दिनाङ्क १७ मई, २०२१ तदनुसार जेठ ३ गते, २०७८ का दिन बिहानै फेसबुकको माध्यमबाट राजेन्द्र सुवेदी सरको दुःखद् निधन भएको सूचना रमेश शुभेच्छुले राख्नुभएको रहेछ। एकछिनपछि भटाभट अन्य धेरैबाट सुवेदी सरको भव्य फोटोसहितको शोक सम्वेदनाका अरू पोस्ट आए। मेरा मनमा उहाँप्रतिका भावना तरङ्गित भए। उहाँ शरीरले मोटो घाटो, डालिलो, प्रायः छ फिट अग्ला, गहुँगोरो हुनुहुनथ्यो। राजेन्द्र सरले मलाई पढाउनु भएको होइन तर उहाँसित २०५५ देखि नै चिनजान भएको थियो। विशेष काम भएर त्रिभुवन विश्वविद्याय जाँदा नेपली विभागमा उहाँ बस्नुभएको थियो। उहाँसित चिजान गरेपछि आफू आएको कारण र घर कालिम्पोङ हो भन्दा निकै चासो दिनुभयो । भेटेको पहिलो दिन नै स्नेह दर्शाउनुभएको थियो। त्यसपछि उहाँको पसलको ठेगाना दिएर बोलाउनु भयो। म र मेरा मित्र आनन्द खड्का पनि मसित हुनुहुनथ्यो । उहाँको पाठ्यसामग्री पसलमा पुगेपछि धेरै साहित्यिक चर्चा भए, कालिम्पोङको कुरा भयो । उहाँ त कालिम्पोङको कुमदिनी विद्यालय पढ्नुभएको रहेछ। हाम्रो गाउँतिर पनि अलिकति जान्नुहुँदो रहेछ । उहाँले स्नेह गरेर आफैँले लेखेर भर्खरै प्रकाशित भएको सृजनविधाको परिधिमा पारिजात भन्ने पुस्तक पनि एक प्रति निःशुल्क दिनुभएको थियो।

राजेन्द्र सुवेदी

त्यसपछि अर्कोपल्ट काठमाडौं जाँदा पनि पाठ्यसामाग्री पसलमा भेटेको थिएँ। विभिन्न विषयमा सामान्य चर्चा भए। त्यसपछि उहाँ एकपटक श्रीमतीसहित एक जना आफन्त लिएर भानुभक्त आचार्यको २०० औं जन्म जयन्तीको बृहत् कार्यक्रम गर्नेबारेमा छलफल गर्न दार्जीलिङ आउनुभएको थियो । दार्जीलिङ आएका बेला नेपाली साहित्य सम्मेलनका पदाधिकारीसित छलफल गर्नुभयो । दार्जीलिङ सरकारी महाविद्यालयकी तत्कालीन प्राचार्य डा. ललिता राई अहमदको आयोजनामा, स्नातकोत्तर नेपाली विभागको आयोजनामा भव्य रूपमा उहाँको स्वागत समारोह राखिएको थियो। यस दिन ललिता गुरूमाले सरका बारेमा सारगर्भित परिचयात्मक स्वागत सम्बोधन गर्नुभएको थियो । सुवेदी सरले पनि दार्जीलिङप्रतिको आफ्नो विचार, नेपाली साहित्यको विकासमा दार्जीलिङको योगदानबारे विचार व्यक्त गर्नुभएको थियो ।

त्यसपछि २०७५ सालको माघ महिनामा श्रीमती र कान्छो छोरो लिएर काठमाडौं गएका बेला सरसित विशेष भेट भएको थियो। त्यतिबेला एक दिन दिउँसो कोटेश्वरस्थित उहाँको घर गएका थियौं। त्यहाँ सरले बडो हार्दिकताले आफ्नो अध्ययन कक्षमा राखेर स्वागत गर्नुभयो। उहाँसित फोटो खिच्यौं। गुरूमाले पनि चियापान गराउनु भयो। मेरो कान्छा छोराले सरको घरभित्रको अन्य कोठा चहार्यो, रगरग गर्दैथियो। सरले बडो रमाइलो मानेर हेर्नुभयो। उहाँले त्यहीँ नै रमेश शुभेच्छु, धीरकुमार श्रेष्ठ, महेश प्रसाइँ आदिलाई बोलाउनु भयो। उहाँहरू आएपछि मेरो नयाँ पुस्तक साहित्य सन्धानको काठमाडौंमा विधिवत् लोकार्पण गर्ने सर-सल्लाह छलफल गर्नुभयो, फोनमा अरूलाई राम्रोसित आयोजना गर्न सहयोग माग्नुभयो। त्यसको तीन दिनपछि (मिति बिर्सेँ) बिहान सात बजे टिकाथलीस्थित त्रिपुरसङ्गमको एउटा हलमा कार्यक्रम तय भयो। सरको कोठा नै सानोतिनो पुस्तकालय लागेको थियो। धेरै पुस्तकहरू टेबलभरि, आलमारीभऱि अटाइनअटाइ राखिएका थिए । सरले लेखनकार्य जम्मै कम्युटरमा सोझै गर्नुहुँदो रहेछ। मलाई पनि कम्युटरमा कम्पोज गर्ने बानी गर्नुपर्छ, सो गरे धेरै लाभ हुन्छ भन्ने सुझाव दिनुभयो। उहाँको त अझ मगजमा आएजति सँगसँगै हातले कम्पुटरमा टङ्कन गर्न सक्नुहुन्थ्यो भन्ने कुरा बताउऩु भयो।

नवीन पौड्याल (कालिम्पोङ)

मेरो पुस्तक साहित्य सन्धानको कार्यक्रमको दिन कार्यक्रमका सभापति महेश प्रसाइँज्यू हुनुहुनथ्यो भने मुख्य उहाँ आफैँ र अन्य मन्चमा थियौं। कार्यक्रमको सञ्चालन रमेश शुभेच्छु हुनुहुन्थ्यो भने पुस्तक निरूपण शुभेच्छुज्यू । सरले मेरो किताबको महत्त्व, भारत र नेपालको नेपाली भाषाको सम्बन्ध आदिबारे सारगर्भित विचार व्यक्त गर्नुभएको थियो। कालिम्पोङमा बस्ने लेखकको पुस्तक काठमाडौंमा लोकार्पित हुन पाउँदा गर्वित भएको थिएँ। कार्यक्रम हुनुमा सरको नै स्नेह र आशीर्वाद थियो। त्यसमा अरू ठुला ठुला लेखकहरू आउनुभएको थियो। भुवनहरि सिक्देल, विधान आचार्य, दिव्य गिरी, निर्मोही व्यास, शङ्कर भारती आदि आउनुभएको सम्झना छ ।

पछि २०७६ मा पनि माघ महिनामा एकपटक काठमाडौं गएको थिएँ। त्यति बेला म त्यहाँ गएको कुरा जनाउँदा उहाँको घर बोलाउनु भयो। मलाई फोनमा नै घरको ठिक अवस्थान बताउनु भयो। त्यति बेला कालिम्पोङको फेरि कुरा भए। कुमुदिनी स्कुलमा टिकाराम शर्मा सरसँगै उहाँ पनि स्कुलबाट मेट्रिक लिएर निस्कनु भएको रहेछ। कालिम्पोङमा प्रिमताम पथस्थित कोइराला पण्डितको संस्कृत पाठशालाको आश्रममा बसेर कुमुदिनी स्कुलमा सातौंदेखि दशौं कक्षासम्म पढ्नुभएको रहेछ। उहाँ एकपटक कालिम्पोङ आउने, उहाँले आफू बसेको आश्रमको कोठा हेर्ने इच्छा गर्नुभएको थियो।

पोहोरको वर्ष कोरोनाकालीन लकडाउनमा पाँचथर स्रष्टा मञ्चको अनलाइन कवि गोष्ठी भएको थियो। त्यसमा रमेश शुभेच्छुज्यू र उहाँहरूको टोलीले मलाई पर्यवेक्षक वा पठित कविताहरूको टिप्पणी गर्ने अवसर दिनुभएको थियो। राजेन्द्र सर उक्त कार्यक्रमका मुख्य अतिथिका रूपमा हुनुहुन्थ्यो। त्यति बेला कार्यक्रम सुरू हुनुभन्दा एकछिन पहिले मलाई कुमुदिनी स्कुल र आश्रमको फोटो खिचेर पठाइदिनु भनी अह्राउनु भयो। मैले अलिक पछि भए पनि कमल सुवेदीज्यूको मेसेन्सरमार्फत् पठाएको थिएँ । शायद सरले हेर्नुभएको थियो होला ।

राजेन्द्र सुवेदी सर यता भारतका प्रायः धेरैजसो साहित्यकारसित सुसम्पर्कित, न्यानो सम्बन्ध राख्नुहुन्थ्यो । उहाँले दार्जीलिङ, सिक्किम, आसाम, मणिपुरतिर पुग्नुभएको, धेरै साहित्यकारसित सुसम्बन्ध राख्नुभएको थियो । ती ठाउँमा आफैं घुमी घुमी साहित्यकारसित सम्पर्क राख्नुभएको थियो । यताको नेपाली साहित्यलाई उहाँले विशेष महत्त्व दिनुहुन्थ्यो। मेरो एउटा लेखलाई उहाँले सम्पादन गर्नुभएको ‘रत्न नेपाली बृहत् समालोचना’ को तेस्रो ठेलीको निम्ति एउटा लेख दिनु भन्नुभयो । मैले पेनड्राइभ बोकेको थिएँ । केही लेख त्यहीँ दिएँ तर फर्केर आएपछि मेलमा पठाएको पनि थिएँ। अहिले त्यो  तेस्रो ठेली निस्क्यो वा निस्केको छैन, मलाई थाहा भएन ।

उहाँको सुपुत्र कमल सुवेदीज्यू पनि उस्तै सहृदयी, मिलनसार हुनुहुन्छ । कमलजी पनि कालिम्पोङ, सिक्किम, दार्जीलिङ, असमका ठाउँ र साहित्यकारहरूका बारेमा धेरै ज्ञान राख्नुहुन्छ।

सुवेदी सरकाे व्यक्तित्वमा विभिन्न आयामहरू थिए । एक कवि, निबन्धकार, कुशल समालोचक, सिद्धहस्त सम्पादक, प्रकाशक हुनुहुन्थ्यो उहाँ । यद्यपि उहाँ एक प्रिय र आदर्श शिक्षक, दक्ष प्रशासक र एक असल मानिस पनि हुनुहुन्थ्यो । उहाँले पैंतीस वर्षभन्दा बढी क्याम्पस र विश्ववियालयका विद्यार्थीहरूका निम्ति प्यारो र आदर्श गुरू हुनुहुन्थ्यो । उहाँका धेरै विद्यार्थीहरू अहिले त्रिभुवन विश्वविद्यालय, प्रशासनिक सेवा, विद्यालय आदिमा कार्यरत् छन् ।

एक कुशल साहित्यकार हुनुहुनथ्यो उहाँ । उहाँ एक सशक्त स्रष्टा र द्रष्टा दुवै हुनुहन्थ्यो । उहाँले सजिलैसँग छन्दमा कविता लेख्नुसक्नु हुन्थ्यो । उहाँको छन्दोबद्ध ‘आत्मनिर्णय’ महाकाव्य प्रकाशित छ। यसमा नेपालको उत्पत्ति, सुवेदीहरूको उत्पत्ति र पृष्ठभूमि, नेपालका विभिन्न भूभागको सौन्दर्य वर्णन गरिएको छ।

उहाँ एक कुशल निबन्धकार हुनुहुनथ्यो । समालोचनामा पनि उस्तै उचाइमा हुनुहुन्थ्यो । पछिल्लोपटक उहाँको सांस्कृतिक समालोचना र नेपाली साहित्य पुस्तकमा अहिले नयाँ नयाँ पाश्चात्यसाहित्य सिद्धान्तको व्याख्या र तिनको नेपाली साहित्य सन्दर्भको समीक्षा गरेका छन् । उहाँको ‘नेपाली समालोचना परम्परा र प्रवृत्ति’ पुस्तकमा पनि नेपाली समालोचनाको इतिहास, परम्परा, कालविभाजन र प्रत्येक चरणको प्रवृत्ति र समालोचकहरूको बारेमा सम्यक् चर्चा गरिएको छ ।

यीबाहेक उहाँका अन्य धेरै पुस्तक प्रकाशित छन् । तीमध्ये ‘विषय गहन सतह चिन्तन’, ‘नेपाली उपन्यास परम्परा र प्रवृत्ति’, ‘स्रष्टा सृष्टि द्रष्टा द्रष्टि’, ‘स्रष्टा देवकोटा द्रष्टा परिवेश’मा आदि उच्च अध्ययनका निम्ति आधिकारिक सन्दर्भग्रन्थका रूपमा रहेका छन् ।

२००२ मा अमरपुर पाँचथरमा जन्मनुभएको सुवेदी सर आफ्नो जीवनकालमा विभिन्न ठाउँको पानी पिउनुभएको थियो। कता कता पढ्दै जाँदा कालिम्पोङमा केही वर्ष बस्नुभयो । इलामको महेन्द्र रत्न कलेजका संस्थापक अध्यक्ष, मेची क्याम्पसमा प्राध्यापन गर्दै त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय नेपाली विभागमा विभिन्न तह हुँदै प्रोफेसरसम्म बन्नुभएको थियो । उहाँ आफ्नो जिउडालले मात्र होइन, मनले, कर्तव्यले, लेखनले, उच्च गुणस्तरीय पुस्तकहरूले, स्नेह, सद्व्यवहार, आदर्शत्वले पनि ‘जायन्ट’ हुनुहुनथ्यो । उहाँ प्रगतिशील साहित्यकार हुनुहुन्थ्यो भन्ने भनाइ छ, तर उहाँका कुनै कृतिमा झण्डावादी प्रगतिवादिता भएको जस्तो लागेन ।

काठमाडौंमा मेरा नजिकैका, मलाई सही मार्गनिर्देशन दिने एक जना मूल खम्बा ढल्दा परेको पीडा अनुभव गर्दैछु । उहाँलाई कोरोनाले लगे पनि उहाँका विचार, वचन, लेखन, सद्व्यावहार सदिच्छाले उहाँ हामीमाझ जीवित हुनुहुन्छ। उहाँको हजारौं विद्यार्थीमाझ आदर्श सर भएर रहनुहुनेछ, पुस्तकहरूभित्र विचारहरूमाझ धेरै पछिसम्म रहनुहुनेछ।

मृत्योर्मा अमृतम् गमय ! शान्ति ! शान्ति !! शान्ति !!!