वर्षान्तको दिन अर्थात् चैत ३१ गते आफ्नो प्रिय थलो देहरादून (भारत) गएका थिए, ख्यातिप्राप्त फिल्म लेखक–निर्देशक, कवि–गीतकार चेतन कार्की । वैशाख १६ मा भैरहवा हुँदै काठमाडौं फर्किएर जावलाखेलस्थित घरको दैलो खोलेका थिए ।

चेतन देहरादूनतिर लागेपछि पत्नी गंगा जेठा छोरा पारसको घर धोबीघाटमा बसेकी थिइन् । कोरोनाको कारण उनी एक्लै घरभित्रको भित्रै बसे । उनले खाना खाएनन् । कोक खाएर कोरोनालाई ठीक पार्न खोजे । निमोनियामा चिसो कोकले कति बिगार गर्यो होला !

त्यसो त उनले देहरादूनमै कोभिड टेस्ट गरेर ‘नेगेटिभ’ पत्र लिएर आएका थिए । गोरखपुर–भैरहवाको स्थलयात्रा या भैरहवा–काठमाडौं उडानमा संक्रमित भए सायद । रोगले गालेपछि एक साताअघि सैनिक अस्पताल छाउनीमा भर्ना भए । पत्नी गंगा, छोरा पारस र पंकजसहित लाखौं शुभचिन्तकहरूलाई छाडेर जेठ २ बिहान साढे १० बजेतिर महाप्रस्थान गरेका कार्की ८४ वर्षका थिए ।

साढे दुई दशकदेखिका अनन्य मित्र कवि मुरारि सिग्देलले समेत जीवनका अन्तिम दिनहरूमा उनलाई सम्पर्क गर्न सकेनन् । उनी सेलफोन बोक्दैनथे । आफू व्यस्त हुँदा या कुरा गर्न मन नलाग्दा घरको ल्यान्डलाइन फोन उठाएर राखिदिने उनको बानी थियो । त्यही बेला मुरारि आफैं कोरोनाका कारण आइसोलेसनमा बसेका थिए ।

‘चेतन बाको शरीर फलामजस्तो थियो । अहिलेसम्म सुगर-प्रेसर ढिम्किनै सकेका थिएनन् । घरमा एक्लै बस्नु नै गल्ती भयो,’ सिग्देल भनिरहेका छन्, ‘नारायण ओलीसित मिलेर गीत रेकर्ड गर्दै हुनुहुन्थ्यो । माइतीघर सिनेमादेखिका निर्माण नियन्त्रक गेहेन्द्र रिमालबारे आउन लागेको किताब पनि अधुरै हुने भयो ।’

कोक किस्सा
२०५२ सालतिर ‘कामना’ पत्रिकाका लागि अन्तर्वार्ता लिएपछि चेतनसँग दोस्ती जमेको थियो मुरारिको । पुल्चोकमा मुरारिको पसल थियो, अस्मिता स्टेसनरी । पहिले चेतन बिहान दमकल कार्यालयको पल्लोपट्टि ब्रिटिस सेनाका भूपू क्याप्टेन शिवु गुरुङको किराना पसलमा पुग्थे, बेलुकी मुरारिकहाँ ।

शिवुले पसल छाडेपछि बिहान पनि मुरारिकहाँ नै जम्न थाले । यसरी बिहान ६–८ बजे, बेलुकी ४–६ बजेसम्म मुरारिसँगै हुन्थे उनी । कहिलेकाहीँ त साहित्यिक कार्यक्रममा दिउँसो पनि सँगै हुन्थे । त्यो बसिबियाँलोको अखडामा नियमित हाजिर हुन्थे, प्रकाश सायमि, रामकुमार पाँडे, मदन ढकाल, मोहन ढकालहरू ।
चेतन कार्कीले मुरारिलाई झन्डै कोकको अम्मली बनाएनन् । स्टेसनरीमा कोक हुँदैनथ्यो, छेउको पसलबाट ल्याउँथे । चार-पाँच राउन्डसम्म कोक सेसन चल्थ्यो । अन्तिममा हिसाब गर्दा २५–३० वटाको पैसा सधैं चेतनले तिर्थे । अरुलाई तिर्न दिँदैनथे । त्यसबापत उनको गफ सुन्नुपर्थ्यो बस् ।

‘चेतन बा मलाई तपाईं पनि खानूस् न भन्थे । पहिले मलाई कोक मनै पर्दैनथ्यो । घाँटीमा नछिर्दै नाक-मुखबाट एकसाथ हावा भरिएर निस्कन्थ्यो, पछि एक-दुई घुट्का खाँदाखाँदै मलाई त लत नै लागेछ,’ मुरारि सुनाउँछन्, ‘पछि मैले खान सक्दिनँ भनेर हात उठाएँ ।’

एक प्रकारले इन्साक्लोपेडिया नै थिए चेतन । देश-विदेशको खबर, साहित्य, चलचित्र, गीत, संगीत, खेलकुद, धर्म, संस्कृतिबारे मस्त विवेचना गर्थे । कुनै नयाँ व्यक्तिसँग भेट भयो भने सानो चिटमा लेख्थे । पछि त्यो डायरी बन्थ्यो । कहिले के सन्दर्भमा भेट भएको भन्ने मेसो पाएपछि सम्पूर्ण बेलिविस्तार लगाउँथे ।

यति लामो समयसम्म ‘डायरी मेन्टेन’ गरे पनि उनले आत्मकथा लेख्ने रहर गरेनन् । आत्मकथाको बेइमानी धन्दा उनलाई कहिल्यै मन परेन । चेतनको साथ लागेर दुई पाला देहरादून पुगेका मुरारिलाई रिटायर्ड कर्णेल प्रेम शर्मा र भगवानसिंह खत्रीले सुनाएका थिए रे, ‘कलेजमा चेतन फस्ट क्लास फस्ट हुन् । स्पोर्ट्समा च्याम्पियन थिए । शेर और शायरीमा भेटरान । केटीहरू कति पछि लाग्थे लाग्थे ! हामीजस्तो थर्ड क्लास थर्ड त रिटायर्ड कर्णेल भएर निस्क्यौं, उनी बसेको भए के हुन्थेनन् होला ?’

देहरादूनकै लाहुरेकी छोरी गंगा बस्नेतसँग विवाह गर्नुअघि उनकी प्रेमिका रहिछन्, कविता । उनलाई सुनाउनका लागि उनले शेर औ शायरी लेख्न थालेका थिए । शास्त्रीय नृत्यमा निपुण कवितालाई चेतनका बुबाले विवाह गर्न दिएनन् । र, चेतनले बाबुआमाले रोजेकी गंगासँग दाम्पत्य जीवन सुरु गरे पनि कविता आजीवन अविवाहित रहिन् । यसमा चेतनको धोका या कविताको त्याग के कसो हो, उनले बोल्न चाहेनन् । तर उनको प्रेम प्रसंग पत्नी गंगालाई थाहा थियो ।

कोक किस्सा यत्तिमै सकिँदैन । उनी त ‘हार्ड ड्रिंक’ बाट ‘सफ्ट ड्रिंक’ मा घटुवा भएका हुन् । २०३० सालछेक बेस्मारी बिरामी भएका चेतनलाई वीर अस्पताल भर्ना गरिएको थियो । त्यतिबेला उनी रक्सीका कति अम्मली थिए भने डा. सचेकुमार पहाडीले भने रे, ‘अब पनि (रक्सी) खाने हो जीवन छैन ।’

उनको हालत कस्तो थियो भने कोपराको कोपरा रगत छादेका थिए घरमा । क्षयरोगले फोक्सो खत्तम पारेको थियो । बेड नम्बर १२ मा उनको साटो अर्कै बिरामी देखेर, अझ बिरामीलाई आर्यघाट लगियो भनेपछि निर्देशक प्रकाश थापा क्वाँक्वाँ रोएका थिए रे ! खासमा उनलाई बेडसार गरिएको रहेछ ।

अस्पतालबाट घर फर्केपछि उनले सिरानीमुनिका बोत्तल सबै फ्याँके रे ! त्यसको साटो कोक खान थाले रे ! नेपालमा पहिलो छिमक आएकै बखत कोक खान थालेका रहेछन् उनले । रोजना १० देखि १५ बोत्तलसम्म कोक पिएको मुरारिको कथन छ ।

लाग्छ, चेतन कार्कीलाई त बोटलर्स नेपाल (तराई) कम्पनीले कोकको ‘ब्रान्ड एम्बेसडर’ बनाए पनि हुन्थ्यो । कतिसम्म भने पानीको साटो पनि कोक नै खान्थे । ‘लाख दुःखको एक दबा’ मान्थे कोकलाई । अरु कोकले ग्यास गराउँछ भन्थे, उनी हटाउँछ भन्थे ।

नेपालमा सन् १९७२ देखि भारतमा बनेको कोक आएको रहेछ । सन् १९७९ पछि यतै उत्पादन हुन थाल्यो । पहिले यसलाई कोकिन मिसाइएको ठानिन्थ्यो । खासमा कोका नामक पत्ताको रस मिसाइएको हलुका नशालु कोकले चेतन कार्कीलाई ‘दिवाना’ बनाएको रहेछ ।

कोकको कुण्डली खोतल्दा अमेरिकाको एट्लान्टा सहरका रसायनशास्त्री जोन पेम्बर्टनले आविष्कार गरेको पेय रहेछ यो । अफिमको लतमा फसेका अमेरिकी गृहयुद्धका घाइते पेम्बर्टनले त्यसबाट छुटकारा पाउन रक्सी (प्रतिबन्ध भएकाले) मा कोकाको पातको रस मिलाएर पिउन थालेका रहेछन् । यसको स्वादमा लट्ठिएका पेम्बर्टनले बेच्न समेत थालेछन् ।

कोलाचाहिँ बदाम प्रजातिको फल हो । यसको गुदीमा रहेको क्याफिन एवं थियोब्रोमाइन रसायनले ज्यानमा एक किसिमको ताजापन आउँछ । कोकाकोला पहिलो वर्ष दैनिक औसत नौ बोत्तल बिकेको थियो । अहिले दिनमै दुई अर्ब बोत्तलभन्दा बढी बिक्री हुन्छ । पारखीका लागि जिग्री, जम्बो, फुच्चेसम्म उपलब्ध छन् ।

देहरादूनसँगको दोस्ती
आफ्नो गुरुनगरी भएकाले चेतन कार्की देहरादून गइरहन्थे । गुरुनगरी किन भनेको भने हिरासिंह खत्री उनका गुरु हुन् । खत्री निर्देशित पहिलो नेपाली कथानक चलचित्र हो, ‘आमा’ । राजा महेन्द्रको आग्रहमा खत्रीले निर्देशन गरेका थिए ।

विसं १९९५ कात्तिक २२ गते बहाँटारी, स्याङ्जामा जन्मेका कार्की सेन्ट मेरिज स्कुलको पश्चिमपट्टि जावलाखेलमा बसोबास गर्न थालेको दशकौं भए पनि देहरादूनसँग उनको सम्बन्ध दुरुस्तै थियो ।

उनी सालिन्दा देहरादून किन जान्थे भने एक त उनले आफू पढेका स्कुल र कलेजमा बाबुआमाको नाममा छात्रवृत्ति राखेका थिए । पुस्तकालयका लागि सहयोग गरेका थिए । अर्को, बाक्रा नगरमा भएको घरसम्बन्धी मुद्दामामिला छिनोफानो भएको थिएन । उनी त्यहाँको गोर्खा सुधार सभाको प्रमुख सल्लाहकार समेत थिए ।
देहरादूनसँग उनको नाता धेरै पुरानो हो । चार वर्षको उमेरमै पल्टने बुबा जुद्धवीर कार्कीसँगै सन् १९४२ तिर त्यता गएका थिए । त्यतिबेला नेपालमा यातायातको सुविधा थिएन । स्याङ्जा त झन् विकट जिल्ला थियो । भारत पनि हिँडेरै जानुपर्थ्यो ।

जेठो दाइलाई हिँडाएर र चेतनलाई बोकाएर गोरखपुरको रेलसम्म पुर्याएका थिए लाहुरे बुबाले । उनी देहरादुनमै हुर्के । अङ्ग्रेजले त्यहाँ गोर्खा सिपाहीका छोरालाई पढाउन खोलेको गोर्खा मिलिटरी स्कूलमा पढे । पढाइ चाहिँ भारतीय र अंग्रेजी माध्यमबाट हुन्थ्यो ।

देहरादून बसे पनि स्याङ्जाली लोकलय र लोकगायन चेतनको मनमा गडेर रहेको थियो । लोकगीतमा खुब लगाव थियो उनको । उनी ग्रामोफोनमा ज्यादा मास्टर मित्रसेन थापाका गीत सुन्थे । ‘झमझम परेली आँखैकी गाजलु सम्झन्छु देहरादून’ । त्यही गीतमा टुक्का थपेर स्कुलमा गाउँथे र सबैको स्याबासी पाउँथे ।

‘तिम्ले त मलाई सम्झिने छैनौ तर म आइदिऊँला, रातिको बेला भएर भेला रोधी नि गाइदिऊँला’ । ‘माछीले खा मलाई भन्छ खान मन लाग्दैन पटक्कै, चनौटे जा मलाई भन्छ, जान मन लाग्दैन पटक्कै !’ आदि इत्यादि ।

त्यसो त स्कुले जीवनमा चेतनको रुचि फुटबलमा पनि थियो । आगरा विश्वविद्यालयको त फुटबल क्याप्टेन नै रहेछन् । सन् १९५८ मा स्टेट अफ उत्तर प्रदेशको नेसनल च्याम्पियनसिप समेत खेलेका रहेछन् । छँदा उहाँ भारतको स्टेट प्लेयरको रुपमा चिनिनु हुन्थ्यो । हिन्दी साहित्यमा एमए र बीएस्सी गरेका उनी १९ वर्षपछि अर्थात् सन् १९६० मा नेपाल फर्किएका थिए ।

नेपाल आएपछि केही समय ठमेल टिममा फुटबल खेले । उनलाई डिएसपीको प्रलोभन दिएर नेपाल पुलिसको फुटबल टिममा राखी ‘तेजबहादुर अमात्य गोल्डकप’ खेलाइएछ । तर उनले त्यो पद पाउन सकेनन् । त्रिचन्द्र कलेजमा हिन्दी साहित्य पढाउँदा लेक्चररको आश्वासन पाए, त्यो पनि उनलाई जुरेन ।
रेडियो नेपालमा अङ्ग्रेजी सम्पादकको जागिर खाने प्रयत्न पनि नगरेका होइनन् । लिखित परीक्षामा अब्बल हुँदाहुँदै पनि आवाज फिट नभएको भन्दै तत्कालीन कार्यकारी निर्देशक प्रकाशमान सिंहले उनलाई जागिर दिएनन् । मन्त्रिपरिषद्का अध्यक्ष डाक्टर तुलसी गिरीका भतिजा समेत रहेका प्रवीण गिरी छानिए । प्रवीण पनि कमजोर त कहाँ थिए र !

अन्ततः मत्स्य विकास तथा प्रशासन (एफडिए) मा डिप्लोमा गरे र पोखराको ताल विकासमा अधिकृत भए । २०१८ सालतिर पोखरा बल्ल सहर बन्दै थियो । पोखरामा त्यो बेला सात वटा मात्रै सरकारी जिप थिए रे । सेना, रत्न मन्दिर, बडाहाकिम (पछि अञ्चलाधीश), नगर विभागलगायतको ।

आठौँ जिप भूमिसुधारको आयो। तर, उनी हाकिम भएको अड्डामा गाडी थिएन । २४ वर्षको लक्का जवान चेतन सेतो घोडा चढेर हिँड्थे । आफूभन्दा कनिष्ठको बढुवा भएपछि उनले उसबेलाका कृषिमन्त्री राजेश्वर देवकोटालाई राजीनामा बुझाए । त्यहाँ उनले ६ वर्ष ४ महिना जागिर खाए । त्यही राजीनामा नेपाली चलचित्र क्षेत्रका निम्ति फलदायी नै साबित भयो ।

फिसरी छाडेर फिल्ममा
चलचित्र जगत्मा चेतन कार्कीको प्रवेश पटकथा लेखकका रुपमा भएको रहेछ । सूचना विभागले ‘चेतना’ (पछि ‘परिवर्तन’) नामक फिल्म बनाउन लेखक, पटकथाकार मागेको थियो । त्यसमा उनी छानिएका थिए । जनार्दन समको नाटक ‘चेतना’ मा आधारित भएर उनले लेखेको पटकथा ‘परिवर्तन’ नाममा रिलिज भएको थियो ।

त्यसका निर्देशक थिए, हिरासिंह खत्री । राजा महेन्द्रले अमेरिकाबाट नेपाल फर्कने क्रममा केही रात बम्बईमा बिताउँदा हिरासिंहलाई भेटेका रहेछन् । ‘तिमी नेपालकै छोरा रहेछौ, नेपालमा आएर फिल्म बनाऊ ।’ नभन्दै हिरासिंह नेपाल आए । देहरादूनका बासिन्दा हिरासिंह चेतनलाई ‘भतिजा’ भन्थे । उनी गुरु मान्थे हिरासिंहलाई । चेतनलाई सहायक निर्देशनका साथै गीत लेख्ने जिम्मा दिए ।

‘बहिनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने’ नारायणगोपाल र मीरा राणाको युगल स्वर रहेको यस गीत लेखे चेतन कार्कीले । चलचित्र ‘परिवर्तन’ मा समावेश यो गीत गण्डकी क्षेत्रको ‘झ्याउरे चुड्का’ हो । यो नारायणगोपालले गाएको पहिलो फिल्मीगीत पनि हो । यो लोकभाकामा संगीत संयोजन मात्रै संगीतकार भी. बलसाराले गरेका थिए ।

चलचित्र ‘परिवर्तन’ कै गीत ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाखा मेरो…’ उनले कलकत्ताको महाराष्ट्र भवनमा बसेर दुई घन्टाभित्रै लेखेका रहेछन् । कार्कीका अनुसार पहिले त्यो गीत चलचित्रमा थिएन । डेकोटा चढेर कलकत्ता पुगेका नारायणगोपालले धम्की दिएछन्, ‘मलाई पनि एउटा सोलो गीत चाहियो । नभए म गाउँदिनँ । काठमाडौं फर्किन्छु ।’ निर्देशक हिरासिंह खत्रीले उनलाई बोलाएर भने, ‘चेतन बेटा, एक सोलो गीत नारायणगोपालके लिए भी लिख दो ।’ अब नलेखी सुख पाइयो !

कृषिमै काम गरेका महेन्द्रनाथ खनालसँग उनको दोस्ती थियो । सँगसँगै लोकदोहोरी गाउन थाले । अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रहेको स्थानदेखि दक्षिणतिर उनले नाटिका देखाए, ‘लुरे र घैंटे’ । त्यसमा महेन्द्रनाथ लुरे बनेका थिए भने चेतन घैंटे । त्यसपछि अरु नाटिका देखाएपछि राजा महेन्द्रले उनलाई भनेका थिए रे, ‘तिमी एग्रिकल्चरमा होइन, कल्चरमा आउनुपर्यो ।’ नभन्दै उनी शाही चलचित्र संस्थानमा काम गर्न थाले निर्माण नियन्त्रकका रुपमा ।

२०२८ सालमा शाही चलचित्र संस्थानको स्थापना भएसँगै कार्कीले निर्माण अधिकृतका रुपमा पनि काम गरे । संस्थानले निर्माण गरेका ‘मनको बाँध’, ‘कुमारी’, ‘सिन्दूर’, ‘जीवनरेखा’ आदि फिल्ममा संवाद लेखकका साथै निर्माण अधिकृतको पनि काम गरे । त्यहाँ नीर शाह, टीका सिंह (भरतकेशर सिंहकी पत्नी) पनि काम गर्थे । १० वर्षपछि बढुवामा दरबारको हस्तक्षेपका कारण उनले राजीनामा दिए ।

२०४३ मा उनले पहिलो फिल्म निर्देशन गरेका थिए, ‘विश्वास’ । ‘विश्वास’ बाटै नेपाली फिल्ममा डेब्यू गरेकी थिइन्, अभिनेत्री मिथिला शर्माले । ‘त्यो २०४२/४३ सालतिर चेतन दाइ गोपाल योञ्जनसँग त्यही फिल्मका लागि संगीतका बारेमा कुरा गर्न महेन्द्र पुलिस क्लबमा आउनुभएको थियो, त्यहाँ विभिन्न कार्यक्रमका लागि हामी रिहर्सल गरिरहेका हुन्थ्यौं । उहाँले मलाई पनि त्यस फिल्ममा काम गराउने इच्छा व्यक्त गर्नुभयो,’ अभिनेत्री शर्मा सम्झिन्छिन्, ‘बाछी भन्छ बाँबाँ, बाखरीले म्याँ, बिरालोले म्याउँ म्याउँ, म त भन्छु माँ’ बोलको गीत चेतन दाइले लेख्नुभएको रहेछ। त्यसमा गोपाल सरले संगीत भर्नुभएको थियो र गायिका विमला राईले गाउनुभएको थियो। त्यही गीतमा मैले शिक्षिकाको भूमिका निर्वाह गर्ने पक्कापक्की भयो ।’

अभिनेत्री शर्माका अनुसार फिल्मको सुटिङ पोखराको एसओएस स्कुल र पोखराकै छोरेपाटनमा भएको थियो । त्यो फिल्म खेल्दा उनी १६ वर्षकी थिइन् । गीतमा उनको रोल मात्र तीन मिनेटको थियो । तर, त्यही तीन मिनेटको रोल उनको जीवनका लागि सबैभन्दा अविस्मरणीय क्षण बनेर रह्यो ।

‘विश्वास’ पछि उनले ‘भूमरी’ र ‘पहिलो प्रेम’ निर्देशन गरे । यी चलचित्रमा उनकै संवाद, पटकथा र गीत छन् । उनले टेलिभिजन शृंखला ‘मनको आँखा’ पनि निर्देशन गरे । तर, पटकथा र गीत लेखकका रुपमा जस्तो प्रख्याति पाएनन् ।

उनले निर्देशन गरेको ‘भूमरी’ २०४६ सालको आन्दोलनको सिकार भएको थियो । त्यो फिल्मका हिरो डिएसपी अर्जुनजंग शाही थिए । तर २०४६ सालको आन्दोलनमा उनले दमन गरेको कारण देखाउँदै दर्शकले फिल्म बहिष्कार गरे ।

चलचित्रबाट मात्र काम गरेर जीवन धान्न मुस्किल भएपछि कार्कीले सेन्ट मेरिज स्कुलमा विज्ञान पढाउनुका साथै ट्याक्सी पनि चलाएका रहेछन् । गुरु हिरासिंह खत्री तेस्रो फिल्म बनाएर भारत फर्केपछि ‘फिल्ममा भविष्य छैन’ भन्ने लागेर ‘परिवर्तन’ बाट पाएको पैसाले सेकेन्डह्यान्ड जिप किनेर २०२६–२७ सालतिर काठमाडौं, रक्सौल, मुजफ्फरपुर, गोरखपुर, भैरहवा हुँदै पोखरा पुर्याएर चलाएको उनले बताएका थिए ।

फिल्म निर्देशक प्रकाश सायमिका अनुसार ‘आमा’ को प्रदर्शनपछि त्यसका निर्देशक हिरासिंह खत्रीले नेपालमै बसेर ‘हिजो, आज, भोलि’ बनाए । बीसको दशकमा बनेको ‘परिवर्तन’ साहित्यिक कृतिमा आधारित पहिलो नेपाली सिनेमा हो । यसै सिनेमाबाट अभिनेता नीर शाह, शैल्यान केसी रजतपटमा प्रवेश गरे ।
नारायणगोपाल सिनेगायक, चेतन कार्की गीतकार र संवाद लेखक भए । निर्देशनका दृष्टिकोणले हिरासिंह खत्रीको ‘परिवर्तन’ अन्तिम चलचित्र भए पनि उनले नेपाली चलचित्र जगतका निम्ति राम्रा निर्देशक चेतन कार्कीलाई जन्माएर गए ।

आत्मा नबेच्ने त्यो लाहुरे
बाबु भारतीय सेनामा क्याप्टेन भए पनि चेतन कार्की लाहुरे बन्ने बाटोमै लागेनन् । उनी कति मेधावी थिए भने स्कुल सक्नासाथ त्यहीँ पढाए, कलेज सकेपछि त्यहीँ बायोलोजी पढाए । नेपाल फर्केपछि उनले उपन्यास लेखे, ‘आत्मा बेचेको छैन’ ।

उपन्यासको नायक रामबहादुरमा उनकै प्रतिच्छाया छ । त्यो तपाईं नै हो भन्दा उनी मुसुमुसु हाँस्थे । उपन्यासमा रामबहादुर सेनामा ज्यान दिएर सेवा गर्छ । तर अन्तिम प्रमोसन पाउने बेला गढवालीले प्राथमिकता पाउँछन् । सेनाका लागि ज्यान दिए पनि आत्मा बेच्न मन्जुर हुन्न उसलाई । पल्टन छाडेर आफ्नै ठाउँमा खेतीपाती, उद्योग-धन्दा गरी समुन्नत समाज बनाउने अठोट गर्छ ।

‘आत्मा बेचेको छैन’ लाई मल्टिपर्पस हाई स्कुल पोखराका हेडमास्टरको अनुरोधमा पूर्णांकी नाटक बनाए उनले । त्यो नै २०२३ सालमा १२ वटा पेट्रो म्याक्स बाली टिकट काटेर पोखरामा प्रदर्शन भएको पहिलो नाटक थियो । २०१७ देखि नै रंगमञ्चको लेखन, व्यवस्थापन, निर्देशन र कला संयोजनमा लागेका थिए, कार्की ।

नाटक रोक्न न्वारानदेखिको बल लगाएका थिए, बस्नेत थरका अञ्चलाधीशले । पृथ्वीनारायण कलेजका प्रमुखमार्फत उनले नाटकको ‘ओरिजिनल कपी’ अञ्चलाधीशकहाँ पठाएर मौखिक रुपमा रिहर्सल गर्नुपरेको थियो चेतनले । उनका अनुसार नाटकमा त्यस्तो आपत्तिजनक अंश केही थिएन । राजदरबारका मान्छे आउँदा रत्नमन्दिर छेउको फेवातालको माछा जालमा झिकेर बार्बिक्युसाथ गीत गाएर खातिरदारी गरेको तर अञ्चलाधीशको साथी आउँदा अस्वीकार गरिदिएको बदला लिएका रहेछन् अञ्चलाधीशले ।

मल्टिपर्पस हाई स्कुलमा पाँच-छ कक्षामा पढ्दा लुकीलुकी नाटकको रिहर्सल हेरेको धमिलो सम्झना छ, कवयित्री उषा शेरचनलाई । ‘चेतन दाइलाई मैले चिनेको ५५ वर्ष भयो । स्कुलबाट घर फर्कने बेला झ्यालमाथि चढेर साथीहरूसँग लुकीलुकी रिहर्सल हेरेकी थिएँ,’ अमेरिकामा रहेकी उषा दुःखी सुनिन्छिन्, ‘दुई वर्ष पहिले मेरो उपन्यास ‘आधि’ को विमोचनमा काका बराबरको मानिसलाई दाइ भनेको भनेर हँसाउनुभएको थियो । म उहाँको सेन्स अफ ह्युमरको प्रशंसक हुँ ।’

विमोचन कार्यक्रममै चेतनले ‘महिलाहरू नै महिलामैत्री नभएको’ बारे बोल्दा नारीवादीको हुटिङ खेप्नुपरेको थियो । ‘सौतादेखि सासू बन्ने नारी होइनन् र ?’ उनले प्रश्न गरेका थिए । ‘पोलिटिकल करेक्ट’ हुनुभन्दा पनि मनमा लागेका कुरा निर्धक्क बोल्ने उनको स्वभाव थियो ।

स्मरणीय के छ भने लोक गायक झलकमान गन्धर्वको सर्वकालीक गीत ‘हे बरै, आमाले सोध्लिन् नि’ बोलको गीत सर्वप्रथम त्यही नाटक ‘आत्मा बेचेको छैन’ मा प्रयोग भएको थियो । त्यो गीत चेतनले झलकमानका बुबा दुर्गबहादुर मिजारको मुखबाट सुनेका थिए । नाटक मञ्चनका बेला दुर्गबहादुरलाई सन्चो नभएकाले झलकमानले मौका पाए ।

‘त्यतिबेला मलाई लोकगायकका रुपमा नचिन्ने कोही थिएन । कास्की र वरपरका जुन गाउँमा कार्यक्रम भए पनि निमन्त्रणा आउँथ्यो । तीन दिन र तीन रात लगातार अर्मलाको रोधीघरमा दोहोरी गाएर म पोखरा फर्किंदै थिएँ । घोडाभरी कोसेलीमा पाएका रक्सी भरिएका भाँडा थिए । बाटुलेचौरको गन्धर्व बस्तीमा आइपुग्दा मलाई फेरि रक्सी थप्न मन लाग्यो,’ उनी ‘नोस्टाल्जिक’ भएर सुनाउँथे, ‘त्यहीँ दुर्गाबहादुर मिजारको गीतले मलाई यति छोएछ कि घर गएर सबै गीत टिपेर राखें ।’ त्यही रात उनी घरनजिकै लडेछन् । त्यो घोडा कति ज्ञानी भने बिहानी शीतले चेतन ब्यूँझँदा नजिकै बसिरहेको रहेछ ।

पोखरामा उनले नाटकमात्र प्रदर्शन गरेनन्, नरबहादुर शेरचनको संरक्षकत्वमा हिमाली सांस्कृतिक परिवार पनि स्थापना गरे । त्यसमा गोपाल योञ्जन, कल्याण शेरचन, पूर्ण नेपाली पनि जोडिएका थिए । एकताका कला क्षेत्रमा त्यसले उधुम मच्चाएको थियो ।

चेतनका अजम्बरी गीतहरू
भन्नु परोइन, ‘कन्यादान’ फिल्मको सदाबहार गीत ‘तीजको लहर आयो बरिलै’ चेतन कार्कीले नै लेखेका हुन् । गीत लेखाउन निर्देशक प्रकाश थापा र उनका छोरा विजय कार्कीको घर पुगेका थिए । त्यसअघि प्रकाश थापाले गीतकार किरण खरेललाई गीत लेख्न लगाउँथे । किरणले नै उनको नाम सिफारिस गरेका रहेछन् ।
तीन दशकसम्म तीजको ‘एन्थम सङ’ जस्तो भएको यो गीतको भाका भने ‘नेपालीले माया मार्‍यो बरिलै’ बाट लिइएको रहेछ । फिल्मका अन्य दुई गीत ‘नजाऊ न मलाई छोडी, मुख मोडी, दिल तोडी च्यान्टे मायालु’ र ‘ढिकिच्याउँ ढिकिच्याउँ घर घर जाँतो’ पनि उनकै सिर्जना हुन् ।
यति मात्र होइन, ‘दाइलाई बोलाऊँ भने लेक स्वर पुग्दैन…’ स्याङजाको अति प्रचलित ‘रोइलो’ लोकभाकामा उनले रचना गरेको गीतमा नातिकाजीले लोकआधुनिक लय भरे भने तारादेवी र भुवन थापा (चन्द) ले गाए २०२० सालमा । स्याङ्जाको आँधीखोले, बागलुङमा गाइने सालेजो र लमजुङको करापुटारमा गाउँने कर्पुटारे भाकालाई दिदीबहिनी मानिन्छ । तर, रोइलो भाका स्याङ्जाको आफ्नै उत्पत्ति मानिएको छ ।

चेतन कार्कीकै गीत हो, ‘कस्तुरी ए ! बास आउँछ भन्छन्, सुनमाया आउँदैन त्यो किन ?’ ‘कान्छी हे कान्छी !’ पनि उनकै सिर्जना हो । उनलाई उखानहरूको भाका पनि मीठो, मर्म पनि मीठो लाग्छ । नारायणगोपाल र अरुणा लामाको स्वर, गोपाल योञ्जनको संगीत र चेतन कार्कीको त्यो गीत चलचित्र संगीतमा मानक नै बन्यो ।

मुम्बईमा बस्ने निर्देशक बिएस थापालाई चेतनले २०४१ सालमा नेपाल बोलाएका थिए, ‘कान्छी’ बनाउन । त्यसको संवाद र गीत चेतनले नै लेखे । थापाले राजा महेन्द्रको निम्तोमा ‘माइतीघर’ बनाइसकेका थिए । चेतनले फिल्ममार्फत पोखराको सौन्दर्यको प्रचार पनि गरे । फिल्मका सबै गीतले राम्रो चर्चा पाए ।

‘पिरतीको के चलन यो, मीठो-मीठो छ जलन यो’, ‘हरियो भन्ने त्यो काँचो पात पहेंलो सुरती जुगै’, ‘मरी नहुने भए के लाउनु पिरती’, ‘उँभो र हेर्दा त्यो कालीलेक उँधोलाई वन छैन, उडी जाऊँ भने म पन्छी हैन, बस्नलाई मन छैन’ बोलका उनका गीतहरू मौलिकताका चुली हुन् ।

चलचित्र ‘कान्छी’ का लागि उनले लेखेको गीत हो, ‘यी ओठ तिम्रा मुस्कान तिम्रै…।’ यसमा गोपाल योञ्जनको संगीत छ । बम्बईमा गएर गीत रेकर्डिङ गर्दा महँगो पर्ने भएकाले ‘कान्छी’ का गीत उषा उत्थुपको कलकत्तामा भरखरै खुलेको रेकर्डिङ स्टुडियो ‘भाइब्रेसन’मा रेकर्डिङ भएका थिए । आशा भोसलेलाई कलकत्ता बोलाउँदा झनै महँगो पर्ने भएकाले दार्जिलिङबाट अरुणा लामालाई बोलाइयो र गीत गाउन लगाइयो ।

फिल्म निर्देशक सायमिका अनुसार नेपालमा पहिलो पटक विशाल लायन क्लबले गरेको पहिलो राष्ट्रिय चलचित्र महोत्सवमा ‘कान्छी’को यही गीतमा शब्द रचनाका लागि चेतन, संगीतका लागि गोपाल योञ्जन र गायनका लागि अरुण लामालाई उत्कृष्टताको अवार्ड दिइएको थियो ।

२०४३ सालमा भएको त्यो समारोहमा चेतनले लेखेको ‘कान्छी’ कै ‘छोरीको जन्म हारेको कर्म’ बोलको निम्ति सर्वश्रेष्ठ गायकको अवार्ड दिइने निर्णय भए पनि नारायणगोपालले अस्वीकार गरिदिए । उनको अस्वीकृतिका पछाडि एउटै कारण थियो– पुरस्कार थापेपछि सित्तैँमा गीत नगाउने ।

आयोजक नारायणगोपाललाई पुरस्कार थाप्नभन्दा पनि गीत गाउन बाध्य बनाइरहेको थियो । उनले आफू मात्र पुरस्कार नलिने होइनन्, अरुलाई पनि सित्तैँमा गीत गाउन नदिन भरमग्दूर प्रयास गरे । जसमध्ये गायिका ज्ञानु राणा, तारा थापा र सुक्मित गुरुङले नारायणगोपालको प्रभावमा परेर गीत गाएनन् ।

रोचक के भने कार्कीको निर्देशन रहेको पहिलो चलचित् ‘विश्वास’ मा नारायणगोपालले सिक्दै गरेको गीत रेकर्डिङ गर्नु अघिल्लो हप्ता गाउँदिन भनेर इन्कार गरिदिएका थिए । नारायण गोपाल अलि एकोहोरो स्वभावका भएकाले चेतन कार्की ‘गैंडा’ भन्थे ।

‘सांगीतिक रुपमा स्वरसम्राट्का रुपमा स्थापित नारायणगोपाल व्यक्तिगत रुपमा भने ठाडो स्वभावका मान्छे हुन् । उनका धेरै साथी थिएनन् । ठूलो आवाजमा बोल्थे,’ चेतनले सम्झेका छन्, ‘विश्वास बनाउँदा मैले उनका लागि एउटा गीत लेखेको थिएँ । गोपाल योञ्जनले संगीत गर्ने तय भएको थियो । गीत रेकर्ड गर्न कलकत्ता जानुभन्दा चार दिनअघि ‘मेरो छातीमा समस्या छ, म नजाउँ क्यारे’ भने, त्यसपछि भने हाम्रो सहकार्य भएन । यो व्यक्तिगत कुरा भयो ।’

‘आउटसाइडर’ को नियति
‘मल्टिपर्सोनाज’ चेतन कार्कीका नेपाली, हिन्दी र उर्दू तीनै भाषामा कवितासंग्रह प्रकाशित छन् । ‘जून निदाउन थाल्यो’, ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’, ‘माया–प्रीतिको चोखो कथा’ उनका प्रकाशित संग्रह हुन् । हिन्दीमा ‘कल्पना टुट चुकी है’ र उर्दूमा ‘दिल जिगर के टुकडे’ कवितासंग्रह छन् । अंग्रेजीमा ‘साइट, साउन्ड एन्ड पल्स’ उनको सहलेखनमा प्रकाशित छ ।

कार्कीको ८२ औं जन्मोत्सवका अवसरमा लायन्स क्लब अफ काठमाडौं, हिमचुली ठमेलले एकल कविता वाचन तथा सम्मान आयोजना गरेको थियो । उनको साहित्यिक रचनाकर्मको सुरुवात र प्रकाशन देहरादूनको स्कुले जीवनमै हिन्दी कविता लेखेर भएको थियो, सन् १९५२ मा ।

‘बसिबियाँलो’ (कथासंग्रह), ‘आत्मा बेचेको छैन’, ‘हनिमुन’ र ‘ढलेको गिलास’ उनका प्रकाशित उपन्यास हुन् । अचम्म त के भने तीजको गीतमा सैनी र दामलीजस्ता शब्द प्रयोग गर्ने चेतन संस्कृतका पनि सूक्ष्म ज्ञाता थिए । संस्कृतज्ञका रचनामा खोट देखाइदिन्थे । उनकी पत्नी गंगा कार्कीले शंकराचार्यको रचना ‘वेदान्त सारसंग्रह’ अनुवाद गरेकी छन् ।

र, अन्त्यमा, गोपाल योञ्जनलाई उनकी आमासँग मागेर ल्याएका थिए नगेन्द्र थापाले । तर नेपालमा उनको गाइड, मेन्टर, अभिभावक, संरक्षक बने चेतन कार्की । उनीहरूबीच दाजुभाइको सम्बन्ध थियो । २०५४ जेठ ७ गते गोपाल योञ्जनको निधनपछि सरकारसँग राष्ट्रिय सम्मान मागेका थिए, चेतनले । त्यसमा आनाकानी गरिएपछि चेतन आफैँले उनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए ।

यसपाला चेतन कार्कीले पनि सरकारका तर्फबाट ‘आउटसाइडर’ कै व्यवहार झेले । कोरोना महामारी र लकडाउनका बीच प्रधानमन्त्री केपी ओलीले ट्वीट गरे र संस्कृतिमन्त्रीको शोक वक्तव्य आयो, बस् । जनताको सम्मान भने सामाजिक सञ्जालमा देखियो । सायद एक स्रष्टा र कलाकारका रुपमा उनले यो भन्दा बढी आशा गरेका थिएनन् ।