नेपाली साहित्यको विकासक्रममा नेपाली साहित्य सम्मेलनले जुन भूमिका खेल्यो त्यसको प्रतिफल मुख्यतय दार्जीलिङ र वरपरका क्षेत्रमा रहेका  बासिन्दाहरूले पाइरहेका छन् अहिले पनि । सन् १९२४ मा स्थापना भएको त्यो संस्थाले नेपाली साहित्यको उत्थानका निम्ति जे जति काम गर्‍यो त्यस्को तुलना कुनै अरू सङ्घसंस्थासँग गर्न सकिन्न । ९७ वर्ष भयो, अझै पनि सक्रिय छ साहित्यिक गतिविधिमा, वर्तमान परिस्थिले गतिमा केही सुस्ती ल्याए पनि । राय साहेव हरिप्रसाद प्रधानको( नेपालका प्रधानन्यायाधीश ) अध्यक्षतामा गठन भए पनि यसलाई अघि बढाउने मुख्य व्यक्तिहरू थिए- ‘सूर्यविक्रम ज्ञावाली, धरणीधर कोइराला र पारसमणि प्रधान( सूधपा)’ ।  नेपाली साहित्य सम्मेलनको प्रथम कार्यसमितिको अध्यक्ष थिए हरिप्रसाद प्रधान, उपाध्यक्षमा धरणीधर कोइराला, मन्त्रीद्वयमा पारसमणि प्रधान र सूर्यविक्रम ज्ञावाली ।  सूधपाको सूत्रपात हुनमा पनि साहित्य सम्मेलनको ठूलो योगदान छ । यी तीनै व्यक्तित्वहरूका आफ्ना आफ्नै मौलिक विशेषता थियो । धरणीधरको जागरण कविता, पारसमणिको व्याकरण र पाठ्यपुस्तक, अनि सूर्यविक्रम ज्ञावालीको इतिहास लेखन, समालोचना र सम्पादन । सूर्यविक्रम ज्ञावालीले नेपाली साहित्य सम्मेलनको सन् १९३१ देखि सन् १९५३ सम्म मूल सचिव भएर साहित्य सेवा गरे ।

सूर्यविक्रम ज्ञवाली

धरणीधर कोइरालाको ‘नैवेद्य’ कवितासङ्ग्रह सन् १९२०-मा पहिलोपटक प्रकाशित भयो अनि यस्को पहिलोपटक समालोचना गरे सूर्यविक्रम ज्ञावालीले सन् १९२२-मा उनैले सम्पादन गरेका बनारसबाट प्रकाशित हुने पत्रिका ‘जन्मभूमि’मा । त्यसबखत धरणीधर दार्जीलिङ आइसकेका थिए भने  सूर्यविक्रम बनारसमा नै थिए । यो नै नेपाली साहित्यको पहिलो समालोचना हो भनेर धेरै विद्वान्हरूले ठेकुवा गरेका छन् । उक्त समलोचनामा ज्ञावालीले नेपाली समाजको यथार्थ स्वरूप चित्रण गर्दै ‘नैवेद्य’को  निरूपण गरेका छन् । उनी लेख्छन् “वर्तमान समयमा नेपाली जाति अत्यन्त अधोगतिमा गइरहेको छ । मानसिक, नैतिक, सामाजिक र पारमार्थिक बल हामीमा कत्ति पनि छैन । यस्तो प्रगाढ अन्धकारमा हामी प्राप्त भएका हुनाले हामीबाट आत्माभिमान र कर्तव्य-कर्म लोप भयो । त्यसकारण हाम्रो अवस्था कस्तो भइरहेछ सो कविकै मनोहर शब्दमा सुन्नुहोस् –

घुम्दछन् फर्दछन् कालका चक्रमा

आउँछन् पर्दछन् दुःखका स्रोतमा ।

सूर्यविक्रम ज्ञावालीले आइ.ए पास गरेर जागिरे जीवन सन् १९२३ मा सह-शिक्षकका रूपमा दार्जीलिङ सरकारी विद्यालयबाट सुरु गरे, त्यसबखत उनी २४ वर्षका थिए । पछि कलकत्ता विश्वविद्यालयबाट बी.ए, कलकत्ताको षेबिट हेयर ट्रेनिङ्ग कलेजबाट बी.टी पनि गरे । दुवै परिक्षा उनले उच्च श्रेणीमा उत्तीर्ण गरे ।  साहित्य सम्मेलनले प्रथमपटक नेपाली कथाहरूको सङ्ग्रह- कथाकुसुम (विसं १९९४) प्रकाशित गर्‍यो जस्को सम्पादक थिए सूर्यविक्रम ज्ञावाली । सूर्यविक्रम ज्ञवालीले नेपाली कथाका आधुनिक प्रतिभा गुरुप्रसाद मैनाली, बालकृष्ण शमशेर, पुष्कर शमशेर र विश्वेश्वरप्रसाद कोइरालाका कथाहरूको सङ्ग्रह ‘कथाकुसुम’को भूमिकामा आधुनिक नेपाली कथाको प्रारम्भिक स्थितिबारे गहन समालोचना प्रस्तुत गरे । नेपाली समालोचनामा विधागत दृष्टिले गरिएको उक्त समालोचनाले हाम्रो नेपाली साहित्यको वास्तविक वस्तु स्थितिको विवेचना गरेको थियो । सन् १९३८ मा प्रकाशित उक्त कथासङ्ग्रहको भूमिकामा कथाको विभिन्न पक्षका बारेमा चर्चा गरेका थिए ।

सङ्ग्रहमा समाहित कथाकारहरूको विशेषताको उनले यसरी उजागर गरेका थिए, “यस पुस्तकका कथाहरूका लेखकहरूमध्ये कप्तान बालकृष्ण शमशेरलाई हामीले नेपाली साहित्याकाशका झलमल गर्ने ताराको रूपमा चिनेका छौँ । उहाँका कविताले यस क्षेत्रमा नयाँ ढाँचा ल्याएको कुरा माथि भनिसकेको छु । उहाँका मौलिक सामाजिक नाटकहरूले संस्कृतका प्राचीन नाटकहरूका उल्थामात्र पढी चित्त बुझ्ने हाम्रो मनलाई स्वतन्त्र नाटक पढ्न प्रवृत्त गराउन लागिरहेछ । यो पुस्तकमा भएका उहाँका कथाहरू कस्ता कलापूर्ण छन् तथा यो क्षेत्रमा पनि उहाँको कस्तो उज्ज्वल प्रतिभा रहेछ सो ती पढ्ने सबै पढ्नेहरूले थाहा पाउनेछन् । पण्डित विश्वेश्वरप्रसाद कोइरालाले नेपाली भाषा, विशेष केही लेखेका छैनन्, तर उहाँका कथाहरूको कला रुसका प्रसिद्ध लेखकहरूको ढाँचाको रहेछ सो हामी बिस्तारै बुझ्नेछौँ । ले. गुरुप्रसाद मैनालीले नेपाली जीवनको जो चित्र उपस्थित गरेका छन् सो पढ्दा स्वर्गवासी प्रेमचन्दको स्मरण हुन्छ । कप्तान पुष्कर शमशेरका दुई कथामा पनि सोही मधुर र चित्ताकर्षक चित्र छ ।“

सूर्यविक्रम ज्ञवालीले नेपाली वाङ्मयका यस्ता पुस्तालाई प्रतिनिधित्व गर्छन् जो शिक्षा र साहित्यबाट समाज सुधार गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्छ भन्ने अभियानमा लागेका थिए । भारतमा नै बसेर तत्कालीन राणाशासन्ले नेपालभित्र प्रतिबन्ध लगाएका विषयहरूमा कलम चलाउनेमा उनी अग्रणी थिए । साझा समालोचनामा सूर्यविक्रम ज्ञावालीको नेपाली समालोचनाको योगदानबारे चर्चा गर्दै लेख्छन्,” विशुद्ध समालोचनाको दृष्टिले त यसको पहिलो सूत्रपात सूर्यविक्रम ज्ञावालीबाट भयो । धरणीधर कोइरालाको नैवेद्य’माथि लेखिएको ज्ञावालीको समालोचना वास्तवमा पहिलो हो । उनैले यसको आधिकारिक प्रतिनिधित्व गरेर समालोचन-कार्य अघि बढाउने दिशातर्फ उत्साहित गरे । नवीन कविद्वय सर्वश्री सिद्धिचरण श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटाबारे ‘नेपाली साहित्याकाशका दुई नयाँ तारा’ लेखेर सबैभन्दा पहिले ती आधुनिक कविहरूको नयाँ काव्यधाराबाट परिचित गराउने काम पनि ज्ञावालीबाटै भयो । यसरी लक्ष्मीपूजा नाटकको पुस्तक समीक्षा तथा कथाकुसुम र भानुभक्तीय रामायणको समालोचनात्मक समीक्षाहरू पनि उनका यस क्षेत्रमा सर्वथा नवीन कार्य हुन् । उनले समालोचनालाई प्रश्रय दिएर कवि-कृतिहरूबाट परिचित गराई त्यसको महत्त्व बोध गराउने कर्तव्यलाई प्रमुखता दिए । उनी समालोचनाको अर्थ कृतिको गुण-दोष विवेचना गर्नु ठान्छन् । गुण-दोषमध्ये कुनचाहिँ बढी छ त्यसै अनुसारको निर्णय दिनु समालोचकको कर्तव्य हो ।“

सूर्यविक्रम ज्ञवालीको ‘नेपाली सहित्याकाशका दुई नयाँ तारा’-को समालोचनात्मक प्रबन्धमा सिद्धिचरणको प्रकृति चित्रण, प्रकृति प्रयोग, सौन्दर्यसृजन अनि देवकोटाको ‘मुनामदन’-को समीक्षा तथा समालोचना शीर्षक प्रबन्धमा लेखनाथको ‘लक्ष्मीपूजा’ नाटकको समीक्षा गरेको पाइन्छ । वि.सं. २०४२ सालमा ८७ वर्षको उमेरमा उनको मृत्यु काठमाडौँमा भएपछि सन् १९८६-मा नेपाली साहित्य सम्मेलनले  ‘दिवालो’मा सूर्यविक्रम ज्ञावाली स्मृति विशेषाङ्क प्रकाशित गरेको थियो ।

सूर्यविक्रम ज्ञावालीको साहित्यिक यात्रा बनारसबाट प्रकाशित हुने ‘चन्द्र’ पत्रिकाको भाग १ अङ्क ५ मा ‘सोक्रेटिस’ निबन्धबाट सुरु भएको थियो । त्यसपछि ‘गोर्खाली’ साप्ताहिक पत्रिकाको( सन् १९१५) सम्पादन र प्रकाशनमा संलग्न भए । क्रमशः पारसमणि प्रधानद्वारा सम्पादित ‘चन्द्रिका’ साहित्यक मासिक पत्रिकामा स्तरीय रचनाहरू प्रकाशित गरे । उनी बहुभाषी थिए- हिन्दी, नेपाली, बङ्गाली र अङ्ग्रजीमा समानरूपमा कलम चलाउन सक्थे । हिन्दीको दैनिक समाचारपत्र ‘आज’ ( सन् १९२१) र अङ्ग्रेजी  ‘लिडर’-को( सन् १९२२) उपसम्पादक भएर पनि काम गरेकोले यो प्रमाणित हुन्छ ।

सूर्यविक्रम ज्ञवालीको  जन्म भारतको काशीमा १९५५ साल जेठ २९ गते भएता पनि उनले कर्मभूमि नेपाली भाषीको बाहुल्य भएको दार्जीलिङ रह्यो ।  दार्जीलिङ सरकारी विद्यालयमा सह-शिक्षकको रूपमा प्रवेश गरेपछि सहपाठी भए पारसमणि प्रधान, धरणीधर कोइराला ।  त्यसबेला दार्जीलिङमा भाषा र साहित्यको ठूलो चर्चा र परिचर्चा हुने गर्थ्यो । त्यसबखत नेपाली भाषाले पाठ्यक्रममा प्रवेश गरेको थिएन र अझै पनि मानक नेपाली व्याकरण चलनचल्तीमा आएको थिएन भारतमा । एकातिर साहित्यसेवा अर्कोतिर आफ्नै शैक्षिक स्तर बढाउनुपर्ने । तर उनी दुवैमा अब्बल निस्के । धरणीधर कोइराला सेवानिवृत भएपछि सूर्यविक्रम ज्ञावाली प्रधानाध्यपक भए  दार्जीलिङ सरकारी विद्यालयमा र सन् १९५४ मा सेवानिवृत भए । त्यसपछि केही समय सरकारी जागिर पनि खाए ।

नेपाली साहित्य सम्मेलनले प्रकाशित गरेको भानुभक्तीय रामायण( सन् १९३३), कथाकुसुम ( सन् १९३८) र भानुभक्त स्मारक ग्रन्थ (सन् १९४०) को सम्पादन सूर्यविक्रम ज्ञवाली गरेका थिए । उनले लेखेको भानुभक्तको जीवनचरित्र (सन् १९२७) नेपाली साहित्य सम्मेलनको पहिलो पुस्तक थियो । वास्तवमा भन्ने हो भने भानुभक्तलाई नेपाली समाजमा पुनः चिनाउने काम सूर्यविक्रम ज्ञवालीले नै गरेको हो भन्दा अतिसयोक्ति नहोला ।

साहित्यको विकास नभए समाज पछाडि पर्छ भन्ने धारणा बनाएका सूर्यविक्रम ज्ञवालीले आफ्ना मित्रहरूसँग मिलेर साहित्य र समाजलाई योगदान दिए । उनले स्कुलका प्रधानाध्यापकदेखि जिल्ला अघिकृतसम्मको पदमा रहँदा नेपाली साहित्य र समाजलाई अघि बढाउने काम गरिरहे । सूर्यविक्रम ज्ञवालीले लेखेको पृथ्वीनारायण शाहको जीवनी शाह वंशमाथि लेखिएको प्रथम अनुसन्धानात्मक लेख भन्न सकिन्छ । अहिलेभन्दा करिब ८५ वर्ष लेखिएको यो पुस्तक पुनः -प्रकाशनमा आएको छ । उनले सर्वप्रथम द्रव्य शाह (सन् १९३३) नामक खोजग्रन्थ लेखे अनि त्यसपछि राम शाह (सन् १९३३), वीर बलभद्र’( सन् १९४०) र अमरसिंह थापा( सन् १९४३) जस्ता पुस्तकहरू लेखे जसमा गोर्खालीहरूको वीरगाथा लेखिएको छ । सूर्यविक्रम ज्ञवालीले नेपाली वीरहरू ( सन् १९४९) र नेपाल उपत्यकाको मध्यकालीन इतिहास लेखेर इतिहास लेखनलाई नयाँ आयाम पनि दिए ।

विक्रमसंवत् २०१३ सालमा नेपाल प्रवेशपछि सूर्यविक्रम ज्ञावाली उच्च सरकारी पदहरू प्राप्त गरे । पहिले उनी पुरातत्त्व विभागको निर्देशक बने अनि नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्य हुँदै सदस्यसचिव र पछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कुलपति । नेपालको करिब ४ दशक लामो बसाइमा ज्ञवालीले अरूलाई ऊर्जावान् बनाए पनि स्वंय लेखन र  अनुसन्धानमा त्यति सक्रिय भएको पाउँदैनौँ । त्यसबाहेक उनी सन् १९६४ मा नेपालको दिल्लीस्थित राजदुतावासमा सांस्कृतिक सहचारी पनि नियुक्त भए । अमेरीकामा अतिथि प्राध्यपक भएर नेपाली इतिहास र संस्कृति पनि पढाए ।

वि.सं. २०२३ सालमा मदन पुरस्कार पाए । उत्तम कुँवरको वार्तासङ्ग्रह ‘स्रष्टा र साहित्य’ले तत्कालीन समयका जल्दा बल्दा साहित्यकारहरूलाई भेटेर वार्ताको स्वरूपमा लेखिएका लेखहरूबाट निकै चर्चा पनि पाएको थियो । त्यही पुस्तकमा सूर्वविक्रम ज्ञावालीका बारेमा उत्तम कुँवर लेख्छन्, ”२०१३ सालसम्म दाजर्जिलिङबाट निस्कने त्यस्ता कमै पुस्तक होलान् जसमा ज्ञावालीज्यूको भूमिका नहोस्- त्यस्ता कमै लेखक होलान्, जो उहाँको सरसल्लाहअनुसार नलेखेका हुन् । ल, यति मात्र कहाँ हो र! नेपालीलाई श्री ५ बडामहाराज पृथ्वीनारायाण शाहको वास्तविक महत्त्व दर्साउने र भानुभक्तको असली देन खोज्ने मोतीराम भट्टले छोडेर गएको अधुरो कामलाई पूरा गर्ने व्यक्ति पनि उहाँ त हुन् नि; अनि हाम्रो भाषा के रे, नेपाली! हैन- पहिले त खस, गोर्खाली, पर्वतिया, कुन्नि के के नाम थियो र एउटा सानो घेरामा मात्र सीमित-वास्तविक तथ्यदेखि धेरै टाढा-हाम्रो बडामहाराजलाई षड्यन्त्रकारी, अमानुषिक भनेजस्तै झुटो । तर बुझ्नुभो? यस किसिमको सङ्कुचित घेराबाट भाषालाई मुक्ति दिलाई ‘नेपाली’ नामाकरण गराउन ‘ गोर्खाली भाषा प्रकाशिनी समिति’-बाट ‘नेपाली भाषा प्रकाशिनी समिति’ बनाउन र कलकत्ता विश्वविद्यालयमा पनि ‘पर्वतिया’ भाषाबाट ‘नेपाली’ बनाउनमा उहाँको पनि ठूलो हात थियो नि । ”

सूर्यविक्रम ज्ञवालीको मुख्य विषय अनुसन्धानात्मक लेखन भए पनि उनले साहित्यका विविध विषयहरूमा कलम चलाए । राणा शासनको कोपभाजनमा परी अङ्ग्रेजसरकारले उहाँ लगायत धरणीधरप्रसाद कोईराला, हरिप्रसाद प्रधानलाई एक वर्ष जेलमा राखे ।

अन्य भाषाहरूप्रति त्यत्तिकै श्रद्धा राख्ने ज्ञवालीले हिन्दी, अङ्ग्रेजी र बङ्गालीबाट नेपालीमा केही पुस्तक अनुवाद गरेका पनि छन् । उनका केही पुस्तकहरू हिन्दीमा अनुवाद पनि भएको  छ ।

सूर्यविक्रम ज्ञवाली धेरै पुस्तकहरू पढ्ने जमातमा पर्थे र उनको निजी पुस्तकालयमा हजारौँ हजारौँ पुस्तकहरू थिए भन्ने कुरा चर्चामा आइरहन्थे । ती पुस्तकहरू उनको शेषपछि विदेशी पुस्तकालयहरूलाई बेचेको( वा दिएको) जानकारीमा आएको छ ।  पुस्तकहरू निकै पुराना र महत्त्वपूर्ण थिए ।

बनारस, दार्जीलिङ र काठमाठौँलाई कर्मथलो बनाएर साहित्यसेवा गरेका ज्ञवालीलाई नयाँ पुस्तामा कमैले चिनेका छन् र यो हाम्रो समाजको दुर्भाग्य पनि हो । विदेशमा जस्तै नेपालमा पनि यस्ता महान् व्यक्तिको नाममा विश्वविद्यालय वा अरू कुनै प्राज्ञका एकाइहरूले प्राज्ञिक प्रवचन आयोजना गरे उनले गरेको योगदानको कदर हुने थियो तर दुर्भाग्यको कुरा उनी कुलपति भएको नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको तथा कुमारप्रसाद कोइरालाले सम्पादन गरेको प्रज्ञा नेपाली समालोचना कोशमा उनको परिचय दिइएको छैन ।