युवराज दीपेन्द्र बाँचिबर्ती रहँदा उनी मेरा कोही थिएनन् र म उनको कोही थिइनँ | उनी श्री ५ थिए, म थिएँ श्री एक | उनी धकलाग्दो गगनचुम्बी पर्खालले घेरिएको नारायणहिटी राजदरबारको चक्रव्यूहको एक टापूमा कतै बस्थे, म बस्थें चाबेलको आफ्नो खुला रामझुपडीमा | छन त नारायणहिटी राजदरबार घना बस्ती भएको राजधानी काठमाडौंको नाभीस्थलमै छ | तर पृथ्वी र मङ्गल ग्रहबीचको दूरी जति छ, श्री ५ र श्री १ का बीचको सामाजिक दूरी त्योभन्दा पनि कता हो कता धेरै छ | त्यसैले त्यति लामो दूरीमा बसेका श्री ५ दीपेन्द्र र म श्री १ खगेन्द्रको भेटघाट र बातचित हुने कुरै भएन |

दीपेन्द्र निरङ्कुश राजालाई संवैधानिक राजाको दर्जामा ओरालिएको राजतन्त्रका पहिला युवराज थिए | उनलाई नेपाली जनताले पुग्दो भत्ता, मान र सुरक्षा दिएका थिए | छल र बलले बढ्ता हात पार्ने लालसाको छनक मैले उनमा देखेको थिइनँ | उनलाई नयाँ ताबेदार र चाटुकारको खाँचो सायद थिएन, न त मलाई उनको कृपा, उनका हातको टीका र गोदबाको नै चाहना थियो | उनी मङ्गल ग्रहदेखि उता बसेका थिए, म बसेको थिएँ यता तल धरतीमा | त्यसैले हामी दुईका संसार विशाल नदीका कहिल्यै भेट नहुने दुई सुदुर किनारजस्ता लाग्थे |

तैपनि संचारको संसारमा मैले दीपेन्द्रलाई बारम्बार भेटेको थिएँ र टाढैबाट सही मैले उनलाई केही न केही चिनेको थिएँ | इतिहासको गति सोझो र सुस्त रहेमा दीपेन्द्र भोलि यस मुलुकको राजा हुन्थे | त्यसैले आजका युवराजमा भोलिका कस्ता राजा हुने लक्षण होलान् भनी मेरा आँखामा पर्नेजति उनका कार्यकलाप, उनका विचार, उनको रुचि र उनको सामाजिक सम्बन्धलाई एक नागरिकको हैसियतले म चनाखो भई नियालिरहन्थें |

मझौलो कद, ल्याक्टोजिनले पुष्टिएजस्तो भुतमुने शरीर, प्राय:जसो अनौपचारिक लवाइ, प्रसन्न अनुहार, ठट्याइलो मिजास र मौका पाउँदा जनसाधारणसँग घुलमिल हुन खोज्ने सहज व्यवहार- मलाई दीपेन्द्र असामान्य घरानाका अपवाद मानिसजस्तो लाग्थे | असामान्यबाट सामान्यमा फेरिंदै जान जमर्को गरिरहेका मानिस | मङ्गल ग्रहपारिको असीमित दूरीबाट धरतीको नजिक आउन रहर गरिरहेका, शासक खलक र जनसाधारणबीचका औपचारिकता, सुरक्षा र अहंकारका पर्खालहरुलाई होच्याउँदै जनसाधारणको बस्तीतिर आउन तत्पर भइरहेका, शान्त मनोभाव र शिष्ट मिजासका सभ्यजस्ता देखिने मानिस | जनताका छातीमा बुट टेकेर र जनताका मुखमा संगीन कोचेर निरङ्कुश राज चलाउने क्रुर सपनाबाट विस्तार-विस्तारै मुक्त हुँदै गएका समझदारजस्ता लाग्ने मानिस | देशप्रति गहिरो माया र जीवनप्रति गहिरो मोह भएका भावुक, सरस र केही रोमान्टिक चरित्रका तन्नेरी |

खगेन्द्र सङ्ग्रौला

दीपेन्द्र कालगतिले स्वाभाविक मरण मरेका भए र त्यस घडीमा म बाँचिरहेको भए उनीबारे मैले बोल्नु वा लेख्नुपर्ने केही हुने थिएन | त्यो मेरो अनिवार्य कर्तव्यको अंश नै हुँदैनथ्यो | आखिर मर्त्यलोकको एक दिन मर्ने चोला हो, कोही मर्यो, कथा सकियो | तर जेठ १९ गते राति राजदरबारमा भएको सुन्दैमा आङ सिरिङ्ग हुने र दिमाग रन्थनिने हत्याकाण्डपछि दीपेन्द्रको अर्कै रुप मेरा आँखाअगाडि आइलाग्यो | उनी पहिले जस्ता देखिएका थिए, त्योभन्दा एकदम बेग्लै दीपेन्द्र | मानसिक रोगी, परपीडक र आत्मपीडक, पागल प्रेमी, अचम्मै क्रूर र कल्पनै गर्न नसकिने अपराधी दानव | बाबुमारा, आमामारा, बहिनी र भाइमारा, फुपू र फुपाजुमारा, काकामारा र सारामारा |

सपनामा पनि चिताउँदै नचिताएको त्यो खबर सुनेर पत्याउन नसकी सन्न भएको मेरो दिमागले मेरो अन्तस्करणलाई सोध्यो- त्यो दीपेन्द्र र यो दीपेन्द्र एउटै मानिस हुनसक्छ ? १९ गतेपछिको दीपेन्द्रको विम्ब त्यसअघि दीपेन्द्रको सुन्दर आवरणभित्र लुकिबसेको दानव दीपेन्द्रकै प्रकट रुप हुनसक्छ ? के मानिसको बाहिरी अभिनय र उसका चरित्रको भित्री सारमा यत्रो विकराल अन्तर हुनसक्छ ? के मानिस हिजोको आजै नाटकीय ढंगले यसरी फेरिन सक्छ ? के मानिसको स्वभाव र उसको मनोविज्ञान अनुभव र ज्ञानका कुनै पनि सूत्रहरुले अर्थ्याउनै नसकिने, पूर्वानुमान गर्नै नसकिने गूढ रहस्य हो ? मेरा मनमा प्रश्नहरुको अनन्त तरेली उठिरह्यो | उता सत्य बुझ्ने र सत्य देख्ने ज्ञानीहरु बाँस झ्याङका डाङरेहरुझैं उछिनपाछिन गर्दै देशदेशावरका संचारमाध्यमहरुमा कराइरहे- हो, पहिलो र अन्तिम सत्य यही हो | आफ्नो वंश विनाश गर्ने एकल पात्र दीपेन्द्र हो | केवल दीपेन्द्र, मात्र दीपेन्द्र, फगत दीपेन्द्र !!

हो, हिजोसम्म दीपेन्द्र मेरा कोही थिएनन् | तर अब उनी पलपल मेरो वरिपरि झुम्मिन थाले- उदास सुस्केरासाथ केही भन्दै, असहाय स्वरमा केही बिन्ती बिसाउँदै | म जहाँ जाउँ, दीपेन्द्र मलाई पछ्याउन छाड्दैनन् | मेरा विपनामा उनै, मेरा सपनामा उनै | मेरो तन्द्रामा उनै, मेरो निन्द्रामा उनै | हरघडी, हरपल आँसुमा डुबेको चित्कारमा उनी मसँग पुकारा गरिराहेछ- अंकल ! एकबारको जुनीमा मेरो बाँच्ने अधिकार हरण गरियो | सत्य बोल्छु भन्ने तपाईंको बाचा स्वाँगे होइन भने अंकल, मेरो इतिहासबारे दुई शब्द बोलिदिन मिल्छ ? मलाई मानव इतिहासभरिको सबैभन्दा ठूलो हत्याराको रुपमा प्रस्तुत गरेर अंकल, मानव इतिहासभरिको सबैभन्दा ठूलो अन्याय ममाथि थोपरियो | अंकल, नगरेको पापको कलंकबाट मैले मुक्ति पाउने मेरो अधिकार….!

मृत्युले श्री ५ र श्री १ बीचको दूरीलाई सनक्कै मेटिदियो | हिजो दीपेन्द्र सत्ता, दौलत र इज्जत छेलोखेलो भएका युवराज थिए र म थिएँ गरिखाने एक साधारण नागरिक | अहिले उनै दीपेन्द्र न्यायको याचना गर्न मेरो मुख र मेरो कलम वरिपरि फन्फनी घुमिरहेका छन् | हिजोसम्म जो उनका आफन्तहरु थिए, आज ती सबै उनलाई अपराधी सावित गर्न आतुर छन् | हिजोसम्म म जो उनको कोही पनि थिइनँ, आज उसैकहाँ हात पसार्न उनी आइलागेका छन् | जीवनको नाटक सम्झेर ल्याउँदा मलाई उदेक लाग्छ |

सत्यकथाको उद्घोष गृहमन्त्री रामचन्द पौडेलको सधैं सत्य बोल्ने मुखबाट भयो- हत्याकाण्डका स्रष्टा दीपेन्द्र हुन् | त्यसपछि बर्खामासका गड्यौंलाझैं ‘पौडेल सिद्धान्त’ का अनुगामीहरु जताततै स्याउँस्याउँती देखिए | ‘माथि’ बाट तल आउने वचनहरु सधैं सत्य हुन्छन् भनी अस्ति संस्कृत भाषामा र हिजो नेपाली भाषामा पुर्पच्छे गर्ने पुरेतहरुले आज अंग्रेजी भाषामा पुर्पच्छे गरे- हो, दीपेन्द्रै हुन् | मानौं त्यो दृश्य तिनले आफ्नै आँखाले प्रत्यक्ष देखेका थिए | तिनले यति जोश र उमंगसाथ यस कुराको प्रचार गरे मानौं यो तिनबाट भएको एउटा बिरल सत्यको आविष्कार हो | ग्यालिलियो बूढाले खोजी गरेको पृथ्वी सूर्य वरिपरि घुम्छ भन्ने सत्यभन्दा पनि अकाट्य सत्य !

अनि आयो भूतलमा कहिल्यै कतै नभएको छानबिन टोली | पहिले ‘पौडेल सिद्धान्त’ का प्रचारक डा. राजीव शाहीले सुन्न पाइने तर सोध्न नपाइने शर्तमा पत्रकार सम्मेलन गरे | अनि बुनिए, जासुसी कथाको सिङ्गो कथानकका तानाबानाहरू | सबै पहेलीका उत्तर शाहीले दिइसकेकै थिए, छानबिन टोलीले औपचारिकता पूरा गरी तिनै उत्तर टिप्यो र लेखिदियो एउटा जासुसी कथा | टोलीलाई जम्मा दुई घण्टाभित्रका घटनाको विवरण मात्र बटुल्न अह्राइएको थियो | बफादार टोली खटन बमोजिम विवरण बटुल्न लुखुरलुखुर हिंड्यो | अनि आयो दुई घण्टे भरियाको मुर्कट्टा प्रतिवेदन !

किन मुर्कट्टा ? किनभने भरिया टोलीले हत्याको कारण खोजेन, त्यसैले प्रतिवेदनको टाउको हुने कुरै भएन | टोलीले खोजतलासको निचोड निकालेन, त्यसैले त्यसका खुट्टा हुने कुरा पनि भएन | खुट्टा नभएको प्रतिवेदन न हो, धरातल टेकेर आखिर त्यो कसरी पो उभिन सकोस् र ? तैपनि प्रतिवेदन देखेर पौडेल सिद्धान्तका चेलाचपेटाहरु मक्ख परे | किनभने शासनतन्त्र र संचारका बलबानहरु जे भनिरहेका थिए, प्रतिवेदनले मुक मुद्रामा त्यही व्यहोरामा औंठाको ल्याप्चे सही ठोकिदियो- दीपेन्द्र, दीपेन्द्र र फेरि पनि दीपेन्द्र !

अंकल ! अंकल !! अंकल !!!- दीपेन्द्रको मौन चित्कार मेरा अशान्त कानमा अविराम गुन्जिरहन्छ | म आहत हुन्छु, छट्पटिन्छु र सन्देह गर्न खोज्छु | मेरा हृदयका आँखामा अनुहारमा कलंकको टीका लागेको मानवताको दयनीय तस्वीर नाच्न थाल्छ | तर पैसा, पहुँच र बन्दुक सबैथोक भएका शक्तिशालीहरुको बीचमा म आफूलाई असहाय पाउँछु | तिम्रो इतिहासमाथि न्याय गर्न म खै के पो गर्न सक्छु र दीपेन्द्र ? मृत्युपछि तिमी हात पसार्दै मेरो दैलोमा आएका छौ | तर यो अवाइ जोगीका घरमा भिक्षा माग्न सन्यासी आएजस्तो पो भयो बा !

यस्तो लाग्छ मानौं मेरो बस्ती स्यालहरुको हुइयाँमा डुबेको छ | त्यस हुइयाँले रटना गरिरहेछ- त्यो उसैले हो, माने दीपेन्द्रले | अनि यस रहस्यको जासुसी उत्तरलाई साँचो ठहर्याउन दीपेन्द्रको अतीतका पानाहरु पल्टाउन थालिन्छ | ब्रिटेनको इटन कलेजमा पढ्दाताका ऊ भन्सारमुक्त रक्सी किनेर बेच्थ्यो | त्यसकारण ऊ दुष्टमति हो | ब्रिटेनमा गृहकार्य नबुझाउँदा सम्झाउने गुरुलाई उसले हात छाडेको थियो | त्यसकारण ऊ उद्दण्ड हो | उसले ठिमीमा दिउँसै एक गिलास लोकल रक्सी खाएको थियो | त्यसकारण ऊ मूडी हो, लहडी हो | उसले सुप्रिया राणा र देवयानी राणासँग प्रणय सम्बन्ध एकसाथ चालु राखेको थियो | त्यसकारण ऊ गुण्डो हो | ऊ लागू बिखादि खान्थ्यो | उसमा जीवनप्रति माया-ममता छँदै थिएन, आदि इत्यादि | यसरी दीपेन्द्रको एउटा यस्तो विम्बको रचना गर्न खोजिन्छ, मानौं ऊ जन्मजात नालायक हो, सन्काहा हो, अमानव हो | मानौं उसको खून नै विकारग्रस्त थियो |

दीपेन्द्रको चरित्रबारे किटानीसाथ भन्न सकिने सत्य के हो, त्यो मलाई थाहा छैन | तर म लख काट्छु, दरबारभित्रका पात्रहरुमध्ये दीपेन्द विशेष दुष्टमति, दुष्चरित्रवान् र सन्काहा पक्कै थिएनन् | शायद दरबारभित्र धेरै वा थोरै, सधैं वा कहिलेकाहीं लागू बिखादि नखाने कोही पनि हुँदैन | अहंकार र सनक त त्यहाँको सनातन संस्कृति नै भइहाल्यो | दरबारभित्रको हरेक पात्र औपचारिकता, सुरक्षा र अहंकारका पर्दाहरुका पर्खालभित्रको आफ्नो छुट्टै टापुमा बस्छ | त्यहाँ कुन लोग्नेमानिसको कतिजना आइमाईसँग लसपस हुन्छ, कुन स्वास्नीमानिसको कतिजना लोग्नेमानिससँग उठबस हुन्छ, त्यो देख्ने कसले ? त्यसको हिसाब राखिदिने कसले ? तैपनि जासुसी कथाका रचनाकारहरु समवेत स्वरमा भनिरहेछन्- हो, दीपेन्द्र हर दृष्टिले खत्तम थियो !

यतिखेर नेपालमा भोलिको हाजिरी-जवाफको एउटा प्रश्नोत्तर तयार पारिंदैछ | भोलि मेरा नातिनातिनाहरुलाई सोधिएला- नेपालको इतिहासभरि सबैभन्दा ठूलो अपराधी को हो ? इतिहासका पुरेतहरुले रटाएको उत्तर सम्झिँदै मेरा अबोध नातिनातिनाहरुले भन्नुपर्ने छ- दीपेन्द्र | यस कुराको कल्पना मात्रले पनि म लज्जित हुन्छु |

जासुसी कथाका रचनाकारहरु सबै सिकारु परेछन् | म देख्छु, तिनले कथेको कथा हाँडीघोप्टेका लुगाजस्तै प्वालैप्वालले भरिपूर्ण छ | पहिले तिनले दीपेन्द्रलाई रक्सी खुवाए | त्यसपछि गाँजा | अनि त्यसपछि ‘नाम नखुलेको कालो पदार्थ’ | त्यसपछि तिनले उनलाई लुगा फुकाउनै नसक्ने गरी भुइँमा लडाए | अनि छदाए बाथरुममा लगेर | अनि लगत्तै तिनले रक्सीले मातेका, गाँजाले गलेका र ‘नाम नखुलेको कालो पदार्थ’ ले ढलेका दीपेन्द्रलाई फौजी पोसाक लगाइदिई पच्चीस-तीस किलो वजन भएका पाँचवटा हतियार बोकाएर रंगमञ्चमा प्रस्तुत गरे | पछि फिङ्गरप्रिन्टले सत्यको पोल नखोलिदियोस् भनेर होला, तिनले उनलाई पहिल्यै छालाका पन्जा लगाइदिएका थिए | अनि तिनले दीपेन्द्रका हातबाट गोली हनाएर वीरेन्द्र परिवारका जम्मैलाई ताकीताकी अचुक निशाना लगाए | जासुसी कथाका कल्पनाशील रचनाकारहरुले दीपेन्द्रलाई रावणको नयाँ संस्करणको रुप दिन गर्नु कोसिस गरे | पाँचवटा टाउका, दशवटा आँखा र दशवटा हात भएको एकसाथ पाँचवटा हतियार बोक्न र चलाउन सक्ने रावणरुपी दीपेन्द्र !

जासुसी कथाका देखिजान्ने र सुनिजान्ने रचनाकारहरु एक मुख भएर भनिरहेछन्- यो कथा ध्रुवसत्य हो | यसमा सन्देह नगर, यसमा प्रश्न नगर, यसमा तर्क नगर | सन्देह गर्ने, प्रश्न गर्ने र तर्क गर्नेहरुतिर तिनले सत्ताका अस्त्र सोझ्याएका छन् | त्यसैले यतिखेर चारै दिशा आतंकित छन्, मौन छन्, उदास छन् | तर दीपेन्द्र मेरो अन्तस्करणलाई पछ्याउन छाड्दैनन्- अंकल ! खाएको बिख लाग्छ, नखाएको बिख लाग्छ र अंकल ? तर ममाथि….

आतंकको छायाँमुनि धेरै मुखहरु थुनिएका छन् | धेरै कलमहरुले मौनव्रत धारण गरेका छन् | अंग्रेजी भाषा जान्ने कतिपय उत्तरआधुनिक सामन्तहरु जीतबाजीको उन्मादका साथ संसारभरि सम्चार पठाइरहेछन्- देख्यौ ? आखिर हामीले भनेको सत्य त प्रमाणित भएरै छाड्यो नि | दीपेन्द्र, दीपेन्द्र र केवल दीपेन्द्र !

यतिखेर म आफुलाई एक्लो अनुभव गर्छु | चारैतिर भय छ, त्रास छ र कोलाहलमय सन्नाटा छ | सन्नाटामाझ कुनै छिद्रबाट सत्यलाई नियाल्न खोज्दै म जासुसी प्रतिवेदन पल्टाउँछु | दुई पोखरीबीचको पुलको दक्षिण-पूर्वी कुनामा दीपेन्द्र उत्तानो परेर ढली ‘घ्यारघ्यार’ गरिरहेको देखें भनी उनका शाही पार्श्ववती गजेन्द्र बोहरा बताउँछन् | छानबिन टोली सोध्छ- दीपेन्द्र ढलेपछि पनि गोली चल्या सुन्नुभाथ्यो कि ? बोहरा भन्छन्- “ हो, म फर्केर डोर-वेमा आइपुग्दासम्म पनि गोली चल्दै थियो |” बस्, पुग्यो | जासुसी प्रतिवेदनको छिद्रबाट सत्यको स्यानो झिल्को देखियो | यता एकजना दीपेन्द्र ढलिसके, उता दीपेन्द्रको अर्को औतार गोली चलाइरहेको छ | पहिले डाक्टर शाहीले दीपेन्द्रले शान्त भावमा, एकदम चुपचाप आफ्ना पिताजीमाथि गोली दागेका हुन् भनी पत्रकारहरुलाई सुनाएका थिए | बबुरो हत्याकाण्डको कर्तालाई आफ्नो मुख जाम गर्न कर लागेको हुँदो हो | किनभने उसले मुख खोलिहालेको भए दीपेन्द्रको नकाबभित्रबाट वास्तविक पराक्रमीको पहिचान प्रकट भइहाल्थ्यो |

मेरो मुख थुन्न सहस्र अस्त्रहरु मतिर ताकिएका छन् | तर दीपेन्द्रको करुण क्रन्दन मेरा घाइते कानमा गुन्जिन छाडेको छैन- अंकल….| जानिफकारहरु भन्दछन्- दीपेन्द्र सन्काहा थियो | हत्याकाण्ड उसको यही सनकको आकस्मिक नतिजा हो | सनक, केवल सनक, मात्र सनक | सनक सिद्धान्तका पण्डितहरु भद्दा जासुसी कथालाई सत्य ठहर्याउन त्यसमा प्रेम प्रकरणको छलकारी गातो हालिरहेका छन् |

मेरो अन्तस्करणमा एउटा पीडादायी प्रश्नले शिर उठाउँछ- के दीपेन्द्रमा साँच्ची नै असामान्य सन्काहापन थियो ? के घटना घटेको दिनको उनको व्यवहारमा कहीं कतै मनोविकार र मानसिक असन्तुलनको छनक प्रकट भएको थियो ? यी प्रश्नका उत्तर खोज्न म जेठ १९ गतेका दीपेन्द्रका पाइला पछ्याउँदै उनलाई नजिकबाट नियाल्न खोज्छु | त्यस दिन दिउँसो उनी वीरेन्द्र अन्तराष्ट्रिय खेलकुद परिसरमा पुगेका थिए आफैं गाडी हाँकेर | त्यहाँ पौडी पोखरीमा आँखा लगाउँदै उनले अनेक प्रश्न सोधेका थिए | पाँचौ राष्ट्रिय खेलकुदमा पौडी खेल सकिन कति दिन लाग्छ ? खेलको सूचीमा कुन कुन खेल परेका छन् ? खेलाडीलाई बस्ने बन्दोबस्त के कस्तो छ ? त्यो अनौपचारिक र मित्रवत् कुराकानीमा उनले दरबारको पौडी पोखरीमा हिटिङ सिस्टम छ, यहाँ पनि हुनुपर्छ भन्न पनि भ्याए | अनि स्टेडियमलाई ठीकठाक राख्नुपर्ने सुझाव दिन पनि उनी चुकेनन् | फुटबलमा हुलदंगा हुनसक्ने कुराप्रति चंख हुँदै छेउछाउका ढुंगा-इँटा राम्रोसँग पन्छाउनु भनी उनले सल्लाह पनि दिए |

अहँ, उनको व्यवहारमा त्यस्तो कुनै विकार छैन | सब ठीकठाक छ | देशको प्रधानमन्त्री वा कुनै मन्त्री त्यहाँ गएको भए शायद ऊ दौराको फेर हल्लाउँदै जान्थ्यो र नमस्कार थापेर गजक्क पर्दै फर्किन्थ्यो होला | तर दीपेन्द्र एकदम मानवीय रुपमा प्रस्तुत भए | उनको व्यवहारमा शासकीय ठाँटबाँटको कुनै लक्षण थिएन | कहाँसम्म भने खेलाडी र दर्शकको जीउज्यानको पीर गर्दै उनले ढुंगा-इँटा पन्छाउनुसम्म पनि भने | दीपेन्द्रलाई बालककालदेखि अहिलेसम्म पढाउँदै आएका उनका गुरुहरुले उनमा सनक, अभद्रता वा अपराधिक प्रवृतिको संकेत कहिल्यै देखेनौं भनी हामीलाई आफ्ना थुप्रै संस्मरणहरु सुनाएका छन् | तर जासुसी कथाकारहरुको मलिलो कल्पनाले दीपेन्द्रको अर्कै विम्ब निर्माण गरिदियो | सन्काहा, जीवनद्रोही र सर्वनाशक ! आखिर स्वार्थको तुलोमा तौलेर आ-आफ्नो स्वार्थ सुहाउँदो तस्वीर खिच्ने कुरा न हो !

दीपेन्द्रलाई छक्याएर म कुनै एकलास कुनामा लुक्न खोज्छु | तर म जहाँ जाउँ, उनी मलाई पछ्याउँदै त्यहीं नआई छाड्दैनन् | र, उही करुण स्वरमा उनी मसँग उही दुखपुकारा गरिरहन्छन्- अंकल….|

हिजो दीपेन्द्र बलेको आगो थिए, त्यसैले उनलाई ताप्नेहरुको भीड ठूलो थियो | आज उनी आगो निभेर खरानी भएका छन् र आगो ताप्नेहरु बलेको आगोतिर सरक्क सरेका छन् | हातहातमा पुष्पगुच्छा बोकेर उनीहरु कलाकार प्रवीण गुरुङको लासमाथि पारस शाहलाई युवराज घोषित गरिएको सुखद् समाचार सुन्न आतुर छन् | बुझ्यौ दीपेन्द्र ? अहँ, दीपेन्द्र बोल्दैनन् | केवल उनको चिसो सुस्केरा आएर मेरो अनुहारमा मडारिन्छ |

म दीपेन्द्रको छेउमा उभिएर इतिहासको विभत्स नाटक हेरिरहेको छु | र दीपेन्द्रलाई भनिरहेको छु- भतिज दीपेन्द्र ! तिमी र तिम्रा पिताजीको अन्त्यसँगै नेपालको परम्परागत राजतन्त्र खरानी भयो | अबको राजतन्त्र कि त मङ्गल ग्रहबाट धरतीमा ओर्लेर जनताको छेउमा जनतासँगै सुखदुख बाँडचुँड गरेर बाँच्छ, कि त्यो इतिहासका पानामा बास बस्न जान्छ | बन्दुकको आडमा राजतन्त्र बाँच्ने दिन अब गए | कसो दीपेन्द्र ? गहभरि आँसु लिएर मूक मुद्रामा मलाई हेर्दै दीपेन्द्र एकनासले टोलाइरहन्छन्, एकदम निरुत्तर |

अनि मौन सुस्केरामा दीपेन्द्रको छियाछिया भएको हृदयबाट दारुण चित्कार प्रकट हुन्छ- अंकल ! मेरो बाँच्ने अधिकार, मेरो सत्य-साँचो इतिहास…| दीपेन्द्र ! म जो आफैं असहाय छु, तिमीलाई म खै के भनूँ ? जे होस्, यो इमानमा बाँझो पल्टेको देश होइन, दीपेन्द्र | सत्यका उपासकहरुले एक न एक दिन दुनियाँलाई तिम्रो सत्यकथा सुनाएरै छाड्नेछन् | हो, तिमी मारिएका छौ र म हराइएको छु | भतिज दीपेन्द्र ! अहिलेलाई तिमी मलाई माफ गर |