देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई वि. सं. २०२१ देखि नेपालको सरकारी कामकाजको भाषा घोषणा गरियो । वर्तमान संविधानको धारा ७ मा समेत नेपाली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा उल्लेख गरिएको छ । नेपाली भाषा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग भइरहँदा सरकारी निकायका चिठी-पत्र, विज्ञप्ति, सूचना, शुभकामना सन्देशजस्ता कैयौँ कागजातमा भाषिक अशुद्धि धेरै देखिन्छ । यस लेखमा तिनै भाषिक त्रुटि र तिनका शुद्ध रूपलाई तालिकाका माध्यमबाट प्रस्तुत गरिएको छ ।
अशुद्ध शब्द/वाक्य/वाक्यांश | शुद्ध शब्द/वाक्य/वाक्यांश | स्पष्टीकरण |
व्यहोरा | बेहोरा | तत्सम शब्दमा “व्य” वर्णको प्रयोग जताजतै गरिन्छ तर नेपाली भाषाका तद्भव, आगन्तुक वा नेपाली मूल शब्दमा “व्य” संयुक्त वर्ण प्रयोग भएको पाइँदैन । अतः “व्यहोरा” शब्द अशुद्ध मानिन्छ । नेपाली बृहत् शब्दकोशले विकल्पका रूपमा “ब्यहोरा” शब्दलाई प्रविष्टि दिएको छ तर बेहोरा प्रयोग गर्नु वाञ्छनीय हुन्छ । |
उपरोक्त | उपर्युक्त | उपरि (माथि) + उक्त (भनिएको) = उपर्युक्त बन्दछ । उपरोक्त अशुद्ध शब्द हो तर यसको प्रयोग बढ्दै गएको छ । |
उल्लेखित | उल्लिखित | उत्+लिखित (लेखिएको) = उल्लिखित बन्दछ । |
भएकोले/गरेकोले आदि सबै “कोले” | भएकाले/गरेकाले | भएको+ले = भएकाले । तिर्यक् कारकले ओकारलाई आकारमा बदलिदिन्छ । यसमा एकवचन र बहुवचनको प्रसङ्ग नै आउँदैन ।”सचिवज्यूले निर्देशन दिनुभएकाले सोहीअनुरूप गर्नुहुन अनुरोध छ । उसले कर्तव्य गरी ज्यान मारेकाले मुलुकी अपराध संहिताअनुसार निजलाई जन्मकैदको सजाय हुनुपर्छ ।” |
प्रकाशित गरिएको | प्रकाशन गरिएको | “प्रकाशित” भनेको प्रकाशन भइसकेको हो । |
विज्ञप्ती | विज्ञप्ति | वि+ज्ञप्+ति |
आव्हान/न् | आह्वान | व्+ह = व्ह, ह्+व =ह्व |
जानकारीको लागि | जानकारीका लागि | लागि/निम्ति/निमित्त शब्दका अगाडि सधैँ “आ”कारका रूपमा “का/रा/ना” प्रयोग गरिन्छ । मेरा लागि, तिम्रा लागि, आफ्ना लागि, देशका लागि, मन्त्रालयका लागि, दिनका लागि, पाउनका लागि आदि । |
श्रीमान (सचिव आदि) | श्रीमान् | शक्तिमान्, हनुमान्, भगवान्, बलवान् आदि । |
वैदेशिक रोजगार… | वैदेशिक रोजगारी… | रोजगारी = वृत्ति, पेसा, रोजगार = रोजगारी गर्ने व्यक्ति |
राजश्व | राजस्व | श्व शब्दको अर्थ संस्कृतमा कुकुर हुन्छ । |
दोश्रो/तेश्रो | दोस्रो/तेस्रो | तद्भव शब्दमा श प्रयोग नहुने । |
बैशाख | वैशाख | महिनाका अन्य शुद्ध नाम-रूप : जेठ (ज्येष्ठ), असार (आषाढ), साउन (श्रावण), भदौ (भाद्र), असोज (आश्विन), कात्तिक (कार्तिक), मङ्सिर (मार्ग वा मार्गशीर्ष), पुस (पौष), माघ, फागुन (फाल्गुन), चैत (चैत्र) । कोष्ठकमा दिएका शब्द तत्सम हुन् । दुवै प्रयोग गर्न सकिन्छ तर एक पटकमा एउटा मात्र प्रयोग गर्नुपर्छ । |
सिफारिश/शुरू/शहर | सिफारिस/सुरु/सहर | आगन्तुक शब्दमा श र ष वर्णका सट्टा केवल स नै प्रयोग गर्ने । |
कानून | कानुन | आगन्तुक शब्दका आदि (सुरु) र मध्य (बीच) मा ह्रस्व प्रयोग गर्ने । |
सामाग्री | सामग्री | |
मन्त्रीपरिषद | मन्त्रिपरिषद्/मन्त्रीपरिषद् | सजिलाका लागि यसरी सम्झौँ : मन्त्री शब्द एक्लै आउँदा अथवा शब्दका अन्तमा आउँदा मन्त्री नै हुन्छ । जस्तै : प्रधानमन्त्री, मन्त्री, रक्षामन्त्री आदि ।
मन्त्री शब्द सुरुमा आउँदा मन्त्रीको त्री ह्रस्व भई त्रि बन्दछ । भ्रम नहोस् : विभक्ति वा नामयोगी जोडिँदा कुनै फरक पर्दैन । जस्तै : मन्त्रिपरिषद्को, मन्त्रिमण्डलमा, प्रधानमन्त्रीले, अर्थमन्त्रीमा
मन्त्रीपरिषद् : संस्कृतको मन्त्री र संस्कृतकै परिषद्लाई मिलाई नेपाली नियमअनुसार मन्त्रीपरिषद् बन्दछ, मन्त्रीस्तरीय शब्द बनेझैँ । |
यस तालिकामा दिइएका शब्द प्रतिनिधि शब्द मात्र हुन् । नेपाली भाषालाई उपेक्षा गर्दै जस्तो लेखे पनि हुन्छ भन्ने मानसिकता बढ्दै गएको पाइन्छ । समयमा नै सचेत भई सबै सरकारी निकायले शुद्ध र मानक भाषाको प्रयोग गर्दै अगाडि बढ्नु आवश्यक छ । नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित “नेपाली बृहत् शब्दकोश” नामको एप छ, उक्त एप मोबाइलमा डाउनलोड गरौँ र द्विविधा भएका समयमा उक्त एपको भरपुर उपयोग गरौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

