कोरोना कालमा हामीले ‘PCR ’ भनेको धेरै सुन्न पायौँ/ सुनिरहेका छौँ I स्वाव टेस्टमा लिएको साम्पल (sample) ल्याबमा लगेर PCR द्वारा नै कोभिड पोजेटिभ/नेगेटिभ छुट्टाइन्छ I PCR (Polymerase Chain Reaction) टेकनिक कोरोना भाइरसको टेस्ट/ड्याइनोसिस टुलमात्रै नभएर मलिक्युलर बायोलोजीको एक महत्त्वपूर्ण आविष्कार हो I PCR लाई साधारणमा बुझ्नु हो भने यसको तुलना जेरोक्स मसिनसित गर्न सकिन्छ, जसले भाइरस/बेक्टिरीया/मानव/कुनै पनि प्राणीको कोषिकाभित्र भएको थोरै न्युक्लिक एसिड (DNA/RNA) को थुप्रै प्रतिलिपिहरू तयार गर्छ I अन्तमा त्यस DNA/RNA को अध्ययन अनि सिक्वेन्सिङ्ग (sequencing) गरेर भाइरस/जीवाणु आदिको पत्तो लगाइन्छ I
प्रयोगशालामा काम गर्दा गर्दा वाक्क लागे वैज्ञानिकहरू ब्रेक लिएर कोही चुरोट तान्छन्, कोही चिया/कफी पिउँछन्, कोही गाना सुन्छन् । PCR को आविष्कारक अमेरिकी वैज्ञानिक क्यारी मुलिस भने ताजा हावा खान सेन फ्रान्सिस्कोको बाटोमा ड्राइभ गर्न निक्लन्थे । यस्तै एक रात्रि उनी ड्राइभमा आफ्नो साथी जेनिफरसित निक्लिए I मुलिस गाडी चलाउँदै आफ्नो मगजलाई वैज्ञानिक समस्याको गाँठो फुकाउन खटाइरहेका थिए भने जेनिफर मस्त थिए निद्रामा I मुलिसले डिएनएको थुप्रै कपी बनाउन डिएनए पोलिमरेज एन्जाइमको सहायताले सकिन्छ कि भनी यसको सामान्य तरिका सोच्न थाले I केहीबेर पछि मुलिसले गाडी रोकेर जेनिफरलाई उठाई आफ्नो विचार उत्साहको साथ सुनाए तर जेनिफरलाई पत्यार लागेन । ऊ फेरि निदाई ।
मुलिसलाई भने त्यो राति निद्रा पर्दैन I प्रयोगशालाका मित्रहरूलाई पनि मुलिसको विचार प्रभावशाली लाग्दैन I मुलिस भने आफ्नो प्रयोगमा लागिपर्छ तर कति ठूलो दुर्भाग्य, उनको कार्यलाई प्रख्यात जर्नल ‘नेचर’ अनि ‘साइन्स’ म्यागजिनले पनि खारेज गरिदियो I अन्तमा आफ्नो कार्य उनले सिएसएच स्यम्पोसिओन क्वान्टिटेटिव बायोलोजी जर्नल (१९८६) मा प्रकाशित गरे I सुरुमा विज्ञान जगत्ले पिसिआरको महत्त्व नबुझे पनि बिस्तारै यसको उपयोगिताले मलिक्युलर बायोलोजिको क्षेत्रमा क्रान्ति ल्यायो I रसायन विज्ञान क्षेत्रमा १९९३ को नोबेल पुरस्कार PCR को आविष्कारकको निम्ति क्यारी मुलिसले प्राप्त गरे I
कोरोना काल सुरु हुन केही महिना आगाडि ७ अगस्तको २०१९ को दिन ७४ वर्षको उमेरमा मुलिसको निधन भयो I पिसिआरको विचार धेरैले खारिज गरे भनेर मुलिसले पनि आफ्नो विचार त्यागेको भए पिसिआरबिना यो महामारीको अवस्था कस्तो हुन्थ्यो होला ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।