पारिजातलाई व्यक्तिगत रुपमा चिनेको चार दशक भइसकेछ । जब म क्यालेन्डरमा वैशाख ५ देख्छु, नयाँ वर्षको हर्ष क्रमशः हराएको पाउँछु । यो समयले पारिजातलाई छिन्यो । २०५० वैशाख ५ गते उहाँको नश्वर शरीर नरहे पनि मलाई लागिरहनछ, पारिजातसँग म अझै पनि उहाँसँगै छु । मैले उहाँसँग पछिल्लो १३ वर्ष संगत गर्न नपाए पनि म उहाँले देखाएकै बाटोमा छुजस्तो लागिरहन्छ ।

चालीस वर्षअघि मैले पारिजातलाई भेटेको थिएँ । त्यो बेला उहाँ स्थापित लेखक भइसक्नु भएको थियो । उहाँको म्हैपीस्थित निवास साहित्यको एउटा केन्द्र नै भइसकेको थियो । म त्यति बेला सिकारु किशोर कवि थिएँ, तथापि मेरो एउटा कविता संग्रह प्रकाशित भइसकेको थियो ।

के आकर्षणले हो कुन्नी, पारिजात निवासमा नियमित गइरहने पात्रहरुमध्ये म पनि थिएँ । त्यहाँ मैले सबैखाले साहित्यकारहरुलाई भेट्थेँ । पारिजातलाई गाली गर्नेदेखि प्रशंसा गर्नेसम्मको त्यहाँ आउजाउ चलिरहन्थ्यो । प्रशंसा गर्नेहरुको त्यहाँ आउजाउ बुझ्न सकिन्थ्यो तर गाली गर्नेहरुको ? मैले त्यो भने कहिल्यै बुझ्न सकिनँ ।

पारिजातको नाम, लेखन, उनले बोकेका विचार, उनका गतिविधिले हामीजस्ता नयाँ युवा कविहरुलाई लेख्न, बाँच्न र यथास्थितिका विरुद्ध सोच्न पनि बाध्य बनाउँथ्यो । उहाँसँग त्यो आकर्षण थियो । थाहा छैन अरुहरु पारिजातकहाँ किन आउँथे !

म्हैपीको भुईंतल्लेघर भित्रको बायाँतिरको कोठा । पूर्व फर्केको कुर्सी, जसको ठीक पछाडि एउटा पोस्टर । मसिनो शरीर र गोरो अनुहार । अहिले आँखा चिम्लँदा मलाई त्यो घर र पारिजातको ताजा स्मरण हुन्छ ।

स्नेह सायमि

भेटघाट बाक्लिँदै जाँदा कहिलेकाहीँ मेरो मनमा प्रश्न उठ्थ्यो– पारिजातले बिहे गर्नु भएको भए के हुन्थ्यो होला ? पारिजात दिदीलाई कसले रुचाउँथे ? दिदी आफैँ कसलाई मन पराउनु हुन्थ्यो ? जीवनसाथीको आकांक्षा राख्नु हुन्थ्यो कि हुन्थेन ? यदि राख्नु हुँदो हो त कोप्रति आशक्त हुनुभयो होला ? विवाहित पारिजात सम्झँदा मलाई कुनै प्रतिबद्ध घरेलु महिलाको स्मरण हुन्छ, जसको अधिकांश समय पुरुषको सेवा र सन्तानको हुर्काइमा जाने गर्छ । बरु अविवाहिता नै ठीक लाग्छ अहिले जसले अविवाहित रहेरै उहाँ धेरै सन्तानकी आमा हुनुभयो ।

पारिजात दिदीले कसलाई बढी विश्वास गर्नुभयो ? कोसँग धोका खानुभयो ? करिब १० वर्ष त मलाई त्यो पनि थाहा थिएन । पारिजात दिदीका अति व्यक्तिगत कुरामा रुचि राखे पनि सोध्न धक लागिरह्यो । उहाँसँगको सान्न्ध्यिमा जे जति कुरा हुन्थे¬– शुद्ध आन्दोलन, साहित्यिक, राजनैतिक वा मानवीय हुन्थे ।
म्हय्पि पुग्दा मलाई लाग्थ्यो– के पारिजात दिदीमा जीवनसाथी बनाउने रुचि छैन वा थिएन ? के उहाँको शारीरिक अवस्थाका कारण जीवनसाथीप्रतिको आशक्ति घटेको हो ?
एक दिन मैले ठूलै आँट गरेर सोधेँ– दिदी तपाईंका जीवनसाथी हुनखोज्नेहरु थिएनन् ? छैनन् ?

दिदीले उल्टै सोध्नुभयो, ‘केहो जीवनसाथी ? जीवनसाथीको परिभाषा के हो ? जीवनमा धेरै साथी छन्, सबका सब जीवनसाथी !’

यो एउटा औसत जवाफ थियो । मैले जान्न चाहेको प्रश्नको उत्तर यो थिएन तर जिज्ञासा मेटिएको थिएन । फेरि त्यही कुरा कोट्याउने कसरी ?

मैले पारिजात त्यतिबेला चिनेको थिएँ, जतिबेला उहाँले ‘अनिदो पहाडसँगै’ उपन्यास लेख्न शुरु गरिरहनु भएको थियो । ‘अनिदो पहाडसँगैको घटना र पात्रहरुका बारेमा भेटमा र टेलिफोनमा कुरा भइरहन्थ्यो । बन्दी सहयोग नियोग नामक संस्था खोलेर जेलमा रहेका बन्दीहरुका छोराछोरीहरुको पालनपोषण र पठनपाठनको व्यवस्थामा उहाँ लाग्नु भएको थियो । एक किशोर र रहरे कविलाई उहाँको जीवनको गतिविधिले के प्रभाव पा¥यो होला ? अहिले फर्केर हेर्दा धेरै प्रभाव पारेको पाउँछु ।

त्यो बेला दिदीले ‘अनिदो पहाडसँगै’ उपन्यास लेखिरहनु भएको थियो । उहाँका पात्रहरु गौरीमाया, चन्द्रकान्ता, भीष्मबहादुर, शिवानी, एम.आर. आदिसँगको भेट र संयोगले चलनचल्तीको सम्बन्ध र चरित्रभन्दा बेग्लै सन्तान जन्माएको अनुभूति हुन्छ । पारिजात दिदीका सिर्जना र सन्तानहरु अहिले पनि मेरो अगाडि चल्मलाउँछन् र प्रश्न सोध्छन्, ‘खै, तेरा सन्तान ?’

मसँग त्यो प्रश्नको जवाफ छैन । शायद मैले राम्रो गर्भधारण नै गर्न सकिनँ । गरे पनि पोषण पुगेन । के¬–के नपुगेर मैले दिदीले जसरी सन्तान जन्माउन सकिनँ । म भन्न त भनिरहेको हुन्छु, म पनि गर्भवत् छु । कहिले कति सन्तान जन्माउँछु, त्यो मलाई थाहा छैन किनभने प्रेग्नेन्ट भए पनि सन्तान जन्माउने डेडलाइन छैन । प्रेग्नेन्ट भएको नौ महिनामै सन्तान पाउनैपर्ने भए, यतिञ्जेलसम्म त पक्कै पनि एक दर्जन सन्तान पाइसकेको हुँदो हुँ ।

हामीले देख्थ्यौँ, सुकन्या दिदीले विवाह गर्नुभयो । श्रीमान्, छोरा, बुहारी हुनुहुन्छ । उहाँले लेखिरहनु भएको पनि छ । उहाँका दुवै खाले सन्तान छन् । संस्मरण लेखिरहनु भएको छ । अनुवाद गरिरहनु भएको छ । यी कार्यशील दिदीसँग हामी पनि छौँ, अर्थात् हाम्रो पुस्ता पनि छ तर पुस्ता र उमेरले केही नगर्दो रहेछ ।

पारिजात दिदी होउञ्जेल मोटर साइकल नं २८७५ मा कयौँचोटि, भरअभरमा, कयौँ ठाउँमा ओहोरदोहोर गराएँ । उहाँलाई घाममा र पानीमा पनि पछाडि राखेर घुमाएँ । ओर्लने खुड्किलासम्म मोटरसाइकल रोकेर लैजाने पु¥याउने काम गरेँ तर ती ओहोरदोहोर गरेका सम्झना मात्रको केही अर्थ छैन ।

हुन त त्योे बेलाको जस्तो समय र सम्बन्ध छैन । उहाँको लेखनको जस्तो माधुर्य र कटुताको फ्युजन छैन । खै के छैन, छैन ! तर म देख्छु– कुदिरहेछन् मानिसहरु पारिजातजस्तो हुन । रमाइलो त त्यहाँ छ, उनीहरु पारिजात जस्तो हुन चाहन्छन् तर पारिजातले गरेजस्ता काम र कुरा नगरिकनै ! उनीहरु पारिजात हुन चाहन्छन्, पारिजातले जीवनमा अपनाएका पद्धति नअपनाइकनै ! उनीहरु पारिजात हुन चाहन्छन्, पारिजातले झैँ लेखनमा विचार र कलाको संगम नजोडीकनै !

अचम्म लाग्छ, यो कस्तो पारिजात हुने दौड हो !

धेरैभन्दा धेरै साहित्यिक संस्था र पुरस्कार स्थापना भइरहेछन् । पुरस्कार पनि पाइरहेछन् । साहित्यिक महोत्सवहरु पनि टन्नै भइरहेछन् । तर सबै आफ्ना–आफ्ना प्रचार गरिरहेछन् । तर पारिजात दिदीबाट के सिक्नुपर्ने हो, त्यो भने सिकिरहेका छैनन् ।

त्यो नसिक्ने एउटा पात्र त म पनि हुँ ! हो, म पनि हुँ भनेर सार्वजनिक गर्न चाहन्छु आज ।

दिदी, तपाईंको सालिकमा माल्र्यापण गर्नु एउटा काम हो भने तपाईंले देखाउनु भएको बाटोमा अग्रसर हुनु चाहिँ महत्त्वपूर्ण काम हो । दिदी, म त्यही बाटोमा छु । दिदी, म गर्भित छु । सन्तान जन्मन अझै केही समय लाग्ला !