नेपाली साहित्य काठमाडौँ केन्द्रित भएको गुनासो समय समयमा नआएको होइन। कवि कृष्णभूषण बलले त कवितानै लेखे-‘काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन ‘। यो साङ्केतिक विरोध थियो । हुन पनि काठमाडौँ इतरका लेखक र कविहरू नेपाली साहित्यको मूल प्रवाहमा बग्न निकै कठिन हुने कुरा सबैलाई विदितै छ । यसको ज्वलन्त उदाहरण हो डिल्लीराम तिमसिना अथवा साहित्यमा तिमसिना विद्यार्थी भनेर परिचित । उच्च श्रेणीका निबन्धकार र समालोचक भए पनि काठमाडौँ केन्द्रित साझा प्रकाशन र नेपाल प्रज्ञाप्रतिष्ठानबाट निस्कने कुनै पनि निबन्ध वा समालोचना सङ्ग्रहमा तिमसिना सरको कुनै लेख समाविष्ट नहुनाले यो पुष्टि हुन्छ।
डिल्लीराम सरको जीवनको पछिल्लो समय निकै व्यवस्थित र स्थिर भए पनि सन् १९४९ देखि करिब ६ वर्ष यायावार जीवन बिताए आसाममा, दार्जिलिङमा अनि पाँचथरमा । आसाममा स्कुल खोले, पुस्तकालय सञ्चालन गरे, निशुल्क पढाए आफू जानेको, नजानेको भाषा र विषयमा अध्यापन गरे । त्यसपछि पाँचथरमा आएर प्रेमजनक पुस्तकालय खोले अनि प्राथमिक स्कुल खोलेर अवैतनिक मास्टर भए । सूर्यविक्रम ज्ञावाली र धरणीधर कोइरालाको प्रेरणाले सन् १९५५मा दार्जिलिङको ‘हिन्दी हिमाचल स्कुलमा उच्च श्रेणीलाई संस्कृत अनि निम्नलाई हिन्दी र अङ्ग्रेजी पढाउने काम गरे । उनको जीवनमा अर्को अवसर सन् १९५७ आयो । उनले सूर्यविक्रम ज्ञावाली र धरणीधर कोइराला जस्ता हस्तीले अध्यापन गरेको दार्जिलिङ सरकारी स्कुलमा पढाउने मौका पाए संस्कृत र नेपाली । त्यसबखत सूर्यविक्रम ज्ञावाली र धरणीधर कोइराला नेपाल प्रवेश गरिसकेका थिए । अर्का साहित्यकार ईश्वर बराल पनि दार्जिलिङ सरकारी कलेज छाडेर उच्च शिक्षाका निम्ति विदेश गइसकेका थिए तर दार्जिलिङको साहित्यिक वातावरण भने निकै उर्वर थियो त्यसबेला । यही समयमा डिल्लीराम सरले आफ्नो औपचारिक शिक्षालाई निरन्तरता दिइराखे । कलकत्ता विश्वविद्यालयबाट अङ्ग्रेजीमा बि.ए पास गरे सम्मानका साथमा । वि.सं. २०१९मा त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा एम्.ए. गरे प्रथम श्रेणीमा अनि सन् १९६२ देखि बनारस हिन्दू विश्वविद्यालयमा विभिन्न तहमा रही सन् १९९० सम्म अध्यापनमा व्यस्त रहे । सम्पुर्णानन्द विश्वविद्यालयबाट “हिन्दी र नेपालीका व्यतिरेकात्मक अध्ययन” विषयमा पि.एच.डि. गरे । जीवनको उत्तरार्धमा विराट्नगर क्याप्समा नेपाली प्राध्यापन ।
डिल्लीराम सरले वि.सं. २००२मा गोरखापत्रमा एउटा पत्रात्मक लेख लेखेर साहित्यिक जीवन सुरु गरेको जानकारी पाउँछौँ तर पनि कतिले वि.सं. २००४ मा प्रकाशित ‘जानु छ बाटो कति’ कविताबाट साहित्यमा होमिएको बताएका छन् र कतै वि.सं. २००६मा लेखिएको ‘पुकार’-लाई प्रथम मौलिक कविता भनेका छन् । उनी सानैदेखि मेधावी विद्यार्थी भएकाले विभिन्न भाषा सिक्ने जिज्ञासा सधैँ रह्यो। वि.सं. २००१ देखि केही समयको काठमाडौँ बसाँइमा संस्कृतका श्लोकहरू नेपाली अनुवाद गरेको दृष्टान्त पनि पाउँछौँ । आई.ए. पढदा उनले डा. हरदयालको अङ्ग्रेजी लेख Intellectual Culture को नेपालीमा अनुवाद गरि ‘बौद्धिक विकास’ शीर्षकमा आसामबाट प्रकाशित हुने ‘प्रभात’-मा सन् १९५५मा छापिएको पाउँछौँ । त्यही साल उनको निबन्ध ‘लता’ पारसमणि प्रधानद्वारा सम्पादित ‘भारती’ र ‘साहित्य र राजनीति’ ‘गोर्खा’ (जसको पूर्व सम्पादकहरूमा रामकृष्ण शर्मा र टीकाराम शर्मा थिए )मा प्रकाशित हुन्छ । यिनै मौलिक लेखहरूबाट उनी गद्य साहित्यमा प्रवेश गर्छन् । उनको ‘फुटेको ऐना’ र ‘चौबन्दी चोलो’ कथाहरू क्रमशः ‘भारती’-मा प्रकाशित भएको पाउँछौँ र पछि जीवननाथ अधिकारीद्वारा सम्पादित ‘त्रिवेणी’ कथासङ्ग्रहमा ती कथाहरू समावेश हुन्छ ।
सन् १९६०मा तीनजना लेखकको तीन तीनवटा कथा ‘त्रिवेणी’ कथासङ्ग्रहमा समाहित भई बनारसबाट प्रकाशित हुन्छ । ती कथाकारहरू थिए- डिल्लीराम तिमसिना, गुरुराज अधिकारी र निमा छिरिङ्ग शर्पा । त्यो सङ्ग्रहका भूमिका लेखेका थिए मार्क्सवादी चिन्तर एवं प्रबुद्ध लेखक गणेशलाल सुब्बाले । भूमिकामा डिल्लीराम सर र अरू दुईको कथाकारिताको आलोचना गर्दै लेख्छन् गणेशलाल सुब्बा, “ यसरी प्रस्तुत कथासङ्ग्रहमा परेका जम्मै कथाहरूको आलोचना गर्नाले हरेकको परिपक्कताको कमी सजिलै बोध हुन्छ । कथासङ्ग्रहका नौओटा कथाहरूमध्ये हरेक लेखकका तीनओटा कथा परेका छन् । वर्णनात्मक, आत्मकथात्मक र पत्रलेखन पद्धतिमध्ये कुन चाहिँलाई तिमसिनाजीले लिनुभएको छ, भन्न गाह्रो पर्छ । निबन्धमा गद्यको एक विशेष लय( गीतिकाव्य) रहन्छ तर उहाँका कथाहरूमा त्यो लय पनि पाँइदैन । यसर्थ तिनलाई के संज्ञा दिने ? कथा कि निबन्ध ? तीनै ओटा कथाका शीर्षक ‘चौबन्दी चोलो’, ‘फटेको ऐना’ र चप्लेटी ढुङ्गो’ पढ्दा कृषन चन्दरको ‘पेशावार एक्सप्रेस’ र ‘महालक्ष्मीको पूल’ शीर्षक कथाको याद आँउछ तर केवल यादमात्रै । निर्जीव पदार्थलाई कथाको माध्यम र मुखमात्र बनाएर उर्दू साहित्यमा कृषन चन्दरले एक विशेष स्थान आर्जन गरेका छन् । यसप्रकारको माध्यम व्यवहार गरेर कथा लेख्ने कथाकार नेपाली साहित्यमा देखा परेको छैन ।
तिमसिनाजीका कथाहरूको मूल्याङ्कन गर्नलाई पुस्तक प्रकाशित भएपछि फेरि पढ्नुपर्ला, प्रौढता र परिपक्वताको कमी जुन कुनै पाठकले पहिलो पढाइमै थाहा हुन्छ । किन लेखकहरूले अझ पर्खेर अझ प्रगाढ अनुभव र अनुभूतिको आधारमाथि आफ्नो लेखन कलालाई तिक्खर पारेर गतिलो पुस्तकमा परिणत गरी पाठकवृन्दका समक्ष उपस्थित गर्न धैर्य राखेनन् ? यसको जबाफदेही लेखकहरू छन् ।” अहिले यसरी संयुक्त रूपमा कथासङ्ग्रह वा कवितासङ्ग्रह प्रकाशित गर्ने परम्परा लोप प्राय: भइसक्यो । यसरी स्पष्ट रूपमा कृतिको विवेचना गर्ने परम्परा वर्तमान समयमा समाप्त भइसकेको अनुभूति हुन्छ । यही सङ्ग्रहमा समाहित भएका डिल्लीराम सरको कथा र कथाकारितामाथि लेख्छन् प्रबुद्ध समालोचक दयाराम श्रेष्ठ ‘सम्भव’,” डिल्लीराम तिमसिनाका कथा समाजिक विषयवस्तुभित्र सीमित छन्। यथार्थ उनलाई प्रिय छ-उनको रुचि पनि यथार्थमै छ तापनि सामाजिक द्वन्द्वको जटिलताले उत्पन्न गरेको समस्याको टुङ्गो लगाउन उनी भावमा पुगी विश्राम लिन्छन् । यथार्थलाई भावमा सम्मिश्रण गर्ने उनको प्रवृत्ति स्वच्छन्दतावादी खालको देखिन आउँछ । प्रासङ्गिक जडवस्तु तिनैका प्रतीक हुन् ।“
सन् १९६२मा डिल्लीराम सरको दुईवटा मौलिक कृतिहरू प्रकाशित हुन्छ- दर्शनको रूपरेखा र प्रबन्धलता । ‘प्रबन्धलता’-मा १३ बटा निबन्धहरू समावेश छ जसमा साहित्य र राजनीति, हाम्रा तीन मनीषीहरू, विश्वकवि रवीन्द्र आदि निकै उपयोगी र चर्चित छन् । जीवनको मलिलो समय काशीमा बिताए डिल्लीराम सरले यसैले यो ऐतिहासिक सहरसँग विशेष आत्मीय सम्बन्ध छ डिल्लीराम सरको । उनको निबन्धसङ्ग्रह ‘बसिबियाँलो’ बनारसबाट प्रकाशित हुन्छ विविध विषयहरू समेटेर । नेपाली साहित्यलाई काशीले दिएको योगदानको मूल्याङ्कन गर्दै उनी लेख्छन्,”“ नेपली जीवनमा काशीको सबैभन्दा ठूलो वरदान हो साहित्यिक देन । नेपाली साहित्यमा महत्त्वपूर्ण मूलधारा तीन ठाँउबाट निस्किएका छन्, ती हुन् राजधानी (काठमाडौँ), काशी र दार्जिलिङ । केन्द्र परिदिएकाले र सजिलो र सस्तो भएर पनि होला अजिलेसम्म बनारसबाट नै अधिक सङ्ख्यामा नेपाली पुस्तक र पत्र-पत्रिकाहरू प्रकाशित भएको बुझिएको छ । हाम्रा लोकप्रिय आदिकवि भानुभक्त आचार्यले काशीमै संस्कृत पढेका हुन् र यहीँ नै उनले पहिले पहिले कविता गर्ने गरेका हुन् भन्ने कुरा पनि उनका जीवनीबाट अचेल घुइरो घुइरो बुझ्न लागिएको छ । नेपाली गद्य साहित्यका प्रवर्तक मोतीराम भट्टले बनारसबाटै संवत् १९४१ मा भानुभक्तको बालकाण्ड रामायण छपाइको र त्यसपछि वि.सं.१९४४ मा सम्पूर्ण रामायण छपाएका हुन् । रामकृष्ण वर्माका सहायताले ‘भारत जीवन प्रेस’ खोली आफू त्यहाँका मेनेजर भएर मोतीराम भट्टले ‘गोरखा भारत जीवन’ (वि.सं. १९४४) भन्ने नेपाली पत्र निकालेका हुन् र यही नै नेपालीको सर्वप्रथम पत्रिका मानिएको छ । काशीमा विश्वराज हरिहर शर्माका फर्ममा बसेर कृष्णप्रसाद रेग्मीले महाभारत, देवी भागवत् जस्ता प्रचलित ग्रन्थ नेपालीमा लेखेका थिए औ यहीँ नै चिरञ्जीवी शर्माले ‘सुखसागर’ नेपाली विशालकाय ग्रन्थ तयार पारेका हुन् । नेपाली साहित्यको इतिहासमा ‘सुन्दरी’ (वि.सं.१९६३ ) र ‘माधवी’ ( वि.सं. १९८५ ) पत्रिकाको महत्त्वपूर्ण स्थान छ । यी पत्रिकाको जन्मस्थान बनारस हो । यी पत्रिकासित सम्बन्धित लेखक, सञ्चालक, सम्पादक तथा मसौदाकारको रूपमा कविशिरोमणि लेखनाथ, भाषाप्रेमी राममणि आ.दि., पं. सोमनाथ शर्मा सिग्द्याल, पं. देवीदत्त पराजुली, पं. शिखरनाथ सुवेदीहरू कहिल्यै पनि बिर्सिइँदैनन् । सुब्बा होमनाथ केदारनाथको साहित्यसेवा-रामाश्वमेध(रामायण), महाभारत आदिको प्रकाशन बिर्सिनसक्नु छ । यसरी नै बनारसबाट प्रकाशित उदय, युगवाणी, नौलो पाइलो, छात्र, छात्रवाणी, छात्रप्रभा आदि पत्रपत्रिकाहरूले नेपाली साहित्यमा निकै कान्ति थपे । यसरी नेपाली साहित्यको इतिहासमा बनारसले दिएको योगदान महत्त्वपूर्ण मानिन्छ ।”
‘बसिबियाँलो’-को भूमिकामा डिल्लीराम तिमसिना सर पुस्तकका बारेमा लेख्नुहुन्छ,” भाषा, शिक्षा र साहित्य विषयको मूल्याङ्कन विशेषता तथा चिनन्त मनन आदि प्रक्रियाको नमुना यहाँ प्रस्तुत गरिएको छ । पाठक वर्गलाई यसबाट विविध किसिमको बौद्धिक पोशक तत्त्व उपलब्ध गर्न सजिलो पर्नेछ ।”
‘रूपरेखा’-को अङ्क ६८, २०२३ सालमा तिमसिना सरको महाकवि देवकोटाका तीनवटा अप्रकाशित काव्य माथि एउटा लेख प्रकाशित भएको थियो जो पछि गएर ‘बसिबियाँलो’-मा सङ्गृहीत भए । यस लेखलाई निकै उच्चकोटि अनुसन्धानात्मकको रूपमा लिन सकिन्छ । यस लेखमा तिमसिना सर लेख्छन्,” स्वर्गीय महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू काशीका गल्लीतिर पनि निकै छरिएर वा च्यापिएर रहेका छन् भन्ने सुईँको नै लागेको हो तर कहाँ, कति र के के छन् वा थिए भन्ने सङ्केत कम्ती मात्रामा पाइएको छ । संवत् २००४ सालतिर निस्कासित र निर्वासित हुँदा काशी आएर राजनैतिक जीवन बिताउन लाग्नुभएका देवकोटाको साहित्यिक देन कम्ती महत्त्वको छैन । त्यस समय उहाँका सम्पादकत्वमा निस्कने ‘युगवाणी’ पत्रिकाले निकै ठूलो मान पाँउछ र यसै समय उहाँको प्रतिभालाई चिनेर कदर गर्ने नियतले नभए पनि आफ्नो दुनो सोझ्याउने सिप भएका त्यसबेलाका नेपाली सौभाग्य पुस्तकालयका मालिक पं. टिकादत्त धितालले चल्ती हुने खालका साना साना केही नेपाली पुस्तक लेखाएर व्यापारिक दृष्टिकोणबाट भए पनि अप्रत्यक्ष रूपले नेपाली साहित्यको उद्यानमा नयाँ थुँगाहरू थपेर श्रीवृद्धि गर्ने चेष्टा गरेको बुझिएको छ । तीमध्ये ‘वसन्ती’ झ्याउरे खण्ड र नौ रसका भिन्नाभिन्ने नौ पुस्तकहरू छापिएका हुन् र अप्रकाशितमध्ये चाहिँ अहिले सोधपुछ गर्दा प्रस्तुत तीन पुस्तकहरू निज घितालका साला मोहनराज शर्मामार्फत मैले पढ्ने सौभाग्य पाएको हुँ । देवकोटाका यस्ता कृतिहरू धेरैतिर निकै छरिएका वा गुम भएका हुनुपर्छ भनेजस्तो लाग्छ । यसको खोजी निधो गर्नु नेपाली साहित्यका लागि चासो पर्दो काम हो । मैले पाण्डुलिपि पढ्न पाए अनुसार ती पुस्तकहरूको नाम यसप्रकार छ – (१) मैना (२) नेपाली मेघदूत, र (३) मायाविनी सर्सी । तीमध्ये अन्तिम चाहिँ अहिले छापिएको छ ।” यी सबै काव्यहरूको विस्तृत परिचय लेखमा दिएको छ ।”
सन् १९६८ मा प्रकाशित ‘बनारसको चिठ्ठी’ पत्रात्मक निबन्धसङ्ग्रह हो । यो पुस्तकमा पत्रात्मक शैलीमा गहन विषयहरूको विमर्स गरिएको छ । सन् १९६१ विश्वकवि रवीन्द्रनाथ ठाकुरको शतवार्षिकी । यही अवसर पारेर दार्जिलिङमा कवि ठाकुरको विभिन्न रचनाहरू नेपालीमा अनुवाद गर्ने काम भयो । ती मध्ये तुलसीबहादुर छेत्रीले कविता अनि डिल्लीराम तिमसिनाले गद्य रचनाहरू अनुवाद गरे । ती रचनाहरू ‘रवीन्द्र रचनावाली’-को नाममा प्रकाशित हुन्छ- एक भाग कविता, अर्को भाग निबन्ध । डिल्लीराम सरले रविन्द्ननाथ ठाकुरको समीक्षात्मक निबन्धहरू कलात्मकरूपमा अनुवाद गरेका छन् ।
डिल्लीराम सरको वार्ताहरूको सङ्कलन पनि निस्केको छ सन् १९९० मा दार्जिलिङबाट । त्यस सङ्ग्रहमा सरले विभिन्न समयमा विभिन्न पत्रिकालाई दिइएका वार्ताहरू समावेश छन् । यो पुस्तकमा सरको जीवनी, कृति, लेखन, समसामायिक विचारधाराहरू प्रस्ट रूपमा झल्किएको छ । सरले नेपाली साहित्यको विभिन्न आयामहरूको चर्चा गर्नुभएको छ, तेस्रो आयामदेखि नेपालको इतिहास, भारतमा नेपाली साहित्य, अगमसिंह गिरीसम्मको व्याख्या गर्नुभएको छ । सन् १९८०मा ‘नव-राग’ नामक पत्रिकामा सरको वार्ता प्रकाशित भएको छ जुन अङ्कमा मेरो पहिलो कविता पनि छापेको थियो । त्यो अङ्कमा सरको बृहत्तर साहित्यिक चेतना र धारण प्रस्तुत भएको छ ।
निबन्धबाहेक सरको योगदान समालोचना र भाषा विमर्शमा पनि हो । सरको शोधको विषय नै ‘हिन्दी र नेपालीका व्यतिरेकात्मक अध्ययन’ थियो जहाँ हिन्दी र नेपाली भाषाको तुलनात्मक अध्ययन गरिएको छ । नेपाली भाषा हिन्दीभन्दा कति फरक छ भन्ने उक्त शोध नेपाली अनुवाद भए भाषा अध्ययनमा नयाँ आयाम थपिने थियो । अधिकांश जीवन नेपालबाहिर बितेकाले हुन सक्छ तिमसिना सरको नेपाली भाषा र साहित्यको विषयमा दृष्टिकोण निकै फराकिलो थियो ।
सन् १९८४ मा प्रकाशित भएको ‘भाषा र साहित्य’ पुस्तकमा सर लेख्छन्,” वास्तवमा भाषा समाजबाट अर्जित एक संस्कृतिक परम्परा हो र यो परिवर्तनशील छ । देश काल परिस्थिति अनुसार भौगलिक, ऐतिहासिक सामाजिक धार्मिक र संस्कृतिक परिवेशले गर्दा पनि भाषाका स्वरूप प्रक्रिया परिवर्तन आँउछ ।“ ‘हाम्रो साहित्य र साहित्यकारहरू’ डिल्लीराम तिमसिना र माधव भण्डारीको सहलेखनमा वि.सं. २०१८ मा प्रकाशित हुन्छ र कम्रशः त्रिभुवन विश्वविद्यालय र भारतको विभिन्न विद्यालय र महाविद्यालयको विभिन्न तहको पाठ्क्रममा समावेश हुन्छ । यस पुस्तक बारेमा वि.सं. २०१९ मा सँगै एम.ए. गरेका मूर्धन्य समालोचक चुडामणि ‘बन्धु’ लेख्छन्,” नेपाली साहित्यको इतिहासबारे आवश्यक सन्दर्भग्रन्थहरू नभएको त्यस अभाव स्थितिमा यो सानो पुस्तक तयार भएको हो । त्यसबेला यस ग्रन्थको रचना हुनु निश्चय पनि उत्साहपूर्ण प्रयास थियो । विभिन्न अप्ठ्यारा पनि थिए । त्यो परिस्थितिमा यस प्रकारको कार्य हुनु प्रंशसनीय कार्यमा नै पर्छ ।“ प्रबुद्ध समालोचक दयाराम श्रेष्ठअनुसार यस पुस्तकले पहिलोपल्ट नेपाली साहित्यको काल विभाजन मौलिक तरिकाले गर्ने प्रयास गरेको छ ।
डिल्लीराम सर कवितामा पनि उतिकै पोख्त थिए भन्ने कुराको पुष्टी उनको चारवटा काव्य पुस्तकबाट नै हुन्छ । वि.सं. २०१७ मा प्रकाशित ‘सम्झना’ कवितासङ्ग्रहमा स्वच्छन्दवादी प्रवृत्तिको २२ वटा कविता छन् । ‘तर्पण’ ( वि.सं. २०३०) माता पिताको शोकमा लेखिएको हो भने ‘शोभा’( वि.सं. २०३७) आफ्नी अत्यन्त प्रिय छोरी शोभाको मृत्युपछि लेखेको शोककाब्य हो । यस बाहेक ‘बिर्सन्न बिर्सन्न है’ -कवितासङ्ग्रह वि.सं. २०३४ सालमा प्रकाशित भएका छ । छोरीको सम्झनामा लेखिएको ‘शोभा’-को यो हरपहरू ह्रदयस्पर्शी छ-
गाँठो पर्दछ सम्झँदा मुटुविषे भक्कानु नै पर्दछ ।
तिम्रो आश उमङ्ग मागहरूले छाती सबै चिर्दछ
आँशू छन् गहमा व्यथा बहहरू मड्डारिइन्छन् जहाँ ।
आमा दाजु र भाइको दिल रुँदा थामिन्न आफैँ यहाँ ।
पुस्तान्तरमा विश्वास गर्थे डिल्लीराम सर । साहित्यमा नयाँ पिँढीलाई सधैँ प्रहोत्सान गर्ने डिल्लीराम सर दार्जिलिङमा अध्यापन गर्दा सबैको आदरणीय व्यक्तित्व थिए । उनको छोरा सुमनराज तिमसिना अहिले पनि दार्जिलिङ र त्यहाँका साहित्यकारलाई ह्रदयबाटै सम्झेको कुरा मलाई समय समयमा भनिरहन्छन् । सुमनराज तिमसिना दार्जिलिङमा जन्मेर अध्ययनको क्रममा दिल्ली बस्दा उनी र उनका मित्र सिक्किम निवासी शङ्करदेव ढकाल मिलेर ‘बिजुवा’ व्याख्यनामाला र ‘बिजुवा’ पत्रिकको थालनी गरेका थिए । ‘बिजुवा’ले पत्रिका प्रकाशन गर्नु बाहेक समय समयमा साहित्य गोष्ठी र साहित्य अकादमी पुरस्कार प्राप्त गर्नेहरूलाई सम्मान र उनीहरूको कृति विमर्ष गर्ने गर्थ्यो । यो क्रम सन् १९८५ देखि १९९० सम्म अनरवतरूपमा चल्यो । सुमनज्यूको यो कार्य डिल्लीराम सरको नयाँ पुस्तालाई सबल बनाउनाको प्रतिफल थियो ।
भारतीय नेपाली साहित्यको प्रखर व्यक्तित्व हुन स्व. शरद् छेत्री । उनी डिल्लीराम सरको विद्यार्थी थिए दार्जिलिङ सरकारी विद्यालयमा । आफ्ना गुरुलाई स्मरण गर्दै शरद् छेत्री लेख्छन्,” त्यसरी साहित्य लेखन गर्दै साथमा ‘हिन्दी र नेपालीका व्यतिरेकात्मक अध्ययन’ अन्तर्गत पि.एच.डि. उपाधिले अलङ्कृत बनेका धेरै भाषाका भाषाविद् तिमसिना सरको सम्पादनमा बनारसबाट निस्केने नेपाली वाङ्मयको चिन्तनप्रधान सामयिक सङ्कलन ‘वाणीसाधना’ ( वि.सं. २०३८) को गरिमाले गर्दा उनीप्रति नेपाली साहित्य जगत् अरू ऋणि छ । वि.सं. २०४२ मा प्रकाशित ‘वाणीसाधना’-को संयुक्ताङ्क ४-५ को सम्पादकीय अन्तर्गत नयाँ पुस्तालाई नेपाली भाषा र साहित्यको निर्माणमा सामेल हुने अह्वान गर्दै लेखिएको थियो- “ज्ञान, विज्ञान, साहित्य संस्कृति किंवा समग्र वाङ्मय भाषाका प्रकाशले प्रकाशित हुन्छ । यसैले भनिन्छ,” भाषा हो जीवनी हाम्रो’ । नेपाली भाषा र साहित्य हाम्रो सर्वस्व हो । हाम्रा भाषा र साहित्यका पुराना स्तम्भ मकाउँदै ढल्दै गए। स्वाभाविक रूपले सिँढी भत्किँदैछ । नेपालीका त्रिरत्न ( लेख, सम, लक्ष्मी ) हराए-कीर्ति र कृति छाडेर अस्ताए, त्रिमूर्ति (सूधपा) ढले, काशीमा जन्मिएर कहलाएका तीन नेपाली साहित्यकार( सूर्यविक्रम, काशीबहादुर र विश्वेश्वर) मध्ये केवल काशीबहादुर हामी माझ छन्, दीर्घायुको कामना गर्छौँ । भरपर्दाले बाटो बनाए, सक्तो गरेर आफू पालो पुऱ्याए, नयाँ आशलाग्दाको हामी बाटो हेर्छौँ । सबैतिरबाट टेवा पाउनुपर्छ, नयाँ सिँढी बन्नुपर्छ, नयाँ स्तम्भ दरिनुपर्छ । हाम्रा वाङ्मयको कायालाई जर्जर हुनबाट जोगाउनुपर्छ। आउँदो नयाँ पिँढीमाथि हाम्रो अस्तित्व अडिएको छ ।”
‘वाणीसाधना’-को सम्पादक डिल्लीराम तिमसिना थिए भने तुलसीप्रसाद भट्टराई सहायक सम्पादक । युवाहरूलाई साहित्यमा लाग्न प्रेरणा दिने तिमसिना सरले शरद् छेत्रीलाई पनि २० सितम्बर १९८५मा एउटा पत्र लेखि अन्ताराष्ट्रिय युवा वर्षको उपलक्ष्यमा एउटा निबन्ध लेख्ने आग्रहसहित पत्र आएको जानकारी दिनुहुन्छ आफ्नो लेखमा।
डिल्लीराम सरको योगदानको चर्चा यो छोटो लेखमा अटाउन असम्भव छ तरै पनि उनले नेपाली साहित्य र भाषालाई दिएको योगदानको कदर गर्नु हामी सबैको कर्तव्य हो । बहु-भाषामा दखल राख्ने डिल्लीराम सर नेपाली भाषाको स्तर बढाउन सधैँ तल्लिन रहे । हिन्दी, संस्कृत, बङ्ग्ला, लिम्बु, अङ्ग्रेजी, आसामी भाषाको अतिरिक्त जर्मनको पनि ज्ञान भएकाले नेपाली भाषा र साहित्य प्रतिको उनको सिंहावलोकन बृहत्तर र विशाल थियो । जटिल परिस्थितिलाई छिच्लोल्दै डिल्लीराम सरले पढाइलाई निरन्तरता दिए । आसामको प्राथमिक विद्यालयदेखि बनारस हिन्दू विश्वविद्यालयको नेपाली विभागको प्रमुख बन्नु कुनै सहज यात्रा थिएन उनको । जीवनको अधिकांश भाग भारतमा नै बिताए पनि उनले ६९ वर्षको उमेरमा वि.सं. २०४९ अन्तिम सास नेपालमा नै फेरे ।
डिल्लीराम सरलाई कविको रूपमा कति ग्रहण गरे नेपाली साहित्यले त्यसको लेखाजोखा प्रबुद्ध समालोचकहरूले पक्के गर्ला । सरले वि.सं. २००६मा लेखेको प्रथम मौलिक कविता ‘पुकार’-ले सरको प्रारम्भिक साहित्यिक यात्राको झलक दिन्छ-
मेरो काम विचारि कोहि जनता गर्लान् प्रशंसा पनि
धोक्रो खूब फुलाइ मूर्ख जनले निन्दा गरुन् तापनि
तिन्का लागि प्रयत्न होइन हरे बर्दान पाऊँ अब
हाम्रा ती कुलमा कुनै दिनमहाँ जन्म्योस् मजस्तो जन
हाम्रा वंश ति तिम्सिनाहरु उँदा सम्बन्ध लामू हुँदा
‘एक्चेपा’ पृथिवी पनी दिनदिनै खीई नसक्ने हुँदा
लामो म्याद छ कालको यति छिटै टुङ्गो नपुग्ने हुँदा
हाम्रा ती कुलमा कुनै दिनमहाँ मेरो सँगी जन्मला ।
यो लेखका निम्ति स्रोत सामग्री उपलब्ध गराइदिनु भएकोमा सुमनराज तिमसिनालाई ह्रदयबाटै धन्यवाद दिन चाहन्छु । साथै डिल्लीराम तिमसिना स्मृतिग्रन्थका सम्पूर्ण सम्पादक मण्डललाई पनि कृतज्ञता ज्ञापन गर्दछु । डिल्लीराम सरको कृतिहरू नेपाल र भारतमा प्रकाशन गरेको र सर स्वयंले इस्वी र विक्रमसंवत् ठाँउ ठाँउमा प्रयोग गरेकाले परिवर्तन नगरी सोही बामोजिम राखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।