कहिलेकाहीँ एकै नाम भएका व्यक्ति साहित्यमा कलम चलाउँदा पाठकहरू दिग्भ्रमित हुनु स्वभाविक हो । म विद्यार्थी छँदा सधैँ भ्रमित हुन्थे एकै नामको दुई व्यक्ति लिएर । पाठ्यक्रममा नै थिए दुवैको कृति । महानन्द सापकोटाको कविता ‘मनलहरी’ र महानन्द पौड्यालको कथा ‘पाँडेकाजी’ । यी दुवै नामले मलाई अन्योलमा पार्थ्यो, कस्ले के लेखेको भनेर । केही वर्षपछि थाहा पाएँ, दुवै भिन्नै व्यक्ति रहेछन् । एकजना नेपालतिर अर्काचाहिँ सिक्किमतिर बस्ने रहेछन् । एक कवि, निबन्धकार र भाषाशास्त्री अर्का कथाकार, निबन्धकार अनि सम्पादक । महानन्द पौड्याललाई भेट्ने साइत त कहिल्यै जुरेन तर उनले लेखेका केही कृति र लेख रचनाहरू सानैमा पढ्ने मौका पाएँ । एक वर्षअगाडि मात्रै थाहा भयो उनी सन् २०१८-मा नै ८३ वर्षको उमेर परलोक भइसक्नुभएछ । झन् वि.सं. २०३५ सालमै बित्नुभएका महानन्द सापकोटालाई त भेट्ने कुरै भएन ।
सन् १९५५ देखि १९७० सम्म झन्डै १५ वर्ष यायावर जीवन बिताएका पौड्याल त्यस समयावधिमा काठमाडौँबाहेक कुनै ठाँउ पनि एक वर्षभन्दा बढी नबसेको एउटा अन्तर्वातामा अभिव्यक्त गर्नुभएको छ । उमेरमा अच्छा राई ‘रसिक’ र नरेन्द्र कुमाई भन्दा कान्छो भए पनि उनीहरूसँग सङ्गत गर्ने अवसर पाएका महानन्द सरमा सानैमा साहित्य चेत आउनु स्वभाविक थियो । कालिम्पोङको एस्. यु. एम्. आई. स्कुल पढदा रणधीर सुब्बा (पछि नेपालमा मन्त्री र त्रिभुवन विश्वविद्यालयका उपकुलपति पनि बने), के. डी. प्रधान, टीकाराम शर्मा (भारतबाट नेपालको शिक्षालाई सहयोग गर्ने हेतुले नेपाल आएका प्रमुख व्यक्तित्व मध्येमा एक जसले नेपाली अनुवाद साहित्य धनी बनाए ), शिवकुमार राई, पञ्चरत्न प्रधानजस्ता सक्रिय राजनीतिज्ञ र लेखकहरूसँग सङ्गत भयो पौड्यालको त्यसबखत । उनका गुरु पनि थिए गोर्खालिगको मुखपत्र ‘गोर्खा’-का सम्पादक टीकाराम शर्मा । अनि कवि धरणीधर शर्मा, रामकृष्ण शर्मा जस्ता दिग्गज साहित्यकारहरूको सानिध्यमा रहे उनी । यसरी साहित्यमा धकेलिए महानन्द पौड्याल सन् चालिसको दशकमा । ९० वर्षअगि कालिम्पोङमा जन्मँदा कालिम्पोङ निकै हराभरा थियो । एकातिर तिब्बततिरको व्यापारको मूल ढोका नै थियो त्यो सहर भने अर्कोतिर सिक्किम र भुटानको राजकीय परिवारको क्रीडास्थल । दार्जीलिङ र कालिम्पोङका साहित्यकारहरू नरबहादुर दाहाल, अगमसिंह गिरी, बीरविक्रम गुरूङ, मनबहादुर गुरुङ, गणेशबहादुर प्रसाइँ, सी. बी. प्रधान, जी. छिरीङहरूसँगको उठबसले महानन्द पौड्यालभित्र एककिसिमको साहित्यमा लाग्ने हुटहुटी चल्यो । नेपाल बसाइमा सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद धिमिरे, कमल दीक्षित आदिको नजिकमा रहेर साहित्य साधना गरे । लेखक नवीन पौड्यालका अनुसार उनी केही वर्ष नेपालमा तत्कालीन प्रधानमन्त्री डा. तुलसी गिरीको विशेष सचिव भएर नेपालमा पनि काम गरेका थिए ।
सन् १७८८ मा दामदोर पाँडेको नेतृत्वमा आएको नेपाली सेनाले सिक्किमको केही भूभाग कब्जा गरेको ऐतिहासिक तथ्य छ ( दामोदर पाँडेनै आएको हो वा अरू कोही भन्ने विषयलाई पुष्टि गर्ने अझै बाँकी छ) । ती भूभाग नेपालमा गाभिएर सन् १८१६ सम्म नेपालै अधिनमा रहे तथ्य इतिहासले बताउँछ । नेपाली सेनाले जितेको कथा ‘पाँडेकाजी’ लेखे पौड्यालले । उनले जिन्दगीमा १४ वटा जागिर खाए । यो कथाले पनि तीमध्ये एक जागिर खाइदियो । कथा लेखनमा विशिष्टता हासिल गरेका पौड्यालले धेरै कथाहरू लेखेका छन् । उनको कथाकारिताको प्रवृत्ति केलाउँदै समालोचक नवीन पौड्याल लेख्छन्,”पौड्यालले मूल रूपमा एक सफल कथाकार हुन् भने संस्मरण पनि प्रशस्त लेखेका थिए । उनी नवचेतनावादी धाराका एक यथार्थवादी कथाकार हुन् । उनका कथामा इतिहास चेतना, सामन्ती व्यवस्थाको विरोध, नारीको हक र समानाधिकारको सन्देश, लोकतत्त्वको प्रयोग, सामाजिक यथार्थवाद, मनोविज्ञानका विभिन्न पक्षको समुचित प्रयोग पाइन्छन् । उनका केही कथाहरू जस्तै ‘पाँडे काजी’ ‘हवल्दारु’, ‘अपूर्व देशभक्ति’, ‘बूढाबूढी’ आदि कथा इतिहाससित गाँसिएका थिए । इतिहासका आलिखित पानाहरूलाई कथावस्तु बनाई जीवन्त पारी पाठकहरूलाई वास्तविकता भ्रम सिर्जना गर्न उनी सिपालु थिए । यसैगरी उनी मान्छेका मनका अन्तर-कुन्तर चहारी मनोवैज्ञानिकता दिन पनि सक्षम थिए भने यौन मनोविज्ञानलाई पनि आफ्ना पात्र-पात्रामार्फत कथालाई जीवन्तता दिने गरेका थिए ।”
मैले लिएको एक अन्तवार्तामा पारिजातले भनेको थिइन् वाद र सिद्धान्तपछि समालोचकहरूले झुन्डाइदिएको हो । यस्तै विचार व्यक्त गर्छन् महानन्द पौड्यालले वासुदेव पुलामीलाई दिनुभएको एक अन्तर्वातामा । उनी भन्छन्,”कवि लेखकको काम लेख्नु, लेखिरहनु हो । वाद र सिद्धान्त भन्ने कुरा समालोचक, समीक्षक, साहित्यका इतिहासकारहरूको हो तर आफूले सोचेको वादको अन्धाधुन्धा प्रचार गर्नुजस्ता कामको उपादेयता मैले बुझ्न सोजस्ता कुराको आवश्यकताको औचित्य छ भनेर म भन्न सक्तिनँ । मेरो विचारमा पाठकवर्गले बुझ्न नसक्ने साहित्यलाई त म कृत्रिम साहित्य मान्दछु । आज नबुझ्ने साहित्य पचास वर्षपछि बुझेर के गर्नु ? कति कवि कथाकार यस्ता नयाँ प्रयोग गर्न खोज्छन् तर पाठकले घोर निन्दा गरेको र कति त निन्दा खप्न नसकेर कालकवलित भएको पनि देखेको छु । कुरा साँचो पनि हो तर मेरा लागि म हिँडिरहेको गोरेटो नै मनपर्छ । यस्ता वाद र सिद्धान्तलाई म नमस्कार गर्छु, स्वागत चाहिँ गर्दिनँ । हुनसक्छ यो मेरो सीमित योग्यताको परिचायक हो ।”
महानन्द पौड्यालले साहित्यमा प्रवेश नियात्राबाट गरेका हुन् । उनको ‘मेरो प्रथम दार्जीलिङ यात्रा’ सन् १९४९-मा प्रकाशित भएको थियो तर कतिपय लेखकहरूले उनले ‘मित्रवर्गप्रति’ कविता आफूले अध्ययन गरेको स्कुल अथवा कलेजको वार्षिक पत्रिका ‘सुमाइट‘-मा सन् १९५२- मा प्रकाशित गरेर साहित्यिक यात्रा सुरु गरेको जानकारी दिएको पाउँछौँ । साथै उनको प्रथम कथा ‘अतिथि सत्कार’, ‘गोर्खा’ साप्ताहिकमा सन् १९५२-मा प्रकाशित भएको तथ्य पनि सार्वजनिक भएको छ ।
मूर्धन्य लेखक तथा समालोचक गुप्त प्रधानले सलुवा, पश्चिम बङ्गाल, भारतबाट विकास कार्कीको सम्पादनमा अगमसिंह गिरी संस्थानद्वारा प्रकाशित हुने ‘परदेशी’ पत्रिकाको ‘महानन्द पौड्यान अभिनन्दन’ अङ्कमा ( सन् २०१३) महानन्द पौड्यालको कृतित्वको सम्पूर्णरूपमा निरूपण गर्दै लेख्छन्, ” सन् १९८८-मा प्रकाशनमा ल्याएपछि मात्र उनको वास्तविक साहित्यिक व्यक्तित्वको परिचय बाहिर प्रकाशमा आयो । सन् १९३१-मा जन्म ग्रहण गरेका पौड्यालज्यूले आफ्नो उमेरको ५७ वर्षमा मात्र यसरी यस कथासङ्ग्रहलाई प्रकाशनमा ल्याउने काम गरे अनि फेरि यसै साल ‘हाम्रा केही लोककथा‘ (लोकथासङ्ग्रह), र ‘सेक्सपियरका केही नाट्य कथा’ (अङ्ग्रेजीबाट भावानुवाद)लाई पनि प्रकाशनमा ल्याए । यसरी एकाएक एउटै वर्षमा आफ्ना तीनवटा कृतिहरूलाई प्रकाशनमा ल्याएपछि फेरि १० वर्षपश्चात् सन् १९९८-मा मात्र आफ्ना बीसवटा रचनाहरूको सङ्कलन ‘विचरण आफ्नै क्षितिजभित्र’-लाई उनले प्रकाशित गर्ने काम गरे । यस सङ्कलनमा १९७१ देखि १९९७ सालसम्म लेखिएका कतिपय संस्मरणात्मक, अनुसन्धानात्मक लेखहरू, भाषा एवम् व्याकरणका परिचर्चा साथै अन्य विभिन्न लेखहरू संलग्न छन् । यसरी नै समाजमा घटेका घटनाहरू आफ्नै जीवनमा उनले भोगेका कुराहरूमाथि लेखिएको लेखहरू अनि विभिन्न साहित्यिक कृतिहरू तथा विषयहरूमाथि लेखिएका समीक्षात्मक लेखहरू लगयात अन्य विभिन्न विषयहरूमाथि लेखिएका लेखहरूलाई सङ्कलित रूप दिई सन् २००३-मा प्रकाशनमा ल्याइएको पुस्तक हो ‘भाषा-साहित्य बाहू बखान‘ । यस सङ्ग्रहको ‘टिपन-टापन: फर्केर हेर्दा-प्रति थप कुरा’-मा पारसमणि प्रधानका ‘टिपन टापन’ नामक ग्रन्थको प्रथम खण्डले नेपालको मदन पुरस्कार पाएवापत् पौड्यालज्यूले साहित्यमाथि भाइचारा भएको तर्कलाई गहकिलो रूपले प्रस्तुत गरेका छन् भने ‘गोर्खा‘ साप्ताहिकको पक्षमा’ लेखमा पौड्यालज्यूको सहयोगमा निस्कने साप्ताहिक पत्रिका ‘गोर्खा’-को विरोधमा डा. बरालले लेखेका कुरामाथि गतिलो प्रतिक्रिया जनाउँदै आफ्नो उत्तर प्रस्तुत गर्ने काम गरेका छन् । पौड्यालज्यू भन्छन्, “साहित्यकार भएपछि समाजको कदर गर्नुपर्छ । लेख्ने लेखकहरूनै पथभ्रान्त छ भने पाठक त्यस्तै हुन्छ । फलस्वरूप विकासशील समाज एउटा कल्पना मात्र हुन्छ । त्यस्ता साहित्य जसले समाजमा हानि पुऱ्याउँछ, त्यसलाई नलेखेकै नपढेकै बेस । यसरी पौड्यालज्यूले आफ्नो समालोचनात्मक विवरणहरूमा पनि आफूलाई खट्किएका कुराहरूलाई प्रकट गर्नमा कति पनि नहिच्किचाउने स्वभाव देखाउने गरेका छन्।”
जीवनको उत्तरार्धमा सिक्किममा जागिर र लेखनमा व्यस्त रहे महानन्द पौड्याल । जागिर निवृत्तपछि पनि ऊर्जावान् रहे उनी । लेखनलाई कहिले दोस्रो प्राथमिकतामा राखेनन् । उमेरले नेटो काटिसक्दा पनि उनी अनुसन्धानात्मक कार्यमा व्यस्त रहे । युवा पिढीका सम्पादकद्वय डा. आनन्द खडका अनि प्रा. नवीन पौड्यालकासँग मिलेर ‘सन्धान’ नाउँ गरेका एक शोधमूलक पत्रिकाको सम्पादन गरिरहे । सिक्किमको पाठ्यक्रम विकाश र लेखनमा विशेष योगदान दिनुभयो पौड्यालले, धेरै राजनीतिक पर्चा र चुनाव घोषणा पत्र पनि लेखे । हुन त उनी विद्यार्थी जीवन देखिनै गोर्खालीगसँग आबद्ध भएर काम गरे । राजनैतिक चेत सानैदेखि भएर होला पौड्याल लेखहरूमा निकै स्पष्ट र निठर देखिन्छ ।
महानन्द पौड्यालसँग पाँच दशक लामो सङ्गत गरेका वरिष्ठ लेखक नरबहादुर दाहाल ‘परदेशी पत्रिका’मा लेख्छन्,” हामी त्यसबेला दार्जीलिङको राजनैतिक, सामाजिक, साहित्यिक,सांस्कृतिक गतिविधिमा सक्रिय थियौँ । गोर्खालिगको झन्डामुनि राजनीति हुन्थ्यो । विपक्षी काङ्ग्रेस र कम्युनिस्टको खुलेर आलोचना गऱ्यौँ । नेपालबाट सिद्धिचरण, केदारमान व्यथित, भवानी भिक्षु जो आए पनि साहित्यिक नाताले उनीहरूको सत्कार गऱ्यौँ । साहित्यिक कार्यक्रममा भाग लिन काठमाडौँ पुग्थ्यौँ । धुमधामले भानुजयन्ती मनाउँथ्यौँ । यो कुरा विपक्षी काङ्ग्रेसको सरकारलाई रुचेन । यता हाम्रो जस्तो अवस्था थियो, दार्जीलिङमा अगमसिंह गिरी, गुमानसिंह चामलिङको त्यस्तै अवस्था थियो । सुगौली सन्धीको उच्चारण गर्ने नहुने वृत्तर नेपालको अभियोग लागिहाल्ने । यस्तैमा ३१ दिसम्बर, सन् १९६३, को दिन भरखरै पास भएको भारत सुरक्षा कानूनअन्तर्गत महानन्द पौड्याल र मलाई बन्दी बनाएर सरकारले एक महिना कालिम्पोङ र दुई महिना दार्जीलिङ जेलमा राख्यो । लेखक, कवि भनेर थाहा पाएपछि जेलमा पनि हामी सबैका प्रियपात्र नै थियौँ । जेलमा अरू सबै कुरा राम्रै थियो तर खाना राम्रो हुँदैन्थ्यो ।”
वरिष्ठ साहित्यकार महानन्द पौड्यालले सानै उमेरमा मृत्यु भएका कवि नरेन्द्रप्रसाद कुमार र अच्छा राई ‘रसिक’को सही मूल्याङ्कन नभएकोमा आक्रोश पोख्तै ती दुवै स्रष्ट्राको सम्मानमा दुईवटै पुस्तक सम्पादन गर्नुभएको थियो । ‘कवि नरेन्द्रप्रसाद कुमाईः ओझेलमा पारिएका एक प्रतिभा’ लेखमा उनी लेख्छन्,” प्रतिभाकै कुरा गर्दा त्यो कवि कविता रच्नै भनी जन्मेको थियो। १४-१५ वर्षको उमेरदेखि लेख्न थालेको थियो र पनि त्यसका कवितामा कलिलो उमेरको काँचो गन्ध आएको छैन । उसको एउटै कविता छिः भन्ने किसिमको छैन । कविताका क्षेत्रमा ‘रसिक’ भन्दा सशक्त थियो । गिरी, कटुवाल भन्दा पनि उच्च थियो । गिरी अथवा कटुवालको उमेर पाउँदो हो त त्यस कविले नेपाली साहित्यलाई आफ्नो प्रतिभा-पुञ्जले धन्य धन्य गराउने थियो। उम्केको माछा ठुलो नसम्झुन् कसैले, त्यो कवि साँच्चै नै होनहार थियो ।” महानन्द सरको अरू साहित्यकारप्रति सधैँ सम्मान राख्थे र उनीहरूमाथि लेख्न कन्जुसाइँ गर्दैनथे भन्ने तथ्य ‘परदेशी’मा प्रकाशित प्रा. सपन प्रधानद्वारा लिखित ‘महानन्द पौड्यालको “विचरण आफ्नै क्षितिजभित्र” कृतित्वको अध्ययन’-मा पूर्णरूपमा पाउँछौँ । प्रा. प्रधान लेख्छन्’ ” पौड्याल आफैँ पनि भारतीय नेपाली साहित्यका एकजना सुविज्ञ व्यक्तित्व हुन् । अत: भारतीय समकालीन साहित्यिक व्यक्तित्वहरूका एकांश प्रभाव पौड्यालमा पनि परेको हुँदा उनी त्यस दिग्गज साहित्यिक व्यक्तिहरूका धेरै नजिक थिए । उनका प्रबन्ध रचनामा यस तथ्यको पुष्टि मिल्छ। ‘चर्चा ‘रसिक’–का चर्चायोग्य केही अचर्चित पक्षउपर’ समाविष्ट रचना उदाहरणार्थ छ । यस प्रबन्धमा पौड्यालले नेपाली साहित्यको परम्परामा एकजना उम्दा निबन्धकार, कथाकार, उपन्यासकार, कवि आदि व्यक्तित्वका धनी दार्जीलिङका ख्यातिप्राप्त लेखक ‘अच्छा राई ‘रसिक’को ‘रसिक’ उपनामबारे समग्र कौतुकतालाई तथ्याङ्कन प्रस्तुत गरेका छन् । मात्र २४ बर्से बैँसालु उमेर बाँचेर इहलीला समाप्त गर्ने अच्छा राई ‘रसिक’ माथिको यद्यपि मनन योग्य साहित्यिक जीवनको सारा सन्दर्भलाई पौड्यालले अध्ययनपरक रूपमा विवेचना गरेका छन् भने प्राप्य-अप्राप्य रचनाहरूका परिचयसमेत दिएका छन् । प्रस्तुत रचना स्वतन्त्र पाठकको अतिरिक्त विद्यार्थीलाई पनि पठनीय देखिन्छ । ”
लेखक डिल्लीराम दुलालले आफ्नै अनलाइनमा महानन्द पौड्यालको लेखनकारिता माथि ‘महानन्द पौड्याल : नेपाली साहित्यका एक महारथी’ शीर्षकमा एउटा मनन योग्य लेख लेखेका छन् । उनको बहुमुखि प्रतिभालाई यसरी उजागर गर्छन्,” श्री पौड्याल मूलरूपमा एक सफल कथाकार हुन् भने संस्मरण पनि प्रशस्त लेखेका छन् । उनी नवचेतनावादी धाराका एक यथार्थवादी कथाकार हुन् । उनका कथामा इतिहास चेतना, सामन्ती व्यवस्थाको विरोध, नारीको हक र समानाधिकारको सन्देश, लोकतत्त्वको प्रयोग, सामाजिक यथार्थवाद, मनोविज्ञानका विभिन्न पक्षको समुचित प्रयोग पाइन्छन् । उनका केही कथाहरू जस्तै ‘पाँडे काजी’, ‘हवल्दार’, ‘अपूर्व देशभक्ति’, ‘बूढाबूढी’ आदि कथा इतिहाससित गाँसिएका छन्। इतिहासका अलिखित पानाहरूलाई कथावस्तु बनाई जीवन्त पारी पाठकहरूलाई वास्तविकता भ्रम सिर्जना गर्न उनी सिपालु छन् । यसैगरी उनी मान्छेका मनका अन्तरकुन्तर चहारी मनोवैज्ञानिकता दिन पनि सक्षम छन् भने यौन मनोविज्ञानलाई पनि आफ्ना पात्र-पात्रामार्फत कथालाई जीवन्तता दिने गरेका छन् ।”
उनले मौलिक, अनूदित र अनुसन्धानात्मक गरी एघारवटा पुस्तक लेखे, तेह्रवटा जति पाठ्यपुस्तकको लेखन, सम्पादन र प्रकाशन गरे, आठवटा जति साहित्यिक पत्रिकाको सम्पादन गरे । उनको प्रथम प्रकाशित पुस्तक ‘छन्द र अलङ्कार’ सन् १९७५-मा आकाशदीप प्रकाशन, गान्तोकले प्रकाशित गरेको थियो । अन्य प्रकाशित कृतिहरूमा श्री-कथा (बाल-साहित्य)- सन् १९८८, झुम्राको पुतली (कथासङ्ग्रह)-सन् १९८८, हाम्रा केही लोक-कथा- सन् १९८२ आदि प्रमुख हुन् । उनको सम्पादन र लेखनमा खोजमूलक कृतिहरुः रसिकका केही अप्रकाशित कृति– सन् १९९०, सिक्किमका प्रथम कवि सन्तवीर लिम्बू : कृतीत्व कतिपय, कवि नरेन्द्रप्रसाद कुमाइ : कृतित्व एवं मूल्याङ्कन- सन् २००४, भाषा मान्यताको पृष्ठभूमि : सन्दर्भ नेपाली भाषा (नेपाली भाषा) सन् २००१ र सम्मेलन, सन्दर्भ पुस्तिका- सन् १९९० आदि प्रकाशित भएको छ ।
समालोचक नवीन पौड्यालका अनुसार महानन्द पौड्यालको लेखनमा भाषा सशक्त, स्पष्ट, शुद्ध र धाराप्रवाह पाइन्छ । महानन्द पौड्यालसँगै सहकार्य गरेका नवीनले उनको लेखनशैली र प्रवृत्तिलाई राम्ररी उजागर गरेको पाउँछौँ । नविक पौड्याल लेख्छन् “उनी लेख्दा प्रायः जसो छोटा छोटा वाक्यमा आफ्नो भनाइलाई खुलस्त हुने गरी व्यक्त गर्छन् । प्रायः ठेट नेपाली शब्दहरू प्रयोग गर्छन् । अतः उनी विशिष्ट भाषा र शैलीबाट मानिसको आन्तरिक जीवनका अन्तर्निरीक्षण तथा निम्न ग्रामीण नेपाली समाजको पर्यवेक्षण गर्न सक्षम थिए । उनी आफ्ना कृतिहरूमा देशप्रेम, जातीय सद्भावना र साहित्यिक उत्थान गरी समाजलाई विशिष्ट बनाउन चाहने साहित्यकार हुन् । अतः एक विशिष्ट कथाकार, एक निर्भीक समालोचक, एक दक्ष निबन्धकार, एक दत्तचित्त साहित्यिक अनुसन्धाता, एक कुशल पाठ्यपुस्तक लेखक र एक प्रखर अनुवादक पौड्यालले नेपाली साहित्यलाई प्रायः पाँच दशकअघिदेखि विशिष्ट योगदान दिएका हुन् ।”
महानन्द पौड्यालले नेपाली साहित्यको विविध विधामा कलम चलाए र एक विधालाई मात्र समेटेर लेख्नु उनको बहुमुखी प्रतिभालाई अवमुल्यन गर्नु हो । तर एउटै लेखमा सबै क्षेत्रलाई ओग्टनु असमभ्व प्रायः छ । उनको उत्कृष्ट लेखहरूको संगालो हो विचरण आफ्नै क्षितिजभित्र‘ । यो पुस्तकमा सन् १९७१ देखि १९९७-सम्म प्रकाशित रचनाहरू सङ्ग्रहित छन् । त्यस संग्रहमा उनले सिद्धिचरण श्रेष्ठ, नरेन्द्रप्रसाद कुमाई, अगमसिंह गिरी, धरणीधर कोइराला रामकृष्ण शर्मा, रसिक देखि नेपाली बृहत् शब्दकोष र केही गाउँले शब्द र गायक मास्टर मित्रसेन थापासम्म संस्मरणात्मक/अन्वेषणात्मक तथा समीक्षात्मक लेखहरू लेख्न भ्याए ।
महानन्द पौड्यालको मुल्याङ्कन गर्नु जरुरी छ वर्तमान परिप्रेक्क्षमा । उनले साहित्यको विविध पक्षमा चलाएको कलमले नेपाली साहित्य निकै लाभान्वित भएको छ । उनको लेखनको मुल्याङ्कन गर्दै डिल्लीराम दुलाल लेख्छन्,” श्री पौड्यालले लेखन भाषा सशक्त, स्पष्ट, शुद्ध र धाराप्रवाह पाइन्छ । उनी लेख्दा प्रायः जसो छोटा छोटा वाक्यमा आफ्नो भनाइलाई खुलस्त हुने गरी व्यक्त गर्छन्। प्रायः ठेट नेपाली शब्दहरू प्रयोग गर्छन् । अतः उनी विशिष्ट भाषा र शैलीबाट मानिसको आन्तरिक जीवनका अन्तर्निरीक्षण तथा निम्न ग्रामीण नेपाली समाजको पर्यवेक्षण गर्न सक्षम छन् । उनी आफ्ना कृतिहरूमा देशप्रेम, जातीय सद्भावना र साहित्यिक उत्थान गरी समाजलाई विशिष्ट बनाउन चाहने साहित्यकार हुन् । अतः एक विशिष्ट कथाकार, एक निर्भीक समालोचक, एक दक्ष निबन्धकार, एक दत्तचित्त साहित्यिक अनुसन्धाता, एक कुशल पाठ्यपुस्तक लेखक र एक प्रखर अनुवादक पौड्यालले नेपाली साहित्यलाई प्रायः पाँच दशकअघिदेखि विशिष्ट योगदान दिएका छन् ।”
८७ वर्षको उमेरमा सन् २०१८-मा बित्नुभएका पौड्याल नेपाली साहित्य सम्मेलन पुरस्कार, दार्जीलिङ, भानु पुरस्कार, गान्तोक, शिवकुमार राई पुरस्कार, नाम्ची, डा पारसमणि प्रधान पुरस्कार, कालिम्पोङ आदि पुरस्कारहरूबाट विभूषित हुन भए थिए भने उनलाई धेरै सङ्घ र संस्थाहरूले अभिनन्दन गरेका छन् ।
महानन्द पौड्यालको सटिक मुल्याङ्कन हुन पर्ने आवश्यकतालाई अनुभूत गर्दै प्रा. वासुदेव पुलामीले ‘परदेशी’ पत्रिकामा ‘अन्वेषक साहित्यकार महानन्द पौड्याल कृति अध्ययन’ शीर्षक लेख्छन्,” महानन्द पौड्यालले आफ्नो लगभग पाँच दशक लामो साहित्यिक यात्राको क्रममा साहित्यमा कथा, लेख, निबन्ध, समालोचना, अनुवाद आदि फाँटमा कलम चलाएर विविध कृतिहरू प्रकाशित गरेका छन् भने अनेक पत्र-पत्रिकाहरूको सम्पादन गरेर नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुऱ्याएका छन् । यसप्रकार उनले साहित्यका विधागत क्षेत्रमा पुऱ्याएको योगदानको यताउता फाटफुट चर्चा- परिचर्चा भए पनि समग्रमा मूल्याङ्कन भएको पाइँदैन । त्यसैले यी सम्पूर्ण योगदानको अध्ययन, विश्लेषण र मूल्याङ्कन हुन आवश्यक देखिन्छ । अत: नेपाली साहित्यले उनीबाट के कस्ता उपलब्धि प्राप्त गर्न सक्यो, आफूभन्दा पूर्वको साहित्यिक परम्परालाई उनले के कति आत्मसात् गरे, कस्तो नवीनता दिई आफ्नो साहित्यिक व्यक्तित्वको निर्माण गरेका छन्, उनको लेखनको विधागत प्रवृत्ति र कृतिगत मूल्यहरू के-कस्ता छन् भन्ने विषयको अध्ययन हुन आवश्यक देखिन्छ ।” वासुदेव पुलामीको भनाइसँग सहमत हुदै नेपाल र भारतको नेपाली भाषा र साहित्यको पठन-पाठन हुने विभित्न विश्वविद्यालयहरूमा महानन्द पौड्यालमात्रै होइन उनी जस्तै धेरै सृजनशील व्यक्तित्वमाथि शोध हुन जरुरी छ । दुवै देशको नेपाली साहित्यको नाममा खोलिएको सरकारी तथा गैर-सरकारी निकायहरूले पनि यस्ता विषयमा ध्यान दिनु आवश्यक छ । सिमित साहित्यकारहरूमा मात्र केन्द्रित शोध र समालोचनालाई बृहत्तररूप दिनुपर्छ नत्र भने आगामी दिनमा ती असङ्ख्य साहित्यकारहरूको योगदान निरर्थक भएर जाने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।