जैविक लिङ्ग (Sex) र सामाजिक लिङ्ग (Gender) मा भिन्नता छ । जैविक लिङ्ग शारीरिक गुण हो भने सामाजिक लिङ्ग मानसिक गुण हो । जैविक लिङ्गको निर्धारण यौन अङ्गबाट हुन्छ भने सामाजिक लिङ्गको निर्धारण मानिसको हाउभाउ, व्यवहार, झुकाव, लवाइको रुचि र सिँगारपटारको रुचि आदिबाट हुन्छ ।
उमेर बढदै जाँदा मानिसमा यौनप्रति अभिरुचि जाग्दै जान्छ । यौनाकर्षण विपरीत लिङ्गीसँग मात्र हुन्छ भन्ने सामान्य मान्यता (परम्परागत मान्यता) रहेको छ, जुन सही होइन । यस्ता धेरै फरक लिङ्गी व्यक्तिहरू छन्, जसमा यौनाकर्षणको यस मान्यता लागु हुँदैन ।
परम्परागत दृष्टिकोणमा फरक लिङ्गी हुनु भनेको एक प्रकारको पूर्व जन्मको पाप, अभिशाप, रोग वा अप्राकृतिक उपज हो भन्ने अन्धविश्वास अझै छ । यसले अल्पसङ्ख्यक एवं सीमान्त फरक लिङ्गी समुदायको पहिचान, हैसियत, हक-अधिकारलाई बाधा पुऱ्याईरहेको छ ।
लैङ्गिकता तीन प्रकारका छन्; पहिलो समलिङ्गी (Homosexual, दोस्रो विपरीत लिङ्गी (Heterosexual) र तेस्रो द्विलिङ्गी (Bisexual) । पहिलो लैङ्गिकता समान जैविक लिङ्ग भएका व्यक्तिहरूसँग सम्बन्धित छ भने दोस्रो लैङ्गिकता विपरीत जैविक लिङ्ग भएका व्यक्तिहरूसँग सम्बन्धित छ । तेस्रो भने सम र विपरीत दुवै लिङ्गीप्रतिको शारीरिक, मानसिक र भावनात्मक आकर्षण हो ।
यसलाई यसरी भन्न सकियो, जन्मिँदा महिला वा पुरुष भए पनि हुर्कँदै जाँदा कतिपय व्यक्तिहरूमा प्रतिविम्बित हुने यौन चाहना, लैङ्गिक प्रस्तुति (Gender Expression), व्यक्तित्वले लैङ्गिक पहिचान (Gender Identity) निर्धारण गर्छ । यसप्रकारको पहिचानलाई नेपालीमा ‘फरक लिङ्गी’, ‘अन्य लिङ्गी’ या ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक’ र अङ्ग्रेजीमा एलजिबिटिआईक्यू (LGBTIQ) भनिएको छ ।
‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक’हरू यही समाजकै हिस्सा हुन् र जैविक पहिचानभन्दा लैङ्गिक अनुभूति महत्त्वपूर्ण विषय हो भन्ने कुरालाई अघिल्लो शृङ्खलामा चर्चा गरिसकिएको छ ।
पृष्ठभूमि :
समाजले महिला र पुरुषको भूमिकालाई परापूर्वकालदेखि मान्यता दिएको छ भने फरक लिङ्गीहरूलाई मान्यता दिने क्रम जारी रहेको छ तर हाम्रो समाज फरक लिङ्गीहरूलाई के कारण सम्बोधन गर्न सकिरहेको छैन भनि नियाल्दा म विवाह संस्थालाई मुख्य ‘दोषी’ पाउन पुग्छु । किनकी विवाह, परिवार र नातासम्बन्ध मानव समाजको सबैभन्दा पुरानो संस्थाहरू हुन् । यी तीनवटै संस्थाहरू अन्तरसम्बन्धित र विश्वव्यापी छन् ।
उसो नेपाली समाज परिवर्तनको पर्खाइमा छ । समाजमा कायम रहिआएका मान्यता आजको भोलि नै सहजै परिवर्तन भइहाल्छन् भन्ने होइन तर त्यसतर्फ निरन्तर अग्रसर भने हुन सकिन्छ, होइरहनु पर्दछ । लोकतान्त्रिक र प्रगतिशील समाजमा सबै नागरिक समान हुनुपर्दछ । सम्पूर्ण मानव जातिहरू जन्मदै स्वतन्त्र एवं प्रतिष्ठा र अधिकारमा समान छन् । मानवअधिकार सबैका लागि र सधैँका लागि हो, यो केहीलाई र केही समयका लागि भन्ने हुनु हुँदैन ।
तर, समाजमा यस्ता धेरै तह र तप्कामा व्यक्ति एवं समुदाय मानवअधिकारबाट या त पूर्ण रूपमा वञ्चित भइरहेका छन्, या त तिनले आफ्नो जन्मसिद्ध अधिकारको पूर्ण रूपमा उपभोग गर्न पाइरहेका छैनन् । मानवअधिकारबाट वञ्चित भएका समुदाय मानवअधिकार उपभोगका दृष्टिले सङ्कटापन्न भएको अवस्थामा त्यस समूहको हक र हित प्राथमिकतामा पर्नुपर्दछ । बोल्न नसक्नेको आवाज मुखरित गर्नु र समाजले उपेक्षाभाव राख्ने समुदायको उत्थानमा दत्तचित्त रहनु नै कर्तव्यपालनको पहिलो सोपान हो । यसमा नैतिक अल्पता र इमान्दारिता कमीमा कुनै गुन्जाइस रहनु हुँदैन ।
अत: कुरा गरौं, सामाजिक संरचना र विवाहको संस्थाको नै,
सामाजिक संरचना र विवाह संस्था :
महिला र पुरुषका आवश्यकताका अनुरूप वर्तमान समाजको क्यानभास तय भएको छ तर त्यसक्रममा एउटा रमाइलो पक्ष के देखियो भने, सामाजिक जिम्मेवारी बाँडफांड गर्ने क्रममा महिला र पुरुषलाई एक-अर्काको परिपूरक हो भनी अर्थ्याइयो । एक-अर्काको परिपूरक त्यसअर्थमा स्थापित हुन सकेन, जुन अर्थमा हुनुपर्थ्यो । यसकारण यो कुरा यहाँ खत्तम भएन । क्रमश: विवाह संस्था, ईश्वर, धर्म, राजा (सामन्तवाद), संस्कार, रीतिरिवाज, परम्परा, भाग्य र कानूनको अनुकूलताका आधारमा पुरुषमैत्री समाजको चित्र कोरियो । त्यसमा रङ लगाउने क्रममा छुटपुट महिलाको सहभागिता गराइयो ।
चित्र निर्माणका क्रममा श्रीमान्हरू देउता बने, विवाह नभएको छोरीमान्छे ‘पापिनी’ बनिन्, विवाहविरुद्ध बोल्यो भने नर्क जानुपर्ने भयो । क्रमश: महिलाको स्वतन्त्रतालाई ‘पोथी बास्नु हुन्न’ र ‘महिला हाँस्न हुन्न’ लागेर लडाइयो । आफूले जन्माएको बच्चा, आफ्नो स्रोतसाधन क्यान्भ्यासको रङ बन्न सकेन, यद्यपि महिलाहरू क्यानभ्यासमा रङ भरिरहे ।
पुरुषले आफूअनुकूल नियम बनाए, कानून बनाए, धर्म बनाए । परिवार धान्न विवाह गर्नैपर्छ भन्ने परम्परा बसाए । विवाह सृष्टि चलाउन, वंश चलाउन गर्नैपर्ने नियम बसाए । यसमा दफा, उपदफा थपिरहे, विधेयकहरू पारित भइरहे र लागु भइरह्यो । यसप्रकार नेपाली समाजमा पनि विवाह कर्तव्य र व्यवहार बन्न पुग्यो ।
मनुस्मृतिले विवाहलाई दुई आत्माबिचको पवित्र मिलन बताएर आफूले चाहेर मात्र नहुने, विवाहका लागि सूर्य भगवान्ले नै तोकिदिने चर्चा गरेको छ । स्कन्धपुराणको केदारखण्डको श्रीस्वस्थानीले पनि यही विचारलाई समर्थन गरेको पाइन्छ । सरसर्ती हेर्दा धर्मशास्त्रहरूले सन्तान प्राप्ति (पुत्र प्राप्ति) र रतिसुखलाई विवाहको मूलभूत उद्देश्य बताएको देखिन्छ । धर्मशास्त्रहरूमार्फत कसैले विवाह नगर्ने र सन्तानोत्पादन नगर्ने हो भने यो संसार क्रमशः मानवरहित बन्न जाला कि भन्ने चिन्ता व्यक्त भएको भेट्न सकिन्छ ।
अत: एउटै केटीमा धेरैजना केटाको तानातान वा एउटै केटामा धेरैजना केटीको आशक्ति रहनुले समाज विकृत बन्दछ भन्ने मान्यताले जङ्गली मानिसहरूलाई विवाहको गोहो हिँडाएर परिवार र समाजको स्थापना भएको देख्न सकिन्छ । निजी लोग्ने र निजी स्वास्नीको अवधारणा यहीबिच स्थापित भएको हो । यौन सम्बन्धका सीमाहरू तोकिनु र सामाजिक संरचना पितृसत्तात्मक हुँदै जानुबिच दिलचस्प सामन्जस्य छ । (त्यता अर्को शृङ्खलामा जाऔँला ।)
एउटा कुरा चाहिँ के हो भन्दा, धर्म, संस्कृति, जातजाति, स्थान, परिवेश, अवस्था र सामाजिक प्रचलन अनुसार विवाहका तौरतरिका फरक होलान् तर विवाह नगर्ने समाज अहिलेसम्म भेटिएको छैन । यसरी हेर्दा समाजलाई प्रत्यक्ष रूपमा ईश्वर, राजा र धर्म हुँदै कानूनले गाइड गरेको देखिएता पनि अप्रत्यक्षरूपमा वैवाहिक संस्थाले गाइड गऱ्यो/गरिरहेछ ।
अलिपछि, धर्ममा बिस्तारै खलबल निम्तियो । यहीबिच समानान्तररूपमा छोरीहरू स्कुल, कलेज र रोजगारदाताहरू कहाँ पुगे । धर्मले, बाउले र संस्कारले भनेका केटासँग या विवाह संस्थासँग यिनीहरूले निउँ खोज्न थाले । विवाहको सामाजिक तथा सांस्कृतिक धरातलमाथि प्रश्न उब्जिए । यहीबेला, भावनात्मक कम र उपभोक्तावादी ज्यादा पश्चिमाहरूको प्रभाव पनि हाम्रो समाजमा देखियो । सामन्तवादी समाजमा धर्मको आधारमा टिकेको विवाह संस्था पुँजीवादको उदयसँगै क्रमश: धर्मराउन थाल्यो ।
पढ्नका लागि जसोतसो गरेर घरबाहिर निस्किएकी छोरी स्वतन्त्र हुन थालिन् । विवाहको बन्देजले छोरीहरूलाई छेकेन । यस्ता छोरीहरूले नै परम्परावादी कानूनमा परिवर्तन ल्याउन अग्रणी भूमिका खेले र अन्तत: हाम्रो वर्तमान कानून ‘महिलामैत्री’ बन्न पुगेको आरोप खेप्न अभिशप्त भयो ।
पुरुषसरह नै महिलाहरू बरोबर काममा निस्कन थालेपछि पुरुष सत्तामा कम्पन उठ्यो र यहाँनेर आएर विवाह संस्थाको जगमा पनि कम्पन छुट्यो । त्यसमा अझ एआई र वैज्ञानिक चमत्कारले उथलपुथल ल्याइदियो । उथलपुथलको नामहरू हुन्- अन्तरजातीय विवाह, सम्बन्धविच्छेद, सरोगेट मदर, टेस्टट्युब बेबी, एकल आमा, लिभ इन रिलेसनसिप, विवाहअघि नै गर्भधारण, गर्भपतन, विवाहै नगरीकन बस्ने वा बच्चै नजन्माउने आदि-इत्यादि । (यस कम्पनको पराकम्पन जेट जेनेरेसनमा देखिरहेको छ भने अल्फा जेनेरेसनमा अझ बढ्ने अनुमान छ!)
विवाह के हो, के हुनुपर्ने थियो र के भयो ?
विवाह व्यक्तिगत तहमा जैविक सन्तुष्टि (यौन चाहना), मनोवैज्ञानिक सन्तुष्टि (बच्चा पाउने), श्रम र सम्पत्तिमा पारस्परिक अधिकार, परिवार र नातेदारबिच नातागत समतुल्य व्यवहार हुनुपर्ने थियो तर त्यो भइदिएन । अंश, वंश, पहिचान, थर, प्रथाजन्य कानून र परम्परा, ऐन कानून, नीति नियम, प्रथा र परम्परा, दासता, शोषण, द्वन्द्व एवं राजनीतिक, पारिवारिक र व्यक्तिगत लाभसहित पुरुष एकाधिकरको निरन्तरता मात्रै रहन पुग्यो ।
यसप्रकार पवित्र बन्धन (sacrament) बाट विवाह करार (contract) बन्न पुग्यो । विवाहले अन्तत्वगोत्वा एउटा केटाले एउटा केटीसँग जीवन बिताउनुपर्ने (हिन्दू धर्म र संस्कृतिमा सात जुनीका लागि), विवाह बन्धनमा अनिवार्य, महिला कुमारी हुनैपर्ने, छोरीलाई बाबु–आमाले दान दिन पर्ने, दुलही श्रीमान्को घर जान पर्ने, छोरा पाउनै पर्ने, घरगृहस्थीको काममा सीमित हुनैपर्ने, श्रीमान्लाई श्रीमतीसँग श्रीमतीको मञ्जुरी भए पनि नभए पनि चाहेको बेला यौनसम्बन्ध राख्न पाउनैपर्ने र पारपाचुके गर्न नपाउने लगायतका कुराहरू समेट्यो । यस कुरालाई निश्चय धर्म, सम्प्रदाय, जातीय अवस्थिति र सामाजिक मान्यताहरूले विवाहलाई विविध रङ र रूप दिइरह्यो!
यसप्रकार धर्म र परम्परासँग साइनो जोडेर विवाहले आफूलाई जटिल, प्रणालीगत र विधिपूर्ण बनाइरह्यो । जात, वर्ग, रूप, रङ, कद, सौभाग्यवती सौन्दर्य लगातयका सामाजिक तथा परम्परागत बन्धनको पर्खाल निर्माण गरियो । वंशको निरन्तरता, कालान्तरको सहारा र बुढेसकालको सुख जस्ता कुराहरूले पनि सोही पर्खालमा ल्याएर आफ्नो आङ कन्याउन थाले । यो निरन्तर चलिरह्यो, चलिरहेछ ।
विवाहमार्फत एकापासमा सम्बन्ध स्थापित भएसँगै सम्मान, समझदारी, विश्वास र गुणस्तरीय समय प्रगाढ हुनुपर्थ्यो, त्यो भएन । यसैकारण आक्रोशपूर्ण लवजहरू सामुन्ने आए-
१.‘विवाह वैध प्रकृतिको सामाजिक वेश्यालय हो’ (नेपाली समाज) ।
२.‘विवाह एक अत्याचारी संस्था हो । सबै प्रकारको विभेदको मोडल विवाह हो (नारीवादी शिला क्रोनान) ।’
३.‘अत्याचारी पुरुष आफ्नो पुँजीवादी साम्राज्य निर्माणमा विवाहमार्फत महिलालाई मेसिनभाँती प्रयोग गर्छ (टी. एटकिन्सन् लगायतका नारीवादीहरू) ।’
४.‘विवाह संस्थाको अन्त्यपश्चात् मात्रै महिलामुक्ति सम्भव छ(शिला क्रोनान) ।’
५.‘विवाह भनेको अन्तरङ्ग उपनिवेश (इन्टिमेट कोलोनाइजेसन) हो (के. एल. हेगन) ।’
६.विवाह एउटा संस्थाको रूपमा व्यवहारतः बलात्कारबाट विकास भएको हो (एण्ड्रिया डारकिन) ।’
७.विवाह सम्बन्ध पुरुषको सर्वोच्चतामा आधारित छ र यसको घोषित उद्देश्य बच्चा जन्माउने र बच्चाको पिता निर्विवाद हुने, जसले गर्दा पिताको सम्पत्ति छोरामा सजिलै हस्तान्तरण गर्न सकियोस् (फ्रेडरिक एङ्गेल्स) ।’
८. साहित्यिक पुस्तक र चलचित्रहरूमा विवाहको रुमानी छवि प्रक्षेपण गरी बाल्यकालदेखि नै विचारमा नियन्त्रण गर्दछ र विवाहका सम्बन्धमा वस्तुगत छवि देख्न असमर्थ बनाइन्छ (विकिपिडिया) ।
नेपाली समाजमा एउटा उक्ति प्रचलित छ- “विवाह नगर्नेले विवाह नगरेकोमा पछुताउँछन् र विवाह गरेकोले विवाह गरेकोमा पछुताउँछन्।” यसको अर्थ घनिभूत छ यसलाई नरिवल फुटाए ट्वाक्क फुटाउन सकिन्न ।
अत: विवाह गर्ने, पारपाचुके गर्ने, पुनः विवाह गर्ने, एकल बस्ने सबैले ‘जैविक आवश्यकता, सन्तान प्राप्तिको साधन, दुई आत्माको मिलन’ लगातयका अलङ्कारबाट सुसज्जित गरिएको विवाहसंस्थालाई लिएर बहस जारी राखिरहेका छन् । विवाह संस्थालाई लिएर पुनारावलोकन सुरु भएको छ । विवाहका राम्रा-नराम्रा दुवै पाटाहरूलाई लिएर प्रश्न गर्न थालिएको छ । विवाहलाई दुई व्यक्तिको सम्बन्ध स्थापना गर्ने र परिवारको निरन्तरता दिने संयन्त्र मात्रै हो या दुई व्यक्तिको भैतिक एवं भावनात्मक अस्तित्वको साझेदारी हो? विवाह सामाजिक तथा मानवीय अस्तित्वलाई बलशाली बनाउने तत्त्व हो या मानव स्वतन्त्रताको स्वतन्त्रको बन्धन?
‘अब हिजोकै स्वरूपमा विवाह संस्था रहँदैन । विवाहमा विकल्पहरू आउँछन् । पारिवारिक सम्बन्धमा परिवर्तन आउँछ ।’ लगायतका बहसहरू आज निरन्तर चलिरहेकै छ । बहसबिच फेरी पनि पुरुष आफ्नो सत्ता जोगाउन ‘सोलोमोन (एक हजार विवाह गरेका इजरायलका सबैभन्दा बुद्धिमान राजा)’ बन्न मरिमेटिरहेकै छन् भने महिलाहरू इटालीकी ‘जुलिया टुफना (करिब ६०० सय विवाहित पुरुषहरूको कत्लेआम गरेकी ठकुराइन)’ बन्न चाहिरहेका छन् ।
यसबिच हामीले एउटा तथ्यलाई बिर्सन मिल्दैन- विवाह छ, त्यसैले व्यक्ति, घर, समाज र सभ्यता पूर्ण तथा चलायमान छ । विवाह संस्था हुन्थेन भने समाजको चित्र कस्तो हुन्थ्यो, त्यो अनुमान र अन्वेषणको कुरा भयो । यद्यपि विवाह संस्थाको अनुपस्थितिमा आजको समाज बर्बर हुन्थ्यो भन्ने अनुमान छ, त्यसले वैज्ञानिक पुष्टि भने पाएको छैन । यसर्थ यो अन्वेषणको पक्ष पनि भयो । सामाजिक अन्तर्घुलन बढाउन र उदात्त मानवीय सम्बन्धलाई उचाइ दिन विवाहको ठूलो गुण छ, त्यसललाई बिर्सन मिल्दैन । विवाहले यौनको अत्यावश्यकतालाई स्विकारेर मानवतामाथि गुण भने लगाएकै हो ।
चलिरहेको बहसमा के निष्कर्ष निस्कन्छ र त्यो निष्कर्ष कुन स्वार्थबाट जडित हुन्छ, त्यो भन्न सकिने कुरा भएन । जसरी म यतिखेर आफ्नो निष्कर्ष निकालेर ‘यै हुँ म’ भन्न नसक्ने अवस्था छु, उसैगरी ‘विवाह यही हो र यस्तो हुनुपर्छ’ भन्ने निष्कर्षमा पुग्न सकिन । उसैगरी बस, विवाहको गति र चरित्रलाई लिपिबद्ध गर्न पनि म असमर्थ छु ।
बस्, यत्ति हो विवाहको नयाँ परिभाषा सामुन्ने आओस् र यसले सामाजिक मूल्यमान्यतामा सकारात्मक प्रभाव राखोस् । विवाहको नयाँ परिभाषामा ‘विवाह गर्न जात होइन लैङ्गिकता चाहिन्छ’ भन्ने कथ्य पनि निर्माण होस् । विवाह ‘मनको साइनो’ हो भनेर स्विकारिरहँदा विवाह ‘लैङ्गिक साइनो’ हो भन्ने कुरा हामीले बिर्सन भएन । विवाह महिला र पुरुषबिच होइन, महिला-महिला, पुरुष-पुरुष र द्विलिङ्गी चरित्र धारण गर्ने व्यक्तिहरूबिच पनि हुन्छ ।
परम्परागत विवाह संस्थामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय:
इतिहासलाई हेर्दा विवाहका अनेक रूप त देखिए, त्यसमा महिलामाथि अन्याय भएका प्रसङ्ग पनि उप्किए तर यति हुँदाहुँदै पनि एउटा समुदाय यत्रो लामो इतिहास छिचोल्दै आफूलाई कसरी उभ्याइरहेको होला, त्यता न महिलाले हेर्न भ्याए, न पुरुषको नै नजर पऱ्यो । यो समुदाय महिला र पुरुषको ‘गोरु जुधाइ’मा ‘दुबो मिचाइ’ बनेर आफूलाई अस्तित्वमा उभ्याइरहन अभिशप्त भयो ।
पितृसत्ताअन्तर्गत विपरीत लिङ्गीबिचको सम्बन्ध नै विवाह हो भनेर स्विकार्दा एउटा ठुलो समुदाय (यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक) प्रताडित बनिरहेको सत्य समाजले देख्नै भ्याएनौँ । बरू उनीहरूमाथि किसिमकिसिमका लैङ्गिक दुर्बोध गरिरह्यौँ ।
[‘परम्परागत विवाहले समलिङ्गी विवाहलाई मान्यता दिँदैन’ भन्ने क्लयर च्याम्बर्स लगायतका भनाइहरूलाई केन्द्रमा रहेर आगामी शृङ्खलामा बाँकी चर्चा हुनेछ ।]
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको दुर्बोध:
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्रको समग्र पहिचानको व्यापकतालाई समेट्ने गरी ‘Sexual Orinetation and Gender Identities, (SOGI)’ अर्थात् ‘यौनिक अभिमुखीकरण तथा लैङ्गिक पहिचान’ भन्ने शब्द प्रचलनमा रहेको छ तर हाम्रो समाजले यस समुदायलाई किसिमकिसिमका लैङ्गिक दुर्बोधले बोलाइरहेको छ ।
पूर्वी पहाडमा ‘मेटी’, सुदूरपश्चिममा ‘गाण्डी’ वा ‘मौगी, मधेशमा ‘कोथी, ‘मौगमेहर’ वा ‘मौगियाहा’ तथा हिमालमा ‘मारुनी’ जस्ता अपमानजनक शब्दबाट सम्बोधन गरिने प्रचलन अझै छ । त्यसैगरी नेवारीमा यस समुदायलाई ‘मेती’ र ‘मैबाबु’ भन्ने गरिन्छ । यो एक सामाजिक विडम्बना नै हो । हिजडा, मारुनी, छक्कालगायतका शब्दहरू यही दुर्बोधको व्युत्पति हो ।
थाइल्यान्डमा काथेओज (kathoeys), मेक्सिकोमा मुस्स्ये (muxes), तमिलनाडूमा अरवानी (Aravani), उर्दूमा हिजर (Hizar), पाकिस्तानका केही भागमा ख्वाजा सारा ( khwaja sara), उत्तरी भारतमा किन्नर (Kinner), उत्तरी अमेरिकामा बेर्दाचे (berdache), दक्षिणी प्रशान्त महासागरमा रहेको टापु पोल्नेसियामा फाफाफिने (f’afafine), ओमानमा जानिथ (xanith), आफ्रिकामा सेर्रेर्स (serrers) लगातयका शब्दहरू प्रचलनमा रहेका छन् ।
लैङ्गिक दुर्बोध गरी प्रयोग गर्ने ‘हिजडा’ शब्दको व्युत्पत्तिको कथा रोचक छ । भारतबाट आएको यस शब्दले त्यतिबेला मुगल शासनकालमा हामीलाई पुऱ्याउँछ । मुगल शासनकालमा रानी, राजकुमारी तथा दरबारका महिला दासीहरूलाई गाना तथा नृत्य सिकाउने गुरुसँग यौन सम्पर्क नहोस् भनेर गुरुको लिङ्ग काट्ने गरिन्थ्यो, जसलाई निर्वाना (Nirbana) भनिन्थ्यो ।
त्यतिबेला निर्वाना गर्न नपरोस् र सकेसम्म प्राकृतिक रूपमै लिङ्ग नभएका व्यक्तिहरूलाई सङ्गीत/नृत्यगुरूमा नियुक्त गर्ने कोसिस हुन्थ्यो । लिङ्ग नभएका व्यक्तिहरू अक्वा (Aqua) रूपमा पुकारिन्थे । अत: मुगलकालीन भारतमा सङ्गीत/नृत्य सिकाउने पदलाई ‘हिजडा’ भनिन्थ्यो । तत्कालीन समाजमा हिजडाहरूको सम्मान र इज्जत थियो तर ब्रिटिस साम्राज्यको प्रादुर्भाव बढेसँगै राजा महाराजाहरूको उठीबास लाग्यो । राजाहरूको उठीबाससँगै सङ्गीत/नृत्यमा युरोपेली शैली भित्रियो, जसले ‘हिजडा’हरूलाई जीविकोपार्जनका लागि सडकमा ल्याइपुऱ्यायो । सडकमा आएसँगै उनीहरूको दुर्बोध सुरु भयो ।
(आगामी शृङ्खलामा अन्य शब्दको अर्थ खोज्ने प्रयास साथै पौराणिक कथाहरू फरक लिङ्गीको उल्लेख लगायत चर्चा हुनेछ)
यहाँ फरक-फरक सात व्यक्तिहरूका ‘लिङ्बोध’को अनुभव समावेश गरिएको छ:-
सोफी सुनुवारको ‘लिङ्गबोध’को अनुभव :
म नेपालकै पहिलो फरक लिङ्गी मेकअप आर्टिस्ट । विगत १२ वर्षदेखि म ग्ल्यामर फिल्डमा एज अ मेक अप आर्टिस्टको रूपमा काम गरिरहेको छु । जन्मदाखेर म पुरुषको लिङ्ग लिएर नै जन्मिएको हुँ तर हुर्किने क्रममा मैले आफूमा फरकपन पाएँ ।
बाल्यावस्थामा मलाई केटा हुँ कि केटी हुँ भन्ने खालको अनुभव भएन । मेरा साथीहरू, मेरो परिवारका सदस्यहरू, मेरो समाज, स्कुलका टिचरहरूले चाहिँ विभिन्न शब्दहरू जस्तै: छक्का, हिजडा, कान्छी, श्रीदेवी जस्ता नामहरू दिँदाखेरि या उहाँहरूको त्यसकिसिमको रियाक्सन पाउँदाखेरि म फरक रहेछु भन्ने मलाई बोध भयो । हुर्किने क्रममा मेरो दैनिन्दिन एक्टिभिटिजमा फरकपन देख्नुभएरै नै त्यस्ता शब्दहरूले सम्बोधन गर्नुभएको होला तर मैले चाहिँ त्यतिबेला त्यस्तो फरकपन महसुस नै गरेको थिइनँ ।
जब म सानो थिएँ त्यतिबेला बिहेको पार्टीमा नाच्ने गर्थेँ । सबैले ‘आहा कस्तो राम्रो नाच’ भन्दै प्रशंसा गर्दथे तर जति जति म ठूली हुँदै गएँ ममा आएको शारीरिक परिवर्तनले चिन्ता बढायो । मेरो शारीरिक बनोट अरूभन्दा भिन्न किसिमको थियो । सानोमा नाच्ता प्रशंसा गर्नेले पनि अब मलाई जिस्काउन थाले । मैले आफूमाथि समाजको दृष्टि अर्को भएको महसुस गर्न थालेँ ।
पछिपछि, परिवारमा पनि अलि छुट्टै व्यवहार हुन थालेपछि म सीमित घेरामा रहन थालेँ । आमाबुबाले पनि बेलुका अबेरसम्म बाहिर बस्न अनुमति दिन छाडे र भाइबहिनीहरूमाझ पनि फरक किसिमको व्यवहार हुन थाल्यो । विद्यालयमा पनि अधिकांश साथीहरूले जिस्काउछन् कि भनेर उनी सधैँ डराएर बस्न थालेँ । यसकारण ‘प्लस टु’ सकाएर मैले पढाइ पनि छाडिदिएँ ।
तपाईँहरूले हामीलाई महिलाजस्तो देख्नुहुन्छ तर जब हामी बोल्छौँ या हामी कुनै पनि प्रकारको शारीरिक क्रियाकलाप गर्छौँ, हामीमा फरकपन पाउनुहुन्छ । हाम्रो महिलाको भन्दा बढी हात चल्छ, हाम्रो अनुहारको हाउभाउ फरक हुन्छ । यसर्थ त केही फरक छौँ हामी । जसै त्यो फरकपन देखिन्छ, नोटिस हुन्छ, त्यहीदेखि विभेद सुरु हुन्छ । पढाइमा, घरमा, परिवारमा, समाजमा त्यही फरकपनले भेदभाव निम्ताउछ ।
स्कुलमा फरक व्यवहार पाएको कारणले फरक लिङ्गीहरूले पढ्न सकेका छैनन्; रोजगार पाएका छैनन् । मैले पनि आफ्नो बाल्यकालमा अथाह सङ्घर्ष गरेँ, कटु भोगाइहरू भोगेँ । यसप्रकारले एउटा क्षेत्रमा म आइपुगेँ, यहाँ आइपुग्न पनि सङ्घर्ष गरेँ, यहाँ आइसक्दा पनि सङ्घर्ष गरिरहेकै छु । (स्रोत: साझा सवाल)
-नेपालकी प्रथम फरक लिङ्गी मेकअप कलाकार सोफी सुनुवारले नागपोखरीस्थित ‘रिभिल हेयर स्टुडियो’ नामको पार्लर चलाइरहेकी छन् ।
पूर्णिमा गिरिको ‘लिङ्गबोध’को अनुभव:
खासमा लिङ्गबोध भन्ने कुराले हामीलाई बचपनमा नपुगी चित्तबुझ्दो जवाफ दिनै सक्तैन । भलै, हामीले आफ्नो अन्तर्मनदेखि आफ्नो लिङ्गबोधलाई विद्यालयमा शिक्षक अथवा किताबहरूबाट लिन सकौँला तर समाजले छोरी भएर यो गर्नुपर्छ या छोरा भएर यो गर्नुपर्छ भनेर भन्दा देखि नै नबुझेरै भए पनि हामीमा लिङ्गबोधको आभास भने हुने गर्दछ ।
मेरो बारेमा भन्नुपर्दा चाहिँ, मलाई थाहा छैन कुन कुराले मलाई म छोरी मान्छे हुँ भन्ने बतायो भनेर । मेरा साथीहरू पनि केटी नै हुन्थे तर पनि हामी भाँडाकुटी खेल्दा बिहे गर्थ्यौँ, जहाँ श्रीमान् श्रीमती हुन्थे । श्रीमतीले घरको काम सम्हाल्नुपर्छ भन्थ्यौँ, ढुङ्गाको बच्चा बनाउँथ्यौँ । श्रीमान्ले परिवारका लागि घरभन्दा बाहिरको काम गर्नुपर्छ भन्थ्यौँ । केटी नै श्रीमान् बनिदिन्थ्यौँ । मलाई लाग्छ नजानिदो किसिमले हामी यसरी विपरीत लिङ्गीप्रति बचपनमै पनि आकर्षित हुँदा रहेछौँ ।
बचपन समाजले बताएअनुसार हामी आफ्नो लिङ्गअनुसार भागमा परेको कामहरू गऱ्यौँ । बिस्तारै उमेर बढ्दै जाँदा र पढ्दै जाँदा पाठ्यक्रममा लिङ्गबोधको बारे धेरै नलेखिए पनि आधारभूत कुराहरू भने लेखिएको थियो, जसले पनि मलाई ‘म छोरी हुँ’ भन्ने बताउन मद्दत गऱ्यो होला । यसक्रममा आफ्नै अन्तर्मनदेखि ‘लिङ्गबोध’ पनि हुँदै आयो होला, जुन कुरालाई अझ राम्रोसँग बुझ्न रजस्वलाले समेत सहयोग गऱ्यो ।
मेरो मम्मी स्वयंसेवीका हुनुहुन्थ्यो, उहाँले उमेर बढ्दै जादाँ आउने शारीरिक परिवर्तनका बारे बताउनुहुन्थ्यो र म पढेर बुझ्न सक्ने भैसकेपछि उहाँका किताबहरू पढ्ने गर्थेँ, जसले मलाई आफ्नो अन्तस्करणदेखि लिङ्गबोध गराउन सहयोग पुऱ्यायो । ती किताबहरूले नजानिदो किसिमले गलत मनासयबिना नै छोरीहरू किन आफ्नो बुबासँग र छोराहरू किन आफ्नो आमासँग बढी घुलमिल हुन चाहन्छन् भन्ने कुराको जवाफ पनि दियो ।
(कानून विषय अध्ययनरत पूर्णिमा गिरि साहित्यमा रुचि राख्दछिन् ।)
भावना राज्यलक्ष्मी शाहको ‘लिङ्गबोध’को अनुभव:
सर्वप्रथम त यो गहन विषय उठाउनु भएकोमा धन्यवाद ।
शरीर, मस्तिष्क एवं चेतनाको विकास भएसँगै म केटा कि केटि या फरक लिङ्गी भनेर जान्न पाउनु अघि नै मैले बच्चैबाट ‘तँ छोरी होस्; यस्तो गर्, तेस्तो नगर्’ हजारौँ पटक सुनेँ!’ तिनै कुराहरूमार्फत मैले आफूलाई छोरी मान्छे भएको आँकलन गरे ।
मलाई याद भएसम्म अरूले भनेकै भरमा मैले ‘म आफू केटी भएको थाहा पाएँ र बिस्तारै उमेर बढेसँगै मैले ‘स्वास्थ’ भन्ने किताबमा केटीलाई परिभाषित गरिएअनुरूप लिङ्गको बनावट, हर्मोनल चेन्ज, रजस्वला आदि आफूमा पनि पाएँ! र त्यतिबेला मैले आफ्नो लिङ्गबोध गरेँ अर्थात् केटी भएको अनुभव गरेँ ।
(कानून विषय अध्ययनरत भावना राज्यलक्ष्मी शाह साहित्य लेखनमा रुचि राख्दछिन् ।)
सञ्जु खत्रीको ‘लिङ्गबोध’को अनुभव :
म आफूलाई धेरै भाग्यमानी ठान्छु । मेरा बुबा आमाले मलाई छोरा या छोरी नभनी एउटा इन्डिभिज्युल ह्युमन (वा सन्तानको) रूपमा मलाई हुर्काउनु भयो । मलाई छोरी हुँ र छोरीको लागी संसार बेग्लै छ भनेर महसुस नै गर्नु परेन । १२ कक्षा पढ्दासम्म स्कुले जीवन र सीमित साथीहरू भएर होला मैले बाहिरी दुनियाँलाई खासै देख्न र भोग्न परेन ।
उच्च शिक्षाका लागि ठूलो क्याम्पस भर्ना भएसँगै देशका हरेक क्षेत्र, समुदाय तथा परिवेशलाई प्रतिनिधित्व गर्ने साथीहरू चिन्ने र बनाउने मौका पाएँ । आफ्ना कुराहरू नलजाई स्पष्ट राख्ने बानीले मलाई निडर तथा अरू महिला साथीहरू भन्दा भिन्न मान्थे । छोरी भएर छोरीजस्तो व्यवहार नभएको भनेर मजाक उडाउने साथीहरू पनि प्रशस्त थिए । खाना बनाउन, लुगा धुन नजानेकोमा हाँसोको पात्र बनाउने महिला साथीहरू पनि थिए । यतिमात्र नभई मेरो सबैसँग खुल्ला रूपले बोल्ने बानीलाई नकारात्मक तरिकाले बुझेर आपत्तिजनक व्यवहार गर्ने पुरुष साथीहरू धेरै देखिन थाले ।
यसपछि मलाई पहिलोपटक आफू छोरी भएको र आम छोरीहरूको जस्तो व्यवहार गर्न नआएको महसुस भयो । एक समय त मैले आफ्नो आत्मविश्वास नै गुमाए । आफ्नो बानी व्यवहारदेखि दिक्क पनि हुन पुँगे । मलाई त्यो समय पार गरेर आफू छोरी भन्दा पहिले ‘एउटा इन्डिभिज्युल ह्युमन हुँ’ भन्ने आफ्नो सोचाइमा फर्किन एक किसिमको मानसिक सङ्घर्ष नै गर्नुपऱ्यो ।
(फ्लोरिडा, अमेरिकामा बसोबास गरिरहेकी सञ्जु सञ्जु समसमायिक घटनाहरूप्रति चासो राख्दछिन् । उनी florida Atlantic University मा भूगर्भशास्त्र अध्ययनरत छिन् ।)
जगदीश जग्स भण्डारीको ‘लिङ्गबोध’को अनुभव :
घरमा दुई जना दिदी हुनुहुन्छ । म कान्छो छोरा हुँ । अब ठ्याक्कै कसरी मैले आफ्नो लिङ्गबोध गरेँ भनेर भनूँ भन्न गाह्रो भयो । दिदीहरू महिला भए पश्चात्, मैले आफू पुरुष भएको थाहा पाएको हुँ कि ?
एकल सन्तान भएको चाहिँ केही फरक अनुभव जरुर हुन्थ्यो होला तर मेरोमा त्यसो केही भएन ।
एकल सन्तान भएको भए घरमा ममीबुबाले गर्ने व्यवहारबाट प्रस्ट हुन्थ्यो होला तर मेरो त अगाडि नै दुई-दुई जना दिदीहरू हुनु भएकाले मलाई ‘म पुरुष रहेछु’ भनेर बोध गर्न सजिलो भयो कि ? मैले भने नि, मेरो जीवनमा ‘लिङ्गबोध’लाई लिएर त्यस्तो अनुभवजन्य केही कुरा छैन या यतिखेर मैले सम्झिन सकिनँ ।
(ऐतिहासिक तस्विर सङ्कलन कर्ता जगदीश जग्स भण्डारी दारी ग्याङका एड्मिन समेत हुन् ।)
रोशन शेरचनको ‘लिङ्गबोध’को अनुभव :
त्यस्ता घटनाहरूको स्मरण नै त भएन । क्रमशः हुँदै गएर होला । एक्कासी, प्रथमपटकको स्मृति छैन ।
(कविता एवं निबन्ध विधामा स्थापित रोशन शेरचन जैविक विविधता, वनविज्ञान र पर्यटन पेशामा संलग्न छन् ।)
प्रगति राईको ‘लिङ्गबोध’को अनुभव :
कस्तो अप्ठेरो प्रश्न । सायद पहिलोचोटि ‘स्तन हो’ भन्ने कुरा आमाले बुझाउनु भएपछि मैले आफूलाई स्त्री भनि स्विकारेँ होला । लगभग ५/६ महिनाअगाडि देखि त्यसलाई मैले घाउ सम्झिरहेको थिए । नाङ्गै कबड्डी खेलिन्थ्यो, दहमा डाइभ हानिन्थ्यो तर ‘स्तन’ भन्ने बुझेपछि मेरो संसारको परिधि नै साँघुरो भएर गयो । लाज, सङ्कोचले एकैचोटि छोप्यो । त्यसपछि नै मेरो नुहाउने ठाउँ, सुत्ने ओछ्यान, लगाउने लुगा विशेष तरिकाको हुन थालेको थियो ।
(लेखक तथा सामाजिक अभियन्ता प्रगति राईको ‘थाङ्ग्रा’ उपन्यास प्रकाशोन्मुख छ ।)
क्रमश..
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।