वानीरा गिरी, स्केचः कृष्ण मर्सानी

प्रोत्साहन र प्रेरणाले पनि साहित्य सिर्जना गर्ने ऊर्जा र उत्साह प्राप्त हुन्छ । कविलाई प्राप्त काव्य सिर्जना गर्ने तिर्सना र विविध खाकालाई नयाँ, सुन्दर, ठोस काया दिने कला ईश्वरीय वरदान र मानसिक उच्चता हुन्छ । सत्यता र सुन्दरताको एउटा अलग चमक हुन्छ, जो कुरा सर्जकलाई उसका अन्तर्चक्षुले निरन्तर दिइरहन्छ । वानीराको कवित्वलाई प्रेरण, उच्चता र चमक दिने यी तीनै आशीर्वाद उनको स्रष्टा जीवनको सफलताको प्रमुख प्रवेशद्वारा बनेको छ, जहाँबाट उनले आफ्नो काव्ययात्रा प्रारम्भ गरिन् र सिर्जनाको शिखर टेक्ने लक्ष्य तय गरिन् ।

महान् सर्जकहरुको उदय साहित्यको लागि नै साबित एउटा ठूलो पुरस्कार हुन्छ । सच्चा सर्जकलाई आफ्नै वर्चस्वले बताउँछ तापनि आफूलाई स्थापित गर्न, परिभाषित गर्न साहित्यकै साधना र तपस्या नगरी हुँदैन । जुन सर्जक साहित्यरुपी यज्ञको चरु–हवि दुवै बन्न सक्दछ, ऊ नै सिर्जनाको पर्वत टेकेर आफ्नो प्रतिष्ठा र सिक्का जमाउन सफल बन्दछ । त्यसैले साहित्य पनि सर्जकका लागि उत्तिकै सौभाग्यपूर्ण हुन्छ । वानीरा यसै खेमाभित्र पर्ने महान् सर्जक हुन् ।

जोसँग प्रशस्त शब्दभण्डार छ, पद्यका पत्रैपत्रद्वारा नियोजित पर्वतै पर्वत छन्, सिर्जनका ठूल्ठूला पहरा चढ्ने आरोहणशक्ति छ, गद्यरुपी समुद्रमन्थन गर्ने मदानी छ, जसका अनुभूतिमा सदावहार सुकुमार शब्दगुच्छा फुलिरहन्छन्, जोसँग वाक्यसमृद्धले भूषित छ, जोसँग वाङ्मयगुरुता, संस्कृति, इतिहास, भूगोल, समाजशास्त्रीय सम्पदा विद्यमान छ, वैचारिक गहनता, ज्ञानगुण बौद्धिकता, विस्तृत जीवनदृष्टि, मानवीय मूल्यबोध चिन्तन गर्ने दक्षता छ, दार्शनिक वृहतता छ, जसलाई जन्मदाको शुभसाइत र स्वागत प्राप्त छ, दार्शनिक वृहतता छ, जसलाई जन्मदाको शुभसाइत र स्वागत प्राप्त छ, हुर्कनलाई प्राज्ञिक वातावरण र जिज्ञासामन्थन गरिदिने सहयोगी प्राप्त छ, जो स्पष्टवक्ता छ, जो अत्यन्त गम्भीर साहित्यकर्मी भएर पनि जसको मन चञ्चल चङ्गाजस्तो हलुङ्गो छ, जोसँग ऐनाजस्तो सकल छर्लङ्ग पृष्ठहरु छन्, जो चखिलोस्वादिलो शैली पस्कन सक्छ, अर्जुनको लक्ष्यभेदजस्तो सन्देशवाणले जनमनको हृतविन्दुमा निशाना ताक्न सक्षम बन्छ, जो फूलको कोपिलाझैँ फुट्न, फक्रन र मूलको पानी फुटेजस्तो फुट्न र बहन सक्तछ, जो खारिएको स्वर्ण र कुदिएको हीरकजस्तो चहक दिन सक्छ, त्यस्ता सर्वगुणसम्पन्न श्रेष्ठ सर्जकले मात्र ‘कविता मेरो पहिलो प्रेम हो, कविताबिना जीवन निरस हुन्छ’ भनेर घोषणा गर्न सक्छ । बरु उसलाई जेलभन्दा डरलाग्दो दण्ड कविता नलेख्नु हुन्छ । गिरीकै आत्मप्रकाशन यस प्रकार छः

Poetry is my first love, it is my most personal urge. If someone wanted to punish me forbidding me to write would be greater punishment than sending me jail.

यसरी हेर्दा उनको सर्वप्रिय विधा पनि कविता नै रहेको कुरा बुझिन्छ । यिनको काव्यस्फुरण र अनुभूतिको पहिलो मुहान पनि कविता विधाबाट नै फुटेको हो । कलिलै अवस्थादेखि नै वानीरामा कविता रचना गर्ने प्रतिभा ब्युँझेको हो । प्रतिभा र सौख उन्नयन हुँदै जाँदा एघार वर्षकै उमेरमा उनी बाल काव्य प्रतिभा बनिन् । त्यस बेला उनलाई भित्तेपात्रो सम्पादन गर्ने हौसला पनि प्राप्त भयो । आफ्ना सहपाठीहरुलाई समेत वानीराले लेखनतिर ध्यानाकृष्ट गर्दै उत्प्रेरणा पनि प्रदान गरिन् । यो उनको कविताप्रति उब्जेको माया र अनन्य आस्था हो भन्न सकिन्छ । गिरीले सानै उमेरमा अब्बल दर्जाको कविता लेखेर साहित्याकासमा आफ्नो अमर नाम दर्ता गराइन् ।

सार्वजनिक कविगोष्ठीमा कवितावाचन गरेर स्रोतालाई मख्ख पारेकी गिरीले प्रोत्साहनस्वरुप ईश्वर बरालबाट पुरस्कारसमेत प्राप्त गरेकी थिइन् । त्यतिबेलै ईश्वर बरालले यिनको कवितालेखनमा मोह, राप, ताप, तेज सबै रहेको महसुस गरेका थिए ।
आफ्नो व्यक्तित्वलाई थप ऊर्जा, सीप, शील, ज्ञानगुन आर्जन गर्ने संस्कार, काव्ययात्रामा दौडाउनुपर्ने शक्ति यिनको विलक्षण प्रतिस्पर्धात्मक प्रकृतिमा थियो । आफ्ना समकालीनहरुमा सर्वश्रेष्ठ र अग्रणी बन्न कुनै पनि कलाशक्तिमा यिनले आफूलाई निपुर्ण साबित गरेकी थिइन् । यही अनौठो करारले उनलाई विश्वविख्यात कीर्तिस्तम्भ बनाइदियो ।

यिनको कवि व्यक्तित्वलाई पौष्टिक आहार प्रदान गर्ने प्रेरक तत्त्व आमाको आस्तिक संस्कार हो । आफ्नी आमाले गर्ने गरेको प्रातःकालीन पूजापाठ, संस्कृतका मन्त्रोच्चारण, अर्चनाआरती आवृत्तिबाट आफूलाई कविता लेखनतिर आकृष्ट बनाएको कुरो यिनको आत्मप्रकाशनबाट पनि थाहा हुन्छ । आमाले लय हालेर गाएको भजन र आरती आफ्नो आत्मामा कवितारुपी बीजाङ्कुरित भएको कुरो स्वीकार गर्छिन् । आमाको भक्तिमय वात्सल्यले यिनलाई कवितामय वातावरण दिइरह्यो ।
कविता उनको प्राण हो, बौद्धिक आभूषण हो, उत्सर्ग हो, जोवन–जीवन दुवै हो । उनले कविता खोज्दै कतै भौँतारिनुपर्दैन, कविता स्वयम् खोज्दै उनीसम्मुख आइपुग्छ । उनी एउटी भाग्यमानी लेखक, कवि हुन्, जसलाई भारत, नेपाल, देशविदेशका पाठकसमुदायबाट सम्मान र आदर प्राप्त छ । नेपाली साहित्यको इतिहासकी उनी सौभाग्य हुन्, जसले सिर्जनालाई आदरसम्मान गर्दछ । त्यसैले उनी कवितालाई उनको जीवनको श्रेष्ठतम ऊर्जा मान्दछिन् ।

कवितालेखनमा उनको अद्भुत दखल हुनुले पुष्टि गर्दछ– यिनको काव्यभूमि स्वतन्त्र र उर्वर छ । आफ्नो काव्यभूमि शस्य श्यामला भएकै कारण काव्यिक फसलका लागि उनी अन्नपूर्णाझैँ विपुल भण्डार पाठकमाझ जुटाउँछिन् । उनको सर्जक व्यक्तित्व अनवरत लक्ष्यतर्फ प्रवृत्त रही निरन्तर छछल्किरहन्छ, उर्लिरहन्छ । त्यस लक्ष्यप्राप्तिका लागि काव्यपङ्ख फैलाएर कहिले आकासिन्छिन् त कहिले छलाङ मार्दै पौडिरहन्छिन्, उडिरहन्छिन्, फैलिरहन्छिन् ।

कविताबिना बाँच्न नसक्ने वानीरालाई आफ्नो औँलो दिएर ताते गर्न सिकाउने पत्रिका थियो, ‘दियो’ । ‘दियो’मा एउटी कलिलो उमेरकी कवयित्री ‘मेरो साथी भन्छ’ (सन् १९६३) प्रथम कविता प्रकाशित गराएर कविता विधामा दर्ता भएकी थिइन् । स्कुले जीवनमै ‘भित्तेपात्रो’ सम्पादन गर्ने दक्षता भएकी वानीरा कलेज पुगेपछि ‘मुटु’ हस्तलिखित पत्रिका निकाल्न सक्षम भइसकेकी थिइन् । पछि ‘मधुपर्क’, ‘साझा’, ‘रुपरेखा’ आदि पत्रिका र प्रकाशनले काव्यरथमा चढेर बस्न, लगाम कस्न अनि खुकुल्याउन सिकाए । कवितासँग आत्मीयता बढ्दै गएपछि कवि पाठकसँग अग्घोरै आत्मीय बन्दै जान्छिन् । फलतः ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ (सन् १९७५) को प्रकाशन सँगसँगै वानीरा पाठक समुदायमा प्रचलित बन्न सकिन् ।

‘जीवन थाय्मरु’ (सन् १९७४) साझा प्रकाशनबाट प्रकाशित कवितासङ्ग्रह हो । प्रस्तुत सङ्ग्रहमा प्रकाशित ‘चोट’ र ‘मुक्ति मुक्ति मुक्ति’ अत्यन्त जीवन्त कविताहरु हुन्, जसमा शक्तिशालीहरुले शक्तिहीनमाथि गरेको जघन्य अपराध प्रतिबिम्बित गरेको पाइन्छ । स्त्री जातिमाथि गरिने गरेको बलात्कार, दमन, अत्याचार र हिंसाको कालो कर्तुत यसमा चित्रित छ । ‘काठमाडौँ काठमाडौँ’ (सन् २०११ मा) रावल पुस्तक भण्डारबाट प्रकाशित कवितासङ्ग्रह हो । यसमा ‘पशुगायत्री’ र ‘प्रेम’ उच्चकोटिका अत्यन्त प्रभावकारी फुटकर कविताहरु सङ्कलित हुन पुगेका छन् ।

‘मेरो आविष्कार’ (सन् १९८४), अपूर्व प्रकाशनबाट प्रकाशित कवितासङ्ग्रह हो । अङ्ग्रेजी भाषामा लेखिएका (अनुवादित) माई डिस्कभरीफ्रम दि लेक लभ नारीकेन्द्रित पहललाई उजागर गर्ने प्रकृतिका कविताहरु हुन् । यसमा सामाजिक उत्पीडन, स्त्रीदमन, अत्याचार र अनाचारले किचिएका नारीको दुर्दमनीय दुर्दशाहरुको सग्लो र स्पष्ट चित्रण पाइन्छ:

पहिलेपहिले तिम्रो हरेक प्रहार मेरो निम्ति
आगोको मुस्लो हुन्थ्यो, काँडाको बिझाइ हुन्थ्यो
खुकुरीको धार हुन्थ्यो, गोमनको विष हुन्थ्यो
तर आजभोलि, तिम्रो हरेक प्रहार–
एउटा स्पर्श बनेको छ ।

स्वच्छन्दवादका निकट रहेर प्रयोगशील कविता लेख्नु यिनको कवितात्मक वैशिष्ट्य हो । वानीराका कवितामा सुललित भाव र तीक्ष्ण व्यङ्य प्रहार पनि पाइन्छ । यसका साथै सरल कवितात्मक शैलीकी धनी वानीराका सुरुका कविताहरु स्वच्छन्दतावादी प्रवृत्तिमा आधारित रहेको पाइन्छ । सन्दिग्ध मानसिकताका पुरुषवर्गले शक्तिउन्मादले मात्तिएर स्वघोषित हैकम र वर्चस्वको घोडा चढेर नारीप्रति गर्दै आएका अन्याय विषयको उठान गरी लेखिएका उनका कवितामा नारीले अनाहकमा भोग्दै आएका दोषपूर्ण आक्षेप, लैङ्गिक विभेदयुक्त र विसङ्गतिले थिलथिलो भए पनि नारी उत्कण्ठा, यौनशोषण, हेय र वक्रदृष्टियुक्त व्यवहार सहन गर्नुपरिरहेको कुरालाई उतारिउको छ । नारीसँग सम्बन्धित विकट परिस्थिति, हीनताबोध, जटिलता, यौनकुण्ठा, निराशा, अस्तित्वबोध, असुरक्षाबोध, त्रासदी, मूल्यहीनता, अपमान र अनादर आदि कुराको चित्रण पाइने गयरिएको उनका कवितामा अतियथार्थवादी दृष्टिकोणको प्रस्तुति पाइन्छः

Nacked
Unhindered
Without fear
Without shame
Women stands at the
Crossroads in her pure pure primordial form

नारी अस्तित्वको खोजी गरेर क्रान्तिकारी अवधारणा मुखरित गरिएका यिनका अभिव्यक्तिमा मानवीय मूल्यको अन्वेषण अनुसन्धान अर्थात् महाखोज छ । तृणमूलका किनारीकृत तथा सिमान्तकृत वर्गप्रति स्नेहपूर्ण सद्भावयुक्त उनका कवितामा नागर सभ्यताले निम्त्याएका खोक्रो हीन सांस्कृतिकता र परस्परको विरानोपन पनि प्रतिबिम्बित भएको पाइन्छ । यिनका नारी चरित्रहरु आफ्ना न्यायका लागि जीवनको कठघरामा उभिएर आफ्नो वकालत गर्न सक्षम देखिन्छन् ।

युगौँदेखि एकोहोरो कहालीलाग्दो जीवन बिताउन बाध्य, बेबुनियाद थोत्रा नियमका जञ्जिरले कसिएका र शोषणदमन सहने सोझानिमुखा अकिञ्चनहरुप्रति यिनको कलम उदार र उदात्त बनेर उठेको छ । आत्मवञ्चनाबाट पीडित अर्थात् सधैँ हाहाकार र कोक्किएको जीवनभार बोक्न विवश समाज जीवनका निम्नवर्गीय समुदायप्रति सदैव स्नेह एवं सहानुभूतिपूर्ण व्यवहार राख्ने उनको काव्यजगत् एउटा विशाल र अपरिहार्य पाटो तिनलाई आफ्नो विवशताबाट मुक्रि दिने आन्दोलन आन्दोलित भएको छ । विवादास्पद परिभाषामा जकडिएका स्वास्नीमान्छेप्रति विभिन्न वक्रता र ताछिल्यपूर्ण दृष्टिकोण राख्नेहरुप्रति यिनी सधैँ खड्ग उज्याएर दोबाटामा खडा रहन्छिन् । स्वास्नीमान्छेका जीवनमूल्य, जीवनगत वास्तविकताको चित्रण र तिनका दुर्दुमनीय अवस्थाको अङ्कनमा यिनको अर्को विशाल पाटो केन्द्रित रहेको छ । यिनी नारी उत्थानको उद्योगमा ज्ञान, मान, सम्मान, आदर, स्वतत्रता, अस्तित्व, अधिकार, स्वनिर्णय, उच्चताबोध, स्वावलम्बन र ज्ञानको खेती लगाउन चाहन्छिन् । तापनि स्वास्नीमान्छेका नियति विडम्बनापूर्ण रहेको पाइन्छ । उनी तिनका नियतिलाई यसरी व्यक्त गर्छिन्ः

कानमायाको मानवाधिकार
तिनै चोला र पेटिकोटहरुबाट उदाउँछ
तिनै भोटा, पेटेभोटा र कानेटोपीहरुमा झुल्कन्छ
मान्छे र मान्छे नै मात्रको इन्द्रेणीमा रङ्गिन्छ ।

कल्पनातीत स्पृश्य बिम्ब, दृशय बिम्ब, चित्र बिम्ब र यौन बिम्बहरुको समष्टिगत प्रयोगबाट मिश्रित बिम्ब सिर्जना गरिएको यो कविता बिम्बपरक रहेको छ । उनका कविताबारे Wayne Amtzis को धारणा यस्तो छः

The seemingly erotic images and symbols of Baaniras poems are very essence of her poetic genius.

कवितासङ्ग्रहका अतिरिक्त वानीराले उपन्यास विधामा पनि सफलता देखाएकी छन् । यिनका जम्मा तीन ओटा उपन्यासहरु रहेका छन् । संवत् २०५६ को साझा पुरस्कार प्राप्त ‘शब्दातीत शान्तनु’ गद्यपद्यात्मक एक नौलो, विधामिश्रित हाइब्रिड संरचनायुक्त प्रयोगवादी ढाँचाको उपन्यास हो । यसले परम्परागत आख्यानपरक गद्यशैलीलाई मेटाइदिएर नयाँ आकृति र प्रयोगको पहल गरेको छ । गद्यात्मक क्रमलाई पद्यद्वारा सङ्गति मिलाउने यो पहल नौलो देखिए तापनि उनलाई यस प्रयोगले निकै चर्चित तुल्याएको छ । गद्यमा पनि कवितामय बनेकी वानीराको यस कृतिमा कवित्व निकै सल्बलाएको पाइन्छ ।

‘कारागार’ नारीको अस्तित्व र प्रतिष्ठामा आधारित भई लेखिएको उपन्यास हो । नारीजन्म र जीवनको वास्तविक यथार्थ उदाङ्गिएको नारीसमस्यामूलक प्रस्तुत उपनयासको प्रमुख नारीपात्रको जीवन पनि बडो जटिल समस्या र भवितव्यले ग्रसित रहेको छ ।

उपन्यासमा एउटी स्वास्नीमान्छे छ, जो संज्ञाहीन छ । ऊ आफ्नो प्रेमलाई वैध बनाउने चाहना राख्छे । आफ्नो अस्तित्वको पहिचान सार्वजनिक गराएर वैधानिक गृहस्थी सञ्चालन गर्न उसले ठूलो कसरत गरेकी छ । आफ्नो चाहना र धोको पूरा गर्ने निर्णयमा विभिन्न चुनौतीसँग जुझ्दा जुझ्दै पनि ऊ असफल बनेकी स्त्री हो– जो सामाजिक ढोङ्, आडम्बर, पतिको याचक र नालायकीपनदेखि विरक्त, विफल र पराजित बनेकी छ । तापनि प्रेमलाई वैधानिक दिलाउन सकिने अर्को विकल्प सन्तानोत्पति हुनसक्ने सम्भावनातिर मरिमेटेर लाग्दा पनि नामर्द प्रेमीबाट कुनै सहयोग नपाएकी उसलाई जीवन कारागारजस्तो लागेको छ । उसले आफूलाई कहिल्यै मन नपर्ने शब्दहरु बूढीकन्ये, भित्रीनी, बौद्धिक तीनैओटा शब्दलाई कारागारभन्दा पृथक् नरहेको बेकम्मा शब्द मानेकी छ । आँट र हाँक नभएको प्रेम गर्ने लोग्नेले दिएको बौद्धिक शब्द उसलाई अस्वीकार्य छ ।

‘निर्बन्ध’ गिरीको अर्को नारीसमस्यामूलक उपन्यास हो । बन्धनहीन हुनुपर्ने तर अनाहक बन्धनले जकडिनु ठूलो विवशतापूर्ण, विडम्बना र रुढि हो । नारीलाई समाज निर्बन्ध देख्छ र उसको अवस्थालाई सस्तो हाँसो हाँसेर फुस्स उडाइदिन्छ । नारीको अस्मिता र सम्मानजनक मूल्यको कुनै गणना गर्न नसक्ने कपटी समाजको वैचारिक दारिद्रयता प्रस्तुत उपन्यासमा स्पष्टसँग उतारिएको छ ।

निर्बन्धले चित्रण गरेको नारीको पारिवारिक एवं सामाजिक बखेडा र विविध परिस्थितिले पेलेर निर्बन्ध तुल्याए पनि जीवन तथा समाजले दिएको ठक्कर, घातप्रतिघात र त्यस्तै यातनाबाट पलायन होइन स्वेच्छिक निर्णय गरी आत्मविश्वासका साथ ईख, ऊर्जाग्रहण र जागृति दिएको पाइन्छ । स्वतन्त्रतातर्फ उन्मुख बनेर स्वन्यायी असल योद्धा बन्नुपर्छ भन्ने नै यस उपन्यासको मूल अभिष्ट रहेको पाइन्छ ।

कवितात्मक अभिसारको टुनामुनाद्वारा समग्र पाठकलाई मोहनी लगाउने जुन जादुगरी उनीसँग छ, त्यही मोहनीदण्ड घुमाएर जहाँ पनि फन्को मार्ने चामत्कारिक जादुमन्त्र उनीसँग विद्यमान छ । जीवन सदृश स्वच्छ दर्पणझैँ कविता, उपन्यासका अतिरिक्त गिरी निबन्धलेखनमा पनि प्रसिद्ध रहेकी छन् । यिनको जङ्गल जङ्गल (२०१३) र पार्वती (सन् २०१०) निबन्धमा लेखकीय विलक्षणता बोध गर्न सकिन्छ । आफ्ना अग्रज निबन्धकारहरुकै काँटीको वैचारिक फाँटको विस्तृति उनमा पनि रहेकाो पाइन्छ । तापनि निजी मौलिक विशेषताले गर्दा यिनलाई अन्यभन्दा एकल र पृथक् ध्रुव बनाएर चम्काएको छ । गिरीको लेखकीय नीति, दृष्टि, मन्तव्य, विचार, चिन्तनहरुको स ङ्गमले यिनको लेखन स्तरीय तथा रम्य बनेको पाइन्छ । यिनको आफ्नै विशिष्ट प्रतिभा र व्यक्तित्वको खुबी हो– कुनै पनि गहकिलो विषयलाई चहकिलो बनाउनु । यिनको सिर्जनात्मक कलाकौशल हेर्दा निबन्ध पनि कविता जत्तिकै अत्यन्त मनोरञ्जनात्मक तथा ज्ञानवद्र्धक रहेको पाइन्छ ।
यत्नसँग विषय टिप्नु, त्यसलाई फोडफाड गरेर उदाङ्गो बनाउनु, पुनः केलाउनु, बन्नु र जतनसँग मिलाएर सिउनुले जङ्गल जङगलका निबन्ध अन्यन्त स्तरीय बनेका छन् । कतै नियात्रा, कतै संस्मरण, कतै जीवनपरक चेत निबन्धको गर्भमा हुर्काउने कौशल प्रस्तुत निबन्धमा अनुभव गर्न सकिन्छ । पार्वती यस्तै अर्को चर्चित रचना हो । यसमा आफ्ना अनुभवका केस्रा र तरेलीहरुलाई असाध्यै कलात्मक ढङ्गमा प्रस्तुत गरिएको छ ।

मनकी ऐश्वर्य गिरीको अभिव्यक्तिक्षमता, शब्दसंयोजनको दक्षता, तीव्र अनुभूतिशील चेत, सुरो बौद्धिकता, तेजस्वी, लावण्यमयी रापतापले यिनलाई शार्दूल प्रवृत्तिकी शक्तिशाली लेखिका बनाएको छ । यिनमा एक अनौठो व्यङ्ग्यात्मक अभिव्यक्ति सामथ्र्य पनि पाइन्छ । जो सदा सहयोगी बनेर समाजसेवामा समर्पित रहेको पाइन्छ । यिनका अभिव्यक्तिमा एउटा निडर, साहसिक र हाँकीपूर्ण स्त्रीपन देखिन्छ । जसले यिनको स्पष्टवादिता, स्वाभिमान, जिद्दीपन, सङ्घर्षशीलता, कर्मशीलता र इमान्दारितामा थप ऊर्जा र दृढता थपिदिएको बोध हुन्छ ।

विभिन्न साहित्यिक सङ्घसंस्थाहरुसँग आबद्ध भई सामाजिक तथा सांस्कृतिक कार्यमा संलग्न रहनु यिनको अर्को महत्त्वपूर्ण धार हो । जहाँबाट उनी विश्व नारी साहित्य सम्मेलनमा सहभागी बन्दै रहिन् । महिलाहरुको हकअधिकार र सम्मानको वकालत गर्दै अघि बढिरहने गिरी अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरुमा शीर्षस्तम्भका रुपमा प्रसिद्ध रहेको देखिन्छ ।

यिनको व्यक्तित्वलाई स्थापित गर्ने अन्य धेरै आधारहरु पनि छन् । गिरी सिर्जनात्मक लेखनका अतिरिक्त अनुसन्धानपरक लेखनमा पनि अग्रणी रहेकी छन् । मञ्जुबेञ्जुवानीरा साहित्यका त्रिरत्न लिखित कविताका नयाँ प्रवृत्ति एक्सपान्डिङ् रिलेम अफ नेपाली पोएट्री उदाहरणार्थ रहेको पाइन्छ । त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्ने प्रथम महिला वानीरा गिरी सन् १९७६ मा दिल्ली अन्तर्राष्ट्रिय लेखक सेमिनार, सन् १९८८ मा भूपाल कविता एसिया फेस्टिभलमा उपस्थित रहेकी थिइन् । यस्ता विभिन्न उपस्थितिले यिनको साहित्यिक कवि व्यक्तित्वको उच्चता अनुभव गर्न सकिन्छ ।

यसरी उनी समग्रतामा नेपाल, भारत मात्र होइन विश्वकै नेपाली वंशकी रत्न बनेकी छन् । यिनमा पोषित ओज, तेज, हुनर, जुनून, करार एकैचोटि सर्वत बनेर मिसिएको जस्तो व्यक्तित्वमा झल्केको पाइन्छ । त्यसैले औपचारिक रुपमा नै नेपाली साहित्यका विश्व नारी रत्नमा नै उनी स्थापित भइन् ।

अन्त्यमा, पाठकमाझ उनको एक चर्चित कवितांश राख्दै बिट मार्दछुः

भनिन्छ जूनको अनुहार
अघिल्तिर प्रकाश र उज्यालो
पछिल्तिर कुरुपता र अनन्त अन्धकार
यस अर्थमा जून एउटी किचकन्नी हो ।

 

सन्दर्भग्रन्थः
कार्की, गीता, (सम्पा.) अस्तिता
त्रिपाठी, सुधा, नारीवादको कठघरामा नेपाली साहित्य
प्रसाईं, नरेन्द्रराज, नारीचुली, काठमाडौँः नइ प्रकाशन
प्रसाईं, नरेन्द्रराज, विश्व नारी रत्नः वानीरा गिरी
लुइँटेल, खगेन्द्र, कविता सिद्धान्त र नेपाली कविताको इतिहास

Amizis, Wayen, (edit.) From the Lake, Love, Shinchu, Japan

सिक्किम, भारत