साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

प्रसङ्ग – ‘लिङ्गबोध’को अनुभव, अङ्क तीन

हस्तमैथुनलाई सामान्य यौन विशेषता (न्यायिक पनि) स्विकारिरहँदा लगभग सोही प्रकृतिको समलैङ्गिक यौन व्यवहार, यौन समबन्ध या यौन विशेषतालाई विकृति मान्नुपर्ने कारण के छ ? के-के हुन् ती ? यता जानुपूर्व धर्मद्वारा निर्देशित हाम्रो समाजका धार्मिक मूल्यमान्यतालाई केलाउनु उपयुक्त हुनेछ ।

Chovar Blues Mobile Size

फरक लिङ्गी व्यक्तिहरूको उपस्थितिलाई लिएर पौराणिक इतिहास के भन्दछ? फरक लिङ्गी समुदायबारे पौराणिक घटनाक्रमहरू के-कस्ता छन्? इतिहास र ऐतिहासिक तथ्यहरूले फरक लिङ्गीलाई लिएर कस्तो भाषा अपनाएको छ? यस कुरालाई अध्ययन गर्ने क्रममा विभिन्न गुथ्थीहरू सामुन्ने आउँछन् ।

अध्ययनका क्रममा, पौराणिक इतिहासको पुनर्व्याख्या एवं साहित्यमा उनीहरूको चर्चा आजसम्म पनि निकै अपरिपक्व अवस्थामा भेट्न पुगे । एक त समाज उनीहरूको अस्तित्वलाई स्विकार्न हिच्किचाइरहेको छ भने कला-साहित्य, कानून एवं अधिकारीहरूमा पनि यसप्रकारको हिच्किचाहाट बरकरार नै छ ।

अर्कातर्फ, समाजले फरक लिङ्गीमाथि दोहोरो रवैया देखाएको छ । एकतर्फ समाज(महिला-पुरुष) आफ्नो खुसीको मौकामा फरक लिङ्गीहरूको उपस्थितिलाई शुभ मान्दछन् भने अर्कातर्फ फरक लिङ्गीलाई सामान्य व्यक्तिसरह शिक्षा, स्वास्थ्य, रोजगार एवं जीवननिर्वाह गर्न दिदैनन् । समाजमा समुचित स्थानको अभावमा फरक लिङ्गीहरू नाचगान, वेश्यावृत्ति र सडकमा मागेर (भारतमा ताली बजाउनु) आफ्नो गुजारा चलाइरहेका छन् । धर्मजनित शिक्षाको हवाला दिँदै यो भेदभाव जारी छ । कानूनले पनि सोही शिक्षाको भाष्यलाई पुनर्जीवन दिएर समलैङ्गिक विवाह एवं यौन सम्बन्धलाई विकृति बताएर अझ अन्याय गरिरहेकै छ । हस्तमैथुनलाई सामान्य यौन विशेषता (न्यायिक पनि) स्विकारिरहँदा लगभग सोही प्रकृतिको समलैङ्गिक यौन व्यवहार, यौन समबन्ध या यौन विशेषतालाई विकृति मान्नुपर्ने कारण के छ ? के-के हुन् ती ? यता जानुपूर्व धर्मद्वारा निर्देशित हाम्रो समाजका धार्मिक मूल्यमान्यतालाई केलाउनु उपयुक्त हुनेछ ।

अत: हाम्रा तमाम धर्मग्रन्थतर्फ नजर डुलायौँ (यस शृङ्खलामा हिन्दू धर्मअन्तर्गत रही फरक लिङ्गीहरूको उपस्थितिलाई केलाउने प्रयास हुनेछ) ।

१.हिन्दू धर्मशास्त्र र किन्नर :

पौराणिक हिन्दू ग्रन्थहरूलाई नियाल्दा शिव भगवान्को चर्चा हुँदा एउटा शब्द बारम्बार उल्लेख हुने गर्दछ । शब्द हो-किन्नर  ।नेपाली हिन्दू धर्मावलम्बीहरू भारतवेष्ठित पौराणिक एवम् पुनर्स्थापित भाष्यबाट नै दीक्षित हुने हुँदा यस शब्दलाई लिएर चर्चा गर्नु उपयुक्त ठहरिन्छ पनि  ।

sagarmani mobile size

कुरालाई सजिलोसँग सुरु गऱ्यौँ, हिन्दू धर्मावलम्बीहरूको घरघरमा स्वास्थानी नामक पुस्तक छन् र स्वास्थानी पाठ गर्दा ‘किन्नर’ शब्द बारम्बार उच्चारण गर्छौँ र  फरक लिङ्गीहरूलाई उत्तरभारतमा ‘किन्नर’ भनि सम्बोधन गरिन्छ ।(अघिल्लो शृङ्खला हेर्नुहोस्)

त, के स्वास्थानीमा वर्णित ‘किन्नर’ र आफ्नो हकअधिकारको लडाइँ लडिरहेका ‘किन्नर’ एकै हुन्? ‘किन्नर’ शब्दको उत्पतिको कथा कस्तो छ ?

तर त्यता जानूपूर्व, शिवको चर्चा उपयुक्त हुनेछ । त्यो पनि गरिहालौँ ।

क. शिवको वर्णन र किन्नरको उच्चारण :

वेदलाई भगवान् शिव (रुद्र)को अंश (रुद्रांश) मान्ने हिन्दू धर्मले शिवलाई ब्रह्मको स्वरूप या स्वयम्भू मान्दछ ।‘वेद: शिव: शिवो वेद (अर्थात् वेद नै शिव हो तथा शिव नै वेद हो । वेदको प्रादुभाव शिवबाटै भएको हो)’ भन्ने मान्यता यद्यपि छँदै छ । यजुर्वेदको रुद्राष्टाध्यायले सबैकुरा रुद्रबाट नै उत्पन्न भएको हो भनि स्विकारेको छ  ।

सर्वदेवात्मको रुद्र: सर्वे देवा: शिवात्मका: ।
रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दन: । ।
यो रुद्र: स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशन: ।
ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत् । ।

शिवबारे लेखिएका तमाम लिपिहरूले सूर नर, मुनी, नाग, यक्ष, गन्धर्व, किन्नर, असूर, दैत्य, भूत, पिशाच, वेताल, डाकिनी, शाकिनी,वृश्चिक, सर्प, सिंह, भल्ल, वसु, अप्सरा, चारण, भाट, रीछ, विद्‍याधर, मरुद्गण, सबै जाति-उपजाति र प्रजातीद्वारा शिव पूजित थिए भनि बताउँदछ । यसको अर्थ यही नै हो, उनीद्वारा सम्पूर्ण जातजातिमा अनुपम मेलमिलाप र खुसयाली थियो । जातजाति र तिनका आ-आफ्ना राज्य र राजा थिए तर शिवको राज्यरेखाको कुनै सीमा थिएन । उनी जहाँ पनि पुग्दथे, मेलमिलाप र खुहाली बाड्दथे । साथै, यी लिपिहरूले शिवबारे यसरी चर्चा-परिचर्चा गर्दा ‘किन्नरहरू’को उल्लेख गर्न कहीँ पनि कहिल्यै पनि छुटाएको छैन ।

यस्तै, भीमले शान्तिपर्वमा किन्नरहरू सदाचारी भएको वर्णन गरेका छन् । अजन्ताको पर्खालको भित्ते चित्रहरूमा  किरात एवं किन्नरहरूको चित्र भेटिएको छ ।

महाकवि कालिदासको अमर ग्रन्थ कुमारसम्भवको प्रथम सरगको श्लोक ११ र १४ मा किन्नरबारे मनोहर वर्णन गरेका छन् । यसबाहेक अनेक विद्वान् एवं साहित्यकारहरूले आ-आफ्ना शोधग्रन्थहरू, यात्रा-पुस्तक, आलेख एवं कवितामा किन्नर र किन्नरबारे उल्लेख गरेका छन् । चाणक्यले पनि आफ्नो अर्थशास्त्रमा किन्नरको उल्लेख गरेका छन् ।

त, के पौराणिक ग्रन्थमा वर्णित ‘किन्नर’ र आफ्नो हकअधिकारको लडाइँ लडिरहेका ‘किन्नर’हरू एकै हुन्?

ख. स्पष्टोक्ति : 

फरक लिङ्गी व्यक्तिहरूलाई उत्तर भारतमा ‘किन्नर’ शब्दले बोलाउने गरिन्छ ।

हिमाचल प्रदेशमा अवस्थित किन्नौर प्रदेश (पूर्वमा तिब्बत, पश्चिममा कुल्लू,  दक्षिण-पश्चिममा शिमला जिल्ला र दक्षिणमा उत्तरकाशी क्षेत्र, रोहडु)लाई प्राचीन समयमा ‘किन्नर देश’को रूपमा परिचित थियो/छ । प्राचीन संस्कृत ग्रन्थहरू, वेद एवं पुराणहरू, रामायण-महाभारत तथा साहित्यिक कृतिहरूले ‘किन्नर’ भनी यसै देशवासीलाई  भनेका हुन् । किन्नरहरूको देश अर्थात् किन्नौर ।

त्यससमय किन्नर देव योनिमा स्थापित हुन पुगेका थिए । हिमालयमा अवस्थित पवित्र शिखर कैलाशमा उनीहरू भगवान् शिवको सेवा गर्दथे । यसक्रममा उनीहरूले आफूलाई देवताहरूको गायक एवं भक्तको रूपमा स्वीकार्यता पाए । उनीहरू यक्ष एवं गन्धर्वसरह नै नृत्य एवं सङ्गीतमा बरोबर सरिक हुने गर्दथे । समयक्रमसँगै किन्नौरहरू कनौर, कनावर, कुनावुर तथा कनौरिन्ड हुँदै अपभ्रंश हुँदै किन्नर भएको भेटिन्छ ।

देव योनिद्वारा प्रतिष्ठित किन्नौरनिवासीहरूले फरक लिङ्गी समुदायलाई ‘किन्नर’ भनि पुकार्दा आफूमा सांस्कृतिक सङ्कट आएको बताए, जसले सन् २,००० को वर्षमा हिमाचल प्रदेशमा ‘किन्नर’ शब्दलाई लिएर विवाद निम्त्यायो । प्रथम भारतीय परालैङ्गिक विधायक ‘शबनम मौसी (१९९८-२००३, मध्य प्रदेश, विधान सभा सदस्य)’ र मधुर भन्डारकरको फिल्म  ‘ट्रैफिक सिग्नल (सन् २००७)’ले अझ यो विवादमा घिउ थपे । यहाँनेर अझ एउटा प्रसङ्ग महत्त्वपूर्ण छ,  मुख्य चुनाव आयुक्त टि. एन. शेषनले सन् २००४ मा फरक लिङ्गी समुदायलाई मताधिकार प्रदान गरे । फरक लिङ्गी समुदायले मताधिकार पाएपश्चात् मिडिया एवं प्रेस फरक लिङ्गीहरूलाई भारतले अपनाएको अफिसियल शब्द ‘हिजडा’ शब्दले सम्बोधित नगरेर एक उपयुक्त शब्दको खोजीमा थियो, यसक्रममा उसले ‘किन्नर’ शब्दको प्रयोग गऱ्यो ।

यसप्रकार हिमालय क्षेत्रलाई बसेरा बनाएको अति प्रतिष्ठित एवं महत्त्वपूर्ण आदिम जाति ‘किन्नर’ र समाजले सदैव हरहिसाबले किनाराकृत गरेको फरक  लिङ्गीहरूको सम्बोधनार्थ शब्द ‘किन्नर’बिच विवाद निम्तियो । भारतीय संविधानले ‘the people of Kinnaur District belongs to Kinnaura or Kinnar Tribe which is recognized as Scheduled Tribe under the Scheduled Tribes List (modification) order 1956 and the State of Himachal Pradesh Act, 1970′ भनि स्पष्टरूपमा आदिम जाति ‘किन्नर’को परिभाषा गरेको छ । यद्यपि ‘किन्नर’ शब्दको विवाद जस्ता तस्तै नै छ ।संविधानले दिएको अर्थले खासै फरक ल्याएको देखिँदैन ।

अत: कन्नौरवासी ‘किन्नर’ र फरक लिङ्गी ‘किन्नर’ बिचको विवाद देव योनि र आदिम जातितर्फको राजनीतितर्फ उन्मुख नभएर दुवै समुदायको समान हक/अधिकार र इज्जततर्फ उन्मुख होओस् ।यसले नै भलो गर्नेछ ।

२. मङ्गलकार्य र मङ्गलमुखी फरक समुदाय’:
खासगरी भारतीय केही समुदायहरूमा विवाहका बखतमा फरक लिङ्गीहरूको उपस्थिति र आशीर्वादलाई एकदमै राम्रो मान्ने चलन छ भने बालबालिकाहरूको जन्म, चूडाकर्म, व्रतबन्ध आदिमा पनि किन्नरहरूले आशीर्वाद दिने र किन्नरहरूलाई दान दिने चलन नेपालमा पनि रहेको छ । मङ्गलकार्यमा उपस्थिति हुने हुँदा फरक लिङ्गीहरूलाई ‘मङ्गलमुखी’ पनि भनिन्छ ।

एउटा अर्को परम्परा पनि देख्न सकिन्छ । बुधबारका दिन यदि कुनै फरक लिङ्गी व्यक्तिलाई केही रुपैयाँ दिने हो र निजबाट एक सिक्का उठाएर पर्समा राख्ने हो भने धनको कहिल्यै कमी हुने छैन ।धन दिन दोगुना , रात चौगुना बढ्दै जानेछ तर याद रहोस्,  सिक्का उठाउँदा तपाईँले दिएको पैसा होइन, किन्नरहरूको थैलीमा पहिल्यैदेखि नै रहेको सिक्का उठाउनुपर्नेछ ।अझ अर्को परम्परा पनि छ, ज्योतिष विद्याका अनुयायीहरू कुण्डलीमा बुध ग्रह कमजोर हुँदा कुनै तेस्रो लिङ्गी व्यक्तिलाई बोलाएर हरियो रङको चुरा या साडी दान दिने गर्छन्, यसबाट ‘बुध ग्रहदोष’ बलियो हुने मान्यता छ ।

यी तमाम परम्परा रामको वनगमन प्रसङ्गबाट प्रभावित छ ।त्यसैलाई मोडमाड पारेर यी यावत् कुप्रथाहरू प्रचलनमा रहेका छन्, जसको कुनै वैज्ञानिक पुष्टि भेटिँदैन ।

क. रामको वनगमन प्रसङ्ग:

यो प्रसङ्ग मर्यादा पुरुषोत्तम रामको वनगमनसँग जोडिएको छ ।जब दशरथका माहिला छोरा भरत रामको दर्शनार्थ चित्रकूट जाँदै थिए, तब सबै अयोध्यावासी (पुरुष, महिला एवं फरक लिङ्गी) पनि उनका साथ आएका थिए ।जब रामले सम्पूर्ण अयोध्यावासीलाई सम्बोधन गर्दै उनीहरूलाई अयोध्या फर्कन अनुरोध गरे तब नगरवासीहरू मन अमिलो पार्दै फर्कन थाले तर फरक लिङ्गीहरू टसको मस भएनन् ।उनीहरू गहभारी आँसु बनाएर रामलाई अयोध्या फरक अनुनय-विनय गरिरहे ।किन्नरहरूको यसप्रकारको भक्तिभावले प्रसिद्ध भई रामले उनीहरूलाई आशीर्वाद दिए  ।आशीर्वादानुसार, ‘किन्नरहरूले जसलाई आशीर्वाद दिनेछन्, उनीहरूको कहिल्यै पनि अनिष्ट हुने छैन । उनीहरूले दिएको आशीर्वाद फलित हुनेछ ।’

सोही आशीर्वादको प्रभाव, आजको एक्काइसौँ शताब्दीको समाज किन्नरहरूको मन दुखाउन हुँदैन, उनीहरूले मागेको दिनुपर्छ भनेर लोकोक्ति हालिरहेको छ । फरक लिङ्गीहरू मङ्गलमुखी हुनुको अन्तर्य पनि रामको आशीर्वचनको प्रभाव नै हो ।

फरक लिङ्गीहरूले श्राप दिएको खण्डमा कार्य फलित नहुने डर/त्रासले समाज फरक लैङ्गिक व्यक्तिहरूलाई पैसा/भोजन दिने गर्दछ तर समाजको यस व्यवहारको गुदी केलाउने हो भने यसमा कदाचित् मानवता/प्रेम र स्नेह देखिँदैन ।समाज फरक लैङ्गिक व्यक्तित्वहरू रिसाएर केही जथाभावी नबोलिदिऊन् र रामको आशीर्वचनको प्रभाव आफूमाथि कुनै अनिष्ट नहोस् भनेर यो सब गरिरहेको छ ।यो एकप्रकारले ‘नाटकै हो नौटङ्की नै हो’को प्रतीक हो । ‘देखाउने दाँत एउटा र खाने दाँत एउटा’को प्रस्ट उदाहरण हो ।

३. पौराणिक हिन्दू कथा र फरक लैङ्गिकताको उपस्थिति :
वैदिक साहित्यले मानव जीवविज्ञानमा निकै पारदर्शीरूपमा प्रभाव  छाडेको छ ।भारतीय संस्कृतिको श्रेष्ठता एवं विविधतालाई लिएर आकर्षित हुने विश्व यिनै वैदिक साहित्यलाई हरेक तवरले पर्गेल्न लागिरहेको छ ।वर्तमान युग यिनै साहित्यलाई पर्गेलेर नीति, सौन्दर्य, अर्थ, प्रकृति, विज्ञान, आयुर्वेद, ज्योतिष, छन्द, व्याकरण, यौन लगायतका तमाम कुराहरू दुहुने चेष्टा गरिरहेको छ तर यस चेष्टाको क्रममा फरक लिङ्गीहरूको उपस्थिति पर्गेल्ने काम निकै कम भएको छ ।जे जति भएको छ, त्यसैको आधारमा अगाडि चर्चा गरिएको हो ।

हिन्दू धार्मिक मान्यताअनुसार ‘श्यामली देवी’ कृष्णको रूपमा, ‘भगवती देवी’ पुरुषको लुगा लगाउने रूपमा, ‘चैतन्य महाप्रभु’ राधा र कृष्णको रूपमा, ‘अवलोकितेश्वर’ महिला र पुरुषको रूपमा रहेको पौराणिक ग्रन्थहरूमा वर्णन पाइन्छ ।भगवान् गणेशलाई पार्वतीले मात्र जन्म दिएकी थिइन् ।शिवले अर्धनारीश्वरको रूप धारण गरेका थिए ।यी वर्णनहरूले फरक लिङ्गीको उपस्थितिलाई स्विकार्दछ ।यस्तै, मुगलकालीन भारतमा मुगल शासकका रानीहरूको पहरेदारी ‘हिजडा’हरूको जिम्मामा थियो ।(‘हिजडा’ शब्दको व्युत्पत्तिको कथाबारे अघिल्लो शृङ्खला हेर्नुहोस्)

यहाँ केही पौराणिक प्रसङ्गहरूको सविस्तार चर्चा हुनेछ:

क. शिवको अर्धनारीश्वर रूप :

सृष्टिको निर्माणहेतु शिवले आफ्नो शक्तिलाई स्वयंदेखि पृथक् गरे । शिव स्वयम् पुलिङ्गी थिए एवम् उनको शक्ति स्त्रीलिङ्गीको द्योतक भएका कारण शिव नर पनि हुन् र नारी पनि ।अत: यसप्रकार उनी अर्धनरनारीश्वर हुन् ।

पृष्ठभूमि:

जब ब्रह्माले आफ्नो सृजन कार्य आरम्भ गरे, तब उनले पाए की आफ्नो सृजना जिवानोपरान्त नष्ट हुनेछ र हरेक पटक उनलाई नयाँ सिर्जना गर्नुपर्नेछ तब उनी गहिरो फसादमा परे । गहन विचारपश्चात् पनि कुनै उपाय नभेटेपछि उनी आफ्नो समस्या लिएर शिवकहाँ पुगे । ब्रह्माको समस्याको समाधानहेतु शिव अर्धनारीश्वर स्वरूपमा प्रकट भए । अर्ध भागमा उनी शिव थिए तथा अर्ध भागमा शिवा । आफ्नो यस स्वरूपबाट शिवले ब्रह्मालाई प्रजनशील प्राणी सृजना गर्ने प्रेरणा दिए । साथै, उनले पुरुष एवं स्त्रीलाई समान महत्त्व दिन पनि आग्रह गरे । यसपश्चात् अर्धनारीश्वर शिव अन्तर्ध्यान भए ।

निष्कर्ष : यस प्रसङ्गले फरक समुदायको उपस्थिति मात्रै होइन उनीहरूको महत्त्वलाई पनि स्थापित गर्दछ ।यस अवतारको हिन्दू समुदाय धुमधामसँग पूजा-आराधना गर्दछ तर त्यही समुदायको व्यक्तिलाई हेलाहोँचो गर्दछ ।कत्रो विसङ्गति.. ।

ख. बहुचरा माता,राजकुमार तेजपाल र डाँकु वपैया:

शिवजीको अर्धनारीश्वरको स्वरूपलाई फरक लिङ्गी (किन्नर)हरू आफ्ना आराध्य देव मान्छन् भने भारतको गुजरात प्रान्तको अहमदावाद सहरमा रहेको बहुचरा माता नै भारतभरिका किन्नरहरूकी कूलदेवी भएको विश्वास गर्छन् ।साथै, अर्को जन्ममा किन्नर भएर जन्मन नपरोस् भनेर बहुचरामाताको आराधनासमेत गर्छन् | बहुचरा देवी सबै किन्नरहरूकी साझा कुलदेवीका रूपमा स्वीकृत छिन् किनभने मुस्लिम वा इसाइ समुदायका किन्नरहरूले समेत यिनको आराधना गर्दछन् ।

डा. गोविन्द उपाध्यायले एक लेखमा बहुचरामाताको सम्बन्ध काठमाडौँ उपत्यकाको पाटनसँग जोडिएको बताएका छन् | उनका अनुसार तेजपाल नामका एकजना राजकुमारको विवाह पाटनकी राजकुमारीसँग भयो तर राजकुमारले राजकुमारीलाई कहिल्यै पनि पतिको सुख दिन सकेनन् | राजुकुमारीले पतिको अन्तर्य बुझ्ने चेष्टा गरिन्  । उनले एक राति के- थाहा पाइन् भने एक हरेक बिहान तेजपाल घोडामा चढेर जङ्गल जान्छन् र रुखको छहारीमा उभिएर महिलाको परिधान लगाएर, महिलाझैँ व्यवहार गर्छन् ।

राजकुमार फर्केर आएपछि राजकुमारीले आफूले उनको कुरा थाहा पाएको र किन त्यसो गरेको भनी प्रश्न गर्दा राजकुमारले आफ्नो इच्छा नहुँदानहुँदै पनि बाबुआमाको करकापमा पारेर विवाह गरेको आफूलाई महिलासँग यौनसम्पर्क राख्न कत्ति मन नहुने बताए । आफ्नो जिन्दगी बरबाद गराएको भन्दै राजकुमारी रुन थालेपछि राजकुमार तेजपालले आफू रानीको हरेक सर्त स्वीकार गर्न तयार रहेको बताए ।

राजकुमारीले ‘आफूलाई देवी मानेर पूजा गर्नुपर्ने र विश्वभरिका तिमीजस्तै मान्छेहरूले मलाई आफ्नो कूलदेवी मानेर पूजा गर्नुपर्ने छ’ भन्ने माग राखेको र राजकुमारले त्यो सर्त स्वीकार गरेको उल्लेख उपाध्ययले उल्लेख गरेका छन् ।

त्यसपछि ती दुवैको प्राण अन्त्य भएको तथा राजकुमार राजकुमारकै रूपमा जन्मे तर पूर्वसर्तअनुसार देवी बनेको बहुचराले सपनामा राजकुमारलाई लिङ्ग काटेर फाल्न र आफ्नो पूजाआराधना गर्न आदेश दिए, राजकुमारले त्यसै गरे ।

उपाध्यायका अनुसार, राजकुमार तेजपाल नै बहुचरा माताका प्रथम आराधक हुन् | पाटनमा पालहरूको राज्य हुनु र पाल राजकुमार नै बहुचरामाताको आराध्य भएको कथा केवल मिथक हुन सक्तैन तर पाटनमा स्थापित बहुचरामाता गुजरातको अहमदावाद कसरी पुग्यो? खोज गर्नुपर्ने विषय रहेको छ ।यस अर्थमा प्राचीनकालमा फरक लिङ्गीलाई सामाजिक, सांस्कृतिक तथा धार्मिक मान्यता दिने कार्य पनि उपत्यकामै भएको सिद्ध हुन्छ । उपत्यकामा किन्नर अर्थात् फरक लिङ्गीसम्बन्धी के-कस्ता प्राचीन स्मारक, मन्दिर, प्रतीक के-कस्ता छन्? यो पनि खोजको विषय रह्यो  ।(स्रोत: डा. गोविन्द उपाध्याय)

अर्को  कथा,

अर्को एउटा कथाका अनुसार, चारण जातिका ‘बापल दान देथा’की पुत्री देवी बहुचरा आफ्नो बहिनीहरूका साथ यात्रामा निस्केकी थिइन् । त्यहीबिच ‘बपैया’ नामक खुङ्खार डाँकुसँग उनीहरूको आमुन्ने-सामुन्ने भयो ।कसैले बपैयाको सामना गर्न सकेनन्  । तब देवी बहुचराले आफ्नो बहिनीका साथ आफ्नो आत्मबलिदान अर्थात् स्तन काटिन् र बपैयालाई श्राप दिइन्  । श्रापका कारण बपिया नपुङ्सक भयो । मानिन्छ कि पछिपछिसम्म पनि बपैया एक महिला भाँती सजिएर देवी बहुचारालाई प्रसन्न पार्न खोज्थ्यो  । यसपछि किन्नर समुदायको अस्तित्वमा आयो  ।

(यी दुवै कथा बिल्कुल विपरीत छन्, तर दुवैले किन्नर समुदायको उपस्थितिलाई बलियोसँग बताएको छ ।)

किन्नरहरू समुदायको मृत्यु संस्कार :

किन्नरहरूको मृत्यु संस्कार बिल्कुलै अलग र कहालीलाग्दो छ ।

प्रथमतः किन्नरहरू आफ्नो समुदायको कुनै व्यक्तिको मृत्युमा खुसी मनाउँछन् । कारण हो- यस जन्मबाट मुक्ति । कोही किन्नर मृत्युपश्चात् नारकीय जीवन त्याग्न सफल भए, उनीहरू यसर्थ खुसी मनाउँछन् ।

यस्तै, कुनै किन्नर व्यक्तिको मृत्यु भएपश्चात् उसलाई चप्पलले हिर्काइन्छ ।कारण हो- यस जन्ममा तमाम पापबाट मुक्ति मिलोस् र आगामी जन्ममा किन्नर हुन नपरोस् ।

त्यसैगरी, किन्नरहरूको मृत्यु भएपश्चात् अँध्यारो (रातको समय)मा लास उठाउने र गैरकिन्नरहरूको उपस्थिति हुन नहुने मान्यता छ । गैरकिन्नरले सो लास देखेमा अर्को जन्ममा ऊ किन्नर हुने विश्वास छ । साथै, किन्नरको शव जलाइँदैन, गाड्ने गरिन्छ । यसप्रकार लास गाड्नुपूर्व र लास गाडिसकेपछि बहुचरामाताको पूजा गर्ने चलन रहिआएको छ ।

किन्नरहरूको अन्तिम संस्कारको अन्तर्य, किन्नरहरूको मनोवृत्ति दुःखदायी छ । समाजले यथोचित व्यवहार गरेको खण्डमा किन्नरहरूको अन्तिम संस्कार विधिमा परिवर्तन आउन सक्थ्यो कि? कमसेकम लासले चप्पलको प्रहार खाँदैन थियो कि?

(यो पद्य पढौँ )
अपनोँ ने ही त्याग दिया जब, मान गैर क्योँ देते
जैसा भी है अपना है तू, गले लगाकर कहते ।

 

लिङ्ग त्रुटि क्या दोष माँ मेरा, काहे फिर तू रूठी

फेँक दिया दलदल में लाकर, ममता तेरी झूठी ।

 

मेरे हक, खुशियाँ सब सपने, माँग रहा हूँ कबसे

छीन लिया इंसा का दर्जा, दुआ माङ्गते मुझसे ।

 

सब किस्मत का लेखा जोखा, कर्म प्रभाव तभी तो

मैँ अपने दुःख पर लेकिन तुम, मुझ पर ताली पीटो ।

 

मित्र, बच्चे, घरबार न मेरा कोई जीवन साथी

बस्ता, कॉपी न नौकरी बस, ताली साथ निभाती ।

 

बचकर निकलो इधर न गुजरो, वो जा रहा हिँजड़ा

केश घसीट पुलिस ले जाती, जैसे स्वान पिँजरा ।

 

तुम सम ही सपने हैँ मेरे, मैँ भी ब्याह रचाऊँ

लाल जोड़ा, नाक मेँ नथनी, कुमकुम माँग सजाऊँ ।

 

बन प्रति वर्ष अरावन दुल्हन, कैसे मैँ इठलाती,

दिन सोलह सुहागन अभागी, विधवा फिर हो जाती ।

 

है तन अधूरा मन अधूरा, ना कुछ मुझमेँ पूरा

ताली गाली लगती, फिर भी जलता इससे चूल्हा ।

 

जितना श्रापित मेरा जीवन, दुःखद अधिक मर जाना,  

जूते चप्पल मार लाश को, कहते लौट न आना ।

सपना माङ्गलिक, भरतपुर, राजस्थान  

ख. अयप्पा :

विष्णु र शिवबाट ‘अयाप्पा’को जन्म भएको थियो ।

पृष्ठभूमि :

भागवत पुराणमा विष्णुको मोहनीरूप र शिवको समबन्धलाई दर्साइएको छ । समुद्रमन्थनको समयमा राक्षसहरूबाट अमृत खोस्नका लागि विष्णुले मोहनी रूप धारण गरेका थिए । चन्द्रमालाई दिन खोजिएको अमृत छल गरेर खाएको कारण राहुलाई तरबारले काटेर राहु ग्रह र केतु ग्रह बनाइसकेपछि अर्थात् देवताहरूलाई अमृत र दानवहरूलाई मदिरा पिलाइसकेपश्चात् विष्णु वैकुण्ठ फर्किएका थिए ।

विष्णुको स्त्री मोहनी रूपबारे शिवले सुनेका थिए । विष्णुको मोहनी रूप हेर्ने इच्छा प्रकट गर्दै उनी कैलाशबाट वैकुण्ठ ओर्लिए । शिवले विष्णुलाई आफ्नो मोहनी रूप देखाउन आग्रह गरे तर विष्णुले शिवको सम्मान गर्दै मोहनी रूपमार्फत शिवलाई मोहित बनाउनु अनुपयुक्त देखे, प्रस्तावलाई ‘नाइँ’ भने तर पार्वतीजस्ती सुन्दरी आफ्नी पत्नी भएको बताउँदै जुनसुकै मोहनी रूपबाट पनि आकर्षित नहुने शिवले बताए । अन्तत: विष्णुले कुनै दिन कैलाश आएर आफ्नो मोहनी रूप देखाउने वाचा गरे ।

पछि कुनै वसन्तकालीन दिनमा विष्णु आफ्नो मोहनी अवतारसहित शिवसामु पुगे । शिव सो मोहनीरूपबाट आकर्षित भए र उनीहरूबाट एक पुत्र उत्पन्न भयो- सस्तव अर्थात् अयप्पा । शिव र विष्णुद्वारा उत्पन्न भएका कारण अयप्पालाई ‘हरिहरपुत्र’ पनि भनिन्छ । वर्तमान केरलास्थित साबरीमाला मन्दिर सोही अयप्पाको पूजाआराधना हुन्छ, जहाँ महिलाहरूको प्रवेश निषेध छ ।

निष्कर्ष : शिव र विष्णुको आकर्षणले प्रचलित पुरुष-महिलाबिचको यौन आकर्षणको मात्रै पक्षधरता लिँदैन । यद्यपि, यहाँ विष्णुले महिलाको शरीर धारण गरिरहेका हुन् तर विष्णुको मोहनी रूपलाई देखेर शिवको वीर्यपात भएको घटनाक्रमहरू छन् अर्थात् शिव पुरुषको शरीरमा थिए र विष्णु महिलाको शरीरमा ।यद्यपि विष्णु मानसिक तवरले पुरुष नै थिए  ।(बहसको विषय हो, होस्)

ग. अरावन:

महाभारतको तमिल संस्करणमा श्रीकृष्णले मोहिनी रूप धारण गरेको प्रसङ्ग आउँछ । श्रीकृष्णले मोहिनी रूप धारण गरेर किन्नर अरावनसँग विवाह गरेका थिए । यसपछाडिको उद्देश्य मृत्युभन्दा अगाडि अरावनले ‘प्रेमको भावना’लाई महसुस गर्न सकून् भन्ने थियो । अरावनको मृत्युपश्चात् मोहनी रूपमै कृष्णले लामो समयसम्म शोकाकुल भएका थिए ।

पृष्ठभूमि :

अरावन (इरावन पनि) अर्जुन तथा नागकन्या उलूपीका पुत्र हुन् । उनी एक कुशल धनुर्धर तथा मायावी अस्त्रहरूको ज्ञाता थिए ।

किन्नरहरू अरावनलाई आफ्नो देवता मान्छन् । यही कारण दक्षिण भारतमा किन्नरहरूलाई ‘अरावानी’ भनिन्छ । किन्नरहरू आफ्नो आराध्य देव अरावनसँग सालमा एकपटक विवाह गर्दछन् र यो विवाह मात्र एक दिनका लागि हुने गर्दछ । तमिलनाडूको कूवगममा अरावनको प्राचीन मन्दिर अवस्थित छ, जहाँ अरावनको टाउकाको पूजा हुने गर्दछ ।(यसको  थप चर्चा आगामी शृङ्खलामा हुनेछ)

महाभारत युद्धमा आफ्नो जीत सुनिश्चित गर्नका लागि पाण्डवहरू एक नर बलि दिन चाहन्थे, त्यसका लागि एक राजकुमारको जरुरत पर्दछ तर कुनै पनि राजकुमार सामुन्ने नआएपश्चात् अरावन स्वेच्छाले सामुन्ने आउँछन् । आफ्नो बलि दिनुपूर्व अरावनले आफू अविवाहित नमर्ने बताउँछन् ।अब विरोधभासपूर्ण स्थिति निमार्ण हुन्छ ।एक दिन आयु भएको व्यक्तिसँग कोही पनि राजा कसरी आफ्नो छोरी सुम्पियोस्? तब कृष्ण अघि सर्छन् ।

निष्कर्ष : कृष्णले यहाँ अरावनसँग ‘प्रेम भावना’ साटेका थिए । कृष्ण मोहिनीरूप अर्थात् केटीको स्वरूपमा थिए भने अरावन किन्नर अर्थात् तेस्रो लिङ्गी थियो । यसप्रकार यहाँ पनि प्रचलित महिला-पुरुषबिचको सम्बन्ध स्थापित भएको छैन । यहाँ पनि कृष्ण मानसिक रूपमा पुरुष नै थिए ।(बहसको विषय हो, होस्)

घ. बृहन्नला:

आफ्नो प्रेम टुक्राएको कारण उर्वशीले अर्जुनलाई श्राप दिएकी थिइन्, जसका कारण अर्जुन नपुंसक बनेका थिए ।

पृष्ठभूमि :

बृहन्नलाको रूपमा अर्जुनले आफ्नो वनवासको आखिरी वर्ष (गुप्तवास) गुजारेका थिए ।जहाँ उनी विराट् राजाका पुत्री उत्तरा र उनको सहेलीहरूलाई नाच्न-गाउन सिकाउने गर्दथे ।

निष्कर्ष : उत्तरा र बृहन्नलाको मित्रताले पनि प्रचलित महिला-महिला र पुरुष-पुरुषको मित्रतालाई अर्थ्याएको छैन । भौतिकको रूपमा नपुंसक भए पनि उनी अर्जुन अर्थात् पुरुष नै थिए ।(बहसको विषय हो, होस्)

ङ. शिखण्डी:

आकशवाणीका कारण पुत्री रूपमा जन्मिएता पनि पुत्रको रूपमा लालनपालन पाएकी शिखण्डिनी (काशीराजकी ज्येष्ठ पुत्री अम्बाको दोस्रो जन्म) को विवाहप्रसङ्ग रोचक छ ।

पृष्ठभूमि :

पुत्रका रूपमा हुर्किएकी शिखण्डिनीको विवाह हुन्छ । विवाहपश्चात् पत्नीलाई आफ्नो पतिका बारे  ज्ञान हुन्छ, त्यसपछि पत्नीले शिखण्डिनिको घोर अपमान गर्छिन् । यस घटनाले दुःखी भएकी शिखण्डिनी आत्महत्याको मनसायले पाञ्चालबाट भागिन् । तब एउटा यक्षले उनलाई बचाए र आफ्नो लिङ्ग परिवर्तन गरेर उसलाई पुरुषत्व दिए । यसप्रकार शिखण्डिनी ‘शिखण्डी’ बनेर आफ्नो देश पाञ्चाल फर्किए र आफ्नी पत्नीसँग वैवाहिक जीवन बिताउन थाले । पछि शिखण्डीको मृत्युको पश्चात् उसको पुरुषत्व यक्षलाई फिर्ता भयो ।

शिखण्डीलाई अघि सारेर अर्जुनले भीष्मलाई पराजित गरेको प्रसङ्ग महाभारतको एक चर्चित घटनाक्रम हो ।

निष्कर्ष :‘शिखण्डिनीबाट शिखण्डीसम्मको यात्रा’ले पनि प्रचलित यौन चरित्रमाथि प्रश्न उठाउँछ ।वर्तमान लिङ्ग ‘ट्रान्सप्लान्ट’लाई यसले प्रतिनिधित्व गर्दछ ।

च. कामसूत्र :

फरक लिङ्गी शब्द इसापूर्व तेस्रो शताब्दीमा लेखिएको कामसूत्रमा समेत उल्लेख गरेको पाइन्छ ।पुरुष प्रकृति, स्त्री प्रकृति र तृतीय प्रकृति पनि त्यहाँ उल्लेख हुनुले मानिसका तीन किसिमका लिङ्ग हुन्छन् भनि परापूर्वदेखि स्विकारिएको तथ्य हाम्रो सामुन्ने देखापर्दछ ।

निष्कर्ष : वर्तमान सामाजिक व्यवस्थाको विपरीत वैदिक समाज फरक लिङ्गीलाई लिएर संवेदनशील थियो न फरक लिङ्गीहरूको बहिस्करण थियो, न दण्डसजायको कुनै तौरतरिका  । उनीहरूलाई समाजमा गृह स्थापना, विवाहित रूपमा एकसाथ रहन तथा सामाजिक व्यवहारमा पूर्णतः सरिक हुने अधिकार थियो  । प्राचीन कालमा उनीहरू शारीरिक संरचना, लैङ्गिक हाउभाउ भन्दा उनीहरूको कला र कार्यप्रतिको निपुणता महत्त्वपूर्ण थियो  । नृत्य, गायन, अभिनय, केशसज्जा, मालिस, गृह सेवक लगायत कार्यमा रही समान हैसियतका साथ समाजमा उपस्थित थिए  ।

यी-यस्ता पौराणिक आलेखहरू कति प्रामाणिक थिए भनेर खोज्नु एउटा कार्य रहला तर यसमार्फत हिन्दू समाजमा विद्यमान के-कस्ता यौनिक विशेषतालाई चित्रण गर्न खोजेका हुन् भनेर खोज्नु चाहिँ अत्यावाश्यक छ ।

४. नेपालको ऐतिहासिक कालखण्डमा फरक लिङ्गीको उपस्थिति:

नेपालमा ऐतिहासिक कालखण्डमा फरक लिङ्गीको उपस्थितिलाई नियाल्दा म जयस्थिति मल्लसम्म पुगेँ । जयस्थितिभन्दा अगाडि पनि फरक लिङ्गीको उपस्थितिबारे अध्ययन-अनुसन्धान र तथ्यहरू भेटिएका होलान्, नभेटिएका भए त्यो खोज, अनुसन्धानको कुरा रह्यो । म यहाँ जयस्थिति मल्लको प्रसङ्गलाई चर्चा गर्नेछु ।

राजा जयस्थिति मल्लले वि.सं.१४३६ (सन् १३८०) मा न्यायविकासिनी नाम गरेको कानून जारी गरेका थिए ।‘मानव न्यायशास्त्र’ समेत भनिने ताडपत्रमा लिखित यस कानून राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ (नेटमा पनि भेटिन्छ) ।

आफ्ना मन्त्री (न्यायाधीश) जयतुलाई राज्य प्रशासन (न्याय प्रशासन) चलाउन सजिलो होस् भनेर कीर्तिनाथ उपाध्यायको अध्यक्षतामा अन्य तीन जनासहितको समितिले मस्यौदा गरेको यो कानूनका श्लोक (दफा) हरू संस्कृत भाषामा र त्यसको नेवारी तथा मैथिलीमा व्याख्या गरिएका आठ प्रतिहरू राष्ट्रिय अभिलेखालयमा छन् भने दुई प्रति वेलायतको क्याम्ब्रिज विश्वविद्यालय र ब्रिटिश म्यूजीयममा रहेका छन् ।यसलाई राष्ट्रिय अभिलेखालयबाट नक्कल लिई प्रा.दिनेशराज पन्तद्वारा नेपाली भाषामा अनुवाद र सम्पादनसहित पुस्तकाकार दिइएको छ ।

उक्त पुस्तकमा विवाह प्रसङ्गको कानूनी प्रबन्ध गर्ने क्रममा ‘स्त्रीपुंसयोगनामक प्रकरण’ अन्तर्गत पुरुष र महिलाका अतिरिक्त नपुंसक १४ किसिमका हुने वर्णन गरिएको छ । उक्त प्रसङ्ग निम्नानुसार छ:-

गला र काँधलाई जोड्ने खकाले हाँड खुब कसिएको,शरीरका अरू अवयवहरूका साथै गर्धन खुबै कसिलो भएको, ठूलो नाक र पातलो जिब्रो भएको,सुद्रिढ र सुरिलो स्वरवाला, ठूलो नाका र पातलो जिब्रो भएका, पिसाब जोडसँग आवाज गरेर आउने र फिँजै-फिँज हुने यी लक्षणहरूले युक्त भएको व्यक्ति पुरुष हुन्छ,यसको विपरीत चाहिँ मैथुन गर्न नसक्ने नपुंसक हुन्छ ।

नपुंसक चौध प्रकारका हुन्छन् भन्ने कुरा विद्वान्हरूले शास्त्रमा बताएका छन् । औषध्योउपचार गरेर ठिक हुने र उपचार गरेर पनि ठिक नहुने । तिनीहरूको विधि क्रमशः बताइएको छ ।कोही स्वभावतः नपुंसक हुन्छन्, यिनलाई निसर्गषण्ड भन्दछन् । कोही छालाको मुलायम डोरीले लिङ्ग बाँधेर वीर्यको वेग रोक्ने गर्छन, यसो गर्ने व्यक्तिको पनि समयमा सन्तान हुँदैन वा हुँदै हुँदैन, यसलाई वधषण्ड भन्दछन् । मान्यजनका श्रापले वा रोगले अथवा देवताका क्रोधले केही समयसम्म वा कुनै शर्तका कारणले व्यक्तिमा स्त्रीभोगशक्ति हुँदैन, यस्तालाई पक्षषण्ड भन्दछन् ।ईर्ष्याषण्ड, सेव्य, वातोरेता, लिङ्गको अग्र भागमा घाउ भएको मुखेभग, आक्षिप्तबीजी (कसैले व्यभिचारद्वारा वीर्य सुकाइदिएको), मोघवीजी (सम्भोग गरे तापनि सन्तान नहुने), शालीन (लाजले सम्भोग गर्न आँटै नगर्ने) पनि नपुंसक नै हुन् । यिनमा पक्षषण्डलाई उपचार गरेर ठिक गर्न सकिन्छ, गर्नू पनि । ईर्ष्याषण्डको अवधि एक वर्षको मात्र हुन्छ । त्यसपछि उसले पुरुषत्व प्राप्त गर्न सक्तछ ।

त्यसपछिका चार नपुंसकहरू (सेव्य, वातोरेता, मुखेभग र आक्षिप्तबीजी) जो बताइएका छन् ती र पहिले जन्मिँदा योनि नभएका पछि उपचार विधिद्वारा योनि बनाइएका स्त्रीहरू पनि पतितजस्तै गरी त्याग्नलायक हुन्छन् । आक्षिप्तबीजी र मोधबीजी नामका नपुंसक पति जुन महिलालाई प्राप्त हुन्छन्, ती महिलाले एक वर्षसम्म आफ्ना पतिको नपुंसकता हटाउन उपचार गर्दै उनको प्रतीक्षा गर्नू । त्यतिमा पनि ठिक नभए तिनलाई छाडिदिएर अर्कोसँग विवाह गर्नू ।” 

अन्त्यमा,

अत: ‘स्त्रीपुंसयोगनामक प्रकरण’ अन्तर्गत पुरुष र महिलाका अतिरिक्त नपुंसक १४ किसिमका हुने वर्णन भेटिनु, संस्कृत शब्दकोषमा २० प्रकारका तेस्रोलिङ्गी हुन्छन् भनी लेखिएको भेटिनु एवं हिन्दू धर्मग्रन्थहरूमा भगवान्हरूका मोहनी रूपका सङ्ख्या अनगिन्ती हुनुले मानवका यौन विशेषता र चरित्रहरूतर्फ व्यापक अध्ययन, अनुसन्धान र बहस हुनु अत्यावश्यक भइसकेको खाँचो औल्याउँछ ।१४ र २० प्रकारका तेस्रो लिङ्गी हुन्छन् भनी लेखिनु वर्तमान एलजिबिटीआइक्यू प्लस (LGBTIQ+) समुदायतर्फ प्रस्ट सङ्केतसमेत गर्दछ ।

हामीहरूको यौनिक विशेषता डाइरेक्ट अर्थात् सिधा (महिला भए पुरुषतर्फ र पुरुष भए महिलातर्फ) मात्रै छ? साथै,  हामीले आफ्नो लिङ्गबोध कसरी गऱ्यौँ? हामीलाई आफ्नो लिङ्ग ‘यो रहेछ है?’ भनेर थाहा पाउँन कति समय लाग्यो र त्यो कसरी थाहा भयो ?

यिनै प्रश्नहरूसहित म केही व्यक्तिहरू कहाँ पुगेको थिए, पढौँ उहाँहरूको लिङ्गबोधको अनुभव:

सुजाता केसीको लिङ्गबोधको अनुभव:

सुजाता केसी

मलाई मेरा बारेमा अथवा भनूँ न म को हो भन्ने बारेमा, म बसेको समाजले निर्धारण गरिदिएको छ र विभिन्न मानकहरूद्वारा त्यसको मूल्याङ्कन गर्दछ । यो सिलसिला सम्भवतः मेरो जन्मदेखि नै सुरु भएको थियो ।

म स्कुल जाने उमेर भएपछि, स्कुलमा भर्ना गर्दा मेरो मामासँग स्कुल गएकी थिएँ ।त्योबेला मेरो केटाको जस्तै छोटो कपाल थियो ।मैले पाइन्ट र टिसर्ट लगाएकी थिएँ ।त्यहाँ मेरो नाम सोधियो ।‘सुजाता’ भनेर बताएपछि मलाई हेरेर, अलिक असजिलो मानेर सरले कस्तो केटाको पनि केटीको जस्तो नाम भन्नुभयो ।त्यसको प्रत्युत्तरमा मामाले ‘होइन नि उनी मेरी भान्जी हुन्’ भन्नुभएको थियो ।

भर्ना भएपछि कक्षामा जाँदा भने मैले ‘ट्युनिक’ लगाउने भए किनभने मलाई अब केटीले लगाउने लुगा लगाउनुथियो र आमाले पाइन्ट सिलाऊ न भन्दा पनि जिद्दी गरेर सिलाइनँ तर यहाँ पनि म फेल भएछु ।जब कक्षाकोठामा पहिलोचोटी छिरेकी थिएँ, कक्षाका सबै साथीहरू मलाई नै हेर्दै थिए अलिक अस्वभाविक कुनै कुरा देखे जसरी र केही अनौठो भाव थियो उनीहरूको हेराइमा । कोही त हास्तै पनि थिए किनभने केटाको जस्तो छोटो कपाल भएको र हेर्दा पनि केटाजस्तै देखिने मान्छेले केटीले लगाउने लुगा लगाएकी थिई ।

यसैगरी अरू केही दृष्टान्त छन् जसले मलाई मेरो लिङ्गबोध बारम्बार गराइरहन्छन्, घरको म जेठी छोरी र मपछाडि मेरी बहिनी जन्मिइन् । दुई छोरीको जन्मले मेरो घर अनि परिवारमा त पक्कै खुसी ल्यायो तर मेरो समाजमा त्यसले हाम्रो परिवारप्रति सहानुभूति र विभिन्न खाले टीकाटिप्पणीको बीजारोपण गरिदियो । मलाई तिमीहरू त दुईजना दिदीबहिनीमात्र है भनियो, तिमी त छोरी हो त्यसैले तिमी असक्षम छौ र छोराजस्तो तिमीले गर्नै सक्तैनौ, तिमीले त घरको काम, भात भान्साको काम जन्नुपर्छ भनियो । तथापि मेरो परिवारले त्यस्ता खाले कुराहरू मलाई कहिल्यै सिकाएन, न त कहिल्यै म कोहीभन्दा पनि कम छु भन्ने बोध गरायो  । आमालाई अब एउटा छोरा त चाहिन्छ है भन्ने आदेशात्मक अनुरोध गरियो र तिम्रो सन्तान छोरी हुन् जसले परिवार अगाडि बढाउन सक्तैनन् र वंश परम्परालाई अगाडि बढाउन सक्तैनन् भनेर अर्ती उपदेश दिइयो । अझ यतिले नपुगेर, ‘बिचरा! दुईजना छोरीछोरीमात्र है तिम्रा सन्तान त!  धर्मकर्म त गरेकै हो नि तर पनि दैवको खेला !’ भनेर मेरो बाआमाका लागि इच्छा नै नराखेको र रुचाउँदै नरुचाएको सहानुभूति प्रकट गरियो ।

यी कुराहरूले मलाई मेरो बाल्यकालमा मात्र होइन आजसम्म पछ्याइरहन्छन् र म छोरी नै हो भन्ने कुरा याद दिलाउँछन् र मलाई अझ दृढ बनाउँछन् मेरो अस्तित्वको खोजका लागि ।

विद्यार्थी एवं साहित्यप्रेमी सुजाता केसी युथ क्यान र शिक्षा नेपालमा आबद्ध छिन् ।

दीपा दाहालको लिङ्गबोधको अनुभव :

दीपा दाहाल

लिङ्ग,  जैविक र सामाजिक हुन्छ भनेर थाहा पाउनै धेरै समय लाग्यो । सानो छँदा र हुर्किएपछि पनि जेजे कुराले म छोरी हुँ भन्ने अनुभूति गराएका थिए ती कुरा त समाजले छोरा र छोरी छुट्याउन तयार पारेको जब्बर धारणा पो रहेछन् ।यति थाहा हुँदाहुँदै पनि आजपर्यन्त सामाजिक लिङ्गी सोच अनुरूप कहीँ छोरीजस्ती त कहीँ बुहारीजस्तीँ देखिइनुपर्ने विडम्बना कायमै छ ।

मलाई जैविक लिङ्ग बोधको चेतना आफूभन्दा डेढ वर्ष कान्छो भाइले उभिएर पिसाब फेर्दा भएको थियो ।यो अनुभूति ठ्याक्कै कति वर्षकी हुँदा भयो भन्न सक्तिनँ । सायद त्यस्तै चारपाँच वर्षकी थिएँ होला तर योभन्दा अघि र पछि मलाई छोरी हुँ भनेर बुझाउन प्रशस्त व्यवहार सिकाइयो । जस्तै:- दिदी र मलाई ल्याएको नयाँ जामा भाइले लगाउथ्यो अनि ममी भन्नुहुन्थ्यो, ‘मेरा तिनटी छोरी भए है ।’ दिदी र मेरो नाक,  कान छेडिँदा भाइ बुच्चै थियो । मेरो कपाल घुङ्ग्रिएको थियो,  कपाल फेदै लगाएर काटेपछि सोझो हुन्छ भनेर ममीलाई कसले सुनाइदियो,  मेरो टाउको मुडुलो भयो । भर्खर स्कुल जान थालेकी फुच्ची केटी मलाई कपाल काटेर केटाजस्तो  देखिएँ भन्ने कत्रो पिर थियो । त्यो पिर जन्मिनुअगाडि अरू केके कुरा बुझ्यो होला मेरो अन्तर्मनले ? त्यसपछि कपाल काट्न आउने ठाकुर देख्यो कि म जोडजोडले रुँदै ठाकुरलाई गाली गर्न थाल्थेँ । कपाल काटिनु यसको कमजोरी हो,  कपाल सर्लक्क नहुनु यो कुरूप हुनुको विम्ब हो,  यसलाई जिस्काउनुपर्छ भनेर नर्सरीमा पढ्ने मेरा साथीहरूले कसरी थाहा पाए होलान् ?

घर,  परिवार,  समाज जसरी चलेको छ सोही अनुरूप हाम्रा सपनाहरू पनि बुनिँदै जाने रहेछन् । म त्यस्तै पाँच वर्षकी थिएँ होला,  भविष्यको योजना सुनाउँथेँ – ‘म ठुली हुन्छु,  बिहे गर्छु । बेहुलाको घर जान्छु,  बिहान उठ्छु,  दैलो अगेनो पोत्छु,  घर लिप्छु,  सन्ठी ल्याएर चिया पकाउँछु,  मेरो बुढो जोत्न जान्छ अनि म चिया लिएर खेतमा जान्छु,  आलीमा टुसुक्क बसेर दुवैजनाले चिया खान्छौँ ।’

गाउँमा देखेर पनि धेरै कुरा थाहा हुन्थ्यो । हाम्रा देखि माथ्लो घरमा पाँचओटी छोरीपछि जन्मेको एउटा छोरो मसँगैका थिए । तिनले दिदीहरूको पहुँचमा नपुग्ने दूधभात खान पाउँथे,  राम्रा लुगा लगाउन र बोर्डिङ पढ्न जान्थे जबकि दिदीहरू स्कुल जानेबेलामा कहिले कपी किन्ने कहिले बलपेन किन्ने पैसा नभएर रुँदै हिँड्थे । छोरा हुनु भनेको घरमा भएसम्मको बढी सुविधा उपभोग गर्न पाउनु हो रहेछ भन्ने लाग्थ्यो  ।

मेरो चेतन,  अचेतन मनमा लिङ्गबोध गराउनमा जैविक भन्दा सामाजिक तत्त्व बढी हाबी छन् । जसले तँ छोरा मान्छेभन्दा कमजोर होस्,  LGBTIQ+ भन्दा भाग्यमानी होस् भनेर प्रत्यक्ष-परोक्ष रूपमा बुझाइरहेको छ ।

झापामा जन्मिएकी लेखक एवं सामाजिक अभियान्ता दीपा दाहाल हाल मोरङमा बसोबास गर्दै आइरहेकी छन् ।

रमेश शायनको लिङ्गबोधको अनुभव:

रमेश सायन

म र दिदी जुम्ल्याहा हौँ ।

हामीलाई हामी जुम्ल्याहा भन्ने थाहा नहुँदै दिदी छोरी र मचाहिँ छोरा हुँ भन्ने थाहा पाएको हुँ ।

दिदीको कपाल लामो थियो, मेरो छोटो । दिदीले लगाउने लुगा फरक थियो ।

मैले अक्षर जान्दा दिदीले घरको अरू काम पनि जानिसकेकी थिई ।

मैले खेल्ने खेल र दिदीले खेल्ने खेल फरक थियो । मैले सानैदेखि धेरै कुरा फरक भएको महसुस गरेको छु ।

तँ छोरा होस् यसो गर्नुपर्छ  । तँ छोरी होस् उसो गर्नु हुँदैन ।तैँले यसो मात्र गर्नुपर्छ जस्ता कुरा एकदमै सानैदेखि सुनेको हुँ ।

हुँदाहुँदा पछि अलिक ठूलो १०  वर्ष जतिको हुँदा त म र दिदी पढ्ने स्कुल नै फरक भयो । म बा आमाको सपना भएँ दिदी बा आमाको छोरीमात्र भई । मलाई अलिक राम्रो स्कुल भनिएको ठाँउमा पढाउन लगियो दिदीलाई गाउँकै स्कुलमा राखियो ।

त्यसैबेला अझै धेरै थाहा भयो – म छोरा हुँ भन्ने । पछि पछि हुर्कँदै गएपछि स्कुल र तिनका किशोर उमेरमा झन् धेरै थाहा भयो ।

छुटेका अनुहारबाट पद्मश्री साहित्य पुरस्कार (२०७६) पाएका लेखक रमेश शायन आफ्नो हस्ताक्षर छाड्न सफल तन्नेरी निबन्धकार एवं कवि हुन् ।

आज्ञा खतिवडाको लिङ्गबोधको अनुभव :

आज्ञा खतिवडा

भाइ, मलाई याद भएअनुसार तीन कक्षामा हुँदा मलाई मेरो ‘लिङ्गबोध’ भयो कि झैँ लाग्छ । होम ट्युसनमा टिचरले जबर्जस्ती मेरो हात उसको लिङ्मा लगेको थियो । तब मलाई आफ्नो र उसको (टिचर)को डिफ्रेन्स थाहा भयो तर अझ क्लियर थिइनँ । ठूलो भएपछि मेरो पनि त्यस्तै हुन्छ होला सोचेकी थिएँ, त्यतिबेला । पछि दिनहुँ त्यस्तो हुन थालेपछि ठुला केटाहरूले यस्तो गर्दा रहेछन् अनि अरूलाई भन्न हुँदैन रहेछ भन्ने मिस कन्सेप्सनमा एक-दुई वर्ष बित्यो ।

थाहा छैन, पछि यो कुरा कसरी बुझ्दै गएँ । मेरो लैङ्गिक पहिचान मैले कसरी थाहा पाएँ तर मेरो भन्दा उक्त टिचरको लैङ्गिक पहिचान छुट्टै छ भन्ने चाहिँ त्यहीबेलै थाहा पाएकी हुँ ।

आज्ञा खतिवडा गायक इन्द्रजित मिजारको स्वर रहेको जूनमा हेरूँ तिमीलाईबोलको गीतमा राजेश हमालसँग देखिएकी थिइन् ।

पिटरको लिङ्गबोधको अनुभव :

अनुज पिटर राई

म समलिङ्गी पुरुष  हुँ  अर्थात् चलनचल्तीमा मलाई ‘गे’ भन्छन् । जन्मिँदा पनि पुरुष, शारीरिक एवं मानसिक आकर्षण पनि पुरुष नै भएको व्यक्ति हुँ म ।

सानैदेखि म फेमिनाइन त थिएँ नै, भनेको केटी केटी पाराको थिएँ । कतिपय महिलाहरू पनि केटाहरूजस्तै हुन्छन्, छोटो-छोटो कपाल पाल्ने, गह्रुङ्गो गह्रुङ्गो काम गर्ने । म आफूले आफूलाई त्यस्तै सोच्थेँ ।

मेरो फेमलीमा दिदीबहिनीहरू धेरै हुनुहुन्थ्यो, त्यहीकारण ममा पनि दिदीबहिनीहरूको जस्तै व्यवहार आयो कि भन्ने पनि लाग्थ्यो तर जब मैले ब्याचलर गरेँ ।

ब्याचलरपश्चात् जब एक जना महिलासँग मेरो इन्गेज भयो, त्यसपछि चाहिँ मैले आफ्ना बारेमा थाहा पाएँ । विवाह हुने महिलासँग भेट्ने, घुमघाममा जाने क्रम चल्यो ।यसरी घुमघाम गर्दा, उक्त महिलासँग कुराकानी गर्दा, नजिक हुँदा पनि ममा कुनै खुसीको भाव पैदा हुन सकेन । त्यसपछि हो, मेरो मनमा आफ्नो लैङ्गिकतासम्बन्धी धेरै प्रश्नहरू उब्जिन थालेको । मलाई म पुरुष भएर पनि किन महिलासँग आकर्षित हुँदिन भन्ने लाग्न थाल्यो । त्यसपछि मलाई ‘म महिलासँग विवाह गरेर खुसी हुन सक्तिनँ’ भन्ने लाग्यो र यदि विवाह गरेमा आफ्नो र उक्त महिला दुवैको जीवन बरबाद हुन्छ भन्ने सोचेर परिवारसँग कुराकानी गरी विवाहको योजना रद्द गरेँ ।

वि.सं. २०७० सालमा नेपालमा पहिलो पटक ‘Mr. Gay’ प्रतियोगिताको आयोजना भएको थियो । प्रतियोगितामा मेरा एकजना निकटतम साथीले भाग लिएका थिए । सोही साथीसँग नीलहीरा समाज संस्थामा पहिलोपटक पुगेँ । त्यहाँ पुगिसकेपछि मैले यौनिक विविधताका बारे सुनेँ र यसबारे जान्ने मौका पाएँ । बल्ला मैले बाल्यकालदेखि मेरा मनमा रहेका अनगिन्ती प्रश्नहरूको उत्तर भेटेँ ।

यो गुण सानै उमेरदेखि देखिन पनि सक्छ तर आफैँभित्रको द्वन्द्वमार्फत म के हो भनेर थाहा पाउन मलाई चाहिँ टाइम लाग्यो । चाहे महिला होस्, पुरुष वा ‘यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक’, यदि सबैले आफ्नो पहिचानलाई आफैँले स्वीकार गरी सकारात्मक सोचसहित काम गर्दै जाने र आफ्नो पहिचानबारे सबैलाई कुरा बुझाउँदै जाने हो भने परिवारजन, आफन्त र समाजले मात्र नभई उनीहरूलाई सारा विश्वले नै स्वीकार गर्छ । कुनै पनि व्यक्तिले आफू स्वयंलाई जस्तो हो त्यही रूपमा स्वीकार गर्नुपर्दछ  ।

पूरा नाम- अनुज पिटर राई, समलिङ्गी पुरुष पिटर हाल नीलहिरा समाज  नामक गैरसरकारी संस्थामा कार्यक्रम संयोजकका रूपमा कार्यरत छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि अभियान्ताका रूपमा सक्रिय पिटर सन् २०१७ मा मिस्टर गे ह्यान्डसम’ (Mr. Gay Handsome) प्रतियोगितामा दोस्रो रनर अपभएका थिए । उनी आफ्नो संस्थासँगको काम सँगसँगै फ्रिल्यान्स मेकअप आर्टिस्टका रूपमा पनि काम गर्दछन् । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका बारेमा जनचेतना जगाउने, उनीहरूका हकका लागि मुद्दा उठाउने चर्चित अभियन्ता र कुशल वक्ताका रूपमा पनि पिटर प्रसिद्ध छन् ।

सविना श्रेष्ठको लिङ्गबोधको अनुभव:

सविना श्रेष्ठ

सानोमा एक शिक्षकले सोध्नुभयो, ‘तिमी नारी भएकीमा कस्तो महसुस गर्छौ?’

त्यसबेला र अलि ठूली भएपछि महसुस गरेको अनुभव र उकुसमुकुसलाई मैले केही वर्षअघि कान्तिपुर कोसेलीमा फुकाएको थिए । योपटक तपाईँले लिङ्गबोधको अनुभव लेख्नुहोस् न भन्दा म त्यही प्रश्नमा पुगेकी छु र फेरि पनि प्रस्ट जवाफ नजानेर अलमलमा छु ।

त्यो कुन कुरा थियो जसले पहिलो पटक मलाई लिङ्गबोधको अनुभव गरायो? साथी सङ्गत? शरीरका अङ्ग? कपाल? लुगा? विभेद? शिक्षा? समाज? वा के?

लिङ्गबोधको अनुभव सायद ‘एब्सट्रयाक्ट’ हुँदो हो । यही एक कुरा वा घटनाभन्दा पनि समयसँगै गाँसिदै जाने कुराहरूले नथापाउँदो पाराले ‘तँ यो होस् है’ भनेर थाहा दिँदा हुन् । त्यही थाहा दिँदै जाने कुराहरूले नै सानो छँदा केटाको झैँ ‘बोइजकट’ कपाल भएकी, केटाहरूसँगै खेल्ने, झगडा गर्ने, आफूलाई कोही भन्दा कम नठान्ने र निस्फिक्री हिँड्ने केटी एकाएक अन्तर्मुखी र लजालु स्वभावकी बन्दै गइन् । बेलाबेला मलाई त्यो सानी केटीसँग ईर्ष्या लाग्छ ।

राजुजी, ऐनाको एपिसोड ‘स्वरूपको खिसिट्युरी’ मा तपाईँले आफू कसरी ‘झल्लु’ भए भनेर भन्नु भएको मलाई याद छ । दारी पाल्दैमा ‘ब्रह्मचारी’, ‘जोगी’ वा ‘झल्लु’ भनेर खिसिट्युरी हुँदा तपाईँले आफ्नो उपनाम नै ‘झल्लु’ राख्नुभएछ नि?

दारी हुनु भनेको त समाजले भनिदिएको केटा कै गुण हो तर त्यसमा पनि कति धेरै बन्देज । हाम्रा आफ्नै कुरालाई त हामी आफ्नो जसरी, आफ्नो हिसाबमा चलाउन पाउँदैनौँ । जो आफ्नो होइन भनिएको छ त्यसमा झन् कति धेरै अपजस हुन्छ । कति धेरै विद्रोह गर्नुपर्छ ।

अरूले बनाइदिएको सिद्धान्तमा हिँड्दा–हिँड्दा कतिले आफू हुनै बिर्सँदा हुन् ।‘छोरी/छोरा भएर यस्तो गर्नु हुन्न, यस्तो गर्नुपर्छ’ लगायत कुराले झन् धेरै हामीलाई आफ्नो लिङ्गबोध गराउँछ होला । किनभने उनीहरूले बारम्बार सम्झाएका हुन्छन्, ‘तँ यो होस् है ।’

कतिपय सम्पन्न मुलुकमा छोराछोरीलाई लिङ्गको आधारमा भेदभाव नहोस् भन्ने हिसाबले समान व्यवहार गर्न थालिएको छ । उनीहरूलाई छोरा वा छोरीभन्दा आफ्ना बच्चाका रूपमा हेरिन्छ । सबै बालबालिकाले यसरी नै आफू हुन पाउनुपर्छ नि हैन? ताकी उनीहरूले आफैँ आफ्नो लिङ्गको निर्णय गरून् – पुरुष, महिला वा अन्य केही । ताकि मलाई जस्तै शिक्षकहरूले फेरिफेरि प्रश्न गर्दा सोधून्, ‘तिमीलाई तिमी भएकोमा कस्तो महसुस हुन्छ?’

सविना श्रेष्ठ कला,संस्कृति र सामाजिक विषयमा कलम चलाउँछिन् ।

पिङ्की गुरुङको लिङ्गबोधको अनुभव:

पिङ्की गुरूङ

म नौ वर्षको हुँदा मैले आफ्नो लैङ्गिक पहिचान यो हो भनेर थाहा पाएँ । त्यतिबेला कुनै केटीसँग म प्रेमसम्बन्धमा थिएँ तर उक्त केटीसँग मलाई प्रेमजस्तो केही भएन । म आफू केटाजस्तो भए पनि मलाई केटा मनपर्छ भनेर त्यतिखेर बोध गरेँ ।

मलाई लुकेर नङमा पोलिस लगाउन मनपर्थ्यो  । म नङ पनि पालिरहेकै हुन्थेँ । त्यतिबेला कपाल त सानो थियो केटाको जस्तो  तर म गलबन्दीहरू लगाएर कपाल चुल्ठो पार्थेँ  ।यसो गर्दाखेर कपाल लामो भएजस्तो हुन्थ्यो, निकै खुसी हुन्थेँ । अझ, गाउँमा हुने देउसी-भैलोमा नाच्नलाई (मारुनी बन्नलाई) हत्त न पत्त अघि सरिहाल्थेँ । मलाई त्यतिबेला के लाग्थ्यो भने बल्ल केटीको जस्तो बिहेभमा आउन पाएँ  । मारुनी नाच्नलाई म सधैँ उत्साहित हुन्थेँ तर परिवारले कराउथे पनि  ।

हाम्रोमा मामा-फुपूमा बिहे चल्छ  । १० कक्षा पढ्नुभन्दा अगाडि नै फूपूको छोरीसँग बिहेको कुरा चलेको थियो । बिहे भइहाल्छ कि भनेर निकै डराएको थिएँ, त्यतिबेला । पछिपछि पनि घरमा केटीहरू देखाउन आउँदा पनि डर लाग्थ्यो । कसैगरी  बिहे नभइदिए हुन्थ्यो मात्रै सोच्ने गर्थेँ ।

पछि जब आर.आर. क्याम्पस पढ्न थालेँ, रत्नपार्कतिरको मोभिलाइजेसनहरू देख्न थालेँ  रत्नपार्कमा भेटिने साथीहरूसँग नजिक हुन थालेँ  । त्यसैबेला मैले अझ आफू यस्तो रहेछु, मजस्ता अरू पनि रहेछन् भन्ने फिल गरे । त्यसपछि मैले आफूलाई एक्लो महसुस गरिनँ  । उहाँहरूसँग सङ्गत बढ्न थाल्यो । एक-अर्काको कुरा सेयर हुन थाल्यो । पछि मैले आफ्नो शरीरमा देखिने परिवर्तनहरूलाई नोटिश गर्न थाले । फिमाइन हर्मनहरू खान थाले, केटीजस्तै गरी हिँड्न र बोल्न थालेँ !

मेरो नागरिकताको नाम ‘सञ्जिव गुरुङ’हो तर  मलाई नागरिकताको नाम कहिल्यै पनि चेन्ज गर्न मन लागेन किनभने आफू जे हो त्यसलाई किन परिवर्तन गर्ने? एउटा त्यो समय थियो, मेरो लैङ्गिक पहिचान दुनियाँका लागि उपहासको पात्र बन्ने गर्थ्यो । बिहान घरबाट निस्किएपछि राति घर नफर्केसम्म समाजका तिखा नजर, तुच्छ बोली, हेला र तिरष्कार अनि अपमान, हिंसा र कुटपिट मेरो नियति नै बनेको थियो । मनका वेदना पोख्ने ठाउँ थिएन । परिवार र समाजको डरले लुकेर बस्नुपर्थ्यो रत्नपार्कमा प्रहरीले कुटेको, केटाहरूले ब्ल्याकमेल गरेको, सभ्य र नैतिकवान् राजनीतिकर्मीहरूले छम्का र हिजडा आउन बन्द गरौँ भन्दै भिडमा अभिव्यक्ति दिएको अझै सम्झन्छु । सङ्कटकालमा माओवादीले आर्मीको मारुनी र आर्मीले माओवादीको सुराकीको शङ्का गरी पेस्तोल तेर्स्याएका थिए । धेरै साथीहरू सडकमै थिए, त्यहीँ सुत्थे । यौन कर्मबाट कमाइ पनि थोरै थियो त्यतिबेला ।

हिजोलाई हेरी आज नेपालमा तेस्रो लिङ्गी समुदायको अवस्था प्रगतिशीलतातर्फ उन्मुख छ । हिजो लुकेर बसेको यो समुदाय आज खुलेर आवाज मुखरित गर्न अभिप्रेरित छ । समाजमा स्वीकार्यता र संवेदनशीलता बढ्दै छ भने समुदाय आफैँ पनि सतर्क हुँदै आएको छ । विभिन्न क्षेत्रमा तेस्रो लिङ्गीहरू अग्रपङ्क्तिमा आएको पाउँछु, नीलहीराबाट केही गर्न सके कि जस्तो लाग्छ, खुसी लाग्छ ।

हामीले अरूलाई भन्दा बढी अधिकार देऊ भनेकै होइन । अरूले जस्तै सहज र सरल तरिकाले बाँच्न देऊ मात्र भनेका हौँ ।जसरी महिला र पुरुषले नागरिकता प्राप्त गर्न मेडिकल प्रमाण र सिफारिसको आवश्यकता पर्दैन त्यसरी नै सर्वघोषणा र आत्मनिर्णयकै आधारमा नागरिकता प्रदान गरिदिए हुन्थ्यो । राज्यको कानुन र समाजमा जसरी अन्य वर्ग, धर्म, जाति र लिङ्गहरूले मान्यता पाएका छन् त्यसरी नै हाम्रो समुदायले पनि पाउनुपर्छ । अहिलेसम्म जनगणनाले तेस्रो लिङ्गीलाई समेट्न नसक्दा हाम्रो समुदाय तथ्याङ्कविहीन बनेको छ । जनगणनामा समावेश गराई राष्ट्रिय तथ्याङ्कका आधारमा अन्य समुदायसरह शिक्षा, स्वास्थ्य, रोजगार र आरक्षणको अधिकार दिनुपर्छ ।

टिजी पिङ्की गुरुङ एक नेपाली तेस्रोलिङ्गी अधिकारकर्मी हुन् । उनी नीलहीरा समाजका अध्यक्ष पनि हुन् । उनी सन् २०१७ मा संविधान सभाको चुनावमा नयाँ शक्ति पार्टीबाट उठेकी थिइन् ।

क्रमश..

प्रतिक्रिया
Loading...