साहित्यपोस्टको संयोजन तथा क्रान्तिकारी नेतृ योगमायाका अध्येता उत्तमप्रसाद पन्तको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि उत्कृष्ट दश पुस्तकको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा सर्वोत्कृष्ट एक कृतिको घोषणा गर्नुअघि उत्कृष्ट दश कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरीमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।
यहाँ मर्फिन (कथासङ्ग्रह), रूखहरूको मृत्यु (उपन्यास), मुन्नी (कथासङ्ग्रह) का स्रष्टासँगको प्रस्तुत गरिएको छ । दशै जना स्रष्टासँगको संवाद क्रमशः प्रकाशन गरिने छ ।
१. कथासङ्ग्रहः मर्फिन – लक्ष्मण अधिकारी
तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” का लागि शीर्ष दश पुस्तकमा पर्यो । कस्तो अनुभूत गरिरहनुभएको छ ?
यसले मलाई गहिरो खुसीको अनुभूति गराएको छ, म ज्यादै उत्साहित पनि भएको छु । मेरो कृति मर्फिन २०७७ को अन्तिम महिनामा प्रकाशित भएको हो । अढाइ दशकभन्दा बढी समय मैले पत्रकारिता तथा लेखन कार्यमा व्यतीत गरिसकेको छु । तर पनि मैले एकल लेखनमा आफ्नो कुनै कृति प्रकाशन गर्न सकिरहेको थिइनँ । त्यसका लागि म लामो तयारी, अभ्यास एवं परीक्षण गरिरहेको थिएँ । त्यसकै फलस्वरुप मेरो पहिलो कृतिका रुपमा कथासङ्ग्रह मर्फिन प्रकाशित हुन सकेको हो ।
जीवनमा पहिलो पटक प्रकाशित भएको मेरो यो कृति प्रकाशित भएको एक महिना नपुग्दै पुरस्कारका लागि शीर्ष दश पुस्तकमा पर्नु मेरो लागि ज्यादै सुखद कुरा हो । त्यसमा पनि साहित्य पोस्टजस्तो लोकप्रिय संस्थाले संयोजन गरी “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” का लागि शीर्ष दश पुस्तकमा छनौट गर्नुले मलाई हर्षित एवं गौरवानुभूति तुल्याएको छ ।
“साहित्यपोस्ट उत्तम कृति पुरस्कार” को घोषणाले तपाईँको साहित्यिक यात्रासँग के सम्बन्ध राख्ला ?
निश्चय नै यो घोषणाले मेरो साहित्यिक यात्रासँग प्रत्यक्ष सम्बन्ध राख्ने नै छ । स्कुलका अन्तिम वर्षहरु र कलेजका प्रारम्भीक वर्षहरुमा सोखको रुपमा साहित्य लेखनमा बस्दै गरेको जगले त्यसपछिका दिनहरुमा मूर्तरुप लिन सकेन । जीवन जिउने लडाइँमा होम्मिनुपर्दा साहित्यिक क्षेत्रलाई पत्रकारिता र अन्य कार्यहरुले विस्थापित गरिदिँदा सो क्षेत्र अन्तरमनमा कुण्ठित भएर बस्न पुगेको थियो । अहिले म तिनै कुण्ठाका पोकापन्तेराहरु फुकाउँदै प्रतिबद्धताका साथ साहित्यिक क्षेत्रमा केही स्मरणीय योगदान दिने प्रयत्न गर्दै छु । “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”को लागि शीर्ष दशमा मेरो कृति पर्नुले नै मलाई ठूलो हौसला मिलेको छ र मैले हिँड्न खोजेको बाटो गलत छैन भन्ने भरोसा दिलाएको छ । त्यसमा पनि पुरस्कारकै घोषणा हुन सक्यो भने त ग्राभेल गरेको बाटोमा कुदिरहेको मोटरका लागि पिच बनाइदिए जस्तो हुन्छ भन्ने मलाई लागेको छ ।
कृति तयारीमा लाग्दाको अवस्था बारेमा केही बताइदिनुहोस् न !
मैले कामना प्रकाशन समूहमा २०४९ सालदेखि पारिवारिक पत्रिका साधनामा सह–सम्पादकको हैसियतमा पत्रकारिता सुरु गरेको हुँ । यो पत्रिका खोजमूलक भएकै कारण म यसतर्फ आकर्षित भएको थिएँ । त्यस बेला विशेष गरी म स्वास्थ्य र सामाजिक विषयवस्तुका विविध क्षेत्रमा अनुसन्धान गरेर लेखहरु लेख्थेँ । त्यस बेला साधना पत्रिका निकै चर्चित र लोकप्रिय बनेको थियो । कस्तो प्रस्तुति पाठकहरुले धेरै मन पराउँछन् भन्ने त्यस बेला मलाई बोध हुँदै गयो । भविष्यमा आख्यान लेखनमा लाग्दा यो प्रस्तुति शैलीलाई अपनाउँछु भन्ने कुरा मैले त्यसताका नै मनमा राखेको थिएँ ।
पछि साधना पूर्णरुपमा स्वास्थ्य पत्रिकाका रुपमा प्रकाशित हुन थाल्यो । यसले मलाई स्वास्थ्य क्षेत्रका विविध विषयमा गहिराइसम्म पुग्न सहयोग गर्यो । स्वास्थ्य, सामाजिक विषयवस्तु र पाठक मनोविज्ञानका सम्बन्धमा आफूले आर्जन गरेको ज्ञानलाई साहित्य लेखनमा उपयोग गर्ने अवसर खोज्दाखोज्दै लामो समय गुज्रिँदा पनि सफल नभएपछि मैले २०६९ सालदेखि केही वर्ष कामना प्रकाशनबाट अवकाश लिएँ र स्वतन्त्ररुपमा कथा लेखनमा लागेँ । साथै यस अवधिमा मैले चार जना वरिष्ठ चिकित्सकहरुको जीवनी लेखन कार्यमा पनि सहकार्य गर्ने अवसर पाएँ । यस अवधिमा प्रकाशित कथाहरुबाट मैले राम्रो प्रतिक्रिया पाएँ । त्यसपछि प्रकाशकको समेत आग्रहमा थप नयाँ कथाहरु लेखेर यो कृति “मर्फिन” प्रकाशित हुन सकेको हो ।
“मर्फिन” नै किन लेख्नुभयो ? पाठकले किन पढ्ने ?
मैले अढाइ दशकभन्दा बढी समय स्वास्थ्य पत्रकारिता गरेँ । त्यसकारण पनि मलाई यस क्षेत्रका विविध विषय बुझ्ने अवसर मिल्यो । आफूलाई जुन क्षेत्रमा केही ज्ञान छ त्यही क्षेत्रमा कलम चलाउनु स्वाभाविक नै हो । स्वास्थ्य पत्रकारिता गर्दा विविध कारणले लेख्न नसकेका र लेखेर पनि गहिरो प्रभाव छोड्न नसकेका धेरै विषयहरु छन् । यस्ता विषयहरु उजागर गर्नुपर्छ भन्ने मेरो बुझाइ रह्यो । त्यसकारण पनि मैले यी विषयलाई कथामार्फत् पस्किने प्रयत्न गरेको हुँ ।
मर्फिन कडा खालको पीडा कम गर्ने एउटा औषधीको नाम हो । मानिसका मनमा भएका पीडाहरुको विरेचन गर्ने एउटा सशक्त साधन साहित्य हो । राम्रो साहित्यले मानिसको पीडा कम गर्न औषधीले जस्तै काम गर्छ भन्ने मलाई लाग्छ । त्यसैले पनि स्वास्थ्य विज्ञान साहित्यको मेरो यो पहिलो कृतिको नामाकरण “मर्फिन” हुन गयो ।
मैले बुझेसम्म साहित्यमा हुने सबैभन्दा महत्त्वपूर्ण गुण भनेको मनोरञ्जन एवं आनन्दको अनुभूति हुनु हो । मर्फिनमा यो गुणलाई मैले आफ्नो बुझाइमा सशक्तरुपमा प्रस्तुत गरेको छु । साहित्यमा हुने अर्को महत्त्वपूर्ण विशेषता भनेको भावना र चेतनाको प्रखरता हो । मर्फिनमा यी दुवैलाई सँगसँगै डोर्याउँदै नयाँ प्रयोगका रुपमा जीवन उपयोगी पनि बनाउने प्रयत्न गरेको छु ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुदेखि आममानिसले भोग्नुपरेका समस्या, यस क्षेत्रका विकृति र विसंगति, चिकित्सा विज्ञानका क्षेत्रका उन्नति–प्रगति र भविष्यमा हुन सक्ने विकासको परिकल्पनासमेत समेटेर तयार गरिएको मनोरञ्जनपूर्ण यो कृति हाल बजारमा उपलब्ध नेपाली साहित्यिक कृतिभन्दा अलि भिन्न र फरक स्वादको भएकाले पाठकहरुलाई यसले भिन्नै आनन्दको अनुभूति गराउने छ ।
यौनको सस्तो प्रस्तुतिबाट सनसनीपूर्ण बनाउने लेखनशैलीबाट मर्फिनलाई मुक्त राख्ने प्रयत्न गरिएको छ । यस कृतिमा प्रस्तुत गरिएकोे कथानक, अपनाइएका भाषाशैली र कथाको अलि फरक संरचना शैलीका कारण कुनै पनि कथा पढ्दा पाठकले बीचमै छोड्नुपर्ने वा झर्को लाग्ने स्थिति आउने छैन भन्ने मलाई विश्वास छ । अहिले पाठकहरु तथा समीक्षकहरुबाट प्राप्त गरिरहेको प्रतिक्रियाबाट पनि मैले यस्तै अनुभूति गरेकोले पनि पाठकहरुले यो कृति एकपटक पढ्नै पर्छ भन्ने मलाई लाग्छ ।
अबको साहित्यिक यात्राको योजना के छ ?
यससम्बन्धमा मैले केही सोचेर आधारभूमि तयार गरी बसेको छु । हालै बजारमा आएको मर्फिनप्रतिको पाठकहरु र समीक्षकहरुका प्रतिक्रियाहरु केलाएर आगामी यात्रा तय गर्नेछु ।
तपाईँको कृतिले “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” प्राप्त गर्यो भने यसबाट प्राप्त नगद के गर्नुहुन्छ ?
निश्चय नै यो साहित्य क्षेत्रमा नै लगानी हुनेछ ।
========
२. उपन्यासः रूखहरूकाे मृत्यु – प्रशान्त शर्मा
तपाईँको पहिलो कृतिले “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष दश पुस्तकमा पर्यो । कस्तो अनुभूत गरिरहनुभएको छ ?
साहित्यपोस्ट उत्तम कृति पुरस्कारको शीर्ष दश पुस्तकमा आफ्नो पुस्तक परेको खबर पाउँदा एकदमै खुसी र उत्साहित भएको छु । पुस्तक प्रकाशन गरेको ५ महिना बितेको थियो । एकहिसाबले पुस्तक प्रकाशन भएको केही समय भइसकेकाले पुस्तकको ‘ह्याङओभर’ उत्रिसकेको थियो । साहित्यपोस्टको उत्कृष्ट दश सूचीमा पुस्तक पर्दा फेरि पुस्तक प्रकाशन हुँदै गर्दाको जोश मनमा जागेको छ ।
“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”को घोषणाले तपाईँको साहित्यिक यात्रासँग के सम्बन्ध राख्ला ?
प्रायः नयाँ लेखकहरुको पुस्तक बजारमा आएको र बजारबाट गएको पत्तो नै हुँदैन । साहित्यवृत्तमा को नयाँ लेखक आयो र को गयो, सजिलै थाहा पाउन कठिन छ । कि आफ्नै वरिपरिका साथीभाइको थाहा हुन्छ, नभए अन्य नयाँ पुस्ताका लेखकको बारेमा बजारदेखि यो क्षेत्रमा पनि कम जानकारी हुन्छ । झन् पहिलो पुस्तकको कुरामा यो बढी नै लागु भएको छ ।
तर, यो चलनलाई तोड्न साहित्यपोस्टको यो पुरस्कारले सहयोग गरेको महसुस गरेको छु । प्रकाशन भएका तर कतिपय ओझेलमा परेका कृतिहरुलाई यो पुरस्कारले सबैको माझ लिएर आएको छ । त्यसमध्ये मेरो आफ्नै पुस्तक ‘रूखहरूको मृत्यु’ पनि हो भन्न मलाई कुनै अफ्ठ्यारो छैन् ।
कुनै पुरस्कारको मनोनयनमा परेको यो मेरो पहिलो अनुभव हो । यसले मलाई थप उत्प्रेरणा मिलेको छ । मैले साहित्यिक यात्रा अझै अगाडि बढाउनु पर्छ भन्ने हौसला यस पुरस्कारको मनोनयनबाट पाएको छु ।
कृति तयारीमा लाग्दाको अवस्थाबारेमा केही बताइदिनुहोस न ?
प्रेमलाई केही फरक दृष्टिकोणबाट देखाउँछु भनेर कथाको प्लट बुन्न लागेँ । औसत बुनाईहरुले पुस्तकको आकार पाउन सकेनन् । केही कथा रद्दीमा फालिँदा यो कथाले मुहुर्त रुप लियो । आजभन्दा तीन वर्ष अगाडिबाट सुरु भएको यो कथा अघिल्लो वर्षको सुरुवातमा अन्त्य भयो । पुस्तक लेखिरहँदाका आफ्नै अनुभूतिहरु छन्, जसलाई शब्दमा पोख्न केही असहज पक्कै होला । तर, समग्रमा भन्दा यो समय कठिन थियो, रोमाञ्चक पनि थियो र आफ्नो काल्पनिकतासँगै सामाजिक आधारमा टेकेर शब्दहरुमार्फत् बोलेको त्यो तीन वर्ष मेरो जीवनकै उत्कृष्ट समय थियो ।
“रूखहरूको मृत्यु” नै किन लेख्नु भयो ? पाठकले किन पढ्ने ?
इमान्दार भएर भन्छु, यो पुस्तक मैले आफूले चाहेको किसिमको कथा साहित्यवृत्तमा नभेटेर लेखेको भन्दिनँ । प्रायः लेखकले दिने जवाफ हो यो । तर, मेरो सन्दर्भमा केही फरक छ ।
हाम्रा साहित्यमा प्रेम, जीवन र मानिसलाई अतिरञ्जित रुपमा प्रस्तुत गरिन्छ । होलान् केही अपवाद जसमा यो लागु नहोला । तर, एउटै विषयमा लेखिएका दुई पुस्तक हेर्दा कुन वास्तविक र कुन अतिरञ्जित अवश्य छुट्याउन सकिन्छ । एक हिसाबले विषयवस्तु र कथालाई ‘रोमान्टिसाइज’ गर्नु नेपाली साहित्यमा ठूलो उपलब्धीको रुपमा मानिन्छ । तर, म त्यो कुरामा केही सहमती र केही असहमती जनाउँछु ।
मेरा यिनै सहमती र असहमतीले यो पुस्तक जन्मायो । मलाई केही लेख्नु थियो, जहाँ प्रेमलाई तारा झार्ने, जीवनलाई कुनै राजा रानीको कथाको रुपमा चित्रण गर्नेभन्दा फरक होस् कथा । र वास्तविकतासँग प्रत्यक्ष जोडिएको होस् । लाग्छ, त्यसमा मैले आफूले सक्ने दिएको छु, पुस्तकमा ।
प्रेमको फरक रुप र सपना पूरा गर्न राजधानी आएको एक युवकको जिन्दगीको संघर्ष, उतारचढाव, सफलता, असफलता हेर्नकै लागि भए पनि रूखहरूको मृत्यु एकपटक पढ्नु पर्छ भन्ने लाग्छ । र सम्भवतः हरेकले यो पुस्तकमा आफूलाई पाउनेछन् भन्नेमा म विश्वस्त छु ।
अबको साहित्यिक यात्राको योजना के छ ?
समय परिवर्तनशील छ । समयले हरेक कुरालाई परिवर्तन गरिरहेको हुन्छ । हिजो सुरुवातमा पुस्तकको ड्राफ्ट तयार पार्दा मेरो लेखन कच्चा थियो । पुस्तकको आकार बन्दासम्म केही परिस्कृत भएको छ । र अब पनि यसलाई थप परिस्कृत बनाउँदै लाने सोच छ ।
समयले साथ दिदाँसम्म आफूले भन्नसक्ने र लेख्नसक्ने कुराकै वरिपरि म घुमिरहेको हुन्छु ।
तपाईँको कृतिले “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” प्राप्त गर्यो भने यसबाट प्राप्त नगद के गर्नुहुन्छ ?
मेरो जीवनकालमा समाजसेवा र साहित्य एकै सिक्काका दुई पाटा हुन् । म साहित्यमा पुस्तक प्रकाशन गरेर देखिनुअघि समाजसेवामा सक्रिय थिएँ । पुस्तक लेख्दाका केही प्लटहरु समाजसेवा गरिरहँदा भोगिएका, देखिएका घट्नाहरु हुन् ।
साहित्यपोस्टको उत्तम कृति पुरस्कार प्राप्त भएमा म यो पुरस्कारको श्रेय आफूभन्दा बढी आफ्नो समाजसेवाप्रतिको प्रेम र पाटोलाई दिन्छु । यसबाट प्राप्त रकम पनि सामाजिक सेवामा नै खर्च गर्ने सोच छ । सँगै केही मात्रामा आफूलाई साहित्यिक रुपमा आवश्यक सामग्रीमा पनि खर्च गर्ने सोचेको छु ।
========
३. मुन्नीः कथासङ्ग्रह – पाेस्तक श्रेष्ठ
तपाईँको पहिलो कृति “साहित्यपोस्ट उत्तम कृति पुरस्कार”का लागि शीर्ष दश पुस्तकमा पर्यो । कस्तो अनुभूति गरिरहनुभएको छ ?
हर्षित छु । आफ्नो कृतिको आफैँले मापन गर्न सम्भव हुन्न । कस्तो लेखेँ हूँला — पाठक, समीक्षकहरुबाट कस्तो प्रतिकृया आउला ?, भनेर खुल्दुली भइरहेको थियो । साहित्यको त्यति अध्ययन नगरेको, साहित्यिक सङ्गत पनि कम भएको म जस्ताका कृति पुरस्कारको छनौटमा पर्नु मीठो आश्चर्य नै भयो । केही त लेखे’छु भनेर फुलेल पनि भएको छु ।
“साहित्यपोस्ट उत्तम कृति पुरस्कार”को घोषणाले तपाईँको साहित्यिक यात्रासँग के सम्बन्ध राख्ला ?
लेख्न सक्छु भन्ने आत्मविश्वास जागेको छ । योभन्दा अघि मैले लेखनलाई गम्भीरतापूर्वक लिएको थिइनँ । एक प्रकारले सिको वा मौसमी लेखाइ थियो भने पनि हुन्छ । तर अब साहित्य अध्ययन-लेखनलाई निरन्तरता दिने सोच बनाएको छु ।
कृति तयारीमा लाग्दाको अवस्था बारेमा केही बताइदिनुहोस् न !
मेरा कथाहरु लेखिसकेपछि त्यतिकै थन्किएर बसेका थिए । केही अनलाइन छापाहरुमा आए पनि । मेरा रचनाहरु पढ्ने सुभेच्छुकहरु सबैले यी रचनाहरु पुस्तक आकारमा आउनु पर्छ भनेर हौस्याउन थालेपछि भने मलाई केही तातो लाग्यो । ती सबै रचनाहरु दोहर्याई-तेहर्याई पढें । आफूले देखेको जति गल्तीहरु सच्याएँ- केही पूनर्लेखन पनि गरेँ ।लेखक राजकुमार बानियाँजीले पनि सरसर्ती हेर्नु भयो र देख्नु भएका अशुद्धिहरु मिलाइदिनु भयो । प्रकाशकको खोजीमा केही समय बित्यो र कोभिडको प्रकोपले पनि ढिलासुस्ती भयो । प्रकाशन संस्था लिपिबुक्सका अर्जुन अधिकारीजीले पनि हेर्नु भयो र अन्तिम सम्पादन चर्चित युवाकवि महेश कार्की क्षितिजले गर्नु भएपछि यो प्रकाशनमा गएको हो ।
“मुन्नी” नै किन लेख्नु भयो ? पाठकले किन पढ्ने ?
मुन्नी कथासङ्ग्रह भएकोले सायद यहाँको आशय मैले कथाहरु नै किन लेखेको भन्ने होला । कविता, बायोग्राफीहरु पनि पढ्छु, तर मेरो रुचि आख्यानमै बढी छ — त्यसमा पनि कथाहरु । कथाहरुमा विविधता पस्किन मिल्छ । निश्चित पात्रहरु, परिवेश र प्रारुपमा बाँधिन परेन ।
मेरा कथाहरुले आधुनिक नेपाली समाजका विभिन्न पक्षहरु, नेपाली डायस्पोराका भोगाइहरु, स्कूले किशोर-किशोरी-युवाहरुका स्वच्छ प्रेमहरु, पचासको दशकमा नेपालले व्यहोरेका द्वन्द्व र त्यसका दु:खद परिणामहरु चित्रण गरिका छन् । नेपाली समाजमा नारीप्रति हुने भेद्भाव, चेलीबेटी बेचबिखन, अवलाहरुका शारीरिक शोषण, जातीय विभेद आदिका कथाहरु भन्छन् । एउटै सङ्ग्रहमा अनेक परिवेश, स्वाद र रङ छन् । ज-जस्ले पढ्नु भएको छ, वहाँहरुले ‘मुन्नी’ पठनीय छ भन्नु भएको छ ।
अबको साहित्यिक यात्राको योजना के छ ?
लेखनलाई सकेसम्म निरन्तरता दिनेछु । कथाहरु त लेखिरहेको छु नै, उपन्यास लेखनमा पनि रुचि जागेको छ । धेरै अध्ययन पनि गर्नु पर्नेछ । समयाभावले धेरै गर्न सकिरहेको छैन ।
तपाईँको कृतिले “साहित्यपोस्ट उत्तम कृति पुरस्कार” प्राप्त गर्यो भने यसबाट प्राप्त नगद के गर्नुहुन्छ ?
एउटा नव-लेखकलाई पुरस्कारले जति आत्मविश्वास र प्रोत्साहन दिन्छ, त्यसको तुलनामा नगद राशिले खासै महत्त्व राख्छ जस्तो लाग्दैन । माउले बच्चा कोरल्न नभ्याउँदै के गन्नु र ! यदि पुरस्कार ‘मुन्नी’को पोल्टामा पर्यो भने मुन्नी जस्तै पात्रहरुको हितमा खर्च गरूँला वा साहित्य क्षेत्रकै सेवामा अर्पण गरूँला ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।