राणाशासनको त्रासदीपूर्ण परिवेशमा पनि ‘क्रान्तिविना हुँदैन शान्ति’ भन्दै निर्भीकताका साथ उभिन सक्ने सिद्धिचरण श्रेष्ठ (१९६९—२०४९) नेपाली कविताका युगकवि हुन् । जसले सिर्जनामा, विचारमा र व्यवहारमा युगको प्रतिविम्ब उतार्न सक्छ त्यसैलाई युगकवि भनिन्छ । मान्छे दुई प्रकारका हुन्छन्, एउटा मान्छे कुनै युगमा जन्मन्छ र त्यही युगमा हराउँछ भने अर्को मान्छेले युगलाई नै जन्माउँछ र आफू पनि युगौँ बाँचिरहन्छ । सिद्धिचरण नेपाली साहित्यमा एउटा युगलाई जन्माउने कवि हुन् । यस कुराका साक्ष्य खोज्न थाल्ने हो भने उनका सिर्जनामा प्रशस्त भेटिन्छन् । यसै भावनामा बगेर अथवा कुनै एउटा उपाधि दिनका लागि मात्र सिद्धिचरणलाई युगकवि भनिएको होइन । सर्वप्रथम सिद्धिचरणले लेखनाथीय शास्त्रीयतामा नेपाली कविता निस्सासिएको देखेर स्वच्छन्दतावादी धाराको प्रवर्तनका लागि एउटा विशिष्ट परिवेश निर्माण गरे । वि.सं. १९९१ वैशाख ४ गतेको ‘गोरखापत्र’मा प्रकाशित सिद्धिचरण श्रेष्ठको ‘भुइँचालो’ कविताले नेपाली कवितामा स्वच्छन्दतावादी काव्यधाराको वीजारोपण गरेको हुनाले वि.सं. १९९१ भदौ १५ गतेको ‘गोरखापत्र’मा लक्ष्मीप्रसाद देवकोटाको ‘पूर्णिमाको जलधि’ कविता प्रकाशन भएपछि नेपाली कवितामा स्वच्छन्दतावादी काव्यधाराले आफ्नो स्वरूप देखाउन पाएको यथार्थतालाई भुल्नु हुँदैन । उनको युगनिर्माता व्यक्तित्वको एउटा आधार यही हो ।

युगकवि सिद्धिचरण श्रेष्ठ

यसपछि उनले पहिले नेपाल भाषाको र पछि नेपाली भाषाको कवितामा क्रान्ति शब्दको प्रयोग गरे । उनमा क्रान्ति र परिवर्तनप्रति विश्वास थियो अनि समतामूलक समाज निर्माण गर्ने उनको लक्ष्य थियो । उनले आफ्ना कवितामा तत्कालीन जनआवाजको प्रतिनिधित्व गराए अनि सिर्जनामार्फत तथा सशरीर सामाजिक जागरण र सांस्कृतिक रूपान्तरणका लागि सिङ्गो जीवन समर्पित गराए । उनी नेपालको पहिलो राष्ट्रिय गानका स्रष्टा हुन् । उनले पारिवारिक दायित्व, सामाजिक दायित्व, राष्ट्रप्रतिको दायित्व र विश्वमानवताप्रतिको दायित्व आदि सबै कुराप्रति उत्तिकै जिम्मेवार भएर आफ्ना कविता र काव्यहरूको रचना गरे । उनले युगको आवाजलाई वहन गर्न सक्ने सूक्तिपूर्ण कविताहरूको सिर्जना गरे । तत्कालीन युगको आवश्यकताअनुकूल नेपाली वीरता, राष्ट्रिय गौरव, ऐतिहासिक गरिमा, जातीय अस्तित्व, सांस्कृतिक चेतना आदि पक्षहरू स्पष्ट रूपमा झल्किने गरीका युगीन सिर्जना नै उनका विशिष्ट चिनारी बने । उनी व्यावहारिक रूपमा आफू बहुलाजस्तो भएर पनि राणाकालीन समाजमा स्वास्थ्य र शिक्षाको परिवेश निर्माणका लागि समर्पित निर्भीक अभियन्ता पनि बने ।

सिद्धिचरणले मङ्गलमान जस्तो तल्लो वर्गको पात्रमा आफूलाई अन्तर्निहित गरी मानवीय विभेदपूर्ण असमान सामाजिक संरचनाका विरुद्धमा आवाज उठाउने काम गरे । यसरी तत्कालीन समयका समग्र पक्षमा गहिरो दृष्टिकोण राखेर अत्यन्त जिम्मेवारपूर्ण तरिकाले युगको आवाजलाई जनसमक्ष पु¥याएका र त्यस आवाजलाई युगौँयुगसम्म अजर–अमर बनाउने अतुलनीय कार्य सम्पन्न गरेका कारण सिद्धिचरणलाई युगकवि भनिएको हो ।

डा. देवी नेपाल

सिद्धिचरण युगका गायक हुनाले युगका नायक पनि बने । देशको माटो, नागरिकले लिएको बाटो र राजनीतिमा फैलिएको विकृतिको पाटोलाई केन्द्रमा राखेर चेतना र जागरणका गीत गाउने कार्यमा सिद्धिचरणले तत्कालीन युगमा जुन योगदान दिए त्यो अविस्मणीय छ । परिवर्तित समाजमा क्रान्तिको उद्घोष गर्ने स्रष्टाहरू जति पनि हुन सक्छन् तर स्रष्टाको मूल्याङ्कन ऊ बाँचेको युग वा उसले गरेको सिर्जनाको युगीन धरातलबाट हुनुपर्छ । यस आधारमा हेर्दा कवि सिद्धिचरणले राणाकाल, प्रजातन्त्र काल र पञ्चायत काल तीनै समयमा एउटै आवाज उठाएको पाइन्छ । त्यो आवाज हो, क्रान्ति, परिवर्तन, जाति, वर्ग, लिङ्ग, धर्म, संस्कृति आदि सबैखाले विभेदरहित समतामूलक समाजको स्थापना र प्रत्येक नागरिकमा परिवर्तनको अनुभूति तथा स्वाधीनतापूर्ण नेपाली जीवनको पहिचान ।

नेपाली भाषा र नेपाल भाषाका गरी दुई दर्जनभन्दा बढी कृतिहरूका रचनाकार सिद्धिचरणको सफलता पद्य विधामा बढी देखिन्छ । कवि सिद्धिचरणले कविताका विविध रूपअन्तर्गत लघुतम रूप (मुक्तकीय रचना), लघु रूप (फुटकर कविता) र मध्यम रूप (खण्डकाव्य) गरी तीनओटा रूपमा विशिष्ट कलम चलाएका छन् । त्यसमा पनि उनी फुटकर कवितामा र खण्डकाव्यमा अत्यन्त सफल बन्न पुगेका छन् । उनको कवित्वको चरम प्राप्ति फुटकर रचनामा पाइन्छ भने आख्यान र कवित्वको सन्तुलित मिश्रण खण्डकाव्यमा पाइन्छ । लयविधानका दृष्टिले सिद्धिचरण युगकै सर्वश्रेष्ठ प्रतिभा हुन् । उनले वार्णिक छन्द, मात्रिक छन्द, लोक छन्द र मुक्त छन्द सबैमा कलम चलाएका छन् । कवि सिद्धिचरणले मात्रिक छन्दमा जति कविता सिर्जना गरेका छन् त्यति त नेपाली कविताको कुनै पनि कालखण्डमा भएको पाइँदैन । त्यसमा पनि सममात्रिक, अद्र्धसममात्रिक र विषममात्रिक तीनै प्रकारका एकदर्जनभन्दा बढी मात्रिक छन्दहरूलाई बालकवितादेखि लिएर फुटकर कविता हुँदै खण्डकाव्यसम्म पनि उत्तिकै सफलतापूर्वक प्रयोग गर्न सक्ने सिद्धिचरण जत्तिको अर्को कवि नेपाली साहित्यमा पाइँदैन । यसरी नै वार्णिक छन्दको पनि विविधतापूर्ण प्रयोग उनका कवितामा पाइन्छ । लोकछन्दलाई पनि उनले बालकवितादेखि लिएर खण्डकाव्यसम्म नै प्रयोग गरेका छन् । उनले मुक्त छन्दमा थोरै कविता लेखेका छन् तर ती पनि सुन्दर र सशक्त छन् । यसरी लयविधानका दृष्टिले पनि उनी युगनिर्माता नै देखापर्दछन् ।

यहाँ कवि सिद्धिचरण श्रेष्ठलाई मङ्गलमानसँग जोडेर हेर्न खोजिएको छ । ‘मङ्गलमान’ एउटा साधारण व्यक्ति पनि हो र असाधारण कृति पनि हो । वैचारिक दृष्टिले ‘मङ्गलमान’ सर्वोत्कृष्ट खण्डकाव्य हो । असनको त्यौडटोल निवासी मङ्गलमान नेपाली अछुतहरूको प्रिय नेताका रूपमा खण्डकाव्यमा उपस्थित छ । एउटा सामान्य मान्छे सामाजिक चेतना र जागरणका लागि कति फलदायी हुन्छ भन्ने कुराको जीवन्त उदाहरण मङ्गलमान हो । मङ्गलमान सामाजिक यथार्थ, वर्गीय समाजमा हेपिएको चरित्र, स्पष्ट विचार र दृढ अठोटको उदाहरण हो । यसका साथै न्याय निसाफ र जनविश्वासको केन्द्र हो । कामले मान्छेलाई तौलने हो भने मङ्गलमान एउटा उच्च, सम्मानित एवम् ऐतिहासिक व्यक्तित्व हो । तत्कालीन परिवेशमा हेपिएको यस चरित्रको महत्त्वलाई कवि सिद्धिचरणले बुझेर अगाडि सारेका छन् । असमान सामाजिक संरचनालाई पूर्णरूपमा भत्काएर तल्लो वर्गका लागि अनकूल हुने समाजको निर्माणमा लागेको मङ्गलमान निम्नवर्गीय जनताको आशाको केन्द्र बनेर समाजसेवामा लागेको देखिन्छ ।

मङ्गलमान धेरै यथार्थ र थोरै काल्पनिक चरित्र हो तर उसको सामाजिक, सांस्कृतिक तथा क्रान्तिकारी चरित्रमा स्वयं सिद्धिचरण प्रतिविम्बित भएर आएका छन् । मङ्गलमान इतिहास, राजनीति, मानवीय संवेदना र करुणाको उदाहरण हो । तत्कालीन राजनीति, नेपाली समाज र मानवीय संवेदनाको अन्तिम रूप यसमार्फत पोखिएको छ । मङ्गलमान तल्लो वर्गका लागि उत्प्रेरक हो, आस्थाको केन्द्र हो, त्यागीहरूका लागि सचेतताको उद्बोधक हो, नेपाली राजनीतिको प्रतिबिम्ब हो र सिद्धान्तनिष्ठ जनताका लागि एउटा तितो यथार्थ हो । नेपाली कविता परम्परामा कवि सिद्धिचरणको भूमिका पनि त्यही हो । मङ्गलमानले चाहेको समतामूलक समाज प्राप्तिको लडाइँ नेपाली भूमिमा आजसम्म पनि पूरा भएको छैन । फुलेपछि गमला बिर्सिने अथवा माथि पुगेपछि टेक्ने धर्ती बिर्सिने नेतृत्ववर्गको प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन । मङ्गलमानले छोडेर गएको भताभुङ्ग देश अहिले पनि जस्ताको तस्तै छ । विकृतिको समाप्तिका लागि एउटा झिल्को नै काफी हुन्छ तर विकृतिले संवेदनाशून्य शासकहरू जन्माउन थाल्यो, जड हृदय भएका मान्छेहरू जन्माउन थाल्यो र धोकापूर्ण राजनीतिको जाँतोले सिद्धान्त र नैतिकतालाई पिस्न थाल्यो भने मङ्गलमानजस्ता देशभक्तहरूले यसरी नै मर्नुपर्छ भन्ने कारुणिक यथार्थको उद्घाटन गरेर कवि सिद्धिचरणले साँच्चै युगीन आवाजको सम्प्रेषण यस काव्यमार्फत गरेका छन् । यही उनको तत्कालीन समाज र वर्तमान युगप्रतिको आफ्नो मुखबोली हो ।

नेपाली राजनीतिक इतिहासको एउटा यथार्थ पात्रलाई काव्यिक जीवन प्रदान गरेर सम्मान गर्ने काम कवि सिद्धिचरणले गरेका छन् । काठमाडौँको त्यौडमा वि.सं. १९८२ मा पिता गणेशमान र माता गणेशकुमारी प्रधानका सुपुत्रका रूपमा जन्मिएर २०१८ मा निधन हुन पुगेको मङ्गलमान कवि सिद्धिचरणभित्र रहेको क्रान्ति, परिवर्तन, मानवता, देशभक्ति र नयाँ समाजनिर्माणको सपनामा केन्द्रित विचारको सम्प्रेषण गर्ने मुखपात्र हो । कविनिवद्धवत्तृm प्रौढोक्तिका माध्यमबाट यहाँ व्यक्त विचारहरूमा स्रष्टाको जवाफदेहिता स्वतः देखिन्छ । यहाँ मङ्गलमानले कार्यका माध्यमबाट विचार प्रस्तुत गरेको छ भने कवि सिद्धिचरणले त्यसमा शाब्दिक कला भर्नुका साथै त्यसप्रतिको समर्थन देखाएर आफ्नो चरित्र पनि त्यसैमा प्रतिविम्बन गरेका छन् ।

मङ्गलमान नेपाली समाजसचेत, युगसचेत, स्पष्ट विचार, अदम्य साहस, दृढ सङ्कल्प र जनमुखी जीवनदर्शन बोकेको क्रान्तिकारी चरित्र हो । बाल्यकालदेखि नै राणाशासनको स्वरूप देख्न थाल्नु, १९९७ को सहिदकाण्डलाई नजिकबाट देख्ने र बुझ्ने मौका पाउनु, बुबाको आग्रहमा जर्साहेबको चाकरीमा जाँदा शोषण, दमन र षड्यन्त्रको सक्कली रूप थाहा पाउनु, लक्ष्मीनन्दन चालिसेलाई राणाले गरेको अन्यायपूर्ण हत्याबाट विद्रोहको भाव जागृत हुनु, सुब्बाको घरमा ढुङ्गा हानेर शोषणविरुद्धको आफ्नो अभिमत व्यक्त गर्नु, अछुतहरू र तल्लो वर्गका मान्छेहरूका पक्षमा आवाज उठाउँदै आफूलाई त्यसैको उन्मुक्तिका लागि समर्पित गर्नु, देशमा परिवर्तन आए पनि नेतृत्ववर्गले विकृतिलाई नै मलजल गरेको अनि सहयोद्धाहरूले सिद्धान्तको हत्या गरेकामा आक्रोशित हुँदै भौतिक आक्रमणमा नै उत्रिनु र मृत्युप्रति कुनै चिन्ता व्यक्त नगरी देशलाई भाताभुङ्ग र लथालिङ्ग छाडेर जानुपरेकामा चिन्तित हुनुजस्ता मङ्गलमानसँग जोडिएका घटना र प्रसङ्गहरूमा कवि सिद्धिचरणको वैचारिक पक्ष जोडिएको छ । त्यसैले मङ्गलमान एउटा चरित्रनायक हो, एउटा युगीन विचारको संवाहक हो र समग्रमा कवि सिद्धिचरणकै वैचारिक प्रतिविम्ब हो ।

कवि सिद्धिचरण श्रेष्ठले मङ्गलमानको कारुणिक मृत्युको कथा लेखेर उनलाई सधैँका लागि अजर–अमर बनाइदिएका छन् । यस्ता मङ्गलमानहरू अस्तित्वमा नआई अँध्यारोमा हराएर जान्छन् । कतिपयको नेपाली इतिहासमा नामोनिसान देखिँदैन । फूल, नदी, पहाड र गुलावी ओठहरूमा रमाउने कविकलमहरू मङ्गलमानको जीवन लेख्न भ्याउँदैनन् । यस अर्थमा पनि सिद्धिचरणको कलम न्यायदाता मात्र होइन, जीवनदाता पनि बन्न पुगेको छ । एउटा सिर्जनाले स्रष्टालाई जीवित बनाउँछ भने एउटा स्रष्टाले एउटा इतिहास वा अथार्थलाई युगौँयुगसम्म जिउँदो बनाइदिन्छ । कवि सिद्धिचरणले मङ्गलमानलाई साँच्चै जिउँदो बनाइदिएका छन् । एउटा चरित्रभित्र लुकेको अनन्त शक्ति वा सामथ्र्यले युगलाई नै ब्युँझाइदिन सक्छ, मान्छेलाई नैतिकता र संवेदनाको पाठ पढाउन सक्छ र सिङ्गो विश्वलाई राजनीतिक इमानदारिता र सुशासनको मार्गनिर्देश गर्न सक्छ भन्ने कुराको जीवन्त प्रमाण मङ्गलमान हो । यिनै भावगत व्यापकताभित्र कवि सिद्धिचरणको वैचारिक धरातल फैलिएको देखिन्छ ।

कवि सिद्धिचरण समतामूलक नेपाली समाजका परिकल्पनाकार हुन् तर वर्गीय असमानता नेपाली समाज विभाजनको सबैभन्दा घिनलाग्दो र रिसउठ्दो पक्ष हो । उच्च वर्गले निम्न वर्गलाई गर्ने थिचोमिचो, अन्याय, अत्याचार र अमानवीय क्रियाकलापप्रति कवि सिद्धिचरणको सदैव विमति रहेको देखिन्छ । मङ्गलमानभित्र झाँगिएको विद्रोहको वृक्ष वर्गीय असमानताको बिउबाट उम्रिएको हो । गरिबप्रति सहानुभूति राख्ने र सबैका लागि समतामूलक समाजको सपना देख्ने मङ्गलमान शासकवर्गका लागि अभिशाप हो भने निम्नवर्गीय नेपाली जनताका लागि वरदान हो । पैसाका आधारमा मान्छेलाई तौलने र सम्पत्तिको विभाजक रेखा कोरेर मानवीय अस्तित्व र मर्यादामाथि शोषकीय धब्बा लगाउने उच्चवर्गीय परम्पराको कालो वर्तमान मङ्गलमानले भोगिरहेको छ । यदि मङ्गलमान उच्चवर्गको प्रशंसक, चाकरीवाज, सेवक र दासमनोवृत्ति भएको व्यक्ति थियो भने उसले यस प्रकारको कुनै पनि समस्या भोग्नुपर्ने थिएन तर ऊभित्र यस्तो सपना जागृत भयो जसभित्र निम्नवर्गका तमाम इच्छाहरू सल्बनाउन थाले र उसले पनि तिनै इच्छाहरूको स्वर्णिम अवतरणमा आफ्नो सुन्दर भविष्य देख्यो । त्यसैले कवि सिद्धिचरणको निष्ठाको प्रतिविम्ब त्यही मङ्गलमान हो ।

कवि सिद्धिचरण नेपाली समाजमा कलङ्कको रूपमा रहेको जातीय विभेद वा छुवाछुत प्रथाका घोर विरोधी हुन् । मङ्गलमान कविको मुखपात्र हो त्यसैले मङ्गलमानका मुखबाट कविका यसप्रकारका विचारहरू प्रवाहित भएका छन् । नेपाली समाजबाट जातभात, छुवाछुत वा भेदभावको अन्त्य आवश्यक छ तर सम्भावना न्यून छ । युगौँयुगदेखि नेपाली समाजले यसको समूल अन्त्य चाहेको पनि छ र त्यही समाजले यसलाई संरक्षण पनि गरिरहेको छ । यस्तो विकराल घडीमा मङ्गलमानले उठाएको छुवाछुत अन्त्यको आवाज नै कविको आवाज हो ।

नेपाली समाजका कथित उच्च जातिहरूले दलितवर्गलाई अछुत भनी पानी नै बारबार गर्ने परम्परा जहिल्यै जीवित छ । मङ्गलमानले यस कुप्रथाको अन्त्य गरेर मानवतापूर्ण नेपाली समाज स्थापनाको अभियान मात्र चालेको हो । अछुत भनी समाजबाट बहिष्कार गरिएका मानवहरूलाई उच्च सम्मान दिन सकियो भने त्यही धर्म हो, त्यही नै पूजा हो र मान्छे मान्छेमा बराबरीको भावना जागृत हुनु र मानवीय व्यवहार देखिनु नै मानवजीवनको सफलता हो भन्ने आफ्नो विचारको स्थापनाका लागि कवि सिद्धिचरणले मङ्गलमानलाई मुखपात्रका रूपमा रोजेका हुन् ।

सामाजिक चेतना र जागरणका संवाहक, परिवर्तनका पक्षधर, सांस्कृतिक अभियन्ता र देशभक्त नागरिकहरूको अन्त्य लज्जास्पद हुने गर्छ भन्ने कुरालाई कवि सिद्धिचरणले स्वाभाविक रूपमा स्थापना गरेका छन् । एउटा देशभक्तको लज्जास्पद मृत्यु नेपाली राजनीतिमा पटक पटक देखिने घटना हो । जसले देश र जनताका लागि आफ्नो सिङ्गो जीवन समर्पण ग¥यो, उसको मृत्यु एउटा पशुको भन्दा अपमानजनक हुन्छ भन्ने कुरालाई मङ्गलमानको मृत्युको घटनाले प्रमाणित गरिदिएको छ । मङ्गलमान एउटा व्यक्ति मात्र होइन, एउटा विचार हो, एउटा सिद्धान्त हो, एउटा दर्शन हो र न्याय निसाफको प्रतिमूर्ति पनि हो । मङ्गलमान मर्दा यी सबै कुरा एकैपटक मर्छन् र नेपाली समाज विचारशून्य, सिद्धान्तशून्य, दर्शनशून्य र न्याय निसाफशून्य हुन्छ भन्ने कुराको ठोकुवा कविले गरेका छन् । एउटा जनप्रिय व्यक्तिको अन्त्य हुनु देशको आशा र भरोशा पनि समाप्त हुनु हो । आकाशमा चम्किरहेको जून वा घाम अचानक अस्ताउँदा धर्तीमा जेजस्तो प्रभाव पर्छ, जनप्रिय व्यक्तित्वको अन्त्यमा सर्वसाधारणमा त्यही प्रभाव पर्छ त्यसैले यस्ता धर्तीका सन्तानहरूको यस्तो अपमानजनक मृत्युले मान्छेलाई त्यागप्रति होइन, पलायन, स्वार्थ र अवसरवादितातिर प्रोत्साहित गर्छ । मङ्गलमानको यो मृत्यु सम्पूर्ण देशभक्तहरूको मृत्यु हो र यो अपमान ती सबैको अपमान हो भन्ने कविको वैचारिक निष्कर्ष मङ्गलमानमार्फत आएको छ । यस प्रसङ्गबाट कविले संवेदनाशून्य बन्दै गएको नेपाली मन, दायित्वबाट भाग्दै गएको नेपाली समाज र जडतामा रूपान्तरण हुँदै गएका नेपाली राज्यसञ्चालकहरूको चेतनालाई एकैपटक झक्झक्याउने काम गरेका छन् ।

स्वाभिमान के हो ? र देशप्रतिको नागरिक दायित्व के हो ? भन्ने बारेमा पनि कवि काव्यमा स्पष्ट देखिन्छन् ।

कवि सिद्धिचरणले मङ्गलमानलाई केन्द्रमा राखेर सचेत पाठकहरूलाई स्वाभिमानको पाठ सिकाउनुका साथै प्रत्येक नागरिकको देशप्रतिको दायित्वबोध गराउने काम पनि गरेका छन् । यहाँ कविले सत्य कुरा नबोल्ने वा देखेको वा जानको भए पनि त्यसको पोल नखोल्ने र युगौँयुगदेखि दास मनोवृत्ति लिएर बाँच्ने नेपाली स्वभावको उद्घाटन गर्दै जागरणको सन्देश दिएका छन् । भाग्यका भरमा परेर जेजस्तो परिस्थिति आए पनि भाग्यलाई दोष दिँदै सहेर बस्ने प्रवृत्तिबाट मुक्त हुन कविले सबैलाई आह्वान गरेका छन् । स्वाभिमानी मान्छेहरू आफूले गल्ती नगरी कसैका अगाडि झुक्दैनन् र कसैसँग माफी पनि माग्दैनन् । अनावश्यक चाकरी गर्ने, माफी माग्ने र तत्कालीन समस्याबाट मुक्त हुने प्रवृत्तिले एउटा व्यक्तिको स्वार्थ त पूरा होला तर त्यो व्यक्ति तमाम शुभचिन्तकहरूका आँखाबाट सधैँका लागि गिरेर जान्छ । क्षणिक स्वार्थबाट नै धोकापूर्ण राजनीतिले जन्म लिन्छ र सहयोद्धाहरूलाई जेलमा कोचेर आफू स्वतन्त्र भएकामा नेतृत्ववर्गले विजयोत्सव मनाउन थाल्छ । यो व्यक्तिको स्वाभिमान र राजनीतिक चरित्रमा देखिएको पतन हो । त्याग र समर्पणमा जीवन देख्नेहरूले मृत्युलाई त्यति ठुलो महत्त्व दिँदैनन् र त्यसलाई त्रासको विषय पनि बनाउँदैनन् । बरु उनीहरूलाई देशमा सुधार ल्याउन नसकेकामा, जनस्तरलाई माथि उठाउन नसकेकामा र भाताभुङ्ग र लथालिङ्ग परिवेशलाई जस्ताको तस्तै छोडेर जानुपरेकामा अत्यधिक चिन्ता हुन्छ भन्ने दायित्वबोधलाई कविले मङ्गलमानमार्फत आगाडि सारेका छन् ।

क्रान्ति र परिवर्तनप्रतिको दृढ विश्वास कवि सिद्धिचरणको अर्को चिनारी हो । दमनबाट विद्रोह जन्मिन्छ र विद्रोहले परिवर्तन ल्याउँछ भन्ने विश्वासमा मङ्गलमानको शक्ति अडेको छ र कविको शक्ति पनि त्यही हो तर यस्तो विश्वासमाथिको प्रहार अरू कसैबाट भएको छैन, आफ्नै सहयोद्धाहरूबाट भइरहेको छ । सत्तामा पुग्नासाथ विगतलाई बिर्सिने र विचार र सिद्धान्तमा आगो सल्काउन थालिहाल्ने प्रवृत्तिप्रतिको कविको आक्रोश यहाँ मङ्गलमानको आवाज बनेर निस्किएको छ । यति मात्र होइन, कवि सिद्धिचरण राजामा रहेको जनताको हक जनतालाई नै फिर्ता दिनुपर्छ भनी काव्यिक उद्घोष गर्ने पहिलो व्यक्ति हुन् । पञ्चायती निरङ्कुशताको जर्जर अवस्थामा पनि यस्तो आवाज उठाउनु सामान्य कुरा होइन । सिद्धिचरणले परिकल्पना गरेको त्यो दिन आउन साढे चारदशक पर्खनुपरे तापनि उनी दूरदर्शी, भविष्यवेत्ता र जनमुखी शासनका पक्षधर थिए भन्ने कुरा यसबाट थाहा पाइन्छ ।

यसरी ‘मङ्गलमान’ काव्यभित्र आएका विचारहरू मङ्गलमानका विचारका रूपमा आए पनि कवि सिद्धिचरणलाई मङ्गलमानको चरित्र मन पर्नु, मङ्गलमानले गरेका कामप्रति चासो देखाउनु, मङ्गलमान अन्यायमा परेकामा दुःखी हुनु र उसले चालेको अभियानलाई युगीन महत्त्वका साथ प्रस्तुत गर्नुजस्ता कुराभित्र कविको वैचारिक समर्थन छ त्यही उनको चरित्रको प्रतिविम्बन पनि हो । निरङ्कुश राणाशासन होस् वा राजामा रहेको जनअधिकार फिर्ताको मागमा होस् कवि सिद्धिचरणको विचार मङ्गलमानमार्फत स्वतः बाहिर आएको देखिन्छ ।

कवि सिद्धिचरण जनमुखी एवं लोककल्याणकारी राजनीतिक परिवेशका पक्षधर हुन् । ‘शक्ति र सामथ्र्य छउन्जेलसम्म प्रयोग गर र अशक्त भएपछि छाडिदेऊ’ यो नेपाली राजनीतिको सर्वमान्य दर्शन भन्दै गएको देखिन्छ । यही तितो धरातलमा नेपाली राजनीतिका कर्मठ कार्यकर्ताहरू बाँचेका छन् । आशा र आश्वासन ती कार्यकर्ताहरूको बाँच्ने आधार हो । यस्ता घटनाहरू नेपाली भूमिमा पटक पटक दोहोरिएका छन् तर नेतृत्ववर्गमा कुनै संवेदनशीलताको आभास पनि देखिँदैन । एक खुड्किलो माथि चढ्नासाथ तल्लो खुड्किलोमा रहेको आफ्नै साथीलाई समेत तुच्छ र क्षमताहीन देख्नु मानवीय चरित्रको घिनलाग्दो पक्ष हो । चाहे एउटा गाउँको मुखिया होस्, चाहे जेलको जेलर होस्, चाहे एउटा पार्टीको नेतृत्व तहमा बसेको व्यक्ति होस्, चाहे उच्च घरानियाँ वा जहानियाँ ठालुहरू हुन्, चाहे मन्त्री होस् र चाहे प्रधानमन्त्री नै किन नहोस् एउटा मान्छेले अर्को मान्छेलाई मान्छेको व्यवहार नगरेसम्म मानवताको मलामी मान्छे आफैँ हुन्छ भन्ने विचारका पक्षमा कवि सिद्धिचरण निर्भीक रूपमा उभिएका देखिन्छन् । नेपाली राजनीतिले जन्माएको यही मानवताको सङ्कटबाट नै कविमा मानवतावादी जीवन दर्शन जन्मिएको कुरा स्पष्ट थाहा पाइन्छ । शान्ति, न्याय र सुरक्षाको जिम्मा लिएर बसेका सेना र प्रहरीहरूले नै अमानवीय क्रियाकलापलाई वहन गर्न र प्रोत्साहन दिन थालेपछि अब मानवताको रक्षा कसले गर्छ भन्ने एउटा गम्भीर प्रश्न कविले मङ्गलमानमार्फत उठाएका छन् ।

चेतनशील नेपाली युवाहरू वा सशक्त कार्यकर्ताहरू निरन्तर प्रयोग मात्र भइरहन्छन् । आन्दोलन, हडताल र जुलुसमा तिनीहरू राम्ररी प्रयोग हुन्छन् । कतिको ज्यान नै जान्छ, कति घाइते हुन्छन्, कति अङ्गभङ्ग हुन्छन् र कतिले जेलको कालकोठरीमा जीवन बिताउनुपर्छ तर त्यही त्यागको प्रतिफलस्वरूप आएको परिवर्तनमा खुसी मनाउनेहरू अरू नै हुन्छन् र ती त्यागका नमुनाहरू रछ्यानमा फ्याँकिन्छन् । एउटा निरङ्कुश शासकको अन्त्यका लागि वर्षौँ आन्दोलन गरिन्छ, हजारौँको ज्यान जान्छ र त्यो शासकको अन्त्य हुन्छ तर त्योभन्दा डरलाग्दा अरू दर्जनौँ शासकहरू जन्मिन्छन् भन्ने यथार्थलाई ‘ब्याक टु मङ्गलमान’ उखानको जन्मले अझै स्पष्ट पारेको छ ।

नेपाली भूमिमा राजनीतिक परिवर्तनहरू नभएका होइनन् । राणाशासनको अन्त्य भएर प्रथम प्रजातन्त्र जन्मियो, प्रजातन्त्रको हत्या गरी पञ्चायतको आगमन भयो, पञ्चायती व्यवस्थाको अन्त्य गरी पुनः प्रजातन्त्रको आगन भयो । कवि सिद्धिचरणले यी सबै राजनीतिक आन्दोलन र परिवर्तनहरूलाई आफ्नै आँखाले देखे र आफ्नै जीवनले भोगे । यति मात्र होइन, सिद्धिचरणको अवसानपछि पनि नेपाली राजनीतिमा निकै ठुला ठुला जनयुद्ध र जनआन्दोलनहरू पनि भए, साढे दुईशतकको इतिहास बोकेको राजसंस्था ढल्यो, लोकतन्त्र आयो र अहिले नेपाल गणतान्त्रिक शासनव्यवस्थाअन्तर्गत सञ्चालित छ तर कवि सिद्धिचरणले २०१८ सालमा गरेको यो उद्घोष जस्ताको तस्तै छ—
मन्त्रीमण्डल फेरिँदै गो फेरिएन देश
मेटिएन दुःखकष्ट मेटिएन क्लेष ।

अहिले नेपाली राजनीति पुनः यही विन्दुमा पुगेको छ । जनअपेक्षा आक्रोशमा परिवर्तन भएपछि हिजोका आशावादी समर्थकहरू नै आज प्रमुख शत्रु बनेर देखापर्छन् भन्ने कुरा हरेक समयका शासकवर्गले बुझ्नुपर्छ । आशा — समर्थन — विश्वास — विचलन — निराशा — विद्रोह — घृणा यो नेपाली राजनीतिमा युगौँयुगदेखि चल्दै आएको शृङ्खला हो । हिजो ज्यान दिन तयार हुने समर्थकहरू आज मङ्गलमानजस्तै यस्तो आक्रोश पोख्न बाध्य छन्—

बनाउँछु देश भनी ढोङ खुबै गर्थिस्
मन्त्री भएपछि तँ ता पशुजस्तै बनिस्
थुक्क पशु ! घाँस खा जा ! छैन तँलाई लाज ?
तँ जस्ताले बनाएर बन्दैन समाज ।

नेपाली राजनीतिमा यस्तो परिस्थिति निर्माण हुनुमा प्रमुख दोषी को हो ? आजको युगले खोजिरहेको छ । नेतृत्ववर्ग जतिसुकै विचलित होस्, सिद्धान्तबाट जतिसुकै स्खलित होस् र चरित्रबाट जतिसुकै पतित होस् सर्वसाधारण जनता कहिल्यै दूषित र दोषी हुँदैन । आज सचेत नेपाली जनता मङ्गलमानजत्तिकै सचेत छन् र अहिले पनि यस्तो प्रण गरिरहेछन् । नेपालीहरू यही प्रणमा उज्यालो बिहान देखिरहेका छन्—

मैले त्यसै बस्नु हुन्न सत्य खोल्नै पर्छ
भविष्यको लागि मैले केही बोल्नै पर्छ ।

मान्छे भई बाँच्नलाई ढोका खोल्नुपर्छ
गए जाओस् यौटा ज्यान अघि बढ्नुपर्छ ।