बजेटको भाषिक शब्दजाल

नयाँ स्वरूपको कोरोना कहरको दोस्रो लहरका बीच आर्थिक वर्ष २०७८/७९ को बजेट आएको छ । मूलतः कोरोनालाई परास्त गर्ने गरी बजेट आउनु पर्ने अपेक्षा र बाध्यता अनुरूप नै बजेट आएको छ । व्याख्या विश्लेषण, पक्ष विपक्षका तर्क वितर्क छन् । यस्तैमा बजेट ल्याउँदा संवैधानिक प्रावधान मिचिएको र संविधानकै प्रावधान बमोजिम अध्यादेशबाट बजेट आएको भन्ने राजनीतिक दाउपेचका बहस पनि जारी छन् ।

बजेटलाई राजनीतिक र आर्थिक दस्तावेज मान्ने गरिन्छ । राजनीतिक सिद्धान्त र आर्थिक सिद्धान्तमा मूलतः तर्क र तथ्यको भेद हुन्छ । राजनीतिक र आर्थिक दस्ताबेज मान्ने बजेटमा अर्को पक्ष भाषिक पनि हुन्छ । सम्भवतः आम जनमानसको सबैभन्दा बढी प्रत्यक्ष उपभोग्य सरकारी वस्तु पनि बजेट नै हो । बजेटमा आम चासो हुन्छ, त्यसैले बजेटलाई सकेसम्म धेरैभन्दा धेरै जनसमुदायसम्म पु¥याइन्छ । भाषाका शब्द र सङ्ख्यामा व्यक्त हुने बजेट आमसमुदायका हरेक तह र तप्कासम्म पुगोस् भन्ने ठानेर आम सञ्चार माध्यमहरुको प्रयोग गरिन्छ । साङ्केतिक भाषामा समेत बजेटको जानकारी दिइनु भनेको कुनै पनि वर्ग नछुटोस् भन्ने नै हो ।

बजेटबारे दिइने जानकारीमा कोही नछुटुन् भने जस्तै बजेटका प्रावधान वा त्यसबाट पाउने लाभमा कोही नछुटुन् भन्ने पनि ख्याल गरिएको हुन्छ । त्यसैले हरेक वर्ग, जाति, जात, स्थान आदिको नाम उल्लेख गर्दै बजेटका नीति र कार्यक्रम समावेश भएका हुन्छन् । फरक चाहिँ के हुन्छ भने कतिपयमा तर्क (राजनीति) हुन्छ त कतिपयमा तथ्य (बजेट) । हरेक तर्क र तथ्यले अर्थ र हिसाब बराबर नगर्न सक्छन् । त्यसैले त भनिने गर्छ – बजेटमा शब्दजाल हुन्छ ।

अहिले बजेटका बारेमा नै चर्चा छ – कतै अति प्रशंसा छ त कतै अनावश्यक विरोध । तर यी सबै भाषामा नै भइरहेका छन् अर्थात् बजेटको भाषा मात्र होइन भाषाका नामको बजेटबारे पनि भाषाका शब्दजाल बुनिएका छन् । यो आलेख पनि बजेटमा भएको भाषाको तर्क र तथ्यबारे केन्द्रित छ । अर्थात् भाषा कतै पनि निरपेक्ष रहँदैन भन्ने कुरा स्थापना गर्नु यसको लक्ष्य रहेको छ ।

भाषा भन्ने बित्तिकै शुद्धाशुद्धिकै चर्चा धेरै हुने गर्छ अर्थात् आम मानिसमा एउटा के भ्रम फैलाइने गरेको छ भने भाषाको सबैभन्दा बलबान् पक्ष नै शुद्धाशुद्धि मात्र हो । शुद्धाशुद्धि भाषाको केही होइन भन्ने पनि होइन यो एउटा महत्वपूर्ण पक्ष हुँदै हो तर त्यसभन्दा पनि भाषाका अरु धेरै महत्वपूर्ण पक्ष छन् जसबारे भाषाका आम प्रयोक्तालाई बुझाउने चेष्टा कमै गरिन्छ ।

पुरिन लागेको पुरातत्त्व

यहाँ बजेटका भाषामा शुद्धाशुद्धि हेर्न खोजिएको छैन बरु बजेटमा उल्लेख भएको एउटा बुँदाको कार्यक्रमबारे आम मानिसमा पैदा भएको तरङ्ग र त्यसको भाषाका शब्दका आधारमा स्थाननामका रूपमा प्रयोग हुने शब्दको पुरातत्त्वबारे चर्चा गरिएको छ । यो भाषाको अर्को एक महत्वपूर्ण पक्ष हो । स्थाननाम भनेको कुनै पनि ठाउँ वा नदी–नाला वा पहाड–पर्वत वा वन–जंगलको नाम हो भने पुरातत्व भन्नाले ती नामको प्राचीन पक्षको अध्ययनलाई जनाउँछ ।
बजेटमा धेरै स्थाननाम आएका छन् । देशभरका सबै स्थाननाम भने परेनन् त्यो सम्भव पनि हुँदैन । तर कतिपय स्थाननाम धेरै पटक तर्क र तथ्यसहित पटक पटक दोहोरिएका छन् जुन चाहिँ नगर्न पनि सकिन्थ्यो र अरु उल्लेख भएकालाई तर्क (राजनीतिक औचित्य) र तथ्य (बजेट विनियोजन) सहित पार्न पनि सकिन्थ्यो । त्यसका लागि त्याग र उदार मनको संयोजन नै आवश्यक पर्ने थियो होला ।

अब बजेटको बुँदामा उल्लेख भएका दुई स्थाननाम र त्यसको अन्तर्यबारे भाषिक चिन्तनमा लागौँ । बजेटको बुँदा नम्बर ३५६ मा केही स्थाननाम परेका छन् । ती हुन्: ओखलढुङ्गा, खिजी चण्डेश्वरी, ताप्लेजुङ(ग), सुकेटार, तेह्रथुम र चुहानडाडाँ ।

तीमध्ये पनि सुकेटार र चुहानडाँडा स्थाननाम बजेटमा उल्लेख भएकै कारण चर्चामा छन् । ती स्थानमा निर्माण भएका वा निर्माणाधीन विमानस्थलको नाम परिवर्तन गर्ने तर्क (राजनीति) बजेटको त्यो बुँदामा छ तर त्यसका लागि तथ्य (बजेट) भने त्यसमा छैन । यो पनि बजेटको भाषिक शब्दजाल हो ।

राजनीतिका लागि राजनीति

बजेटको यो व्यवस्थाले दुई वटा विमानस्थलको पुरातात्विक स्थाननामलाई मासेर नयाँ स्थाननाम निर्धारण गर्ने बुझाउँछ । सरकारको त्यस निर्णयको विरोध व्यापक भइरहेको छ । राजनीतिक तहबाट भएको यो राजनीतिक निर्णयको राजनीतिक र समाजका अन्य क्षेत्रबाट पनि भएको छ । विराधमा स्थानीय जनताको अपनत्व देखाउने गरी पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सावधानी अपनाएर यसको विरोध गरेका छन् । अर्थात् विमानस्थलको नाम के परिवर्तन गर्न लागियो त्यो भनेका छैनन् ।


यहाँ अर्को पनि कुरा के देखिन्छ भने सँगै नाम परिवर्तन गर्न लागिएको अर्को विमानस्थलबारे उनी अस्वाभाविक रूपमा मौन छन् । उनी आफ्नो जिल्ला (निर्वाचन क्षेत्र) को सुकेटार विमानस्थलको मात्र नाम परिवर्तन गर्न लागिएकोमा चिन्तित देखिन्छन् र त्यसमा ऐतिहासिक पक्षको सन्दर्भ उल्लेख गरेका छन् ।

खासमा सुकेटार विमानस्थलको नाम उनीभन्दा अगाडिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नाममा परिवर्तन गर्न लागिएको हो । एकै घानमा नाम परिवर्तन गर्न लागिएको तेह्रथुमको चुहानडाँडा विमानस्थलको नयाँ नामकरण भने यती समूहका आङ छिरिङ शेर्पाको नामबाट गर्न लागिएको हो । दुबैजना चुहानडाँडा विमानस्थल र पाथीभरा मन्दिरसम्म जाने केबल कारको परियोजनाको अवलोकनका लागि गएको बेला हेलिकोप्टर दुर्घटनामा परी २०७५ फागुन १५ गते निधन भएका व्यक्ति हुन् । उक्त दुर्घटनामा अरुको पनि निधन भएको थियो तर अरुका नाममा स्थाननाम परिवर्तनको पहल भएको छैन ।

रवीन्द्र नेकपा (एमाले) को तर्फबाट उम्मेदवार भई कास्कीबाट प्रतिनिधि सभामा सदस्य निर्वाचित थिए भने शेर्पा पर्यटन व्यवसायी थिए । भट्टराई अधिकारीको निधनपछि उनैको उत्तराधिकारीका रूपमा एउटै पार्टीबाट मन्त्री बनेका थिए । हाल आएर उनी उक्त पार्टीको विवादमा अलग राजनीति गर्छन् र सुकेटारको नाम परिवर्तनको विरोधको एउटा पक्ष स्थानीय र राष्ट्रिय राजनीति पनि हो भन्ने बुझ्न कठिन छैन ।

नारायण गोपालको योगदान क्रिकेटमा ?

बरु यो नाम परिवर्तनमा अरु स्वतन्त्र व्यक्तिहरुको टिप्पणी वस्तुनिष्ठ देखिन्छ र त्यसले विमानस्थलको नाम गरिवर्तन गर्न रवीन्द्रको नाम राख्नुपर्ने कुनै कारण नरहेको स्पष्ट गर्छ । यसरी विरोध गर्नेले पनि योगेश भट्टराईकै जस्तो चुहानडाँडा विमानस्थलको नाम परिवर्तनमा भने विरोध गरेका छैनन् ।

स्थाननामको यो राजनीतिमा यस कार्यको विरोध गर्नेले नामै परिवर्तन गर्नुपर्ने गरी ती क्षेत्रमा तिनीहरुको योगदान केही नभएको जनाएका छन् । त्यसरी सरोकार नरहेको जनाउन नारायण गोपालको योगदान क्रिकेटमा नरहेको जस्तो उदाहरणसमेत प्रस्तुत गरेका छन् । विज्ञान न्यौपानेले फेसबुकमा लेखेको र त्यसमा आएको टिप्पणीको जवाफ हेर्नुहोस्:

नाम परिवर्तनको यो कार्य सर्वथा अनुचित रहेकोमा सर्वसाधारण मात्र होइन पूर्वप्रशासक समेतका तर्क पाइन्छन् । पूर्वसहसचिव रहेका प्रतीक ढकाल (खडानन्द ढकाल) ले स्थाननाममा पुरातत्त्व खोज्दै नामै फेर्न मनलागे लिम्बुवान र किरातसँग सम्बन्धित नाम राख्न सुझाएका छन् । रवीन्द्र र आङ छिरिङको नामबाट नाम राख्ना गोरु बेचेको पनि साइनो नहुने भन्दै नाम फेर्नु नै परे ‘सिरिजङ्गा’ वा ‘फाल्गुनन्द’ राख्न र त्यो पनि मन नलागे ‘हर्क गुरुङ’ राख्न सुझाएका छन् ।

सिरिजङ्गा लिम्बू भाषा, लिपिका सर्जक र अन्वेषक हुन् र सहीद पनि हुन् भने फल्गुनन्द भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ती किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिपरेका व्यक्तित्व हुन् । त्यसैले यी दुबैको नाममा कुनै स्थानको नामकरण गर्दा त्यहाँ बरु स्थाननामको पुरातत्व पाइने प्रतीक ढकालको सुझाव हो ।

तर प्रतीक ढकालले प्रस्ताव गरेको र गोरु बेचेको साइनोमा नपर्ने हर्क गुरुङको नाम भने असान्दर्भिक लाग्छ । त्यसैले होला उनलाई आवेशमा आएर त्यस्तो कुरा गरेको टिप्पणी आएको छ । त्यसको जवाफमा उनी नाम परिवर्तनमा विवेकहीनता र औचित्य दुवै स्थापना गर्न पुगेका छन् ।

उनले सरकारको हालको यो निर्णय विवेकहीन देखे तर लुक्ला विमानस्थलको नाम परिवर्तन गरेर तेन्जिङ–हिलारी विमानस्थल बनाउन आफूले नै मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको जनाएका छन् । लुक्ला विमानस्थल निर्माणमा प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको योगदान रहेको थियो । प्रतीक ढकालको यस जानकारीबाट सरकारले विमानस्थलको नाम परिवर्तन गर्न खोजेको अहिले मात्र होइन भन्ने पनि पुष्टि हुन्छ तर त्यसलाई कामले पुष्टि गर्नुपर्ने देखिन्छ । ढकालले नामकरण गर्ने विषय ठट्टा नभएको जनाएर गम्भीर रहेको सूचना दिएका छन् ।

ढकालले गोरु बेचेको साइनोभन्दा बढी नै हक लाग्ने भनी सुझाव दिएका हर्क गुरुङले रवीन्द्र र आङ छिरिङको जस्तो नामको सम्मान पाइसकेका छन् । तर त्यो विमानस्थलको नामका सम्बन्धमा नभई हिमालको नाममा थियो । लमजुङ जिल्लाको ७८७१ मिटर अग्लो ङादी चुली हिमालको नामकरण डा. हर्क गुरुङ पिक गरिएको थियो । यो कार्य सरकारको निर्णयमा नै भएको थियो ।

ङादी चुली स्थानीय गुरुङ भाषाको नाम थियो सोही हिमाललाई पिक २९ भनेर पनि नाम दिइएको थियो । यसरी उक्त हिमालको पटकपटक नाम फेर्दा त्यसको भाषिक र सांस्कृतिक पक्षमा प्रहार भएको थियो । चोमोलोङ्मा÷झोमोलोङ्मालाई सगरमाथा र माउन्ट एभरेस्ट भनी नाम परिवर्तन गर्दा पनि त्यसले मौलिक भाषिक र सांस्कृतिक पक्षलाई बिर्साएको छ । अरु पनि हिमालका नाममा यस्तो भएको छ ।

दुई सय वर्षको जीवन्त सम्पदा

सुकेटार र चुहानडाँडा किरात बाहुल्य रहेको क्षेत्रका स्थाननाम हुन् । तर तिनको नाममा स्थानीय लिम्बू भाषा संस्कृतिका नामको भाषिक पुरातत्व देखिँदैन । नेपालको समाज प्राक्ऐतिहासिक अवस्थादेखि नै मिश्रित रहेको पाइन्छ । मिश्रित समाजकै आधारमा चुहानडाँडालाई चौहानहरुको सघन बस्ती रहेको क्षेत्रका आधारमा चौहानडाँडा<चुहानडाँडा<चुवानडाँडा पनि भन्ने गरिएको स्थानीयको बुझाइ देखिन्छ । सुकेटारको नामकरण सम्भवतः सुक्खा रहेको टार भन्ने बुझिन्छ । स्थाननाम राख्ने संस्कृतिका बेग्लै पक्षहरु रहेका हुन्छन् । तिनमा जाति, विशेषता, स्थलाकृति, आकार, रङ, सङ्ख्या आदि विभिन्न आधार रहने मानिएको छ (कृष्णप्रकाश श्रेष्ठ, स्थाननाम कोश, पृष्ठ घ–ङ)

हालका ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुमलगायतका जिल्लामा लिम्बुवान परम्परामा निर्णय प्रक्रियाका लागि स्थानहरु तय भएको पाइन्छ । पाँचथर त्यसै अनुरूपको एक रहेको र दश लिम्बुवान भनिने त्यस क्षेत्रका राजाहरुले अम्बे पोजोमा भन्ने तीर्थस्थलमा जम्मा भई चुमलुङबाट संयुक्त निर्णय लिने स्थाननामको सन्दर्भमा उल्लेख पाइन्छ (श्रेष्ठ, उही, पृष्ठ ८६) । चुमलुङलाई भनेको संयुक्त सभा मानिएको छ ।

सम्भवतः चुहानडाँडा र सुकटार पनि त्यस्तै चुमलुङ परम्पराबाट राखिएका नाम हुनसक्छन् र त्यसमा स्थानीयको अपनत्व छ । त्यसैले नाम परिवर्तन प्रकरणको स्थानीय स्तरबाट विरोध भएको छ । त्यसमा सुकेटारको पक्षमा विरोधका स्वर तीव्र र चुहानडाँडाको त्यति प्रबल सुनिएको छैन । तर सुकेटारभन्दा चुहानडाँडाको सामाजिक, भाषिक र सांस्कृतिक पक्ष प्रबल देखिन्छ ।
तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको सांस्कृतिक पुरातत्व रहेको पाइन्छ । उक्त क्षेत्रमा दुई सय वर्षअघिको वरको बोट रहेको छ, जसलाई आठराई गाउँपालिकाले सम्पदाका रूपमा लिएको छ ।

https://aathraimun.gov.np/content/चुहानडाँडा-स्थित-२००-वर्ष-पुरानो-वरको-रुख

वरको बोट सामान्य रूपमा एउटा वनस्पति मात्र हुँदैन । वरपीपल रोप्ने चलनसँगै चौतारामा शिलालेख लेखेर राख्ने प्रचलन रहेको हुन्छ । त्यस क्षेत्रमा रहेको उक्त वरको बोटले त्यस क्षेत्रमा भाषिक र सांस्कृतिक पुरातत्वको जीवन्त इतिहास रहेको जनाउँछ । लिम्बू भाषा, लिपि, संस्कृति र खस क्षेत्रीको भाषा, लिपि, संस्कृतिको एकल वा मिश्रित स्वरूप त्यस क्षेत्रको भूगर्भमा पाइने र त्यो कम्तीमा पनि दुई सय वर्षअघिको रहेको यसबाट स्वाभाविक आनुमान गर्न सकिन्छ ।

यस्तो अवस्थामा स्थानीयलाई वास्ता नै नगरी केन्द्रबाट र पूर्णतः असम्बन्धित व्यक्तिका नाममा स्थाननाम परिवर्तन गर्दा इतिहासको एउटा कालखण्ड मेटिने स्पष्ट हुन्छ । यो कार्य सङ्घीय पद्धति अनुरूप पनि देखिँदैन ।

गोरक्षनाथ कि गर्खातिर ?

नाम राख्ने चलनमा राज्यका शासकको चरित्र वा शासन शैली पनि अध्ययनको पक्ष हुने गरेको देखिन्छ । यसैक्रममा गोर्खाको नामकरणबारे अध्येताहरु अझै पनि एकमत रहेको पाइँदैन । पछिल्ला भाष्यहरुले गोरक्षनाथ वा गोरखनाथ परम्पराबाट गोर्खा वा गोरखा नामकरण भएको मान्यता स्थापित गर्न खोज्छन् । तर त्यसको स्थलगत र राज्य संरचनाका आधारमा विक्रमको चौधौँ शताब्दीको इतिहासबाट हेर्ने हो भने गोर्खा गर्खाबाट राखिएको स्थाननाम रहेको पाइन्छ । गर्खा भनेको बाक्लो बस्ती रहेको स्थान बुझिन्छ । अझै पनि सुदूरपश्चिम र कर्णाली क्षेत्रमा गर्खा स्थाननाम रहेका छन् ।

नेपाली भाषाको उद्भव भएको स्थल मानिएको दैलेख जिल्लाको साविकको पिपलकोट गाउँविकास समिति ८ र हालको आठबिसकोट नगरपालिकामा गोर्खी गाउँ छ । अझ त्यसभन्दा पश्चिम जाने हो भने डडेल्धुराको माष्टमाडौंमा गर्खा गाउँ नै छ । पश्चिमबाट पूर्वतर्फ भाषिक परिवर्तन हुँदै जाँदा त्यही गर्खा<गोर्खी<गोर्खा भएको हुनसक्ने बलियो आधार मिल्दछ । गोर्खा अहिले अङ्ग्रेजीको प्रभावमा आएर गुर्खा भएको पनि यस सन्दर्भमा मननीय देखिन्छ ।
विक्रमको १३०६–१३३३ सम्म सुदूरपश्चि क्षेत्रमा राज्य सञ्चालन गरेका नाग मल्लले आफू राजा हुुनेबित्तिकै राज्यलाई सातवटा गर्खामा विभाजन गरी अधिकार विकेन्द्रित गरेका थिए । ती गर्खामा छ, गड, पश्या, लुलान, रूपाल, बोकटा, पिपलकोट र भुत्यु थिए । हेर्नुहोस्: जिल्ला समन्वयन समिति डडेल्धुराकाे वेबसाइट

lhNnf ;dGjo ;ldlt 88]Nw’/fsf] j]a;fO6 https://dccdadeldhura.gov.np/ne-brief-introduction/

दैलेखको हालको गोर्खी त्यही एउटा गर्खा रहेको यसबाट पुष्टि हुन्छ । नाग मल्लको शासनभन्दा बेग्लै अर्को गर्खा परम्परा पनि अझ पश्चिममा रहेको देखिन्छ । जसमा हालै मात्र नेपाली नक्सामा समेटिएका लिम्पियाधुरा, लिपुलेक, कालापानी र पहिले नै नेपालको सरहदभित्रै रहेका छाङरु र तिङ्कर पाँच गर्खा रहेका थिए । यसबाट के स्पष्ट हुन्छ भने गर्खा स्थाननामको परम्परा राज्य प्रशासनिक एकाइका आधारका स्थाननाम थिए । पृथ्वनारायणले नेपालको एकीकरण गरेपछि र राणाकालसम्म पनि डडेल्धुराका गर्खालाई प्रशासनिक मान्यता रहेको थियो ।

खस राज्यका तिनै गर्खा पूर्व सर्दै जाँदा त्यसका रूप परिवर्तन भएको देखिन्छ । यसरी गोर्खा जिल्लाको स्थाननामको एउटा विश्वसनीय आधार तयार हुन्छ । यो स्थाननामको पुरातत्वले संरक्षण गरिदिएको सम्पत्ति हो ।

पुछारमा

जनता जनार्दन नै स्थाननामको स्रष्टा हो । त्यसैले स्थाननाम हाम्रो भाषिक तथा सांस्कृतिक निधि हो र यो कुनै न कुनै जनजातिको सिर्जनाको परिचायक हुन्छ (श्रेष्ठ, उही पृष्ठ ग) । यस आधारमा स्थाननामको महत्व र औचित्य कति रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । हरेक स्नाथनामको आफ्नै विशिष्ट इतिहास हुन्छ र त्यो जनताको इतिहास हुन्छ । शासकीय कार्य पनि जनताको उपस्थिति र कार्यका आधारमा हुने गर्दछन् । स्थाननाम परिवर्तन शासकीय वा अरु जुनसुकै लहडबाजीबाट गर्न हुँदैन । त्यसो गर्दा स्थाननाममा रहेको भाषिक र सांस्कृतिक पुरातत्व नष्ट हुन्छ ।