले त्यसै भनेका हैनन् गीताको नवौँ अध्यायमा ” प्रजनास्चास्मी कन्दर्प ” अर्थात् प्रजनन (reproduction ) का लागि म कामवासना हुँ तर प्रजनन गरेर मात्रै आफ्नो स्पेसिजअगाडि बढ्दैन – जबसम्म सन्तानहरूको हुर्किने र उनीहरूले फेरि प्रजनन गर्न सक्ने वातावरण हुँदैन ।

मान्छेजस्तो एकदमै क्लिष्ट र विकसित ‘कग्निसन ‘ भएको प्राणीका लागि त यो प्रेम र वासनाको खिचडी झनै जरुरी छ – निश्चित उद्देश्यका लागि ।

एकपल्ट तपाईँ प्रेममा पर्नुभएको छ भने त्यो क्षण सम्झिनुस् जब तपाईँको ‘हार्ट थ्रोब’ एक्कासि अगाडि देखा पऱ्यो । तपाईँ आइन्स्टाइनजस्तै बुद्धिमान् हुनुहुन्छ भने पनि सायद तपाईँ मूर्खजस्तै हर्कत गर्न थाल्नुभयो होला । पछि गएर मात्रै ‘हैट, मैले येसो भन्नुपर्ने त्यसो भनिछु’ भन्ने ठान्नुभयो होला ।  खासमा प्यारवार शरीरको एउटा रासायनिक प्रक्रिया मात्र रहेछ । कुनै आत्मिक वा वर्णन गर्न नसकिने अमूर्त ‘दैविक संयोग’ भनेर जुन कवि दार्शनिकहरूले हौवा दिएका छन् – त्यसको पर्दाफास हुनेछ ।

अहिलेसम्मको जीवविकासको तथ्यले देखाएको छ, प्रेम यौन (sex ) को प्रजननात्मक सहयोगी (compliment ) बनेर जन्मेको हो । गरम रगतवाला (warm blooded ) जीवहरूको अरू विकास हुनका लागि केवल यौनिक प्रजननले मात्रै पुगेन – अनि बिस्तारै उनीहरूको जिनमा यस्तो म्युटेसन (mutation ) हुँदै आयो, जसले ती जीवहरूमा आफ्नो बच्चा र परिवारप्रति प्रतिस्पर्धाभन्दा पनि आपसी सहयोग गर्ने सानो प्रणाली विकसित भयो । यसका लागि मस्तिष्कको बनौटको साथै यसको न्युरोट्रान्स्मिटर पनि परिवर्तन हुँदै गए ।

यौटा पुस्तक छ – ‘स्वार्थी जिन’ । रिचर्ड डकिन भन्ने प्रसिद्ध अनीश्वरवादी (atheist) वैज्ञानिकले लेखेका । उनले भनेका छन् – हामीमा हुने जिन एकदमै स्वार्थी छ – यो अर्थमा जिनको जम्माजम्मी उद्देश्य भनेको जिनकै निरन्तरता हो । कुनै पनि मूल्यमा यो जिन आफू अमर भएर बाच्न चाहन्छ । यसले कुनै ठिक बेठिक, नैतिक अनैतिक कुराहरू बुझ्दैन – आफू निरन्तर हुgलाई यो जुनसुकै मूल्य चुकाउन तयार छ । जिनको यही उद्देश्यले तपाईँ हामी सञ्चालित छौँ ।

हामीलाई हाम्रो सन्तानकाे अरूको भन्दा बढी माया किन लाग्छ ? किनकि हाम्रो सन्तानमा हाम्रो जिन छ – यसलाई निरन्तरता दिनका लागि तिनीहरूको समर्थन गर्नैपऱ्यो । माया वा प्रेम प्रथमतः बच्चा जन्माउनलाई चाहियो अनि उनीहरूलाई ठुलो बनाउन । यो सब ‘नाटक’ केवल जिनले आफू अमर हुनका लागि गराइरहेछ ।

प्रेमका प्रकारहरू छन् – साथी-साथीबीचमा हुने, पारिवारिक प्रेम इत्यादी । तर सबभन्दा घाइते बनाइदिने प्रेम ‘रोमान्टिक प्रेम’का बारे विज्ञानलाई सोधौँ । यो प्रेम तीनवटा तहमा छ । सर्वप्रथम त विपरीत लिङ्गका व्यक्तिहरूबीचको वासनात्मक भाव (lust ) ले उनीहरूलाई नजिक ल्याउँछ । ओभरी वा टेस्टिसबाट निक्लने हर्मोनले यस्तो भाव प्रकट गराउँछ । यसपछि उनीहरूबीच आकर्षण (attraction ) को तहमा प्रेम पुग्छ  र यस्तो गर्न लगाउने तत्त्व हुन् – डोपामिन, एपिनेफ्रिन र सेरोटोनिन – जुन मस्तिष्कको हाइपोथलामस भन्ने भागबाट निस्कन्छ ।

त्यो स्टेजबाट पनि अगाडि बढ्न चाहनुहुन्छ भने – अब भने प्रेमको प्रतिज्ञा गर्नेबेला आयो – सायद लैला मजनु टाइपको प्रेम । यसलाई ‘attachment’ को स्टेज भनिन्छ र जब हजुर प्रेममा संसार भुल्ने कुराको वा प्रेमका लागि राजगद्दी त्यागेर जोगी हुने मुर्खता अँगाल्दै हुनुहुन्छ – हजुरको दिमागको पिट्युटरी ग्रन्थीले भरमार अक्सिटोसिन र व्यासोप्रेसिन भन्ने तत्त्वहरूको बाढी नै ल्याइदिने रहेछ । बस् तपाईँको जिनको कर्तव्य भनेको तपाईँको गद्दी जोगाउने हैन – आफ्नै जिनलाई निरतन्तरता दिने हो ।

यति बुझ्नुभयो भने तपाईँले बुझ्नुभयो कि प्रेममा धोखा खानुभनेको तात्त्विक रूपमा तपाईँको गलामा सानो पिलो आउनुजस्तै हो । प्रेम कतै पनि ‘कस्मिक’ कारणले भएको हैन र तथाकथित भगवान्‌सँग यसको बिल्कुलै सरोकार छैन । बस् यौटा सामान्य रासायनिक परिवर्तन हो र भविष्यमा त भन्छु प्रेम वियोगमा पर्नेहरूका लागि कुनै भ्याक्सिन नै पनि बन्नेछ । प्रेममा वियोग भयो? डाक्टरकोमा जानुहोस् सुई एउटा लगाउनुस् वा ट्याब्लेट लिएर फेरि मस्तीमा रहनुस् ।

पश्चिमा देशहरूमा दासप्रथाको समयमा उखु खेती फस्टायो र यति चिनी उत्पादन भयो कि अब त्यो चिनीको बजार संसारभर खोज्नुपर्ने भयो । चिनीलाई यति बढाईचढाई मार्केटिङ्ग गरियो को गुलियो को स्वाद अहिले पनि ‘अप्राकृतिक’ रूपले व्यापारिक सफलताका लागि भएको षड्यन्त्र मान्ने पनि मान्छे छन् ।

एक हिसाबले प्रेम पनि अचेल धेरै व्यापारीकरण भएको छ । ठिक छ, परापूर्व कालमा पनि प्रेमको वर्णन नभएको हैन – तर अचेल प्रेम वा प्रेम – बिछोडको अर्कै प्रकारको ‘प्यान्डेमिक’ छ । साहित्य, कला, सिनेमा, फेब्रुअरी १४, दर्शन – कुनै पनि मौका छोडेका छैनन् प्रेमका व्यापारीहरूले । प्रेम मा व्यावसायिक फाइदा देख्नेहरूले प्रेमलाई अनावश्यक रूपमा बढाइचढाइ गरेर यसको हुनु पर्नेभन्दा बढी असर सिर्जना गरेका छन् र बिचरा प्रेमी प्रेमिकाहरूलाई लाग्नुपर्नेभन्दा बढी चोट लाग्ने गरेको छ ।

अब हजुरहरूले सोध्नुहोला कि प्रेमले यस्तो हिनी गर्न सक्ने भए प्रकृतिले प्रेम नै किन सिर्जना गऱ्यो त ? हर्मोन र न्युरोट्रान्स्मिटर कै माध्यमबाट नै सही ? यो कुरो बुझ्न अलिकति इभोलुसनको जेनेटिक सिद्धान्त बुझ्नुपर्ने हुन्छ । म एउटा उदाहरण दिएर बुझाउने प्रयास गर्छु ।

के तपाईँ आफ्नो तौल बढेकोमा चिन्तित हुनुहुन्छ ? वा सोच्दै हुनुहुन्छ, आफूलाई किन गुलियो र चिल्लो खुबै मन पर्ने ? पत्ता लागि सक्यो, यस्ता पदार्थहरू स्वास्थ्यका लागि हानिकारक छन् । किन हाम्रो जिब्रालाई भने यस्तै कुराहरूमात्र मन पर्छ ? हाम्रो जिनले गुलियो चिल्लो मन नपर्ने गराउन किन सकेन ?

अब केवल दश हजार वर्षपछाडि मात्रै जाऊँ, जुनबेला हाम्रा पुर्खाहरू गुफामा बस्थे र यताउति घुमेर कन्दमूल वा सिकार खोजेर आफ्नो ज्यान पाल्थे । लाखौँ वर्षसम्म यसरी नै गुजारा गरेका हुन् – खालि पछाडिका कोही हजार वर्षदेखि मात्रै हामीसँग अन्न वा अरू खानाहरू प्रशस्त हुन थाले । त्यतिखेर हामीलाई सकभर उच्च क्यालोरी भएको खाना नै उपयोगी हुन्थ्यो – हामी कसैलाई पनि न मोटापाको समस्या थियो न अरू त्यसबाट आउने रोगको । खालि समस्या भनेको खाना उपलब्ध नहुनु थियो । हाम्रो जिनले त्यहीअनुरूप हामीलाई गुलियो, चिल्लो, मीठो लाग्ने बनाएको हो । वा अर्को शब्दमा – गुलियो र चिल्लो मीठो लाग्ने नै त्यो अवधिमा बाँच्ने रहेछन् (Darwin’s natural selection) ।

आज आएर पनि जिनको त्यो गुण हामीले भोग्दै छौँ – अझै पनि हामीलाई गुलियो चिल्लो नै मन पर्छ । यद्यपि यसले अब प्रायःजसोलाई राम्रो गर्दैन ।

प्रेम पनि त्यस्तै हो । हाम्रो मस्तिष्कमा प्रेमको भ्रम जरुरी छ । तर यसको ‘साइड इफेक्ट’ बाट गुज्रनेहरूका लागि भने यो अभिशाप नै हुन्छ । तर हजुर यस्तो अवधिबाट गइरहनुभएको छ भने आफ्नो शरीर र यसको रासायनिक प्रक्रिया बुझ्नुस् । यो एउटा जिनले फैलाएको भ्रम रहेछ । ठिक छ – आफ्नो सन्तानको निरन्तरताका लागि सोच्नुस्, तर प्रेममा दिवाना हुनु भनेको हजुरको पैतालामा अड्केको काँडाका लागि जिन्दगी नै बर्बाद पार्ने सोच हो ।

आगे हजुरको निर्णय ।